विकासन्युज

बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात

ढोरपाटन । बागलुङको निसी, भूजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि पशुपालनमा आबद्ध छन् । उच्च पहाडी क्षेत्र भएकाले भेडापालनमा यहाँका किसान सक्रिय छन् । भेडाबाट मासुसँगै ऊनको कपडासमेत बिक्री हुँदा किसान उत्साहित हुँदै आएका हुन् । दशक अगाडिसम्म भेडाको ऊनबाट बनेका कपडा गोठालाले बढी प्रयोग गर्ने गरेकामा अहिले विदेशमा पुग्ने गरेको छ । विदेशबाट माग बढ्न थालेपछि भेडापालक किसान उत्साहित बनेका छन् । भेडाको ऊनबाट बन्ने काम्लो, बख्खु, घुमलगायत कपडाले घाम पानी छेक्ने, वर्षौँ टिक्ने र न्यानो हुने भएकाले माग बढेको किसान बताउँछन् । यहाँका अधिकांश स्थानीयले सयौँको सङ्ख्यामा भेडापालन गर्छन् । काम्लो, बख्खु, घुमलाई गोठालाको कपडा भन्ने गरिन्छ । एउटै परिवारले पाँच सयदेखि एक हजार पाँच सयसम्म भेडाबाख्रा पाल्ने गरेका ढोरपाटन नगरपालिका–९ का बिर्खबहादुर पुनले बताए । ‘भेडाबाख्राको सङ्ख्या बढी भएकाले ऊन प्रशस्त उत्पादन हुन्छ । मासु र ऊनका कपडाबाट भेडापालक किसानले राम्रो आम्दानीसमेत गर्दै आएका छन्’, उनले भने । मासु स्थानीयस्तरमा बिक्री हुने गरेको भन्दै त्यसबाट बन्ने कपडा देशविदेशमा निर्यात हुने गरेको पुनले जानकारी दिए । ऊनबाट बन्ने कपडाको माग नेपाली बजारमाभन्दा विदेशमा बढी हुने गरेको उनको भनाइ छ । पहिले–पहिले गोठालाले लगाउने ऊनका कपडा अहिले विदेश निर्यात हुँदा अचम्म लाग्ने पुनले बताए । एक दशक अगाडि काम्लो, बख्खु, घुम लगाउने मान्छेलाई लेकाली र गोठालाको सङ्ज्ञा दिने गरिएकामा अहिले विदेशमा बस्नेको रोजाइमा यी कपडा पर्न थालेको उनले जानकारी दिए । पुनले एउटा काम्लो, हापदुला बुन्न समय बढी लाग्ने भन्दै ती सामान विदेश पठाउँदा आम्दानी पनि प्रशस्त हुने बताए । एउटा ऊनको कपडाको मूल्य न्यूनतम रु १५ हजारदेखि रु ६० हजारसम्म पर्ने उनले जानकारी दिए । आफूहरूले लेकमा उत्पादन गर्ने काम्लो, बख्खु, घुम जापान, कोरिया, अमेरिका, अष्ट्रेलिया, बेलायतलगायत देशमा निर्यात हुने गरेको पुनले बताए । ‘हामीहरूले घुम, काम्लो ओड्दा भेडाको ऊनको कपडा लगाउने मान्छे भनेर हेपेर गोठाले भन्थे । अहिले धेरैले ऊनको कपडा चाहियो भन्नुहुन्छ, खुसी लाग्छ । गाउँघरसँगै विदेशबाट बढी माग गर्नुहुन्छ’ उनले भने, ‘भेडा पालेर पहिले मासु बेच्थ्यौँ। अहिले त्यसको रौँबाट बनेका कपडा बेच्न थालेका छौँ । नयाँ प्रविधिको प्रयोग गरी कपडा बुन्दा सहज हुन्थ्यो होला, हामीसँग प्रविधि नहुँदा पुरानै सीपको प्रयोगबाट कपडा बनाउने गरेका छौँ।’ निसीखोला गाउँपालिका–६ का वीरमानबुढा मगरले आफूहरू सानो हुँदा चप्पल, सिरक, डसना र अन्य कपडा पाउन मुस्किल हुने गरेको स्मरण गर्दै उतिबेला ऊनबाट बनेका कपडा प्रयोग गर्ने गरेको बताए । पछिल्लो समय भेडा पाल्ने किसान घट्दै गएको भन्दै ऊनको कपडाको माग भने बढ्दै गएको उनको भनाइ छ । मगरले चार पुस्तादेखि भेडा पाल्दै आएको सुनाउँदै आफूपछिको पुस्ताले चासो नदिएको गुनासो पोखे । उनले भने, ‘पुस्ताले परम्परागत सीप सिक्न मान्दैनन्, हाम्रो पालामा कपडाको अभाव थियो, अभावले ऊनको कपडा बनाएर लगाउन सिकायो । अहिले बजारमा आधुनिक कपडा पाउँछ, त्यही भएर युवापुस्ता सीप सिक्न चाहदैनन् । अहिले यहाँबाट विदेश गएकाले फोन गरेर मलाई काम्लो, हापदुला चाहियो पठाइदिनुस् भन्छन् ।’ तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलालबुढा मगरले ऊनका कपडा बनाउनका लागि किसानलाई आधुनिक प्रविधिसँग जोड्ने योजना बनाइएको बताए । तमानखोलाका अधिकांश किसानले भेडापालन गर्दै आएको भन्दै किसानलाई आधुनिक उपकरणसहित आधसनिक सीप सिकाउने योजनामा पालिका रहेको उनले जानकारी दिए । किसानलाई भेडापालनतर्फ आकर्षित गर्ने र आयआर्जनसँग जोड्ने गरी योजनाबद्ध रूपमा काम गरिरहेको अध्यक्ष बुढा मगर बताए ।

