कफीखेतीप्रति किसानको बढ्यो आकर्षण, गत वर्ष डेढ करोडको कफी उत्पादन
चौतारा । यहाँका किसान कफीखेतीतर्फ आकर्षित भएका छन् । एकपटक रोपेपछि ३५–४० वर्षसम्म उत्पादन प्राप्त हुने भएकाले किसान कफीखेतीतर्फ आकर्षित भएका हुन् । गत आर्थिक वर्षमा जिल्लामा एक करोड ३२ लाख रुपैयाँ मूल्य बराबरको ३० मेट्रिक टन कफी उत्पादन भएको थियो । उत्पादित कफीमध्ये ‘ए’ ग्रेडको ‘पार्चमेण्ट ग्रिनवीच’ कफी प्रतिकिलो आठ अमेरिकी डलरमा कोरिया, अष्ट्रेलिया र जापानमा गरी १० दशमलव तीन मेट्रिक टन निर्यात भई बाँकी स्वदेशमा नै खपत हुने गरेको जिल्ला कफी सहकारी संघकी अध्यक्ष मन्दु थापाले जानकारी दिइन् । कफीखेतीबाट जिल्लाका किसानले वार्षिक ६० हजारदेखि एक लाख २५ हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएपछि खाद्यान्न बालीको तुलनामा यसतर्फ अभिरुचि देखाउन थालेका थापा बताउँछिन् । कफीको बिरुवालाई छहारीको आवश्यकता पर्ने हुँदा केराखेती, फलफूल र खाली जमिनमा अदुवा, खुर्सानी तथा बेसारखेती गर्न सकिने हुँदा अतिरिक्त आम्दानी गर्न सकिन्छ । कफी सदावहार बिरुवा भएकाले यसले वातावरण स्वच्छ राख्न र भूक्षय रोक्नसमेत सघाउ पुर्याउँछ । सन् २००८ मा जिल्ला कफी सहकारी संघ स्थापना भएदेखि यहाँ उत्पादित कफी विदेश निर्यात हुन थालेको हो । जिल्लामा १२ स्थानीय तहमध्ये लिसङ्खुपाखर, पाचँपोखरी थाङपाल गाउँपालिकाबाहेक सबैमा कफीखेती विस्तार गरिएको छ । यहाँको हावापानीअनुसार सबैभन्दा उत्तम मानिने बोर्न प्रजातिको अराविक कफीको बिरुवा लगाइएको छ । सिँचाइ र छहारीको कमी भएका केही ठाउँका पुराना बोटमा हाल सेतो गवारो लागेपछि जैविक विधिबाट उपचार भइरहे पनि पूर्ण रूपमा नियन्त्रण हुन नसकेको उनी बताउँछिन् । कफीका दाना मङ्सिरदेखि चैतसम्म टिप्ने गरिन्छ । जेठसम्म सबै सङ्कलन भएपछि अरु काम गरिन्छ । यस कार्यमा संलग्न महिला र पुरुष ३०–३२ जनाले रोजगारी पनि पाएको संघले जनाएको छ । परम्परागत खेती गर्दै आएका किसान अहिले कफीखेतीमा आकर्षित भएका छन् । एकपटक रोपेपछि ४० वर्षसम्म उत्पादन दिने भएकाले पनि किसानले कफीखेती रोजेका हुन् । पछिल्लो समय जिल्लामा किसानलाई बगैँच सुधार, आम्दानीमा बढावा हुने उपाय, रोग लागेका त्यसको समाधानबारे जानकारी दिन थालिएपछि कफीखेतीमा किसानको झुकाव बढेको हो । अरनिको कृषि तथा पशुपालन फार्मले किसानलाई व्यावसायिक बनाउन सहजीकरण गरिरहेको छ । फार्मले किसानलाई बिरुवा उपलब्ध गराउनेदेखि कफी खरिद गरिदिने गरेको फार्मका व्यवस्थापक दीपेन्द्र घलेले जानकारी दिए । फार्ममा छ हजार बोटको बगैँचा पनि छ । आफैँले निर्माण गरेको नर्सरीबाट बिरुवा उत्पादन गर्ने गरेको उनी बताउँछन् । उनले स्थानीय तहदेखि विभिन्न संस्थासँगको समन्वयमा किसानलाई कफीखेतीबारे तालिम, अन्तर्क्रिया गरेर क्षमता अभिवृद्धि गर्ने गरेको सुनाए । कफीखेतीमा किसान लागेपछि गाउँको बाँझो जमिन सदुपयोग भएको छ । कफीखेतीमार्फत अर्थतन्त्रमा नगन्यमात्रामा भए पनि टेवा दिन राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया तथा कफी विकास कार्यालयले पनि किसानलाई प्राविधिक सहयोग गर्न थालेको छ । उक्त कार्यालयका कृषि प्राविधिक एकराज सञ्जेलले गाउँका किसानलाई कफीखेतीको उपयोगिताबारे जानकारी दिने गरेको बताए । उनले कफीका लागि सिन्धुपाल्चोकको जलवायु र माटो उपयुक्त भएको बताए । सिन्धुपाल्चोकमा उत्पादित कफी जापान, कोरियालगायत देशमा निर्यात हुँदै आएको कृषि ज्ञान कार्यालयले जनाएको छ । रासस
