एमबीबीएस प्रवेश परीक्षा नतिजाको त्रुटि छानबिन गर्न संसदीय समितिको निर्देशन
काठमाडौं । संसदीय समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सो प्रवेश परीक्षाको नतिजामा चिकित्सा शिक्षा आयोगले गम्भीर त्रुटि गरेको निष्कर्ष निकाल्दै आम जनता र सम्बन्धित विद्यार्थीहरूलाई विश्वासमा लिएर त्यसलाई सच्याउन सरकारलाई निर्देश गरेको हो । परीक्षाको नतिजामा एउटा विद्यार्थीको प्राप्तांक अर्कै विद्यार्थीको नाममा आउने जस्तो गम्भीर त्रुटि आयोगबाट भएपछि त्यसलाई तत्काल सच्याउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए । समितिले सो सम्बन्धमा तत्काल छानबिन समिति गठन गरी १० दिनभित्र सो प्रतिवेदन समितिमा पेस गर्न पनि सरकारलाई सचेत गराएको छ । ‘आम नागरिकहरूको स्वास्थ्यसँग जोडिएको चिकित्सा शिक्षा जस्तो गम्भिर विषयमा तथा विद्यार्थीको भविष्यसँग समेत जोडिएको चिकित्सा शिक्षा सम्बन्धि एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा यस पटक देखिएको कमजोरी के कारणले भएको हो ? सो सम्बन्धमा १० दिन भित्र छानबिन गरी तथ्य कुरा बाहिर ल्याउन र त्यसको आधारमा आगामी दिनमा मेरिट प्रणालीमा कुनै पनि सम्झौता नगरी आम नागरिक र सम्बन्धित विद्यार्थीहरूको समेत विश्वास जित्ने गरी आवश्यक सुधार गरी अगाडि बढ्न तथा छानबिन सम्बन्धी प्रतिवेदन समिति समक्ष पेस गर्न यो समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन गर्दछ,’ समितिको निर्णय छ । बैठकमा समितिका सदस्यहरूले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्यमाथि नै डामाडोल हुने गरी सो परीक्षाको नतिजा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका थिए । यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पनि आयोगले सो गम्भिर त्रुटी गरेको औंल्याउँदै त्यसलाई छानबिन गरेर अघि बढ्ने प्रतिबद्धता समिति समक्ष गरेकी थिइन् ।
पशुपति क्षेत्रमा मासु, मदिरा बेचबिखन तथा सेवन निषेध, नियम विपरीत कार्य गरे कारबाहीकाे चेतावनी
काठमाडौं । पशुपति क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै हरितालिका तीजको ३ दिनसम्म सो क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको हो । तीजलाई मर्यादित, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न र पशुपति क्षेत्रको धार्मिक तथा सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्न चार किल्लामा उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको सूचनामा उल्लेख छ । कसैले नियम विपरीत कार्य गरे कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।
अगस्टमा विश्वव्यापीरूपमा उच्च तापमान रेकर्ड
काठमाडौं । अगस्ट महिनामा विश्वव्यापी तापमान सूचकाकंमा उच्च रेकर्ड कायम भएपछि बढ्दो तापक्रमका कारण विश्वव्यापी ‘रेड अलर्ट’ जारी गर्नुपर्ने अवस्था आएको राष्ट्रसंघको मौसम तथा जलवायुसम्बन्धी निकाय (डब्ल्युएमओ)का प्रमुखले बुधबार बताएका छन् । विश्वमा लगातार दोस्रो वर्ष अगस्टमा तापक्रमको रेकर्ड औसतभन्दा बढी भएको युरोपेली युनियनको जलवायु अनुगमनको प्रारम्भिक तथ्यांकले देखाएको छ । मौसम विज्ञान निकायहरूका अनुसार यो अवधिमा अष्ट्रेलिया, जापान, चीनका केही भाग तथा नर्वेमा अहिलेसम्मको सबैभन्दा तातो अनुभव गरिएको छ । तथ्यांकअनुसार पछिल्लो समयमा अपेक्षाभन्दा धेरै तापक्रम बढेको र यो हामीले तापक्रम सन्तुलनका लागि जनाएको प्रतिवद्धताभन्दा विपरित भएको डब्ल्युएमओका प्रमुख सेलेस्ट साउलोले बताए । ईयूको ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस’ले गत वर्ष अगस्टमा मापन गरिएको रेकर्ड १६.८२ डिग्री सेल्सियसभन्दा माथि रहेको उनले बताए । सिङ्गापुरमा स्थानीय मौसम विज्ञान निकायहरूको क्षेत्रीय जलवायुसम्बन्धी एक कार्यक्रममा बोल्दै निर्धारित ‘मापदण्ड’ पार भइसकेको उनले बताएका छन् । तापक्रम वृद्धि नियन्त्रण गर्न थप स्रोतहरू चाहिने उल्लेख गर्दै साउलोले मौसम विज्ञान निकायका लागि राम्रो निगरानी र समर्थनका लागि पनि आह्वान गरे । विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ)ले एसिया र प्रशान्त क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारेको पछिल्लो मूल्यांकन जारी गरेको केही दिनपछि आएको यस फोरमले धेरै क्षेत्रमा समुद्री सतहको वृद्धि औसतभन्दा माथि रहेको चेतावनी दिएको छ । ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस’का अनुसार अगस्टसम्मको रेकर्डले १५ महिनाको वृद्धिको निरन्तरतालाई जारी राखेको देखिन्छ भने प्रत्येक महिनामा अघिल्लो वर्षको तापक्रमको रेकर्डलाई तोडेका देखिन्छ । जलवायु मञ्चले सिङ्गापुरलाई वनस्पतिमा लागेको आगो र धुवाँले गर्दा हुने प्रदूषण अनुगमन गर्ने क्षेत्रीय केन्द्रको रूपमा घोषणा गरेको छ । विश्वभर दुई वटा यस प्रकारका केन्द्र छन् । केन्द्रले आगो र प्रदूषण पूर्वानुमानमा राम्रो गुणस्तरको जानकारी प्रदान गरी क्षेत्रीय तथ्यांकमा रहेको अन्तरलाई कम गर्ने अधिकारीहरूले बताएका छन् । रासस
पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशालाई काठमाडौं महानगरले गर्यो नगद ५ लाखसहित सम्मान
काठमाडौं । काठमाडौं महानगरपालिकाले पेरिस पारालिम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख नगदसहित सम्मान गरेको छ । महानगरपालिका कार्यालय काठमाडौं प्लाजामा बुधबार आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सम्मानपत्र तथा उपप्रमुख सुनिता डंगोलले पलेशालाई ५ लाखको चेक हस्तान्तरण गरे । सम्मान कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार केसी, तेक्वान्दो एशोसिएशनका अध्यक्ष प्रकाश शमशेर राणा, ओलम्पियन संगीना वैद्य, पलेशाका मातापिता पनिता र प्रदीप गोवर्धनसहित खेल क्षेत्रका पदाधिकारी तथा खेलाडी सहभागी थिए । पलेशाले गत शुक्रबार फ्रान्सको पेरिसमा भएको पारालिम्पिक्समा के–४४ विधा अन्तर्गत महिला ५७ किलो मुनिको तौल समूहमा कास्य पदक प्राप्त गरेकी थिइन् । उनले उक्त प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिकेभलाई १५–८ अंकले पराजित गरेकी थिइन् । ओलम्पिकमा नेपाली खेलाडीले प्राप्त गरेको यो नै पहिलो पदक हो ।
चीन र भारतबाट एक महिनामा १४ करोडको आँप भित्रियो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा १४ करोड रुपैयाँ बढीको आँप आयात भएको छ । साउन महिनामा १४ करोड १० लाख रुपैयाँको आँप आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार साउन महिनामा २१ लाख ७६ हजार ८२३ केजी आँप आयात भएको छ । जसमध्ये भारतबाट २१ लाख ६२ हजार ४२३ केजी र चीनबाट १४ हजार ४ सय केजी आँप आयात भएको छ । भारतबाट १३ करोड ९६ लाख र चीनबाट १४ लाख रुपैयाँ बराबरको आँप आयात भएको हो । उक्त आँप आयातबाट ३ करोड ४० लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएकाे छ ।
केही व्यक्तिको स्वार्थका कारण सहकारी क्षेत्र बदनाम बन्यो : मन्त्री अधिकारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले केही व्यक्तिको गल्तीका कारण समग्र सहकारी क्षेत्र बदनाम बनेको बताएका छन् । बुधबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को १४औं स्थापना दिवसको प्रमुख अतिथिको रूपमा बोल्दै उनले केही सहकारी सञ्चालककाे स्वार्थकाे कारण सहकारी क्षेत्र बदनाम बनेकाे बताएका हुन् । ‘सबै सहकारी खराब भनेर जनतामा भ्रम फैलाइएको छ । तर, स्थानीय, प्रदेश र संघीय सरकारले नियमन गरिरहेका छन्, केही सहकारी संस्था उत्कृष्ट काम गरेर राष्ट्रिय र अन्तराष्ट्रिय पुरस्कृत भएका छन्’, केही व्यक्तिकाे स्वार्थका कारण समग्र सहकारी बदनामी बनेकाे छ,’ उनले भने । उनले बैंकबाट कम ब्याजमा कर्जा ल्याएर सहकारीमा राखेर बढी ब्याज खाने परिपाटी मौलाएको पनि बताएका छन् । उनले आफूसँग धेरै भएको सम्पती सहकारीमा राख्ने र बैंकबाट कम ब्याजमा पैसा लिएर सहकारीमा राख्ने र बढी ब्याज खानेहरु पनि रहेको पनि बताए ।
महिनामै सवा ४ अर्ब निर्जीवन बीमा शुल्क संकलन, प्रिमियममा सम्पत्ति बीमाको हिस्सा ठूलो
