विकासन्युज

प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब विनियोजन

काठमाडौं । स्थानीय तहका लागि ८८ अर्ब र प्रदेशका लागि ६० अर्ब रुपैयाँ विनियोजन गरेको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत सरकारले उक्त वित्तीय समानीकरण अनुदान विनियोजन गरेको बताएका छन् । यस्तै सर्सत अनुदानतर्फ प्रदेशका लागि २५ अर्ब ८४ करोड र स्थानीय तहका लागि २ खर्ब ८ अर्ब ८८ करोड गरी जम्मा गरी २ खर्ब ३४ अर्ब ७३ करोड विनियोजन गरिएको उनले बताए । प्रदेश र स्थानीय तहलाई पूर्वाधारका आयोजना कार्यान्वयन गर्न प्रदेशलाई ६ अर्ब २० करोड र स्थानीय तहलाई ७ अर्ब विनियोजन भएको छ । विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ४० करोड र स्थानीय तहलाई ८ अर्ब ५० करोड विनियोजन भएको छ । राजस्व बाँडफाँडबाट प्रदेश र स्थानीय तहमा १ खर्ब ५९ अर्ब रुपैयाँ हस्तान्तरण हुने अनुमान अर्थमन्त्रीको छ । राजस्व बाँडफाँड र अनुदान गरी आगामी आर्थिक वर्षमा स्थानीय तह र प्रदेशमा ५ खर्ब ६७ अर्ब हस्तान्तरण हुने सरकारको अनुमान छ ।

नेपाललाई विवाह गर्ने हब बनाइने, लुम्बिनीलाई बर्थिङ हब

काठमाडौं । नेपाललाई विवाह गर्ने थलको रुपमा विकास गरिने भएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । जनकपुरलाई वेडिङ र लुम्बिनीलाई बर्थिङ हबका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको अर्थमन्त्रीले बताए । नेपालमा वैवाहिक समारोह आयोजना गर्न आउने पर्यटकहरूका लागि सहजीकरण गरी साँस्कृतिक तथा पर्यटकलाई विवाह गन्तव्यमा रुपान्तरण गरिने बताएका हुन् ।

खोप उत्पादन तथा सेवा सञ्चालनका लागि ४० करोड विनियोजन

काठमाडौं । सरकारले खोप उत्पादन तथा सेवा सञ्चालनका लागि ४० करोड  रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनीक गरेको बजेटमा पशुपंक्षीको महामारी रोग नियन्त्रणका लागि आगामी वर्ष ५ करोड डोज खोप उत्पादन गरिने उल्लेख छ । यस्तै आगामी ३ वर्ष भित्र पीपीआर र क्लासिकल स्वाइन फीवर रोग उन्मुलन गर्ने गरी नि:शुल्क खोप अभियान सञ्चालन गरिने छ । खोरेत रोग नियन्त्रण गर्न सघन खोप कार्यक्रम सञ्चलन गरिने जनाइएको छ ।

प्रचण्ड निवास खुमलटारमा ज्ञान पार्क स्थापना गर्न १७ करोड बजेट

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै ललितपुरको खुकलटारमा ज्ञानकञ्ज पार्क स्थापना गर्ने बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवास नजिकै सो पार्क स्थापना गर्नका लागि १७ करोड बजेट विनियोजन गरेका हुन् ।

निजी क्षेत्रलाई बिजुली बिक्रीको ढोका खुल्यो, उर्जा क्षेत्रका लागि पौने ५१ अर्ब बजेट

काठमाडौं । अब बिजुली बिक्रीमा निजी क्षेत्रको पनि संलग्नता हुने भएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै बिजुली बिक्री वितरणमा निजी क्षेत्रको पनि संलग्नता हुने बताएका हुन् । अहिले नेपाल विद्युत प्राधिकरणले मात्रै बिजुलीको बिक्री वतरण गर्दै आएको छ । उनले उर्जा क्षेत्रको विकासका लागि लागि ५० करोड ७४ करोड विनियोजन गरेको बताएका छन् ।

बजेट भाषण सुरु (LIVE)

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुति सुरु गरेका छन् । यसअघि आज दिउँसो १ बजेका लागि निर्धारित संसदको संयुक्त बैठक दुई घण्टा पर अर्थात् अपराह्न ३ बजेका लागि सारिएको थियो । संयुक्त बैठकपछि आजै दुवै सदनका बेग्लाबेग्लै बैठक बस्नेछन् ।

कृषि लगानी दशक घोषणा

काठमाडौं । सरकारले कृषि लगानी दशक घोषणा गरेको छ । २०८१ देखि २०९१ सम्मको वर्षलाई सरकारले कृषि लगानी दशकका रूपमा घोषणा गरेको हो । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न कृषि लगानी दशक घोषणा गरेका हुन् ।

गणतन्त्र स्थापनापछिका १६ वर्षको उपलब्धि

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले गणतन्त्र आएपछि देशमा ठूलो विकास भएको बताएका छन् । उनले सरकारले गरेको विकासबारे जानकारी दिँदै संसद्को संयुक्त बैठकमा बजेट भाषण गर्नुअघि गणतन्त्र आएपछि भएको विकासको नालीबेली सुनाएका हुन् । उनले आर्थिक वर्ष ६४/६५ मा कूल गार्हस्थ्य उत्पादन ८ खर्ब १५ अर्ब रहेकोमा अहिले ५७ खर्ब ५ अर्ब पुग्ने अनुमान रहेको बताए । यस्तै, उनले प्रतिव्यक्ति आय ४९१ अमेरिकी डलरबाट बढेर १ हजार ४५६ पुगेको सुनाए । उनले उत्पादन ७०० मेगावाटबाट ३ हजार मेगावाटभन्दा बढी पुगेको, ५६ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको जानकारी गराए । गणतन्त्र आउनुअघि ५ हजार ४०० किलोमिटर सडक मात्रै कालोपत्रे भएको बताउँदै उनले गणतन्त्र आइसकेपछिको अवधिमा १८ हजार ४०० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको जानकारी गराए । यस्तै, २०६५ सालमा वाणिज्य बैंकका ५९१ शाखा रहेको सुनाउँदै अहिले ५ हजार ४२ वटा वाणिज्य बैंकका शाखा रहेको बताए ।