सिटिजन्स बैंकको ‘पार्टनर फर प्रोग्रेस’ भिडियो प्रतिस्पर्धा, उत्कृष्ट हुनले ५० हजार पाउने
काठमाडौं । सिटिजन्स बैंकले ग्राहकहरुसँगको संलग्नता बढाउन ‘पार्टनर फर प्रोग्रेस’ नामक फेसबुक भिडियो प्रतियोगिताको आयोजना गरेको छ । बैंकका अनुसार व्यक्तिगत वा व्यावसायिक रूपमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई आम मानिसमाझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले यो प्रतियोगिताको आयोजना गरेको छ । ‘भिडियो प्रतियोगिताको उद्देश्य भनेको कुनै व्यक्ति वा संघसंस्थाको प्रगतिका लागि उहाँहरुको साथी, आफन्त वा परिवारजनको भूमिका देखाउनु हो । उहाँको साथमा एक भिडियो बनाई जीवनमा सकारात्मक परिवर्तन ल्याउन एक साथी वा पार्टनरको भूमिका कत्तिको महत्वपूर्ण रहन्छ भन्ने कुरा प्रस्ट्याउनु भिडियो प्रतियोगिताको उद्देश्य हो । एक आम व्यक्तिको पनि वास्तविक जीवनको सफलताको कथा अरुलाई प्रेरणाको स्रोत बन्नसक्ने र यो भिडियो प्रतियोगिताले धेरैलाई प्रेरित गर्ने विश्वास बैंकले लिएको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आफ्नै प्रेरणादायी कथाहरूलाई छोटो मोबाइल भिडियो वा फेसबुक रिलको रुप दिएर प्रतियोगितामा समावेश हुन पनि सकिने बैंकले जनाएको छ । यस प्रतिस्पर्धा अन्तर्गत एक मिनेटसम्मको समयावधि भएको भिडियो बनाएर ह्यासट्याग पार्टनर फर प्रोग्रेस सहित फेसबुकमा भिडियो अपलोड गरी सिटिजन्स बैंकको फेसबुक पेजलाई ट्याग गर्नुपर्नेछ । र उक्त भिडियो पब्लिक हुनुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट हुने प्रथम, द्वितीय र तृतीय भिडियोलाई क्रमशस् सम्मान स्वरूप नगद पुरस्कार ५० हजार रुपैयाँ, ३० हजार र २० हजार रुपैयाँ प्रदान गरिने छ । यो प्रतियोगिता जेठ महिनाभर सञ्चालन हुने बैंकले जनाएको छ ।
यी हुन् सस्तो होटल भएका संसारका ८ सहर
काठमाडौं । कतै जानुअघि हामी निश्चित रूपमा होटल र यसको भाडाबारे सोच्छौं । धेरै पटक हामी होटल खर्चका कारण घुम्न जाने योजना समेत रद्द गरिरहेका हुन्छौं । तर, यदि तपाईं संसारका विभिन्न देश घुम्न जाने योजनामा हुनुहुन्छ भने होटलबारे खुसीको खबर छ। डिजिटल ट्राभल प्ल्याटफर्म अगोडाले संसारमा सबैभन्दा सस्तो होटल कोठा भएका सहरहरूको सूची जारी गरेको छ । जसमा छिमेकी देश भारतका होटलहरू पनि समावेश छन् । यदि तपाईं विदेश जाने योजनामा हुनुहुन्छ भने थाइल्यान्डमा सस्तो होटलहरू फेला पार्नुहुने छ र यदि तपाईं भारतमा घुम्न चाहनुहुन्छ भने सबैभन्दा सस्तो होटलहरू बेंगलुरुमा फेला पार्नुहुने छ । एक वर्षअघि बेंगलुरुको सट्टा पुरी यो सूचीमा समावेश थियो । संसारका ८ सस्ता सहर उडोन थानी, थाइल्याण्ड उडोन थानी थाइल्यान्डको चौथो ठूलो सहर हो, जहाँ तपाईं चाइनिज गेट, नोङ प्राजक पार्क, उडोन थानी संग्रहालय जस्ता ठाउँहरू भ्रमण गर्न सक्नुहुन्छ । यो ठाउँ अक्टोबरदेखि अप्रिलसम्म जाँदा उपयुक्त हुन्छ । यहाँको होटलको औसत भाडा २ हजार ३ सय ३३ भारु रहेको छ । सुराबाया, इन्डोनेसिया सुराबाया इन्डोनेसियाको धेरै सुन्दर सहर हो । यहाँ तपाईं पासार एटम मार्केट भ्रमण