नेप्से ७९ अंकले घट्दा लगानीकर्ताको रोजाइमा माइक्रोफाइनान्स
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ बिन्दुमा अडिएको छ । नेप्से घटेपनि अहिल्लो कारोबार दिनको तुलानामा कारोबार रकम भने सामान्य बढेको छ । आइतबार ३३३ कम्पनीको १९ अर्ब ७४ करो८ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार १९ अर्ब १६ करोड रुपैयाँ बराबारको कारोबार भएको थियो । यस दिन ६० कम्पनीको सेयरमूल्य बढ्दा १८४ कम्पनीको सेयर मूल्य घटेको छ । सूचीकृत १३ उपसमूहमध्ये माइक्रोफाइनान्स समूह १.०८ प्रतिशत बढेको छ । बाँकि सबै समूह राताम्मै भएको छ । सबैभन्दा धेरै लगानी समूहका लगानीकर्ताले गुमाएका छन् । यस समूह ३.८३ प्रतिशतका दरले घटेको हो । आइतबार चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा धेरै मन्दाकिनि हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९१ प्रतिशतका दरले गुमाएका छन् ।
नाडा अटो शोमा एमएडब्ल्यू वृद्धिले नयाँ मोडल पनि सार्वजनिक गर्ने, नाम गोप्य
काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धि अटोकर्पले नाडा अटो शोमा नयाँ मोडेलको ईभी सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले नाडा अटो शोमा प्रिमियम इलेक्ट्रिक एसयूभी दिपल एस०७ सँगै नयाँ मोडेलको ईभी पनि सार्वजनिक गर्ने तयारी गरेको हो । यद्यपि, शोमा सार्वजनिक गरिने नयाँ ईभीको नामबारे भने कम्पनीले केही खुलाएको छैन । त्यस्तै, फिचर मूल्य र यसका फिचरसमेत शोमा नै सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । ‘यसले ड्राइभिङ एउटा आवश्यकता मात्र होइन पूर्ण रूपको अनुभव पनि हो भन्ने कुरालाई बुझाउँछ,’ कम्पनी स्राेत भन्छ, ‘अत्याधुनिक प्रविधि र नवीनतम सुविधाले भरिएको यो नयाँ ईभीले भविष्यको भावनालाई झल्काउछ ।’ यो मोडल नाडा अटो शोको पहिलो दिन सार्वजनिक गरिने कम्पनीले जनाएको छ । त्यस्तै, नाडामा दिइने अफरबारे पनि शोमा मात्रै थाहा हुने कम्पनीकाे भनाइ छ । कम्पनीले दिपल एल०७ प्रिमियम ईभी सेडान पनि अटो शोमा राख्ने जनाएको छ । नेपालमा छोटो समयमै लोभलाग्दो सफलता हासिल गरेको दिपल एस०७ प्रिमियम ईभीपछि चाँगन नेपालले सेडान दिपल एल०७ साउन ३१ गते सार्वजनिक गरेको हो । सार्वजनिक भएको चार महिनामै दिपल एस०७ लाई फ्युचरिस्टिक डिजाइन र इनोभेटिभ फिचरका कारण नेपाली ग्राहकले मन पराएको कम्पनीले जनाएको छ । अब एल०७ ले एस०७लाई स्थापित गरेको अटोमोबाइल प्रविधिको मापदण्डको सीमालाई अघि फैलाउने विश्वास चाँगानको औपचारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले लिएको छ । डिजाइनका हिसाबले एल०७ सेडानलाई एल०७ जस्तै मास्टरपिस मान्न सकिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार फ्रेमलेस डोर र इलेक्ट्रिक हिडन डोर ह्यान्डल सिस्टमसहितको स्लिक एरोडाइनामिक प्रोफाइललाई यो मोडलमा अझ अब्बल बनाएको छ । पानोरामिक ग्लास रुफले सुन्दरतालाई मात्र बढाएको छैन ओपन र लक्जरियस अनुभव दिलाउने कम्पनीको भनाइ छ । दिपल एल०७ मा ईभी डेडिकेटेड ‘ईपीए१ प्ल्याटफर्म’ छ जसमा ९९ किलोवाट क्षमताको एल०७ मा ६६.