स्वास्थ्य क्षेत्रमा राज्यको लगानी बढ्दो
भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले स्वास्थ्यको क्षेत्रमा बजेट बढाउँदै लगेको बताएका छन् । विश्व योग दिवसका अवसरमा जीवन विज्ञान नामको संस्थाले आजयहाँ आयोजना गरेको साताव्यापी ऊर्जा ध्यान शिविरमा उनले जनताको प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य क्षेत्रमा सरकारले क्रमशः लगानी बढाउँदै गएको बताए । सचिव मैनालीले स्वास्थ्य क्षेत्रमा भएको लगानीलाई कम गर्न रोग लाग्नुभन्दा रोग लाग्नै नदिने उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए । सचिव मैनालीले भने, ‘देशमा जटिल र नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सर्नेभन्दा नसर्ने रोग चुनौती बनेका छन् । जथाभावी खानपानले रोग बढेको छ ।’ सातदिने शिविरमा सहभागी दुई सय प्रशिक्षार्थीलाई जीवन विज्ञानका प्रशिक्षकद्धय विन्दा आचार्य र प्रदीप प्रणव प्रशिक्षण दिनेछन् ।
स्विट्जरल्यान्डको अदालतले ४ वर्ष सजाय सुनाएको हिन्दुजा परिवारको सम्पत्ति कति ?
काठमाडौं । स्विट्जरल्यान्डको फौजदारी अदालतले भारतीय कामदारमाथि शोषण गरेको अभियोगमा शुक्रबार भारतीय मूलको व्यावसायिक घराना हिन्दुजा परिवारका सदस्यलाई चारदेखि साढे चार वर्षको जेल सजाय सुनाएको छ । तर, अदालतले मानव बेचबिखनको गम्भीर आरोप भने खारेज गरेको छ । भारतीय मूलका उद्योगपति प्रकाश हिन्दुजा र उनकी श्रीमती, छोरा र बुहारीलाई आफ्ना कामदार (नोकर) तस्करी गरेको आरोप लागेको थियो । यिनीहरूमध्ये अधिकांश अशिक्षित भारतीयहरू थिए जसले जेनेभामा उनको विलासी भिल्लामा काम गर्थे । हिन्दुजा परिवारको जरा भारतसँग जोडिएको छ । यो परिवार सन् १९८० को दशकको अन्त्यतिर स्विट्जरल्यान्डमा बसोबास गरेको थियो । हिन्दुजा परिवारको सूचना प्रविधि, मिडिया, पावर, रियल इस्टेट र हेल्थकेयर जस्ता क्षेत्रमा व्यवसाय छ । फोर्ब्सका अनुसार हिन्दुजा परिवारको कुल सम्पत्ति करिब २० अर्ब डलर छ । हिन्दुजा बेलायतको धनी परिवारमध्ये एक हो । फोर्ब्सको सूचीअनुसार गत वर्ष हिन्दुजा परिवार भारतको सबैभन्दा धनी व्यक्तिको ७औं स्थानमा परेको थियो । यो परिवार विश्वको ठूला २ सय धनी व्यक्तिको सूचीमा आबद्ध छ । हिन्दुजा परिवारको लगानी अशोक लेल्यान्ड, हिन्दुजा टेक टेलिकम, गल्फ आयल इन्टरनेसनल लिमिटेड तथा ग्यास, क्वेकर हाउटन इन्टरनेसनल लिमिटेड, हिन्दुजा नेसनल पावर कर्पोरेसन लिमिटेड, हिन्दुजा रिन्युएवल्स इनर्जी प्रालि, इन्डसइन्ड बैंक, हिन्दुजा हाउजिङ फाइनान्स, स्विच मोबिलिटी, पीडी हिन्दुजा हस्पिटल, हिन्दुजा लेल्यान्ड फाइनान्स लिमिटेड, जीओसीएल कर्पोरेसन लिमिटेड, तारे होटलहरू, सूचना प्रविधि, अटो, पूर्वाधार निर्माण, रियल इस्टेट लगायतमा छ । हिन्दुजा परिवारका चार सदस्यलाई कर्मचारीको राहदानी जफत गरेको, स्विस फ्रयांकको सट्टा रुपैयाँमा भुक्तानी गरेको पनि आरोप लगाइएको छ । यस्तै उनीहरूलाई स्विजरल्यान्डमा आफ्नो भिल्ला छाड्न प्रतिबन्ध लगाइएको थियो र धेरै थोरै पैसाका लागि लामो समय पीडादायी रूपमा काम गर्न बाध्य पारिएको आरोप लगाइएको छ । अदालतले परिवारका चारै जनालाई कर्मचारीको शोषण र अनधिकृत रोजगारी दिएको अभियोगमा दोषी ठहर गरेको छ । श्रमिकले स्वेच्छाले काम गरेको भनेपछि अदालतले तस्करी मुद्दा खारेज गरेको थियो । फैसला सुनाउँदा चारै जना अभियुक्त जेनेभा अदालतमा उपस्थित थिएनन् । परिवारका व्यापार प्रबन्धक र पाँचौं अभियुक्त नजीब जियाजी अदालतमा उपस्थित थिए । उनलाई १८ महिनाको जेल सजाय सुनाइएको थियो, जसलाई निलम्बनमा राखिएको छ । एजेन्सी
