विकासन्युज

बागलुङ प्रहरीको ७ दिने अल्टिमेटम, बिएन कन्स्ट्रक्सनलाई अन्तिम मौका

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बागलुङले काठमाडौंको सितापइलास्थित बिएन कन्स्ट्रक्सन प्रालिसँगको सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको छ । निर्माणाधीन भवन ब्यारेक ब्लक, डिटेन्सन सेल, वरिष्ठ अधिकृत क्वार्टर, इन्चार्ज क्वार्टर, कार्यालय मर्मत, ल्यान्डस्केपिङ र ग्यारेज निर्माण कार्य सन्तोषजनक रूपमा अघि नबढेको भन्दै निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको हो ।  कार्यालयले बारम्बार मौखिक तथा लिखित ताकेता गर्दा पनि निर्माण कार्य अपेक्षाअनुसार अघि नबढेको उल्लेख गरेको छ । हाल हर्जना सहितको समय अवधि १७ दिन मात्र बाँकी रहेको अवस्थामा समेत प्रगति सन्तोषजनक नदेखिएको कार्यालयले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयले निर्माण व्यवसायीलाई ठेक्का किन नतोड्ने भन्ने विषयमा ७ दिनभित्र विश्वसनीय स्पष्टीकरणसहित आधिकारिक व्यक्ति स्वयं उपस्थित हुन निर्देशन दिएको हो । कार्यालयका अनुसार निर्माण व्यवसायीले कार्यप्रति चासो नदेखाएको भन्दै सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९(२)(क) तथा ५९(७), सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२८(२)(ग) (घ) र ठेक्का सम्झौताका जीसीसी क्लज ७२.३ (आई) अनुसार कारबाही अघि बढाउने चेतावनी दिएको छ ।  ‘यदि तोकिएको समयभित्र स्पष्टिकरण प्राप्त नभएमा यो सूचनालाई अन्तिम ताकेता मानी ठेक्का सम्झौता तोड्ने, कालोसूचीमा राख्ने, कार्यसम्पादन जमानत तथा धरौटी जफत गर्ने तथा बाँकी काम सरकारी बाँकी सरह असुल उपर गर्ने प्रक्रिया अघि बढाइनेछ,’ सूचनामा भनिएको छ । 

लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्प आवश्यक छ: उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले उदारवादी आदर्श, समावेशिता, समानता र न्यायका आधारमा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । गणतन्त्र दिवस २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले गणतन्त्र जनताको शासन प्रणाली भएको उल्लेख गर्दै सम्पूर्ण शक्ति जनतामा निहित हुने बताए । उनले जननिर्वाचित प्रतिनिधिहरूले जनताप्रति आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न सके मात्र गणतन्त्रको मूल मर्म सार्थक हुने बताए । उपराष्ट्रपति यादवका अनुसार संविधानले दिएको अधिकार र कर्तव्यलाई समान रूपमा आत्मसात गर्दै अघि बढ्न सके मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सबल, सुदृढ र जीवन्त रहन सक्छ । ‘गणतन्त्र दिवस’लाई केवल उत्सवका रूपमा मात्र नभई आत्ममूल्याङ्कनको अवसरका रूपमा लिनुपर्ने उनको भनाइ छ । जनअपेक्षाअनुरूप संवेदनशील शासन प्रणाली निर्माण गर्न सकिएको छ कि छैन भन्ने प्रश्नको उत्तर खोज्ने दिनका रूपमा यसलाई उपयोग गर्नुपर्ने उनले उल्लेख गरे । उपराष्ट्रपति यादवले वञ्चित, उत्पीडित र उपेक्षित समुदायको सक्रिय सहभागिताबिना कुनै पनि गणतन्त्र बलियो र दीर्घकालीन हुन नसक्ने वास्तविकतालाई स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको दीर्घ सङ्घर्ष, ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, मधेस आन्दोलन तथा असंख्य सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धि भएको स्मरण गर्दै सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । साथै, उनले अङ्गभङ्ग भएका तथा बेपत्ता पारिएका व्यक्तिहरूप्रति उच्च सम्मान व्यक्त गरे । उपराष्ट्रपति यादवले वंशीय शासनको अन्त्य गर्दै प्राप्त वर्तमान व्यवस्थाले सत्ता र शक्तिको दुरुपयोग नियन्त्रण गरेको उल्लेख गर्दै लोकतन्त्र, सङ्घीयता र गणतन्त्रका मूल्यहरूलाई कमजोर पार्ने कुनै पनि प्रयास देशका लागि हानिकारक हुने बताए । उनले गणतन्त्र दिवसले नेपालको गौरवशाली इतिहास, सांस्कृतिक विविधता र राष्ट्रिय उपलब्धिहरू उजागर गर्दै लोकतन्त्र, सङ्घीयता, समावेशिता र संविधानका मूल्यहरूको रक्षा गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे ।

