राष्ट्र बैंकले फेर्यो उपभोक्ता मूल्य सूचकाङ्क गणनाको आधार वर्ष
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले उपभोक्ता मूल्य सूचकाङ्क गणनाको आधार वर्ष फेरेको छ । आर्थिक वर्ष २०८०/८१ लाई आधार वर्ष मानेर राष्ट्र बैङ्कले आधार वर्ष फेरेको हो । नयाँ मूल्य सूचकाङ्कमा एक सय ३६ नयाँ वस्तु थपिएको छ । राष्ट्र बैङ्कले आज पत्रकार सम्मेलन गरेर नयाँ सूचकाङ्कअनुसार पाँच सय २५ वस्तु कायम रहने जानकारी गराएको हो । यसअघि राष्ट्रबैंकले आर्थिक वर्ष २०७०/७१ लाई आधार मानेर उपभोक्ता मूल्य सूचकाङ्क सार्वजनिक गर्दै आएको थियो । राष्ट्र बैङ्कको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा गुणाकर भट्टले नयाँ मूल्य सूचकाङ्कमा राष्ट्र बैङ्कको प्रयोगमा नआएका एक सय छ वस्तु हटाएर एक सय ३६ नयाँ वस्तु थप गरिएको जानकारी दिए । निर्देशक भट्टले भने, ‘यसअघि उपभोक्ता मूल्य सूचकाङ्कको बास्केटमा ४८० वस्तु रहेको थियो, अब नयाँ सूचकाङ्कमा ५२५ वस्तु कायम गरिएको छ ।’ उनले अब कतिपय वस्तुहरूका समूहसमेत परिवर्तन गरिएको जानकारी दिए । नयाँ मूल्य सूचकाङ्कले नेपालको मुद्रास्फीति थप अनुमानयोग्य हुने भन्दै उनले अनुसन्धानकर्ता तथा यसको प्रयोगकर्ताका लागि उपयोगी हुने दावी गरे । राष्ट्र बैङ्कले राष्ट्रिय तथ्याङ्क कार्यालय र त्रिभुवन विश्वविद्यालयको तथ्याङ्क विभागको सहयोगमा १० वर्षअगाडिको पुरानो सर्वेक्षणलाई हटाएर नयाँ मूल्य सूचकाङ्क सार्वजनिक गरौं भनेको निर्देशक भट्टले बताए । नयाँ मूल्य सूचकाङ्क सार्वजनिक भएपछि तथ्याङ्कलाई थप पारदर्शी र यथार्थपरक बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीतिको तथ्याङ्क र बजारको महँगी मेल नखाने गरेको गुनासोलाई सम्बोधन गर्नका लागि नयाँ तथ्याङ्कले सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘नेपाली बजारका वस्तुको मूल्यमा भएको परिवर्तन र राष्ट्र बैङ्कले सार्वजनिक गर्ने तथ्याङ्क नमिल्ने भन्ने गुनासो आउनु स्वाभाविक हो, कहिलेकाहीँ कुनै घटनाले तथ्याङ्कअनुसार मूल्य मिल्दैन,’ उनले भने, ‘जस्तो केही कारण काठमाडौं छिर्ने मालवाहक सवारीसाधन रोकियो कुनै पनि सामानको मूल्य बढ्न गई त्यसको ‘रिफलेक्सन’ राष्ट्र बैङ्कको तथ्याङ्कमा देखिँदैन ।’
ज्योति विकास बैंकले गर्यो धादिङको नेत्रावती डबजोङ अस्पताललाई बेबी वार्मर प्रदान
काठमाडौं । ज्योति विकास बैंकले धादिङ जिल्लाको नेत्रावती डबजोङ अस्पतालमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउनका लागि बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ । देशका ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राखी उक्त मेसिन प्रदान गरेकाे हाे । ज्योति विकास बैंकको सामरी शाखाको पहलमा नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ४ भोग्टेनीमा अवस्थित उक्त अस्पतालमा बेबी वार्मर जडान गरेको हो । विशेषगरी ग्रामीण क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र यसका कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई ध्यानमा राखी उक्त उपकरण प्रदान