अब सरकारले वृद्धभत्ता दिन सक्दैन : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अब सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन् । बुधबार ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औं गणेशमान सिंह स्मृति दिवसमा बोल्दै उनले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका हुन् । उनले मान्छेलाई रोग लाग्न नदिने कुरामा बढी जोड दिनुपर्ने बताए । अहिले समाज को मान्छे बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिएको जानकारी दिए । यस्तै, उनले उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको र चासो पनि बढेको उल्लेख गरे । निरोधात्मक पद्धतिमा कसैले पनि चासो नदेखाएको बताए । यस्तै रूपमा अघि बढ्ने हो भने नेपालमा अबको २० वर्षभित्र ५० वर्ष भन्दा माथिको संख्या बढी हुने दाबी गरे । खाद्य स्वास्थ्यको मुख्य विषय भएपनि स्वास्थ्यसँग जोड्न नसकिएको जानकारी दिए । ‘मान्छेलाई रोग लाग्न नदिने कुरामा जोड दिनुपर्छ, हामीले खाएको खानाले स्वाथ्यमा असर गरेको हुन्छ । क्यान्सर किन भयो, किड्नीमा समस्या किन आयो ? हामीले के खाइरहेका छौँ, हाम्रो फुड ह्याबिट कस्तो छ ? खाने वस्तु कस्तो छ र ? कति खाइरहेका छौँ ? चाहिने जति छ की, धेरै खाइरहेका छौँ, थोरै खाइरहेका छौँ की ? थोरै खानु पनि समस्या हो, धेरै खानु पनि समस्या हो’, उनले भने । मन्त्री पौडेलले अस्पतालहरूले स्वास्थ्य चेतना विस्तार गर्न आवश्यक रहेको बताए । देशमा कुनैपनि कुरामा अनुसन्धान नहुने भन्दै भइरहेका अध्ययन संस्थानमा पनि अनुसन्धान नहुने गरेको जानकारी दिए ।
सानिमा रिलायन्सले भन्याे: मर्जरपछि सेयर खरिद गर्ने लगानीकर्ताले आफै कर तिर्नुपर्छ
काठमाडौं । साविकको सानिमा लाइफ र रिलायन्स लाइफ मर्जर भएपछि बनेको कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताले लाभांश कर आफै भुक्तानी गर्नुपर्न भएको छ । उक्त दुई कम्पनीबीच एक आपसमा मर्ज भएर एकीकृत कारोबार भएको मिति २०७९ चैत ९ गतेपछि सेयर खरिद गरेका लगानीकर्ताले लाभांश कर आफै भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ । उक्त दुई कम्पनी मर्ज भएर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी बनेको थियो । जसको एकीकृत कारोबार २०७९ चेत ९ गते सुरु भएको थियो । मर्जर हुनुपूर्व अर्थात २०७९ चैत ९ गतेदेखि नै कायम सेयरधनीलाई भने लाभांश कर छुट रहने छ। आयकर ऐन, २०५८ अनुसार मर्जर भएका कम्पनीलाई लाभांश कर छुट हुने व्यवस्थाअनुसार मर्जर पूर्व कायम सेयरधनीलाई बोनस सेयरवापतको कर छुट भएको कम्पनीले जनाएको छ । कम्पनीले केही दिनअघि आर्थिक वर्ष २०७९।०८० को सञ्चित मुनाफाबाटा चुक्त पुँजीको १८.३८११ बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । तर, कम्पनीले लाभांश कर प्रयोजनका लागि नगद लाभांश वितरण नगरेको भन्दै चौतर्फी आलोचना भएको थियो । त्यसबारे कम्पनीले स्पष्ट पारेको हो । यसबारे विकास न्यूजसँग कुरा गर्दै कम्पनीका एक नायव प्रमुख कार्यकारी अधिकृतले भने, ‘दुई कम्पनी मर्ज भएर एकीकृत कारोबार भएको मिति २०७९ चैत ९ गतेभन्दा पहिलादेखि सेयर कायम हुने सेयरधनीले कर तिर्नु पर्देन । तर, उसले पनि एकीकृत कारोबारपछि खरिद गरेको सेयरबाट हुने लाभांशको भने कर तिर्नु पर्छ ।’ अर्थात एकीकृत कारोबार सुरु भएपछि कायम सेयरको लाभांश वापतको कर स्वयम लगानीकर्ताले नै भुक्तानी गर्नुपर्ने हुन्छ ।
