विकासन्युज

सिटी वालेटको चाडपर्व स्किम, प्रति रेमिट भुक्तानी गर्दा ७ सयसम्मको क्यासब्याक

काठमाडौं । सिटी वालेटले दशैंतिहार र छठ पर्वको अवसरमा विशेष योजना घोषणा गरेकाे छ ।  सिटी वालेटले ग्राहकले आफै रेमिट भुक्तानी गर्ने प्रक्रियालाई प्रोत्साहन गर्न क्यासब्याकसम्बन्धी विभिन्न स्किम घोषणा गरेको हो । ५ हजारभन्दा बढी रकमको रेमिटान्स सिटी पे वालेटमार्फत प्राप्त गर्दा सिटी पे प्रोमोकोड प्रयोग गरी २ सय रुपैयाँ रकम बराबरको बोनस ब्यालेन्स तथा हरेक दिन रेमिटान्स भुक्तानीमा पहिलो १८ ग्राहकलाई ५०० रुपैयाँ बराबरको बोनस गरी कुल ७  रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । विदेशस्थित सिटी एक्सप्रेसका पार्टनर रेमिट कम्पनीबाट सिधै वालेट लोड कारोवार गर्ने वालेटले समेत उक्त क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । साथै दशैंतिहारलाई लक्षित गरी आन्तरिक उडान बुकिङमा समेत आकर्षक क्यासब्याकको अफर ल्याइएको छ । सिटी पे एपमार्फत आन्तरिक उडानको टिकट बुकिङ गर्दा  फ्लाइट २०० प्रोमो कोड प्रयोग गरी ३०० रुपैयाँभन्दा बढीको क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ । सिटी वालेट प्राइभेट लिमिटेडका प्रमुख ब्यवसायिक अधिकृत प्रकाश चालिसेले चाडबाडको समयमा ग्राहकहरूका लागि आकर्षक अफरहरू राखेकाे बताए । सिटी पे वालेटमार्फत सिटी एक्सप्रेस मनी ट्रान्सफर , कुमारी रेमिट, नविल रेमिट , सिद्धार्थ रेमिट, सिटिजन रेमिट, एभरेष्ट रेमिट, पृथ्वी रेमिटलगायतका रेमिट भुक्तानी गर्न सकिन्छ ।

अध्यागमनको छवि सुधार गर्न आवश्यक छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक टिकाटिप्पणी हुने गरेको उल्लेख गर्दै उनले यसतर्फ सचेत हुन आग्रह गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखकले अध्यागमन कार्यालयका बारेमा नागरिकको राम्रो बुझाइ नभएको उल्लेख गर्दै यहाँ हुने कुनै पनि किसिमका अवाञ्छनीय गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे । विमानस्थलमा कार्यरत अन्य सरकारी संयन्त्रसित समन्वय गरेर काम गर्न उनले अध्यागमनका कर्मचारीहरुलाई निर्देशन दिए । ‘अन्तर्राष्ट्रिय विमानस्थल देशको ऐना हो, यहाँ आउने नागरिकले नेपाल हेर्ने यहीँ हो । बाहिर जाने नागरिकले पनि नेपालको व्यवहार देख्ने यहीँ नै हो’, गृहमन्त्री लेखकले भने । अध्यागमनका कर्मचारीको व्यवहार सौहार्दपूर्ण, सहिष्णु, नरम र सेवामुखी हुन जरुरी रहेको उनको भनाइ थियो । सो अवसरमा त्यहाँ कार्यरत अध्यागमनका कर्मचारीहरुले अध्यागमन कार्यालयका लागि विमानस्थलभित्र ठाउँ अभाव र विभिन्न भौतिक संरचना सुधारको आवश्यकता रहेको उल्लेख गर्दै कर्मचारीलाई समयक्रमअनुसार तालिम तथा प्रशिक्षण आवश्यक रहेको गृहमन्त्री लेखकलाई अवगत गराएका थिए । गृहमन्त्री लेखकका साथमा गृहसचिव गोकर्णमणि दुवाडीसमेत रहेका थिए ।