पर्सामा बने दुई अस्पताल, दुई अधुरै
वीरगञ्ज । संघीय सरकारले पर्सामा चारवटा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरेकामा हालसम्म दुई अस्पताल भवनमात्र निर्माण छन् भने दुईवटाको काम अधुरै छ । पटेर्वा सुगौली गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आइसकेको छ भने र ठोरी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न भएर रङरोगनको काम भइरहेको छ । पटेर्वा सुगौलीमा निर्माण भएको आधारभूत अस्पतालबाट सेवा प्रवाह भइरहेको छ । पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेशकुमार चौधरीले निरन्तरको पहलकदमीका कारण आधारभूत अस्पताल भवन निर्माण गरेर सेवा प्रवाह भएको बताए । ठोरी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवनमा धमाधम रङरोगनको काम भइरहेको छ । उक्त गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरीको १५ शय्याको अस्पताल भवन निर्माण प्रायः पूरा भएको बताए । पर्सामा निर्माण हुनुपर्ने अन्य दुई आधारभूत अस्पतालको काममा भने प्रगति भएको छैन । धोबिनी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल निर्माणमा ढिलासुस्ती भएको छ । धोबिनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहानले पालिकामा निर्माणाधीन आधारभूत अस्पतालको भौतिक प्रगति २५ प्रतिशत भएको बताए । यसैगरी जिराभवानीमा निर्माणाधीन १० शय्याको अस्पतालको प्रगति पनि २० प्रतिशतभन्दा अधिक भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा २०७७ साल मङ्सिर १५ गते मुलुकभरका तीन सय ९६ वटा पालिकामा पाँचदेखि १५ शय्याको आधारभूत अस्पताल निर्माणको एकसाथ शिलान्यास गरेका थिए । त्यसबेला तीन सय ९६ वटा अस्पताल दुई वर्षभित्रै निर्माण सम्पन्न गर्न ५८ अर्ब रुपैयाँ बजेट लाग्ने बताइएको थियो । सरकारले सुरुमा १५ शय्याको अस्पतालका लागि १८ करोड छ लाख ८२ हजार रुपैयाँ, १० शय्याका लागि १० करोड ८३ लाख ३६ हजार रुपैयाँ र पाँच शय्याको अस्पतालको लागि सात करोड ११ लाख ९७ हजार रुपैयाँ लाग्ने बताएको थियो । रासस
सिरिजंगा गाउँपालिका वडाध्यक्षले हङकङबाट पठाए राजीनामा
फुङ्लिङ । विगत ११ महिनादेखि हङकङमा रहेका सिरिजंगा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिएका छन् । वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै उनले यही असोज १८ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । विसं २०८० कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित उनले जनताको सेवा गर्न नसकेकामा दुःख व्यक्त गर्दै आफ्नो जिम्मेवारी कार्यवाहक वडाध्यक्षलाई सुम्पिएको राजीनामामा उल्लेख गरेको जिल्ला निर्वाचन आयोगले जनाएको छ । हालै स्थानीयले वडाध्यक्ष बोखिमको अनुपस्थितिका कारण विकास र प्रशासनिक काममा बाधा उत्पन्न भएको भन्दै निजमाथि कारबाहीको माग गर्दै गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानलाई ज्ञापनपत्र बुझाएका थिए ।