बजेट : कर घट्ने, तलब बढ्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले आज बजेट सार्वजनिक गर्दैछ । आज अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक (संघीय संसद्)मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बजेट प्रस्तुत गर्नुअघि बिहीबार अर्थमन्त्री वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई शीतलनिवास पुगेर आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानबारे जानकारी गराएका थिए । सरकारले आगामी आर्थिक वर्षका लागि करिब २० खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको उच्च स्रोतले जनाएको छ । सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने, निजी क्षेत्रको मनोबल उकास्ने र पुँजीगत खर्च बढाउने उद्देश्यसहित बजेट निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ । यस वर्षको बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गर्ने तयारी पनि गरिएको छ । बढ्दो महँगी र कर्मचारीको दबाबलाई ध्यानमा राख्दै तलब समायोजन गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । त्यसैगरी, करका दरमा पनि केही परिवर्तन हुने संकेत देखिएको छ । उद्योगी-व्यवसायीहरूले उत्पादन, आयात, विद्युतीय सवारीसाधन, सूचना प्रविधि तथा साना-मझौला व्यवसायसँग सम्बन्धित कर संरचनामा सुधारको अपेक्षा गरेका छन् । उनीहरूले कमजोर माग र घट्दो लगानीका कारण अर्थतन्त्र दबाबमा परेको भन्दै राहतमुखी बजेटको माग गर्दै आएका छन् । निजी क्षेत्रले लगानीमैत्री वातावरण, कर प्रणालीमा स्थायित्व, अनावश्यक झन्झट हटाउने व्यवस्था र उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम बजेटमा समेटिनुपर्ने सुझाव दिएका छन् । यसैबीच, नागरिक तहमा पनि रोजगारी सिर्जना, महँगी नियन्त्रण, सुशासन, विकास निर्माणको तीव्रता र सेवा प्रवाह सुधारलाई मुख्य अपेक्षाका रूपमा हेरिएको छ । आर्थिक सुस्तता, राजस्व संकलनमा दबाब र बढ्दो सार्वजनिक अपेक्षाबीच आउने यस वर्षको बजेटलाई देशको आर्थिक दिशानिर्देशका रूपमा चासोका साथ हेरिएको छ ।

सुशासन, विकास र समृद्धि आजको राष्ट्रिय आवश्यकता: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्नु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् । १९औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि र समावेशी विकास हासिल गर्न संघ, प्रदेश र स्थानीय तहका सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गरेका हुन् । उनले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण्ण राख्दै दिगो, फराकिलो र समन्यायिक आर्थिक वृद्धि हासिल गर्न सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवाला पक्षलाई आ-आफ्नो क्षेत्रबाट योगदान गर्न आह्वान गरे । राष्ट्रपति पौडेलले नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको परिणामस्वरूप जननिर्वाचित संविधानसभाको पहिलो बैठकबाट वि.सं. २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै गणतन्त्र दिवसले लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता र जनअधिकारप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । साथै, उनले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी आमनागरिक, राजनीतिक कार्यकर्ता तथा जनसमुदायको योगदानको उच्च प्रशंसा गरे । राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै गणतन्त्र दिवसले नेपालीहरूबीच आपसी विश्वास, सहकार्य र राष्ट्रिय एकताको भावना अझ सुदृढ बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