जीडब्ल्यूएम नेपालले गर्यो ट्यांक सिरिजको बुकिङ खुला
काठमाडौं । जीडब्ल्यूएम नेपालले आफ्नो बहुप्रतीक्षित ट्यांक ब्रान्डको बुकिङ खुला गरेको छ । जीडब्ल्यूएम नेपालले एसयुभी ट्यांक ५०० र एसयुभी ट्यांक ३०० काे बुकिङ खुला गरेकाे हाे । दुवै गाडीमा एचइभी प्रविधि समावेश गरिएकाे छ । ट्यांक ब्रान्ड चीनमा १८ मार्च २०२२ मा आधिकारिक रूपमा लन्च भएको थियो । ट्यांक ५०० र ट्यांक ३०० मोडललाई इन्डोनेशिया, थाइल्याण्ड, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया, र न्युजिल्यान्ड जस्ता देशमा सार्वजनिक गरिएकाे छ । ट्यांक ५०० र ट्यांक ३०० नेपालमा २.० एल टर्बो पेट्रोल एचइभी मोडलमा उपलब्ध छन् । दुवै गाडीमा ९ स्पीड स्वचालित ट्रान्समिसन छ र २५८ केडब्ल्यू पिक पावर र ६४८ एनएम टर्क प्रदान गर्छन् । ट्यांक ३०० को मूल्य एक करोड पचासी लाख र ट्यांक ५०० को मूल्य दुई करोड पच्चीस लाख रुपैयाँ रहेकाे छ । जीडब्ल्यूएम कम्पनी विश्वभर ८० भन्दा बढी सहायक कम्पनीहरूसँग काम गरिरहेको छ । लगातार ६ वर्षसम्म यस कम्पनीले वार्षिक रूपमा १० लाखभन्दा बढी गाडी बिक्री गर्दै आइरहेकाे छ ।
सिटिजन्स बैंकले सञ्चालनमा ल्यायो स्मार्ट हब
काठमाडौं । सिटिजन्स बैंकले ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ । बुधबार बैंकले एक कार्यक्रमको आयोजना गर्दै डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजना अनुरुप स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सो हब सार्वजनिक गरेका छन् । कार्यक्रममा पोखरेलले एकै स्थानबाट जुनसुकै समयमा पनि बिना कुनै झन्झट डिजिटल माध्यमबाट चेक जम्मा गर्ने, नगद जम्मा गर्ने तथा आवश्यक परेको नगद मेसिनबाट प्राप्त गर्ने सुविधाबाट ग्राहकहरू डिजिटल कारोबारमा अभ्यस्त हुनुका साथै समग्र डिजिटल बैंकिङको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । साथै हाललाई कर्पोरेट कार्यालयबाट सुुरु गरिएको यस्तो सेवा आगामी दिनमा देशका अन्य स्थानहरुबाट समेत सञ्चालन गरिने योजना रहेको कुरा समेत बताए । स्मार्ट हबमा राखिएका मेसिनहरू जस्तै चेक जम्मा गर्ने मेसिनबाट ग्राहकहरूले क्लियरिङ्ग चेक डिपोजिट गर्ने, आफ्नो बैंक खाताको विवरण हेर्ने र बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्न मिल्ने सुविधा उपलव्ध छ भने क्यास डिपोजिट मेसिनबाट १ हजार र ५ सय दरका नोटहरू जम्मा गर्न मिल्ने सुविधा उपलव्ध छ । डिजिटल बैंकिङ सेवा सिटिजन्स बैंकको सँधै प्राथमिकता रहेको छ र यसैको निरन्तरता स्वरुप बैंकले आश्विन महिनाभर ‘सिटिजन्स डिजिटल महिना’ उत्सव सञ्चालन गर्ने भएको छ । यस उत्सवमा फोनपेसँगको सहकार्यमा बैंकले विभिन्न आकर्षक अफरहरु सार्वजनिक गरेको छ । जसमा मोबाइल बैंकिङ प्रयोग गरी हवाई टिकट खरिद गर्ने यात्रुहरूलाई ४०० रुपैयाँसम्म क्यासब्याक प्राप्त हुने, बडादशैंमा मोबाइल बैंकिङ प्रयोग गरि डिजिटल दक्षिणा दिंदा सो कारोबारमा १०० रुपैयाँसम्म क्यासब्याक प्राप्त हुनुका साथै चाडपर्वमा