विकासन्युज

नेप्से ३४.२९ अंकले बढ्यो, यी १० कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं ।  बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से ३४.२९ अंकले बढेर २९५७.७५ विन्दुमा कायम भएको छ । लगानीकर्ताहरू फाइनान्स समूहमा झुमिएका छन् । यो समूह ७.६७ प्रतिशतले बढेको छ । सूचीकृत कम्पनीमध्ये लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स र म्यूचल फण्ड बाहेक अन्य सबै समूह बढेको छ । सबैभन्दा धेरै म्यूचलफण्डका लगानीकर्ताले ०.९० प्रतिशतका दरले गुमाएका छन् । यस दिन १० कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मातृभूमि लघुवित्त, एचआईडीसीएल, माउन्टेन हाइड्रो नेपाल, हिमालयन हाइड्रोपावर, इङ्गा हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर, गुडविल फाइनान्स, अपी पावरको मूल्य १० प्रतिशतद्ये बढेको छ । त्यस्तै मञ्जुश्री फाइनानसको ९.८, थ्रीस्टार हाइड्रोपावरको ९.८ तथा बेस्ट फाइनान्सको मूल्य ८.५ प्रतिशतले बढेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार २३ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बुधबार फाइनान्स ७.६७, बैंकिङ ०.७२, विकास बैंक ३.०७, होटल तथा पर्यटन २.३७, हाइड्रोपावर १.९१, लगानी २.४९, उत्पादन ०.६४, निर्जीवन बीमा ०.७४, अन्य ०.८३ तथा व्यापार ०.३९ प्रतिशत बढेको छ । त्यस्तै माइक्रोफाइनान्स ०.७० तथा जीवन बीमा ०.०८ प्रतिशतले घटेको छ । कारोबार रकममा आधारमा हिमालयन रि र शिवम् सिमेन्ट नै शीर्ष स्थानमा रहेका छन् ।

नाडा अटो शोमा ग्लोबल आइएमई र नबिल बैंकसहित ७ वटा वित्त कम्पनीले भाग लिने

काठमाडौं । यस वर्षको ‘नाडा अटो शो २०२४’ मा  ७ वटा बैंक तथा वित्तीय संस्थाले भाग लिने भएका छन् । भदौ ११ गतेदेखि १६ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मीसनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले  भाग लिने आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ । आयोजकका अनुसार यी बैंक तथा वित्त कम्पनीहरूले आकर्षक स्किमसहित अटो शोमा सवारी खरिद गर्ने ग्राहकहरूलाई सहज फाइनान्सिङको सुविधा प्रदान गर्नेछन् । यस पटकको अटो शोमा २४ वटा ब्राण्डका चारपांग्रे सवारी, १९ ब्राण्डका दुईपांग्रे र १२ ब्राण्डका हल्का लाइट सवारीसाधन प्रदर्शन गरिने नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिएका छन् । कुल मिलाएर शोमा ९५ प्रदर्शकहरू सहभागी हुनेछन्, जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन् ।

