नास आईटी अवार्ड २०२४ को लागि आवेदन खुला
काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नास आईटी अवार्ड २०२४ को आयोजना गर्ने भएको छ । नेपालको आइसिटी क्षेत्रमा इन्नोभेसन, उद्यमशीलता र प्राविधिक उपलब्धतालाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले नास आईटी अवार्ड २०२४ आयोजना हुन लागेको हो । अवार्डका लागि बैंकिङ, बीमा, वित्त, मार्केटप्लेस, शिक्षा, यातायात, लजिष्टिक, फिनटेक, आइसिटी सेवा सोलुसन, सेक्युरिटी सोलुसन, प्रोफेसनल सेवा सोलुसन, सरकार, नागरिक सेवा, डिजिटल सरकार तथा स्नातक तहका विद्यार्थीका परियोजना विधामा आवेदन दिन सकिने छ । आवेदन आगामी भदौ ५ गतेसम्म दिन सकिने छ । नास आईटी अवार्ड २०२४ का विजेताहरूलाई डिसेम्बर २०२४ मा ब्रुनेईमा आयोजना हुने प्रतिष्ठित एसिया प्यासिफिक आइसिटी अलायन्स (एपिक्टा) अवार्डमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त हुनेछ । एपिक्टा अवार्डले अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, नेपाल, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनाम सहित १७ एशिया प्यासिफिक अर्थतन्त्रहरूका आइसिटी उत्पादनहरूलाई अन्तर्राष्ट्रिय प्लेटफर्म प्रदान गर्दछ ।
होटल क्षेत्रलाई उद्योग सरहको मान्यता दिइने
काठमाडौं । होटल संघ नेपालको प्रतिनिधिमण्डल र उपप्रधान तथा अर्थमन्त्रीबीच होटल क्षेत्रको वृहत्तर विकासमा छलफल भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बढ्दै गएको होटल संख्याको अनुरुप विद्यमान माग बढाउँदै क्षमता उपयोग गर्न नीतिगत सुधार गर्नेतर्फ सरकार सक्रिय रहेको बताएका छन् । अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको होटल संघ नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले बढ्दै गएको होटलहरूको संख्या र क्षमतामा उपयोग गर्न भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान बढाउनुका अतिरिक्त पर्यटकीय तथा राष्ट्रिय महत्वका पोखरा, चितवन, लुम्बिनी राजमार्गहरुको विस्तार र स्तरोन्नति निश्चित समयभित्र सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए । उपप्रधान तथा अर्थमन्त्री पौडेलले आउँदो मौद्रिक नीतिमा पर्यटन/होटल क्षेत्रको स्थायित्व तथा प्रवद्र्धन गर्न अभिप्रेरित रहने बताउँदै व्यवसायीहरुले लामो समयदेखि होटल क्षेत्रलाई उद्योग सरहको मान्यता दिने मागप्रति सरकार सकारात्मक रहेको र नीतिगत सुधार गर्ने बताए । उनले नेपालमा आउने भारतीय पर्यटकहरुबाट त्यहाँको खर्च गर्ने सीमा तथा व्यवस्था, आन्तरिक पर्यटन बढाउने लगायत होटल संघ नेपालले उठाएका पर्यटन विकास विस्तारका विषयहरुमा मन्त्रालय सकारात्मक रहेको बताए । उक्त अवसरमा होटल संघ नेपालका अध्यक्ष शाहले होटलको संख्या तथा क्षमता बढे अनुरुप माग बढ्न नसकेको हुँदा आउँदो मौद्रिक नीति लगायतका सरकारी पहल आवश्यक रहेको विवरण प्रस्तुत गरी ज्ञापनपत्र पेस गरेका थिए । प्रतिनिधिमण्डलमा द्वितीय उपाध्यक्ष दिनेश तुलाधर, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्यहरु सीपी श्रेष्ठ र जयदीन श्रेष्ठको उपस्थिति रहेको थियो ।
