गुण नियन्त्रण विभागको दशैंलक्षित बजार अनुगमन सुरु
काठमाडौं । सरकारले दशैंतिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशालासहित आजदेखि बजार अनुगमन सुरु गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आजदेखि दुईवटा मोबाइल भ्यानसहित काठमाडौं, ललिपुर र भक्तपुर जिल्लाभित्र बजार अनुगमन सुरु गरेको हो । बजार अनुगमनको सुरुवात गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भने, ‘सरकारका तर्फबाट खरिद भएर ल्याएपछि विभिन्न कारणले छ/सात वर्षदेखि मोबाइल भ्यानहरू त्यत्तिकै थन्किएका रहेछन् । आजदेखि दशैंतिहारलाई लक्षित गरेर खाद्य गुण परीक्षणका लागि बजार अनुगमनमा निस्किएका छौं।’ मन्त्री अधिकारीका अनुसार मर्मत गर्न बाँकी रहेका दुईवटा मोबाइल भ्यान पनि यथाशीघ्र मर्मत गरेर पूर्वपश्चिमबाट सञ्चालनमा ल्याइने जानकारी दिए । पछिल्लो समयमा खानपानका कारण अस्पतालमा बिरामी बढ्दै गएका सन्दर्भ उल्लेख गर्दै उनले उपभोक्ताले म्याद नाँघेका, असुरक्षित खाद्य वस्तु खान नपरोस् भनेर बजारमा रहेका खाद्य वस्तुको परीक्षण सुरु गरिएको बताए । पछिल्लो समय भएको बाढीपहिरो र डुबानले सबैभन्दा बढी कृषि क्षेत्रमा क्षति भएको बताउँदै मन्त्री अधिकारीले यसबाट करिब रु छ अर्बभन्दा बढी कृषि क्षेत्रमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । उनले क्षति भएका किसानको राहतका लागि मन्त्रिपरिषदमा छलफल भएको बताउँदै चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउन पहल गरिरहेको बताए । मृतकका परिवार र बेपत्ता भएका परिवारलाई क्षतिपूर्ति दिने कार्य मङ्गलबारदेखि सुरु भइसकेको बताउँदै मन्त्री अधिकारीले दशैंअगाडि सबै पीडितले राहत पाउने प्रतिबद्धता जनाए ।
दशैंको मुखमै छैन व्यापार, व्यापारीहरू भन्छन्- विगतको तुलनामा ७५ प्रतिशतले कमी
व्यवसायी गणेशप्रसाद दुवाडी । तस्बिर: न्यूज एजेन्सी नेपाल काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको लागि विगतको तुलनामा किनमेल गर्ने ग्राहक २५ प्रतिशत पनि नआएको व्यवसायीहरूले गुनासो गरेका छन् । दशैं लागेसँगै काठमाडौं उपत्यकाका मुख्य बजार असन, न्युरोड, महाबौद्ध, भोटाहिटीलगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरूको भीड हुने भएपनि अहिले बजार सुनसान छ । विगतका वर्षहरूमा जस्तो यस वर्ष पनि आर्थिक मन्दीको कारण व्यापारमा उत्साह नदेखिएको व्यापारीहरूले बताए । उनीहरूले दशैं नजिक अविरल वर्षाको कारण मुलुकभर आएको बाढी पहिरो जस्ता विपत्तिले व्यापार व्यवसायीमा थप संकट ल्याएको बताएका छन् । दशैं लागेसँगै बजारमा ग्राहकको भीडभाड बढ्ने र व्यापार वृद्धि हुने व्यवसायीहरुको आशा निरासामा परिणत भएको छ । दशैं लागेसँगै बजारमा ग्राहकहरू बढ्ने र व्यापारीहरूलाई केही राहत मिल्ने आशा भएपनि बाढी-पहिरोका कारण बजार थप प्रभावित भएको गुनासो गरे । व्यापारीहरूले विगतका वर्षमा सोही समयमा हुने सतप्रतिशत व्यापारको अहिले २५ प्रतिशत पनि व्यापार