दोल्तीको सेयरमा लगानीकर्ताको दोस्ती, ऋण तिर्न चन्दा माग्दै कम्पनी

काठमाडौं । मंगलबार दोल्ती पावर कम्पनीको सेयर माग उच्च देखियो । बजार खुलेको दुई घण्टाभित्रै सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५५ रुपैयाँ ५० पैसाले बढेर ६१० रुपैयाँ ५० पैसा भयो । कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । नेप्सेले उच्च माग भएको सेयर सूचीमा दोल्तीलाई राख्यो । लगानीकर्ताले यो कम्पनीको ७ लाख ८१ हजार बढी कित्ता सेयर खरिद अर्डर गरे । माग र मूल्यमा उच्च वृद्धि भएका बेला उक्त सेयर बिक्री गर्ने कोही भएनन् । नेप्सको वेबसाइटमा यस कम्पनीको कुल ७ लाख ८१ हजार ८९५ कित्ता सेयर खरिदका लागि राखिएको थियो । तर, बिक्रीका लागि राखिएको सेयर कित्ता शून्य थियो । मंगलबार दिनभरिमा कम्पनीको कुल ९६ हजार ८५५ कित्ता सेयर खरिद बिक्री भएको नेप्सेको रेकर्डमा देखिन्छ । यो कम्पनी लगानीकर्ताहरूको रोजाइमा परेकाले सेयरको माग र मूल्य उच्च भएको हुनसक्ने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । यति धेरै माग र मूल्य भएको कम्पनीको अवस्था कस्तो छ ? विकासन्युजले कम्पनीको बारेमा जानकारी लिन प्रयास गर्यो । नेप्सेमा सूचीकृत कम्पनीहरूको एकीकृत र आधिकारिक सूचना लिने पहिलो विन्दु नेप्से नै हो । नेप्सेको वेबसाइटमा कम्पनीको वित्तीय विवरण राखिएको छैन । कम्पनीले अहिलेसम्म लाभांश नदिएको रहेछ । कम्पनीको पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँ रहेको उल्लेख छ । त्यसमा ३० प्रतिशत सेयर सर्वसाधारणको रहेको उल्लेख छ । कम्पनीको साधारण सभा गर्ने प्रयोजनका लागि २०८० पुस २३ गते एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द गर्न लागेको सूचना छ । कम्पनीको अध्यक्षमा मिरा गौतम छिन् । सञ्चालक समितिमा पनि उनको नाममात्र छ । सम्पर्क व्यक्तिमा पनि उनकै नाम छ । सम्पर्क नम्बर ०१४१०५०२१ छ । उक्त नम्बरमा सम्पर्क गर्दा एक कर्मचारीले फोन उठाए । उनले कम्पनीको बारेमा कुनै पनि जानकारी दिन असमर्थ रहेको बताए । कम्पनीका अध्यक्ष गौतम बिरामी रहेको र कसैसँग बोल्न नसक्ने अवस्थामा भएको उनले बताए । थप जानकारी दिने जिम्मेवार व्यक्ति कम्पनीमा केही नभएको उनले बताए । र, समाचारमा आफ्नो नाम उल्लेख नगरिदिन याचना गरे । दोल्ती पावरको थप जानकारी लिने सम्बन्धित कम्पनीको वेसाइटमा खोल्यौं । कम्पनीको वेबसाइटमा कम्पनीको सञ्चालक समिति, व्यवस्थापन समिति केही पनि उल्लेख छैन । कम्पनीको वित्तीय विवरण पनि छैन । कम्पनीले ‘डेनेट’ भनेर चन्दा माग गरेको छ । बैंककाे ऋण तिर्न चन्दा माग गरेको हुन सक्ने अनुमान बजारमा छ । एक वर्षअघि ९ कराेड संचित नाेक्सानमा रहेकाे यस कम्पनी गत चैतसम्ममा १७ कराेड ऋणात्मक भएकाे छ । बैंककाे कर्जा करिव ७० कराेड रूपैयाँ रहेको छ । त्यसपछि हामीले खोजको पब्लिक डोमेन गुगलको सहायता लियौं । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक प्रतिवेदन पत्रिकामा छापेको पाइयो । उक्त प्रतिवेदनअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ६.०३ रुपैयाँ ऋणात्मक रहेछ । प्रतिसेयर नेटवर्थ ६७.११ रुपैयाँ रहेको छ । कम्पनी खुद नाफा ३ करोड २३ लाख ६२ हजार ऋणात्मक छ । कम्पनीको जगेडा कोष पनि १७ करोड ६४ लाख ६५ हजार ऋणात्मक छ । वित्तीय विवरण हेर्दा कम्पनी टाट पल्टेको घोषणाको पर्खाइमा छ । तर, मंगलबार मूल्यवृद्धिको सर्किट ब्रेक लागेको यस कम्पनीको सेयर बुधबार प्रतिकित्ता ६७१ रुपैयाँ १० पैसासम्ममा कारोबार भएको छ । खराब कम्पनीका सेयर कारोबारमा कसरी चलखेल हुन्छ र नयाँ लगानीकर्ता फस्छन् भन्ने प्रतिनिधि मुलक घटना हो यो । चलाख लगानीकर्ता यस्ता चलखेलबाट जोगिन्छन्, नयाँ लगानीकर्ता यस्तै कम्पनीमा फस्ने सजिलै अनुमान गर्न सकिन्छ । कम्पनीले दैलेख जिल्लास्थित पदम खोलामा ४.५ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरेको छ । आयोजनाको कुल लागत १ अर्ब ८ करोड रुपैयाँ रहेको छ । प्रतिमेगावाट २४ करोड लागत भएको यस कम्पनीबाट लगानीकर्ताले लाभ लिन सक्ने सम्भावना ज्यादै कम हुन्छ । कम्पनीले जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी २०७६ पुस ८ गतेदेखि आयोजना सञ्चालन गर्दै आएको छ । थोरै पुँजी भएको र पब्लिक सेयर पनि थोरै भएको कम्पनीको सेयर कर्नरिङ गरेर मूल्यवृद्धि गर्ने र पब्लिकलाई फसाउने बाठा लगानीकर्ताको गतिलो अभ्यास यस कम्पनीकाे सेयरमा देखिएको छ ।