गरेर इन्डोनेसियाको परम्परागत शिल्पको आनन्द लिन सक्नुहुन्छ । सुराबाया खानपिनका लागि स्वर्गभन्दा कम छैन किनभने यहाँ मानिसहरूले धेरै कम लागतमा स्वादिष्ट खाना सजिलै पाउन सक्छन् । यहाँको होटलको औसत भाडा ३ हजार २ सय ५० भारु रहेको छ । यो सहर घुम्न मेदेखि सेप्टेम्बरसम्म उपयुक्त हुन्छ । ह्यु, भियतनाम ह्यु सहर यसको इतिहास र संस्कृतिका लागि परिचित छ । यहाँका दरबार र मन्दिरहरू युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश छन् । अत्तर नदी सहरको बीचमा बग्छ । तपाईं नदीमा डुङ्गाबाट सम्पूर्ण सहरको आनन्द लिन सक्नुहुन्छ । यो सहरका होटलको औसत भाडा ३ हजार ५ सय ८४ भारु रहेको छ । यहाँ तपाईं मेदेखि सेप्टेम्बरसम्मको अवधिमा घुम्न जान सक्नुहुन्छ । कुचिङ, मलेसिया बोर्नियो टापुमा अवस्थित कुचिङ सहर आफ्नो कला र संस्कृतिका लागि परिचित छ । यहाँको मुख्य बजार, कार्पेन्टर स्ट्रिट र सन्डे मार्केट निकै प्रख्यात छ । यो सहरको होटलका औसत भाडा ४ हजार ८४ भारु रहेको छ । यो सहर अप्रिल र अक्टोबरको बीचमा घुम्न जान सकिन्छ । इलोइलो, फिलिपिन्स यो सहर फिलिपिन्सको एक धेरै सुन्दर सहर हो जुन धेरै टापुहरूले घेरिएको छ। यहाँ हरेक वर्ष ठूलो संख्यामा पर्यटक आउँछन् । यहाँ धेरै ऐतिहासिक भवनहरू पनि छन् जसले पर्यटकहरूको ध्यान तान्छ । default यस सहरका होटलको औसत भाडा ४ हजार १ सय ६७ भारु रहेको छ । यो सहर घुम्न तपाईं अप्रिलदेखि र अक्टोबरको बीचमा जान सक्नुहुन्छ । बैंगलोर, भारत भारतको बेंगलुरु सहर सस्तो होटलको सूचीमा परेको छ । यो सहर प्राचीन र आधुनिकताको सुन्दर मिश्रण हो जहाँ तपाईंले १६औं शताब्दीमा बनेका राजसी बेंगलुरु दरबार र नन्दी मन्दिर देख्न सक्नुहुन्छ । तपाईंलाई यहाँको खाना पनि मनपर्ने छ । यो सहरको होटलको औसत भाडा ४ हजार ५ सय ८४ भारु छ । यो सहर घुम्न तपाईं अक्टोबरदेखि फेब्रुअरी बीचमा जान सक्नुहुन्छ । नारिता, जापान जापानको यो सुन्दर सहरमा रहेको शिन्शोजी मन्दिरको भ्रमण गर्न सक्नुहुन्छ । यहाँ नारितासन ओमोटेसान्डो धेरै प्रसिद्ध छ । चेरी फूलको मौसममा तपाईंले यो सहरलाई खुब मन पराउनुहुनेछ । यस सहरको होटलको औसत भाडा ५ हजार ९ सय १७ भारु रहेको छ । यहाँ तपाईं जनवरीदेखि मार्चसम्म घुम्न जान सक्नुहुन्छ । काओसिङ, ताइवान काओसिङ ताइवानको दोस्रो ठूलो सहर हो जहाँ तपाईं धेरै किनमेल गर्न सक्नुहुन्छ । यहाँको स्ट्रिट आर्ट निकै चर्चित छ । यस सहरको होटल भाडा औसतमा ८ हजार ४ सय १८ भारु रहेको छ । तपाईं यस सहरमा नोभेम्बर र अप्रिलको बीचमा घुम्न जान सक्नुहुन्छ । एजेन्सी
उखुको जुस बेचेर मनग्य आम्दानी, मासिक एक लाखको कारोबार
