क्रसर व्यवसायी महासंघको महाधिवेशन कात्तिक ३० गते बर्दिवासमा हुने
काठमाडौं । देशको पूर्वाधार निर्माणका लागि गुणस्तरीय निर्माण सामग्री उत्पादन गर्दै आएको क्रसर बालुवा र खानी उद्योग व्यवसायीहरूको छाता संगठन, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले व्यवसायीहरूको दसौँ तथा एघारौं वार्षिक साधारण सभा र तेस्रो महाधिवेशन यही कात्तिक ३० गते, महोत्तरीको बर्दिवासमा आयोजना गर्ने भएको छ। साधारण सभा र महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको र महाधिवेशनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने महासंघले जानकारी दिएको छ। महाधिवेशनमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, उद्योग बाणिज्य तथा उपभोक्त हित संरक्षण समितिका सभापति अब्दुल खान, मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंह, प्रदेश सरकारका मन्त्रीहरू, साथै स्थानीय सरकारका प्रमुख र उपप्रमुखहरूको पनि सहभागिता रहने महासंघका महासचिव पुरुषोत्तम रेग्मीले जानकारी दिए । महाधिवेशनमा देशभरिबाट ७८० क्रसर बालुवा तथा खानी उद्योगका व्यवसायी प्रतिनिधिहरूको सहभागी हुने महासंघले जनाएको छ । यस तेस्रो महाधिवेशनले नेपाल क्रसर तथा खानी उद्योगको नयाँ नेतृत्व चयन गर्ने कार्य पनि गर्नेछ। तीन वर्षका लागि नयाँ नेतृत्व चयनको लागि प्रक्रिया अघि बढाइने महासंघका अध्यक्ष सिताराम न्यौपानेले बताए । महासंघको स्थापना २०७० सालमा भएको थियो, जसको उद्देश्य देशभर छरिएर रहेका क्रसर बालुवा र खानी उद्योग व्यवसायीहरूलाई एकताबद्ध गर्नु र व्यवसायीहरूको हकहितका लागि पहल गर्नु हो । २०७७ माघ २० गते बुटवलमा महासंघको सम्पन्न अघिबेशनबाट सिताराम न्यौपानेको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको थियो । यस महाधिवेशनको आयोजनासँगै महासंघले उद्योगका समस्याहरूको समाधानका लागि र व्यवसायीहरूको हितमा सकारात्मक कदम चाल्ने अपेक्षा गरिएको छ ।
कालीगण्डकी करिडोर : म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तरर्गत अन्नपूर्ण गाउँपालिका–३ को दाना खण्डमा कालोपत्र गर्न थालिएको छ । एघार मिटर फराकिलो सडकमा टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, घुम्ती, लेभल मिलाउने, सबबेस, बेस राखिएसँगै कालोपत्र गर्न थालिएको हो । नागढुङ्गा–कैकुखोला खण्डको १६ दशमलव पाँच किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न ६३ करोड रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताए । मुस्ताङको कैकुखोलादेखि घाँसा क्षेत्रमा गत वर्ष दुई किलोमिटर कालोपत्र भएको थियो । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे, घोप्टे र बादरजुङ भिरको पहाडमा एक किलोमिटर छ सय मिटर सडकलाई फराकिलो बनाएर ढलान गरिएको छ । हालसम्म आयोजनामा ९० प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए । पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाकालाई जोड्ने दुई सय दुई किलोमिटर लामो दुई लेनको सडक १० अर्ब रुपैयाँको लागतमा २०७३ सालदेखि कालोपत्र सुरु भएको हो । हालसम्म यो आयोजनाको ८४ प्रतिशत भौतिक प्रगति भएको छ । एक सय पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकामा हालसम्म ९६ किलोमिटर कालोपत्र, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईँले बताए । चौबीसवटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १० वटा निर्माण सकिएको, पाँचवटा निर्माणाधीन, पाँचवटाको ठेक्का तोडिको र पाँचवटा पुल ठेक्का प्रक्रिया प्रारम्भ गर्न बाँकी रहेको जानकारी उनले दिए । निर्धारित समयमा काम सम्पन्न नभएपछि आयोजना अवधि आव २०८२/८३ सम्म लम्ब्याइएको छ । सडक र पुल निर्माणका लागि सात अर्ब रुपैयाँको ठेक्का सम्झौता भएकामा गत असारसम्म छ अर्ब रुपैयाँ खर्च भएको छ ।