बाढीबाट मधेसमा साढे ५ अर्ब बढीको क्षति, भोकमरी हुने चिन्ता
धनुषा । हालैको बाढीपहिरो र डुबानबाट मधेसमा व्यापक क्षति भएको छ । प्रारम्भिक विवरणअनुसार पशुपक्षी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन र कृषि पूर्वाधार पाँच अर्ब रुपैयाँ बढीको हानी भएको छ । अन्न भण्डारका रूपमा परिचित मधेसका धानखेत डुबेका छन् । बाला लागेको धान डुब्दा किसान चिन्तित छन् । माछा पोखरी डुब्दा करोडौँको क्षति भएको कृषि विज्ञहरूले बताएका छन् । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मनसुनजन्य विपद्बाट सिर्जित परिस्थितिका सन्दर्भमा छलफल गरी छिटोभन्दा छिटो कृषि क्षेत्रको क्षतिका तथ्याङ्क सङ्कलन गरी आगामी रणनीति बनाउन कर्मचारीलाई निर्देशन दिएपछि सातै प्रदेशबाट क्षतिको विवरण माग्ने कामले तीव्रता पाउँदा अहिले प्रारम्भिक क्षति विवरण तयार पारिएको छ । मङ्गलबारसम्मको प्रारम्भिक विवरणानुसार विपदबाट धान बालीमा ठूलो क्षति भएको मन्त्रालयका सूचना अधिकारी वरिष्ठ कृषि अर्थविद् महानन्द जोशीले जानकारी दिए । कृषि अर्थविद् जोशीका अनुसार मधेस प्रदेशको धानखेती तहसनहस भएको छ । मधेसका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा धान बाली नष्ट भएको छ । मधेस प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार वर्षाले मधेस प्रदेशमा कृषि क्षेत्रमा पाँच अर्ब ३३ करोड ७५ लाखको क्षति पुर्याएको प्रारम्भिक विवरणमा जनाइएको छ । प्रदेशका आठ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरणानुसार ४२ हजार ६९ हेक्टरमा लगाइएको धान बालीमा क्षति पुगेको अनुमान छ । यसैगरी चार हजार तीन सय ९३ हेक्टरमा लगाइएको सागसब्जी नष्ट हुँदा एक करोड ३२ लाख रुपैयाँ, २२ हेक्टर क्षेत्रमा लगाइएको फलफूलमा क्षति हुँदा ४४ लाख र ८५ हेक्टरको उखुमा क्षति पुग्दा तीन करोड ४० लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको छ । कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवका अनुसार दुई हजार तीन सय हेक्टर क्षेत्रमा मत्स्यपालन प्रभावित हुँदा २३ करोड रुपैयाँको क्षति अनुमान गरिएको बताए । डुबानका कारण १४ हजार दुई सय पाँचवटा पशुपक्षी मर्दा ७६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । कृषि विकास निर्देशनालयका अनुसार मधेसका आठ जिल्लामध्ये सबैभन्दा धेरै रौतहटमा धान बालीमा क्षति भएको छ । रौतहटमा १० हजार दुई सय ४३ हेक्टरको धान बाली प्रभावित हुँदा एक अर्ब २२ करोड ९१ लाख ५० हजार रुपैयाँ, सप्तरीमा नौ हजार तीन सय ६७ हेक्टरको धान बाली नोक्सान हुँदा एक अर्ब २२ करोड ४० लाख ४० हजार रुपैयाँ, बारामा छ हजार चार सय ७२ हेक्टर क्षेत्रमा लगाइएको धान बालीमा बाढी र डुबानले प्रभावित हुँदा ७७ करोड ६६ लाख ४० हजार रुपैयाँको क्षति भएको छ । यसैगरी सर्लाहीमा छ हजार पाँच सय ८४ हेक्टर क्षेत्रको धान बाली क्षति हुँदा ६९ करोड रुपैयाँ, सिराहामा १५८.६ हेक्टरमा लगाइएको धानबालीमा क्षति भएको छ । पशुपक्षीमा सबैभन्दा बढी पशुधन नाश सर्लाहीमा भएको छ । मधेसमा १४ हजार दुई सय पाँच पशुपक्षी मरेका छन्भने सर्लाही मात्र १० हजार पशुपक्षी नष्ट भएका छन् । धनुषामा सात सय हेक्टर बालीमा क्षति भएको छ । अन्नको भण्डार भनेर चिनिने मधेशमा बाढी आउँदा अन्नबालीमा क्षति आउँदा यो वर्ष भोकमरीको समस्या हुने सक्ने अनुमान पनि गरिएको छ । रासस