कैलाली । धनगढी उपमहानगरपालिका– ३ की पुजा शर्माले धनगढीको सहिद गेट नजिकै उखु जुसको व्यवसाय गर्दै आएकी छन् । उनले जुस बिक्री गरेर जीविकोपार्जन गरिरहेकी छन् । शर्माले थोरै लगानीमा भए पनि स्वरोजगार बन्नुपर्छ भन्ने मनसायबाट प्रेरित भई उखु जुसको व्यवसाय सुरु गरेको बताइन् । ‘पहिले अर्काको पसलमा काम गर्थे । अर्काको काम गर्दा जानीनजानी कहिलेकाहीँ गल्ती भयो भने अनावश्यक कुरा सुन्नु पर्दथ्यो । आजभोलि आफैँले व्यवसाय सञ्चालन गरेपछि कमाएको जति खर्च गरेर बचत पनि हुन्छ’, उनले भनिन् । धनगढीस्थित स्थानीय बजारबाट ६० हजार रुपैयाँमा उखु पेल्ने मेसिन खरिद गरी व्यवसाय सुरु गरेकी भन्दै शर्माले मासिक ७० हजार रुपैयाँ बराबरको उखु जुसको कारोबार हुने गरेको बताइन् । उनका अनुसार बालबच्चाको लालनपालन, शिक्षा र घरपविारको सम्पूर्ण खर्च कटाएर ३५ हजार रुपैयाँ जति बचत हुने गरेको छ । उखु जुस प्रतिगिलास ३० रुपैयाँमा बिक्री गर्दै आएको उनले बताइन् । धनगढीको जुगेडाबाट प्रतिक्विन्टल एक हजार पाँच सय रुपैयाँमा उखु खरिद गरेर शर्माले जुस व्यवसाय गर्दै आएकी हुन् । केही दिनदेखि अत्यधिक गर्मी बढेसँगै जुसको व्यवसाय पनि राम्रो हुँदै आएको उनको भनाइ छ । लामो समयदेखि उखु जुस व्यवसाय सञ्चालन गरी जीवन निर्वाह गर्दै आएमा छोटु गुप्ताले पनि यही व्यवसायबाट जीविकोपार्जन भइरहेको बताए । कैलाली र कञ्चनपुरको सीमास्थित डोके बजार नजिकै व्यवसाय सञ्चालन गर्दै आएका उनले मासिक एक लाख रुपैयाँ बराबरको कोरोबार हुने गरेको जानकारी दिए । करोबारको पचास प्रतिशत जति फाइदा हुने गरेको गुप्ताको भनाइ छ । उनले धनगढीका तीन स्थानमा उखु जुस पेल्ने मेसिन राखेर व्यवसाय गर्दै आएका छन् । उखु जुसको व्यवसायले जीविकोपार्जनका साथै आम्दानीको स्रोत बन्दै गएको अर्का व्यवसायी अमरबहादुर चौधरीले बताए । उनले जाडो याममा ज्याला मजदुरी गर्ने र गर्मीमा प्रत्येक वर्ष जुसको व्यवसाय गर्दै आएको बताए । मासिक रुपमा ९० हजार रुपैयाँ जति कारोबार हुने गरेको भन्दै सबै खर्च कटाएर ३५ हजार रुपैयाँ फाइदा हुने उनको भनाइ छ । थोरै लगानीमा राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय यो व्यवसायप्रति धेरैको आकर्षण बढ्दै गएको छ । धनगढीमा हिजोआज अत्यधिक गर्मी बढेसँगै चिसो पेय पदार्थको व्यापार बढेको स्थानीय व्यापारीको भनाइ छ । धनगढी बजारलगायत आसपासका क्षेत्रमा झण्डै एक सय उखुको जुस बिक्री गर्ने व्यवसायी छन् । रासस
नाट्टाले भन्यो- हवाई टिकटमा भ्याट लगाएर १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन सक्दैन
काठमाडौं । नेपाल एसोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकटमा भ्याट लगाएर आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताएको छ । आर्थिक वर्ष २०८१र८२ को बजेट वक्तव्यपछि नाट्टाका अध्यक्ष रमेश थापाले बुधबार एक विज्ञप्ति जारी गर्दै व्यवसायीले हवाई टिकटमा लगाएको भ्याट हटाउन सरकारलाई पटकपटक ध्यानाकर्षण गराइए पनि नहटाउँदा पर्यटन व्यवसायी र हवाई यात्रुलाई समस्या परेको बताएका छन् । ‘गत वर्षको बजेट वक्तव्यमार्फत हवाई टिकटमा भ्याट लगाउने निर्णय गरेपछि पर्यटन व्यवसायी र हवाई यात्रु मर्कामा परेका छन्, जसका कारण नेपाल घुम्न आउने पर्यटकको सङ्ख्यासमेत उल्लेख्य मात्रामा बढ्न सकेको छैन,’ नाट्टाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। अध्यक्ष थापाले हवाई क्षेत्रको विकासका रूपमा सम्पन्न भइसकेका भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेको अवस्थामा भ्याट बढाउँदा आगामी आवमा पर्यटक भित्र्याउनका लागि सरकारले राखेको लक्ष्य पूरा हुन नसक्ने उल्लेख गरे। हवाई टिकटमा भ्याट लगाउँदा यात्रु र व्यवसायीमा आर्थिक रूपले वृद्धि भइरहेको तथा यस पेसामा संलग्न व्यवसायीहरुसमेत विस्तापित हुने वातावरण सिर्जना भएको नाट्टाले जनाएको छ ।
