मध्यविन्दुमा फोहरबाट जैविक मल उत्पादन सुरु, लगानी ४ करोड ३८ लाख
मध्यविन्दु (नवलपरासी) । सहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकाले फोहरबाट जैविक मल उत्पादन थालेको छ । मध्यविन्दु–११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी जैविक मल उत्पादन सुरु गरिएको हो । नगरपालिकाले घरबाट निस्कने फोहरको अनिवार्य वर्गिकरण गरी कुहिने र नकुहिने गरी सङ्कलन र व्यवस्थापन थालेको नगरप्रमुख भीमलाल अधिकारीले बताए । उनका अनुसार नकुहिने फोहरबाट पुनः प्रयोगमा आउने छुट्टाएर बिक्री गर्ने र कुहिने फोहरबाट जैविक मल उत्पादन सुरु गरिएको हो । फोहरलाई कसरी पुनः अधिकतम प्रयोग गर्न सकिन्छ भन्नेतर्फ नगरपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको नगरप्रमुख अधिकारीले बताए । दिगो रूपमा नगरभित्रको फोहरमैला व्यवस्थापनलाई अघि बढाउन फोहरसँगै आम्दानीलाई जोडेर व्यवस्थापन थालिएको उनले उल्लेख गरे । ‘हामीले फोहरलाई केवल फोहरको दृष्टिकोणले मात्रै हेर्यौं,’ अधिकारीले भने, ‘मध्यविन्दु नगरपालिकाभित्र हामीले सङ्कलन गरेको नकुहिने फोहरमध्ये ७९ प्रतिशत बिक्री हुन्छ । कुहिने फोहरबाट जैविक मल उत्पादन गरिरहेका छौं ।’ गत वर्षदेखि नगरपालिकाले फोहर व्यवस्थापनको काम सुरु गरेको हो । फोहर व्यवस्थापनका लागि दीर्घकालीन उपाएको खोजी गर्ने क्रममा जैविक मल उत्पादन सही विकल्प देखिएको नगरप्रमुख अधिकारीले बताए । ‘एक ठाउँको फोहर अर्को ठाउँमा सारेर व्यवस्थापन गर्याैं भन्ने होइन, यसको दीर्घकालीन व्यवस्थापनसहित आर्यआर्जनसँग जोड्ने गरी हामीले सुरुवात गरेका छौं, उनले भने । फोहरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी नगरपालिका अघि बढेको नगर कार्यालयले जनाएको छ । मध्यविन्दु नगरपालिकाको पाँच वटा वडाबाट सुरु गरेको फोहर सङ्कलन हाल सबै वडामा पुगेको नगर उपप्रमुख पूर्णकला चौधरीले जानकारी दिए । ‘जैविक मल उत्पादनका लागि आवश्यक मिश्रणका लागि स्थानीय सामुदायिक वनबाट हरियो घाँस, सुकेका पात सङ्कलन हुन्छ । जसबाट स्थानीय समुदायको आम्दानीको स्रोतसमेत वृद्धि भएको छ,’ उपप्रमुख चौधरीले भने । सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्र सञ्चालनका लागि नगरपालिकाले छुट्टै इकाई स्थापना गरी आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताए । क्रमशः सहरीकरणको सुरुको चरणमा रहेको मध्यविन्दुमा अहिलेदेखि फोहरमैला व्यवस्थापन थालिएकाले यो कार्यले भविष्यमा हुनसक्ने सम्भाव्य समस्यालाई कम गर्नेमा उनले विश्वास व्यक्त गरे । ‘कुहिने फोहरबाट कम्पोस्ट मल तयार गर्न आवश्यक गोबर सङ्कलनका लागि छाडाचौपाया व्यवस्थापन समेतसँगै अघि बढाउने योजना नगरपालिकाको रहेको छ,’ घर्तीले भने, ‘यसलाई कार्यान्वयनमा ल्याउन आवश्यक संरचना निर्माणको चरणमा छ ।’ उत्पादित जैविक मलमा आवश्यक तत्व रहे/नरहेको प्रयोगशालामा नियमित परीक्षण हुने कृषि शाखा प्रमुख अक्षय वाग्लेले बताए । उत्पादित जैविक मल नगरभित्रका किसानलाई सहुलियत दरमा उपलब्ध गराउने नगरपालिकाको योजना रहेको उनको भनाइ छ । हालसम्म फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रको स्थापनामा कुल चार करोड ३७ लाख ९८ हजार तीन सय ७४ रुपैयाँ खर्च भएको सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्रका संयोजक इञ्जिनियर विवेक पोखरेलले बताए । ‘पुँजीगततर्फ रु तीन करोड दुई लाख १६ हजार तीन सय ६४ खर्च भएकोमध्ये गण्डकी प्रदेश सरकारको साझेदारी कार्यक्रमबाट रु एक करोड ३५ लाख ८२ हजार खर्च भएको छ,’ उनले भने । फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना भएसँगै फोहर व्यवस्थापन, रोजगारी सिर्जना, छाडाचौपाया व्यवस्थापन, जैविक मल उत्पादनलाई जोड्ने काम भइरहेको नगरप्रमुख अधिकारीले बताए । योसँगै उत्पादित जैविक मलले कृषिमा रासायनिक मलको प्रयोगमा कमी ल्याउन, कृषि उत्पादन बढाउन र अग्यानिक उत्पादनलाई सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरे ।
उदयपुरको घुर्मीमा खुल्यो एनआईएमबीको नयाँ शाखा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले कटारी नगरपालिका- १४ मा मंगलबारदेखि घुर्मी शाखा सञ्चालनमा ल्याएको हो। बैंकका कोशी प्रदेश प्रमुख श्री यशपाल कुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गर्दै यस शाखाबाट ग्राहकरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने बताए । एनआईएमबी बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखारहित बैंकिङ र २६६ वटा एटीएम रहेका छन् ।
सिटिजन्स बैंकका ग्राहकलाई मिराज बेकरीमा १५ प्रतिशत छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको बाैद्धस्थित मिराज बेकरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले मिराज बेकरीमा १५% सम्मको छुट पाउने छन् । यस सहकार्यबाट बैंकका ग्राहकहरू नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा उपलब्ध छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १८ लाख ग्राहकवर्गलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
जापानमा आफ्नैहरूबाट ठगिन्छन् नेपाली विद्यार्थी, कोठा पाउन मुस्किल
जापान । नेपाली विद्यार्थीहरूको शैक्षिक गन्तव्यका रूपमा पछिल्लो समय जापान अग्रस्थानमा आउँछ । जापानमा आएर अध्ययन तथा काम गर्ने नेपाली विद्यार्थीहरूको संख्या बढ्दै गएको छ । हाल करिब ६० हजार नेपाली विद्यार्थी जापानका विभिन्न कलेज तथा विश्वविद्यालयमा अध्ययनरत रहेको विभिन्न सरकारी तथ्यांकले देखाउँछ । विद्यार्थीले अनुमति लिएर सातामा २८ घण्टासम्म काम गर्दै भाषा तथा व्यावसायिक शिक्षा लिन सक्ने सुविधा भएकोले पनि जापानमा आउने नेपाली विद्यार्थीको संख्या बढेको हो । यो सुविधाले नै नेपाली विद्यार्थीलाई आकर्षित गरिरहेको छ । भाषा तथा सिप विकास भइसकेपछि रोजगारीका अवसरहरू प्रशस्त भएकोले पनि नेपाली यहाँका विभिन्न शहरमा आउने गरेका छन् । अवसरहरू राम्रो भएपनि पछिल्लो समय विद्यार्थीको संख्या बढेसँगै गलत क्रियाकलापले पनि प्रशय पाइरहेका छन् । पछिल्लो समय नेपाली विद्यार्थीले नेपालीलाई नै ठग्ने गलत क्रियाकलाप जापानमा बढेका छन् । रोजगारीको अभाव, भाषा र सिपको