डेढ सय घटेको बजारमा दोस्रो दिन रौनक, शतक बढेको नेप्सेमा १० कम्पनीको सेयरमा सर्किट
काठमाडौं । बुधबार सेयर बजारमा हरियाली छाएको छ । मंगलबार करिब डेढ सय अंकले घटेको बजार दोस्रो दिन नै लयमा फर्किएको हो । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.०८ प्रतिशत अर्थात् १०८.३५ अंक बढेर २ हजार ७५९.६७ अंकमा बन्द भएको छ । आज दिनभर ३३० कम्पनीको ३ करोड ८० लाख ४१ हजार कित्ता सेयर २ लाख १२ हजार पटक खरिदबिक्री हुँदा १७ अर्ब ९५ करोड ९ लाख १८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । साथै आज २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको सेयर मूल्य मात्रै घटेको नेप्सेले जनाएको छ । बुधबार हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार सर्वाधिक भएको छ । नेप्सेका अनुसार कम्पनीको १ अर्ब ५३ करोड ५३ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै नेपाल फाइनान्सको ६५ करोड ५५ लाख ९८ हजार रुपैयाँ, सानिमा माई हाइड्रोको ५५ करोड ७३ लाख ९४ हजार रुपैयाँ, शिवम् सिमेन्टको ४६ करोड २१ लाख ५६ हजार रुपैयाँ र चिलिमे हाइड्रोको ३५ करोड १३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । आज विभिन्न १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स, मैलङ खोला जलविद्युत, दोल्ति पावर, सिटि होटल, हिमालयन रिइन्स्योरेन्स र सेन्ट्रल फाइनान्सको सेयर मूल्य १० प्रतिशत बढेको छ ।
नुवाकोटमा हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको निधन
काठमाडौं । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको बुझिएको छ । बुधबार काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज दुर्घटना भएको हो । रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको दर्ता नम्बर ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हाे । त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो ।
विदेशी लगानीका तीन बैंक : एभरेष्टले स्ट्यान्डर्ड चार्टर्डलाई टप्यो, संघर्ष गर्दै एसबिआई
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकमा विदेशी स्वामित्व हावी छ । जसमध्ये स्ट्याण्डर्ड चार्टर्डमा स्ट्यान्डर्ड चार्टर्ड ग्रिन्डलेज पीटीवाइ लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेको कुल ७०.२१ प्रतिशत, एभरेष्टमा भारतीय पन्जाब नेशनल बैंकको २०.०३ प्रतिशत र नेपाल एसबिआईमा स्टेट बैंक अफ इन्डियाको ५५ प्रतिशत सेयर लगानी रहेको छ । यी तीनै बैंकको व्यवस्थापकदेखि अध्यक्ष तथा सञ्चालक समेत विदेशी माउ बैंकले नै तोकेर पठाउने गरेको छ । तर, पछिल्लो समय एभरेष्ट बैंककाे नेतृत्व भने नेपालीले ने गरिरहेका छन् । सुदेश खालिङले प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी पाएपछि एभरेष्ट बैंकलाई अब्बल बनाएका छन् । यी तीन बैंक सेयर बजारमा लगानीकर्ताको रोजाइमा समेत पर्ने गरेका छन् । बैंकिङ समूहमा हेर्ने हो भने यी तीन बैंकको सेयर मूल्य पनि उच्च छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्क अनुसार स्ट्याण्डर्ड चार्टडको सेयर मूल्य प्रतिकित्ता ६८४ रुपैयाँ, एभरेष्टको ६७३ रुपैयाँ र नेपाल एसबिआईको ४१५ रुपैयाँ रहेको छ । विगतमा उच्च प्रतिफल वितरण गर्दै आएका यी तीन बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा कस्तो प्रगति गरेका छन् भनेर चासोका रूपमा हेरिएको छ । गत वर्ष सबैभन्दा धेरै वितरणयोग्य नाफा र लाभांश वितरण गर्ने क्षमता एभरेष्ट बैंकको रहेको छ । यस बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड रुपैयाँ छ भने लाभांश क्षमता २९.