डेढ दशकमा हिमालका मुद्दा, कालापत्थर बैठकदेखि चन्द्रगिरि संवादसम्म
काठमाडौं । नेपाललगायत पर्वतीय मुलुकहरुले डेढदशक अघिदेखि विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा हिमाली क्षेत्रका मुद्दाबारे आवाज उठाउँदै आएका थिए । यस बारेमा धेरै बहस र छलफल भए पनि ठोस् निर्णय र परिणाममुखी सुनुवाइ भने हुनसकेको थिएन । लामो समयको प्रयासपछि पहिलो पटक गत वर्षको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८)ले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गरेका असरबारे आफ्नो निर्णयमा उल्लेख गरेको थियो । कोप–२८ सम्मेलन संयुक्त अरब इमिरेट्सको दुबईमा गत मङ्सिर १४ देखि २६ गतेसम्म सम्पन्न भएको थियो । हिमालीमुलुक नेपालले खासगरी सन् २००९ मा डेनमार्कको कोपनहेगनमा भएको कोप–१५ देखि नै जलवायु परिवर्तनले हिमाली पारिस्थितिकीय प्रणालीमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै आएको थियो । जलवायु परिवर्तनका सङ्कटलाई फरक शैलीबाट विश्वको ध्यान आकृष्ट गराउन नेपाल सरकारले विसं २०६६ मङ्सिर १९ गते सगरमाथा क्षेत्रको कालापत्थरमा मन्त्रिपरिषद् बैठक आयोजना गरी सो सम्बन्धमा विभिन्न निर्णय गरेको थियो । कालापत्थर बैठकको केही दिनपछि, सन् २००९ को डिसम्बरमा डेनमार्कको राजधानी कोपेनहेगनमा विश्व जलवायु सम्मेलन आह्वान गरिएको थियो । कोपेनहेगन बैठकमा नेपालले जलवायु परविर्तनका कारण नेपाल र पर्वतीय देशमा देखिएको सङ्कटबारे विश्वको ध्यानाकर्षण गराइएको थियो । त्यसयताका अधिकांश सम्मेलनमा नेपालले प्राथमिकताका साथ हिमालका मुद्दा उठाउँदै आएपनि यसबारेमा अपेक्षाकृत उपलब्धि भएको थिएन । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कोप–२८ सम्मेलनको पूर्वसन्ध्यामा गत कात्तिकमा नेपालको चार दिने भ्रमण गरेका थिए । उनले भ्रमणका क्रममा सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रको अवलोकन गरे । उनको भ्रमणले नेपाललाई हिमालका मुद्दा उजागर गर्न सहज भएको वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा बुद्धिसागर पौडेलले बताए । कोप–२८ सम्मेलनको उद्घाटन समारोहमा महासचिव गुटेरेसले नेपालको नाम लिएर विश्व तापमानमा भएको वृद्धिका कारण हिमाल पग्लिने क्रम तीव्ररुपमा बढेको र यसले पारेका असरबारे उल्लेख गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पछिल्लो समय आफ्ना अन्तर्राष्ट्रिय भ्रमणमा नेपालमा जलवायुले गरेका असरबारे सशक्त रुपमा कुरा उठाउनुका साथै नेपालले यसको उचित क्षतिपूर्ति पाउनुपर्ने तर्क राख्दै आएका थिए । प्रधानमन्त्री दाहालले पर्वतीय मुलुकका मुद्दा उजागर गर्नेगरी कोप–२८ सम्मेलनमा उच्चस्तरीय गोलमेच बैठकको आयोजना गरेका थिए। नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घको