विकासन्युज

सांग्रिला डेभलपमेन्ट बैंकको साइकल र्‍यालीमा १५ सय जनाको सहभागिता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आयोजना गरिएको चौथो ‘सांग्रिला साइकल र्‍याली’ सम्पन्न भएको छ । विश्व वातावरण दिवस को अवसर पारेर जेठ २३ गते काठमाडौंमा आयोजना गरिएको उक्त र्‍यालीमा करिब १५ सय जनाको सहभागिता रहेको थियो । काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनबाट सुरु भएको र्‍याली नारायणचौर, दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, माइतीघर मण्डल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जैनभवन, नक्साल भगवती र भाटभटेनी हुँदै बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालय पुगेर पुनः एलिस रिसेप्सनमै टुंगिएको थियो । करिब १४ किलोमिटर दूरी तय गरिएको उक्त र्‍यालीले काठमाडौंका मुख्य सडकहरू समेटेको थियो । कार्यक्रममा सहभागीहरूलाई बैंकका सञ्चालक समिति सदस्य लिसा शेरचनले स्वागत गरेकी थिइन् । साथै, लक्की ड्रमार्फत विजेता बनेकी अञ्जु पराजुली लाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ ले साइकल हस्तान्तरण गरेका थिए । कार्यक्रममा अन्य सहभागीहरूलाई पनि लक्की ड्रमार्फत विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । वातावरण संरक्षणका साथै साइकल संस्कृतिको विकास गर्ने उद्देश्यसहित बैंकले २०७९ सालदेखि नियमित रूपमा साइकल र्‍याली आयोजना गर्दै आएको जनाएको छ । बैंकका अनुसार आम नागरिकको विश्वासका आधारमा हाल देशभर १०९ शाखा कार्यालय र ३० एटीएममार्फत सेवा प्रवाह भइरहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउँदै आगामी दिनमा सेवा विस्तार गर्ने प्रतिबद्धता पनि बैंकले व्यक्त गरेको छ ।  

वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो

काठमाडौं । विश्व व्यापार सङ्गठनले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण चुनौतीहरू देखिए पनि सन् २०२६ को पहिलो छ महिनामा विश्वव्यापी वस्तु व्यापार मजबुत रहेको छ । कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी लगानी र माग बढेकाले व्यापारलाई सहयोग पुगेको बताइएको छ । विश्व व्यापार संगठनको नवीन वस्तु व्यापार सूचकाङ्क १०१ दशमलव ७ मा पुगेको छ, जुन जनवरी महिनाको १०२ दशमलव ३ भन्दा केही कम हो । यसले आगामी दिनमा वस्तु व्यापारको वृद्धि दर केही सुस्त हुन सक्ने सङ्केत गरेको छ । सूचकाङ्क १०० भन्दा माथि रहँदा व्यापार औसत प्रवृत्तिभन्दा राम्रो रहेको जनाउँछ भने १०० भन्दा तल रहँदा व्यापार कमजोर हुन सक्ने सङ्केत मानिन्छ । प्रतिवेदनअनुसार कृत्रिम बुद्धिमत्तासम्बन्धी लगानीका लागि आवश्यक विद्युतीय पुर्जाको माग उल्लेखनीय रूपमा बढेको छ । यसले मध्यपूर्व द्वन्द्वबाट उत्पन्न नकारात्मक प्रभावलाई केही हदसम्म कम गरेको छ । सूचकाङ्कका विभिन्न अवयवमध्ये विद्युतीय पुर्जा सम्बन्धी सूचक १०५ दशमलव ५ मा पुगेको छ, जुन औसत स्तरभन्दा उल्लेखनीय रूपमा माथि रहेको बताइएको छ । अन्य अधिकांश सूचकहरू भने १०० को आसपास रहेका छन् । निर्यात आदेश सम्बन्धी सूचक १०० दशमलव ५ मा कायम रहेको छ, जसले अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक संकेत देखाएको छ । गत चैतमा सार्वजनिक गरिएको विश्व व्यापार पूर्वानुमान तथा तथ्याङ्क प्रतिवेदनमा सन् २०२६ मा विश्वव्यापी वस्तु व्यापार १ दशमलव ९ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा सुस्त वृद्धि हो । विश्व व्यापार संगठनले ऊर्जा मूल्य निरन्तर बढिरहेमा व्यापार वृद्धि दर १ दशमलव ४ प्रतिशतमा झर्न सक्ने जनाएको छ । तर कृत्रिम बुद्धिमत्तामा लगानी निरन्तर बढेमा वृद्धि दरमा थप शुन्य दशमलव ५ प्रतिशत बिन्दुको योगदान हुन सक्ने उल्लेख गरिएको छ । रासस    