८६ प्रतिशत छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्डको वितरणयोग्य नाफा २ अर्ब ४९ करोड रुपैयाँ छ भने लाभांश क्षमता २६.५ प्रतिशत छ । नेपाल एसबिआईका भने वितरयोग्य नाफा १ अर्ब १३ करोड रुपैयाँ र लाभांश क्षमता १०.७६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीहरूलाई एभरेष्टले २०.५३ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले १९ प्रतिशत र नेपाल एसबिआईले १०.५५ प्रतिशत लाभांश वितरण गरेका थिए । त्यसैले यस पटक पनि यी तीनै बैंकले सेयरधनीलाई मख्ख बनाउने गरी लाभांश वितरण गर्न सक्छन् । विदेशी स्वामित्वका यी तीन बैंकमध्ये गत वर्ष सबैभन्दा धेरै एभरेष्ट बैंकले नाफा आर्जन गरेको छ । एभरेष्टले ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्डले ३ अर्ब ३० करोड रुपैयाँ र नेपाल एसबिआईले २ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । एभरेष्टको नाफा अघिल्लो वर्षको तुलनामा १०.०७ प्रतिशत बढेको हो । अघिल्लो वर्ष यस बैंकले ३ अर्ब ३६ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यस्तै नेपाल एसबिआईको २.३५ प्रतिशत बढेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तर, स्ट्याण्डर्ड चार्टर्ड बैंकको भने ४.५१ प्रतिशत घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म खुद ब्याज आम्दानी सबैभन्दा धेरै एभरेष्ट बैंकले ७ अर्ब ६६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस्तै एभरेष्टलाई पछ्याउँदै स्ट्याण्डर्ड चार्टर्डले ५ अर्ब १५ करोड रुपैयाँ र नेपाल एसबिआईले ५ अर्ब ७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा एभरेष्टले ७ अर्ब ४१ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्डले ५ अर्ब १५ करोड रुपैयाँ र नेपाल एसबिआईले ५ अर्ब ७६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए । गत वर्ष बैंकिङ क्षेत्रमा सबैभन्दा कम खराब कर्जा एभरेष्टको छ । यस बैंकले खराब कर्जा ०.७१ प्रतिशतमा कायम राख्न सफल भएको छ । यस्तै नेपाल एसबिआईको २ प्रतिशत छ भने स्ट्याण्डर्ड चार्टर्डको २.१४ प्रतिशत खराब कर्जा पुगेको छ । लगानीकर्ताले बढी चासोका रूपमा हेर्ने सूचक प्रतिसेयर आम्दानी भने सबैभन्दा धेरै स्ट्याण्डर्ड चार्टर्डको ३५.०९ रुपैयाँ छ । एभरेष्टको ३१.४५ रुपैयाँ र नेपाल एसबिआईको १९.