गरेको पहिलो मोबाइल बैंकिङ कारोबारमा ग्राहकहरूलाई आकर्षक क्यासब्याक प्राप्त हुनेछ । त्यसैगरी, ‘दशैंमा चलाउ सिटिजन्स कार्ड’ अभियानमा डेबिट र क्रेडिट कार्डको प्रयोगमा आकर्षक क्यासब्याक अफर प्राप्त हुनुका साथसाथै ‘डिजिटल रेमिटेन्स प्राप्ति अभियान’मा मोबाइल बैंकिङ मार्फत प्राप्त गरिएको रेमिटेन्समा आकर्षक क्यासब्याक प्राप्त हुनेछ । यस्ता डिजिटल प्रोत्साहित कारोवार अभियानबाट समग्र बैंकिङ क्षेत्रमा नै डिजिटल बैंकिङको विकास हुने विश्वास कम्पनीले लिएको छ । कम्पनीले हालैमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स भच्र्युअल क्रेडिट कार्ड ‘ सञ्चालनमा ल्याएको छ । भौतिक कार्ड विना नै मोवाइलको माध्यमबाट स्क्यान गरि क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता भच्र्युअल क्रेडिट कार्डमा छ ।
बझाङको माझीगाउँ केन्द्रविन्दु भएर गयो भूकम्प
काठमाडौं । बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बुधबार बिहान १० बजेर ८ मिनेट जाँदा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत भदौ ३० गते ताप्लेजुङको ल्होनाक आसपास केन्द्रविन्दू भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पीय जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।
एनआइएमबि एस क्यापिटलको ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न
काठमाडौं । एनआइएमबि एस क्यापिटलले आफ्नो पहिलो ‘इन्भेस्टर्स सर्कल’ सफलतापूर्वक सम्पन्न गरेको छ । हिल्टन काठमाडौंमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न बैंक तथा बीमा कम्पनीहरुका प्रमुख कार्यकारी निर्देशकहरु लगायत अन्य सरोकारवाला एवम निर्णायक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम नेपालमा प्राइभेट इक्विटी लगानीको परिदृश्यमा केन्द्रित रहेको थियो । कार्यक्रमका सहभागीहरूले नेपालमा प्राइभेट इक्विटीका अवसरहरूका बारेमा अर्थपूर्ण संवाद एवं छलफल गरेका थिए । कार्यक्रममा सहभागीहरूलाई सम्भावित सहकार्य र लगानीको भावी सम्भावनाहरू सम्बन्धी थप छलफलमा संलग्न हुने अवसर प्रदान गरेको थियो । थट नेतृत्व, स्ट्राटेजिक नेटवर्किङ, र अनुभव आदान प्रदानको उत्कृष्ट सम्मिश्रणले ‘इन्भेस्टर्स सर्कल’ नामको उक्त कार्यक्रमलाई एक शानदार सफलतामा परिणत गरेको आयोजकको विश्वास छ । एनआइएमबि एस क्यापिटलद्वारा आयोजित उक्त कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा प्राइभेट इक्विटी लगानीलाई अगाडि बढाउने र रणनीतिक साझेदारीलाई प्रोत्साहन गर्ने कम्पनीको प्रतिबद्धतालाई दर्शाएको छ ।
सहकारीमा नक्कली डिभोर्स गरेर अर्बौं ठग्ने सुधीरदेखि धनराजसम्म
काठमाडौं । सहकारी ठगी छानबिन गर्न गठित संसदीय विशेष समितिका सभापति सूर्य थापाले सोमबार छानबिन प्रतिवेदन संसदमा पेस गर्दै सहकारीमा सबै ‘फेक’ अर्थात् झुटा रहेको धारणा राखे । ‘उनले संसदको रोष्टमबाट बोल्दै भने, ‘सहकारीमा विवाह, सम्बन्ध विच्छेद, अंशबण्डा, साधारणसभा, वित्तीय प्रतिवेदन, सेयर सदस्य, ऋणी, बैंक खाता र आश्वासनहरू सबै फेक देखिए ।’ तीन महिना १५ दिनको अवधिमा सहकारीसँग सम्बन्धित ४५१ व्यक्ति तथा विज्ञहरूसँगको छलफल र १४ वटा सहकारीको बचत ठगीको विषयमा ४७ जना आरोपितहरूको बयान लिँदा उनले सो निष्कर्ष निकाले । सहकारीको मूल्य, मान्यता र सिद्धान्तअनुरूप सञ्चालन नभई पैसाका लागि जेजति र जस्तो पनि हर्कत भइरहेको र सम्बन्ध विच्छेद पनि पैसाकै लागि भइरहेको विषय आफ्नो छानबिनबाट खुलेको उनकाे भनाइ थियो । सभापति थापाले भनेजस्तै विकासन्युजले २०८० साउन २२ गते ‘सहकारी ठग्ने अर्बपतिको नक्कली डिभोर्स, सदस्य दम्पत्तिहरुको दुःखदायी विच्छेद’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो । त्यसपछि पनि धेरै सहकारी सञ्चालकले पैसाका लागि र कानूनी कारबाहीबाट बच्नका लागि नक्क्ली डिभोर्स गरेका छन् । आज हामीले पैसाका लागि श्रीमतीसँग कागजी सम्बन्ध विच्छेद गरेका भीआईपी सहकारी सञ्चालक तथा सहकारीको ठगीसँग सम्बन्धित व्यक्तिको चर्चा गरेका छौं । कानूनी रूपमा बच्नका लागि आफ्नो सम्पत्ति श्रीमतीको नाममा नामसारी गरेर श्रीमतीसँग सम्बन्ध विच्छेदको कागजी नाटक गर्ने सुरुवाती सहकारी सञ्चालक हुन् सुधीर बस्नेत । सहकारी क्षेत्रमा सुधीरले रोपको बीउ अहिले सर्वत्र छाएको छ । त्यो बोट अहिले चौतर्फी फैलिएको छ । जसले सहकारी ठगीको विषयलाई थप रहस्यमयी र जटिल बनाएको छ । सहकारी क्षेत्रमा महत्त्वाकांक्षा पालेर फसेका व्यवसायी हुन् ओरेन्टल सहकारीका अध्यक्ष बस्नेत । उनी सहकारीका सदस्यबाट पैसा उठाएर घरजग्गामा लगानी गर्थे । पछि घरजग्गामा मन्दी आएपछि उनी समस्यामा परे । र, श्रीमतीसँग सम्बन्ध विच्छेदको कागजी नाटक गरे । बचतकर्ताको रकम हिनामिना गरेको अभियोग बस्नेतमाथि लाग्यो । सदस्यहरूको पैसा फिर्ता गर्न नसकेपछि उनले श्रीमती नितु थापा बस्नेतसँग सम्बन्ध विच्छेद गरे । त्यसको पुष्टि उनकै श्रीमती नितुले गरेकी थिइन् । नितुले सुधिरसँग सम्बन्ध विच्छेद भएको भन्दै आफ्नो नाममा रहेको सेयर फुकुवा गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा निवेदन पनि दिएकी थिइन् । सुधीरले अहिले पनि बचतकर्ताको बचत फिर्ता गर्न सकेका छैनन् । यस्तै, हाल जेलमा बास रहेका सहकारी सञ्चालक इच्छाराज तामाङले पनि सुधीरकै सिको गरेर श्रीमतीसँग कागजी डिभोर्स गरे । सिभिल ग्रुपका अध्यक्ष तथा सिभिल सहकारीका पूर्वअध्यक्ष रहेका तामाङले पनि सहकारी ठगीबाट बच्नका लागि श्रीमती र छोरीहरूको नाममा सम्पत्ति नामसारी गरेर अन्ततः श्रीमती सिर्जना शाक्य तामाङसँग सम्बन्ध विच्छेद गरे । उनले सहकारीको ठगीको विषयबाट बच्न धेरै प्रयत्न गरे । तर, उनी उम्किन सकेनन् । अहिले उनी श्रीमती सिर्जनासँगै जेलमा छन् । उनले श्रीमतीसँग डिभोर्स गरेर नै तत्कालीन सिभिल बैंकको संस्थापक सेयर बिक्री गरेका थिए । श्रीमान बैंकको अध्यक्ष भएका बेला श्रीमतीले सेयर बेच्न नपाउने कानूनी व्यवस्था भएपनि उनले सम्बन्ध विच्छेद गरेर सो सेयर बिक्री गरेका थिए । उनीमाथि अहिले दुई हजार बचतकर्ताको साढे ५ अर्ब रुपैयाँ बचत ठगीको आरोप छ । सुधीर र इच्छाराजकै जस्तो सम्बन्ध विच्छेदको नाटक गर्ने अर्का पात्र हुन् भरत महर्जन । भरतको नायकीको समर्थनमा उत्रिइन् उनी श्रीमती राजमाया महर्जन पनि । सुमेरु सहकारीका सदस्यहरुको पैसा ठगेको आरोप उनीमाथि छ । दुई दशकअघिसम्म सामान्य मान्छे व्यवसायी रहेका उनी अर्बपति नै भनेर चिनिन्थे । उनले