अर्थमन्त्री र सचिवहरूबीच कार्य सम्पादन सम्झौता
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरूबीच कार्य सम्पादन करार सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबीच छुट्टा–छुट्टै कार्य सम्पादन करार सम्झौता भएको हो । कार्य सम्पादन सम्झौतामा चालु आर्थिक वर्षमा गरिने कार्यक्रमहरू, लक्ष्यहरू र समयसीमा उल्लेख गरिएको छ । अर्थमन्त्री पौडेलले कार्य सम्पादन सम्झौता मूल्यांकनको महत्वपूर्ण आधार हुने उल्लेख गर्दै सिङ्गो टिमलाई परिचालन गरेर सचिवहरू र महालेखा नियन्त्रक सम्झौतामा उल्लेखित कार्यक्रम कार्यान्वयनमा खरो रुपमा उत्रिने विश्वास व्यक्त गरे । अर्थसचिव डा.घिमिरेले वार्षिक कार्यक्रम र नीतिसँग सामजस्यता कायम गरी सम्झौतामा उल्लेखित कृयाकलापहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सूर्यज्योति लाइफको नाफामा १४६ प्रतिशत छलाङ, १० अर्ब गर्याे दाबी भुक्तानी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा १४६ प्रतिशत बढेर ३९ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत असारसम्म कम्पनीको खुद बीमाशुल्क २७.४६ प्रतिशत बढेर ९ अर्ब १० करोड ५९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब १४ करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३६.६३ प्रतिशत बढेर १० अर्ब १ करोड ७२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ४९ करोड ६९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीको चुक्ता पुँजी १०.२६ प्रतिशत बढेर ५ अर्ब १ करोड १९ लाख रुपैयाँ, जीवन बीमा कोष २३.२२ प्रतिशत बढेर ३३ अर्ब ६३ करोड ७५ लाख रुपैयाँ, महाविपत्ति कोष ३४ करोड ६८ लाख रुपैयाँ, रिटन्ड अर्निङ्ग ५६ करोड ९५ लाख रुपैयाँ र अन्य इक्विटीमा ६१ करोड ५२ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीले १० लाख ९ हजार ७२ वटा बीमलेख जारी गरेको छ । कम्पनीको दीर्घकालिन लगानी ३२ अर्ब ३ करोड ९४ लाख रुपैयाँ र सर्टटम लगानी २ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ गरेको छ ।
युनिलिभर नेपालको नाफा २ अर्ब रुपैयाँ, खर्च घटायो
काठमाडौं । युनिलिभर नेपालले गत वर्ष झण्डै २ अर्ब रुपैयाँ नाफा गरेको छ । कम्पनीको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा ७.६२ प्रतिशत बढेर १ अर्ब ९७ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष आम्दानी नाफा बढेको भएपनि प्रिमियम वर्गको उपभोगमा आएको सुस्तता र वितरकहरूले खेप्ुन परेको तरलता संकट जस्ता कारण कार्यसम्पादन प्रभावित भएको कम्पनीले जनाएको छ । कम्पनीले ८ अर्ब ४८ करोड ६ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । गत असारसम्म कम्पनीको बिक्री आम्दानी ८ अर्ब २३ करोड ९८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको बिक्री आम्दानी ८ अर्ब ४८ करोड ४ लाख रुपैयाँ थियो । अघिल्लो वर्ष १९ करोड ३६ लाख रुपैयाँ रहेको कम्पनीको अन्य आम्दानी गत असारसम्म बढेर २४ करोड ७ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको कुल खर्च ६ अर्ब ६ करोड १३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कुल खर्च ६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ थियो । जसमा वित्तीय लागत ३ करोड ४२ लाख रुपैयाँ, कर्मचारी खर्च ६३ करोड १४ लाख रुपैयाँ, कस्ट अफ मेट्रियलको ३ अर्ब ७६ करोड ७३ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्ग ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ५५९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ५ हजार २८५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.०७ गुणा रहेको छ ।