लाभांश पारित गर्न सेयरधनीलाई हाथवे इन्भेष्टमेन्टले बोलायो कात्तिक २५ गते
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न हाथवे इन्भेष्टमेन्ट नेपालले १६औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज १४ गते बसेको बैठकले कात्तिक २५ गते बिहान १० बजे काठमाडौंको आम्रपाली ब्याङ्क्वेटमा साधारण सभा डाकेको हो । कम्पनीको सभाले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँको १० प्रतिशतका दरले १२ करोड ८७ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशतका दरले ६७ लाख ७३ हजार रुपैयाँ नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी तथा जारी पुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ पुग्नेछ । सोही बमोजिम कम्पनीको सभाले प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने, प्रबन्धपत्र तथा नियमावलीको संसोधन स्वीकृत गर्ने र नियमनकारी निकायबाट सुझाव वा निर्देशन दिएमा सो अनुसार आवश्यक फेरवदल गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्नेछ । संस्थापक सेयरधनीको तर्फबाट संचालक समितिको रिक्त पदमा प्रतिनिधित्व गर्ने एक जना संचालकको नियूक्तीलाई अनुमोदन गर्ने, संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक ६ गतेसम्म नेपाल स्टक एक्चेञ्ज (नेप्से) कारोबार भई कायम सेयरधनीले मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रवेशाज्ञा अवधि बितेपछि स्वदेश नफर्केका १५ जना बंगलादेशी पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ बंगलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी ढङ्गले बसोबास गर्नुका साथै शंकास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा काठमाडौं महानगरपालिका–२६ ठमेल तथा सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरिएको हो । उनीहरूलाई अध्यागमन विभाग पठाइएको छ ।
यस कारण बीमितले नपाउन सक्छन् दाबी भुक्तानी
केही दिनअघिको निरन्तरको वर्षाको कारण आएको बाढी-पहिरोले ठूलो जनधनको क्षति भएको छ । क्षति भएका कयौं सम्पत्तिको बीमा पनि भएको छैन । बीमा नभएको सम्पत्तिको दाबी पाउने कुरै भएन । तर, बीमा भएका केही सम्पत्तिको पनि बीमा दाबी भुक्तानी नपाउने देखिन्छ । पाए पनि निकै कम पाउने स्थिति छ । हालैको वर्षाले कोठा भाडामा बस्नेहरूको सम्पत्तिदेखि ठूल्ठूला आयोजनाहरू समेत ध्वस्त भएका छन् । बाढीले यसरी क्षति भएको अवस्थामा बीमा गरेको भएतापनि विभिन्न कारणले बीमा कम्पनीबाट दाबी पाइने कुरामा ढुक्क हुन सकिँदैन । बीमा दाबीमा असर पर्न सक्ने धेरैवटा कारण छन् । जसमध्ये केही कारण यहाँ उल्लेख गरिएका छन् । सम्पत्ति बीमालेखको हकमा प्रायः सम्पत्ति बीमा गर्दा आफूसँग भएको पूरा मौज्दातको बीमा गराउने भन्दा पनि बैंकले