विकासन्युज

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

काठमाडौं । नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो । नेपाल टेलिकम जुम्ला कार्यालय प्रमुख पारस पुजाराका अनुसार त्यहाँ नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो । नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नं ३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा फोरजी सेवा उपलब्ध हुनेछ । उक्त टावरबाट गौरी, ओखरवाडा, हाट सिँजा, सिम्पाती, लुड्कु, गुठीज्युला बजार, बडुवालवाडा, बारकुडीवाडा, सञ्जेलवाडा, जाच र गोडिङ्गालगायतका क्षेत्रमा सेवा पुग्नेछ । टावर सञ्चालनका लागि हाल सोलार ब्याट्री प्रयोग गरिएको छ । टावर स्थापना भएको दुई महिनाभन्दा बढी समय भए पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् नपुगेका कारण सेवा सञ्चालनमा ढिलाइ भएको कार्यालयप्रमुख पुजाराले बताए । राष्ट्रिय प्रसारणलाईनबाट विद्युत् जडान गर्न नसकेपछि तत्कालका लागि सोलार प्रणालीमार्फत टावर सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ ।   सरकारले दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ । सोही योजनाअनुसार बाजुराको बडीमालिका मन्दिर क्षेत्रमा यस हप्ताभित्रै फोरजी सेवा सञ्चालनमा आइसक्नेछ । सगरमाथा आधार शिविर क्षेत्रमा समेत ४जी सेवा विस्तारका लागि अध्ययन भइरहेको नेपाल टेलिकमले जनाएको छ ।   यसअघि उच्च हिमाली क्षेत्रका विभिन्न स्थानमा पनि ४जी सेवा विस्तार भइसकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब तीन हजार नौ सय मिटर उचाइमा फोरजी सेवा सञ्चालनमा छ । त्यस्तै, ताप्लेजुङको ओलाङचुङगोलामा करिब तीन हजार चार सय मिटर उचाइमा ४जी सेवा सुरु भइसकेको छ ।  देशका अन्य दुर्गम तथा सञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रमा समेत सेवा विस्तार गर्ने सरकारको योजना छ । डिजिटल विभाजन घटाउँदै सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको हो ।  हाल देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विस्तारका लागि करिब एक हजार छ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ । ग्रामीण क्षेत्रमा सेवा विस्तार तथा गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा मात्रै रु छ अर्बभन्दा बढी लगानी गर्ने तयारी गरेको छ ।

रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, मूल्य ५ लाख ९९ हजार

काठमाडौं । रोयल इन्फिल्डले नेपालको गोरखा परम्परा र वीरताको सम्मान गर्दै क्लासिक ३५० गोरखा एडिसन नेपाली बजारमा सार्वजनिक गरेको छ । गोरखा समुदायको साहस, दृढता र अदम्य भावनाबाट प्रेरित यो मोटरसाइकललाई नेपालको गौरवपूर्ण इतिहास र पहिचानसँग जोडेर तयार गरिएको कम्पनीले जनाएको छ । विशेष गोरखा ग्रीन रङमा उपलब्ध मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ । क्लासिक ३५० को परिचित डिजाइनलाई निरन्तरता दिँदै गोरखा विरासत झल्काउने केही विशेष डिजाइन र फिचर थपिएका छन् । रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यादविन्दर सिंह गुलेरियाले क्लासिक ३५० नेपाली राइडरमाझ लामो समयदेखि लोकप्रिय रहेको बताए । गोरखा एडिसनमार्फत नेपालको पहिचानसँग गहिरो रूपमा जोडिएको गोरखा विरासतलाई सम्मान गर्न पाएको उनले बताए । उनका अनुसार गोरखा समुदाय विश्वभर साहस, वफादारी र सम्मानका लागि परिचित छ । यही विरासतलाई क्लासिकको मौलिक पहिचानसँग जोड्ने प्रयास गरिएको उनले बताए । नेपालका लागि रोयल इन्फिल्डका आधिकारिक वितरक अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्षवर्धन संघाईले क्लासिक ३५० ले नेपाली मोटरसाइकल पारखीमाझ विशेष स्थान बनाइसकेको बताए । गोरखा एडिसनले नेपालको पहिचानसँग जोडिएको इतिहास र मूल्यलाई नयाँ ढंगले प्रस्तुत गर्ने उनको भनाइ छ । क्लासिक ३५० गोरखा एडिसनमा क्लासिक सिरिजकै परिचित अपराइट राइडिङ पोस्चर, डिजाइन र जे–सिरिज इन्जिन दिइएको छ । सहज गियर सिफ्टका लागि यसमा असिस्ट एन्ड स्लिपर क्लचसमेत उपलब्ध छ । मोटरसाइकलसँगै कम्पनीले गोरखा कलेक्सन पनि सार्वजनिक गरेको छ । उक्त कलेक्सनमा गोरखा विरासतबाट प्रेरित राइडिङ गियर, छालाका बुट, हेल्मेट, हेडगियर, लाइफस्टाइल अपारेललगायत सामग्री समावेश छन् । कलेक्सनको डिजाइनमा क्रस खुकुरी, परम्परागत नेपाली ढाका बुनाइ र नेपाली हस्तकलाबाट प्रेरित तत्व प्रयोग गरिएको छ । गोरखा ग्रीन, रेजिमेन्टल क्रिमसन, ट्याक्टिकल ओलिभ ग्रीन, म्याट ब्ल्याक र वार्म ब्रन्जजस्ता रङलाई कलेक्सनमा प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार क्लासिक ३५० गोरखा एडिसन नेपालभर रहेका आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ । यसको मूल्य ५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरिशरण अर्याल