उच्च शिक्षा अध्ययनका लागि ६६ देशमा १ लाख १२ हजार विद्यार्थीलाई अनुमति
काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि एक वर्षमा ६६ देशका लागि १ लाख १२ हजार बढी विद्यार्थीले अध्ययन अनुमति पत्र लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका अनुसार २०८० साउन १ गतेदेखि २०८१ असार ३१ सम्ममा उच्च शिक्षा अध्ययनका लागि सबैभन्दा बढी जापानका लागि अध्ययन अनुमतिपत्र लिएका छन् । जापानमा ३४ हजार ७ सय ३१ जनाले अनुमतिपत्र लिएका छन् । त्यसैगरी क्यानाडामा १५ हजार ९८२, अस्ट्रेलिया १४ हजार ३७२, बेलायत १३ हजार ३३९, अमेरिका ११ हजार २६१, दक्षिण कोरिया ६ हजार ८८९ जना विद्यार्थीले अध्ययन अनुमतिपत्र लिएका छन् । बंगलादेशमा भने चार सय ४८ जनाले अनुमतिपत्र लिएका छन् । विदेशमा उच्च शिक्षा अध्ययनका लागि जानेमध्ये सबैभन्दा बढी जापानी भाषा अध्ययनका लागि ३३ हजार ६७९ जनाले अनुमतिपत्र लिएका छन् । विभिन्न देशमा व्यवस्थापन विषय अध्ययनका लागि २८ हजार आठ ९१, बिजनेस अध्ययनका लागि १० हजार २९, स्वास्थ्य शिक्षामा चार हजार १५९, सूचना प्रविधिमा पाँच हजार ९११, विज्ञानमा पाँच हजार ३८४, हस्पिटियालिटीमा २५ सय ४३, कम्प्युटर साइन्समा ४ हजार ९ सय ९२ अनुमतिपत्र लिएका छन् ।
एनआईसी एशिया लघुवित्तका नवनियुक्त सीईओ जोशीले लिए सपथ
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चोलराज शर्मा जोशीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नव नियुक्त सीईओ चोलराज शर्मा जोशीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम साउन ७ गते संस्थाका अध्यक्ष प्रकाश राज शर्मा समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका हुन् । लघुवित्त क्षेत्रमा करिब २९ वर्षको लामो कार्य अनुभव भएका चोलराज शर्मा जोशीले मानविकी र सामाजिक विज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।
एभरेष्ट बैंक र एसबी सोलुसन्सको सहकार्य, सुरु भयो क्रेडिट स्वचालन प्रणाली
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स) लागु गरी सञ्चालनमा ल्याएको छ । उक्त प्रणाली लागु गर्ने सम्झौतामा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एस।बी सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जोग मिश्राले आफ्नो संस्थाका तर्फबाट हस्ताक्षर गरेका थिए । यस प्रणालीले आन्तरिक कर्जा स्वीकृति व्यवस्थापन, कर्जा कार्यप्रवाह, जोखिम मूल्याङ्कन, कर्जाका कागजातहरू र कर्जा स्वीकृतिको प्रक्रियाहरूलाई स्वचालित र डिजिटाइज गर्न मद्दत गर्ने छ । यस प्रणालीको परिचयसँगै, बैंकहरूले कागजमा निर्भर कर्जा प्रवाहलाई प्रतिस्थापन गर्न सक्नेछन्, साथै ग्राहकहरू सम्बन्धी जोखिम मापदण्डहरू प्रणाली भित्रै निगरानी गरेर कर्जा जोखिम न्यून गर्न सक्षम हुनुका साथै छिटो कर्जा स्विकृती प्रक्रियामा सहयोग हुने बैंकले जनाएको छ । । एस.