८ किलोवाट आवरको ब्याट्री रहनेछ जसले सिंगल चार्जमा आकर्षक ५३० किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार लामो यात्राका लागि यो सेडान लक्जरियस र क्यापेबल दुवै हुनेछ । यसका साथै यसमा रियर ह्विल ड्राइम रहनेछ जसले सन्तुलित पर्फमेन्स दिनेछ । यसको प्रयोग भएको एड्भान्स डिजिटल ब्याट्री म्यानेजमेन्ट सिस्टमले इनर्जी इफिसेन्सीलाई सबल बनाउनेछ । यस्तै, क्याबिनको बीचमा १५.६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको छ जुन टचस्क्रिनलाई ‘इन्टर्याक्ट’ गर्ने यात्रुतिर आफैं फर्कन्छ । दिपलमा ‘वेलकमिङ सिट’ पनि रहेको छ जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइ अनुसार सिटको पोजिसनलाई आफैं मिलाइदिन्छ । यस्ता थुप्रै फिचरहरू दिपलमा दिएको कम्पनीले जनाएकाे छ ।
इजरायलमा ४८ घन्टाका लागि संकटकाल घोषणा
तेल अभीभ । लेबनानसँगको बढ्दो तनावका बीच इजरायलले आगामी ४८ घण्टाका लागि संकटकाल घोषणा गरेको छ । इजरायलका रक्षामन्त्री योव ग्यालान्टले संकटकाल घोषणा गरेका छन् र यसले इजरायली रक्षा बल (आईडीएफ) को आन्तरिक मोर्चाको नेतृत्वलाई प्रतिबन्धहरू जारी गर्न सहज हुनेछ । मन्त्रीपरिषद्ले विस्तार नगरेसम्म यो अवस्था ४८ घण्टाका लागि मान्य हुनेछ । इजरायलमा तनाव बढ्दै गएको छ । यस क्षेत्रमा थप जोखिम बढेसँगै इजरायली नागरिकलाई उच्च सतर्कताका रहन भनिएको छ । आइतबार बिहान इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता रियर एडमिरल डेनियल हागारीले हिजबुल्लाहको आक्रमणको बदलामा इजरायलले दक्षिणी लेबनानमा रहेका लेबनानी नागरिकलाई आक्रमण हुनसक्ने भन्दै सावधानी अपनाउन आफ्ना नागरिकलाई सचेत गराएका छन् । एक पत्रकार सम्मेलनमा आइडिएफका प्रवक्ताले भने, ‘हिजबुल्लाहले दक्षिणी लेबनानबाट नजिक इजरायली क्षेत्रमा आक्रमण गरिरहेको छ । यसको बदलामा इजरायलले हिजबुल्लाहमाथि आक्रमण गर्ने तयारी गरिरहेको छ । तसर्थ हामी उक्त क्षेत्रमा रहेका लेबनानी नागरिकलाई तुरुन्तै स्थान खाली गर्न आग्रह गरेका छौँ ।’ ‘आईडीएफले इजरायली नागरिकको सुरक्षाका लागि आवश्यक सबै तयारी गरिरहेको छ र गर्नेछ,’ उनले भने । गत महिना तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानिया र लेबनानमा हिजबुल्लाह कमाण्डर मारिएपछि इरानले इजरायलसँग बदला लिने चेतावनी दिएको थियो । इरानको सम्भावित आक्रमणविरूद्ध इजरायलले कडा प्रतिशोधको तयारी गरिरहेको छ ।
बीमा ऐन २०७९ को ‘दफा ६’ पूर्ण कार्यान्वयन गर्दै प्राधिकरण, पहिलो पटक पाउँदैछ महिला
काठमाडौं । बीमा ऐन, २०७९ को दफा ६ पूर्ण रुपमा कार्यान्वयन गर्न नसकेको बीमा प्राधिरणले यस पटक भने सो ऐन पूर्ण रुपमा कार्यान्वय गर्ने तयारी गरेको छ । यसअघि बीमा प्राधिरणमा पुरुष सञ्चालक मात्रै भएपनि यस पटक भने महिला सञ्चालकलाई नै नियुक्त गरेर सो ऐनको दफा ६ पूर्ण रुपमा लागु गर्न लागेको हो । ५ सदस्यीय सञ्चालक समिति रहने व्यवस्था भएको प्राधिकरणले अब महिला सञ्चालक पाउने भएको हो । ५ सदस्यीय समितिमा एक सञ्चालकले गत