काठमाडौं । आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरिशरण अर्याल नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । डा.अर्यालले त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसबाट बीएएमएस तथा कायचिकित्सा विषयमा एमडी गरेका छन् । एमडीमा उनले स्वर्ण पदकसहित विशिष्ट श्रेणी हासिल गरेका थिए । उनी सन् २००९ देखि नेशनल नेचर केयर हस्पिटलमा मेडिकल डाइरेक्टरका रूपमा कार्यरत छन् । यसअघि नरदेवीस्थित आयुर्वेद अस्पतालमा कन्सल्टेन्ट कायचिकित्सकका रूपमा समेत काम गरेका थिए । डा. अर्याल नेपाल आयुर्वेद मेडिकल काउन्सिलका पूर्व कार्यकारी सदस्य तथा सिंहदरबार वैद्यखाना विकास समितिका पूर्व कार्यकारी सदस्यसमेत हुन् ।  

मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

काठमाडाै‌ । नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । दन्त चिकित्सक तथा अर्थोडोन्टिक्स विशेषज्ञ डा.श्रेष्ठसँग काउन्सिलको नियमन, परीक्षा, चिकित्सा शिक्षा र प्रशासनिक काममा लामो अनुभव छ । डा.श्रेष्ठले तमिलनाडुको भीएमएस डेन्टल कलेजबाट बीडीएस तथा रुसको भोल्गोग्राड स्टेट मेडिकल युनिभर्सिटीबाट स्टोमाटोलोजीमा विद्यावारिधि गरेका छन् । उनी सन् २०१४–२०१६ मेडिकल काउन्सिलको पदेन सदस्य तथा सन् २०१९–२०२३ मा मनोनीत सदस्यका रूपमा कार्यरत थिए । काउन्सिलमा रहँदा उनले शिक्षा, परीक्षा, आचारसंहिता तथा खरिदसम्बन्धी समितिको संयोजकको जिम्मेवारी सम्हालेका थिए । 

झुपडीमा बित्यो बाल्यकाल, युट्युबबाटै करोडौंको सम्पत्ति जोडेका मनोज

काठमाडौं । युट्युबले धेरैको जीवन बदलिदिएको छ। निरन्तर कन्टेन्ट बनाएर आफ्नो पहिचान त बनाए नै, साथै करोडौंको सम्पत्ति पनि जोडेका छन् भारतका लोकप्रिय युट्युबर मनोज डेले । कुनै समय गरिबीमा बाँचेका मनोज डे आज महिनामा लाखौं रुपैयाँ कमाउँछन्  । उनीसँग धेरै गाडी छन्, जसमध्ये लगभग १ करोड २८ लाख रुपैयाँ मूल्यको मर्सिडिज बेन्ज एसयूभी पनि रहेको छ । मनोज डेको युट्युब च्यानलमा हाल करिब ७.७८ मिलियन सब्स्क्राइबर छन्, भने इन्स्टाग्राममा उनका करिब २० लाख फलोअर छन् । उनको यो उपलब्धि विशेष यसकारण पनि मानिन्छ किनभने उनको सुरुवाती जीवन अत्यन्त सामान्य र आर्थिक चुनौतीहरूले भरिएको थियो ।   मनोज डे झारखण्डका बासिन्दा हुन् र उनको जन्म एक गरिब परिवारमा भएको थियो । उनका बुबा गाउँमा साइकल पञ्चर बनाउने काम गर्थे र दिनको २०० देखि २५० रुपैयाँसम्म कमाएर ६ जनाको परिवार पाल्थे । मनोज र उनको परिवार गाउँको एउटा झुपडीमा बस्थे। उनले आफ्नो पढाइ सरकारी विद्यालयबाट पूरा गरेका थिए । पछि उनले गुजरातको एउटा कारखानामा पनि काम गरे, तर केही समयपछि आफ्नो गाउँ फर्किए ।  सुरुवाती दिनहरूमा मनोजले साह्रै सीमित स्रोतसाधनका साथ युट्युबमा भिडियो बनाउन थाले । कमाइ सुरु हुनुअघि थप आम्दानीका लागि उनले साना-साना काम पनि गर्थे । भिडियो सम्पादन सिक्नका लागि उनले निःशुल्क उपकरणहरूको प्रयोग गरे । सुरुमा उनका भिडियोमा धेरै भ्युज आउँदैनथे र उनले धेरैचोटि असफलताको सामना गर्नुपर्‍यो ।  मनोजको सफलताको कथामा असफलताको ठूलो भूमिका छ । उनका तीनवटा युट्युब च्यानल पूर्ण रूपमा असफल भए । एउटा च्यानलमा उनले गीतसम्बन्धी भिडियो राख्थे भने अर्कोमा हास्य सामग्री बनाउँथे । तेस्रो च्यानल प्रविधिसम्बन्धी थियो र यो राम्रैसँग बढिरहेको थियो, तर बीचमै त्यसको एडसेन्स बन्द भयो, जसले गर्दा विज्ञापनबाट हुने आम्दानी रोकियो । यति हुँदाहुँदै पनि मनोजले हार मानेनन् । उनले आफ्नो रणनीति परिवर्तन गरी निरन्तर नयाँ तरिकाले सामग्री बनाउन थाले । बिस्तारै उनका भिडियोले दर्शक पाउन थाले र लोकप्रियता तीव्र गतिमा बढ्दै गयो ।   युट्युबमा सफलता पाएपछि मनोजले आफ्ना उपकरण र स्टुडियो पनि स्तरोन्नति गरे । हाल उनी धेरैवटा युट्युब च्यानल चलाउँछन् र गुणस्तरीय सामग्री तयार पार्छन् । मिडिया रिपोर्टअनुसार उनको मासिक आम्दानी लगभग १६ लाख रुपैयाँ रहेको अनुमान गरिएको छ, भने उनको कुल सम्पत्ति करिब १२ करोड ८० लाख रुपैयाँ रहेको अनुमान छ । यद्यपि, कुनै पनि युट्युबरको वास्तविक कमाइ विज्ञापन, ब्रान्ड डिल, प्रायोजन (स्पान्सरसिप) र अन्य आयस्रोतका आधारमा फरक-फरक हुन सक्छ ।    एजेन्सीको सहयोगमा  

