वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोब्बर
पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल अयातामा उलेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ । गत आर्थिक वर्ष २०८०/८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ । सो अवधिमा मोटरसाइकलको आयात शत् प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको साउन महिनामा वीरगञ्ज नाकाबाट ४६ करोड ७७ लाख रुपैयाँका तीन हजार पाँच सय ७१ थान मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए । चालु आवको साउनमा भने ९४ करोड ४८ लाखका सात हजार एक सय ५० रुपैयाँ थान मोटरसाइकल आयात भएका थिए । वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउन महिनामा २० करोड ६० लाखका एक सय २७ रुपैयाँ थान जिप र कार आयात भएका थिए भने चालु आवको सोही अवधिमा १४ करोड ४४ लाखको ७६ थान रुपैयाँ मात्र जिप र कार आयात गरिएको छ । भारत तथा तेस्रो मुलुकबाट पाटपुर्जा भित्र्याइए नेपालमै पेट्रोलबाट चल्ने मोटरसाइकल एसेम्वल्ड गर्ने आयातकर्तालाई सरकारले राजस्वमा ५० प्रतिशत छुट दिएका कारण आयात वृद्धि भएको सूचना अधिकारी कर्णले बताए । गत आर्थिक वर्षको साउन महिनामा मोटरसाइकल आयातबाट ४४ करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आवको सोही अवधिमा भने ८८ करोड ६४ लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
नाडा अटो शोमा ‘स्काइवेल’को १२६ युनिट बुकिङ
काठमाडौं । चर्चित चिनियाँ ब्राण्ड ‘स्काइवेल’ ले नाडा अटो शो २०२४ मा आक्रामक बुकिङ गर्न सफल भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आइतबार सम्पन्न नाडा अटो शोमा स्काईवेलले आक्रामक बुकिङ गर्न सफल भएको हो । आइतबार सम्पन्न नाडा अटो शोमा स्काईवेलले १ सय २६ युनिट बुकिङ गरेको छ । शनिबारसम्म स्काईवेलले ९९ युनिट गाडीको बुकिङ प्राप्त गरेको थियो । आइतबार थप २७ युटिन गाडी बुकिङ प्राप्त गरेको स्काईवेलको नेपालका लागि एकमात्र आधिकारिक वितरक जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए । ‘हामीले प्रिमियम गाडीमा सम्भवतः सबैभन्दा धेरै गाडी बुकिङ गरेका हौँ, शो निकै उत्साहजनक रह्यो’, उनले भनेका छन् । उनका अनुसार स्काइवेल ६ सय २० किलोमिटर, ५ सय २० किलोमिटर र ४ सय १० किलोमिटर रेन्ज गरी तीन भेरिएन्टमा बुकिङ गरिएको हो । नाडा अटो शोमा स्काईवेल एसयूभी बी ११ मा ५ सय २० किलोमिटर र ४ सय १० किलोमिटर रेन्जको इभी सार्वजनिक गरेको थियो । नाडा अटो शोमा गाडी बुकिङ गर्दा कम्पनीले न्यूनतम ४ लाखसम्मको छुट पनि दिएको थियो । कम्पनीले जनाएअनुसार ४१० किलोमिटर रेन्ज दिने गाडीलाई छुटसहित ७५ लाख ९० हजार, ५२० किमी रेन्ज दिने गाडीलाई ८५ लाख ९० हजार र ६२० किमी रेन्ज दिने गाडीलाई ८५ लाख ९० हजारमा उपलब्ध गराइएको थियो । १ सय ५० किलोवाट मोटर क्यापासिटी भएका गाडीहरूमा सेफ्टी फिचरसहित विभिन्न सुविधा पनि उपलब्ध गराइएको थियो । गाडीमा अटो पार्किङ, मेट्रिक्स लेजर हेडलाइट, मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर, फुल साइज प्यानारोमिक सनरुफ र मुनरुफ मुख्य विशेषताहरू रहेको कम्पनीले जनाएको छ । स्काइवेल ईभीमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक छ । यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ । यो कार विशेषगरी इन्टिलिजेन्ट स्टाइलिङ, इन्जोयमेन्ट, कनेक्टिभिटी, ड्राइभिङ, सेक्युरिटी, इलेक्ट्रोनिक र जोयमा आधारित रहेर प्योर इभी प्लेटफर्ममा बनेको कम्पनीले जनाएको छ । स्काईवेलका विद्युतीय सवारीहरू जर्मनी, पोल्याण्ड, इजरायल, टर्की र रसियालगायत धेरै देशहरूमा लोकप्रिय छन् ।
एकीकृत रिवार्ड प्रणालीको प्रयोगले ग्राहकलाई फाइदा हुने
काठमाडौं । आईएमएस सफ्टवेयर स्थानीय तथा अन्तर्राष्ट्रिय बजारको मागअनुसार सफ्टवेयर निर्माणमा क्रियाशिल छ । आइएमएसले आन्तरिक राजस्व विभागबाट मान्यता प्राप्त पोस सफ्टवेयर, रेस्टुरेन्ट सफ्टवेयरका साथै डिस्ट्रिब्युसन व्यवस्थापन सम्बन्धी सफ्टवेयर बिक्री गर्दै आएको कम्पनीले जनाएको छ । अर्न सिक्का एक मल्टिब्राण्ड लोयल्टी प्रोग्राम हो जसमा सदस्यहरू विभिन्न ब्रान्डहरूमा खरीद गर्दा एउटै एकीकृत रिवार्ड प्रोग्रामभित्र रिवार्ड कमाउन र रिडिम गर्न सक्छन् । यस सम्झौतामा आईएमएस सफ्टवेयरको तर्फबाट प्रबन्ध निर्देशक सन्तोष तम्राकार र अर्न सिक्काको तर्फबाट प्रमुख कार्यकारी अधिकृत एलेन बैलोचन तुलाधरबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अर्न सिक्कालाई आईएमएस सफ्टवेयरको प्लेटफर्ममा एकीकृत हुँदा, ग्राहकहरूले पाउने प्रत्येक सिक्काको पहुँच अझ बढ्नेछ । जसले प्रत्येक व्यवसायलाई सफ्टवेयरबाटै सिक्का पोइन्ट जारी गर्न र रिडिम गर्न सक्षम बनाउँछ, परिणामस्वरूप यस प्रणालीको प्रयोगले ग्राहकहरुलाई फाइदा हुने कम्पनीले जनाएको छ ।
मेरो बुवा धैर्यता र संघर्षको प्रतिक हुनुहुन्छ- प्रवलजंग पाण्डे
काठमाडौं । नेपालको एक अग्रज उद्योगी प्रदिपजंग पाण्डेका छोरा हुन् प्रवलजंग पाण्डे । उद्योगी प्रदीपजंग पाण्डेका तीन छोरा छन् । छोराहरूलाई पनि उनले व्यवसायमा अभ्यस्त बनाइसकेका छन् । छोराहरूसँगै नातिलाई पनि उनले व्यवसायमा नै सक्रिय बनाएका छन् । जीवनको उत्तरार्धमा रहेका पाण्डेका तीन छोरा प्रवल, प्रताप र प्रज्वल विभिन्न उद्योग व्यवसाय सम्हालिरहेका छन् । तीन जना छोराहरू नै उनको व्यवसायका सारथी हुन् । प्रवलले भारतको बैंगलोरबाट इन्जिनियरिङ, प्रतापले फिलिपिन्सबाट एमिबए र प्रज्वलले ढाकाबाट एमफर्मा पास गरेका छन् । तीनै छोराले हासिल गरेको शिक्षाअनुसार व्यवसाय पनि बाँडफाँट गरिएको छ । नेपाली औषधी उद्योगममा पृथक किसिमको छवि बनाएका प्रदीपजंग पाण्डे जीवनको उत्तरार्धमा पनि व्यवसायमा सक्रिय छन् । प्रदीपजंगका छोरा प्रवलजंग सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षसमेत छन् । उनी भन्छन्- मेरो बुवा (प्रदीपजंग पाण्डे) संघर्ष र मिहिनेतको प्रतिक हुनुहुन्छ । उहाँको उमेर जति बढ्दै गएको, उहाँले गरेको मिहिनेत र संघर्षलाई हामीले थप गहिराइका रूपमा बुझिरहेका छौं । बुबा सबैभन्दा ठूलो गुरु । उहाँले सिकाउनुभएको हरेक कुरा अक्षरस पालना गर्दा जीवन सहज र सफल हुन्छ, त्यो अनुभव हामीले गरेका छौं । उहाँले दिनुभएको शिक्षा वास्तविक जीवनको भोगाइबाट प्रेरित छ । उहाँको दूरदर्शितालाई बुझ्न सके व्यावसायिक जीवन सफल हुन्छ भन्ने अनुभव हामीले गरेका छौं । मेरो बुवा धैर्यता र निरन्तरताको प्रतिक हुनुहुन्छ । उहाँले जीवनमा जस्तोसुकै कठिन अवस्थामा पनि देखाएको धैर्यता र निरन्तरतालाई मनन् मात्र गरे जीवन सफल र सार्थक बन्छ । मेरो बुवा जन्मदाता मात्र होइन मेरो ‘रोल मोडल’ र मेरो गुरु हो ।