साता अवकास पाएका थिए । बीमा विज्ञका रूपमा प्राधिकरणको सञ्चालकमा रहेका कपिलदेव ओली गत साता मात्र ४ वर्षे कार्यकाल पूरा गरेर प्राधिकरणबाट बिदा भएका हुन् । अब उनको स्थानमा महिला सञ्चालक आउने प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले विकासन्युजलाई जानकारी दिए । बीमा ऐन, २०७९ को दफा ६ मा प्राधिकरणमा एक जना महिला सञ्चालक रहने व्यवस्था उल्लेख गरिएको छ । बीमा विज्ञका रूपमा २ जना सञ्चालक रहने व्यवस्था छ । त्यसमध्ये एक जना सञ्चाकल महिला हुनुपर्ने ऐनमा उल्लेख छ । तर, ऐनमा नै महिला सञ्चालकको परिकल्पना गरिएको भए पनि हालसम्म प्राधिकरणले महिला सञ्चालक पाउन सकेको छैन् । ऐनमा नै भएको व्यवस्था हालसम्म किन लागु भएन भन्ने प्रश्नमा अध्यक्ष सिलवालले भने, ‘हालको सञ्चालक समितिको गठन बीमा ऐन २०४९ ले गरेको हो, त्यसकारण महिला सञ्चालकको उपस्थिति भएन । र, हाल रिक्त रहेको सञ्चालक पदमा महिलाको उपस्थिति हुनेछ ।’ हालको सञ्चालक समिति । प्राधिकरणको सञ्चालक समितिमा सरकारले नियुक्त गर्ने एक जना अध्यक्ष, सञ्चालक सदस्यका रूपमा अर्थ मन्त्रालयका एक जना सहसचिव, कानुन मन्त्रालयका एक जना सहसचिव र २ जना बीम विज्ञ सदस्यका रूपमा रहने व्यवस्था छ । सोही २ जनामध्ये एक जना महिला अनिवार्य हुनुपर्ने छ । बीमा ऐन २०७९ जारी भएको एक वर्ष बितिसक्दा पनि प्राधिकरणले महिला सञ्चालक पाएको भने छैन । अध्यक्ष सिलवालका अनुसार अब भने प्राधिकरणले महिला सञ्चालक पाउने छ । अर्थ मन्त्रालयका सहसचिव नारायण प्रसाद रिसाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव मान बहादुर अर्याल र सन्तोष रिजाल सञ्चालक समिति सदस्यका रुपमा काम गरिरहेका छन् ।
नेपालगञ्जका चोकचोकमा जुम्लाका स्याउ
नेपालगञ्ज । जुम्लामा उत्पादन भएको स्याउ नेपालगञ्जका चोकचोकमा पाइन थालेको छ । जुम्लाबाट गाडीमा ढुवानी गरेर कोहलपुर ल्याइने स्याउ नेपालगञ्जका धम्बोझी, पुष्पलालचोक, भानुचोक, बिपी चोकलगायतका स्थानमा प्रतिकिलो एक सय ६० रुपैययाँ मा खरिद गर्न पाइने स्थानीय बताउँछन् । कोहलपुर नगरपालिका–१२ की शर्मिला कार्कीले प्रतिकेजी स्याउमा २० नाफा गरेर जुम्लाको स्याउ बेचिरहेको जानकारी दिइन् । उनले भनिन्, ‘जुम्लाबाट आएको स्याउ ताजा, रसिलो र स्वादिष्ट छ, त्यसैले छिटो बिक्री हुने गरेको छ ।’ एकैपटकमा जुम्लाबाट धेरै परिमाणमा स्याउ आउने र कोहलपुरका विभिन्न सटरमा भण्डारण गर्ने गरिएको कार्कीले बताइन् । कोहलपुरबाट ल्याई नेपालगञ्जमा बिक्री गर्ने गरेको उनको भनाइ छ । ‘जुम्लाबाट आउने स्याउ अर्गानिक र रसिलो भएकाले धेरैले यो स्याउ मन पराउँछन्, उनी भन्छिन् । नेपालगञ्जका स्थानीय ठेला व्यापारी रामदास कोइरीले स्थानीय तरकारी मण्डीबाट जुम्लाको स्याउ खरिद गरी बिक्री गरिरहेको बताए । उनका अनुसार भारतको सिमलालगायत क्षेत्रबाट नेपालगञ्जमा स्याउ ल्याएर बिक्री गरिन्छ । जुम्लाको स्याउभन्दा भारतबाट ल्याएको स्याउ हेर्दा आकर्षक हुने भएकाले त्यसको मूल्य बढी हुने गरेको कोइरीको भनाइ छ । जुम्लाको स्याउको मूल्य प्रतिकेजी एक सय ६० छ भने भारतबाट आयात गरिएको स्याउ दुई सयदेखि दुई सय ५० सम्म रहेको छ । जुम्लाबाट दैनिक चार ट्रक स्याउ आउने गरेको थोक व्यापारीहरु बताउँछन् । जुम्लाबाट एकै जातको स्याउलाई तीन वर्गमा विभाजन गरी नेपालगञ्ज ल्याउने गरिएको छ । नेपालगञ्ज आएको जुम्लाको स्याउ यहाँबाट बर्दिया र कैलालीसम्म पुर्याउने गरिएको छ । जुम्लाको स्याउ अहिले बजारमा ठूलो, मझौला र सानो गरी तीन प्रकारले ‘ग्रेडिङ’ गरी बिक्री हुँदै आएको छ । कर्णाली प्रदेशको जुम्लाबाहेक हुम्ला, कालीकोट, डोल्पा र मुगुबाट पनि नेपालगञ्जमा स्याउ बिक्रीका लागि ल्याउने गरिएको व्यापारी बताउँछन् ।
सिर्सिया सुक्खा बन्दरगाह भन्सारको राजस्व संकलन एक महिनामा ३ अर्ब ७५ करोड
वीरगञ्ज । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको साउनमा ३ अर्ब ७५ करोड राजस्व संकलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको साउनमा ४ अर्ब ७३ करोड ३१ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले सो अवधिमा लक्ष्यको ७९.२८ प्रतिशत अर्थात् ३ अर्ब ७५ करोड २२ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको पहिलो महिनामा राजस्व संकलन उत्साहजनक देखिएको दाबी गरे । ‘चालु आवको साउनमा राजस्व संकलनमा औसतमा उत्साहजनक देखिएको छ, भदौको समग्र राजस्व संकलनले आगामी दिनको दिशानिर्देश गर्नेछ,’ उनले भने । भन्सार विभागले कार्यालयलाई गत आवको साउनमा ४ अर्ब २४ करोड ६३ लाख ३५ हजार रुपैयाँ लक्ष्य निर्धारण गरेकामा सो अवधिमा लक्ष्यको ९६.०१ प्रतिशत अर्थात् ४ अर्ब ७ करोड ६९ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । कार्यालयको गत आवको साउनको तुलनामा चालु आवको साउनमा राजस्व संकलन ३२ करोड ४७ लाख ८४ हजार रुपैयाँले घटेको छ । प्रमुख भन्सार अधिकृत बरुवालले गत आवको साउनको तुलनामा चालु आवको साउनमा समग्रमा राजस्व संकलनमा केही कमी आएको बताए । कार्यालयले आव २०७९÷८० को साउनमा भने ३ अर्ब ६१ करोड ८५ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
सरसफाइमा लाखौं खर्च गर्दै आएको व्यास नगरपालिकाले फोहरलाई मोहोरमा बदल्दै
तनहुँ । व्यास नगरपालिकाले खेर गइरहेको फोहर व्यवस्थापन गरी आम्दानी गर्न थालेको छ । पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सुक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको हो । विगत लामो समयदेखि नकुहिने फोहरलाई खाडल खनेर पुर्दै आएकामा हाल कार्यालय परिसरमै व्यवस्थापन गरी बिक्री गरिरहेको वन, वातावरण तथा सरसफाइ शाखा प्रमुख कृष्ण घिमिरेले जानकारी दिए । नगरपालिकाले ५० हजार रुपैयाँ बराबरको सिसाको बोतल बिक्री गरिसकेको छ । अन्य प्लाष्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ । नगरपालिकाले न्यूनतम दररेट कायम गरी १५ दिनको सूचना जारी बोलपत्र आह्वान गरेको हो । जसअनुसार रेडबुललगायत आल्मुनियम प्रतिकेजी ५०, फलाम प्रतिकेजी २८, टीन २०, पानीको बोतल तथा अन्य बोतल २०, कपडा चार रुपैँया ५० पैसा, कपी १५, किताब १४ दररेट कायम गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले यसअघि वडा नं ३ मादी नदी किनारस्थित भतेरीमा नकुहिने फोहर व्यवस्थापन गर्दै आएको थियो । त्यस क्षेत्रको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहर व्यवस्थापन गर्न लागिएको व्यास नपाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । उनका अनुसार फोहर व्यवस्थापनका लागि व्यास नगरपालिकाको पुरानो सभाहल र बाहिरी क्षेत्रमा ट्रस निर्माण गरी फोहर वर्गीकरण गरिएको छ । नगरपालिका क्षेत्रमा हाल दैनिक १५ टन नकुहिने र सात टन कुहिने फोहर संकलन हुने गरेको छ । कुहिने फोहरलाई व्यास–१० स्थित गौ संरक्षण केन्द्र भतेरीमा व्यवस्थापन गर्दै आएको छ । नकुहिने फोहरको दिगो व्यवस्थापनका लागि वडा नं १३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत गैरेले प्लाष्टिक, सिसा, कपडा र फलामलगायत नकुहिने वस्तुलाई छ किसिमले सुक्ष्म वर्गीकरण गरी बिक्री गर्ने योजना अघि बढाइएको जानकारी दिए । यसबाट मासिक १ लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखिएको छ । सरसफाइ शाखाका कर्मचारी परिचालन गरी नकुहिने वस्तु वर्गीकरण थालिएको उनले बताए । भारतबाट किनेर ल्याएको ‘बेलिङ’ मेसिन नगरपालिका परिसरमा जडान गरी नकुहिने प्लाष्टिकजन्य, फलामजन्य र कागजजन्य वस्तुलाई ठूलो आकारबाट सानो आकार बनाउने काम भइरहेको छ । उक्त मेसिनले ठूलो आकारको वस्तुलाई दाबेर सानो आकार बनाउनुका साथै आफैले ‘ब्यान्डिङ’ गर्ने नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । सरसफाइ क्षेत्रमा लाखौँ खर्च गर्दै आएकामा अब फोहरबाट आम्दानी गर्ने लक्ष्यअनुरूप प्रक्रिया अघि बढाएको छ ।
ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट १३ लाख बढी आम्दानी
ताप्लेजुङ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा टिकट बिक्रीबाट अहिलेसम्म १३ लाख ६३ हजार ७ सय रुपैयाँ संकलन भएको छ । प्रतियोगिताको सेमिफाइनलसम्मको खेलहरूमार्फत उक्त रकम संकलन भएको हो । आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार शुक्रबार र शनिबार दुई दिनमा मात्रै सेमिफाइनल खेलहरूबाट ६ लाख ५२ हजार ८ सय रुपैयाँ संकलन भएको थियो । शनिबारको खेलबाट मात्र ३ लाख ४४ हजार र शुक्रबारको खेलबाट ३ लाख ८ हजार ८ सय रुपैयाँ संकलन भएको उनले जानकारी दिए । यसअघि, क्वार्टरफाइनल चरणका चार खेल सम्पन्न हुँदा ७ लाख १० हजार ९ सय रकम संकलन भएको थियो । सेमिफाइनल खेलका लागि टिकट दर प्रतिव्यक्ति २ सय तोकिएको थियो भने क्वार्टरफाइनल खेलमा १ सय राखिएको थियो । फाइनल खेल यही भदौ १० गते सोमबार सम्पन्न हुनेछ । फाइनल खेल हेर्नका लागि टिकट दर २ सय ५० रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ । समितिका अध्यक्ष देवराज गुरुङले यस वर्ष टिकट बिक्रीबाट २० लाख रुपैयाँसम्मको आम्दानी गर्ने लक्ष्य राखिएको बताए । प्रतियोगिताको विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउनेछन् । टिकट बिक्रीबाहेक प्रतियोगिताका लागि अन्य माध्यमबाट आर्थिक सहयोग संकलन भइरहेको समितिले जनाएको छ ।