सेलिब्रेटी हुनुको मजा नै बेग्लै, पारसले पाए ७५ लाख पर्ने दीपल सित्तैमा

काठमाडौं । सेलिब्रेटी बन्न गाह्रो । सेलिब्रेटी बनिसकेपछि  विभिन्न अवसरले घेर्छन् । नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्काको हकमा पनि यो लागू भएको छ । ‘म विगत ६/८ महिनादेखि नयाँ कार किन्ने सोचमा थिए । अबको समय विद्युतीय कारको हो भन्ने लागेको थियो । मैले विभिन्न कारहरू हेरें । मलाई दीपल मन पर्‍याे, ’ पारस खड्काकै शब्द थिए । राजधानीको मेरियट होटलमा आयोजित पत्रकार सम्मेलनमा खड्का आफ्ना विचार राख्दै थिए । ‘गाडीको लुक्स गज्जब छ । कार स्मूथ र कम्फर्टेबल पनि छ । कारमा हुनुपर्ने तर नभएको सुविधा केही पनि छैन, ’ उनले भने । दुई हप्तादेखि यो कार नियमित चढ्न थालेको पनि खड्काले सुनाए । ‘म अग्लो मान्छे, ६.२ फिट अग्लो छु । कारको अगाडि सिटमा बस्दा पनि, पछाडिको सिटमा बस्दा पनि आरामदायी लाग्यो । पावर पनि राम्रो छ । फ्यामली कार हो । पाँचजनाले आरामसँग यात्रा गर्न मिल्छ, ’ उनले भने । ‘कारको मूल्य पनि सस्तो लाग्यो । कम्पनीले ३० प्रतिशत बढी मूल्य राखेको भए पनि ग्राहकको रोजाइमा यो कार पर्दथ्यो होला । राम्रो पनि, सस्तो पनि भएर होला, नेपालको अटो बजारमा दीपल धेरैको रोजाइमा छ, ’ उनले थपे । रोचक विषय यो हो कि खड्काले दीपल कारको मूल्य कम भएको टिप्पणी गरेका थिए । त्योभन्दा रोचक कुरा उनले दीपल एस ०७ कार लिँदा मूल्य नै हाल्नु परेको रहेनछ । दीपलको ब्राण्ड एम्बेस्डर घोषणा कार्यक्रम थियो । ब्राण्ड एम्बेस्डर बन्ने बनाउने विषयमा दीपल कारको लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि र पारस खड्काबीच सम्झौता कार्यक्रमपछि खड्का बोल्दै थिए । सेलिब्रेटी खेलाडी वा कलाकारलाई ब्राण्ड एम्बेस्डर बनाउँदा कर्पोरेट हाउसहरूले उनीहरूलाई राम्रो मूल्य तिर्छन् । तर त्यो मूल्य सार्वजनिक गर्न ब्राण्ड एम्बेस्डर बन्नेले पनि मान्दैनन्, कर्पोरेट हाउसले पनि मान्दैनन् । कम्पनीको क्षमता र कलाकारको ख्यातिका आधारमा ब्राण्ड एम्बेस्डरको शुल्क तोकिन्छ । ब्राण्ड एम्बेस्डर कति अवधिका लागि पनि भनेर तोकिन्छ । सामान्यत: कम्पनीहरूले ब्राण्ड एम्बेस्डरसँग १/२ वर्ष अवधिका लागि करार गरेका हुन्छन् । त्यस अवधिका लागि ५ लाखदेखि ५० लाख रुपैयाँसम्म शुल्क कलाकारले लिने गरेको पाइन्छ । कुनै कम्पनी र कलाकारबीच लामो समय ब्राण्ड एम्बेस्डरमा सहकार्य पनि भएको पाइन्छ । खड्काले एमएबडब्लु वृद्धिसँग लामो समय सहकार्य गर्न चाहेको बताए । ब्राण्ड एम्बेस्डर बनेबापत कम्पनीले खड्कालाई कुनै रकम नदिई दीपल एस ०७ दिएको हो । कम्पनीले कारको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । एमएबडब्लु वृद्धिकी बजार प्रमुख पुनम सिंहका अनुसार खड्का दीपलको ब्राण्ड एम्बेस्डर भएर दीपलसँग सहकार्य गरेवापत उक्त कार हस्तान्तरण गरिएको बताइन् । त्यसवापत खड्काबाट कम्पनीले कुनै भुक्तानी लियो कि लिएन भन्ने प्रश्नमा उनले भनिन्, ‘कुनै भुक्तानी लिएको छैन । हामीले खड्कालाई ग्राहक बनाएका होइनौं, ब्राण्ड एम्बेस्डर बनाएका हौ ।’ उनले यसलाई भुक्तानी लिएको वा उपहार दिएको भन्नेभन्दा पनि दुई पक्षबीचको सहकार्य भएको रूपमा बुझ्नु पर्ने बताइन्। ‘कुनै कम्पनीले ब्राण्ड एम्बेस्डरसँग ५०/६० प्रतिशत छुट दिने र बाँकी पैसा लिने गरेको पनि हामीले सुनेका छौं । तर पैसा लिएपछि ग्राहक हुन्छ, ब्राण्ड एम्बेस्डर हुँदैन । हामीले ब्राण्ड एम्बेस्डरसँग पैसा लिएका छैनौं, ‘ कम्पनीका उच्च अधिकारीले भने । कम्पनीका प्रबन्ध निर्देशक विवेक शिकारियाले खड्कालाई ब्राण्ड एम्बेस्डरमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए ।

बंगलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने

काठमाडौं । बंगलादेशको केन्द्रीय बैंकले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पुर्याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि गर्ने घोषणा गरेको छ । बंगलादेश बैंकका गभर्नर अहसान एच मन्सुरले सोमबार ढाकामा आयोजित पत्रकार सम्मेलनमा नीतिगत दरमा वृद्धि र अन्य मौद्रिक नीतिमा कडाइ गर्न लागिएको जानकारी दिए । उनले भने, ‘हामी यो सातासम्ममा यसलाई बढाउनेछौँ र अर्को महिना फेरि यसलाई समायोजन गरिनेछ ।’ केन्द्रीय बैंकले गत महिना मौद्रिक नीतिमा परिवर्तन गरेको थियो । बैंकले अन्य बैंकका लागि उपलब्ध गराउने ब्याजदर (रिपो रेट)मा वृद्धि गरेको थियो । मुद्रास्फीतिलाई नियन्त्रण गर्न वाणिज्य बैंकहरूले केन्द्रीय बैंकबाट लिने ऋणलाई ५० आधार बिन्दुले बढाएर ९ प्रतिशत पुर्याएको थियो । बंगलादेशको मुद्रास्फीति अगस्टमा केही घटेर १०.४९ प्रतिशतमा झरेको थियो तर जुलाईमा ११.६६ प्रतिशतको उच्च रेकर्डपछि लगातार दोस्रो महिना दोहोरो अंकमा कायम रहेको थियो ।