आज गणतन्त्र दिवस मनाइँदै, वंशीयतन्त्रलाई जनताले जितेको दिन

काठमाडौं । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रका विरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १९ वर्ष भएको छ । विसं २०६५ जेठ १५ गते जन निर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ । जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो । गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ । नागरिकका समस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूति सहित गरिबीको अन्त्यसँगै विश्व मञ्चमा नेपाल र नेपालीको प्रतिष्ठालाई उँचो बनाउन पर्ने लोकतान्त्रिक गणतन्त्रको प्रथम कार्यभार रहेको छ । जन अपेक्षा र जन भावनाअनुरुप चल्नु नै गणतान्त्रिक संविधानको मूल भावना भएकाले आमनागरिकको अधिकारप्रति अटुट आस्था राख्दै यो दिवसलाई लोकतन्त्रको पोषकका रूपमा स्थापित गर्न पनि उत्तिकै आवश्यक छ । लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजका रूपमा हेरिने गरिएको छ । विश्वमा अभ्यासमा रहेका शासन व्यवस्थामध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो अस्त्रका रूपमा रहेको छ । यसैबिच, १९ औँ गणतन्त्र दिवस आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी भव्यता र हर्षोल्लासका साथ मनाइँदैछ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल लगायत विशिष्ट व्यक्ति सहभागी हुने छन् ।  त्यस अवसरमा गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजको योगदानको स्मरण गरिनेछ । मुलुकमा सामाजिक न्याय, स्वाधीनता र समृद्धि सुनिश्चितता गर्न तथा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलन र सङ्घर्षमा धेरै नेपाली जनले जेल नेल र यातना सहन परेको थियो । लोकतान्त्रिक संस्कृतिको वातावरणमा नागरिकलाई समुन्नत र अधिकारसम्पन्न तुल्याउँदै खुसी दिलाउने अभियानमा जुट्न आजको दिनले अझ धेरै प्रतिबद्ध जनाउने विभिन्न पार्टीका नेताहरूले विश्वास व्यक्त गरेका छन् । त्यसका लागि लोकतान्त्रिक वातावरणमा जनताको जीवनस्तर उकास्न उत्पादन वृद्धि, अवसरको न्यायोचित वितरण, रोजगारी प्रवर्द्धन एवं सुशासन कायम गर्नुपर्ने दायित्व रहेको अभिव्यक्ति उनीहरूको छ । आजको पुस्तालाई बलियो अर्थतन्त्रसहितको समृद्धि सुनिश्चित गर्दै आउने पुस्तालाई सबल, एकताबद्ध, मौलिक चरित्रसहितको उदार राज्य र उच्चतम लोकतान्त्रिक संस्कृति दिने सङ्कल्प गरिनुपर्ने सन्देशमा उल्लेख छ । जनादेश, मतादेश र संविधान प्रदत्त व्यवस्थाअनुरुप एकढिक्का र एकीकृत भई अघि बढ्नसके नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सबल, सुदृढ र बलियो हुन सक्दछ । समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र संस्थागत गर्ने जागरण पैदा गराउन भने आवश्यक देखिएको छ । लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्नेछ ।

अन्नपूर्णको फेदीमा ७६औँ आरोहण दिवस मनाइँदै, दौड जित्नेलाई १ लाख पुरस्कार

काठमाडौं । अन्नपूर्ण हिमालको फेदीमा रहेको नारच्याङमा आगामी हप्ता ७६औँ आरोहण दिवस मनाउने तयारी भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा विविध कार्यक्रमका साथ आरोहण दिवस मनाउन लागिएको हो । अन्नपूर्ण गाउँपालिका-४ नारच्याङका वडाध्यक्ष लोकबहादुर पुनले आधार शिविरदेखि नारच्याङ दौड प्रतियोगिता, हुमखोला-आधार शिविर पदमार्ग र सांस्कृतिक कार्यक्रम आयोजना गरेर दिवस मनाउने तयारी गरेको जानकारी दिए । विजेतालाई १ लाख रुपैयाँ र उपविजेतालाई ६० हजार रुपैयाँ पुरस्कार राशिको आधार शिविर-नारच्याङ ३६ किलोमिटर दूरीमा पुरुष महिला खुला दौड प्रतियोगिता आयोजना गरिएको छ । यही जेठ १७ गते नारच्याङदेखि हुमखोला हुँदै आधार शिविर जाने पदयात्रा र दौडमा सहभागी टोली २० गते फर्किएपछि सांस्कृतिक कार्यक्रमसहित आरोहण दिवस समापन गर्ने तय भएको छ । आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाको रूपमा आज विविध कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाउन लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । ‘दिवस मनाउनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको छ । यसअघि काठमाडौं, पोखरा र कास्कीको भूगोलमा पर्ने आधार शिविरमा मनाइने अन्नपूर्ण आरोहण दिवस गत वर्षदेखि सम्बन्धित भूगोलमा मनाउन थालिएको थियो,’ उनले भने । समुद्री सतहदेखि ४ हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास भएको छ । पदमार्ग, पूर्वाधार निर्माण, खाने बस्ने सुविधा र प्रवर्द्धनात्मक कार्यक्रमपछि छोटो दूरीमा सहजै पदयात्रामा पुगिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताए ।  नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ । २ दिनको पैदलयात्रामा पुगिने अन्नपूूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य भएको शेर्पा अल्पाइन ट्रेकिङका पथप्रदर्शक लाक्पा आङवु शेर्पाले बताए । अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा नक्साङ्कन र ‘मौरिस हर्जोग’ नामकरण गरेको थियो ।