अर्थ मन्त्रालयद्वारा सर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड ऋण लगानी गर्ने सहमति
काठमाडौं । अर्थ मन्त्रालयले निश्चित सर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई सहमति दिएको छ । दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्नेछ । चालु आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषमा प्रस्ताव पेस गर्न सहमति दिइएको हो । यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रुपमा लगानी गर्नेछ । दुग्ध विकास संस्थानबाट दुधको भुक्तानी नपाएको भन्दै किसानहरूले भुक्तानीका लागि माग गर्दै आएका छन् । किसानलाई दुधको बाँकी रकम भुक्तानी गर्ने विषयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, दुग्ध विकास संस्थानका अधिकारीबीच पटक पटक छलफल भएको थियो ।
पढेलेखेका युवालाई रोजगारीको लागि कुनै स्थान छैन : अध्यक्ष यादव
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात रहेको आरोप लगाएका छन् । वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी काँग्रेस र कम्युनिष्टले लिनुपर्ने बताए । पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था सरकारको नेतृत्वमा बस्ने दलहरुकै कारण भएको बताए । युवाहरु मलेसिया, कतार, अरब जस्ता मुलुकमा रोजगारीको लागि गइरहेको तर देशमा अझै रोजगारी वृद्धिमा चासो नदिइएको बताए । मधेस आन्दोलनको परिणामले नै नेपाल संघीय गणतन्त्र भएको दाबी गरे । ‘गरिबी र बेरोजगारी यति बढेको छ की आज आफ्नो मुलुकमा पढेलेखेका युवाहरुलाई रोजगारीको लागि कुनै स्थान छैन । साराका सारा युवाहरु मलेसिया, कतार, अरब जस्ता मुलुकमा प्रत्येक दिन १० हजार युवाहरु बाहिर गइरहेका छन्, कामको खोजिमा । ८ देखि १० वटा शव बाहिरबाट आइरहेका छन्’, उनले भने । अध्यक्ष यादवले काँग्रेस र कम्युनिष्टका धेरै नेताहरु भ्रष्टाचारमा जोडिएको आरोप लगाए । काँग्रेस र कम्युनिष्ट शासनले भ्रष्टचारलाई बढावा दिएको बताए । भ्रष्टाचार नै काँग्रेस र कम्युनिष्टहरुको राजनीतिक तन्त्र भएको जानकारी दिए ।
अगस्टमा ७२ हजार बढी पर्यटकले नेपाल घुमे
काठमाडौं । सन् २०२४ को अगस्ट महिनामा ७२ हजार पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डले दिएको सूचनाअनुसार अगस्टमा ७२ हजार ७१९ पर्यटक भित्रिएका हुन् । यो संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा ८.२९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २०२३ को अगस्टमा ६७ हजार १५३ पर्यटकले नेपाल घुमेका थिए । अगस्टमा सबैभन्दा धेरै भारतीय पर्यटक आएका छन् । बोर्डका अनुसार भारतबाट २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलंकाबाट ४ हजार ८५१, बंगलादेशबाट ३ हजार ७७ पर्यटक आएका छन् । यस्तै, कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ को अगस्टमा ९४ हजार बढी पर्यटक भित्रिएका थिए । २०१९ पछि कोरोना फैलिएका कारण पर्यटकको संख्यामा कमी आएको थियो ।