निफ्राको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रान्सटक्चर बैंक लिमिटेड (निफ्रा) को १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आइतबार एक सूचना प्रकाशन गरी आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रान्सटक्चर बैंक लिमिटेड (निफ्रा) को १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जानकारी दिएको हो । बैंकले उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम १०१ रुपैयाँ तोकेको छ । यो सेयर संस्थापक सेयरधनी, सर्वसाधारण, कम्पनी तथा संघसंस्थाहरूले किन्न पाउनेछन् । सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । उक्त संस्थापक सेयर खरीद गर्न चाहनेले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल वा एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन, विरेन्द्रनगर शाखा कार्यालयमा आवेदन दिन सक्नेछन् । आवेदन असार १० देखि १७ गतेभित्र कार्यालय समयसम्म मात्र दिन सकिनेछ ।
सागसब्जी बेचेर शालिजावासीले भित्र्याए ५ करोड
पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक ५ करोडभन्दा बढी भित्र्याउन सफल भएका छन् । जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका अधिकांश किसानले व्यावसायिक रूपमा सागसब्जी लगाउने गरेका छन् । कृषि ज्ञान केन्द्रमार्फत सागसब्जी उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गरिएको शालिजामा मौसमीभन्दा बेमौसमी सागसब्जी बढी उत्पादन हुने भएकाले किसानको आम्दानी बढेको हो । व्यावसायिक सागसब्जी उत्पादन गर्न थालेपछि यहाँका किसानको जीवनस्तरमा परिवर्तन आएको छ । यहाँ उत्पादन भएको आलु, काउली, बन्दागोभी, बोडी, सिमी, लौका, डल्ले खुर्सानी, काँक्रोलगायत ताजा सागसब्जी छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा, बागलुङ बजार र पोखरासम्म बिक्री हुने गरेको स्थानीय किसान वुद्धि सुवेदीले जानकारी दिए । माथिल्लो शालिजा, तारे, पातलखर्क, ओख्रेनी र तल्लो शालिजाको भोटेडाँडा, दीप, स्वारा, गामलगायत स्थानमा आलु र ताजा सागसब्जी उत्पादन गरिँदै आएको छ । शालिजाका अधिकांश किसानले अन्नबाली छाडेर ताजा सागसब्जी उत्पादन गर्दै आएका छन् । उनीहरूको खेतबारी कहिल्यै बाँझो रहँदैन । हरेक मौसममा विभिन्न सागसब्जीले हरियाली छाएको देखिन्छ । मगर समुदायको बाहुल्य रहेको यस गाउँमा सडकको पहुँच पुगेपछि व्यावसायिक सागसब्जी खेतीमा लाग्ने किसानको आकर्षण बढेको सुवेदीले बताए । उच्च भाग, चिसो हावापानी र खेतीयोग्य जमिन भएकाले यहाँ आलु र मौसमी तथा बेमौसमी सागसब्जी उत्पादन हुँदै आएको छ । शालिजाका आठ सय परिवार व्यावसायिक सागसब्जीखेतीमा संलग्न भएका जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । सागसब्जीखेती गरेर यहाँका किसानले वार्षिक रूपमा न्यूनतम रु दुई लाखदेखि रु १० लाखसम्म आम्दानी गर्दै आएका छन् । पछिल्लो समय जलजला गाउँपालिकाले आलुको बीउको स्रोत केन्द्रका रूपमा यो ठाउँलाई विकास गरेपछि स्थानीय किसानको आलुलगायतका सागसब्जी उत्पादनमा झनै आकर्षण बढेको हो । आलु बिक्री गरेर मात्र गाउँमा करिब एक करोड रुपैयाँ भित्रिने गरेको स्थानीय किसान तथा शालिजाका पूर्ववडाध्यक्ष होमबहादुर पुनले जानकारी दिए । पुस, माघमा लगाएको आलुखेतीले यतिखेर गाउँ नै भरिएको छ । अहिले आलु खनेर बजार पुर्याउन स्थानीयलाई भ्याइनभ्याई भएको उनले बताए । यहाँका अधिकांश किसानले व्यावसायिक सागसब्जीखेती गरेर राम्रो आम्दानी लिएको जलजला गाउँपालिका–६ शालिजाका पूर्ववडाध्यक्ष पुनले बताए । राम्रो सिँचाइ र उत्पादित कृषि उपजको बजारीकरणमा सरकारी निकायले सहयोग गरे अझै ताजा सागसब्जी उत्पादन वृद्धि हुने पुनले बताए । शालिजा गाउँमा एउटै किसानले २५ मुरीदेखि ५० मुरीसम्म आलु फलाउने गरेको अर्का किसान वीरबहादुर पुनले जानकारी दिए । उनका अनुसार शालिजामा आलुमात्रै बिक्री गरेर २ लाखदेखि ६ लाख रुपैयाँसम्म कमाउने गर्दछन् । विगत १४ वर्षदेखि निरन्तर आलुखेती गर्दै आएका पुनले उत्पादन भएको आलु बिक्रीका