कुमारी बैंक र ट्रष्ट माइक्रोबीच सम्झौता, सजिलो तरिकाले लघु बीमा सेवा प्रदान गर्ने
काठमाडौं । कुमारी बैंक र ट्रष्ट माइक्रो इन्स्योरेन्सबीच सम्झौता भएको छ । बैंक र ट्रष्ट माइक्रो इन्स्योरेन्सबीच ग्राहकहरूलाई सहज तवरले लघु बीमा सेवा प्रदान गर्ने सम्झौता भएको हाे । ट्रष्ट माइक्रो इन्स्योरेन्ससँगको सम्झौतामा अब कुमारी बैंकले ग्राहकहरूको घर, सवारी साधन, व्यवसाय साथै अन्य सम्पत्तीहरूको सरल तरिकाले लघु बीमा गराउन सक्नेछन् । लघु बीमा विशेष गरी न्यून आय भएका व्यक्तिहरूको आर्थिक सुरक्षाको लागि र अनिश्चित परिस्थितिहरूबाट जोगिनका लागि हो । लघु बीमाले ग्राहकहरूलाई आर्थिक घाटाको सामाना गर्न र कुनै कारणबस भएको क्षतीलाई पुनः प्राप्ति गर्न मद्दत दिलाउँने कम्पनीको भनाई छ । नेपालका नागरिकलाई किफायती र सुलभ लघु बीमाका साथ सशक्त बनाउँदै, लचिलोपन निर्माण गर्दै र सबैका लागि वित्तीय सुरक्षातर्फको बाटो प्रज्वलित गर्दै, नेपालमा अग्रणी भुमिका खेल्दै गरेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले अघिल्लो सालबाट आफ्नो कारोबार सुरु गरेको कम्पनीले बताएको छ ।
बाढीले बल्खु तरकारी बजारमा ३ करोडको क्षति
काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा केही दिनअघिको वर्षाका कारण ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ । १५ रोपनी क्षेत्रफलमा फैलिएको बजार सूर्यकमल प्रालिले सञ्चालन गर्दै आएको छ । यो बजार बागमती र बल्खु खोलाको प्रभाव क्षेत्रमा पर्छ । बजारमा करिब ५ सय थोक तरकारी तथा कृषि सामग्री बिक्री कक्ष रहेको प्रालिका लेखापाल रेशव जोशीले जानकारी दिए । अविरल वर्षापछि आएको बाढीले बजार क्षेत्र अस्तव्यस्त छ । बजारमा अझै हिलो पन्छ्याउने कार्य जारी छ । चार वर्षदेखि यहाँ थोक पसल चलाइरहेका गोपाल कटुवालले दशैंका लागि २० लाख रुपैयाँको सामान राखेकामा बाढीले सबै नष्ट गरेको बताए । बचेको केही सामान जम्मा गरेर हिलो पखालिरहेको उनले सुनाए ।
दशैंमा घर जान दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट
काठमाडौं । नेपालीहरूको महान् पर्व दशैं, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार ९ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो संख्यामा अग्रिम टिकट बिक्री भएको हो । सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो । यातायात व्यवस्था विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघकाे गत साता बसेको बैठकले गत शनिबारदेखि लामो दुरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो । नयाँबसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लका अनुसार असोज १२ गते १८ हजार तीन सय ६५ र असोज १३ गते ११ हजार पाँच सय ९० यात्रुले अग्रिम टिकट लिएका थिए । सरकारले सुदूरपश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्यूठान, रुकुम, रोल्पालगायतका स्थान तथा पूर्वको काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगरलगायतका स्थानमा जाने यात्रुलाई अग्रिम टिकट दिन सुरु गरेको हो । पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङ, म्याग्दी, स्याङ्जा, नुवाकोट, रसुवालगायतका छोटो दुरीमा जाने सवारीसाधनको टिकट भने चाँडै खुला गर्ने सरकारको तयारी छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले दशैं मनाउन घर जाने यात्रुलाई सुरक्षित तवरले गन्तव्यस्थलमा लैजान महासंघ लागिपरेको बताए । वर्षाका कारण तीन दिनदेखि काठमाडौंमा रोकिएका सार्वजनिक सवारीसाधान क्रमशः नयाँ बसपार्कबाट गन्तव्यस्थलतर्फ जान थालेका छन् । दशैंमा २० लाखभन्दा बढी यात्रु प्रत्येक वर्ष उपत्यकाबाट बाहिरिने गरेको तथ्यांक छ ।
१० वर्ष विदेश बसेका इञ्जिनियर सुदर्शन, बुवासँगै राजमार्गमा गाउँले स्वाद पस्किँदै
गण्डकी । झरी थामिएपछि आज घमाइलो बिहानमा मनहरि भण्डारी गोठबाट गाई दुहेर घर फर्कदैँ थिए । यत्तिकैमा हामीले उनलाई सोध्यौँ, ‘गाईले कति दूध दिन्छ बुबा ?’ ६० वर्षीय भण्डारीले भने, ‘एक साँधमा चार लिटर, दिनको १२ माना जति हुन्छ ।’ यति भनिसक्दा बाल्टीको दूध कुँडेमा खनाएर उनी अगेनातिर गए । फलामको कराइमा रैथाने बोकाको पाकिरहेको मासु विस्तारै चलाउँदै भण्डारीले सुनाए, ‘यो चुलोमा खाना पकाउन लागेको २० वर्ष भयो, सबै खानेकुरा दाउराको आगोमा पकाउँछौँ ।’ भान्छाको काम छिमल्दै उनले केहीबेर हामीसँग कुराकानी गरे । ‘पुरानो घरमा किराना र कपडा पसल थियो, पछि खाजाघर सञ्चालन गर्ने सोच आयो, यहाँ आएपछि चिनारी र सफलता दुवै मिल्यो ।’ मध्यपहाडी राजमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नागडाँडाका भण्डारीले २२ वर्षअघि यो घर किन्दा वरिपरि वनपाखा मात्र देखिन्थ्यो । पक्की घर बनिसकेका थिएनन् । धवलागिरि क्षेत्र जोड्ने उक्त राजमार्ग भएकाले सो क्षेत्र हुँदै यात्रुको आवातजावत भने बाक्लै हुन्थ्यो । नजिकैको पर्यटकीय सहर पोखराबाट घुमफिरका लागि पनि मनिस नागडाँडासम्म पुग्थे । पुर्खौँली थलो नजिकै राजमार्गछेउ घर किनेका भण्डारीले राजमार्गका यात्रु र अन्य पाहुनालाई लक्षित गाउँले प्रकृतिको खाजाघर सञ्चालन गरे । ‘हाम्रो भण्डारी खाजाघर’का नाममा रहेको उक्त खाजाघरलाई कतिपयले ‘भण्डारी बा’को खाजाघर पनि भन्छन् । पाको उमेरमा खाजाघरमा गाउँले स्वाद पस्किरहेका उनले २० वर्षदेखि राजमार्गका पाहुनाको मन जितिरहेका छन् । राजमार्गमा यात्रुको चापसँगै पर्यटकीय गतिविधि बढेपछि खाजाघरको क्षमता विस्तार गर्दै लगेको उनले बताए । यात्रुदेखि अन्य पाहुना त्यहाँको रैथाने जातको बोका र कुखुराका परिकारमा बढी लोभिने गर्छन् । खानादेखि खाजाका सबै परिकार दाउराको आगोमा पकाएर पस्कने गरेको भण्डारीले बताए । जैविक र गाउँले स्वादका कारण उक्त खाजाघर ग्राहकको रोजाइमा परेको हो । ‘स्थानीय खानाका परिकार पाहुनालाई टकार्छौँ’, उनले भने, ‘भात पनि रैथाने जेठोबुढो, पहेँलेलगायत चामलको पकाउँछौँ ।’ खाजाघरमा पाइने तातो दूधले पनि पाहुनालाई लोभ्याउने गरेको छ । स्थानीय किसानकहाँबाट ल्याइने भैँसी र गाईको दूध पाहुनाले स्वाद मानेर खान्छन् । खाजाघरमै बसेर दूध पिउनेदेखि किनेर घरमा लैजानेसम्मको सुविधा रहेको उनको भनाइ छ । मासु, तरकारी लाई चाहिने मरमसला पनि सिलौटौमा पिन्ने गरेको उनले सुनाए । लसुन, प्याज पनि गाउँघरकै प्रयोग गर्ने गरिएको भण्डारीले सुनाए । यामअनुसार गाउँमा उब्जेकोतरकारी पनि उनले बिक्रीमा राख्दै आएका छन् । लेकाली निगुरो, काँक्रो, घिरौँलालगायत हरियो तरकारी अहिले पनि बेचिरहेको भण्डारीले बताए । ‘बजारबाट हामीले धेरै सामान किन्दैनौँ, भान्छामा अधिकांश थानीय उत्पादनको प्रयोग हुन्छ’, उनले भने, ‘ग्राहकले हाम्रो खाना र आतिथ्यता संस्कारलाई मन पराइदिनुभएको छ, यसमै हामी खुसी छौँ, व्यवसायबाट हाम्रो परिवार सन्तुष्ट छ ।’ खाजाघरमा मासुभातको चार सय ५० रुपैयाँ र मासु चिउराको दुई सय ५० रुपैयाँ मूल्य तोकिएको छ । पाहुनाको माग हुँदा अन्य हलुका चियाखाजा पनि उपलब्ध गराउने गरेको भण्डारीले बताए । भण्डारीलाई व्यवसायमा श्रीमती चन्द्रकला, छोरा सुदर्शन, सुनिल र बुहारी बिमलाले सघाउँदै आएका छन् । दैनिक एक सयभन्दा बढी पाहुनालाई खाजाघरले सेवा पुर्याउँदै आएको छ । ‘धेरैजसो यहाँ खाजाका लागि आउनुहुन्छ, खाना खानेको सङ्ख्या केही कम छ’, भण्डारीका छोरा सुनिलले भने, ‘विशेष गरी दाउराको चुलोमा पाक्ने स्थानीय जातको बोका र कुखुराका परिकार पाहुनाको रोजाइमा पर्ने गरेको छ ।’ इञ्जिनियर विषयको पढाइ पूरा गरिसकेका सुनिल पनि अहिले बुबासँगै सोही व्यवसायमा जोडिएका छन् । दसवर्ष विदेश बसेर फर्किएका भण्डारीका जेठा छोरा सुदर्शन पनि अहिले घरमै बसेर सोही व्यवसायमा हातेमालो गरिरहेका छन् । ‘घरपरिवारको राम्रो साथ र सहयोग छ’, भण्डारीले भने, ‘भान्छामा म आफै पकाउँछु, मैले नभ्याउँदा श्रीमतीले सघाउँछिन्, छोराछोरी पनि काममा उत्तिकै खटिन्छन् ।’ ६० वर्षको उमेरमा पनि उनले व्यवसायप्रति देखाएको लगाव र परिश्रमलाई धेरैले प्रशंसा गर्ने गरेका छन् । उनको प्रेरणाबाट सो क्षेत्रमा अन्य व्यवसायीलले पनि खाजाघर सञ्चालनमा ल्याएका छन् । ती खाजाघरले पनि मौलिक ढंगबाट व्यवसाय प्रवद्र्धन गरिरहेका छन् । ‘हामीले सुरुमा खाजाघर सञ्चालन गर्दा यहाँ यतिधेरै घर पनि बनेका थिएनन्, अहिले खाजाघर पनि थपिएका छन्, यस क्षेत्रको व्यवसाय विस्तार हुँदै गएको छ’, भण्डारीले भने । रासस
भारतमा एकै महिना ३५ लाख विवाह हुँदै, ५९ खर्बको व्यापार हुने
काठमाडौं । भारतमा आगामी नोभेम्बरदेखि विवाहको सिजन सुरु हुँदैछ । यस पटक विवाह समारोह नोभेम्बर १२ देखि १६ डिसेम्बर २०२४ सम्म चल्ने छ । यस अवधिमा भारतभरि करिब ३५ लाख विवाह हुने अनुमान गरिएको छ । यी विवाहमा कुल ४२ खर्ब ५० अर्ब भारु खर्च हुने अनुमान गरिएको छ । कन्फेडेरेसन अफ अल इन्डिया ट्रेडर्स (सीएआईटी) ले गरेको एक अध्ययन अनुसार भारतको खुद्रा क्षेत्र (जसमा सामान र सेवा दुवै समावेश छ) ले यो विवाह सिजनमा ५९ खर्ब रुपैयाँको व्यापार गर्ने अनुमान गरेको छ । देशभरि अनुमानित ३५ लाख विवाहको साथ यो सिजनले आर्थिक वृद्धिको कोशेढुंगा बन्न सहयोग पुग्ने बताइएको छ । गत वर्ष पनि ३५ लाख विवाह गरेर कुल व्यापार ४२ खर्ब ५० अर्बकै भएको थियो । यो वर्ष बिहे गर्नेको संख्या अलि बढी छ । सन् २०२३ मा ११ वटा बढी विवाह मुहुर्त परेकोमा यस वर्ष १८ वटा मुहुर्त परेका छन् । जसका कारण व्यवसायमा थप वृद्धि हुने अनुमान छ । नयाँदिल्लीमा मात्रै यस सिजनमा ४ लाख ५० हजार विवाहबाट १५ खर्ब रुपैयाँको व्यापार हुने अनुमान गरिएको छ । विवाह हरेक वर्गका मानिसबीच हुने गर्छ । तर, सबैले समान खर्च गर्दैनन् । कतिपय विवाहमा करोडौं रुपैयाँ खर्च हुन्छ भने कतिपय विवाह दुई–तीन लाख रुपैयाँमा पनि सम्पन्न हुन्छन् । सीएआईटीका अनुसार यस वर्ष धेरैजसो विवाहमा ३ देखि १५ लाखसम्म खर्च हुनेछ । करिब सात लाख विवाह यस्ता हुनेछन् जसमा २५ लाख रुपैयाँ खर्च हुनेछ । ५०–५० हजार यस्ता विवाह हुनेछन्, जसमा ५० लाख र १ करोडभन्दा बढी खर्च हुनेछ । यस्तै, भारत सरकारले यस वर्ष सुन आयात शुल्क १५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको छ । यसले सुनको माग बढ्ने अनुमान गरिएको छ । सुन भारतमा धार्मिक र सामाजिक रूपमा धेरै महत्त्वपूर्ण छ । मानिसहरूले यसलाई लगानीको रूपमा पनि हेर्छन् । सुनको माग बढेसँगै खुद्रा बजारमा पनि बलियो देखिएको छ । जब मानिसहरूले विवाह र चाडपर्वहरूमा खर्च गर्छन्, खुद्रा, अतिथि सत्कार, गहना र अटोमोबाइल क्षेत्रहरू लाभान्वित हुन्छन् । यी सबै क्षेत्रले आर्थिक विकासमा योगदान पुर्याउँछन् । माग बढेसँगै कम्पनीको नाफा पनि बढ्छ । यसले कम्पनीको सेयर मूल्य बढ्ने छ । यसले समग्र देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ । भारतमा यो विवाहको सिजन खुसीको समय मात्र होइन, यो अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण छ । विवाहको समयमा हुने खर्च र बढ्दो माग सबै क्षेत्रका लागि फाइदाजनक छ । यसले नयाँ रोजगारीका अवसरहरू पनि सिर्जना गर्दछ । एजेन्सी
सेयर बजारमा ४४ अंकको वृद्धि, कारोबार रकममा भने गिरावट
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजारमा उत्साह देखिएको छ । लामो समयदेखि ओरालो लागिरहेको बजारमा सोमबार भने ४४ अंकको वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८. ८६ को विन्दुमा पुगेको छ । सोमबार ३१९ कम्पनीका ५० हजार ६ सय ८० पटकको कारोबारमा ९७ लाख १७ हजार ९ सय ५९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार रुपैयाँ मात्र रहेको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम घटेको छ । आइतबार ४ अर्ब ५ करोड ५ लाख कारोबार रकम रहेको थियो । सोमबार २१० कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको घटेको छ भने १ को स्थिर रहेको छ । यस दिन म्युचुअल फन्ड सामान्य घट्दा अन्य १३ उपसमूहमा हरियाली देखिएको छ । सीइडीबी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सर्वाधिक कारोबार पनि सोही कम्पनीको भएको छ । यस्तै यस दिन एनएलजी इन्स्योरेन्सको मूल्य ४.६ प्रतिशत घटेको छ ।
काठमाडौंका बाढी पीडितको गुनासो : मेयर बालेनले वास्तै गरेनन्