कार्यक्रममा छुट्टै बैठकको अध्यक्षता गर्दै उच्चस्तरीय बैठक सञ्चालन गरेको पहिलो पटक थियो । उक्त बैठकमा महासचिव गुटेरसले विशेष सम्बोधन गरेका थिए भने एण्डोराका प्रधानमन्त्री, किर्गिज गणतन्त्रका विदेशमन्त्री, भुटानका स्टेट सेक्रेटरीलगायतले विशेष सम्बोधन गरेका थिए । यही पृष्ठभूमिमा कोप–२८ सम्मेलनले पहिलो पटक पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारेका समस्याका बारेमा उल्लेख गरेको थियो । कोप–२८ सम्मेलनमा भएको जलवायुसम्बन्धी पहिलो विश्वव्यापी समीक्षा (जिएसटी)मा हिमालको पारिस्थितिकीय प्रणालीमा काम गर्नुपर्छ, यो बढी जोखिमयुक्त छ भनेर उल्लेख गरिएको थियो । साथै संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा)को ६०औँ बैठकमा पर्वत र जलवायु परिवर्तन विषयमा ‘विज्ञ संवाद’ आयोजना गर्न निर्देशन दिइएको थियो । साब्टाको ६०औँ सत्रमा हिमालका मुद्दासम्बन्धी ‘प्राविधिक संवाद’ हुँदै आगामी जुन ५ तरिखमा जर्मनीको बोनमा हुने साब्टाको ६०औँ बैठकमा हिमालका मुद्दासम्बन्धी ‘टेक्निलक डाइलग’ हुने भएको छ । साब्टा संवादअघि पर्वतीय क्षेत्रको मुद्दामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहललाई थप प्रभावकारी बनाउन नेपाललगायत अन्य पर्वतीय तथा साना टापु राष्ट्रका प्रतिनिधि, विषय विज्ञ, साझेदार संस्थालगायतको सहभागितामा यही जेठ ९ र १० गते काठमाडौंको चन्द्रागिरिमा ‘अन्तर्राष्ट्रिय संवाद’ आयोजना गरिएको वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले बताए । उनका अनुसार ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’मा नेपालसहित २५ पर्वतीय र साना टापु देशका प्रतिनिधि, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाजका प्रतिनिधि गरी दुई सय ५० भन्दा बढीको सहभागिता रहेको थियो । उक्त संवादको प्रधानमन्त्री दाहालले उद्घाटन गरेका थिए । उद्घाटनपछि तीनवटा प्रमुख विषयगत क्षेत्रमा केन्द्रित रहेर विभिन्न विधाका १० वटा सत्र सञ्चालन गरिएको थियो । प्रत्येक सत्रमा मुख्य वक्ता, फरक विषयका प्रस्तुति र समूहगत छलफल भएको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा पौडेलले जानकारी दिए । उनका अनुसार सबै सत्रका दौरान ५० भन्दा बढी अन्तर्राष्ट्रिय वक्ताले भाग लिई आफ्नो विज्ञताका क्षेत्रमा धारणा व्यक्त गरेका थिए । संवादले हिमाली र तल्लो तटीय क्षेत्रको पारिस्थितिकीय प्रणाली जलवायु परिवर्तनको उच्च जोखिममा रहेको निष्कर्ष निकालेको पौडेलले बताए । साथै संवादले यसको समाधानका लागि विश्वव्यापी रुपमा एकीकृत आवाज बुलन्द गर्ने उल्लेख गरेको उनको भनाइ छ । संवाद सम्पन्नपछि जारी गरिएको सारांश पत्रमा पर्वतीय र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने मानिसको जीवन र जीविकोपार्जनलाई दिगो बनाउने, कार्बन उत्सर्जनमा कम योगदान गर्ने र कम सक्षम देशमा असमान प्रभाव कम गर्न एकीकृत आवाज उठाउनेलगायत विषय उल्लेख छन् । हिमाली पारिस्थितिकीय प्रणालीमा जलवायु परिवर्तनको असर तुलनात्मक बढी हुने विषय विज्ञानले प्रमाणित