पाँच जिल्लाका ७ सय उद्योगको अनुगमन, ९ लाख रुपैयाँ बराबरको सामग्री नष्ट
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले पाँच जिल्लामा अनुगमन कार्य गर्दै आएको छ । दमौलीमा रहेको कार्यालयले तनहुँसहित, लमजुङ, गोरखा, नवलपुर र मनाङमा नियमित रूपमा अनुगमन गर्दै आएको छ । उक्त कार्यालयले एक वर्षको अवधिमा पाँचवटा जिल्लाका ७६६ उद्योग, पसल तथा होटलको अनुगमन गरेको छ । पाँच जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले गत आर्थिक वर्षमा खाद्य तथा दाना उद्योग, होटल रेष्टुरेण्ट, व्यापारिक पसललगायतमा अनुगमन गरेको हो । कार्यालय प्रमुख ज्योति आचार्यका अनुसार उक्त अवधिमा ३५५ खाद्य तथा दाना उद्योग, १८८ खाद्य उद्योग, १८५ होटल रेष्टुरेण्ट, ३८ वटा पानी, तेल, जुस, डेरी उद्योगमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा म्याद नाघेका, सडेगलेका गरी ९ लाख रुपैयाँ बराबरको सामग्री नष्ट गरिएको छ । उक्त आर्थिक वर्षमा ऐन, नियमबमोजिम सङ्कलित एक सय नमूनाको हालसम्म प्राप्त विश्लेषण प्रतिवेदनमा नौवटामा कैफियत पाइएको प्रमुख आचार्यले जानकारी दिए । त्यसमध्ये एउटा दूषित, तीनवटा न्यूनस्तर, एउटा ढाटी, झुक्याइ र चारवटा लेबलमा कैफियत रहेको प्रमाणित भएको उनले बताए । उनका अनुसार उक्त अवधिमा २१ उजुरी गुनासो सम्बोधन गरिएको छ । कार्यालयले जिल्ला प्रशासन कार्यालय तनहुँबाट २ लाख रुपैयाँ, जिल्ला प्रशासन कार्यालय लमजुङबाट पानी उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना र विभिन्न तीन होटल, रेष्टुरेण्टलाई १० हजार रुपैयाँका दरले ३० हजार रुपैयाँ जरिवाना गरिएको छ । आचार्यका अनुसार नवलपुरको गैँडाकोट नगरपालिकाबाट एउटा होटललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । कार्यालयले खाद्य ऐन, नियमविरुद्ध गुणस्तरहीन खाद्य पदार्थ उत्पादन गर्ने सात उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ भने विभाग मातहतका अन्य कार्यालयमा ३१ वटा मुद्दा प्रेषित गरिएको आचार्यले उल्लेख गरे । कार्यालयले तनहुँ जिल्ला अदालतमा दूषित खाद्य पदार्थ उत्पादनसम्बन्धी एक, नवलपुर जिल्ला अदालतमा न्यूनस्तर खाद्य पदार्थ उत्पादनसम्बन्धी तीन र जिल्ला प्रशासन कार्यालय लमजुङमा लेबलमा कैफियत तथा खाद्य ऐन, नियम उल्लङ्घन कसुरमा तीनवटा मुद्दा दर्ता गरिएको प्रमुख आचार्यले बताए । व्यास नगरपालिका-३ शान्तिनगरस्थित भाडाको घरमा कार्यालय सञ्चालनमा छ । पाँच जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा कर्मचारी सङ्ख्या भने न्यून हुँदा सेवा प्रवाहमा समस्या भइरहेको उनले बर्ताए । कर्मचारी अभावकै बीचमा पनि कार्यालयले बजार अनुगमनलाई निरन्तरता दिइरहेको उनले बताए । ‘कर्मचारी अभावले बजार अनुगमनमा असर पुगिरहेको छ, भइरहेकै कर्मचारीबाट बजार अनुगमन, नमूना सङ्कलन, मुद्दाका अनुसन्धानको काम भइरहेको छ,’ प्रमुख आचार्यले भने । कृषि तथा पशुपक्षी विकास मन्त्रालयमातहतको कार्यालयले खाद्य ऐन तथा दाना ऐन कार्यान्वयनमार्फत खाद्य शृङ्खलामा खाद्य स्वच्छता कायम गरी सर्वसाधारण जनताको सुख सुविधा कायम गर्ने उद्देश्य राखिएको छ । विसं २०७५ कात्तिक १५ गते जिल्लामा डिभिजन कार्यालय स्थापना भएको थियो ।