डलरको मूल्य स्थिर रहँदा साउदी रियालको बढ्यो, यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । अमेरिकी डलरको मूल्य आज पनि स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज साउन २८ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.६४ रुपैयाँ र खरिददर १३४.०४ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४६.३२ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४६.९८ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१.०८ रुपैयाँ र बिक्रीदर १७१.८४ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८.१० रुपैयाँ र बिक्रीदर ८८.४९ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.६२ रुपैयाँ र बिक्रीदर ९८.०६ रुपैयाँ तोकिएको छ । हिजो युरोपियन युरो एकको खरिददर १४६.३४ रुपैयाँ र बिक्रीदर १४६.९९ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७०.८४ रुपैयाँ र बिक्रीदर १७१.६१ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.११ रुपैयाँ र बिक्रीदर ८८.५१ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.५४ रुपैयाँ र बिक्रीदर ९७.५१ रुपैयाँ थियो । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७४ रुपैयाँ र बिक्रीदर ३५.९० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.३१ रुपैयाँ र बिक्रीदर ३०.४४ रुपैयाँ तोकिएको छ । हिजो साउदी अरेबियन रियाल एकको खरिददर ३५.७१ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.३१ रुपैयाँ र बिक्रीदर ३०.४४ रुपैयाँ थियो ।
आईजीआई प्रुडेन्सियलको नाफामा १५६.६७ प्रतिशत उछाल, ईपीएस २०.२१ रुपैयाँ
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ६१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले गत वर्ष १५६.६७ प्रतिशत बढी नाफा गरेको हो । गत असारसम्म कम्पनीको खुद बीमाशुल्क ९०.५६ प्रतिशत बढेर १ अर्ब ४१ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७४ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीको खुद दाबी भुक्तानी ६४.१२ प्रतिशत बढेर ७४ करोड ८१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड ५८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्ष कम्पनीको कुल आम्दानी ८९.६३ प्रतिशत बढेर २ अर्ब ३६ करोड ५४ लाख रुपैयाँ र कुल खर्च ६४.४३ प्रतिशत बढेर १ अर्ब ४९ करोड ९ लाख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ, विशेष जगेडा कोष २७.२४ प्रतिशत बढेर १ अर्ब ७२ करोड ५७ लाख रुपैयाँ, महाविपत्ती कोष २९.४२ प्रतिशत बढेर ८ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ३४ करोड ६२ लाख रुपैयाँ र अन्य इक्विटी १४.२२ प्रतिशत बढेर ५० करोड ३३ लाख रुपैयाँ रहेको छ । नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी (ईपीएस)१२.३३ रुपैयाँ बढेर २०.२१ रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १८७.७० रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २७.६१ गुणा रहेको छ । गत वर्ष कम्पनीले २ लाख ३२ हजार ५२३ वटा बीमालेख बिक्री गरेको छ भने ५१ हजार ७३२ वटा बीमालेख नवीकरण भएको जनाएको छ । गत असारसम्म कम्पनीले १ अर्ब २६ करोड ३१ लाख रुपैयाँ दीर्घकालिन लगानी र ४ अर्ब ३७ करोड ३१ लाख रुपैयाँ सर्टटर्म लगानी गरेको छ ।
नेपाल रिको नाफा ५१ करोड ५८ लाख रुपैयाँ, यस्ता छन् अन्य सूचक
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड ६२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले १३.४९ प्रतिशत कम नाफा गरेको हो । गत असारसम्म कम्पनीको खुद बीमाशुल्क ८.५७ प्रतिशत घटेर ५ अर्ब १५ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ६३ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीको गत वर्ष खुद दाबी भुक्तानी ०.९१ प्रतिशत घटेर ३ अर्ब ६३ करोड ७१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ६७ करोड ६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत असारसम्म कम्पनीको कुल आम्दानी ९.३० प्रतिशत घटेर ६ अर्ब ५३ करोड ३९ लाख रुपैयाँ र कुल खर्च ८.७४ प्रतिशत घटेर ५ अर्ब ७९ करोड ६९ लाख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ, विशेष जगेडा कोष ३ अर्ब ९२ करोड रुपैयाँ, महाविपत्ती कोष ३.३३ प्रतिशत बढेर २७ करोड ६३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ६१.६८ प्रतिशत बढेर १ अर्ब ८ करोड ८७ लाख रुपैयाँ र अन्य इक्विटी ७८ करोड ८० लाख रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ६३ पैसा घटेर ४.०३ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४७.४५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १९२.५५ गुणा रहेको छ ।
लगानीकर्ताको रोजाइमा ‘लो क्याप’ कम्पनी, यस कारण बढ्यो यी ९ स्टकमा आकर्षण
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ९४.५३ अंकले बढेर २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भयो । जुन कारोबार हालसम्मकै उच्च हो । नेप्सले नयाँ रेकर्ड कायम गर्दा १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । सकारात्मक सर्किट लाग्ने कम्पनीको पहिलो नम्बरमा छ नेशनल हाइड्रोपावर कम्पनी । आइतबार कम्पनीको कुल ११ लाख ९५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेका अनुसार सेयर बजारमा यस कमपनीको कुल २ करोड ४६ लाख ६४ हजार ३८० कित्ता सेयर सूचीकृत छ । जसमध्ये ८० प्रतिशत अर्थात् १ करोड ९७ लाख ३१ हजार ५०४ कित्ता संस्थापक सेयर रहेको छ भने २० प्रतिशत अर्थात् ४९ लाख ३२ हजार ८७६ कित्ता सर्वसाधारण सेयर छ । कारोबार मूल्यको आधारमा कम्पनीको आइतबारको बजार पुँजीकरण ५ अर्ब ४८ करोड रुपैयाँ छ । कम्पनीको सेयर आइतबार २२२ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको चुक्ता पुँजी भने २ अर्ब ४६ करोड रहेको छ । पछिल्लो ५ महिनाको तथ्यांक हेर्ने हो भने यस कम्पनीको न्यूनतम सेयर मूल्य र अधिकतम् २२२ रहेको छ । यस कम्पनीले २०७७/७८ मा १८.५२५ प्रतिशत बोनस र ०.९७५ प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपश्चात कम्पनीले लाभांश वितरण गर्न सकेको छैन । कम्पनीको २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी ०.३७ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १०१.३३ रुपैयाँ रहेको छ । पिई रेसियो ४११.०१ रहेको छ । कम्पनीले चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको छैन । न्यून्तम ईपीएस र नेटवर्थसँगै पछिल्लो केही वर्षयता लाभांश दिन नसकेको यस कम्पनीको सेयर मूल्यमा नै सर्किट लागेको छ । यस्तै, आइतबार सकारात्मक सर्किट लाग्ने दोस्रो कम्पनी हो नेरुडे मिर्मिरे लघुवित्त । यस लघुवित्तको सेयर मूल्य ८२ रुपैयाँ बढेर ९०२ रुपैयाँ पुगेको छ । पछिल्लो ५२ हप्तामा सबैभन्दा कम ४८० रुपैयाँमा कारोबार भएको छ भने सबैचन्दा उच्च ९०२ रुपैयाँमा कारोबार भएको छ । आइतबार कम्पनीको २ लाख ३० हजार कित्ता सेयर कारोबार भएको छ । लघुवित्तको १ करोड ३९ लाख ७७ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ । जसमध्ये ५१.४९ अर्थात् ७१ लाख ९६ हजार कित्ता संस्थापक सेयर र ४८.५१ अर्थात् ६७ लाख ८१ हजार सर्वसाधारण सेयर रहेको छ । कम्पनीले २०७८/७९ मा २३ प्रतिशत लाभांश वितरण गरेको छ । जसमध्ये १.१५७९ प्रतिशत नगद र २२ प्रतिशत बोनस गरेर कुल २३.१५७९ प्रतिशत लाभांश बढेको छ । कम्पनीको २०८०/८१ को तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार प्रतिसेयर आम्दानी ३२.८१ रहेको छ भने मूल्य आम्दानी अनुपात १८.१४ रहेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १७८.५८ रहेको छ । कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित हुन सकेको छैन । यस्तै, आइतबार एचआईडीसीएलको पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको २७ रुपैयाँ मूल्य बढेर २९८ रुपैयाँ पुगेको छ । आइतबार कम्पनीको १२ लाख ८५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको २२ करोड ८७ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत छ । जसमध्ये ८० प्रतिशत संस्थापक सेयर रहेको छ भने २० प्रतिशत सर्वसाधारण सेयर रहेको छ । पछिल्लो ५२ हप्तामा कम्पनीको सबैभन्दा कम १५४ रुपैयाँ र सबैभन्दा उच्च २९८ रुपैयाँमा कारोबार भएको छ । कम्पनीले २०७९/८० मा नगद लाभांश ५.२६३ प्रतिशत वितरण गरेको छ । कम्पनीको २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी ६.३८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११२.