भएको, खानेपानी, खाद्य आपूर्ति र जैविक विविधता जलवायु परिवर्तनबाट गम्भीर खतरामा परेकोलगायत विषय सारांशमा उल्लेख गरिएको छ । विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न जलवायु परिवर्तनसम्बन्धी कार्यका लागि विश्वव्यापी सहकार्य र नेतृत्व गर्ने, समावेशी लैङ्ङिक समानता, सामाजिक र अपाङ्गता समावेशीतामा ध्यान दिने सारांश पत्रमा उल्लेख गरिएको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा पौडेलले बताए । वित्त पहुँच र वितरणलाई गति दिने, प्रविधि विकास र हस्तान्तरण, नागरिक समाज, युवा, स्थानीय र आदिवासी समुदायको संलग्नताका लागि साझेदारी आवश्यक रहेकामा संवादले जोड दिएको उनको भनाइ छ । साब्टाको ६०औँ सत्रमा आयोजना हुने हिमाल र जलवायु परिवर्तनसम्बन्धी विशेषज्ञको संवादमा पर्वतीय समस्या समाधान गर्न ठोस् मार्गचित्र र रणनीति तयार गरेको छ । यसका निष्कर्षलाई जुन ५ तारिखमा जर्मनीको बोनमा हुने साब्टाको ६०औँ सत्रमा जोड्ने र त्यसपछि आगामी कोप–२९ का एजेण्डामा प्रवेश गराई संस्थागत गराउने नेपालको योजना रहको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । संवादमा सहभागी हुन बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री साबेर हुसेन चौधरी, भुटानका कृषि तथा पशुपक्षीमन्त्री ल्योन्पो योन्टेन फिन्टक्सो, साब्टाका अध्यक्ष ह्यारी भिरेउलगायत सरोकारवाला निकाय र संस्थाका उच्चअधिकारी नेपाल आएका थिए । कार्बन उत्सर्जनमा नेपालको योगदान नगन्य पेरिस सम्झौताअनुसार विश्व समुदायले यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढ्न नदिने सहमति गरेका छन् । सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम सरदर एक दशमलव आठ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ । तापक्रम वृद्धिले यस क्षेत्रमा रहेका हिमालका दुईतिहाइ हिमभण्डार पग्लिने जोखिम बढेको छ । अघिल्ला दशकका तथ्याङ्क विश्लेषण गर्दा हिमालमा प्रतिदशक शून्य दशमलव ०५ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ । तापक्रम वृद्धिसँगै हिमनदी पग्लिने क्रम पनि बढिरहेको वन तथा वातावरण मन्त्रालयका सहसचिव डा ढकालले बताए । यसको प्रत्यक्ष असर हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीदेखि साना टापु राष्ट्रसम्म परेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार हाल नेपालमा दुई हजार ७० हिमताल छन् । तीमध्ये २१ वटा जोखिममा छन् भने चीनको स्वशासित क्षेत्र तिब्बतका २५ र भारतको एउटा हिमतालको जोखिम पनि नेपालसम्म पुग्ने देखिन्छ । विश्वको कूल हरित गृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका नगन्य (०.०५ प्रतिशतभन्दा कम) रहेको छ । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेका विश्वका १०औँ सूचिमा पर्दछ । जलवायुको असरले हिमाली क्षेत्रमा हिमताल पग्लने र विस्फोट हुने, पहाडी क्षेत्रमा पहिरो र सुक्खा खडेरी, तथा तराई मधेसमा बाढी र पहिरो अस्वभाविक रुपमा देखिन थालेको छ । रासस