छात्रवृत्तिका लागि २०८ जना अस्वीकृत, साढे २६ हजार विद्यार्थी सहभागी हुन योग्य

काठमाडौं । काठमाडौं महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने छात्रवृत्ति परीक्षाका लागि २६ हजार ६८० परीक्षार्थी सहभागी हुन योग्य भएका छन् । आवेदक २६ हजार ८८८  विद्यार्थीमध्ये २०८ जनाको फाराम अस्वीकृत भएको कामपाले जनाएको छ ।    शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्यसचिव रामचन्द्र खड्काका अनुसार विद्यार्थीले जुन प्रणालीबाट आवेदन दिएका थिए । त्यही प्रणालीबाट प्रवेशपत्र प्राप्त गर्न सक्नेछन् । प्रवेशपत्रमा परीक्षा केन्द्र र परीक्षार्थीले पालना गर्नुपर्ने दायित्व उल्लेख छन् ।  ‘प्रवेशपत्र रङ्गीन प्रिन्ट भएको हुनुपर्नेछ,’ रङ्गीन प्रिन्ट गर्नु पर्नाको कारण बुझाउँदै खड्का भन्छन्, ‘छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका नाममा अरूले परीक्षा दिन नपाउन भन्नका लागि प्रवेशपत्र रङ्गीन प्रिन्ट गर्ने गरेका हौँ ।’ कामपाले २०८० सालदेखि नीतिगत निर्णय गरेर कामपा क्षेत्रभित्र भएका ११ र १२ कक्षा सञ्चालन हुने विद्यालयमा छात्रवृत्ति प्रदान गर्न परीक्षा सञ्चालन थालेको हो । यस वर्ष संस्थागत शिक्षण संस्थाहरूमा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्नका लागि यही जेठ १७ गते छात्रवृत्ति छनोट परीक्षा सञ्चालन हुनेछ । परीक्षार्थीहरूले कामपाको आधिकारिक पोर्टल ‘इन्ट्रान्स डट काठमाडौं डट जीओभी डट एनपी’मा लगइन गरेर प्रवेशपत्र डाउनलोड गर्न सक्नेछन् । साइटमा लगइन गर्न एसइईको सिम्बोल नम्बरलाई युजरनेम लेखिएको ठाउँमा प्रविष्ट गराउनुपर्छ । यसपछि जन्म मिति र इमेल वा म्यासेजमार्फत प्राप्त भएको पासवर्ड राखेपछि पेज खुल्छ । प्रवेशपत्र अनिवार्य रूपमा रङ्गिन प्रिन्ट गर्नुपर्छ । ब्ल्याकएन्डह्वाइट प्रिन्ट गरिएको वा स्पष्ट फोटो र विवरण नभएको प्रवेशपत्रलाई मान्यता दिइने छैन । परीक्षा केन्द्रमा आउँदा प्रवेशपत्रका साथै फोटोसहितको परिचय खुल्ने आधिकारिक कागजात ९एसइई प्रवेशपत्र, विद्यालयको आइडी कार्ड वा नागरिकताको प्रमाणपत्र० अनिवार्य रूपमा साथमा लिई उपस्थित हुनुपर्नेछ । प्रवेशपत्रको पछाडिपट्टि उल्लेख गरिएका परीक्षासम्बन्धी नियम तथा आचारसंहिता परीक्षार्थीले अनिवार्य रूपमा पालना गर्नुपर्छ । नियमको उल्लङ्घन भएमा परीक्षा रद्द गरिनुका साथै कानुनबमोजिम कारबाही गरिनेछ । परीक्षा सञ्चालनका लागि शिक्षा विभागले केन्द्राध्यक्षहरूका लागि अभिमुखीकरण सम्पन्न गरिसकेको छ । स्वच्छ, निष्पक्ष परीक्षा सञ्चालन होस्, परीक्षालाई विद्यार्थीले जटिल प्रक्रियाका रुपमा महसुस नगरुन् भनेर विद्यार्थीलाई त्रास उत्पन्न नगराउन र जानेको कुरामा निर्वाध उत्तर दिनका लागि सहजीकरण गर्न निर्देशन दिइएको छ । शिक्षा अधिकारी नमराज ढकालका अनुसार कक्षा १० सम्मको छात्रवृत्ति प्रदान गर्न वडास्तरीय समितिले सिफारिस गर्छ । कक्षा ११ र १२ को छात्रवृत्ति कोटाका लागि भने शिक्षा विभागले परीक्षा सञ्चालन गरेर नतिजाका आधारमा सिफारिस गर्छ ।

आज देशभर वर्षा र हुरी चल्ने, सतर्क रहन आग्रह

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुका साथै पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराई भू-भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य हिमाली तथा पहाडी भू-भागका केही स्थान तथा मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने जनाइएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू-भागका केही स्थानमा हुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी, आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहने तथा अन्य भू-भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, बागमती, गण्डकी र कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थान तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । देशका केही तराई तथा पहाडी क्षेत्रमा हुरी चल्न सक्ने सम्भावना रहेकाले महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।