पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडान बढाउन होटल व्यवसायीको माग
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग होटल व्यवसायीले भेटवार्ता गरेका छन् । होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको होटल संघ नेपालको प्रतिनिधिमण्डलले अर्थमन्त्री पौडेलसँग भेट गरी होटल क्षेत्रका माग सम्बोधनका लागि आग्रह गरेको छ । त्यसक्रममा उनीहरूले बढ्दै गएको होटल संख्या र क्षमता उपयोग गर्न भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढाउन र अतिरिक्त पर्यटकीय तथा राष्ट्रिय महत्वका पोखरा, चितवन, लुम्बिनी राजमार्ग विस्तार र स्तरोन्नति निश्चित समयभित्र सम्पन्न गराउन सरकारलाई आग्रह गरेका थिए । व्यवसायीको मागबारे उपप्रधान तथा अर्थमन्त्री पौडेलले आउँदो मौद्रिक नीतिमा पर्यटन/होटल क्षेत्रको स्थायित्व तथा प्रवर्द्धन गर्न अभिप्रेरित रहने बताए । उनले व्यवसायीहरूले लामो समयदेखि होटल क्षेत्रलाई उद्योग सरहको मान्यता दिने माग प्रति सरकार सकारात्मक रहेको र नीतिगत सुधार गर्ने आश्वासन दिए । नेपालमा आउने भारतीय पर्यटकहरूबाट त्यहाँको खर्च गर्ने सीमा तथा व्यवस्था, आन्तरिक पर्यटन बढाउने लगायत होटल संघ नेपालले उठाएका पर्यटन विकास विस्तारका विषयहरूमा मन्त्रालय सकारात्मक रहेको मन्त्री पौडेलले बताए । उक्त अवसरमा होटल संघ नेपालका अध्यक्ष शाहले होटलको संख्या तथा क्षमता बढे अनुरूप माग बढ्न नसकेको हुँदा आउँदो मौद्रिक नीति लगायतका सरकारी पहल आवश्यक रहेको विवरण प्रस्तुत गरी ज्ञापनपत्र पेस गरेका थिए । प्रतिनिधिमण्डलमा द्वितीय उपाध्यक्ष दिनेश तुलाधर, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्यहरू सीपी श्रेष्ठ र जयदीन श्रेष्ठको उपस्थिति रहेको थियो ।
मानव बेचबिखनमा अध्यागमनका कर्मचारी संलग्न भएका आरोप असत्य साबित होउन् : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमनसम्बन्धी ऐन, कानुन निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार अध्यागमन विभागको निरीक्षणपछि गृहमन्त्री लेखकले एक महिनाभित्र ऐन, नियम, कार्यविधि र नियामाली गृह मन्त्रालयमा प्रस्तुत गर्न निर्देशन दिएका छन् । उनले दार्चुलाको तिंकर र मुस्ताङको कोरलामा अध्यागमन कार्यालय स्थापनाको प्रक्रियाअघि बढाउन पनि निर्देशन दिए । मानव बेचबिखनका गतिविधिमा अध्यागमनका कर्मचारी संलग्न भएका आरोप असत्य साबित होउन् भन्दै उनले यदि कुनै कर्मचारीलाई दोषी पाइएमा कडा कारबाही हुने चेतावनी दिए । अध्यागमन कार्यालयबाट मुलुकको आकृति प्रतिविम्बित हुने भएकाले सम्बद्ध कर्मचारीलाई सबै यात्रीसँग असल व्यवहार गर्न निर्देशन दिएका गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । गृहसचिव एकनायारयण अर्यालले पूर्ण क्षमतामा अध्यागमन कार्यालय सञ्चालन हुनुपर्नेमा जोड दिँदै सबै सरकारी निकायसँग समन्वय गरेर विभागले काम गर्नुपर्छ भने । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहतका कार्यालयसँग समन्वय र सहकार्य हुनुपर्नेमा उनको जोड थियो । विभागका महानिर्देशक कोशहरि निरौलाले परिवर्तित सन्दर्भमा अध्यागमन ऐन, २०४९, अध्यागमन नियमावली, २०५१ र अध्यागमन कार्यविधि, २०६५अनुसार कार्यसम्पादन चुनौतीपूर्ण भएको बताए ।
हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सञ्चालनमा
मकवानपुर । काठमाडौंबाट हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३, छवेलीस्थित सोमबार राति गएको पहिरो हटाई हेटौँडातर्फको यातायात सेवा आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ । राती नै पहिरोको अवरोध हटाइएको ललितपुरको भट्टेडाँडा प्रहरी चौकीले जनाएको छ । ललितपुर र मकवानपुरको सिमाना नजिकै पर्ने छबेलीमा पहिरो जाँदा सोमबार बेलुका ९ बजेदेखि हेटौँडा–काठमाडौंतर्फको यातायात अवरुद्ध भएको थियो । कान्तिलोकपथअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका–७ न्यासुरमा राति गएको पहिरो हटाई आज बिहान साढे ६ बजेदेखि यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए । यसैबीच, त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र फाखेल, सिस्नेरी मातातीर्थ हुँदै काठमाडौंतर्फ जोड्ने सडक पनि आज बिहानदेखि यातायात सेवा सञ्चालन भएको प्रहरी निरीक्षक शाहले बताए ।
बंगलादेशको विभिन्न सरकारी निकायको वेबसाइट ह्याक
बंगलादेश । बंगलादेशमा चर्किरहेको आरक्षण विरोधी आन्दोलकाबीच बंगलादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैँक र प्रहरीको आधिकारिक वेबसाइटहरू द रेजिष्टेन्सु नामक समूहद्वारा ह्याक गरिएको छ । तिनवटै वेबसाइटहरूमा , ‘अपरेसन हन्टडाउन, विद्यार्थीहरूको हत्या रोकौँ । अब यो विरोध मात्र नभई एक युद्ध हो भनी रातो अक्षरमा समान सन्देश जारी गरिएको छ ।’ सन्देशमा विद्यार्थीको शान्तिपूर्ण विरोध प्रदर्शनलाई सरकारलगायत राजनीतिक सहयोगीको क्रूर हिंसा र हत्याको सामना गर्नु परेको उल्लेख गर्दै अब यो विरोध मात्र नभई न्याय, स्वतन्त्रता र भविष्यका लागि युद्ध भएको जनाइएको छ । समूहले तत्काल ह्याकर, ‘ओएसआइएनटी’ अन्वेषक र पत्रकारलाई आफ्नो उद्देश्यमा सहभागी हुन आह्वान समेत गरेका छन् । ‘न्यायका लागि लडाइँ सुरु भइसकेको छ , तयार रहनुहोस्’, ह्याकरहरुले चेतावनी दिएका छन् । उनीहरूको बारेमा विवरण उल्लेख नगरी पाँच जना पुरुष र दुई वटा कुकुरसहितको तस्बिर वेबसाइटमा प्रस्तुत गरिएको छ । बंगलादेशमा सन् १९७१ मा स्वतन्त्रताको लडाइँ लडेकाहरुको सन्तानका लागि प्रदान गरिएको ३० प्रतिशत आरक्षण कोटा प्रणालीको सुधारको माग गर्दै विद्यार्थीहरू लामो समयदेखि आन्दोलनमा रहेका थिए ।
बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाकाे दाबी पेस
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । नेकपा एमाले र कांग्रेसको समर्थनमा कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीमा मंगलबार दाबी पेस गरेका हुन् । बागमती प्रदेशमा रहेको माओवादी नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख कार्यलयले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आह्वान गरेका थिए । सोहीअनुसार एमालेको २७ र कांग्रेसको ३७ गरी ६४ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित लामाले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् ।
बर्खा याममा किन पाक्छ कान, कसरी जोगाउने ?