गरिएको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत नेत्रावती डबजोङ अस्पतालसहित हालसम्म ४७ वटा मेसिनहरू प्रदान गरिसकेको छ । हालसम्मको योगदानले करिब ८ हजार ५०० भन्दा बढी शिशु प्रत्यक्ष रूपमा यस सेवाबाट लाभान्वित भएका छन् । नेत्रावती डबजोङ अस्पतालमा आयोजित कार्यक्रममा बैंकका पदाधिकारीबाट उक्त स्वास्थ्य चौकीका पदाधिकारीलगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीको उपस्थितिका बीच बेबी वार्मर हस्तान्तरण गरिएको थियाे । सोही कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्सलगायत सम्बन्धित कर्मचारीलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो । ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
एनएमबि बैंकले गर्यो दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालको सबैभन्दा दिगो बैंक बन्ने स्ट्राटेजिक आकांक्षाअनुसार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ । दीगो युटिलिटी–स्केल सौर्य र कृषि परियोजनाहरूको विकासको लागि प्राविधिक सहयोग तथा सल्लाह भित्र्याउने उद्देश्यले डच फन्ड फर क्लाइमेट एण्ड डेभलपमेन्ट (डीएफसीडी) सँग सम्झाैता गरेको हाे । अमेरिकी डलर २० मिलियनको पहिलो सम्झौता भएकाे हाे । अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने निकाय हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सले प्रारम्भिक जलविद्युत दीगोपन मूल्याङ्कन गर्न प्राविधिक सल्लाहकार उपलब्ध गराउनका लागि डच उद्यमशील विकास बैंक, एफएमओसँग दोस्रो सम्झौता गरेको छ । नेपाल विद्युत प्राधिकरणको नेपालभर ८०० मेगावाटसम्मको ग्रिड जडित सौर्य ऊर्जा बिस्तार गर्ने नयाँ परियोजनामा एनएमबि बैंकले आफ्ना सौर्य ऊर्जासँग आवद्ध ग्राहकहरूलाई आर्थिक रूपमा मात्र नभई अन्तर्राष्ट्रिय प्राविधिक सल्लाहकार उपलब्ध गराउने र उक्त परियोजनाबाट उल्पादन भएको ऊर्जा कृषि तथा अन्य क्षेत्रमा दीगो रूपमा प्रयोग गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बैंकले निकट भविष्यमा आफुले लगानी गरेका जलविद्युत परियोजनाहरूको लागि हाइड्रोपावर सस्टेनेबिलिटी स्ट्यान्डर्ड सर्टिफिकेशन प्राप्त गर्ने लक्ष्य राखेको छ । नेपालको ऊर्जा क्षेत्रलाई वातावरणीय र सामाजिक रूपमा लचिलो बनाउन, अन्तर्राष्ट्रिय लगानीकर्ताहरू आकर्षित गर्दै व्यावसायिक अवसर सृजना गर्ने विश्वास बैंकले लिएको छ ।
बेनेलीको दशैंलक्षित योजना सार्वजनिक, बाइक खरिद गर्दा १ लाखसम्मको छुट
काठमाडौं । नेपालका लागि आधिकारिक विक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले दशैंतिहारको उपलक्ष्यमा नयाँ याेजना सार्वजनिक गरेकाे छ । कम्पनीका सेल्स तथा मार्केटिङ म्यानेजर नबराज घिमिरेका अनुसार ‘चढौं बेनेली, बाँडौं खुसी योजना’मा ग्राहकहरूले बेनेली बाइकको खरिदमा १ लाख रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । याेजनाअनुसार बेनेली स्कूटर १२५ सिसी २ लाख ५० हजार रुपैयाँमा उपलब्ध हुनेछ भने बेनेली १८० एस ३ लाख ३० हजारमा किन्न सकिनेछ । ग्राहकहरूले १२ हजार रुपैयाँमा बेनेली ब्रान्डको हेलमेट निःशुल्क पाउनेछन् । साथै पुरानो बाइक एक्सचेन्ज गर्दा अतिरिक्त ३० हजार रुपैयाँको मूल्याङ्कन गरिनुका साथै सम्पूर्ण बीमा तथा आर्थिक वर्षको कर पनि कम्पनीले निःशुल्क रूपमा बेहोर्नेछ । केटीएम इन्टरनेसनल ट्रेडिङले बेनेली बाइकसँगै सुनरा इलेक्ट्रिक सवारीसाधनहरू पनि बिक्री गर्दै आइरहेको छ ।