आन्टरप्रेनर समिट हुँदै, एशिया प्यासिफिक क्षेत्रका उद्यमी र लगानीकर्ता पनि आउने

काठमाडौं । नेपालको प्रविधि कम्पनी स्वीभ्ट र इन्भेस्टियाको सहकार्यमा आन्टरप्रेनर समिट नेपाल २०२४ आयोजना हुने भएको छ । असोज १९ गते शनिबार काठमाडौंको सोल्टी होटलमा सम्मेलन आयोजना हुन लागेकाे हाे । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूको सहभागी हुने बताइएको छ । कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका उद्यमी, लगानीकर्ता र व्यवसायिक नेतृत्वकर्ता लगायत उपस्थित हुनेछन् । नेपालमा विदेशी लगानी र अवसरहरू सिर्जना गर्न समिट महत्त्वपूर्ण हुने आयोजकको विश्वास छ । सम्मेलनमा एक्सिलेरेट भेन्चर्सका सह–संस्थापक र प्रबन्धक साझेदार लिओ लिउ, एसिया सीईओ कम्युनिटी हङकङका संस्थापक र सिईओ ग्यारी लाम, एक्सिलेरेट, हङकङका लविन हेलमानी र फिनटेक ग्लोबल बैंकिङ सोलुसन्स बेलायतका माइकल होलगायत अन्तर्राष्ट्रिय वक्ताको रूपमा आउँदैछन् । साथै सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र लगानी बोर्डका सिईओ सुशील ज्ञवाली पनि सहभागी हुने अपेक्षा गरिएको छ । उद्यमशीलताका बारेमा छलफल हुने कार्यक्रममा हङकङ, सिंगापुर, भारत र नेपालका प्रतिष्ठित व्यवसायिक व्यक्तित्वहरू पनि सहभागी हुनेछन् । यसले स्टार्टअप संस्थापक, व्यवसायिक नेतृत्वकर्ता र लगानीकर्ताहरूलाई नेटवर्किङ, रणनीति साझेदारी र सहकार्यको अवसर प्रदान गर्ने आयोजकले जानकारी दिएको छ। स्वीभ्टले गत वर्ष फिनटेक सम्मेलनको रूपमा पिएसपी सम्मेलन २०२३ आयोजना गरेको थियो । सो सम्मेलनमा इसेवा, खल्ती, फोनपे, मोरु, डिजिपे, सिजीपे, आईपे जस्ता प्रमुख फिनटेक कम्पनीहरू र नबिल बैंक, ग्लोबल बैंक, सिटिजन बैंक जस्ता ठूला वित्तीय संस्थाहरूले भाग लिएका थिए । यस पटकको उद्यमी शिखर सम्मेलन २०२४ मा नेपालको स्टार्टअप इकोसिस्टमलाई विश्वव्यापी मञ्चमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्र बैंकल नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गरेको हो । राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांकको लागि यसअघि २०७१/७२ लाई आधार वर्ष मानेर गणना हुँदै आएकोमा अब परिवर्तन गरी यो वर्षबाट २०८०/८१ लाई नयाँ आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले उपभोगको प्रवृत्ति, मूल्य संकलन केन्द्र विस्तार गरी ७७ जिल्लाको ८७ मूल्यभार पाँच वर्षमा परिवर्तन हुनुपर्ने मान्यताअनुसार आधार वर्ष परिवर्तन गरेको बताएको छ । पहिले प्रयोग नहुने वस्तु प्रयोग हुने र विगतमा प्रयोग हुने वस्तु अहिले प्रयोग नहुँदा हटाउनुपरेका कारण आधार वर्ष परिवर्तन भएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । उनले परिवर्तन गर्न खाजेका कुराहरु अहिले नै पूर्ण नहुने भन्दै परिवर्तन निरन्तरको प्रक्रिया भएको बताए । उपभोक्ता मूल्य सूचकांकमा केही तल माथि भए आगामी दिनमा सुधार गर्दै लैजाने जानकारी दिए । यस्तै, उनले उपभोक्ता मूल्य सूचकांक मार्केट सेन्टरहरु बढेर गएका, ५० जिल्ला मात्रै समेटिएकोमा अहिले सबै जिल्ला समेटिएको भएको बताए । ४९६ वस्तुहरुको मूल्य संकलन गरिने भएपनि अहिले ५२५ पुर्याइएको बताए । ‘उपभोक्ता मूल्य सूचकांक’ उपभोगको प्रवृत्ति भएको परिवर्तन र समयाअनुकलका मूल्यहरुलाई पनि समावेश गराएर डाइनामिक बनाउन खोजिएको जानकारी दिए । उनले उपभोगको प्रवृत्ति, मूल्य संकलन केन्द्र विस्तार र वस्तुको वास्तविक मूल्य समावेश गर्नेगरी उपभोक्ता मूल्य सूचकांक बनेको बताए । उनले बजार मूल्यसँग राष्ट्र बैंकले प्रकाशित गर्ने मूल्य मिल्दोजुल्दो नभएको भन्ने सन्दर्भमा समग्र वस्तुको मूल्यको आधारमा मूल्य सूचकांक निकालिने हुँदा त्यस्तो देखिएको जानकारी दिए । ‘एउटा मात्रै वस्तुको मूल्य १० रुपैयाँले बढ्यो र अन्य कुनैपनि वस्तुको मूल्य परिवर्तन भएन मसिनो चामलको मात्रै एक वर्षमा १० मूल्य बढ्यो भने समग्र सूचकांकमा १ प्रतिशत भन्दा तल बढ्यो । तर बजारमा प्रश्न आउन सक्छ । यो परिवर्तनसँगै विगतको भन्दा वास्तविकता हुनेछ’, उनले भने । संघीय संरचनाअनुसार तथ्यांक संकलन गर्न आधार वर्ष परिमार्जन भएकाले नयाँ आधार वर्षमा उपभोक्ता मूल्य सूचकांक गणनामा परिमार्जन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । त्रिभुवन विश्वविद्यालय तथ्यांक विभाग, केन्द्रिय तथ्यांक कार्यालय र राष्ट्र बैंकको संयुक्त कमिटीले उपभोक्ता मूल्य सूचकांक तयार गरेको हो । राष्ट्र बैंकका अनुसार १ लाख २ हजार भन्दा बढी मूल्यका भार अंकसहित औसत निकालेर उपभोक्ता मूल्य सूचकांक निकालिन्छ । ५ सय २५ वस्तु तथा सेवाको मूल्यका आधारमा नयाँ मूल्य सूचकांक निकालिने गरेको जनाएको छ ।