काठमाडौं । काठमाडौंका सुकुम्वासी बस्तीका बाढी पीडितहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको आलोचना गरेका छन् । सोमबार बिहान काठमाडौंका थापाथलीस्थित सुकुम्वासी बस्तीमा बाढीको पीडाले टोलाइरहेका नागरिकहरूले आफूहरुलाई पीडा पर्दा पनि काठमाडौं महानगरपालिकाका वास्ता नगरेको भन्दै पीडा पोखेका हुन् । उनीहरुले हालसम्म स्थानीय वडाले खानाको व्यवस्था गरे पनि अरु केही पनि सहयोग कसैबाट नभएको गुनासो गरे । काठमाडौं महानगरपालिकाले गरिबलाई उठिवास लगाउने काम मात्रै गरिरहेको उल्लेख गर्दै स्थानीय दलमर्दन कामीले सरकारले आफूहरूको पीडालाई तत्काल सम्बोधन गर्नुपर्ने बताए । कतैबाट पनि केही सहयोग नआएको अवस्थामा आफूहरुको खाने, बस्ने लगायतका व्यवस्था सरकारले गर्नुपर्ने उनको भनाई थियो । कामीले भने, ‘सरकार हाम्रो अभिभावक हो । जहाँसम्म यो सुकुम्वासी बस्तीको व्यवस्थापन कसरी गर्ने भन्ने विषय यो सरकारको हातको कुरा हो । सरकार नै जिम्मेवार हुनुपर्छ भन्नेकुरा हो ।’ पीडितहरूले सरकारले सेवा सुविधा दिने कुरा सुनिएपनि हालसम्म नपाएको पनि बताएका छन् । वडाले खाना खुवाउने काम गरेको भएपनि अन्य सुविधा केही पनि नपाउँदा समस्या भएको उनीहरूको भनाई थियो । सरकारले आफूहरूको खाने, बस्ने, शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था मिलाए सो सुकुम्वासी बस्ती छोड्न आफूहरू तयार रहेको स्थानीय हरिमाया जिम्बाले बताइन् । उनले भनिन्, ‘हिउँदमा खोलाको गन्ध आउँछ, वर्षाभरी खोलाको डर हुन्छ । हामी बाध्यतावस बसेका हौ । सरकारले गाँस, बास, शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नुपर्छ ।’ अविरल वर्षासँगै काठमाडौं उपत्यकाका खोला किनारका बस्तीहरुमा पनि ठूलो जनधनको क्षति भएको छ । तर पीडितलाई राहत दिने काममा भने सरकारले कुनै चासो नदिएको पीडितहरुको गुनासो छ । उनीहरुले तत्काल राहतका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबारदेखि घरेलु उद्यमी मेला र दशैं महोत्सव आयोजना हुँदै
काठमाडौं । ‘स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आगामी बुधबारदेखि राजधानीमा कृषि तथा घरेलु उद्यमी मेला र दशैं महोत्सव २०८१ आयोजना हुने भएको छ । यसअघि असोज १३ गते आइतबार तय भएको मेला प्राकृतिक प्रकोपबाट निम्तिएको विपद्को कारणले गर्दा १६ गते बुधबारबाट गर्न लागिएको आयोजक पक्षले जनाएको छ । घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रुपमा राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा उक्त मेला आयोजना गर्न लागिएको हो । घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव तथा मेला संयोजक जितेन्द्र कुमार श्रेष्ठले महानगरपालिकसँगको सहकार्यमा असोज १६ देखि २३ गतेसम्म काठमाडौं जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरुको काठमाडौं जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागिएको बताए । काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरूको सहभागितामा आयोजना गरिने औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरूको सहभागिता रहने उनले बताए । लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्तालगायतका ७० वटा स्टलका साथै अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका आकर्षणको रुपमा रहेको उनले जानकारी दिए ।