नेपाली अर्थतन्त्र उकास्न एआईको भूमिका महत्वपूर्ण हुने सरोकारवालाको जोड
काठमाडौं। सूचना प्रविधिको युग सुहाउँदो नेपालको बिजनेसलाई थप बढाउन आर्टिफिसियल इन्टेलिजेन्सले महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरूले बताएका छन् । काठमाडौंमा सनवे कलेज र नेपाल चेम्बर अफ कमर्सको संयुक्तरूपमा आयोजना गरेको ‘एआई र डाटा साइन्सः एआई र डाटा विज्ञानः डिजिटल युगमा सशक्त बनाउँदै नेपाली व्यवसाय’ प्रदेशस्तरीय कार्यक्रममा बोल्दै सरोकारबालाले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले एआई नै अबको बिजनेस बढाउने साधन हुने जिकिर गरे । उनले भने, ‘यो डिजिटल दुनियाँमा अब एआईको जसले भरमग्दुर सदुयोग गर्नसक्छ, उसैको बिजनेसले फड्को मार्छ। त्यसकारण एआई प्रविधिलाई सदुपयोग गर्नुस् र फाइदा उठाउनुस् ।’ नेपाल चेम्बर अफ कमर्स, आइटी कमिटीका अध्यक्ष विज्ञानराज शर्माले नेपालका शैक्षिक क्षेत्रहरू एआईका रिसर्च र विकास गर्नका लागि ठूलो अवसर बन्न सक्ने बताए । उनले भने, ‘ एआईको रिसर्च र अनुसन्धान गर्नका लागि नेपाली शैक्षिक क्षेत्रलाई ठुलो अवसरको रुपमा आउनेछ । यसले प्रविधि र प्रडक्टलाई एकसाथ अगाडि बढ्न थप मद्दत गर्नेछ। साथै व्यापार र लगानी दुवै सुरक्षित बनाउन सहयोग हुनेछ ।’ अबको नेपाली अर्थतन्त्रलाई उकास्ने गरी उद्योग र विश्वविद्यालयको खाडल एआईले पूरा गरिदिने क्यान महासंघका महासचिव एव साइबर सेक्युरिटी विज्ञ चिरञ्जीवी अधिकारीको भनाइ छ । उनले भने, ‘भविष्यमा नेपाली अर्थतन्त्रलाई उकास्न र उद्योगहरूलाई चलायनमान बनाउन एआईको भूमिका महत्वपूर्ण हुनेछ जसमा विश्वविद्यालय क्षेत्र पनि संलग्नता हुनेछ । यसले उद्योग र शिक्षालाई आपसमा सँगसँगै लैजान पनि अहम भूमिका एआईले गरिदिनेछ ।’ यसले बजार, व्यापार र शिक्षाको लागि उर्वर रर ऊर्जावान बनाउने एआई एउटा महत्वपूर्ण कडीको रुपमा स्थापित हुने अधिकारीको भनाइ छ । यस्तै, वाइज याकका सहसंस्थापक डा. हेमन्त श्रेष्ठले एआईलाई स्थानीय उद्योगमा कसरी लागु गर्न सकिन्छ भनेर आफ्ना अनुभवहरू सुनाएका थिए । सामाजिक सुरक्षा कोषका निर्देशक डा. रोशन कोजुले डेटा साइन्सले सरकारलाई दिने दीर्घकालीन सेवा र फाइदाका बारेमा अनुभवहरू साटेका थिए । काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक डा. मनोज शाक्यले शैक्षिक क्षेत्र अब एआईका कारण खोज र अनुसन्धानमा लागेर उद्योगलाई सघाउन सक्ने अवसरको रूपमा परिवर्तन हुन सक्ने बताए । खल्तीका सीईओ विनय खड्काले भने एआईले नेपाली विजनेसलाई सजिलैसँग माथि उठाउन मद्दत गर्ने दाबी गरे । उनले यसको लागि खल्ती प्लेटफर्म नै अहिलेको महत्वपूर्ण पेमेण्डको रूपमा स्थापित भइरहेको पनि बताए । सन् २०१० मा स्थापना भएको सनवे कलेजले ४ वर्षे एआई र डेटा साइन्सको कोर्ष बेलायतको बर्मिङगन युनिभर्सिटीको सहकार्यमा अध्यापन गराउँदै आएको छ । जसमा एक वर्ष पेसागत सुरक्षा र उद्योग र शैक्षिक क्षेत्रको खाडललाई पुर्ने लक्ष्य रहेको छ ।
