काठमाडौं । वासिङ्टनस्थित एक अमेरिकी सङ्घीय पुनरावेदन अदालतले ह्वाइट हाउसमा ४० करोड अमेरिकी डलरको भव्य बालरुम (नाचघर) निर्माण गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कदम गैरकानुनी भएको फैसला सुनाएको छ । शुक्रबार भएको उक्त फैसलामा अदालतले सो परियोजनामाथि रोक लगाएको हो ।
अमेरिकी जिल्ला अदालत (डिस्ट्रिक्ट अफ कोलम्बिया सर्किट) को पुनरावेदन इजलासले २–१ को बहुमतका आधारमा यस्तो फैसला सुनाएको हो । फैसलामा राष्ट्रपति ह्वाइट हाउसको अस्थायी भाडावाल मात्र भएको र त्यसको मालिक नभएको उल्लेख गरिएको छ । अदालतले भनेको छ, ‘ह्वाइट हाउस र यसको कार्यकारी निवासमा राष्ट्रपतिको कुनै संवैधानिक अधिकार छैन । यो सम्पत्ति वर्तमान र भविष्यका सबै राष्ट्रपतिहरू र अमेरिकी जनताको प्रयोगका लागि निर्माण र संरक्षण गरिएको हो ।’
‘नेसनल ट्रस्ट फर हिस्टोरिक प्रिजर्भेसन’को पक्षमा फैसला सुनाउँदै अदालतले अमेरिकी इतिहासमा यसअघि कुनै पनि राष्ट्रपतिले कङ्ग्रेसको अनुमतिबिना र करदाताको पैसाले बनेको संरचना निजी कोष प्रयोग गरी एकलौटी रूपमा नभत्काएको टिप्पणी गरेको छ । फैसलाका अनुसार सन् २०२५ को अक्टोबरमा मात्र तीन दिनको अवधिमा ट्रम्पले कुनै परामर्श वा कङ्ग्रेसको अनुमतिबिना ९० हजार वर्ग फिटको बालरुम बनाउन ह्वाइट हाउसको ‘इस्ट विङ’ भत्काएका थिए ।
अदालतले आफ्नो फैसला कार्यान्वयनमा १४ दिनको रोक (स्टे) लगाएको छ, जसले ट्रम्प प्रशासनलाई सर्वोच्च अदालतमा पुनरावेदन गर्ने समय उपलब्ध गराएको छ ।
ट्रम्पको यो प्रस्तावित बालरुम विस्तार योजनालाई ह्वाइट हाउस र कङ्ग्रेसका केही सहयोगीहरूले समर्थन गरे पनि कङ्ग्रेसकै कतिपय रिपब्लिकन सदस्यहरूले भने यसप्रति असन्तुष्टि र चिन्ता व्यक्त गर्दै आएका छन् । गत जुन महिनाको सुरुमा सात जना रिपब्लिकन सिनेटरहरूले डेमोक्र्याटहरूसँग मिलेर कङ्ग्रेसको अनुमतिबिना बालरुम निर्माण वा कोष परिचालन गर्न नपाइने संशोधनको पक्षमा मतदान गरेका थिए ।