मुस्ताङ जाँदै प्रधानमन्त्री बालेन

काठमाडाै‌ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आज पोखरा हुँदै मुस्ताङ जाँदैछन् । प्रधानमन्त्री शाह पोखरा विमानस्थल भएर मुस्ताङ जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसँगै उनका केही सल्लाहकार र सहयोगीसमेत मुस्ताङ जाने तयारी रहेको बताइएको छ । यद्यपि यस विषयमा प्रधानमन्त्रीको सचिवालयबाट केही खुलाईएको छैन ।   

विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत तथा सिँचाइ पूर्वाधारको निरीक्षणका लागि कोशी प्रदेशको भ्रमणमा निस्किँदैछन् ।  मन्त्री श्रेष्ठ आफ्नो टिमका साथ शुक्रबार दिउँसो १ बजे कोशी प्रदेशको राजधानी विराटनगर प्रस्थान गर्दैछन् । टोलीले पूर्वमा विद्यमान विद्युत समस्या, प्रसारण लाइनलगायत पूर्वाधारको अवस्थाको निरीक्षण गर्नेछ ।  यसैगरी पूर्वमा सिँचाइको पहुँच, नहरहरुको अवस्थाको पनि स्थलगत अवलोकन गरेर आवश्यक सुधारका लागि रणनीति बनाइनेछ ।    ऊर्जामन्त्री श्रेष्ठको टिममा मन्त्रालयका सचिव सरिता दवाडी, सहसचिव मोहनकुमार शाक्य, मन्त्रीका निजी सचिव सुदर्शन श्रेष्ठ, सचिवालय सदस्य देवेश बेल्बासेलगायत छन् ।  यसैगरी जलस्रोत तथा सिँचाइ विभागबाट महानिर्देशक डा. महेश्वर श्रेष्ठ, उपमहानिर्देशक दिनेश भट्ट, नेपाल विद्युत प्राधिकरणका कामु निर्देशक दिर्घायुकुमार श्रेष्ठसहित अधिकारी जाँदैछन् ।   मन्त्रीको सचिवालयकाअनुसार तीन दिने भ्रमणका क्रममा इनरुवाको चार सय केभी भोक्राहा सबस्टेसन, केरौना सबस्टेसनको अवलोकन गरिनेछ ।  यसैगरी बराहक्षेत्र चतहराको नहरको साइट भिजिट गरिनेछ । यसैगरी नेपालको विरासत बोकेको चन्द्र नहरको पनि निरीक्षण गर्ने कार्यक्रम छ ।  मन्त्री श्रेष्ठले यसअघि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश पुगेर त्यहाँका समस्या प्रत्यक्षरुपमै बुझेका थिए ।

सुनको भाउ बढ्ने क्रम जारी, तोलामा ३ हजार ३ सय महँगियो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढी ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला १३० रुपैयाँले बढेर ४ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ ।