सुपर तमोरमा आधा दर्जन बैंकको १९ अर्ब लगानी
काठमाडौं । ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाका लागि करिब १९ अर्ब रुपैयाँ बराबरको वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता भएको छ । उक्त आयोजनाका प्रवर्द्धक क्रिष्टल पावर डेभलपमेण्ट प्रालि र सहभागी बैंकहरूबीच वित्तीय व्यवस्थापनका लागि सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा सहायक प्रमुख कार्यकारी अधिकृत दीपचन्द्र रेग्मी र क्रिष्टल पावरका कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्यसहित सहअगुवाइ तथा सहभागी बैंकका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । करिब २५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइमा सिद्धार्थ बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड सहअगुवाइमा रहेका छन् भने कृषि विकास बैंक लिमिटेड र नेपाल एसबिआई बैंक लिमिटेड सहभागी रहेका छन् । कन्सोर्टियममार्फत ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंक र लक्ष्मी सनराइज बैंकले समान ४/४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ र नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्नेछन् । सम्झौतापछि प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना निर्धारित समयभित्र सम्पन्न भई देशको ऊर्जा उत्पादन क्षमतामा वृद्धि तथा विद्युत् निर्यात प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने उक्त आयोजनामा बैंकहरूले ७५ प्रतिशत लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत लगानी प्रवर्द्धक तथा अन्य लगानीकर्ताबाट जुटाइनेछ । १६६ मेगावाट क्षमताको सुपर तमोरको कुल लागत २५ अर्ब ३३ करोड अनुमान गरिएको छ । आयोजना निर्माण सुरु भएको मितिबाट ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । समयमा बन्दा आयोजना निर्माण लागत प्रतिमेगावाट १५ कराेड २५ लाख अनुमान गरिएको छ । ग्लोबल आइएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट ‘बैंक अफ द इयर’, ‘बेस्ट बैंक नेपाल’ तथा ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ लगायतका प्रतिष्ठित पुरस्कारहरू प्राप्त गर्दै आएको जनाएको छ ।
न्यूरो डेभलपमेन्टल उपचारका लागि आईएमई लाइफले दियो ३ लाख रुपैयाँ
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रालिलाई आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले उपलब्ध गराएको सहयोग न्यूरो विकाससम्बन्धी समस्या भएका बालबालिकाको उपचार तथा पुनर्स्थापना सेवामा उपयोग गरिने जनाएको छ । यसअन्तर्गत आईएमई लाइफले ३ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । उक्त रकमबाट प्रभावित बालबालिकाले आवश्यक उपचार, थेरापी तथा विशेष हेरचाह सेवा प्राप्त गर्ने विश्वास लिइएको छ । कम्पनीका अनुसार यस्ता बालबालिकालाई समयमै आवश्यक उपचार तथा थेरापी उपलब्ध गराउन सके उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्नेछ । साथै आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका परिवारलाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ । बालक्ष्य डेभलपमेन्ट एण्ड केयरले विशेष आवश्यकता भएका बालबालिकाका लागि मूल्यांकन, परामर्श, थेरापी तथा पुनर्स्थापना सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको विशेषज्ञता र आईएमई लाइफको सामाजिक उत्तरदायित्वले बालबालिकाको जीवनस्तर सुधारमा टेवा पुग्ने विश्वास गरिएको छ । आईएमई लाइफले ‘इन्स्योरिङ फ्युचर’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको जनाएको छ ।
माउन्ट एभरेष्टले असार ३ गतेदेखि आईपीओ बिक्री खुला गर्ने
काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बाँडफाँड गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ बिक्री खुला गर्ने भएकाे हाे । कम्पनीले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँको अंकित मूल्य १ सय दरका २५ लाख ८० हजार कित्ता सेयर जारी गरेकाे हाे । जारी पुँजीको १० प्रतिशत अर्थात् ८ लाख ८६ हजार कित्ता स्थानीय बासिन्दा, ५ प्रतिशत अर्थात् ८६ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३४ हजार ४०० कित्ता कर्मचारीहरूका लागि बाँडफाँड गरिसकेको छ । अब कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको १४ लाख २७ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका बिक्री खुला गरिने जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले छिटोमा असार ८ गते र ढिलोमा असार १७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