पोखरा विश्वविद्यालयमा उपकुलपतिमा खुला प्रतिस्पर्धा, मंसिर ५ गतेसम्म दरखास्त पेश गर्नुपर्ने
काठमाडौं । पोखरा विश्वविद्यालयले रिक्त उपकुलपतिका लागि आवेदन आह्वान गरेको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो । समितिले कात्तिक २४ गते स्वीकृत गरेको पोखरा विश्वविद्यालयको रिक्त उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि–२०८१ बमोजिम दरखास्त आह्वान गरेको हो । इच्छुक तथा योग्य व्यक्तिले कार्यविधिको अनुसूची १ मा उल्लेख गरिएको ढाँचामा प्रथमपटक सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा दरखास्त पेश गर्नुपर्नेछ । दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त दिन सकिने छ ।
संस्थापक न्यौपाने डिप्रोक्स लघुवित्तबाट बाहिरिँदै, बिक्रीमा राखे सेयर
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाबाट विष्णुप्रसाद न्यौपाने बाहिरिने भएका छन् । लघुवित्तमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर संस्थापक सेयरधनी न्यौपाने बाहिरिने भएका हुन् । लघुवित्तका अनुसार न्यौपानेले आफ्नो स्वामित्वमा रहेको ५२ हजार ७३५ कित्ता सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले खरिद गर्न पाउने छन् । यदि ३५ दिनभित्र उक्त सेयर संस्थापकले खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।
सेयरधनी श्रेष्ठले बिक्रीमा राखे माछापुच्छ्रे बैंकको ३ लाख कित्ता सेयर
काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहतर्फको ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकका संस्थापक सेयरधनी आजाद श्रेष्ठको स्वामित्वमा रहेको ३ लाख २५८ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले खरिद गर्न पाउने छन् । यदि ३५ दिनभित्र उक्त सेयर संस्थापकले खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकको सेयर खरिद गर्न इच्छुकले माछापुच्छ्रे क्यापिटलमा लिन चाहेको सेयर संख्या र मूल्य खुलाई बोलपत्र पेश गर्नुपर्नेछ ।
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति, टीबीए खारेज
काठमाडौं । तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्न र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन सरोकारवाला निकाय सहमत भएका छन् । हवाई भाडा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित सरोकारवालाहरूबीच आज भएको छलफलपछि उक्त विषय कार्यान्वयनका लागि पाँच बुँदे सहमति भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घन्टा बन्द भएसँगै हवाई भाडादर महँगिएको गुनासो बढेपछि आज प्राधिकरण, अन्तरमन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी हवाई कम्पनीका प्रतिनिधिहरूको बैठकले हवाई टिकटको उपलब्धता एवं सहज र सुलभ हवाई यातायात सञ्चालन गर्न छलफल गरी निर्णय गरेको छ । जसअनुसार एयरलाइन्स कम्पनीहरूले ट्राभल एजेन्सीलाईपछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रूपमा टिकट बिक्री गर्ने अधिकार (टीबीए) खारेज गर्ने निर्णय भएको छ । अब सम्पूर्ण वायुसेवा कम्पनीहरूले यसको पालना गर्नुपर्नेछ । सबै वायुसेवा सञ्चालकले दुईपक्षीय हवाई सेवा सम्झौताको ‘प्राइसिङ’ शीर्षकमा उल्लेख भएअनुसार ‘उपभोक्तालाई मर्का पर्नेगरी अनुचित हवाई भाडा असुल गर्न नहुने’ प्रावधानको पालना गर्नुपर्नेछ । यही कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ट्याक्सी