बर्खा याममा धेरै मानिसहरूमा कान पाक्ने समस्या हुन्छ । बर्खामा कान ओसिलो हुने हुनाले ढुसीको इन्फेक्सन (ओटोमाइकोसिस) हुने समस्या हुन्छ । यो साझा समस्या हो । कान भित्र बढी ओस हुने भएकाले यसले ढुसीको इन्फेक्सनलाई बढवा दिन्छ । बर्खा याममा मानिसहरू धेरै खेतबारीमा काम गर्ने गर्दछन् । उक्त समयमा धेरै वर्षा समेत हुने हुँदा कानभित्र पानी छिर्ने समस्या हुने गर्दछ । यसका अतिरिक्त गर्मी महिना भएकाले धेरै मानिसहरू पौडी खेल्न समेत विभिन्न पोखरी तथा स्विमिङ पुलमा जाने गर्दछन् । यो बाहेक पौडी खेल्न जाँदा कान भित्र पानी पसेर इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । कानको जाली फुटेको रहेछ भने झन् इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । पौडी खेल्न जाँदा, डाइभ हान्दा कानको जालीमा प्रेसर परेर जाली फुट्न सक्छ । बर्खाको समयमा धेरै कानका समस्याहरू आउने गरेका छन् । बच्चाहरुले ठुलो स्वरमा टिभी हेर्ने तथा बोलाएको नसुनेमा कानको समस्या भएको हुनसक्छ । यस्तो अवस्थामा कानको चेकजाँच गर्नुपर्छ । पछिल्लो समय ग्राण्डी अस्पतालमा कानसँगै नाकका बिरामी समेत बढी मात्रामा आउने गरेका छन् । नाक बन्द हुने, हाँछ्यू आउने, पिनासका कारण टाउको दुखेका बिरामीहरू यस अस्पतालमा आउने गरेका हुन् । घाँटीको एलर्जी, इन्फेक्सन भएका बिरामी पनि अस्पतालमा उत्तिकै मात्रामा आउँछन् । कानको रोगका लक्षणहरू – कान चिलाउने – कान अत्यधिक मात्रामा दुख्ने – कान डम्म हुने – कान भित्रबाट पिप वा पानी बग्ने समस्या । अधिकांश मानिसले कान अत्यधिक मात्रामा चिलाउने, पाक्ने वा दुख्ने गर्यो भने नजिकको मेडिकलमा गएर औषधि किनेर हाल्ने वा तेल हाल्ने र कतिपय व्यक्तिले वडले कान कोट्याउने गरेको पाइन्छ । यसरी अनावश्यक रूपमा औषधि, तेल वा कान कोट्याउँदा कानभित्र रहेको कानको जाली फुट्ने समस्या हुन्छ । उपचार विधि कान अत्यधिक मात्रामा चिलाउने, दुख्ने, डम्म हुने वा कान भित्र पिप तथा पानी बग्ने समस्या देखिएमा नजिकको चिकित्सककोमा गएर देखाउनुपर्ने हुन्छ । कतिपय अवस्थामा कानको जाली फुट्दा समेत कान दुख्न सक्छ । यस्तो अवस्थामा नाक, कान, घाँटी विशेषज्ञलाई देखाएर मात्र औषधिको प्रयोग गर्नुपर्छ । यसबाट कसरी बच्ने ? – पौडी खेल्न जाँदा एयर प्लग लगाउने । – पौडी खेल्दा कान छोप्ने । – डाइभ भरसक नगर्ने । – पौडी खेल्दै गर्दा कान दुख्ने, चिलाउने, भयो भने विशेषज्ञलाई देखाउने । कान दुख्ने समस्या देखियो भने काने गुजी हटाउनुपर्छ भन्ने छैन। धेरै भएमा चिकित्सकको सल्लाह बमोजिम उचित ढङ्गले हटाउनुपर्छ । वडले काने गुजी हटाउँदैन । वडको प्रयोग गर्दा उल्टो काने गुजी कानभित्र पसेर कानको जालीलाई असर गरिरहेको हुन्छ । त्यसैले वडको प्रयोग नगर्नु राम्रो हुन्छ । कानले काने गुजी आफै सफा हुने मेकानिज्म बनाएको हुन्छ । कानले जति काने गुजी चाहिने हो त्यो राखेर बाँकी काने गुजी आफै फाल्छ । यस्तै, कान पाक्ने समस्या सम्बन्धी आम जनमानसमा जनचेतना फैलाउन जरुरी रहेको छ । (नाक, कान, घाँटी विशेषज्ञ डा. आनन्द घिमिरे विगत १० वर्षदेखि ग्राण्डी अस्पतालमा कार्यरत छन् । उनी नाक, कान, घाँटी विभागको प्रमुख समेत हुन् ।)
वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने
काठमाडौं । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ । यसअघि गृहमन्त्रालयले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको निर्णय बदल्दै तत्कालका लागि अनिवार्य नभएको जनाएको हाे । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गतको सामाजिक सुरक्षा शाखाले ७५३ स्थानीय तहलाई पत्र लेख्दै यस बारेमा जानकारी गराएको छ ।
रोजगारीका लागि नेपाल आउनेमा सबैभन्दा बढी चिनियाँँ नागरिक
काठमाडौं । नेपालमा रोजगारीका लागि सबैभन्दा बढी श्रम स्वीकृति लिनेमा चिनियाँँ नागरिक रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । विभागका अनुसार विदेशमा काम गर्नका लागि नेपालबाट हरेक दिन औसतमा १५ सय युवायुवती बाहिरिने गरेको तथ्यांक रहे पनि नेपालमा ९६ देशका नागरिकले श्रम स्वीकृति लिएकामा सबैभन्दा बढी चिनियाँँ नागरिक रहेका हुन् । नेपालमा सञ्चालन भएका आयोजनाहरूले ५ प्रतिशतमात्र विदेशी कामदार राख्न सकिने प्रावधान श्रम ऐनमा छ। नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन् । नेपालमा रहेका रोजगारदातामध्ये सबैभन्दा बढी विदेशीलाई काठमाडौं–तराई–मधेश द्रुतमार्गमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रोजगारी दिएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा रोजगारी खोज्दै नेपाल आउने विदेशी श्रमिकको संख्या भने घटेको छ। श्रमस्वीकृति लिने विदेशीको संख्या गत वर्ष भन्दा १० प्रतिशतले घटेको विभागको तथ्यांकमा उल्लेख छ। सरकारबाट श्रम स्वीकृति लिने विदेशीको संख्या अघिल्लो आर्थिक वर्षभन्दा ३ सय ९ जना कम देखिएको तथ्यांकमा उल्लेख छ। अघिल्लो आवमा नवीकरण र नयाँ गरी २ हजार नौं सय ९४ विदेशीले श्रमस्वीकृति लिएकोमा गत वर्षको सो अवधिमा नयाँ श्रमस्वीकृति र सोको नवीकरण गर्नेको संख्या २ हजार ६८५ रहेको छ । यसमध्ये पनि विदेशी महिला कामदारको संख्या ३४९ रहेको तथ्यांकले देखाएको छ । २०७९/८० मा २ हजार नौ सय ९४ जनाले स्वीकृति लिएको विभागले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । गत आवमा भने एक हजार २० नयाँ आवेदकलाई श्रमस्वीकृति दिइएको थियो भने एक हजार ६६५ जनाको श्रमस्वीकृति नवीकरण गरिएको थियो । पोलि चाङ्दा इन्जिनियरिङ कम्पनी, कञ्चनपुर–कमला रोड प्रोजेक्ट, चाइना ओभरसिज इन्जिनियरिङ, साञ्जेन खोला हाइड्रोपावर, हुवासिन नारायणी सिमेन्ट, होङ्सी शिवम् सिमेन्ट, हिमालय एयरलाइन्स, ब्रिटिश स्कुल, लिंकन स्कुल, हुवावे टेक्नोलोजीजस्ता सेवा क्षेत्रमा विदेशी नागरिक कार्यरत छन् ।