लागि कुनै समस्या नभएको र पोखरा, काठमाडौं, कुश्मा, बागलुङबाट माग आउने बताए । घरबाटै बीउ आलुलाई २ सयदेखि २ सय ५० पाथीमा बिक्री गर्न सकिने उनले जानकारी दिए । ‘शालिजामा उत्पादन भएको आलुको मुख्य बजार पोखरा हो, त्यसपछि बागलुङ, कुश्मा र बेनी जान्छ,’ उनले भने । मिलनचोक–शालिजा सडक स्तोरन्नति भए आलु ढुवानीमा सहज हुने उनले बताए । जलजला गाउँपालिकाले आलुको बीउमा आत्मनिर्भर बनाउन बीउ उत्पादनलाई जोड दिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । उनले गाउँपालिकाले व्यावसायिक रूपमा सागसब्जी लगाउने किसानलाई प्रोत्साहनस्वरुप तालिम, उपकरण र बीउमा अनुदान दिँदै आएको बताए ।
पहिराले डुम्रे-बेँसीसहर सडक पुनः अवरुद्ध
लमजुङ । गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईंले पानी परिरहेका र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताए । सडक अवरुद्ध भएपछि लमजुङबाट संघीय राजधानी काठमाडौं, गण्डकी प्रदेश राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थान जानेआउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ । बाटोमा सयौँ यात्री अलपत्र परेका छन् । यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
‘नेपाल आइडल-५’ को उपाधि करण परियारलाई
काठमाडौं । प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनी विजेता बनेका हुन् । विजेता परियारले नगद २५ लाखसहित अन्य उपहार प्राप्त गरे । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भएसँगै नगद १० लाख, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भएर नगद पाँच लाख र दार्जिलिङकै मोहित भुजेलले चौथो स्थान हासिल गरेर पुरस्कारमा स्कुटर प्राप्त गरे । विगत चार महिनादेखि जारी प्रतियोगितामा दर्शकले दिएको मतका आधारमा विजेता चयन गरिएको हो । ‘नेपाल आइडल’को पाँचौँ संस्करणमा गायक न्हू बज्राचार्य, सङ्गीतकार कालिप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशीले निर्णायक थिए ।
विजय लघुवित्तले बोलायो १५औं वार्षिक साधारण सभा, एफपीओ निष्कासन गर्ने
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले १५औं वार्षिक साधारण सभा असार ३० गतेका लागि बोलाएको छ । कम्पनीको असार ७ गते बसेको सञ्चालक समिति बैठकले काभ्रेपलाञ्चोक धुलिखेलस्थित धुलिखेल लज रिर्सोटमा बिहान ११ बजे सभा बस्ने गरी सभा बालाएको हो । कम्पनीले यसअघिनै गत आर्थिक वर्षको वितरणयोग्य मुनाफबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ । सभाले सर्वसाधारणका लागि छुट्याइएको साधारण सेयर सम्बन्धित नियकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ । गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । सञ्चालक समितिमा संस्थापक समूह ‘क’ बाट ४ जना र सर्वसाधारण समूह ‘ख’ बाट २ जना सञ्चालक नियक्त गर्ने र संस्थाको सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले असार १७ देखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आइतबार अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको चेतावनी दिँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा देशका बाँकी भागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागले आइतबार दिउँसो देशभरि आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको बताएको छ । साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । त्यसैगरी, राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले आज बिहान ६ः०० बजे प्रकाशन गरेको मौसम ‘बुलेटिन’मा जनाएको छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोको जोखिमबाट बच्न तथा त्यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले विभागले सतर्कता अपनाउनु अनुरोध गरेको छ ।