युनिलिभर नेपालले १७१४ प्रतिशत लाभांश दिने, वार्षिक साधारणसभा कहिले ?
काठमाडौं । युनिलिभर नेपालले १७१४ प्रतिशत लाभांश दिने भएको छ । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को लागि १७१४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले १७१४ प्रतिशत नै नगद लाभांश दिन लागेको हो । लाभांश घोषणासँगै उक्त बैठकले वार्षिक साधारणसभा पनि बोलाएको छ । कार्तिक १२ गतेका लागि कम्पनीले साधारणसभा आह्वान गरेको हो । साधारणसभा प्रयोजनार्थ असोज २८ देखि कार्तिक १२ गतेसम्म कम्पनीले बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात असोज २७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउँछन् । नेप्सेको दोस्रो कारोबार बजारमा युनिलिभर सबैभन्दा महँगो कम्पनी हो । जसको एक कित्ता सेयरको मूल्य ५० हजार ३ सय ९८ रुपैयाँ ९० पैसा रहेको नेप्सेले जनाएको छ ।
२ महिनामा निर्जीवन बीमाको व्यापार करिब ८ अर्ब, अर्ब क्लबमा सलिको मात्रै
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दुई महिना (साउन र भदौ) मा निर्जीवन बीमा कम्पनीहरूले करिब ८ अर्ब रुपैयाँको व्यापार गरेका छन् । ४ लघुसहित १८ निर्जीवन बीमा कम्पनीहरूले ७ अर्ब ८५ करोड ७० हजार रुपैयाँ बढीको व्यापार गरेका हुन् । जसमध्ये सबैभन्दा धेरै व्यापार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले गरेको छ । सलिकोले एक अर्ब एक करोड २१ लाख रुपैयाँ बढी कुल बीमाशुल्क संकलन गरेको छ । सलिको यो दुई महिनामै अर्ब रुपैयाँ बीमाशुल्क संकलन गर्ने एक्लो कम्पनी बनेको छ । यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ८१ करोड ३३ लाख, शिखर इन्स्योरेन्सले ७२ करोड ३४ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६० करोड २३ लाख, नेको इन्स्योरेन्सले ५८ करोड ८९ लाख, आइजीआई प्रुडेन्सियलले ५८ करोड १ लाख, राष्ट्रिय बीमा कम्पनीको ५४ करोड ५३ लाख र एनएलजी इन्स्योरेन्सले ४८ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कुन कम्पनीको व्यापार कति ?
आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री अवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउनका लागि यातायात पूर्वाधार अत्यावश्यक रहेको बताएका छन् । चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले दिगो एवं भरपर्दो यातायात प्रणालीको विकास र उपयोगप्रति नेपालको दरिलो प्रतिबद्धता रहेको र यस क्षेत्रमा नेपालले काम गरिरहेको बताएका हुन् । नेपालको भौगोलिक अवस्था अनुसार सडक सञ्जालको अतिरिक्त रेलमार्ग, हवाइयातायात तथा आधुनिक पोडवेको महत्त्व रहेको उल्लेख गर्दै उनले दिगो यातायात पूर्वाधार विकासका लागि स्वदेशी तथा वैदेशिक लगानी विस्तार गर्ने आवश्यक रहेको धारणा व्यक्त गरे । यातायात पूर्वाधार विकासबाट आमनागरिकको जीवनयापन र आवागमनमा सहजता पुग्ने मात्र नभई नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रतिस्पर्धी बन्दै जाने, स्वदेशी उत्पादनले मुलुकभित्र तथा अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच प्राप्त गर्ने अर्थमन्त्री पौडेलको भनाइ छ । उनले व्यवस्थित शहरीकरण तथा बस्ती विकाससहित सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्नमा पनि योगदान पुग्ने विचार व्यक्त गरे । अर्थमन्त्री पौडेलले वातावरणमैत्री एवं दिगो यातायातका लागि विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्ने नेपालको नीति रहेको जानकारी गराए । यसका लागि विद्युतीय सवारीको आयातमा राजस्व सहुलियतसहित यस सम्बन्धी पूर्वाधार निर्माणका कार्य अगाडि बढाइएको, मुलुकभित्रै विद्युतीय सवारीसाधनको उत्पादनका लागि अन्तर्राष्ट्रिय प्रविधि तथा लगानी आकर्षित गर्ने उनको भनाइ छ । आजदेखि सुरु भएको ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमको कार्यक्रममा नेपाल लगायत विभिन्न देशका उच्च राजनीतिक तहका प्रतिनिधिमण्डलको सहभागिता छ । नेपालकोतर्फबाट अर्थमन्त्री पौडेलसहित चीनका लागि नेपालका कार्यबाहक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता महेश भट्टराई लगायतका अधिकारीहरू सहभागी हुन् ।