डिशहोमको विश्वकप अफर २०२६ सार्वजनिक, सिजन पास खरिदमा ३ महिनासम्म निःशुल्क
काठमाडौं । नेपालको एक मात्र डीटीएच टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि सुविधा योजना सार्वजनिक गरेको छ । यस योजनामार्फत ग्राहकहरूले थप आकर्षक लाभसहित विश्वकपको रोमाञ्चक खेलहरू उच्च गुणस्तरमा हेर्न सक्नेछन् । डिशहोमले सार्वजनिक गरेको विशेष योजनाअनुसार डिटिएच कम्बो तथा आइपिटिभि कम्बो सेवाका ग्राहकहरूले आफ्नो ६ महिना वा १२ महिनाको कम्बो प्याकेज रिचार्ज गरी रु. ९९९ मा फिफा विश्वकप २०२६ सिजन पास खरिद गरेमा थप ३ महिनासम्मको निःशुल्क सदस्यता सुविधा प्राप्त गर्नेछन् । उक्त योजना २०२६ जुन १ देखि जुलाई २१ सम्म लागू रहने कम्पनीले जनाएको छ । फिफा विश्वकप २०२६ अन्तर्गतका कुल १०४ खेलहरू हिमालय स्पोर्ट्समार्फत प्रत्यक्ष प्रसारण हुनेछन् । ग्राहकहरूले ती खेलहरू डिशहोमका विभिन्न सेवा प्लेटफर्महरू– डिटिएच, आइपीटीभी, डिगो, केवल टिभी तथा टिटु टिभीमार्फत सहज रूपमा अवलोकन गर्न सक्नेछन्। इच्छुक ग्राहकहरूले आफ्नो नजिकको डिशहोम डिलरमार्फत वा डिशहोमको आधिकारिक वेबसाइटमार्फत सिजन पास खरिद गरी यस योजनाको लाभ लिन सक्नेछन् । साथै थप जानकारीका लागि डिशहोम ग्राहक सेवा केन्द्र ०१–५९७०३६५ मा सम्पर्क गर्न सकिनेछ । डिशहोमले विगतदेखि नै गुणस्तरीय डिजिटल मनोरञ्जन तथा सञ्चार सेवा प्रदान गर्दै आइरहेको छ । आगामी फिफा विश्वकप २०२६ लाई अझ विशेष र स्मरणीय बनाउने उद्देश्यसहित कम्पनीले ग्राहक केन्द्रित सेवा तथा सुविधालाई निरन्तर प्राथमिकतामा राख्ने जनाएको छ ।
सम्पत्ति शुद्धीकरण निवारणमा सिटिजन लाइफको जोड, अभिमुखीकरण कार्यक्रम आयोजना
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा हुने वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका आधारभूत सेयरधनी, सञ्चालक समिति तथा उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको सहभागितामा उक्त कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछाने र उपनिर्देशक पदम प्रसाद सोडारीले सहजीकरण गर्दै वित्तीय अपराध नियन्त्रण, सम्पत्ति शुद्धीकरण तथा आतंककारी गतिविधिमा हुने वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड, नियामकीय अपेक्षा तथा बीमा क्षेत्रको भूमिकाबारे प्रस्तुतीकरण गरेका थिए । अभिमुखीकरणमा सञ्चालक समिति तथा व्यवस्थापनको भूमिका र जिम्मेवारी, सम्पत्ति शुद्धीकरण तथा आतंककारी वित्तीय लगानी निवारण नीति तथा कार्यविधिको स्वीकृति र कार्यान्वयन, जोखिममा आधारित दृष्टिकोणको अवलम्बन, संस्थागत जोखिम मूल्याङ्कन, सुशासन तथा प्रभावकारी निगरानी प्रणालीजस्ता विषयमा विस्तृत छलफल भएको कम्पनीले जनाएको छ । त्यसैगरी सीमा पार वित्तीय कारोबारको निगरानी, बीमा तथा पुनर्बीमा कोषको प्रभावकारी नियन्त्रण, अन्तर्राष्ट्रिय मापदण्ड तथा बीमा मूल सिद्धान्त–२२ को पालना, लाभग्राही स्वामित्व सम्बन्धी पारदर्शिता, स्वार्थको द्वन्द्व न्यूनीकरण, शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन प्रणालीको प्रभावकारी कार्यान्वयनलगायत विषयहरूलाई समेत समेटिएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले वित्तीय प्रणालीको पारदर्शिता, सुशासन तथा नियामकीय अनुपालनलाई संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याए । समापन सत्रमा अध्यक्ष प्रदीपजंग पाण्डेले सम्पत्ति शुद्धीकरण तथा आतंककारी वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय प्रतिबद्धता सफल बनाउन बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै कम्पनीले नियामकीय व्यवस्थाहरूको पूर्ण पालना गर्दै वित्तीय प्रणालीलाई थप पारदर्शी, उत्तरदायी र विश्वसनीय बनाउन योगदान दिने प्रतिबद्धता व्यक्त गरे । कम्पनीले भविष्यमा पनि यस्ता अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा ७ जना घाइते