आज पनि स्थगित भयो रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै दायर भएको रिटको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा बिहीबार सुनुवाइका लागि पेशी तय भएको थियो । रिट निवेदक अनुपम भट्टराईले नै सुनुवाइ स्थगन गर्न निवेदन दिएका हुन् । न्यायाधीश हुनुअघि पोखरेल लामिछानेका कानुन व्यवसायी भएकाले हेर्न नमिल्ने बताउँदै निवेदक भट्टराईले निवेदन सुनुवाइ स्थगित गरेका हुन् । निवेदक भट्टराईले महान्यायाधीवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा सफाइका लागि पत्र दिएको भन्दै बदर घोषित गर्न भट्टराईले रिट दर्ता गराएका थिए । लामिछाने अनुसन्धान गर्ने निकाय गृह मन्त्रालयकै नेतृत्वमा भएकाले उनलाई पदबाट निलम्बन गरी सहकारी ठगीको छानबिन हुनुपर्ने माग गरिएको छ ।
काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो
काठमाडौं । नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोसी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । काठमाडौं उपत्यकाको आजको तापक्रम पुनः बढेर ३३ डिग्री सेल्सियस पुगेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । विगत केही दिनयतादेखि यहाँको तापक्रम बढ्दै गइरहेको उनले बताए । मौसमविद् मानन्धरले उनले भने, ‘नेपालमा अहिलेसम्म मनसुन भित्रिएको छैन, भारतमा आज मात्रै भित्रिएको छ । मनसुन नेपाल आइपुग्न अझै एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्नसक्छ ।’ आज यहाँको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसबीच रहने विभागले पूर्वानुमान गरेको थियो । अहिले दिपायलमा ३६ दशमलव ६ डिग्री, धनगढीमा ४१ डिग्री, साडेपानीमा ४२ दशमलव ५, नेपालगञ्जमा ४१ दशमलव २ र भैरहवामा ३८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।
बजेटपछि निरन्तर नेप्सेमा गिरावट, दोहोरो अंकले घट्यो
काठमाडौं । बजेटपछिको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक घटेको छ । साताको अन्तिम कारोबार दिन अर्थात् बजेटको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक घटेर बन्द भएको हो । बजेटपछिको पहिलो कारोबार दिन बुधबार पनि नेप्से दोहोरो अंकले घटेको थियो । आज नेप्से १९.८९ अंकले घटेर २०६९.५३ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३११ स्टकको ९८ लाख ६४ हजार कित्ता सेयर ६१ हजार ७२ पटक खरिदबिक्री हुँदा ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँ बराबरको भएको छ । हिजो ४ अर्ब ५७ करोडको सेयर खरिदबिक्री भएको थियो । नेपाल फाइनान्स, अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज युनिलिभर नेपालको सेयरमूल्य साढे ९ प्रतिशतले बढेको छ । पोखरा फाइनान्सको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । फाइनान्सको १९ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.२३ प्रतिशत बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.५३ प्रतिशत घटेको छ । १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । नेप्सेसँगै आज सेन्सेटिभ इण्डेक्स ३.९० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७६ अंक घटेको छ ।