१८ वर्षपछि संक्रमणकालीन न्यायमा सहमति हुनु खुसीको विषय : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिप्रक्रिया थालनी भएको १८ वर्षपछि संक्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरूका लागि खुसीको विषय भएको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिका साथ कानुन पारित हुने चरणमा पुगेकाले पारित भएका कानुनलाई कार्यान्वयन गर्न सरकारले यथेष्ट सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हाम्रो देशमा द्वन्द्व थियो, हामीले शान्तिप्रक्रिया अगाडि बढायौँ, यो प्रक्रिया हाम्रो आफ्नै हिसाबको मौलिक (होम ग्रोन) हो । कहिले धिमा गति र कहिले समाधान हुँदै यो प्रक्रिया अगाडि बढेको छ, हामीले दुनियाँका लागि एक नमुनाका रूपमा शान्तिप्रक्रिया अगाडि बढाएका छौँ, द्वन्द्वलाई मूल प्रवाहका साथै द्वन्द्वबाट अलगअलग भएका पक्षहरूलाई उत्थान गर्ने गरी हामी अघि बढेका छौँ,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले थपे, ‘नेपालमा शान्ति प्रक्रियाको अन्तिम किस्ताका रूपमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनसम्बन्धी कानुनलाई लिएका छौँ, राजनीतिक कार्यदल र संसद्को सम्बन्धित समितिबाट पीडितकेन्द्रित हुने गरी सर्वसम्मत पारित भइसकेको छ, यस अर्थमा म खुसी व्यक्त गर्दछु, यो हाम्रो सफलता दुनियाँका लागि उपयोगी हुन सक्नेछन् ।’

सानिमा बैंकका ग्राहकले रिभरसाइड स्प्रिंग्स रिसोर्टमा १० प्रतिशत छुट पाउने

काठमाडाैं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न रिभरसाइड स्प्रिंग्स रिसोर्ट प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ । सानिमा बैंकको सानिमा भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप प्रयोग गरी डिजिटल भुक्तानी गर्दा रिभरसाइड स्प्रिंग्स रिसोर्टका विभिन्न सेवाहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् । बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफर प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।

चिकित्सा शिक्षा आयोगका परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीको शुल्क फिर्ता हुने

काठमाडौ । चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरूको शुल्क फिर्ता हुने भएकाे छ । विज्ञान, प्रविधि तथा शिक्षामन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरूको शुल्क फिर्ता हुने बताएकी छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मन्त्री भट्टराईले कक्षा १२ को नतिजा नआउँदै प्रवेश परीक्षाका लागि फारम भरेका तर नतिजामा नन ग्रेड (अनुत्तीर्ण) मा परेका विद्यार्थीहरूको शुल्क फिर्ता हुने बताएकी हुन् । ‘चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा नन ग्रेडमा परेका विद्यार्थीले फारम भर्दा तिरेको शुल्क आयोगबाट फिर्ता दिइने कुरा जानकारी गराउँदछु,’ उनले भनेकी छिन् ।