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा आज बिहान एम्बुलेन्स र मिनी ट्रक एकापसमा ठोक्किँदा सात जना घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ५६५९ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लुप्र ०१–००१ झ ००४६ नम्बरको एम्बुलेन्स ठोक्किँदा सात जना घाइते भएका हुन् । दुर्घटनामा एम्बुलेन्समा सवार छ जना र मिनी ट्रक चालक गरी सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । दुर्घटनामा एम्बुलेन्स चालक रोल्पाको थवाङ गाउँपालिका–२ बस्ने २४ वर्षीय कुशल परियार, सोही ठाउँ बस्ने ६१ वर्षीया जुनराखी बुढा मगर, २५ वर्षीया अन्जना बुढा मगर, तीन वर्षीय युवान बुढा मगर, पूर्वी रुकुम भुमे गाउँपालिका–७ बस्ने ३६ वर्षीया चिजामाया घर्ती, रोल्पाको थवाङ गाउँपालिका–२ बस्ने ६० वर्षीया धनप्रसाद बुढा मगर घाइते भएका छन् । घाइतेमध्ये २५ वर्षीया अन्जना बुढा मगरको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक कार्कीले बताए । घाइतेहरुको बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।
भन्सार छलेको आशंकामा ७ सय ७४ गाडी नियन्त्रणमा
काठमाडौं । सशस्त्र प्रहरीले भन्सार छलि गरेको आशंकामा ७ सय ७४ गाडी नियन्त्रणमा लिएको छ । गए रातीबाट बिहीबार बिहानसम्ममा गण्डकी प्रदेशका विभिन्न सडक खण्डबाट ७ सय ७४ वटा गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । मुस्ताङ, जोमसोम, पर्वत र हेम्जा सडक खण्डबाट रहेका गाडी नियन्त्रणमा लिएको नेपाल सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णु प्रसाद भट्टले जानकारी दिए । 'गाडीहरूका भन्सारको डकुमेन्टेसन नमिलेको सूचना पाएकाले नियन्त्रणमा लिएका हौं,' उनले भने, 'सबै गाडीको बारेमा भन्सारमा बुझेर प्रक्रिया अगाडि बढाउँनेछौ ।' कहिले भित्रिएका थिए र कसरी आयात भए सम्पूर्ण विवरण बुझ्ने प्रक्रियामै रहेको भट्टको भनाइ छ । 'सही डकुमेन्ट भएमा छोड्छौ अन्यथा अनुसन्धानका लागि लगिनेछ,' उनले भने । रासस
सिताके च्याउ किलोको हजार रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३५, आलु रातो (गोलो) प्रतिकिलो रु ३२ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ९०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ५८ कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १००, मकै बोडी प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु १३०, भटमास कोसा प्रतिकिलो रु १५०, तीते करेला प्रतिकिलो रु ४५, लौका प्रतिकिलो रु ८०, परवर (लोकल) प्रतिकिलो रु ७०, चिचिण्डो प्रतिकिलो रु ५०, घिरौँला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ७०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, भिन्डी प्रतिकिलो रु ५०, सखरखण्ड प्रतिकिलो रु ८० र पिँडालु प्रतिकिलो रु ४०, स्कुस प्रतिकिलो ८० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ७०, पालुङ्गो प्रतिकिलो रु ९०, चमसुरको साग प्रतिकिलो रु ९०,मेथीको साग प्रतिकिलो रु ७०, हरियो प्याज प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३२० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ३५०, न्युरो प्रतिकेजी रु ९०, ब्रोकाउली प्रतिकिलो रु १४०, चुकन्दर प्रतिकेजी रु ६०, सजीवन प्रतिकेजी रु १२०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु २२०, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु १२०, गान्टेमूला प्रतिकिलो रु ६०, मकै हरियो प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु १४०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २००, केरा (मालभोग) २२०, कागती प्रतिकिलो रु २२०, अनार प्रतिकिलो रु ४२०, आँप (मालदह) प्रतिकिलो रु १२०, आँप (दशहरी) प्रतिकिलो रु १३०, तरबुजा (हरियो) प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिकिलो रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ९०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ८०, रुखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु १६०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १०० र लिची (लोकल) रु २५०, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १८० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १३०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५०, माछे खुर्सानी प्रतिकिलो रु ८०, भेडेखुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु १८०, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।