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा विश्व वातावरण दिवसमा वृक्षारोपण अभियान

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले शनिबार कीर्तिपुरस्थित आदिनाथ सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ । उक्त कार्यक्रममा करिब ३५० जना कर्मचारी तथा स्थानीय समुदायको सहभागिता रहेको थियो । कार्यक्रममा फलफूल दिने, फूल फुल्ने तथा छायाँ दिने विभिन्न प्रजातिका करिब ५०० बिरुवा रोपिएको बैंकले जनाएको छ । यस अभियानको उद्देश्य स्थानीय हरियाली अभिवृद्धि गर्नु, जैविक विविधता संरक्षणमा टेवा पुर्‍याउनु तथा दीर्घकालीन वातावरणीय दिगोपनामा योगदान गर्नु रहेको छ । कार्यक्रमको सुरुवात गोरख राणा (सीईओ तथा हेड अफ कभरेज, एससीबीएनएल) र केदार बस्नेत (अध्यक्ष, आदिनाथ सामुदायिक वन उपभोक्ता समूह) ले संयुक्त रूपमा पहिलो बिरुवा रोपेर गरेका थिए । यस अवसरमा राणाले हरित भविष्यका लागि स्वयंसेवामा सक्रिय रूपमा सहभागी भएकोमा कर्मचारीहरूलाई धन्यवाद दिँदै भने, 'यस वर्ष स्ट्यान्डर्ड चार्टर्ड बैंकमा कर्मचारी स्वयंसेवाको २० वर्ष पूरा भएको छ । हामी गर्वका साथ भन्न सक्छौँ कि यी वर्षहरूमा एससीबीएनएलका कर्मचारीहरूले ललितपुर जिल्लामा, कीर्तिपुर क्षेत्रसमेत समेट्दै, करिब ४० हजार बिरुवा रोप्न सहयोग गरेका छन् । आजको प्रयासले मात्र नभई दीर्घकालीन प्रभावमा समेत योगदान पुर्‍याउँदै आएको छ, जुन प्रत्येक वर्षसँगै बढ्दै गएको छ । प्रत्येक रूख केवल हरियाली मात्र होइन यो आशा, जिम्मेवारी र भविष्यका पुस्ताप्रतिको हाम्रो प्रतिबद्धताको प्रतीक हो ।' वार्षिक रूपमा आयोजना हुने यस वृक्षारोपण कार्यक्रमले बैंकको भविष्यका पुस्तामा लगानी गर्ने प्रतिबद्धता तथा वातावरण संरक्षणप्रतिको संस्कारलाई थप सुदृढ बनाएको छ । 

एनआईसी एशिया बैंकद्वारा सामाजिक सहयोग, आश्रयस्थल र विद्यालयलाई सामग्री हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न परोपकारी संस्था तथा विद्यालयहरुलाई सहयोग सामग्री प्रदान गरेको छ । बैंकले झापा जिल्लाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित ‘हाम्रो साझा घर’ लाई फर्निचर उपलब्ध गराएको छ भने बारा जिल्लाको निजगढस्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र झापाकै मेचिनगरस्थित श्री अरनिको माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको जनाएको छ । जेठ २१ गते आयोजित कार्यक्रममा बैंकका केन्द्रीय सञ्चालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेन राज सुब्बाले ‘हाम्रो साझा घर’ की अध्यक्ष विष्णु दिदी कार्कीलाई बेड हस्तान्तरण गरेका थिए । उक्त संस्थामा हाल ४४ भन्दा बढी असहाय, अशक्त तथा वृद्ध व्यक्तिहरूलाई आश्रय दिइँदै आएको छ । त्यसैगरी, जेठ २२ गते सम्पन्न कार्यक्रममा वीरगञ्ज सर्कल हेड गोपाल प्रसाद सुवेदीले सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकारलाई ल्यापटप र प्रोजेक्टर हस्तान्तरण गरेका थिए । सोही दिन आयोजित अर्को कार्यक्रममा केन्द्रीय सञ्चालन विभाग प्रमुख श्रेष्ठ र सर्कल हेड सुब्बाले अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईलाई स्मार्टबोर्ड र ल्यापटप प्रदान गरेका थिए । सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा २६३ भन्दा बढी र अरनिको माध्यमिक विद्यालयमा ३५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । बैंकका अनुसार, ‘हाम्रो साझा घर’ लाई उपलब्ध गराइएको सहयोगले आश्रित व्यक्तिहरूको दैनिक जीवन सहज र स्वस्थकर बनाउन मद्दत पुग्नेछ । साथै विद्यालयहरूलाई प्रदान गरिएको शैक्षिक सामग्रीले डिजिटल सिकाइ प्रवर्द्धन, विद्यार्थी सहभागिता वृद्धि तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।    

