आज र भोलि सेयर कारोबार नहुने
काठमाडौं । आज सोमबार र भोलि मंगलरबार सेयर कारोबार नहुने भएको छ । सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि बन्द हुने भएपछि सेयर कारोबार नहुने भएको हो । सोमबार भदौ ३ गते जनै पूर्णिमा र भोलि मंगलबार भदौ ४ गते गाइजात्रा पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । त्यसैले यी दुई दिन सेयर बजार पनि बन्द रहने छ । अब सेयर कारोबार बुधबार मात्रै खुल्ने छ ।
मेरो माइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना ५१:४९ प्रतिशत
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयर संरचना परिवर्तन गर्ने भएको छ । लघुवित्त संस्थाले हाल कायम रहेको पुँजी संरचनालाई परिवर्तन गरी संस्थापक सेयरधनी समूहको ५१ प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ४९ प्रतिशत कायम गर्ने भएको हो । हाल लघुवित्तमा संस्थापक संस्थापक सेयरधनी समूहको ५९.४० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ४०.६० प्रतिशत सेयर स्वामित्व छ । सञ्चालक समितिको साउन १८ गते बसेको बैठकले नेपाल राष्ट्र बैंकमा स्वीकृति मागेको थियो । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई सकेको हुँदा सेयर अनुपात परिवर्तन गर्ने वा नगर्ने सम्बन्धमा सम्पूर्ण संस्थापक सेयरधनीहरूलाई जानकारी गराएको हो । साथै संस्थापक सेयर सर्वसाधारण समुहमा परिवर्तन गर्न नचाहने सेयरधनीहरूले ३५ दिनभित्र लिखित निवेदन दिनुपर्नेछ । यदि निवेदन नदिएमा संस्थापकहरूको हकमा संस्थापक सेयर अनुपात सर्वसाधारण समुहमा परिवर्तन गर्न मञ्जुर रहेको ठानी सोही बमोजिम सर्वसाधारण समुहमा परिवर्तन गर्ने प्रक्रिया अगाडी बढाइने लघुवित्तले बताएको छ ।
गाउँघरमा लोपोन्मुख हुँदैछ जनै बनाउने सीप
काठमाडौं । पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ । युवापुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न पाइँदा जनै बनाउनेक्रम हराउँदै गएको बर्दघाट सुस्तापूर्व कावासोती–६ का शालिकराम न्यौपानेले बताए । ‘अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले पनि जनै बनाउने सीप नहुँदा हिजोआज यो क्रम हराउँदै गएको पाइन्छ, सहजता र आधुनिकताले पनि धेरै परम्परा र मौलिक सीप लोप हुँदै गएका छन्,’ उनले भने । केही वर्ष अगाडिसम्म जनै बनाएर आफन्तलाई पनि दिने गरेको भए तापनि पछिल्लो समय बजारबाट खरिद गरी प्रयोग गर्ने गरेको कावासोती–१७ का धनपति अधिकारीले बताए । ‘पछिल्लो समय युवाले नियमित जनै लगाउनै छाडे, अहिलेका छोरानातिले जनै लगाएर के हुन्छ भनेर उल्टै आफ्नो रीतिरिवाज भुल्न थालेका छन् । यो चिन्ताको विषय हो,’ उनले भने । गाउँमा अहिले जनै बाट्नै छाडिसकेको अधिकारीले बताए । जनैपूर्णिमाका लागि बजारबाट मेसिनले बाटेको जनै खरिद गरेर ल्याएको उनको भनाइ छ । बजारमा विदेशबाट आयातित र विभिन्न मेसिन तथा उपकरण प्रयोगबाट बनाइएका जनै फरक–फरक मूल्यमा उपलब्ध हुने गरेका छन् । नयाँ जनै फेर्नुपर्ने हिन्दू संस्कारमा रहिआएको मान्यताअनुसार जनैपूर्णिमाका लागि जनैको कारोबार पनि धेरै हुने गरेको पाइन्छ । विगत वर्षहरूमा गाउँघरमा ब्राह्मण तथा क्षेत्री समुदायका व्यक्तिहरूले एक महिना अघिदेखि नै जनै बाट्न सुरु गर्ने गरेको र त्यो नै उत्कृष्ट