संघीय संसदका कर्मचारीको माग सम्बोधन गर्न समिति गठन
काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उक्त समिति गठन गर्ने निर्णय भएको हो । सो समितिमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी सदस्य छन् । बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमान पुन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गिरी सहभागी थिए । मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय पनि बैठकमा उपस्थित थिए । सभामुखले संसद् सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफल गरिरहेो उनका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
एनआईसी एशिया लघुवित्तका अध्यक्ष पौडेलको राजीनामा स्वीकृत
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक तथा अध्यक्ष सुवर्ण पौडेलको राजीनामा स्वीकृत भएको छ । शुक्रबार साँझ ५ बजे बसेको संस्थाको २१८औं सञ्चालक समितिको बैठकले पौडेलको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव दिपित श्रेष्ठले बताएका छन् । उनका अनुसार पौडेलले असार ६ गतेबाट लागु हुने गरी आफ्नो बहाल पदबाट राजीनामा दिएका थिए ।
असार २७ देखि एकीकृत कारोबार सुरु गर्दै किसान र जाल्पा सामुदायिक लघुवित्त
काठमाडौं । असार २७ गतेबाट जाल्पा सामुदायिक र किसान लघुवित्त एक आपसमा मर्ज भएर एकीकृत कारोबार सुरु गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । दुवै संस्था मर्ज भएपछि ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’ को नामबाट कारोबार हुनेछ । गत चैत १८ गते यी दुई कम्पनीले मर्जरका लागि अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका थिए । बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पाको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ । यस्तै, कैलालीको लम्बीचुहामा रजिष्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ । मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय कैलाली लम्कीचुहा–४ मा रहने छ ।
सुनको मूल्य तोलामा २७ सयले घट्यो
काठमाडौं । स्थानीय बजारमा आइतबार पहेँलो धातुको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आजका लागि एक लाख ४२ हजार रुपैयाँ निर्धारण भएको छ । यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ८ सय १५ रुपैयाँ निर्धारण भएको छ ।
नेको इन्स्योरेन्सले हस्तान्तरण गर्यो एम्बुलेन्स
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले एम्बुलेन्स सहयोग गरेको छ । कम्पनीले नेपाल रेडक्रस सोसाइटी कपिलवस्तुको जिल्ला उपशाखा बाणगंगालाई एउटा एम्बुलेन्स सहयोग गरेको हो । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल रेडक्रस सोसाइटी, वाणगंगा उपशाखाका सभापति शंकर पाण्डेलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सांसद विष्णु पन्थी, बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी, नेको इन्स्योरेन्सका अध्यक्ष रमेश कुमार निरौला, प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काको उपस्थिति रहेको थियो । उक्त एम्बुलेन्स नेपाल सरकारद्वारा राजस्व छुट प्राप्त हो । कम्पनीले तीन वर्षअघि सातै प्रदेशमा एम्बुलेन्स सहयोग गर्ने योजना बनाएको थियो । तर बाणगंगा नगरपालिकाको अथक प्रयासले एम्बुलेन्स हस्तान्तरण गर्न सफल भएको कम्पनीले जनाएको छ । देशको बीमा बजारमा विगत २९ बर्षदेखि सेवा प्रदान गर्दै आएको नेको इन्सुरेन्सले आफ्नो सेवा प्रवाहका क्षेत्रमा निरन्तर वृद्धि गर्दै बीमाशुल्क, दावी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायतका सूचकांकहरुमा उल्लेखनीय योगदान गर्दै आएको छ । कम्पनीले व्यवसायसँगै समाज सेवामा सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरू गर्दै आएको छ । यसअघि सिरहाको सामुदायिक अस्पताललाई यन्त्र–उपकरणको लागि सहयोग, बन्दीपुर तनहुँको सामुदयिक अस्पतालको भवन निर्माणको लागि सहयोग प्रदान गरेको थियो ।
विभिन्न व्यक्तिका नाममा रहेको जग्गा तथा फर्म लिलामी गर्दै नेपाल बैंक
काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न शाखाबाट कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरूको जग्गा लिलामका लागि ३५ दिनको समय दिएको छ । बैंकले आइतबार सूचना जारी गर्दै यी बैंकको नाममा रहेको सम्पत्ति ३५ दिनभित्र चुक्ता नभए लिलामी गरिने जानकारी दिएको छ । कर्जाहरूको भुक्तानी म्याद समाप्त भई कर्जा चुक्ता गर्नका लागि तरताकेता गर्दा समेत हालसम्म पनि कर्जा चुक्ता नभएकाले सुरक्षणमा राखिएको चलअचल जग्गा र त्यसले चर्चेको समपूर्ण लिगलगापात समेत जेजस्तो अवस्थामा छ, सोही अवस्थामा शिलबन्दी बोलपत्रमार्फत लिलाम गर्न लागिएको बैंकले जनाएको छ । बैंकका अनुसार गोप्य शिलबन्दीमार्फत घरजग्गा खरिद गर्न चाहनेले सूचना प्रकाशित भएको १५ दिनमा बोलपत्र पेस गर्न सक्नेछन् ।
आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिन्छ : अर्थसचिव मरासिनी
काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले आर्थिक वृृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । मरासिनीले भने, ‘पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै गएकोले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिन्छ, हामीले ६ प्रतिशतको मात्रै लक्ष्य राखेका छौं, त्योभन्दा पनि हाँसिल गर्ने गरि काम गर्न सकिने स्थिति बनिरहेको छ ।’ उनले अहिले अर्थतन्त्र सही मार्गमा अघि बढेको र आर्थिक गतिविधि बढ्ने स्थिति बनिसकेको बताए । तर, त्यसलाई तीव्रता दिन र अर्थतन्त्रमा चाँडो सुधार ल्याउन हाल चलिरहेको भाष्यमा सुधार ल्याउनु कुरामा उनले जोड दिए । अर्थसचिव मरासिनीले भने, ‘यो भाष्यलाई परिवर्तन गर्नुपर्छ, अर्थतन्त्र कन्फिडेन्सले पनि चल्ने हो । मुहार हेरेर पनि कारोबार गर्नु पर्ने अवस्था आउन सक्छ । बैंकर साथीहरूले पनि यो विषयमा मनन गर्नुपर्छ ।’ यस्तै, उनले पछिल्ल्लो समय बैंकका लिलामीका सूचना देख्दा दुःख लाग्ने गरेको सुनाए । यो विषयमा समाधानका लागि सबैको सहकार्यमार्फत् अगाडि बढ्नु पर्ने बताए । यस्तै, उनले प्रतिव्यक्ति आयको हिसाबमा एशियामा नेपाल केही पछाडि भएपनि वित्तीय स्थिरता लगायत आधारभूत सूचकहरूमा अन्य देशको तुलनामा अगाडि नै रहेको धारणा राखे । उनले पछिल्लो समय अधिकांश मानिसहरूले बजेटको भन्दा मौद्रिक नीतिप्रति विश्वास गर्दा चिन्ता र चुनौति पनि थपिएको बताए ।
जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ तर आत्तिनु हुँदैन : पूर्वबैंकर क्षेत्री
काठमाडौं । पूर्वबैंकर पर्शुराम कुवँर क्षेत्रीले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति ट्रेण्ड डरलाग्दो अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले अर्थतन्त्रमा देखिएको सुस्तताले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति पनि बढ्दै गएको धारणा राखेका हुन् । नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको अवस्था र त्यसको असर विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले खराब कर्जाको बढ्दो ट्रेण्डले वित्तीय संस्थाको नाफा, पुँजी कोष र तरलतामा प्रभाव परेको बताए । उनले पाँच वर्षअघि १.८१ प्रतिशत रहेको बैंकको खराब कर्जा अहिले ३.९८ प्रतिशत पुग्नु ठूलो दबाब रहेको बताए । ‘२०७६ मा प्रोभिजनिङ ६९ अर्ब रहेकामा अहिले २ खर्ब ३३ अर्ब पुगेको छ, लोन लस प्रोभिजनको शीर्षकमा रकम बढ्दै गएको छ, २०७६ मा गैर बैंकिङ सम्पत्ति साढे ६ अर्ब रहेकोमा अहिले २७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ, पाँच वर्षअघि रिटर्न अन इक्विटी (आरओई) १२.५९ थियो, अहिले ७.६८ प्रतिशत छ,’ उनले भने, ‘यसले पनि बैंक कति दबाबमा छन् भन्ने देखिन्छ ।’ यस्तै, उनले उनले पाँच वर्षको अवधिमा बैंकहरूको नाफा पनि १७ प्रतिशतले घटेको तथ्यांक प्रस्तुत गरे । बजारमा बैंकहरूले अर्बाैं कमाए भनेर हल्ला भए पनि त्यो भ्रम मात्रै रहेको उनको धारणा छ । २०८०को वित्तीय प्रतिवेदनअनुसार १० वटा बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको बताउँदै चार वटाको २ प्रतिशतभन्दा कम र तीन वटा बैंकको ४ देखि ६ प्रतिशतको हाराहारीमा वितरणयोग्य नाफा रहेको उनले बताए । बैंकको बिजनेस पनि एउटा चक्र भएकोले अर्थतन्त्रमा देखिएको सुस्तताकै कारण बैंकिङ क्षेत्रमा दबाब सिर्जना भएको धारणा राखे । ‘कमजोर नियमनले पनि बैंकको सम्पत्तिको गुणस्तर खस्कियो, बैंकबाट लिएको कर्जालाई अनुत्पादक क्षेत्रमा लगानी गर्न प्रशय मिल्यो, त्यसले सम्पत्तिको गुणस्तर खस्केर जोखिम सिर्जना भएको हो,’ उनले भने । उनले अब राष्ट्र बैंकले चालु पुँजी कर्जाको मार्गदर्शनमा केही पुनरावलोकनको विषयमा सोच्नुपर्ने बताए । यस्तै, उनले बैंकको पुँजी कोष पनि ठूलो दबाबमा रहेको सुनाए । पुँजी कोषको दबाबकै कारण कर्जा नबढ्ने तर प्रोभिजन बढ्ने अवस्था देखिएको उनकाे भनाइ छ । ‘जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ, तर आत्तिनु हुँदैन , अहिले पुँजी कोष कायम गर्न नसक्ने दुई बैंक छन्, १८ वटा बैंकको कर्जा प्रवाह गर्न सक्ने क्षमता पनि करिब ६ खर्ब रुपैयाँ छ, अहिले बैंकहरूको ६ खर्ब ९२ अर्बको पुँजी कोष छ, त्यसमा ८३ अर्ब घटेमा बैंकको पुँजी कोष १०.९९ कायम हुन जान्छ, यसले बैंकलाई थप सकस सिर्जना गर्न सक्छ,’ उनले भने ।