वे’ निर्माणको कार्य सुरु भएको छ । उडान समय कटौतिभएपछि एयरलाइन्सहरूले महँगो हवाईभाडा लिएको गुनासो आइरहेको छ । त्यस्तै सबै वायुसेवा सञ्चालकहरूले उडान वृत्त वमोजिमको हवाई भाडा सूची तोक्ने तथा सार्वजनिक गर्नुपर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ । ट्राभल एजेन्सीहरूसँग टिकट बिक्रीको सम्झौता गर्दा निश्चित सङ्ख्या मात्र बिक्री गर्न सकिने र तोकिएको परिधिमा रहेर मात्र सेवा शुल्क लिनेगरी व्यवस्था मिलाउने जिम्मेवारी वायुसेवा सञ्चालकको हुने जनाइएको छ । बैठकमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलासहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका सञ्चालकहरू सहभागी थिए ।
बैंकको कर्मचारी भन्दै विवरण माग्ने बढे, बैंकिङ ठगीबाट जोगिन अनुरोध
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैंकको कर्मचारी हुँ खाता नवीकरण गर्नुपर्ने छ भनी फोनमार्फत विवरण मागेर ठगी गर्ने तथा नक्कली खाता खोलेर आर्थिक अपराधका घटना बढ्न थालेको भन्दै यसतर्फ सचेत हुन आमनागरिकमा अनुरोध गरेको छ । सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले पहिलेपहिले बढ्दो प्रविधिको प्रयोगसँगै सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम टिकटक, मेल, वाट्सएप भाइबर, इमेललगायत) को माध्यमबाट चिट्ठा परेको, उपहार आएको, पार्सल आएको जस्ता प्रलोभन देखाएर बैंक तथा वित्तीय संस्थाको अनलाइन पेमेन्ट गेटवेमार्फत रकम ठगी गर्ने गरेकामा अहिले भने ह्याकरले बैंकका कर्मचारी बनेर ठगीका गतिविधि गर्न थालेको बताए । प्रवक्ता बोगटीले भने, ‘त्यसैले हामीले सार्वजनिक सूचना नै जारी गरेर यस्तो गतिविधि हुने बित्तिकै सिआइबीमा खबर गर्न भनेका छौँ, यसरी फोन गर्ने व्यक्तिबारे समयमै जानकारी आयो भने आर्थिक अपराध रोक्न सकिन्छ ।’ सिआइबीले विभिन्न बैंक तथा वित्तीय संस्थाको कर्मचारी हुँ तपाईंको खाता नवीकरण गर्नुपर्ने छ भनी व्यक्तिगत विवरण जस्तै एकाउन्ट नम्बर, जन्ममिति, ओटिपी कोड, ठेगानालगायत गोप्य विवरण माग गर्ने र खातावालाले पनि विश्वासमा परी आफ्नो विवरण उपलब्ध गराउँदा ह्याकरहरूले नक्कली नागरिकता वा चोरीको कागजातबाट सीम कार्डहरू लिने तथा बैंकमा समेत खाता खोली विभिन्न खातावालाहरूको खाताबाट पैसा ट्रान्सफर गरी विभिन्न माध्यमबाट निकाली अनलाइन ठगी गर्ने गरेको उजुरीहरू पनि केही दिनदेखि प्राप्त भइरहेको जानकारी गराएको छ । सिआइबीले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘यस्ता गतिविधि बढ्न थालेकाले त्यस्ता शङ्कास्पद/अपरिचित नम्बरबाट फोन आएमा आफ्नो व्यक्तिगत विवरण नदिई सो बैंक वा वित्तीय संस्था र नजिकको प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरिएको छ । साथै यस्ता अनलाइन ठगी/बैंकिङ ठगी कसुरबाट बच्न सर्वसाधारणको जानकारीका लागि सार्वजनिक सूचना जारी गरिएको छ ।’ यता बैंकहरुले भने कर्मचारीहरूले ग्राहकबाट कहिल्यै पनि व्यक्तिगत विवरण नमागिने स्पष्ट पार्दै आएको छ । प्रविधिको विकाससँगै फरक खालका आर्थिक अपराधका घटना बढ्न थालेको र अन्तरदेशीय आर्थिक अपराधहरू भइरहेकाले चुनौती थपिँदो रहेको नेपाल प्रहरीको निष्कर्ष छ । त्यही कारण नेपाल प्रहरीले आर्थिक अपराध नियन्त्रण तथा अनुसन्धान ब्यूरो स्थापनाको पहल गरिएको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बताए। प्रहरी प्रधान कार्यालयले उक्त ब्यूरोका लागि अवधारणापत्र तयार पारी गृहमन्त्रालयमा समेत पेस गरिसकेको छ ।