जनै रहने गरेको पण्डित बुद्धिसागर भण्डारीले बताए । ‘आफ्नै हातले धागो सङ्ग्ल्याएर, कतुवामा बाटेको जनै नै राम्रो हो, हिजोआज मेसिनको प्रयोगबाट जनै लगाउनु बाध्यता भइसक्यो, भारतबाट आउने जनै निकै सस्तो हुन्छ, तर त्यसको बनावट राम्रो र उपयुक्त हुँदैन,’ उनले भने । पछिल्लो समय हिन्दू धर्मावलम्बीको पवित्र पर्वका रूपमा मनाइने जनपूर्णिमाको महत्त्व नयाँ पुस्ताले बिर्सँदै गएको पण्डित भण्डारीले गुनासो गरे । ‘रक्षाबन्धनका दिन नजिकैको धार्मिक मठमन्दिरमा गएर विधिपूर्वक पूजाआजा गर्नुपर्ने भए तापनि बजारमा भित्रिएका जनै र धागोलाई प्रयोग गर्न थालिएको छ, आधुनिकताका नाममा र युवापुस्ता व्यस्त रहने हुँदा संस्कृति लोप हुने अवस्थातिर पुग्ने हो कि भन्ने चिन्ता थपिएको छ,’ उनले भने । शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रूपमा जनैपूर्णिमालाई लिइने पण्डित भण्डारीले बताए । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु, महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ । ठाउँठाउँमा पुरोहितले विधि पुर्याएर पूजा गरेको जनै र रक्षाबन्धन धारण गर्नुपर्ने उनको भनाइ छ । जनैपूर्णिमा (रक्षाबन्धन)का दिन इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहिआएको छ । ‘तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनपूर्णिमालाई ऋषितर्पणी पनि भन्ने गरिएको छ, हिन्दू धर्मावलम्बीले यस पूर्णिमाको दिन नजिकैको तीर्थस्थलमा गई मन्त्रोच्चारण गरी विधिपूर्वक पूजाआजा गरेर घरमा लगेको जनै र रक्षाबन्धन लगाएर जनैपूर्णिमा पर्व मनाउने परम्परा रहिआएको छ,’ उनले भने ।
१४५ रुपैयाँमा सानिमा बैंकको सेयर खरिद गर्ने मौका
काठमाडौं । सानिमा बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १ लाख १५ हजार ३८० कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त संस्थाप सेयरको मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले सो मूल्य वा सो भन्दा बढी कायम गरी बोलपत्र पेस गर्नुपर्नेछ । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ । यदि उक्त समयमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा राखिने बैंकले जनाएको छ ।
युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडिय डलरको मूल्य बढ्यो
काठमाडौं । अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज भदौ ३ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.६१ रुपैयाँ र खरिददर १३४.०१ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४७.७९ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४८.४५ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७३.४८ रुपैयाँ र बिक्रीदर १७४.२५ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९.३७ रुपैयाँ र बिक्रीदर ८९.२७ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.९६ रुपैयाँ र बिक्रीदर ९८.४० रुपैयाँ तोकिएको छ । हिजो युरोपियन युरो एकको खरिददर १४७.२८ रुपैयाँ र बिक्रीदर १४७.९४ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.९२ रुपैयाँ र बिक्रीदर १७३.६९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.८४ रुपैयाँ र बिक्रीदर ८९.२४ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.५९ रुपैयाँ र बिक्रीदर ९८.०२ रुपैयाँ तोकिएको थियो । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७१ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७४ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.२४ रुपैयाँ र बिक्रीदर ३०.३८ रुपैयाँ तोकिएको छ ।