२९ रुपैयाँ रहेको छ । कम्पनीको पिई रेसियो भने २६.२२ रहेको छ । आइतबार खानीखोला हाइड्रोपावर कम्पनीको आइतबार सेयर २७.८० रुपैयाँले बढेर ३०५.८० रुपैयाँ पुगेको छ । कम्पनीको आइतबार २ लाख ५४ हजार कित्ता सेयर कारोबार भएको छ । नेप्सेमा कम्पनीको ४६ लाख ५७ हजार बिज्ञा सेयर सूचीकृत छ । जसमध्ये ७० प्रतिशत संस्थापक सेयर र ३० प्रतिशत सर्वसाधारण सेयर रहेको छ । कम्पनीले हालसम्म लाभांश वितरण गर्न सकेको छैन । कम्पनीको तेस्रो त्रैमासिक रिपोर्टअनुसार प्रतिसेयर आम्दानी १.०३ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ८५.०१ रुपैयाँ रहेको छ । त्यस्तै, पिई रेसियो पनि २४१.७७ ऋणात्मक रहेको छ । आइतबार सकारात्मक सर्किट लाग्ने मध्येको कम्पनी आखुखोला जलविद्युत पनि हो । कम्पनीको सेयर १९.८० रुपैयाँ बढेर २१७ रुपैयाँ कायम भएको छ । पछिल्लो ५२ हप्तामा कम्पनीको सेयर सबैभन्दा कम १४१ रुपैयाँ र सबैभन्दा उच्च २५० रुपैयाँमा कारोबार भएको छ । नेप्सेमा कम्पनीको २ करोड कित्ता सेयर सूचीकृत रहेको छ । जसमध्ये ७५ प्रतिशत संस्थापक र २५ प्रतिशत सर्वसाधारण सेयर रहेको छ । कम्पनीको २०८०/८१ को तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार प्रतिसेयर आम्दानी ०.४३ रुपैयाँ रहेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ६९ रुपैयाँ रहेको छ भने पिई रेसियो ५०२ प्रतिशत रहेको छ । यस्तै, आइतबार सकारात्मक सर्किट लागेको अर्को कम्पनीको हो अपर तामाकोशी हाइड्रोपावर । आइतबार कम्पनीको सेयर २१ रुपैयाँले बढेर २३४ रुपैयाँ कामय भएको छ । पछिल्लो ५२ हप्तामा सबैभन्दा कम १५२ रुपैयाँमा र सबैभन्दा धेरै २६७ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको २४ लाख ५१ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ । जसमध्ये ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण सेयर रहेको छ । कम्पनीको २०८०/८१ को तेस्रो त्रैमास अनुसार प्रतिसेयर आम्दानी ६.५७ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ६३.२५ रुपैयाँ रहेको छ । यस्तै, आइतबार शुभम पावरमा पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको आइतबार ८२ रुपैयाँ बढेर ९०२ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको नेप्सेमा २० लाख कित्ता सेयर सूचीकृत छ । जसमध्ये ७० प्रतिशत संस्थापक सेयर रहेको छ भने ३० प्रतिशत सर्वसाधारण सेयर छ । कम्पनीको पछिल्लो ५२ सातामा न्यूनतम ६१५ रुपैयाँमा र अधिकतम् १०७३ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको २०८०/८१ को तेस्रो त्रैमासिक अनुसार प्रतिसेयर आम्दानी ४.७० रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ पनि ८७.२३ रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै पिई रेसियो १३९.९४ प्रतिशत रहेको छ । आत्मानिर्भर लघुवित्तमा पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको आइतबार सेयरमूल्य २९० रुपैयाँ मूल्य बढेर ३ हजार १९० रुपैयाँ पुगेको छ । नेप्सेमा ६ लाख ८५ हजार कित्ता सेयर सूचीकृत छ । जसमध्ये ६७ प्रतिशत संस्थापक र ३२ प्रतिशत सर्वसाधारण सेयर रहेको छ । कम्पनीले २०८०/८१ मा ५ प्रतिशत नगद र १० प्रतिशत बोनस गरी १५ प्रतिशत लाभंश वितरण गरेको छ । आइतबार मिड सोलु हाइड्रोमा पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य ८७ रुपैयाँ बढेर ९५९ रुपैयाँ पुगेको छ । यस कम्पनीको नेप्सेमा ७४ लाख ८४ हजार कित्ता सेयर सूचीकृत छ । जसमध्ये ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारण सेयर रहेको छ । कम्पनीको २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी ३.८५ रुपैयाँ रहेको छ भने नेटवर्थ १०२.६३ रुपैयाँ रहेको छ । पछिल्लो ५२ सातामा कम्पनीको सेयर मूल्य अधिकतम् ९५९ रुपैयाँ र न्यूनतम् २९४ रुपैयाँ कायम छ । आइतबार सेयर लगानीकर्ताले ‘लो क्याप’ अर्थात् कम मूल्य भएका कम्पनीहरू छानेको देखिन्छ ।
झोलुंगे पुलले बढाए पर्यटक