काठमाडौं । चालु आर्थिक वर्ष पहिलो महिना अर्थात् साउनमा निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ बराबर बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीहरूले २ लाख ४१ हजार ३ सय १४ बीमालेख बिक्री गरेका छन् । कम्पनीहरूले सबैभन्दा धेरै मोटर अन्तर्गतको बीमालेख बिक्री गर्दा बीमा शुल्क भने सम्पत्ति बीमाबाट बढी संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । उनीहरूले कुल बीमालेखको ४६.७७ प्रतिशत जारी गरेका छन् । अर्थात्, १ लाख १२ हजार ८ सय ६५ वटा मोटर बीमालेख जारी गर्दा सम्पत्ति बीमालेख ४२ हजार ७ सय ३८ वटा बिक्री भएको छ । यता, प्रिमियमको हिस्सा भने सम्पत्ति बीमाको ३३.११ प्रतिशत बढी छ । अर्थात्, सम्पत्ति बीमालेख अन्तर्गत १ अर्ब ४२ करोड ७९ लाख रुपैयाँ प्रिमिय संकलन भएको छ । मोटर बीमालेख अन्तर्गत संकलन भएको बीमा शुल्कको हिस्सा २८.३८ प्रतिशत छ । मोटर बीमालेख बिक्रीबाट १ अर्ब २२ करोड ३७ लाख रुपैयाँ संकलन भएको छ । पोर्टफोलियो अनुसार जारी बीमालेख र बीमा शुल्क सम्पत्ति : ४२ हजार ७ सय ३८ वटा बीमालेख जारी, १ अर्ब ४२ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन । मोटर : १ लाख १२ हजार ८ सय ६५ वटा बीमालेख जारी, १ अर्ब २२ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क संकलन । सामुद्रिक : २९ हजार ६ सय ३ वटा बीमालेख जारी, २९ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क संकलन । हवाई : ६ वटा बीमालेख जारी, ५ करोड १८ लाख रुपैयाँ बीमा शुल्क संकलन । निर्माण : १ हजार ३ सय ५७ वटा बीमालेख जारी, ५० करोड २८ हजार रुपैयाँ बीमा शुल्क संकलन । कृषि तथा पशुपंक्षी : १८ हजार ४ सय ८९ वटा बीमालेख जारी, २० करोड ११ लाख रुपैयाँ बीमा शुल्क संकलन । लघु : २१ हजार ६ सय ८ वटा बीमालेख जारी, ५ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क संकलन । विविध : १४ हजार ६ सय ४८ वटा बीमालेख जारी, ५५ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क संकलन ।
सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट- २०८१ सम्पन्न गरेको छ । द सोल्टी काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल अभिकर्ताहरूलाई लक्षित गरिएको थियो । कार्यक्रममा कम्पनीको तर्फबाट अध्यक्ष रतन लाल केडिया, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको निमन्त्रणालाई सहर्ष स्वीकार गरि देशका विभिन्न ठाउँहरुबाट आएका क्लबको सदस्यता प्राप्त गर्न सफल अभिकर्ताहरुमा न्यानो अभिवादन दिनुका साथै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स प्रति देखाएको अगाढ विश्वास र कम्पनीको व्यवसाय वृद्धिमा उनीहरुले पुर्याएको अतुलनीय योगदान प्रति हार्दिक आभार व्यक्त गरेका थिए । कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सबै क्लब सदस्यहरू प्रति आभार प्रकट गर्दै कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरूलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू भविष्यमा पनि ल्याउने कुरा व्यक्त गरे । कम्पनीका डेपुटी सिईओ निराजन कंडेलले सफल अभिकर्ता बन्नको लागि चाहिने सीपहरु लगायतका विषयहरूमा जानकारी दिएका थिए । कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधुली क्लब, पृथ्वी क्लब, अग्नी क्लब र आकाश क्लब योजनाहरू प्रस्तुत गरेको थियो । क्लबमा सहभागी हुन व्यक्तिगत कोड र टिम व्यवसायमा संकलन गर्नुपर्ने न्यूनतम रकमको सीमा तोकिएको थियो । उक्त सीमाको लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरू क्लबमा सहभागी हुन सफल भएका थिए । सबै क्लबका सहभागीहरूलाई कम्पनीले सम्मान प्रदान गरेको थियो । २००२ का मिस नेपाल माल्विका सुब्बा कार्यक्रम संचालिका रहेकी थिइन भने हास्य कलाकार जितु नेपाल र नेपाल आइडल सिजन ५ का बिजेता करन परियारले आफ्ना प्रस्तुतिहरु पस्कदै कार्यक्रमको माहोलमा रौनक थपेका थिए । कार्यक्रमलाई मनोरन्जनात्मक बनाउनको लागि बिच बिचमा नृत्यको कार्येक्रम पनि समावेश गरिएको थियो ।