‘सबै लगानीकर्ता मिलेर सेयर बजारमा सुझबुझ ढंगबाट कारोबार गरौं’

काठमाडौं । लगानीकर्ताहरूले सेयर बजारलाई प्राकृतिक ढंगले सञ्चालक हुन दिन माग गरेका छन् । जनरल इन्भेस्टर एसोसिएन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । विगत केही दिनदेखि नेपालको पुँजी बजार दिनानुदिन अप्राकृतिक तवरबाट लगातार घटाइएकोमा उनीहरूले गम्भीर ध्यानाकर्षण गराएका हुन् । पुँजी बजार यसरी अप्राकृतिक ढंगबाट घट्नुपर्ने कुनै मौलिक तथा तथ्यपरक आधारहरू नरहेको उनीहरूको भनाइ छ । ‘यस सम्बन्धमा लगानीकर्ताहरूले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, नेपाल स्टक एक्सचेन्जमा आफ्ना गुनासा राखिसकेकोले तत्काल छानबिन गर्न हामी सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । पुँजी बजारलाई स्वतन्त्र र निष्पक्ष ढंगबाट सञ्चालन गर्न र आमलगानीकर्ताको अधिकारको सुनिश्चितता गर्न नियमनकारी निकायबाट यथाशीघ्र पहल गर्नसमेत उनीहरूले आग्रह गरेका छन् । ‘आमलगानीकर्ता कसैको लहलहमा नलागी सुझबुझ ढंगबाट कारोबार गर्न र पुँजीबजार सुधारका लागि एकजुट भएर अगाडि बढ्नसमेत अनुरोध गर्दछौं,’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

एडीबीको प्रक्षेपण- मुद्रास्फीति ५ प्रतिशतभित्रै सीमित गर्ने राष्ट्र बैंकको लक्ष्य हासिल हुनसक्छ