बी. सोलुसन्स फिनटेक र बैंकिङ उत्पादनहरू र प्रक्रियाहरूको कर्जा डिजिटाइजेशन र स्वचालनमा काम गर्दै आएको छ । यसमा क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स), अनलाइन कर्जा योग्यता, इन्टा लोन, पेडे लोन, अनलाइन खाता खोल्ने, कागजात व्यवस्थापन प्रणाली, विक्रेताहरू व्यवस्थापन प्रणाली, व्यवसाय बैंकिङ प्रणाली र ग्यारेन्टीहरूको स्वचालन, मेमो व्यवस्थापन प्रणाली, बजेट व्यवस्थापन प्रणाली र मोबाइल अनुप्रयोग आदि जस्ता उत्पादनहरूको चयन गरिएको छ । हाल २५ भन्दा बढी वित्तीय संस्थानहरू र कर्पोरेट घरानाहरूले एस.बी. सोलुसन्सद्वारा निर्मित प्रणालीहरू प्रयोग गर्दै आएका छन् ।
हिमालयन डिस्टिलरी सर्वोत्कृष्ट गोल्ड पुरस्कारबाट सम्मानित
काठमाडौं । मदिरा उत्पादन कम्पनी हिमालयन डिस्टिलरी लिमिटेड प्रतिष्ठित राष्ट्रिय प्रतिवेदन २०२३ पुरस्कारबाट सम्मानित भएको छ । इन्स्टिच्युट अफ चाटर्ड अकाउन्टेन्ट अफ नेपाल (आइक्यान)को १०औं वार्षिक परिषदको भब्य समारोह मार्फत हिमालयन डिस्टिलरीलाई सम्मान गरिएको हो । उत्कृष्ट सञ्चालन र पारदर्शी व्यापार अभ्यास गर्दै आएको यस कम्पनीलाई आफ्ना प्रयासहरुमा यस पुरस्कारबाट अझै हौसला मिलेको छ । हिमालयन डिस्टिलरी आगामि दिनमा कर्पोरेट सुशासन र वित्तिय अखण्डताको उच्चतम मापदण्ड कायम गर्न प्रतिबद्ध रहेको जानकारी समेत गराँदछौं । उत्पादन क्षेत्रमा राष्ट्रिय प्रतिवेदन पुरस्कारको सर्वोत्कृष्ट गोल्ड पुरस्कारबाट सम्मानित भएको हिमालयन डिस्टिलरी आफ्ना वितरक, कर्मचारी, ब्यवस्थापन, सेयरधनी सहित सम्पूर्ण निरन्तर सहयोग र साझेदारीका निम्ति हार्दिक कृतज्ञता समेत ब्यक्त गर्दछ । मूल्यवान साझेदारहरूको निरन्तर सहयोगका साथ, कम्पनीले अझ बढी उचाइ हासिल गर्न सक्ने विश्वास राख्छ । उत्कृष्ट वार्षिक प्रतिवेदनलाई प्रतिस्पर्धाका लागी साउथ एसियन फेडरेसन अझ अकाउन्टेन्टस (साफा)मा पठाइने भएकाले नेपालको प्रतिनिधित्व गर्दै सुशासनमा प्रतिस्पर्धाका निम्ति हौसला प्राप्त भएको छ । भविष्यका लागि, हिमालयन डिस्टिलरी लिमिटेड दक्षिण एशियाली स्तरमा नेपालको प्रतिनिधित्व गर्दै सुशासनको अभियानको नेतृत्व गर्न उत्साहित छ ।
पूर्वी नाकाबाट ८५ करोडको कोदो आयात, २१ करोड बढीको फर्सी भित्रियो
झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०/८१ मा ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार ७ सय ९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको जानकारी दिए । उनका अनुसार आव २०७९/८० मा ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको थियो । नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको सूचना अधिकारी ठाकुरले बताए । पूर्वी पहाडी जिल्लामा यथेष्ट उत्पादन हुने फर्सी बिक्री नहुँदा किसान गाईभैँसीलाई खोले पकाएर खुवाउँछन् । तर, त्यही फर्सी बजारमा भने भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । उनले सोही अवधिमा फर्सी मात्र २१ करोड १४ लाख ८० हजारको १० हजार ५ सय ७४ मेट्रिक टन आयात भएको जानकारी दिए । उनका अनुसार गत एक वर्षमा १ अर्ब २ करोड २२ लाख ६० हजार मूल्य बराबरको ५१ हजार १ सय १३ मेट्रिक टन गोलभेँडा, २९ करोड ५७ लाख ४० हजार मूल्य बराबरको १४ हजार ७ सय ८७ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ । सोही अवधिमा ५७ करोड ७३ लाख ८० हजार मूल्य बराबरको २८ हजार ८ सय ६९ मेट्रिक टन करेला, ३० करोड ७ लाख ८० हजार मूल्य बराबरको १५ हजार २९ मेट्रिक टन भिन्डी र १५ करोड ६७ लाख २० हजार मूल्य बराबरको ७ हजार ८ सय ३६ मेट्रिक टन सिमी आयात भएको सूचना अधिकारी ठाकुरले जानकारी दिए । पूर्वी नाकाबाट सोही अवधिमा १३ करोड ८ लाख ४० हजार मूल्य बराबरको ६ सय ९२ मेट्रिक टन प्याज, २५ करोड ६५ लाख ६० हजार रुपैयाँ बराबरको १२ हजार ८ सय २८ मेट्रिक टन परवल, ६७ करोड ७० लाख मूल्य बराबरको ३ हजार ८ सय ३५ मेट्रिक टन घिरौला, ११ करोड १७ लाख मूल्य बराबरको ५ हजार ५ सय ८५ मेट्रिक टन गाजर, ३१ करोड ५० लाख मूल्य बराबरको १ हजार ५ सय ७५ मेट्रिक टन स्कुस र ३ करोड ८० लाख ४० हजार बराबरको १ हजार ९ सय २ मेट्रिक टन तरुल भारतबाट आयात भएको तथ्यांकले देखाउँछ । मधेसबाट हिमाली जिल्लासम्म उत्पादन हुने फापरसमेत भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार एक वर्षमा १ करोड ३५ लाख ८५ हजार मूल्य बराबरको २ सय ९ मेट्रिक टन फापर, ४ करोड ६१ लाख ७६ हजार मूल्य बराबरको १ हजार ४ सय ४३ मेट्रिक टन मकै (पशु दाना) आयात भएको छ । कार्यालयका अनुसार सोही अवधिमा ४ अर्ब ८७ करोड ६५ लाख १८ हजार बराबरको ९८ हजार ३ सय ९४ मेट्रिक टन फलफूल तथा चामल, १७ करोड २८ लाख २४ हजार बराबरको ७ हजार २ सय १ मेट्रिक टन र दलहन (गेडागुडी) २ करोड ४० लाख ९६ हजार मूल्यको आयात भएको कार्यालयको तथ्यांकले देखाएको छ । भारतबाट आयातित तरकारीका कारण स्वदेशमा किसानले उत्पादन गर्दै आएको तरकारी बाली बजारमा बिक्री नभएको किसानको गुनासो छ ।
आइसिएफसि फाइनान्सले गर्यो मेहेन्दी कार्यक्रम
काठमाडौं । आइसिएफसि. फाइनान्सले श्रावण महिनाको पहिलो सोमबार कर्मचारी र ग्राहक तथा अन्य महिला दिदीबहिनी माझ मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले देशैभरी रहेका विभिन्न २१ वटा शाखाहरुमा उक्त कार्यक्रम सम्पन्न गरेको छ । सबै शाखा कार्यालय परिसरमा संस्थाका ग्राहक महानुभाव लगायत अन्य महिला दिदीबहिनीहरुको उल्लासमय उपस्थितिमा उक्त मेहेन्दी कार्यक्रम सम्पन्न भएको फाइनान्सले जनाएको छ ।