कुमारी बैंकका ग्राहकले नेत्रालय सुपर इसपेसियालिटी आइ केयरमा छुट पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबीच सम्झौता भएको छ । कुमारी बैंक र नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबीच कुमारी बैंकका ग्राहकहरुलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंकका ग्राहकहरूले चिकित्सक परामर्श/जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवा बाट रकम भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

राष्ट्रपति पौडेलबाट पदक विजेता पलेशालाई सम्मान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् । शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । साथै, उनका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिए । सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उँचो पार्ने काम भएको र अर्को पटक राष्ट्रले स्वर्ण पदकको अपेक्षा गरेको बताए । सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाएर स्वागत गरेको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो । पलेसाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ‘के–४४’ विधाअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी थिइन् ।

मुस्ताङ र हुम्ला बाहेक सबै जिल्लामा फैलियो डेंगी, ६ हजार बढी संक्रमित

काठमाडौं । मुस्ताङ र हुम्ला बाहेक अरु सबै जिल्लामा डेंगी संक्रमण फैलिएको छ । गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको हुम्ला बाहेक अन्य सबै ठाउँमा डेंगी संक्रमण फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिलेसम्म ७५ जिल्लामा संक्रमण फैलदा संक्रमितहुनेको संख्या ६ हजार ८ सय ३१ पुगेको छ । महाशाखाका अनुसार हालसम्म डेंगीं संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । सबैभन्दा धेरै गण्डकी प्रदेशमा डेंगीका बिरामी देखिएका छन् । गण्डकीमा डेंगी पुष्टि हुनेको संख्या ३हजार २सय २९ पुगेको छ । गण्डकीको तनहुँ जिल्लामा मात्रै ११४९ जनामा डेंगी पुष्टि भएको छ। तनहुँपछि कास्कीमा ७६४ र पर्वतमा ६५७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यस्तै बागमती प्रदेशमा १७२३ मा डेंगी देखिँदा काठमाडौंमा ५५२ र चितवनमा ५३३ जनामा डेंगी संक्रमण देखिएको छ ।