क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिएकी छन् । औषधि व्यवस्था विभागको अनुगमनपछि उहाँले क्यान्सरलगायत औषधिको अभाव हुन नदिन निर्देशन दिएकी हुन् ।           उनले हालसम्म औषधि आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन पेस गरेका तर अनुमति नपाएका कम्पनीको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिइन् ।      साथै, मन्त्री मेहताले  विभागको नियमन क्षमता वृद्धि गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले विभागलाई प्रभावकारी बनाउन तत्काल गर्नुपर्ने सुधारका लागि आवश्यक स्रोतसाधन र जनशक्तिको विवरण अविलम्ब पेस गर्न आग्रह निर्देशन दिएकी छन् ।      मन्त्री मेहताले सरकारबाट निःशुल्क वितरण गरिने औषधि र स्वास्थ्य बीमाअन्तर्गत उपलब्ध गराइने औषधीको गुणस्तर परीक्षणलाई जोड दिने गरी आवश्यक व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएकी छन् ।      विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले विभागका कामकारबाहीबारे जानकारी गराएकी थिइन् ।    

विद्युतीय गाडी प्रकरणमा अफवाह फैलाइएको भन्दै अर्थ मन्त्रालयको आपत्ति

काठमाडौं । बजेट घोषणा अघि केही भन्सार नाकाबाट विद्युतीय कार जाँचपास भएको विषयलाई लिएर फैलाइएको अफवाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि गरिएको चरित्र हत्याप्रति अर्थ मन्त्रालयले आपत्ति जनाएको छ । मन्त्रालयका अनुसार रसुवागढी नाकामा भन्सार बिन्दुमै नआएका सवारी साधनको जाँचपास भएको भन्ने विषयमा गठित छानबिन समितिको सिफारिसअनुसार जेठ २० गते प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीबाट मुक्त गरी भन्सार विभाग तानिएको छ । उक्त घटनामा थप अनुसन्धान भइरहेको जनाइएको छ । त्यस्तै, मुस्ताङको कोरोला नाकाबाट जाँचपास भएका कारको विषयमा पनि मन्त्रालयले स्थलगत छानबिन अघि बढाएको छ । अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली फिल्डमै खटिएर अनुसन्धान गरिरहेको मन्त्रालयले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा भन्सार छलीको आशंकामा केही सवारी साधन र आयातकर्ता कम्पनीमाथि निगरानी तथा अनुसन्धान जारी रहेको छ । विस्तृत विवरण भने छानबिनपछि सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले छानबिन जारी रहँदै गर्दा अर्थमन्त्री र जिम्मेवार अधिकारीहरूविरुद्ध भ्रामक प्रचार, मिडिया ट्रायल तथा बजेटलाई विवादमा पार्ने उद्देश्यले गरिएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्ता गतिविधिमा संलग्न केही व्यक्तिविरुद्ध कानुनी प्रक्रिया सुरु भइसकेको र अन्यविरुद्ध पनि आवश्यक कानुनी कदम चालिने तयारी भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ।  साथै, अर्थ मन्त्रालयले सम्बन्धित विषयमा धारणा बनाउँदा आधिकारिक स्रोतसँग तथ्य पुष्टि गर्न र प्राविधिक विषयमा यथार्थ जानकारी लिएर मात्र समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यम तथा सरोकारवालासँग अनुरोध गरेको छ ।  