मागेजतिको मात्र सम्पत्ति बीमा गराउने प्रचलन छ । यसो गर्दा स्टकमा भएको मौज्दातभन्दा जति प्रतिशतले कम बीमा भएको देखियो दाबी पनि त्यति नै प्रतिशतले घटेर मात्र फर्छ्याैट हुने भएकोले वास्तविक क्षतिभन्दा निकै कम मात्र दाबी पाइन्छ । त्यसकारण सम्पत्ति (पसल तथा गोदाम) बीमा गराउँदा वास्तविक मौज्दात बमोजिम बीमा गराउनुपर्छ । बीमा गराउँदा स्टकमा भएको सम्पत्तिको मौज्दात र बीमा गरेको रकम मिलेता पनि मौज्दातअनुसारको खरिद अथवा आयात गरेको निस्सा जुटाउन सकिएन भने खरिद अथवा आयात प्रमाणित भएबमोजिमको मात्र दाबी भुक्तानी पाइन्छ । त्यसकारण गोदाम अथवा पसलमा मालसामान भएर मात्र पनि हुँदैन, क्षति भएको वास्तविक रकम प्रमाणित गर्नको लागि सर्भेयरलाई मालसामानको खरिद अथवा आयात गरेको निस्सा उपलब्ध गराउनुपर्छ । यदि निस्सा उपलब्ध गराउन सकिएन भने सर्भेयरले क्षति प्रमाणित गर्दैन र प्रमाणित नभए बराबरको दाबी पाइँदैन । बीमा गरिएको मालसामानको परिमाण बीमालेखअनुसार मिलेता पनि यदि बिजक रकम कम गरी खरिद गरेको पाइएमा बीमा कम्पनीले दाबी फर्छ्याैट गर्दा मालसामान खरिद गरेको बिलबमोजिम मात्र भुक्तानी दिने गर्दछ । त्यसर्थ वास्तविक बजार मूल्य सही भएतापनि सर्भेयरले खरिद बिजकमा उल्लेख भएको रकमलाई मात्र आधार मानेर क्षति प्रमाणित गर्ने भएको दाबी रकम कम हुन जान्छ । बीमा कम्पनीमा पेस गरेको सम्पत्ति विवरण र वास्तविक क्षति भएको सम्पत्ति मेल नखाएमा पनि बीमा दाबी भुक्तानी हुँदैन । आफ्नो सम्पत्ति बीमा गराउँदा व्यवसायको प्रकृतिअनुसार आफूसँग भएको र हुनसक्ने प्रत्येक मालवस्तुको परिमाण र मूल्य खुलेको विवरण बीमालेखसँग संलग्न गराउनु पर्दछ । अन्यथा दाबी परेको बेलामा बीमालेखले कभर गरेको र नगरेको वस्तु चिन्न नसक्ने भएकोले दाबी रकममा फरक पार्न सक्छ । जलविद्युत अथवा अन्य उद्योगहरूमा भएको क्षतिको दाबी भुक्तानी दिँदा बीमा कम्पनीले निर्माण पुरा भएको वर्षअनुसार ह्रास कट्टी कटाएर मात्र भुक्तानी दिने गर्दछ । यदि क्षति भएको बेलामा पुनर्निर्माण गर्न पुग्ने रकम बराबरको दाबी लिन चाहनुहुन्छ भने बीमांक रकम आजको (पुनर्निर्माण गर्न पर्याप्त) बजार मूल्य बराबर कायम गरी ह्रास कट्टी नगरिकन बीमांक कायम गरी ‘पुनर्स्थापना सम्पत्ति बीमालेख’ लिनुपर्दछ । ‘पुनर्स्थापना सम्पत्ति बीमालेख’को बीमादर एउटै हो । तर, बढेको बीमांकको मात्र थप बीमाशूल्क लाग्ने गर्दछ । यसरी खरिद गरेका बीमालेखमा दाबी परेको खण्डमा क्षति बराबरकै दाबी भुक्तानी पाइन्छ । निर्माण व्यवसायीको हकमा निर्माण व्यावसायीले कुनैपनि आयोजना निर्माण गरिरहँदा मासिक प्रगति विवरण बनाएर बीमा कम्पनीमा बुझाउनुपर्छ । मासिक नसकिएता पनि त्रैमासिक अथवा प्रत्येक वर्षको वर्षात सुरु हुनुभन्दा पहिला अनिवार्य बुझाउनुपर्छ । उक्त रिपोर्ट बनाउँदा बिओक्यू बमोजिम कुन शीर्षकमा कति प्रतिशत काम सकियो भन्ने स्पष्ट उल्लेख भएको हुनुपर्छ । किनकि यसरी अहिलेको जस्तो ठूलो बाढीले बगाउँदा आयोजना स्थलमा जति काम सकिएको भएतापनि केही पनि बाँकी नरहने गरी बगाएर लान सक्छ र सर्भेयरले हेर्दा केही पनि देखिँदैन र सोहीअनुसार आफूले आयोजना स्थलमा केही पनि