७४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार ७४ लाख ३९ हजार २५० कित्ता सेयर सूचीकृत भएको छ । नागरिक लगानी कोषको उक्त बोनस सेयर सूचीकृत भएको हो । सूचीकृत भएको सेयर लगानीकर्ताले डिम्याट खातामा आएपछि खरिद बिक्री गर्न सक्ने छन् ।
दशैंतिहारमा सिभिल मलले ल्यायो उपहार योजना, स्कुटर र हिराको औंठी जित्ने मौका
काठमाडौं । सिभिल मलले दशैंतिहारको अवसरमा महोत्सव २०८१ को घोषणा गरेको छ । जसमा विभिन्न उपहार र आकर्षक योजनाहरू समावेश गरिएको सिभिल मलले बताएको छ । महोत्सव कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । ग्राहकहरूले १ हजार रुपैयाँभन्दा बढीको कुनै पनि सामान खरिद गर्दा कुपन पाउने छन्, कुपनमार्फत उनीहरूले विभिन्न उपहार जित्न सक्नेछन् । ‘यो महोत्सव ग्राहकहरूलाई विशेष अनुभूति दिन आयोजना गरिएको हो । यसमा शपिङसँगै मनोरञ्जन र उपहार जित्न सकिने अवसरहरू पनि समावेश गरिएको छ । महोत्सवमा मुख्य आकर्षणको रूपमा बम्पर उपहारमा स्कुटर, हिराको औंठी, घरायसी उपकरणहरू, र राउन्ड ट्रिप छुट्टी प्याकेज रहेका छन्,’ सिभिल महलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महोत्सवमा दैनिक उपहारहरूका साथै विभिन्न गिफ्ट ह्याम्परहरू प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।
जलविद्युतमा ढुक्क भएर लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पान अध्यक्षको आग्रह
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले क्यानडियन लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् । क्यानडियन ड्याम एसोसिएशनले आयोजना गरेको ड्याम सुरक्षासम्बन्धी कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । कार्कीले नेपालमा जलविद्युत उत्पादनको अथाह सम्भावना हुँदाहुँदै पनि अहिलेसम्म ३ हजार मेगावाट मात्रै विद्युत उत्पादन भएको, ४ हजार मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन रहेको, विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेका आयोजना पनि ४ हजार मेगावाट क्षमताका रहेको, १० हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा रहेको र अरू थप १० हजार मेगावाट क्षमताका आयोजनाहरु अध्ययनको विभिन्न चरणमा रहेको बताए । उनले भने, ‘सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहितको रोडम्याप अघि सारेको छ । नेपालको जलविद्युत उत्पादन क्षमता कम्तिमा ७२ हजार मेगावाट छ । यसको लागि नेपालमा ठूलो लगानीको खाँचो रहेकोले क्यानडियन लगानीकर्ताहरूलाई नेपालमा लगानी गरेर राम्रो प्रतिफल हासिल गर्न आग्रह गर्दछु ।’ नेपालमा विद्युत उत्पादन गरे बजारको पनि सुनिश्चितता भएको भन्दै कार्कीले भारतमा १० हजार मेगावाट निर्यातको सम्झौता भइसकेको र बंगलादेशमा पनि ५ हजार मेगावाट निर्यातको लागि पहल भइरहेको बताए । अहिले भारतमा १ हजार मेगावाट विद्युत निर्यात भइरहेको र बंगलादेशमा ४० मेगावाट निर्यातको लागि सम्झौतामा हस्ताक्षर हुन मात्रै बाँकी रहेको पनि उनले जानकारी गराए । ४० मेगावाट विद्युत थोरै लागेपनि बंगलादेशको विद्युत माग पुरा गर्न सन् २०४० सम्म बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत आयात गर्नुपर्ने प्रक्षेपण गरेको पनि उनले बताए । दुई ठूला उदयीमान अर्थतन्त्र भएका भारत र बंगलादेशमा विद्युतको माग जति पनि रहेको र नेपालमा ठूलो परिमाणमा उत्पादनको सम्भावना भएकोले नेपालमा लगानी गर्न क्यानडियन लगानीकर्तालाई कार्कीले आग्रह गरेका हुन् ।