१८ रुपैयाँ रहेको तथ्याङ्कले देखाउँछ । वाणिज्य बैंकहरूमा सबैभन्दा कम चुक्ता पुँजी भएका बैंकका रूपमा यी तीनै बैंक पर्छन् । गत असारसम्मको तथ्याङ्क अनुसार स्ट्याण्डर्ड चार्टर्डको ९ अर्ब ४२ करोड रुपैयाँ, एभरेष्टको ११ अर्ब ७६ करोड रुपैयाँ र नेपाल एसबिआईको १० अर्ब ५० करोड रुपैयाँ मात्रै चुक्ता पुँजी रहेको छ । तर, जगेडा कोषमा भने उल्लेख्य रकम सञ्चित गरेका छन् । स्ट्याण्डर्ड चार्टर्डको जगेडा कोषमा ८ अर्ब ६३ करोड रुपैयाँ, एभरेष्टको १२ अर्ब २५ करोड रुपैयाँ र नेपाल एसबिआईको ७ अर्ब ८५ करोड रुपैयाँ जगेडा कोषमा जम्मा गरेको छ । गत असारसम्म स्ट्याण्डर्ड चार्टर्डले १ खर्ब १२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै एभरेष्टले २ खर्ब ३२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७९ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने नेपाल एसबिआईले १ खर्ब ७५ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २५ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेका हुन् ।
सांसदको अभिव्यक्तिले पुँजीबजारमा २ खर्ब क्षति भएको भन्दै रकम असुल गराउन लगानीकर्ताको माग
काठमाडौं । सांसदहरूले सदन र सार्वजनिक कार्यक्रममा पुँजीबजारको सम्बन्धमा केही स्क्रिप्टको नामै तोकेर अभिव्यक्ति दिनु खेदजनक रहेको लगानीकर्ताहरूले बताएका छन् । लगानीकर्ताहरूको चार संघले संयुत्त विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । जनरल इन्भेष्टर एसोसियसन, अध्यक्ष नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र सधारण लगानीकर्ता संघ नेपालले संयुत्त विज्ञप्ति जारी गरेका हुन् । ‘कसैका प्रभावमा माननीय सांसद प्रकाशशरण महत, अमरेशकुमार सिंह, राजन दाहाललगायत अन्य सांसदहरूबाट समेत बजार आफ्नै लयमा चलिरहेको अवस्थामा सदन र सार्वजनिक कार्यक्रममा पुँजीबजारको सम्बन्धमा केही स्क्रिप्टको नामै तोकेर अभिव्यक्ति दिनु अत्यन्त खेदजनक छ,’ विज्ञप्तीमा उल्लेख छ । देशमा लगानीको वातावरण फराकिलो हुँदै जाँदा पुँजीबजार पनि बिस्तारै बढ्दै जाने र लगानीकर्ताले आफूले चाहेको कम्पनीमा लगानी गर्न पाउने लगानीकर्ताहरूले बताएका छन् । कम्पनी कति सुरक्षित छ, छैन भन्ने कुरा लगानीकर्ता स्वयंले निर्धारण गर्ने कुरा रहेको उनीहरूको भनाइ छ । जनताकै प्रतिनिधित्व गर्ने सांसदले सदनमा दिएको अभिव्यक्तिहरू तत्काल फिर्ता गर्न र अब आइन्दा यस्ता खालका अभिव्यक्तिहरू नियमक निकाय, सांसद जोसुकैले दिए पनि सैह्य नहुने उनीहरूले चेतावनी दिएका छन् । पुँजीबजारको सम्बन्धमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूबाट जथाभाबी अभिव्यक्ति दिने कार्य तत्काल बन्द गर्न उनीहरूकाे आग्रह छ । साथै, नियमक निकायले यस्ता अभिव्यक्ति दिने व्यक्तिहरूमाथि छानबिन गरी कारबाही गर्न र अभिव्यक्तिबाट दुई खर्बभन्दा बढी क्षति हुन गएकोले सो क्षति सम्बन्धित व्यक्तिबाट असुल गराउनसमेत उनीहरूको माग छ ।
बिमस्टेक पूर्वाधार विकास कोष अहिलेको आवश्कता हो : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव राखेका छन् । भारतको नयाँदिल्लीमा बुधबार आयोजना भईरहेको बिमस्टेक बिजनेस समिट २०२४ मा ‘बिम्स्टेकमा व्यापार सहजीकरण प्रवर्द्धन गर्दै इम्प्रुभ्ड क्रस बोर्डर लिंकेज एण्ड ट्रेड इन्फ्रास्ट्रक्चर’ विषयक सत्रमा ढकालले बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्नुपर्नेमा जोड दिए । ढकालले सदस्य राष्ट्रहरूलाई व्यापार सहजीकरण प्रवर्द्धन गर्न र सीमापार सम्बन्धको राम्रो विकास गर्न आवश्यक पूर्वाधारको विकास गर्नका लागि स्रोतसाधन उपलब्ध गराउन