असाधारण व्यावसायिक साम्राज्य खडा गरेका थिए । उनी निकट व्यवसायीहरूका अनुसार उनले तीन वर्षअघि नै श्रीमती राजमायासँग सम्बन्ध बिच्छेद गरेका थिए । हाल उनी सम्बन्ध विच्छेद गरेको श्रीमतीसहित स–परिवार बेलायत रहेको चर्चा छ । उनीमाथि बचतकर्ताको १० अर्ब बढी ठगेको आरोप छ । यस्तै, श्रीमती गीता शर्मासँगै जेलमा रहेका केदारनाथ शर्माले पनि कानूनी रूपमा बच्नका लागि श्रीमतीसँग कागजी सम्बन्ध विच्छेद गरेको खुलेको छ । शिव शिखर बहुउद्देश्यीय सहकारीका अध्यक्ष शर्माले सम्पत्ति श्रीमतीको नाममा नामसारी गरेर कागजी सम्बन्ध विच्छेद गरेको खुलेको हो । केदारनाथले शिवशिखर र तुलसी सहकारीका ३२ हजार ६१२ बचतकर्ताबाट साढे ९ अर्ब रुपैयाँ ठगेको आरोप छ । सहकारीका बचतकर्ताको बचत ठगेर अनेक सम्पत्ति जुटाउने र अन्तिममा सो सम्पत्ति श्रीमती जुनी श्रेष्ठको नाममा नामसारी गरेर सम्बन्ध विच्छेद गर्ने अर्का सहकारी सञ्चालक हुन् चन्द्रबहादुर (सीबी) लामा । उनीमाथि पनि कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी र पशुपति सकारीको बचत अपनल गरेको आरोप छ । अहिले सीबी पनि जेलमै छन् । देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले पनि बचतकर्ताको बचत ठगेर कानूनी रूपमा बच्नका लागि श्रीमतीसँग कागजी सम्बन्ध विच्छेद गरेको खुलेको छ । उनले सहकारीबाट अपचलन गरेको पैसाबाट जोडेको सम्पत्ति श्रीमती पूजा खत्रीको नाममा सारेर पछि कागजी सम्बन्ध विच्छेद गरेको खुलेको हो । अहिले रवीन्द्र र पूजा दुवै पुर्पक्षका लागि थुनामा छन् । सहकारीका बचतकर्ताको बचत अपचलन गरेको आरोप लागेर प्रहरीले हालै पक्राउ गरेका लालीगुराँस सहकारीका सचिव तथा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले श्रीमती पार्वती बस्नेतसँग सम्बन्ध विच्छेद गरेको खुलेको छ । उनी पनि अहिले पुर्पक्षका लागि थुनामा छन् । यस्तै, हाल विदेश फरार भएका सूर्यदर्शन सहकारीका अध्यक्ष जिबी राईले पनि श्रीमती निशा बमजनसँग सम्बन्ध विच्छेद गरेको बुझिएको छ । उनले पनि विभिन्न सहकारीका बचतकर्ताको अरबौं बचत अपचलन गरेको आरोप छ । गुडविल सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ श्रीमती जेनी महर्जन श्रेष्ठसँग कागजी सम्बन्धविच्छेद गरेको बुझिएको छ । उनलाई पनि अहिले प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अहिले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ पनि सहकारी ठगीको प्रकरणमा जोडिएका छन् । उनले श्रीमती ज्योति गुरुङसँगको मिलेमतोमा ललितपुरमा रहेको मितेरी सहकारीको १५ करोड रुपैयाँ ठगेको आरोप छ । तर, उनले श्रीमती ज्योतिसँग चार वर्ष अगाडि नै सम्बन्ध विच्छेद गरिसकेकोले आफ्नो सो ऋणमा कुनै सरोकार नभएको बताउँदै आएका छन् । यद्यपि, उनले सहकारी ठगीबाट बच्नका लागि श्रीमतीसँग कागजी सम्बन्ध विच्छेद गरेको र ऋणको किस्ता दुई महिनाअघिसम्म तिरिरहेको विषय चर्चामा आएको छ । सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले पनि उनीहरू सम्बन्ध विच्छेद एउटा नाटक मात्रै भएको धारणा राखेका छन् । यी केही भीआईपी सहकारी सञ्चालक हुन् । जसले कानूनी रूपमा बच्नका लागि श्रीमतीबाट कागजीरूपमा अलग हुने निर्णय गरे । पछिल्लो समय सहकारी क्षेत्रमा फेक डिभोर्सको सुरुवा रोगको रूपमा फैलिएको छ । सुरुमा पैसा कमाउनका लागि जस्तोसुकै हर्कत पनि गर्ने र अन्ततः श्रीमतीको नाममा सम्पत्ति नामसारी गरेर कागजी सम्बन्ध विच्छेद गर्ने प्रवृति व्याप्त छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता होबिन्द्र बोगटी सहकारी क्षेत्रमा नक्कली सम्बन्ध विच्छेदको विषय ठूलो समस्याका रूपमा देखा परेको बताउँछन् । उनका अनुसार श्रीमान र श्रीमतीबीच नियमवस र मिलेमतोमै सम्बन्ध विच्छेद हुने गरेको अनुसन्धानबाट खुल्ने गरेको छ ।
बाँदरबाट हैरान पाएपछि किसानले गरे ओखरखेती
पर्वत । बर्सेनि खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलोपटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ । महाशिला गाउँपालिकामा पहिलोपटक ओखरखेती थालिएको हो । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत गाउँपालिकाका छवटै वडामा ओखरखेती सुरु गरिएको छ । गाउँमा बाँझो रहेको जमिन सदुपयोग तथा बाँदरबाट हुने क्षति न्यूनीकरणका लागि ओखरखेती थालिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । गण्डकी प्रदेश सरकारबाट १० हजार बिरुवा प्राप्त भएका थिएभने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ बागलुङमार्फत चक्लाबन्दीमा आधारित खेती कार्यक्रमअन्तर्गत एक हजार पाँच सय बिरुवा थप गरी ११ हजार पाँच सय बिरुवा रोपिएको छ । पालिकाका दुई सय जना किसानले व्यावसायिक रूपमा ओखर रोपेका छन् । ओखर रोपेको तीन वर्षदेखि पाँच वर्षभित्रमा फल लाग्छ । दश वर्षमा पूर्ण रूपमा फल लाग्ने अध्यक्ष भुसालले बताए । एउटा बोटले दश वर्ष पुगेपछि चार हजार दुई सयभन्दा बढी दाना उत्पादन दिने अनुमान छ । गाउँपालिकाले प्रतिबिरुवा चार सय ४५ रुपैयाँका दरले खरिद गरेर किसानलाई वितरण गरेको हो । बिरुवामात्र नभई खाडल खन्न र रोप्नका लागि पनि पालिकाले अनुदान पनि उपलब्ध गराएको थियो । रोपेका सबै बोट हुर्किएर फल लागेमा अबको केही वर्षमा किसानले प्रतिफल पाउने छन् । जनशक्ति अभाव र बाँदर आतंकले बर्सेनि बाँझो जमिनमा ओखरका बिरुवा रोपिएका पालिकाले जनाएको छ । पालिकाले आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेश सरकारसँग बाँझो जमिन सदुपयोग कार्यक्रमअन्तर्गत एक करोड रुपैयाँको सम्झौता गरी ओखरखेती सुरु गरेको हो । बाँदर नियन्त्रणका लागि ३० लाख रुपैयाँ खर्चेर बाँदर निकुञ्जमा लगेर छाड्ने अभियान थाले पनि नियन्त्रण हुन नसकेपछि पालिकाका किसानलाई कम क्षति हुने बाली लगाउनतर्फ उत्प्रेरित गर्न थालिएको छ । यसअघि गत वर्षदेखि व्यावसायिक तरुलखेती सुरु गरेको पालिकाले यस वर्षदेखि व्यावसायिक कागती र सुन्तलाखेती विस्तार गरेको छ । कागतीका १० हजार र सुन्तलाका १० हजार बिरुवा किसानलाई वितरण गरिएको थियो । त्यसैगरी यस वर्षदेखि मेडाडेमियानट खेती समेत थालिएको छ । जापानिज कटुसको नामले चिनिने मेकाडेमिया नटखेती यस वर्षदेखि परीक्षणका रूपमा लगाइएको छ । झण्डै सात हजार बिरुवा लगाइएको महाशिला गाउँपालिकाका अध्यक्ष भुसालले बताए । यसअघि धान, मकै, कोदोलगायत बाली लगाउन छाडेर बाँझिएको अधिंकाश जमिन फलफूलखेती विस्तार अभियानले सदुपयोग भएको उनले बताए । रासस