सूर्यांशको नजरमा सुरज : मेरो बुवा व्यावसायिक सर्कलकै आइडल हो
काठमाडौं । सूर्यांश वैद्य नेपालको प्रतिष्ठित व्यावसायिक घराना वैद्यज् अर्गनाइजेशनका सदस्य हुन् । सुरज वैद्यका छोरा सूर्यांशले अहिले वैद्यज अर्गनाइजेशन अन्तर्गतका व्यवसाय हेर्छन् । उनी सो ग्रुपका निर्देशक हुन् । उनले टोयटा गाडीको बजार हेरिरहेका छन् । दर्जनौं व्यवसायमा संलग्न वैद्यज् अर्गनाइजेशनका तेस्रो पुस्ताका लिडर सूर्यांशसँग कुशे औंसीको अवसरमा प्रतिक्रिया लिएका छौं । उनले आफ्नो बुवा सुरज वैद्यलाई यसरी सम्झिएका छन्- म अत्यन्तै भाग्यशाली छुकि मैले एउटा यस्तो परिवारमा जन्म लिएँ, जुन मेरो व्यक्तिगत र व्यावसायिक जीवन विकासको आधारशिला बन्यो । आज कुशे औंशी, विशेष गरी मेरा बुवा (सुरज वैद्य) जसले मेरो जीवनमा गहिरो र सकारात्मक प्रभाव पार्नुभएको छ । म को हुँ भन्ने आत्मबोध गराइदिनुभएको छ । म जुन बाटोमा हिँडिरहेको छु, त्यसको मार्गदर्शक नै मेरो बुवा हुनुहुन्छ । बुवासँगै मेरो आमा र दुई बहिनीहरूको निरन्तर साथ सहयोगले मेरो जीवनमा थप सकारात्मक प्रभाव परेको छ । मेरो बुवा मेरा लागि एक महान व्यक्तित्वकोारुपमा मेरासामू उभिनुभएको छ । जसको गहिरो ज्ञान, सिर्जनशीलतता, रचनात्कता र उत्प्रेरणाले मलाई अगाडि बढ्न हौसला मिलिरहेको छ । उहाँ एउटा महान विचार र भिजनहरूको खानी हुनुहुन्छ । अरुले चनौती देखेको ठाउँमा उहाँ अवसर देख्नुहुन्छ । विभिन्न चुनौती र समस्या परेको बेला सही सल्लाह र मार्गदर्शन गरेर एउटा असाधारण ‘गाइडिङ स्टार’ का रूपमा उहाँ उभिदिनुहुन्छ । मेरो बुवा केबल एक गुरु मात्र होइन, उहाँ मेरो संरक्षक, मार्गदर्शक र उत्प्रेरक पनि हो । मेरो व्यावसायिक जीवनमा मात्रै होइन उहाँको प्रभाव मेरो जीवनको हरेक पाटोमा फैलिएको छ । उहाँले मलाई हरेक दिन असल मान्छे बन्न, गहिरो अध्ययन गर्न र इमानदारिताका साथ काम गर्न उत्प्रेरित गर्नुहुन्छ । उहाँको मार्गदर्शनबिना जीवनमा आइपर्ने विभिन्न चुनौतीहरू सामना गर्न असम्भव हुन्थ्यो होला । तर, मेरो बुवाकै कारण म आज ती समस्यालाई सामना गर्न सक्षम भएको महसुस हुन्छ । मेरो बुवा म र मेरो परिवारका लागि मात्रै होइन धेरैका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । इमानदारिताका साथ नेतृत्व गर्ने, आफ्ना विचार र दृष्टिकाेणरू सहज र सरल रूपमा प्रस्तुत गर्ने र धैर्यताका साथ सल्लाह दिन सक्ने उहाँको खुबी र क्षमताको जोकोहीले पनि प्रशंसा गर्नुहुन्छ । व्यावसायिक सर्कलमा पनि एउटा सम्मानित व्यक्तिको रूपमा उहाँ परिचित हुनुहुन्छ । म मेरो बुवाको छोरा बन्न पाएकोमा धन्य छु । मेरो जीवनमा उहाँको उपस्थितिले मलाई ताकत मिलिरहेको छ । उहाँले मलाई दिनुभएको माया, ज्ञान र हौसलाप्रति कृतज्ञ छु । मैले मेरोमा जीवनमा प्राप्त गर्ने सम्पूर्ण सफलताको श्रेय मेरो बुबालाई नै जानेछ ।