संरचना नदेखेको लेखेर पठाइदिनसक्छ । जसको फलस्वरूप बीमा कम्पनीले चाहेर पनि दाबी भुक्तानी दिन सक्दैन । यदि मासिक प्रगति विवरण बनाएर बुझाएको भए त्यसै रिपोर्टलाई आधार मानी वर्षात अघिसम्म सकिएको निर्माण बमोजिम दाबी भुक्तानी पाइन्छ । आयोजनाको बीमा दाबीमा असर गर्नसक्ने अर्को महत्त्वपूर्ण पाटो भनेको ‘सम्भावित क्षति अध्ययन’ (रिस्क एसेसमेण्ट रिपोर्ट) पनि हो । यो रिपोर्ट तयार गरिएन अथवा रिपोर्ट बनाएता पनि रिपोर्टले भने बमोजिम सम्भावित क्षतिलाई सम्बोधन गर्ने कुनैपनि कार्य गरेको पाइएन र रिपोर्टमा उल्लेख भएको सम्भावित तत्वले क्षति भएको खण्डमा दावी रकम नपाउन अथवा निकै कम मात्र पाउन सक्छ । यदि म्याद थप गरिएका आयोजनाहरू हो भने अनिवार्य रूपमा सर्भेयर खटाएर वास्तविक स्थितिको रिपोर्ट बनाएर बीमा कम्पनीमा पेस गर्नुपर्छ । यदि बीचमा काम सुरु गर्दाको वास्तविक स्थितिको सर्भेयर रिपोर्ट पेस गरिएन भने हालको वर्षाले क्षति पुर्याएको भएतापनि बीमा कम्पनीले पहिलेदेखि नै भइराखेको क्षति भनेर दाबी नदिन सक्छ । निर्माणाधीन आयोजना क्षति हुँदा सबैभन्दा बढी निर्माण सामग्री तथा मेसिनरीहरू बगाएर लाने गर्दछ । कार पोलिसीले निर्माण सामग्रीहरू जम्मा तीन दिनको लागि मात्र कभर गर्ने र आयोजना क्षेत्रभन्दा बाहिरको निर्माण सामग्री पनि कभर नगर्ने भएकोले बीमा दाबीमा निकै कमी आउन सक्छ । यसको लागि तीन दिनभन्दा बढी र आयोजना स्थलभन्दा बाहिरको निर्माण सामग्रीको छुट्टै बीमा गराउनुपर्छ । साथै आयोजना स्थलभित्र जतिपनि मेसिनहरू छन् ती सबैलाई मुख्य बीमालेखमा समावेश गराएर थप बीमाशूल्क भुक्तानी गर्नुपर्छ । अनिमात्र निर्माण सामाग्री तथा मेसिनरी बीमालेखबाट सुरक्षित रहन्छ । बीमालेखमा ‘मनसुन क्लज’ लगाएको छ भने वर्षातको समयमा काम बन्द गर्नुपर्छ । र, काम रोकिनुभन्दा अगाडिसम्म बिओक्यू अनुसार जति काम सकिएको हो त्यसको विवरण बीमा कम्पनीलाई उपलब्ध गराउनुपर्छ । यसो गर्दा बाढीले क्षति भएता पनि हालसम्म सम्पन्न गरिएका निर्माणमा क्षति पुगेको खण्डमा बीमा कम्पनीबाट सजिलै दाबी पाइन्छ । यदि मनसुन क्लोज लगाएको अवस्थामा वर्षातको समयमा काम सुचारु भइरहेको खण्डमा निर्माण सामग्रीलगायत सो अवधिमा गरिएको कार्यको क्षतिपूर्ति बीमा कम्पनीले दिँदैन । आयोजना क्षति भएको बेलामा खर्च गराउने तत्वमध्ये एउटा तत्व बाह्य भग्नावशेष (फोरेन डेब्रिज) पनि हो । यदि बीमालेखमा बाह्य भग्नावशेष हटाउने कभर छैन भने ती बाह्य भग्नावशेष हटाउँदा भएको खर्च बीमा कम्पनीले दिँदैन । (लेखक श्रेष्ठ एवान रिइन्स्योरेन्स ब्रोकरका नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।)
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्त संस्थाको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०८१/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार रुपैयाँको १३.३९ प्रतिशतका दरले १४ करोड ३ लाख ८९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशतका दरले ७३ लाख ८८ हजार रुपैयाँ नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिने कम्पनी सचिव कृष्णप्रसाद भट्टराईले जनाकारी दिए ।