अनुमति लिएर पनि आपूर्ति नगर्ने आपूर्तिकर्तामाथि कारबाही गर्न मन्त्रीको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले औषधि आपूर्ति, वितरण तथा नियमन प्रणालीलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् । औषधि व्यवस्था विभाग तथा राष्ट्रिय औषधि प्रयोगशालाको स्थलगत अवलोकनका क्रममा मन्त्री मेहताले हाल बजारमा देखिएको औषधि अभाव तत्काल समाधान गर्न आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएकी हुन् । उनले अनुमति प्राप्त गरे पनि नियमित आपूर्ति नगर्ने आपूर्तिकर्तामाथि कडा नियमन गर्न समेत जोड दिइन् । साथै, औषधि आपूर्ति तथा वितरणका लागि निवेदन दिएका तर अनुमति प्राप्त गर्न बाँकी रहेका कम्पनीहरूको स्थलगत निरीक्षण तथा आवश्यक जाँचबुझ गरी प्रक्रिया छिटो अघि बढाउन उनले निर्देशन दिएकी छन् । मन्त्री मेहताले विभागको नियामक क्षमता अभिवृद्धि गर्न आवश्यक सबै कदम चाल्ने तयारी गर्न पनि आग्रह गरिन् । त्यस्तै, औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज र गुणस्तरीय बनाउन आपूर्ति अनुमति प्रक्रिया प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन तथा जनशक्तिको विवरण तत्काल पेश गर्न निर्देशन दिइएको छ । त्यसैगरी, नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधि तथा स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध औषधिहरूको गुणस्तर परीक्षणलाई थप कडाइका साथ अघि बढाउन आवश्यक व्यवस्था गर्न पनि मन्त्रालयले जोड दिएको छ ।

बजेटमा स्पष्टता छैन : वर्षमान पुन

काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा स्पष्टता नरहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले बजेटमा विभिन्न विषयहरू समेट्ने प्रयास गरिएको भए पनि समग्र संरचना हेर्दा यसलाई केही हदसम्म ‘पपुलिस्ट’ प्रकृतिको देख्न सकिने बजेट स्पष्ट रुपमा कुनै क्षेत्रमा फोकश हुन नसकेको बताए ।  पुनले पपुलिजमको विशेषता सबैलाई कर्णप्रिय लाग्ने खालका कार्यक्रम प्रस्तुत गरेको बताउँदै ती कार्यान्वयनमा कत्तिको सम्भव हुन्छन् भन्नेबारे स्पष्टता नहुने बताउँदै सरकारले ल्याएको बजेट पनि त्यस्तै रहेको बताए । बजेट निर्माणमा सबै राष्ट्रिय दलहरूले उठाउँदै आएका विषयहरूलाई समेटिएको देखिए पनि सरकारको आफ्नै स्पष्ट राजनीतिक दृष्टिकोण र प्राथमिकता भने पर्याप्त रूपमा नदेखिएको बताए । उनकाअनुसार धेरै कार्यक्रमहरू विगतका सरकारहरूले अघि सारेका आयोजना तथा नीतिहरूको निरन्तरताजस्तै देखिन्छन् । पूर्वअर्थमन्त्री पुनले भने–‘बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ । तर हाम्रो वैचारिक आलोचना के हो भने यो दृष्टिकोण केही हदसम्म ‘पपुलिस्ट’ प्रकृतिको देखिन्छ । पपुलिजमको विशेषता भनेको सबैलाई कर्णप्रिय लाग्ने कुरा गर्ने, तर ती कुरा व्यवहारमा पूरा हुन्छन् वा हुँदैनन् भन्ने विषयमा पर्याप्त स्पष्टता नहुनु हो । यो बजेट निर्माण गर्दा पनि सबै राष्ट्रिय दलहरूले उठाउँदै आएका विषयहरूलाई समेट्ने प्रयास गरिएको छ ।’ पूर्वअर्थमन्त्री पुनले मुख्य प्रश्न सरकारको प्राथमिकतासँग सम्बन्धित रहेको बताए । उनकाअनुसार बजेट सुन्दा र हेर्दा सबै विषय समेटिएको जस्तो लागे पनि त्यसले अपेक्षित परिणाम दिने स्पष्ट रणनीति, प्राथमिकता र केन्द्रित दृष्टिकोण भने देखिँदैन ।