कच्ची अवस्थामा नियमित उडान, कालोपत्र भएपछि बन्द
काठमाडौं । खोटाङको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको ६ करोड ७६ लाख ९३ हजार रुपैयाँ लगानीमा कालोपत्र सम्पन्न गर्ने काम सम्पन्न भएपछि तत्कालीन संविधानसभा सदस्य विशाल भट्टराईले सोही दिन परीक्षण उडानको शुभारम्भ समेत गरेका हुन् । समिट एयरको नाइन एन-एएम्जी विमानले परीक्षण उडान भरेपछि उद्घाटन गरिएको कार्यक्रमलाई उनले लामीडाँडा विमानस्थलमा नियमित उडान भराउनका लागि प्राधिकरणसँग छलफल भइरहेको जानकारी दिएका थिए । तर, विमानस्थलमा परीक्षण उडान भरेपछि अहिलेसम्म एकपटक पनि विमान उडान तथा अवतरण भएको छैन । वि.सं २०२८ देखि कच्ची अवस्थामा नियमित सञ्चालन हुँदै आएको विमानस्थलको टनिङ प्याडमा दायाँबायाँ २८-२८ मिटर कालोपत्र गरिएको गरिएको छ । ५२० मिटर लम्बाइ र २० मिटर चौडाइको विमानस्थल कालोपत्र गर्ने जिम्मा वाइएनएस, एसएपी र सूर्य कन्ट्रक्सन प्रालिले कालोपत्र गरेको हो । जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकका साथै ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीय बासिन्दालाई सेवा दिने उद्देश्यले निर्माण गरिएको विमानस्थल यसअघि जिल्लाको निकै व्यस्त रहने विमानस्थलमा पथ्र्याे । स्थानीय बासिन्दाले कुटो तथा कोदालो प्रयोग गरेर २०२६ सालदेखि निर्माण सुरु गरेको विमानस्थल दुई वर्षपछि २०२८ सालबाट कच्ची अवस्थामै नियमित उडान सञ्चालनमा ल्याइएको थियो । ४८ वर्षसम्म कच्ची अवस्थामा नियमित उडान हुँदै आएको विमानस्थलमा कालोपत्र गरिएसँगै नियमित उडान बन्द हुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । कालोपत्र गरिएको विमानस्थलमा नियमित उडान नभएपछि दुर्घटनाका घाइते तथा बिरामीलाई हेलिकप्टर चार्टर गरेर अन्यत्र उपचारमा लानुपर्ने बाध्यताले स्थानीय बासिन्दा समस्यामा परेका हुन् । तीन जिल्लाका स्थानीय बासिन्दा तथा त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने भक्तजन एवं पर्यटकले सेवा लिँदै आएको विमानस्थलको उडान कटौती गरेर राज्यले आफूहरूमाथि ठूलो अन्याय गरेको रावाबेँसी गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले आरोप लगाए । ‘स्थानीय बासिन्दाले कुटो र कोदालो प्रयोग गरेर सञ्चालनमा ल्याएको लामीडाँडा विमानस्थलमा कालोपत्र भएको छ । तीन जिल्लाका जनताले नियमित उपयोग गर्दै आएको हवाई सुविधा खोस्ने काम भएको छ,’ उनले भने, ‘नियमित उडान भराउन सम्बन्धित निकायमा पटकपटक अनुरोध गरिरहेका छौँ । राज्यको ठूलो लगानीमा कालोपत्र गरिएको विमानस्थल पुनः सञ्चालनमा ल्याउन अहिलेसम्म कसैले पनि चासो दिएका छैनन् । यसप्रति ध्यान जान जरुरी छ ।’ लामीडाँडा विमानस्थलमा उडान कटौती गरेपछि कर्मचारी र आवश्यकीय उपकरणसमेत उठाएर अन्यत्र लगेको स्थानीय बासिन्दाले बताएका छन् । राज्यकोषको लगानीमा कालोपत्र गरिएको विमानस्थल उपयोगविहीन भएपछि सरकारको आलोचना हुँदै आएको छ । विमानस्थलमा उडान कटौती हुनुको कारण पत्ता लगाएर नियमित उडान भर्नेगरी पहल भइरहेको सांसद रामकुमार राई ‘पासाङ’ले बताए । ‘लामीडाँडा विमानस्थलमा उडान कटौती हुनु दुःखद् विषय हो । राज्यकोषको लगानीमा कालोपत्र गरिएको लामीडाँडा विमानस्थल छ वर्षदेखि उडान अवरुद्ध छ, नियमित उडान भर्नेगरी सम्बन्धित निकायमा पहल गरिरहेको छु । अहिलेसम्म कुनै नतिजा आएको छैन । यद्यपि, पहल गर्ने काम भइरहेको छ,’ उनले भने । १० स्थानीय तह रहेको खोटाङ जिल्लामा तीनवटा विमानस्थल छन् । जिल्लाका सबै क्षेत्रका स्थानीय बासिन्दालाई हवाई सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएका तीनवटै विमानस्थल नागरिक उड्डयन प्राधिकरणको लगानीमा कालोपत्र गरिएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा निर्माण गरिएको थामखर्क र जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिक खाल्लेस्थित मनमाया राई खानीडाँडा विमानस्थलमा भने नियमित उडान भइरहेको छ । खानीडाँडा र थामखर्क विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले काठमाडौँका लागि नियमित उडान भर्दै आएको जनाइएको छ । प्राधिकरणको ७ करोड २४ हजार ३८० रुपैयाँ लागतमा लामा बुइल्डर्स/चाङ्मिला जेभी निर्माण कम्पनी कालोपत्र गरेको खानीडाँडा विमानस्थलमा हप्ताको दुईपटक उडान हुँदा सबैभन्दा बढी जिल्ला अस्पताल दिक्तेलबाट अन्यत्र ‘रेफर’ गरिएका बिरामीलाई सहज भएको छ । दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल रौता कन्स्ट्रक्सन प्रालिले प्राधिकरणको १० करोड ६० लाख ७१ हजार रुपैयाँ लगानीमा कालोपत्र गरेको हो ।
आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । नेपाल पञ्चाङ्ग निर्यायक विकास समितिका अनुसार मुलुकका विशिष्ट व्यक्तिले मात्र भद्रा कटाइ दिनको १ः३१ बजेपछि रक्षाबन्धनको कर्म गर्नु मुनासिव हुनेछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानवराज बलिसमेत बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए । सोही पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा निरन्तर छ । यसैदिन ब्राहृमण, क्षेत्री र वैश्यगरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पणगरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । वैदिक गुरु परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनार र मठमन्दिरमा भक्तजनको भीड लागेको छ । क्वाँटी खाने दिन जनैपूर्णिमाका दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लाग्ने गर्छ । जनैपूर्णिमाका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
बीमा प्राधिकरणको संचालकबाट बाहिरिए कपिलदेव ओली
काठमाडौं । नेपाल बीमा प्राधिकरणका संचालक समितिका बीमा विज्ञ सदस्य कपिल देव ओलीको दोस्रो पटकको चार वर्षे कार्यकाल सकिएको छ । बीमा विज्ञ सदस्य ओलीको आज प्राधिकरणको केन्द्रीय कार्यालय ललितपुरमा एक कार्यक्रम आयोजना गरी विदाई तथा सम्मानसहित विदाई गरिएको हो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा विज्ञ सदस्य ओलीलाई सम्मानका साथै उपहार तथा सम्झनाको चिनो प्रदान गरेका छन् । अध्यक्ष सिलवालले प्राधिकरणको संचालक समितिमा बीमा विज्ञ सदस्यका रुपमा रहेर ओलीले पुर्याएको योगदान प्रशंसा समेत गरेका छन् ।