१८औँ नाडा अटो शो : इभीदेखि ह्युमनोइड रोबोटसम्म एउटै छानामुनि

काठमाडौं । भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने १८औँ नाडा अटो शोमा विद्युतीय सवारीसाधनसँगै अत्याधुनिक जी१ ह्युमनोइड रोबोट र गो२ क्वाड्रुपेड रोबोट मुख्य आकर्षणका रूपमा प्रस्तुत हुने भएका छन् ।

नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) को स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना हुन लागेको यस वर्षको अटो शोले सवारीसाधनको प्रदर्शनीसँगै विद्युतीय सवारीको बढ्दो प्रयोग, चार्जिङ पूर्वाधार र नयाँ नीतिगत व्यवस्थाबारे पनि छलफल गर्ने मञ्च तयार गर्ने आयोजकले जनाएको छ ।

नेपालमा हालसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिसकेका छन् । निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा देशभर करिब दुई हजार चार्जिङ स्टेसन सञ्चालनमा आइसकेका छन् । नेपालमा भित्रिने विद्युतीय सवारीमध्ये ८० प्रतिशतभन्दा बढी चीनबाट र बाँकी अधिकांश भारतबाट आउने गरेका छन् ।

नाडाका अनुसार नेपालमा विद्युतीय सवारीको विस्तार चार्जिङ पूर्वाधारको विकासभन्दा धेरै छिटो भएको छ। यही विषयलाई केन्द्रमा राख्दै अटो शोमा गाडी, चार्जिङ प्रविधि र वित्तीय सेवासम्बन्धी कम्पनीलाई एउटै स्थानमा ल्याएर छलफल गराइनेछ ।

अटो शोमा विभिन्न मूल्य र वर्गका विद्युतीय तथा हाइब्रिड सवारी प्रदर्शन गरिनेछन् । बीवाईडी, लीपमोटर, जिली, एमजी, वुलिङलगायतका ब्रान्डका इभी प्रदर्शनीमा रहनेछन् । दुईपाङ्ग्रेतर्फ रिभोल्ट र नेपालमै डिजाइन तथा एसेम्बल हुने यात्रीका विद्युतीय मोटरसाइकल पनि सहभागी हुनेछन् ।

चार्जिङ पूर्वाधारतर्फ जीआई चार्जर आधिकारिक चार्जिङ पार्टनरका रूपमा रहनेछ । यसका साथै एक्सिकम, जेभपोइन्ट र एयरचार्जले एसी र डीसी चार्जिङ प्रणाली प्रदर्शन गर्नेछन् ।

नाडाका अध्यक्ष करण चौधरीका अनुसार नेपालमा विद्युतीय सवारी चार्जिङ पूर्वाधारभन्दा छिटो विस्तार भएको वास्तविकतालाई स्वीकार गर्दै अटो शोले त्यसबारे व्यावहारिक र खुला छलफलको वातावरण बनाउनेछ ।

यस वर्षको अटो शोमा विद्युतीय सवारीमा लागू भएको नयाँ कर प्रणालीबारे पनि विशेष चासो रहनेछ । मोटरको किलोवाट क्षमताका आधारमा लाग्ने कर हटाएर मूल्यका आधारमा लागू गरिएको ‘क्लिन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट लेभी’ को प्रभावबारे उद्योगी, आयातकर्ता र सरोकारवालाबीच छलफल हुने कार्यक्रम छ ।

Share News