कमीले नेपाली विद्यार्थीले नेपालीलाई नै ठगी गर्ने घटनाहरू बढ्दै गएका हुन् । जापानको फुकुओका सहर अवस्थित निसिनिहोन कोकुसाई निहोंगो गाक्कोमा अध्ययनरत केही नेपाली विद्यार्थीले आफ्नै देशका नागरिकबाट ठगीमा परेको गुनासो गरेका हुन् । पीडित विद्यार्थीहरूको भनाइअनुसार उनीहरूलाई कोठा खोजिदिने बहानामा ठूलो रकम असुलेर ठगिएको हो । उनीहरूले होस्टलबाट कोठा खोज्दा एक नेपाली दिदीको सहयोग मागेको तर उनले ठूलो रकम असुलेर सम्पर्कविहीन भएको पीडित एक विद्यार्थीले भने । ‘हामीले जापानमा सहयोग गर्ने गरेको सुनेर परिचित नेपाली दिदी (युमी गुरुङ) सँग सहयोग माग्यौं । तर, उनले जनक थापा र उमेश तामाङ नामका व्यक्तिसँग सम्पर्क गराइन्, उनीहरूले हाम्रो जाइरो कार्ड र इनकान समेत लिए । कोठा नखोजेर पैसा लिएर सम्पर्कविहीन बने,’ ती विद्यार्थीले गुनासो गरे । कोठा व्यवस्थापनको क्रममा नक्कली कागजात बनाइ विद्यार्थीहरूलाई कोठा सारिएको थियो । उनीहरूले बैंकबाट भाडा काटिने र पानी निःशुल्क हुने आश्वासनसमेत दिएका थिए । तर, पछि पानीको बिल अरूकै नाममा अएको र रुम भाडा नगदमा मागिएको उनीहरूको भनाइ छ । आफूहरूले आफ्नो गाक्कोमा गएर कागजात देखाउँदा नेपाली शिक्षकले कागजात नक्कली भएको जानकारी दिए । पछि उनीहरूले प्रहरीलाई पनि खबर गरेको बुझिएको छ । प्रहरीले अनुसन्धान गर्दा रकम ठगी गर्ने नियतका साथ उनीहरूले आपतकालीन सम्पर्क नम्बर र पानी–बिजुलीमा मनलाग्दी नाम राखेको फेला परेको छ । उनीहरूका अनुसार उनीहरूले ४ लाख रुपैयाँसम्म ठगी गरेका छन् । पछि प्रहरीको सहयोगमा ठगी गर्नेले पैसा फिर्ता गरिसकेको पनि बुझिएको छ । उनीहरूले अरूलाई पनि यस्तो ठगीबाट बच्न आग्रह गरेका छन् । जापान कानूनी रूपमा निकै सशक्त देश भएकोले ठगीको शिकार भएर चुप बस्नुभन्दा कानूनी सहायता लिनु नै उचित हुने राय उनीहरूको छ । जापानमा नेपाली विद्यार्थीहरू अलपत्र पर्ने, हराउने तथा चोरी डकैतीको शिकार बन्ने गरेका घटनाहरू बेला बखत सार्वजनिक हुने गरेका छन् । यसबाट बच्नका लागि विद्यार्थीलाई सरोकारवालाले सुझाव दिएका छन् ।
घरजग्गा कारोबारबाट भदौमा उठ्यो पौने ४ अर्ब राजस्व
काठमाडौं । घरजग्गाको कारोबारबाट भदौमा पौने ४ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । भदौ महिनामा घरजग्गाको कारोबारबाट ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपैयाँ राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । विभागका अनुसार यो एक महिनामा १ लाख १५ हजार ६४२ वटा घरजग्गाको कारोबार भएको छ । जसमध्ये ३२ हजार ७९८ वटा घरजग्गाको लिखत पारित भएको छ । ३ हजार ८ सय ८८ वटा घरजग्गाको नामसारी भएको छ भने ३६ हजार ८१९ वटा घरजग्गा रोक्का र २५ हजार २६१ वटा घरजग्गा फुकुवा गरिएको जनाइएको छ । भदौमा २७ हजार ८ सय ४३ कित्ता जग्गाको कित्ताकाट गरेर ६१ हजार ३३२ कित्तामा विभाजन गरिएको छ । यी हुन् धेरै राजस्व संकलन गर्ने १० मालपोत कार्यालय विभागका अनुसार सबैभन्दा धेरै राजस्व संकलन भूमि सुधार तथा मालपोत कार्यालय, लगनखेलबाट संकलन भएको छ । उक्त मालपोतबाट ३४ करोड २७ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी, मालपोत कार्यलय डिल्लीबजारबाट २९ करोड ३९ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन हुँदा मालपोत कार्यालय, भक्तपुरबाट २३ करोड ३७ लाख २२ हजार, मालपोत कार्यालय, चावहिलबाट २२ करोड ४२ लाख ७७ हजार, मालपोत कार्यालय, कलंकीबाट २२ करोड २७ लाख ८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी, मालपोत कार्यालय, सिमराबाट १७ करोड ३२ लाख ५६ हजार, मालपोत कार्यालय, कास्कीबाट १४ करोड ६९ लाख ८५ हजार, मालपोत कार्यालय, चितवनबाट ११ करोड ७२ लाख ६३ हजार, मालपोत कार्यालय, मनमैजुबाट ९ करोड ५३ लाख ९५ हजार र मालपोत कार्यालय, इनरुवाबाट ९ करोड २१ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
अङ्ग्रेजी माध्यममा पढाइ भएपछि बढ्न थाले विद्यार्थी, पुरानो भवन मर्मत गरिँदै
धरान । यहाँको बराहक्षेत्र नगरपालिका– ६ चक्रघट्टीस्थित महेन्द्र माध्यमिक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरेपछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ । अभिभावकको मागसँगै विद्यालयले अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि विद्यार्थी सङ्ख्या वृद्धि भएको विद्यालयका प्रधानाध्यापक चण्डीराज पोख्रेलले बताए । उनले गत वर्षदेखि नगरपालिकामै पहिलो पटक आधारभूत तह शिशु कक्षादेखि कक्षा १२ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरिएको जानकारी दिए । उनले भने, ‘अभिभावकको सहयोग र सल्लाहमा विद्यालयमा अंग्रेजी माध्यमको पढाइ सुरु गरिएको हो । अङ्ग्रेजी पढाइ सुरु भएसँगै विद्यालयमा विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ ।’ विद्यार्थीको सङ्ख्या धेरै भएपछि कक्षाकोठा व्यवस्थापनका लागि पुरानो भवन मर्मत थालिएको उनले बताए । पानी परेको बेला चुहिएर पढाईमा समस्या हुने भएकाले आवश्यक सहयोगका लागि उनले सरोकारवालासँग आग्रह गरेका छन् । प्रधानाध्यापक पोख्रेलका अनुसार विद्यालयमा हाल आठ सय ५० विद्यार्थी अध्ययनरत छन् । एक वर्षमै दुई सय भन्दा बढी विद्यार्थी सङ्ख्या थपिएको विद्यालयले जनाएको छ । विद्यार्थीको चाप बढेपछि आठ शिक्षक थप गरी ३० शिक्षकबाट पठनपाठन सञ्चालन गरिरहेको प्रधानाध्यापक पोख्रेलले बताए । विद्यालयमा बिहान १० देखि ४ बजेसम्म अङ्ग्रेजी माध्यम र १०ः३० देखि ४ः३० बजेसम्म नेपाली माध्यमको पढाइलाई दुई भागमा विभाजन गरिएको छ । अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै महेन्द्र माविमा कार्यरत शिक्षकहरुलेसमेत आफ्ना छोराछोरीलाई सोही विद्यालयमा भर्ना गरेको शिक्षक प्रवीण खड्काले बताए । उनले भने, ‘अभिभावकहरुले अङ्ग्रेजी माध्यममा पढाइ सुरु गर्न आग्रह गरेपछि छुट्टै आठ शिक्षक थप गरी अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरिएको हो ।’ विद्यालयको आयस्रोत कमी भएकाले अङ्ग्रेजी माध्यममा पढाउने शिक्षकका लागि विद्यालयले अभिभावककै राजीखुसीमा प्रति विद्यार्थी मासिक न्यूनतम शुल्क लिने गरेको विद्यालयले जनाएको छ । विसं २०१३ मा स्थापना भएको महेन्द्र माविले २०५७ सालदेखि कक्षा १२ सम्म सञ्चालन गर्दै आएको छ । रासस
इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको समाचारमा सत्यता छैन : एनसेल
काठमाडौं । एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनीको सेयर खरिद गरेको समाचार कपाेलकल्पति भएकाे जनाएकाे छ । कम्पनीले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रकाशित भएका समाचारहरू अपरिपक्व र अनुमानमा आधारित भएको उल्लेख गरेकाे छ । एक जिम्मेवार सेवा प्रदायकको रूपमा एनसेलले सधैं पारदर्शिता र सबै सरोकारवालाहरूमाझ सही सूचना प्रवाहलाई प्राथमिकता दिँदै आएको एनसेलले जनाएकाे छ । नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खानेगरी आवश्यक निर्णयमात्र गर्ने विज्ञप्तिमा उल्लेख छ । साथै एनसेलले आफूसम्बन्धित समाचारहरू प्रकाशन, प्रसारण गर्नुअघि आधिकारिक धारणा बुझिदिन पनि सम्पूर्ण सञ्चारकामाध्यमलाई अनुरोध गरेकाे छ । केही सञ्चारमाध्यममा एनसेलले क्लासिक टेककाे सेयर खरिद गरेकाे समाचार प्रकाशित भएकाे थियाे । साेही विषयलाई लिएर एनसेलले स्पष्टिकरण दिएकाे हाे । एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पुर्याउन निरन्तर कार्य गरिरहेको छ ।
६ लायन्स क्लबको संयुक्त इन्स्टलेसन, इन्डक्सन तथा चार्टर हेन्डओभर सम्पन्न
काठमाडौं । लायन्स क्लब ३२५ आई अन्तर्गतका ६ क्लबको संयुक्त इन्स्टलेसन, इन्डक्सन तथा चार्टर हेन्डओभर सम्पन्न भएको छ । लायन्स क्लब ३२५ आई अन्तर्गतका ६ क्लब लायन्स क्लब अफ काठमाडौं इनोभेसन, लायन्स क्लब अफ काठमाडौं गौरीशंकर, लायन्स क्लब अफ काठमाडौं हेल्पिङ हेण्डस्, लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीन, लायन्स क्लब अफ काठमाडौं गणेश हिमाल, र लायन्स क्लब अफ काठमाडौं विष्णुमतीको संयुक्त इन्स्टलेसन, इन्डक्सन तथा चार्टर हेन्डओभर सम्पन्न भएको हो। कार्यक्रममा ३२५ आईका डिस्ट्रिक्ट गभर्नर विनोद ढुंगानाले क्लबका नयाँ पदाधिकारीहरूको शपथ ग्रहण गराएका थिए । आफ्नो सम्बोधनमा ढुंगानाले क्लबका गतिविधिहरूले स्थानीय समुदायलाई सकारात्मक रूपमा प्रभावित गर्दै आएको बताए । त्यस्तै आगामी दिनमा अझ सशक्त रूपमा सेवा कार्यमा जुट्न नयाँ नेतृत्वलाई प्रेरित गरे । साथै, उनले सामाजिक सेवामा लायन्स क्लबको योगदानको चर्चा गर्दै भविष्यका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन सुझाव दिए । सो कार्यक्रममा सबै क्लबका प्रेसिडेन्टहरुले गत आर्थिक वर्षमा गरेका कार्यक्रमहरुको वारेमा जानकारी दिनुका साथै आगामी वर्षमा गर्ने कार्यक्रमका बारेमा पनि बताएका थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भएका लायन्स क्लब इन्टरनेशनल फाउण्डेसनका एरिया लिडर राजन लम्साल र विशेष अतिथि इमिडियट पास्ट डिस्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले पनि क्लबहरूलाई सुदृढ नेतृत्व र सामाजिक सेवाको मार्गमा निरन्तर लाग्न प्रेरणा दिएका थिए । कार्यक्रमको क्रममा नयाँ सदस्यहरूलाई शपथ ग्रहण गराउनुका साथै, विभिन्न क्लबहरूका चार्टरहरूको हस्तान्तरण गरिएको थियो ।