जिल्ला शिक्षा कार्यालय पूरै हटाउनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले जिल्ला शिक्षा कार्यालय पूर्ण रूपमा हटाउनुपर्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको संशोधनमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले नेपालको संविधानले जिल्ला शिक्षा कार्यालयलाई नमान्ने भएकाले पूर्णरूपमा हटाउनुपर्ने बताए । शैक्षिक गुणस्तर परीक्षण केन्द्र नभइ प्राधिकरण बनाउनुपर्ने प्रस्ताव समेत गरे । ‘जिल्ला शिक्षा कार्यालय पूरै हटाउनुपर्छ । किनभने हाम्रो संविधानले यसलाई मान्दैन । त्यसकारण यसलाई हटाउनुपर्छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र होइन, प्राधिकरण हुनुपर्छ । यो समय अटोनोमस हुनुपर्छ । त्यसपछि बल्ल यसले हेर्नसक्छ । नत्र शिक्षा मन्त्रालयअन्तर्गतकै विद्यालयहरू शिक्षा मन्त्रालयको सामान्य एउटा केन्द्रको रुपमा राखेर शिक्षा मन्त्रालयले ओभरल विद्यालयको कुरा हेर्न सक्दैन । शिक्षकलाई प्रतिष्ठा बढाउने, सेवा सुविधा बढाउने कुरा खुलेर गरौँ। मिलान गर्नेकुराको सन्दर्भमा शिक्षकको उत्तिर्णांक थोरैमा ५० प्रतिशत हुनुपर्छ । राहत लगायतका कुरा खुला राखेका छौँ, खुला राखौँ एक पटक प्रतिष्पर्धा गर्ने मौका दिउँ ।’ महामन्त्री थापाले विद्यालयको लागि मापदण्डमात्रै नभइ श्रोतको सुनिश्चितता पनि हुनुपर्ने बताए । सार्वजनिक विदालयको स्थापनाको आधार स्रोत सुनिश्चितता हुन नहुने उनको भनाइ थियो ।

निसान खरिदमा १५ लाखसम्म छुट, ३ वर्षको सर्भिस, बीमा र कर लागत कम्पनीले तिर्ने

काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको छ । यो योजना निसानका सबै गाडीहरू- निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्सट्रेलमा लागू हुने कम्पनीले बताएको छ । कम्पनीका अनुसार नजिकिँदै गरेको चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको हो । यो योजना चाडपर्वको अवधिभरी लागू हुनेछ । ‘निसान फेस्टिभ ड्राइभ’ योजना अन्तर्गत ग्राहकहरूले निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउँनेछन् । जसअन्तर्गत १ वर्ष निःशुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), निःशुल्क ३ वर्षको सडक कर (रोड ट्याक्स), निःशुल्क ३ वर्षको सर्भिसिङ, ३ वर्षको वारेन्टि र १५ लाख रुपैयाँसम्मको छुटहरूबाट लाभान्वित हुन सकिनेछ । निसान म्यागनाइट– एक बिग, बोल्ड, ब्युटिफुल र ‘कारिजम्याटिक’ एसयुभि नेपाली बजारको एक लोकप्रिय र उत्कृष्ट कार हो जसमा राम्रो रिसेल भ्यालु र क्लास–लिडिङ सुविधाहरू रहेका छन् । निसान म्याग्नाइटको खरिदमा, फेस्टिभ डिल अन्तर्गतको सुविधाहरूका साथै ८० प्रतिशतसम्म सहज फाइनान्सिङ, र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मजा लिन सक्ने कम्पनीले बताएको छ । त्यसैगरी, निसान एक्स–ट्रेल अझै बिगर र बोल्डर इलेक्ट्रिक एसयुभि हो जसले मस्कुलर स्टाइलिङ, शक्तिशाली पर्फमेन्स र, उच्चस्तरको प्रविधिको साथ पारिवारिङ एडभेन्चर र घुमघामका लागि आरामदायी र उपयुक्त सुविधा प्रदान गर्दछ । निसान एक्स–ट्रेलको खरिद गर्दा ग्राहकहरूले फेस्टिभ डिल योजनाका सबै लाभहरू प्राप्त गर्दै १८ वर्षसम्म ‘नो रनिङ कस्ट’को मज्जा लिन सक्नेछन् । कम्पनीका अनुसार यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ । यी सुविधाहरूमा केही सर्तहरू लागू हुनेछन् । पायोनियर मोटो कर्प यस योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाहरूले चाडपर्वको समयलाई थप उत्सवमय बनाउने विश्वास राख्दछ र सम्पूर्ण ग्राहकहरूलाई नजिकको निसान सोरुमा भिजिट गरी यो नयाँ योजनाका छुट तथा सुविधाहरूको मज्जा लिन आह्वान गर्दछ ।