काठमाडौं विश्वविद्यलाय र धुलिखेल अस्पतालबीचको सहकार्य कायम राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचमा भएको सहकार्यलाई आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको काठमाडौं विश्वविद्यालयको ९७औं सभामा कुलपतिका हैसियतले प्रधानमन्त्री ओलीले विश्वविद्यालय र अस्पतालबीच देखिएको असमझदारी र समस्या छलफल गरी समाधान गर्न निर्देशन दिएका हुन् । धुलिखेल अस्पतालले प्रदेश सरकारबाट प्रतिष्ठानको स्वीकृति लिन लागेको र विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने तयारी गरेको सन्दर्भमा दुई संस्थाबीच विवाद र अन्योल उत्पन्न भएको थियो । ‘विश्वविद्यालयले तत्काल नयाँ अस्पताल खोल्न र त्यसका लागि सरकारले लगानी गर्न नसक्ने भएकाले धुलिखेल अस्पतालसँगको सम्बन्ध र सहकार्यलाई कम्तीमा पाँच राखिनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस अवधिभित्र विश्वविद्यलायले आफ्नै अस्पताल खोल्ने गरी तयारी गर्नेछ, साथै नीतिगत विषयमा आगामी भदौभित्र विश्वविद्यालयको अर्को बैठक गरेर निर्णय गर्नेछौँ, सोही बैठकमा अन्य चुनौती र कठिनाइका विषयवस्तुबारे पनि छलफल गर्नेछौँ ।’ सभामा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जूले विश्वविद्यालयले अस्पतालसँगको सम्बन्ध एकाएक तोड्न नमिल्ने विचार राखेपछि प्रधानमन्त्री ओलीले यस विषयमा उपकुलपति डा भोला थापालाई स्पष्ट पार्न समय दिएका थिए । पूर्वउपकुलपति डा. सुरेशराज शर्मासहितको राय लिएर कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले हाल दुवै संस्थाको सम्बन्ध कायम राख्न आवश्यक ठानिएकाले सहकार्यलाई निरन्तरता दिन निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले सिट क्षमताअनुसार विश्वविद्यलायमा विद्यार्थी भर्ना हुने अवस्था ल्याउन पनि सुझाव दिए । नेपाल सरकारको गत आर्थिक वर्षमा अनुमानभन्दा २४ प्रतिशतले राजस्व कम उठेको र खर्च बढेकाले चाहेर पनि सरकारले विश्वविद्यालयलाई थप अनुदान दिन नसक्ने प्रधानमन्त्री ओलीले स्पष्ट पारे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईको उपस्थितिमा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा. अच्युतप्रसाद वाग्लेबाट प्रस्तुत ४ अर्ब ३० करोड ९० लाख बजेट पारित भएको छ । त्यस्तै, सभाले आगामी २९औं दीक्षान्त समारोहकाका लागि विभिन्न संकायबाट दीक्षित हुने २ हजार ३ सय १४ विद्यार्थीको ‘ग्रेसलिष्ट’ पारित गरेको छ ।