क्षेत्रीय पूर्वाधार कोष आवश्यक रहेको बताए । ढकालले बिमस्टेक क्षेत्रका सबै सदस्य राष्ट्रको विकास भएपछि अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो आवाज अझ बलियो हुने र अन्तर्राष्ट्रिय बैठकमा थप अधिकारका साथ सामूहिक रूपमा सम्झौता गर्नसक्ने पनि ढकालले बताए । यही कारण बिमस्टेक सदस्य राष्ट्रहरूबीच थप एकीकृत संञ्जालको विकास गर्न बिमस्टेक पूर्वाधार विकास कोष आवश्यक रहेको उनले दोहोर्याए । ढकालले नेपालको पूर्व–पश्चिम राजमार्गलाई भारतको मध्य क्षेत्र बंगलादेशसँग जोडेर र कालादान आयोजनामार्फत म्यानमार र भारतलाई पनि जोडेर क्षेत्रीय सञ्जालका लागि उपयोग गर्न सकिने बताए । उनले पूर्व–पश्चिम राजमार्गको समानान्तर रेलमार्ग निर्माण गर्न सकिने र आवतजावतमा सहज हुने जानकारी दिए । ढकालले यस क्षेत्रभित्रको भन्सार प्रक्रियालाई सरल बनाउन सीमावर्ती पूर्वाधार, एकीकृत जाँच चौकीलगायतको विकास गर्नुपर्नेमा जोड दिए । त्यसैगरी, उनले नेपाल र भुटानजस्ता भूपरिवेष्ठित मुलुकका लागि सुख्खा बन्दरगाहको विकास गर्नुपर्ने र व्यापार लागत कम गर्न र समग्र संञ्जाल बढाउन ती बन्दरगाहको संञ्जाललाई कसरी सुधार गर्नुपर्नेमा जोड दिए । त्यसैगरी, ढकालले नेपालजस्ता भूपरिवेष्ठित मुलुकका लागि विद्यमान विमानस्थलको सहज सञ्चालनको आवश्यकता रहेको उल्लेख गर्दै बिमस्टेकका सबै सदस्य राष्ट्रलाई क्षेत्रीय हवाई सम्पर्क अभिवृद्धि गर्ने विषयमा छलफल गर्न आग्रह गरे । ढकालले व्यापार सहजीकरण दिगो विकासको मेरुदण्ड भएको बताउँदै यसबाट लाभ लिन बिमस्टेक राष्ट्रहरूबीचको व्यापार प्रक्रियालाई सरल बनाउनु पर्नेमा जोड दिए । ढकालले व्यापार प्रक्रियामा सुधार गरेर विश्व बजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउन बिमस्टेक क्षेत्रमा महत्वपूर्ण पहल भइसकेको भए पनि धेरै काम गर्न बाँकी रहेको बताए । ढकालले बिमस्टेकका सबै सदस्य राष्ट्रहरूबीच वार्ता गरेर समस्याहरुको समाधान खोज्न आग्रह गरे ।
नेपाललाई द्वन्द्वमा फस्न दिँदैनौं : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शान्ति चाहिएको बताएका छन् । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा जुटेको सहमतिबारे कार्यदलले बुझाएको प्रतिवेदन बुधबार बुझेपछि प्रधानमन्त्री ओलीले कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् भन्नेमा सरकार सजग रहेको बताए । विधिको शासनभन्दा पर जान नसक्ने पनि उनले बताए । उनले अहिले लोकतान्त्रिक बाटो खुला रहेको पनि बताए । लोकतान्त्रिक बाटो खुला हुँदा पनि गरिने क्रियाकलाप स्वीकार्य नहुने उनको भनाइ छ । ‘नेपाललाई शान्ति चाहिएको छ र कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् त्यसमा हामी सजग छौँ, कुनै पनि प्रकारको द्वन्द्वमा नेपाललाई फस्न दिनु हुँदैन, यस्ता कुरा देश हितमा हुँदैनन्, हामी विधिको शासनभन्दा पर जान सक्दैनौं,’ उनले भने । प्रधानमन्त्री ओलीले अहिलेको सरकार लोकतन्त्रका लागि सचेत रहेको बताए । संघीयताको प्रभावकारी कार्यान्वयन गर्न कमी कमजोरी हटाइने उनले बताए ।
भेरी रिठ्ठा पात ब्रान्डमा डिटरजेन्ट पाउडर सार्वजनिक