जापानिज इन्सेफ्लाइटिसबाट दुई जनाको मृत्यु भएपछि कैलालीमा खोप लगाउने तयारी

काठमाडौं । जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ भने, चार जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणबाट घोडाघोडी नगरपालिका–५ का ९ वर्षीय बालक र वडा– ६ का ६० वर्षीय बृद्ध पुरूषको मृत्यु भएको हो । गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकामा गरी थप चार जनामा संक्रमण पुष्टि भएको छ । यो रोग पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । यसको टोकाइपछि धेरै टाउको दुख्ने, ज्वरो आउने र विस्तारै मष्तिष्कमा समेत असर पर्ने चिकित्सकहरू बताउँछन् । प्रभावित क्षेत्रमा थप संक्रमण फैलिन नदिन स्वास्थ्य निकायले उच्च सावधानी अपनाएको छ । प्रभावित क्षेत्र आसपासमा १ वर्षभन्दा माथिका सबैलाई खोप लगाउने तयारी भइरहेको छ ।

एमबीबीएस प्रवेश परीक्षा नतिजाको त्रुटि छानबिन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सो प्रवेश परीक्षाको नतिजामा चिकित्सा शिक्षा आयोगले गम्भीर त्रुटि गरेको निष्कर्ष निकाल्दै आम जनता र सम्बन्धित विद्यार्थीहरूलाई विश्वासमा लिएर त्यसलाई सच्याउन सरकारलाई निर्देश गरेको हो । परीक्षाको नतिजामा एउटा विद्यार्थीको प्राप्तांक अर्कै विद्यार्थीको नाममा आउने जस्तो गम्भीर त्रुटि आयोगबाट भएपछि त्यसलाई तत्काल सच्याउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए । समितिले सो सम्बन्धमा तत्काल छानबिन समिति गठन गरी १० दिनभित्र सो प्रतिवेदन समितिमा पेस गर्न पनि सरकारलाई सचेत गराएको छ । ‘आम नागरिकहरूको स्वास्थ्यसँग जोडिएको चिकित्सा शिक्षा जस्तो गम्भिर विषयमा तथा विद्यार्थीको भविष्यसँग समेत जोडिएको चिकित्सा शिक्षा सम्बन्धि एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा यस पटक देखिएको कमजोरी के कारणले भएको हो ? सो सम्बन्धमा १० दिन भित्र छानबिन गरी तथ्य कुरा बाहिर ल्याउन र त्यसको आधारमा आगामी दिनमा मेरिट प्रणालीमा कुनै पनि सम्झौता नगरी आम नागरिक र सम्बन्धित विद्यार्थीहरूको समेत विश्वास जित्ने गरी आवश्यक सुधार गरी अगाडि बढ्न तथा छानबिन सम्बन्धी प्रतिवेदन समिति समक्ष पेस गर्न यो समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन गर्दछ,’ समितिको निर्णय छ । बैठकमा समितिका सदस्यहरूले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्यमाथि नै डामाडोल हुने गरी सो परीक्षाको नतिजा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका थिए । यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पनि आयोगले सो गम्भिर त्रुटी गरेको औंल्याउँदै त्यसलाई छानबिन गरेर अघि बढ्ने प्रतिबद्धता समिति समक्ष गरेकी थिइन् ।