दैजी छेला औद्योगिक क्षेत्र : ४३ हजार रुखको लगत संकलन गरिँदै

कञ्चनपुर । दैजी-छेला औद्योगिक क्षेत्रमा पर्ने सामुदायिक वनभित्रका रुखको लगत लिने कार्य अगाडि बढाइएको छ । बेदकोट नगरपालिका–२ र ३ मा पर्ने औद्योगिक क्षेत्रको स्वीकृत वातावरणीय प्रभाव मूल्यांकनअनुसार लगतमा समावेश हुनबाट छुटेका रुखहरूको लगत लिने कार्य अगाडि बढाइएको हो । औद्योगिक क्षेत्रका पूर्व, उत्तर र दक्षिणी क्षेत्रअन्तर्गत पर्ने जनचेतना सामुदायिक वन र बेदकोट सामुदायिक वन क्षेत्रमा रुख तथा खम्बाको लगत लिने कार्य यसअघि गरिएको थियो । स्वीकृत वातावरणीय प्रभाव मूल्यांकनमा छुटेको पश्चिमतर्फको क्षेत्रमा रुखको लगत लिने कार्य अहिले भइरहेको डिभिजन वन कार्यालयका डिभिजनल अधिकृत भीमप्रसाद कँडेलले बताए । उनका अनुसार औद्योगिक क्षेत्रभित्र पर्ने २४०.३४ हेक्टर जग्गामा रहेका रूखको लगत लिनुपर्नेमा हालसम्म २०४.५२ हेक्टर जग्गामा रहेका रुखहरूको लगत लिने कार्य गरिएको छ । बाँकी ३५.८२ हेक्टर क्षेत्रफल जग्गामा रहेका रुखहरूको लगत लिने कार्य सुरु गरिएको छ । यसअघि औद्योगिक क्षेत्रभित्र पर्ने जनचेतना सामुदायिक वनमा १९ हजार ८ सय २ र बेदकोट सामुदायिक वनमा २३ हजार ४ सय ५५ गरी ४३ हजार २ सय ५७ रुखको लगत लिने कार्य गरिएको अधिकृत कँडेलको भनाइ छ । बाँकी रहेको ३५.८२ हेक्टर क्षेत्रफल जग्गामा रहेका रुखको लगत लिनका लागि डिभिजन वन कार्यालयका कर्मचारी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्राविधिक कर्मचारी खटिएका छन् । लगत संकलन गर्ने कार्य दुई हप्ताभित्र सक्ने लक्ष्य लिइएको छ । ‘औद्योगिक क्षेत्रको पश्चिमी सिमानाको साजगाड (खोला) क्षेत्रबाट लगत लिने कार्य सुरु गरिएको छ,’ उनले भने, ‘स्वीकृत वातावरणीय प्रभाव मूल्यांकनअनुसार खोला क्षेत्रको २० मिटरको क्षेत्रभित्रका रुखलाई छाडेर अन्य रुखहरूको लगत लिन्छौँ ।’ लगत संकलनका लागि २५९ हेक्टर क्षेत्रफल प्रस्ताव गरिए पनि २४०.३४ हेक्टर क्षेत्रफल मात्रै लगत संकलनका लागि स्वीकृत भएको उनले बताए । चुरे क्षेत्रको वन्यजन्तु ओहोरदोहोर गर्ने झण्डै १९ हेक्टर क्षेत्रलाई घटाएर बाँकी स्वीकृत गरिएको उनको भनाइ छ । ‘रुखको लगत लिने कार्य पूरा गरी मन्त्रालयमा पठाउँछौँ,’ उनले भने, ‘मन्त्रिपरिषद्को निर्णयअनुसार रुख छपान, कटान कार्यको आदेशबमोजिम अरू कार्य त्यसपछि अगाडि बढ्छ, अहिले लगत लिने कार्य मात्रै भइरहेको छ ।’ तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विसं २०५१ मा दैजी–छेला औद्योगिक क्षेत्र घोषणा गरेका थिए । विसं २०७७ फागुन १० गते केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए । मन्त्रिपरिषद्को विसं २०७२ चैत १ गतेको निर्णयअनुसार साबिक पूर्वमा छेला मुक्त कमैया बस्ती, पश्चिममा दैजी–जोगबुढा सडक, उत्तरमा वन क्षेत्र र दक्षिणमा चाँदनीफाँटा बस्ती चार किल्ला तोकी ९ सय बिगाहा क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरिएको थियो । विसं २०७३ माघ १४ गते मन्त्रिपरिषद्ले साबिकको चार किल्ला संशोधन गरी पूर्वतर्फ छेला मुक्तकमैया बस्ती तथा धेउडीथुम खोल्सा, पश्चिमतर्फ साजगाड खोला, उत्तरतर्फ चुरे वन क्षेत्र तथा दक्षिणतर्फ चाँदनीफाँटा बस्ती (राजमार्ग पश्चिमतर्फको पर्ति जग्गासमेत) औद्योगिक क्षेत्रमा गाभ्ने निर्णय गरेको थियो । औद्योगिक क्षेत्र स्थापना गरिएको २४०.३४ हेक्टर जग्गाको डिपिआर निर्माण गरी स्वीकृत गरिएको छ । वन तथा वातावरण मन्त्रालयबाट विसं २०७७ साउन १८ गते वातावरण प्रभाव मूल्यांकन प्रतिवदने पनि स्वीकृत भएको छ । औद्योगिक क्षेत्र निर्माणका लागि कुल लागत ९ अर्ब लाग्ने अनुमान गरिएको छ । त्यसमा औद्योगिक प्लट संख्या एक सयमध्ये साना उद्योगका लागि २३ प्लट छुट्याइएको छ । मझौला उद्योगका लागि ४४ प्लट र ठूला उद्योगका लागि ३३ प्लट छुट्याइएका छन् । आयोजना निर्माण भएपछि प्रत्यक्ष वा अप्रत्यक्षरूपमा २२ हजार जनालाई रोजगारी दिने लक्ष्य राखिएको छ । आयोजनाको पूर्वाधार निर्माण गर्न आव २०७७ देखि पाँच वर्षसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म औद्योगिक क्षेत्रको सीमा क्षेत्र यकिन गरी, डिपिआर निर्माण, वतावरणीय प्रभाव मूल्यांकन गर्ने कार्य मात्रै सकिएको छ । औद्योगीक क्षेत्रका अन्य कार्य अगाडि बढ्न सकेका छैनन् ।