आरविवि म्युचुअल फण्डको लाभांश सिधै बैंक खातामा जम्मा
काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङले म्युचुअल फण्डका इकाईधनीहरूको बैंक खातामा लाभांश जम्मा गरेको छ । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालन भइरहेका आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले इकाईधनीलाई नगद लाभांश बैंक खातामा जम्मा गरेको हो । यी दुई म्युचुअल फण्डको कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक र योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ रहेको छ । दुईवटै योजनाले इकाईधनीलाई असोज ८ गतेबाट इकाईधनीहरूको हितग्राही खातामा अद्यावधिक बैंक खातामा आईपीएस मार्फत् लाभांश जम्मा गरेको हो । लाभांश जम्मा गर्दा नियमअनुसार लाग्ने कर कट्टा गरिने कम्पनीले जनाएको छ । आरविवि म्युचुअल फण्ड १ ले ३.८१ प्रतिशत र र आरविवि म्युचुअल फण्ड २ ले ८.७४ प्रतिशत इकाईधनीहरूलाई लाभांश वितरण गरेको हो । इकाई धितो राखेका इकाईधनीले प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्रै प्रतिफल जम्मा गरिने कम्पनीले बताएको छ ।
पूर्वअर्थमन्त्री महतको नीतिले ५० अर्बको गलैंचा उद्योग धराशायी
काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत अर्थशास्त्री पनि हुन् । उनले अमेरिकाको इलिनोइसको कर्बोन्डेलस्थित दक्षिणी इलिनोइस विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनी आर्थिक क्षेत्रको विज्ञ हुन् । तर, उनै विज्ञ अर्थशास्त्रीले गर्दा गलैंचा व्यवसायी धराशायी हुने अवस्थामा मात्र पुगेका छैनन्, यस क्षेत्र नै ध्वस्त हुने चिन्ता बढेको छ । तत्कालीन अर्थमन्त्री डा. महतले आफ्नाे कार्यकालमा गरेकाे गलत नीतिले निर्यात व्यवसायी धराशायी हुने अवस्थामा पुगेका हुन् ।आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत उनले निर्यात व्यवसायी र गलैंचा व्यवसायीको डाढ सेक्ने काम गरे । नेपालको चुलिँदो व्यापार घाटालाई मलहम लगाउने प्रयास गरिरहेको गलैंचा व्यवसायीलाई मूल्य अभिवृद्धि कर, भन्सार कर र निर्यात वस्तुमा पाइने अनुदान कटौती गरेर त्यस क्षेत्रलाई धराशायी बनाउन अर्थमन्त्री डा. महत उद्दत भए । गलैंचा बनाउन प्रयोग गरिने कच्चा पदार्थ ‘उल’ नेपालमा उत्पादन हुँदैन । यो तिब्बत र न्यूजिल्याण्डबाट आयात गरिँदै आइएकाे छ । नेपालमा उल भित्र्याइ गलैंचा बनाएपश्चात विदेशमा निर्यात हुन्छ । ९९ प्रतिशत गलैंचा विदेशमा नै बिक्री गरिन्छ । यसरी विदेशमा निर्यात हुने वस्तु निर्माणका लागि आयात गरिने कच्चा पदार्थ उल, सिलिकन आदिमा विगतका वर्षमा भन्सार कर लाग्ने थिएन । २०७९ चैत १७ गते अर्थमन्त्री बनेका डा. महतले ती कच्चा वस्तुको आयातमा कर लगाए । यसैगरी, सरकारले गलैंचाको ऊनी धागो कटाइ, रंगाइ, धुलाइ र बुनाइमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिँदै आएको थियो । जसले गलैंचा उद्योग निर्यातको एक खम्बाको रूपमा स्थापित भएको थियो । तर, अर्थका विज्ञ डा. महतले सो खम्बा ढाल्ने काम गरे । उनले आव २०८०/८१ को बजेटमार्फत गलैंचाको ऊनी धागो कटाइ, रंगाइ, धुलाइ र बुनाइमा मूल्य अभिवृद्धि लागू गरे । यसका साथै नेपालमा उत्पादन हुने वस्तु निर्यातबाट हुने आम्दानीमा लाग्ने कर ५० प्रतिशत छुट सरकारले दिँदै आएको थियो । तर, अर्थमन्त्रीले यस्तो छुट पनि नदिने नीति ल्याए । अर्थात गलैंचा व्यवसायीले निर्यातबाट हुने आम्दानीको कर शत प्रतिशत नै तिर्नुपर्ने व्यवस्था लादे । तत्कालीन अर्थमन्त्री डा. महतको नीतिको असर: डा. महतअघिका अर्थमन्त्रीहरूले गलैंचाकाे विषयमा केही हेरफेर गरेका थिएनन् । अझ उनीहरूले त निर्यात व्यवसायीलाई प्रोत्साहन हुने, अनुदान दिनेजस्ता उदाहरणीय काम गरेका थिए । डा. महतको उक्त नीतिले गलैंचा व्यवसाय पूर्णरूपमा ध्वस्त हुने व्यवसायीहरू बताउँछन् । निर्यात व्यवसायी महासंघ र नेपाली गलैंचा उत्पादक तथा निकासीकर्ता संघका संस्थापक अध्यक्ष रामबहादुर गुरुङले डा. महतको उक्त नीतिले गलैंचा व्यवसायी पलायन हुने, लाखौंको रोजगारी गुम्ने र निर्यात घट्नुका साथै व्यापार घाटा बढ्ने बताए । यसका साथै उनले हाल नेपाली गलैंचा उद्योगमा ५० अर्ब बढी लगानी रहेको बताउँदै उक्त ५० अर्बको उद्योग धराशायी हुने चिन्ता व्यक्त गरे । सरकारको उक्त नीतिले विदेशी गलैंचा उत्पादकसँग नेपाली उत्पादकले प्रतिस्पर्धा गर्न कठिन भएको अध्यक्ष गुरुङकाे भनाइ छ । भन्सार कर, मूल्य अभिवृद्धि र अनुदान कटौति गर्दा उत्पादन महँगो पर्न गएको उनले बताए । उत्पादन महँगो पर्दा त्यसको मूल्य पनि बढ्ने हुनाले अन्य देशका उत्पादकसँग प्रतिस्पर्धा गर्न कठिन रहेको उनले सुनाए । यस कारणले निर्यात पनि घटिरहेको, विदेशमा माग पनि घटेको उनकाे भनाइ छ । भन्सार विभागको तथ्यांकले पनि गलैंचा निर्यात परिमाण र निर्यात रकम दुवैमा घटेको देखाएको छ । विभागका अनुसार गलैंचा निर्यात परिमाण १५.८५ प्रतिशतले घटेको छ । आव २०७९/०८० मा ४ लाख ९२ हजार ३३५ स्क्वायर मिटर गलैंचा निर्यात भएको थियो । आव ०८०/८१ मा ४ लाख १४ हजार २९२ मिटर मात्रै निर्यात भयो । अर्थात, आव ०७९/०८० मा ११ अर्ब ५० करोड रुपैयाँको गलैंचा निर्यात भएकोमा आव २०८०/०८१ मा निर्यात ८.०८ प्रतिशतले घटेको विभागले जनाएको छ । विभागका अनुसार आव ०८०/०८१ मा निर्यात १० अर्ब ५७ करोडमा खुम्चिएको छ । रोजगारी घट्यो, व्यवसायी पलायन : नेपाली गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अनुसार आव २०७९/०८० मा गलैंचा उद्योग क्षेत्रमा ७ लाख बढीले रोजगारी पाएका थिए । तर, अहिले गलैंचाको माग र उत्पादन घटेसँगै रोजगारी पनि घटेको अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार पछिल्लो एक वर्षमा यस क्षेत्रमा २८ प्रतिशतले राेजगारी गुमेको छ । हाल गलैंचा उत्पादन उद्याेगमा ५ लाख जनाले मात्र रोजगारी पाएका छन् । रोजागारीसँगै व्यवसायी पनि पलायन हुने अवस्था आएको अध्यक्ष गुरुङले बताए । ‘८ सय जति व्यवसायी छन् । एक जना व्यवसायीले कम्तीमा १० करोड लगानी गरेको छ । उक्त लगानी भएका कारणले मात्र अहिलेसम्म व्यवसायी देखिने गरी पलायन भएका छैनन् । तर केही व्यवसायीले यस क्षेत्र छोडिसकेको अवस्था छ । सरकारको नीति नसच्चिए व्यवसायी पलायन तीव्र रूपमा हुन्छ, ’ उनले भने ।
केयूमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, २ सय विद्वान सहभागी हुने
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) मा २५औं अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलनको आयोजना हुने भएको छ । केयू र बहुजातीय साहित्यसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टी इथ्निक लिटरेचर अफ द वर्ल्ड (एमईएलओडब्ल्यू)’ को संयुक्त आयोजनामा सम्मेलन हुन लागेकाे हाे । सम्मेलन असोज ११ गतेदेखि १३ गते (सेप्टेम्बर २७ देखि २९, २०२४) सम्म हुनेछ । समय र स्थानको सीमा नाघ्दै साहित्यिक सम्बन्धहरूलाई सुदृढ पार्ने उद्देश्यकासाथ विश्वभरका सांस्कृतिक साहित्य अनुसन्धाता, लेखक, प्राध्यापक, समीक्षक र विद्यार्थीहरू सदस्य रहनेअन्तर्राष्ट्रिय संस्था एमईएलओडब्ल्यू सन् १९९७ मा स्थापना भएको थियाे । एमईएलओडब्ल्यूकी अध्यक्ष प्रा. मञ्जु जाइड्का भारतबाट विद्वानहरूको टोलीसहित नेपाल आइसकेकी छन् । सम्मेलनमा साहित्य र प्राकृतिक परिवेशको सम्बन्धलाई प्रगाढ रूपले चित्रण गर्दै प्राकृतिक परिवेशको बुझाइले मानव जीवनमा के-कस्ता प्रभाव पार्छन् भन्नेलगायतका विषयमा छलफल हुनेछ । यो अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनमा करिब ८० राष्ट्रिय १ सय २० अन्तर्राष्ट्रिय गरी जम्मा दुई सय सहभागीहरू रहनेछन् भने करिब १ सय २० वटा कार्यपत्रहरू प्रस्तुत हुनेछन् । सम्मेलनको उद्घाटनमा भारतको दिल्ली विश्वविद्यालयका प्रा. कृष्णन उन्नी र नेपालको सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. अम्मराज जोशीले मुख्य सम्बोधन गर्नेछन् । सम्मेलनमा साहित्य र यसको प्रकृतिसँगको सम्बन्धमा केन्द्रित रहेर प्रा. कृष्णचन्द्र शर्मा, प्रा. आनन्द शर्मा, प्रा.रामचन्द्र पौडेल र प्राध्यापक जीवलाल सापकोटा लगायतको समूह छलफल गर्नेछन् । प्रस्तुत कार्यपत्रहरूले वातावरण, पहिचान, आध्यात्मिकता, काल्पनिकता, वन-बाटिका, वन्यजन्तु तथा प्राकृतिक दृश्य र सौन्दर्य जस्ता उप-शीर्षकहरूमा भएका अनुसन्धानहरूको चर्चा गर्दै साहित्यिक कृति र जनजातीय परम्पराहरूको विभिन्न पृष्ठभूमिलाई उजागर गर्नेछ । सम्मेलनमा पहाड र पर्वतारोहण, समतल क्षेत्र र सम्भावनाहरू, मरुभूमि, उजाडपन, रहस्य, जोखिम, नदी र तिनिहरूका प्रतिबिम्बहरू, महासागरहरू तथा नियात्रा जस्ता विषयहरूसमेत समेटिनेछन् । सम्मेलनले साहित्य, संस्कृतिलगायत परिस्थिति र परिवेशको सम्बन्धलाई नयाँ बौद्धिक दृष्टिकोणबाट हेर्दै मानव, संस्कृति र पर्यावरणको सम्बन्धको खोज र विश्लेषणमा नयाँ दिशा दिने विश्वास लिइएको छ । यसका अलावा मान्छेहरूको आधुनिक प्रविधिसँग बढिरहेको निकटताबीचको सम्बन्धर विश्वभर फैलिएको व्यवसायिकीकरणको बढ्दो प्रभावलाई समेत सम्मेलनले प्राथमिकता दिने केयूले जनाएकाे छ ।