ढोरपाटन । झोलुंगे पुलको जिल्ला भनेर चिनिने बागलुङमा बर्सेनि नयाँ पुल थपिरहेका छन् । झोलुंगे पुलको सङ्ख्या थपिएसँगै पर्यटन आगमनसमेत बढ्दै गएको छ । जिल्लामा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुंगे पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७९/८० मा २५ र २०८०/८१ मा १६ वटा झोलुंगे निर्माण भएका हुन् । पुल बनेपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ नागरिकलाई सहज हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको छ । बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि लामो झोलुंगे पुल बनेपछि दैनिक बागलुङ आउने पर्यटक बढेका छन् । विसं २०७७ देखि बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्ने गरी निर्माण भएको पाँच सय ६७ मिटर लामो पुलले आन्तरिक मात्रै नभई बाह्य पर्यटक तान्न थालेको छ । ‘सिंगल स्पान’ मा निर्माण भएको यो पुल नेपालकै लामो भएको दाबी गरिँदै आइएको छ । गतवर्ष गत यसै वर्ष बागलुङ नगरपालिका–४ उपल्लाचौ गौरीधामदेखि पर्वतको जलजल गाउँपालिका–८ नाङ्लिबाङ ओडारे जोड्ने गरी ५२३ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो । यी दुवै पुलका कारण पर्यटक बढेको जानकार बताउँछन् । जिल्लाको ग्रामीण क्षेत्रमा निर्माण भएका पुलले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ । जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै बनेका दुई लामा झोलुंगे पुलले पहिले बागलुङ कालिका मन्दिरसम्म आएर फर्कने पर्यटकलाई बजारसम्म तान्ने गरेको छ । बजारसम्म मात्रै नभई यहाँका धार्मिक तथा पर्यटकीयस्थलसम्म पुर्याउन मद्दत पुर्याएको छ । पुल सञ्चालनमा आएपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष एवं बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए । पुलले गर्दा पछिल्लो समय बागलुङमा ३० प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको उनको भनाइ छ । ‘पुलले बागलुङको पहिचानलाई उचोँ बनाएको छ, बागलुङ नगरपालिकाले ‘पहाड र पुलको नगर, सांस्कृतिक धरोहर’ नारासहित पर्यटन प्रवर्द्धन सुरु गरेको छ,’ खड्काले भने, ‘पुलले टाढा–टाढा मानिसलाई पनि यसले जोड्ने काम गरेको छ ।’ बागलुङको १० वटै स्थानीय तहमा दर्जन बढीको हारहारीमा झोलुंगे पुल छन् । एउटै पालिमा धेरै सङ्ख्यामा बनेका पुलले ग्रामीण क्षेत्रका नागरिकलाई वारपारमा सहज बनाई दिएको तमानखोला गाउँपालिका–२ का नरबहादुर विकले बताए । यसैवर्ष तमानखोलाको भयरबोङ्गामा बनेको पुलले स्यानीयलाई वारपारमा सहज बनाउनुका साथै आन्तरिक पर्यटक आउन थालेको उनको भनाइ छ । यहाँ पुल बनेपछि गाउँलेको जीवनस्तर नै बदलिएको उनले सुनाए । विकले भने, ‘यो पुल नहुँदा एक गाउँदेखि अर्को गाउँमा पुग्न झण्डै दुई घण्टा लाग्थ्यो, अहिले पाँच मिनेटमै पुगिन्छ, पुलले हाम्रो दैनिकी त बदली दियो नै बाहिरबाट मान्छेहरू घुम्न आउन थालेका छन्, घुम्न आएका मान्छेले गाउँमा उत्पादन भएका वस्तुहरु किनेर लैजाने गर्छन्, पुलसम्म आउने सडकलाई व्यवस्थित गरेर प्रचार गर्न सकियो भने धेरै पर्यटक यहाँ आउने देखिन्छ ।’ बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै दुई वर्ष अगाडि निर्माण भएको लामो झोलुंगे पुलमा पनि आन्तरिक पर्यटक सङ्ख्या बढिरहेको छ । पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो भिडियो खिच्ने र रमाउने सङ्ख्या धेरै हुने ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए । तमानखोलामाथि बिसमर र घोँसाखानी गाउँलाई जोड्ने गरी निर्माण भएको यो पुल अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको हो । पुलमा दैनिक दुई यस बढी आन्तरिक पर्यटकले वारपार गर्ने गरेका छन् । बुर्तिबाङ–बोङ्गादोभान सडकखण्डको माथि पट्टी निर्माण भएको पुलले पनि यात्रुलाई आकर्षित गर्ने उनले बताए । पुल दुई सय ४३ मिटर लामो छ । पुल नबन्दा खोला वारपार गर्न करिब एक घण्टा लाग्ने गरेकामा अहिले तीन मिनेटमै आउजाउ गर्न सकिन्छ । पुल निर्माणपछि ढोरपाटन नगरपालिका–३ को पुर्कोट, घोँसाखानी, सामा, बिसमरलगायतका गाउँका हजारौँ नागरिकलाई सहज भएको छ ।