काठमाडौं । बुधबार सेयर बजारमा हरियाली छाएको छ । मंगलबार करिब डेढ सय अंकले घटेको बजार दोस्रो दिन नै लयमा फर्किएको हो । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.०८ प्रतिशत अर्थात् १०८.३५ अंक बढेर २ हजार ७५९.६७ अंकमा बन्द भएको छ ।
आज दिनभर ३३० कम्पनीको ३ करोड ८० लाख ४१ हजार कित्ता सेयर २ लाख १२ हजार पटक खरिदबिक्री हुँदा १७ अर्ब ९५ करोड ९ लाख १८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । साथै आज २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको सेयर मूल्य मात्रै घटेको नेप्सेले जनाएको छ ।
बुधबार हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार सर्वाधिक भएको छ । नेप्सेका अनुसार कम्पनीको १ अर्ब ५३ करोड ५३ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै नेपाल फाइनान्सको ६५ करोड ५५ लाख ९८ हजार रुपैयाँ, सानिमा माई हाइड्रोको ५५ करोड ७३ लाख ९४ हजार रुपैयाँ, शिवम् सिमेन्टको ४६ करोड २१ लाख ५६ हजार रुपैयाँ र चिलिमे हाइड्रोको ३५ करोड १३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
आज विभिन्न १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स, मैलङ खोला जलविद्युत, दोल्ति पावर, सिटि होटल, हिमालयन रिइन्स्योरेन्स र सेन्ट्रल फाइनान्सको सेयर मूल्य १० प्रतिशत बढेको छ ।