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेकाे छ । जुन प्रक्षेपण आर्थिक वर्ष २०८०/८१ को अनुमानित ३.९ प्रतिशतभन्दा माथि हाे । एडिबीको पछिल्लो प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकले अर्थतन्त्र विस्तार हुने जनाएकाे हाे । ‘आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवाहरूको पुनरुत्थानले कुल ग्राहस्थ उत्पादन (जीडीपी) बढ्नेछ,’ नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आनो कोश्वाले भने । एसियन डेभलपमेन्ट आउटलुकका अनुसार सामान्य मनसुनसँगै समयमै धान रोपाइँ सम्पन्न भएकाले कृषि क्षेत्रको वृद्धि खाद्य भित्र्याउने समयकाे अनुकूलतामा निर्भर रहनेछ । आउटलुकले विद्युत् उत्पादन क्षमतामा वृद्धि भएसँगै औद्योगिक वृद्धिलाई टेवा दिने जनाएकाे छ । यसैगरी, पर्यटकको आगमनमा वृद्धिले विभिन्न गतिविधि वृद्धिमा सहयोग पुग्न गई सेवा क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ । त्यस्तैगरी, एडीबीले लचक मौद्रिक नीति, पुँजीगत बजेटको खर्चलाई तीव्रता दिने योजनासँगै आन्तरिक मागमा थप सुधार हुनुका साथै थोक एवं खुद्रा व्यापार, यातायात र भण्डारण तथा घरजग्गा जस्ता व्यावसायिक गतिविधि सुदृढ हुने अपेक्षा गरेकाे आउटलुकले जनाएकाे छ । चालु आर्थिक वर्षमा मुद्रा स्फीति ५ प्रतिशतभित्रै सीमित गर्ने नेपाल राष्ट्र बैंकको लक्ष्य हासिल हुनसक्ने एडीबीले जनाएकाे छ । त्यस्तै, व्यापार घाटामा गिरावट, उत्साहवर्द्धक विप्रेषण आप्रवाह र पर्यटक आगमनमा वृद्धिले गत आर्थिक वर्ष २०८०/८१ मा नै बाह्य क्षेत्रमा सुदृढ देखिएको छ । यद्यपि, आर्थिक वर्ष २०८१/८२ मा चालु खाता घाटा कुल ग्राहस्थ उत्पादनको एक प्रतिशतसम्म पुग्नसक्ने एडीबीकाे प्रक्षेपण छ । जुन गत आर्थिक वर्षमा अर्थतन्त्र पुनरुत्थान तथा विप्रेषण आप्रवाहमा मध्यम सुधारसँगै ३.९ प्रतिशतले बचतमा रहेको थियो । त्यस्तैगरी, एडीबीले मध्यपूर्वमा कुनै पनि भूराजनीतिक तनाव गहिरिएको खण्डमा नेपालको विप्रेषण आयमा असर पर्नुका साथै इन्धन र खाद्यान्नको मूल्यमा वृद्धि हुनसक्ने पनि बताएकाे छ । साथै विश्वव्यापी आर्थिक मन्दीले पर्यटन आयलाई समेत असर गर्न सक्छ0 । त्यस्तै, प्राकृतिक विपद् तथा जलवायु प्रकोपहरू नेपालको आर्थिक वृद्धिमा चिरस्थायी जोखिमका रूपमा रहेकाे आउटलुकमा उल्लेख छ । एडीबी समृद्ध, समावेशी, उत्थानशील र दिगो एसिया तथा प्रशान्त क्षेत्रको विकासमार्फत् चरम गरिबी निवारणको पहललाई जारी राख्न प्रतिवद्ध छ । सन् १९६६ मा स्थापना भएको एडिबीमा ६८ सदस्यहरूको स्वामित्व रहेको छ र ती मध्ये ४९ एसिया तथा प्रशान्त क्षेत्रमा छन् ।