काठमाडौं । नेपालगन्जस्थित देउती सोप एन्ड केमिकल्स प्रालिले ‘भेरी रिठ्ठा पात’ ब्रान्डमा डिटरजेन्ट पाउडर उत्पादन गरी बजारमा ल्याएको छ । कम्पनीले सोमबार नेपालगन्जमा एक कार्यक्रम गरी नयाँ ब्रान्ड सार्वजनिक गरेको हो । कम्पनीका सञ्चालक यज्ञबहादुर ओली र बिजनेस हेड सिए टोपबहादुर शाहीले भेरी रिठ्ठापात डिटरजेन्ट पाउडर १५० ग्रामदेखि ४ किलोग्रामसम्मको प्याकेटमा बजारमा उपलब्ध गराएको जानकारी दिए । कपडाबाट पसिना, माटो, खानेकुरालगायतको दाग हटाउने मामिलामा प्रतिस्पर्धी ब्रान्डको तुलनामा अब्बल रहेको यो डिटरजेन्ट पाउडरमा कलर प्रोटेक्सन टेक्नोलोजी प्रयोग गरिएको उनले बताए । उक्त टेक्नोलोजीले कपडाको रङ उड्ने र फिका हुँदै जाने समस्या आउन नदिने कम्पनीको दाबी छ । यसमा रहेको जर्म फाइटरले कपडालाई किटाणुरहित बनाउँदै सफाइको स्तर उकास्ने कम्पनीका बजार व्यवस्थापक शालिकराम कँडेलले बताए । देउती सोप एन्ड केमिकल्सले यशोदा ब्रान्डमा डिटरजेन्ट पाउडर, भेरी ब्रान्डमा लुगाधुने साबुन, हर्बल डिटरजेन्ट केक र डिसवासबार उत्पादन गर्दै आएको छ । भेरी ब्रान्डमा डिटरजेन्ट पाउडर पनि कम्पनीले उत्पादन एवं ब्रिक्री वितरण गर्दै आएको छ । कम्पनीका उत्पादनहरु उपभोक्तामाझ निकै लोकप्रिय रहेको शाहीले दाबी गरे ।
विपदमा मृत्यु भएका परिवारलाई ३ करोड ४० लाख बीमा रकम भुक्तानी
सुर्खेत । कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत ३ करोड ४० लाख रकम उपलब्ध गराएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असारसम्म भूकम्प, बाढी–पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपदबाट मृत्यु भएका परिवारका १ सय ७१ जना हकवालालाई उक्त रकम भुक्तानी गरेको हो । विशेषगरी जाजरकोट भूकम्पमा परी मृत्यु भएका १ सय ५१ व्यक्तिका परिवारलाई २ लाख रुपैयाँका दरले ३ करोड रुपैयाँ बीमामार्फत भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकृत कमल सापकोटाले जाजरकोट भूकम्पबाट मृत्यु भएका तीनजनाको रकम भुक्तानी प्रक्रियामा रहेको जानकारी दिए । यसैगरी, भूकम्पबाहेक अन्य विपद्मा परी मृत्यु भएका २० जनाको परिवारलाई ४० लाख रकम बीमामार्फत भुक्तानी गरिएको उनको भनाइ छ । कर्णालीका १७ लाख नागरिकलाई विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार बीमा रकम उपलब्ध गराइएको उनले जानकारी दिए । ‘अहिलेसम्म जाजरकोट भूकम्पमा परी मृत्यु भएका १ सय ५१ जनामध्ये तीन जनाको प्रक्रियामा छ, बाँकी सबैको बीमामार्फत रकम भुक्तानी भइसकेको छ,’ उनले भने, ‘अन्य विपदमा परी मृत्यु भएका प्रदेशका २० जनाको पनि रकम भुक्तानी भइसकेको छ, भुक्तानी हुन बाँकी रहेका परिवारलाई पनि चाँडै रकम दिन्छौँ ।’ राष्ट्रिय बीमा कम्पनी कर्णाली प्रदेशले केहीको कागज नपुगेका कारण भुक्तानी हुन नसकेको जनाएको छ । आन्तरिक मामिला मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा विपद्बाट जाजरकोटमा सबैभन्दा बढी एक सय ५१ जनाको भुकम्पमा परि मृत्यु भएको छ । अन्य २० जनाको बाढीपहिरो लगायतका घटनामा परेर मृत्यु भएको हो । प्रदेश सरकारको ‘विपद् जोखिम बीमासम्बन्धी कार्यविधि, २०७६’ अनुसार विपद्बाट मृत्यु भएका परिवारका लागि २ लाख र आवास बीमाअन्तर्गत ५ लाख रुपैयाँ उपलब्ध गराउने उल्लेख छ ।