‘व्यवसायीलाई लगानी गर्ने वातावरण सिर्जना गरे मुलुक छिटो समृद्ध बन्छ’
कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रसँगको सहकार्यले मात्र मुलुक समृद्ध बन्ने बताएका छन् । पोखरा उद्योग वाणिज्य संघद्वारा बुधबार पोखरामा आयोजित बधाई ज्ञापन तथा स्वागत कार्यक्रममा मन्त्री पाण्डेले पूँजीको विकास गर्न सके मात्र देशमा रोजगारीका अवसर सिर्जना हुने बताए । ‘सरकारले उद्योगी व्यवसायीलाई सुरक्षितरूपमा लगानी गर्ने वातावरण सिर्जना गर्ने हो, व्यवसायीले जति धेरै लगानी गर्छ त्यति नै नेपाल छिटो समृद्ध बन्छ,’ उनले भने । व्यवसायीलाई उद्योगतर्फ आकर्षित गर्न सरकारले विभिन्न किसिमका अनुदानका कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्दै मन्त्री पाण्डेले उद्योग व्यवसाय फस्टाएका देशहरूले आर्थिक प्रगति गरेको उदाहरण दिँदै नेपालमा पनि स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सके समृद्धि हासिल गर्न धेरै वर्ष कुर्नु नपर्ने बताए । देशको अर्थतन्त्रलाई चलायमान, भ्रष्टाचार मुक्त र सुशासन स्थापना गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ थियो । सम्भावना नै सम्भावना भएको देश नेपालमा स्वदेशी मात्र होइन, विदेशी लगानीकर्ता भित्र्याएर नेपाली जनतालाई समृद्धिको बाटोतर्फ अगाडि बढाउने चाहना वर्तमान सरकारको रहेको मन्त्री पाण्डेले बताए । पर्यटकीय राजधानी पोखरामा पर्यटनको सम्भावना अत्यधिक भएकाले पर्यटन नीति बनाएर यहाँ पर्यटनमैत्री वातावरण सिर्जना गर्ने उद्देश्य सरकारको रहेको उनको भनाइ थियो । पोखराबाट नै पर्यटकलाई गर्ने सत्कार देशभरि सिकाउने वातावरण सिर्जना गर्न पोखरेली पर्यटन व्यवसायीलाई उनले आग्रह गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन आफूले विदेशी एयरलाइन्स कम्पनीसँग कुरा गरिरहेको उल्लेख गर्दै मन्त्री पाण्डेले नेपाली आकास सुरक्षित छ भन्ने कुराको सन्देश दिन जरुरी रहेको बताए । सो अवसरमा नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखराको समग्र आर्थिक विकासका बारेमा जानकारी गराएका थिए ।
सिटी वालेटको चाडपर्व स्किम, प्रति रेमिट भुक्तानी गर्दा ७ सयसम्मको क्यासब्याक
काठमाडौं । सिटी वालेटले दशैंतिहार र छठ पर्वको अवसरमा विशेष योजना घोषणा गरेकाे छ । सिटी वालेटले ग्राहकले आफै रेमिट भुक्तानी गर्ने प्रक्रियालाई प्रोत्साहन गर्न क्यासब्याकसम्बन्धी विभिन्न स्किम घोषणा गरेको हो । ५ हजारभन्दा बढी रकमको रेमिटान्स सिटी पे वालेटमार्फत प्राप्त गर्दा सिटी पे प्रोमोकोड प्रयोग गरी २ सय रुपैयाँ रकम बराबरको बोनस ब्यालेन्स तथा हरेक दिन रेमिटान्स भुक्तानीमा पहिलो १८ ग्राहकलाई ५०० रुपैयाँ बराबरको बोनस गरी कुल ७ रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । विदेशस्थित सिटी एक्सप्रेसका पार्टनर रेमिट कम्पनीबाट सिधै वालेट लोड कारोवार गर्ने वालेटले समेत उक्त क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । साथै दशैंतिहारलाई लक्षित गरी आन्तरिक उडान बुकिङमा समेत आकर्षक क्यासब्याकको अफर ल्याइएको छ । सिटी पे एपमार्फत आन्तरिक उडानको टिकट बुकिङ गर्दा फ्लाइट २०० प्रोमो कोड प्रयोग गरी ३०० रुपैयाँभन्दा बढीको क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ । सिटी वालेट प्राइभेट लिमिटेडका प्रमुख ब्यवसायिक अधिकृत प्रकाश चालिसेले चाडबाडको समयमा ग्राहकहरूका लागि आकर्षक अफरहरू राखेकाे बताए । सिटी पे वालेटमार्फत सिटी एक्सप्रेस मनी ट्रान्सफर , कुमारी रेमिट, नविल रेमिट , सिद्धार्थ रेमिट, सिटिजन रेमिट, एभरेष्ट रेमिट, पृथ्वी रेमिटलगायतका रेमिट भुक्तानी गर्न सकिन्छ ।