हुन नसकेको भन्दै व्यापार व्यवसाय दयनीय अवस्थामा पुगेको उल्लेख गरे । बजारमा आर्थिक मन्दीको प्रभाव तथा ग्राहकहरूको क्रयशक्ति कमजोर र सक्रिय उपभोक्ता विदेश पलायन भएकाले पनि विगतको तुलनामा व्यापारमा कमी आएको व्यवसायीहरूको भनाइ छ । उनीहरूले दशैं लागेसँगै व्यापार बढ्ने केही आश भएपनि बाढी-पहिरोजस्ता विपत्तिको कारण बजारमा ३० प्रतिशतभन्दा बढी व्यापार नहुने आँकलन रहेको बताए । सरकारको नीति, बैंकको ब्याज, घरभाडा वृद्धि तथा सरकारले लगाउने करमा वृद्धि भएकाले बजारमा सामानको मूल्य पनि विगतको तुलना वृद्धि भएको बताए । नेपाल राष्ट्रिय व्यापार महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले यस वर्षको दशैं व्यवसायी र आमनागरिकको लागि दशाको रूपमा देखापरेको बताए । अहिले मुलुक नै व्यापार व्यवसाय भन्दा पनि बाढी-पहिरो र प्राकृतिक प्रकोपको चपेटामा परेकाले यस वर्षको दशैंमा रौनक नभएको उनकाे भनाइ छ । उनले विगतको तुलनामा ७५ प्रतिशत व्यापारमा कमी आएर २५ प्रतिशत पनि व्यापार नभएको अवस्थामा बाढी-पहिरोको कारण झन शिथिल बनाएको बताए । उनले मुलुकका सक्रिय युवाहरू विदेश पलायन भएकाले पनि बजारमा व्यापारमा कमी आएको बताए । संस्थापक अध्यक्ष कटुवालले बजारमा बैंकिङ समस्या र सरकारको कर नीति लगायतको कारण दशैंमा बजार चलायमान हुने अवस्था नदेखिएको दुखेसाे पाेखे । राष्ट्रिय व्यापार संघका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठले दैनिक ७ हजार मानिसहरू विदेश गइरहेकाले नेपालमा कसलाई सामान बिक्री गर्ने? भन्ने अवस्था आएको बताए । उनले उपभोग गर्ने युवाहरू श्रम तथा अध्ययनको लागि विदेश जाने क्रमले पनि बजारमा माग बढ्न नसकेको भन्दै बजार २० देखि २५ प्रतिशत मात्रै व्यापार रहेको बताए । कोभिडपछि सुरु भएको आर्थिक मन्दी यस वर्षको दशैंमा आएर चरम उत्कर्षमा पुगेको देखिएको उनकाे बुझाइ छ । रञ्जना व्यापार संघका अध्यक्ष हरिप्रसाद पाण्डेले पनि बजार व्यापार २० देखि २५ प्रतिशतमा झरेको भन्दै ७० प्रतिशतले गिरावट आएको बताए । उनले ७० प्रतिशत व्यापारमा आएको गिरावटले व्यवसायीहरू ठूलो मारमा परेको भन्दै व्यापार व्यवसायीहरूलाई सुरक्षा दिने सम्बन्धमा सरकारले ध्यान दिन जरुरी रहेको आवश्यकता औंल्याए । नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले पनि दशैंको समयमा व्यापारमा रमाउनु पर्ने व्यवसायीहरु बाढी पहिरोको कारण समस्यामा परेको बताए । उनले बाढी पहिरोको कारण तातोपानी र केरुङ नाका जोड्ने सडक बाढीले बगाउँदा धेरै व्यवसायीहरूको सामान नाका र बाटोमा अड्किएर बसेको गुनासाे गरे । सिभिल व्यापार संघ अध्यक्ष रत्नबहादुर घिमिरेले पनि बजारमा दशैं अहिलेसम्म नलागेको भन्दै बजार सुनसान रहेको बताए । उनले आजसम्म बजारमा दशैको चहलपहल नदेखिएको बताए । एकता व्यापार संघका अध्यक्ष तेज आचार्यले पनि विगतका दशैंको तुलनामा यस वर्षको दशैंमा विभिन्न समस्याको कारण १० प्रतिशत पनि व्यापार नहुने अवस्था देखिएको बताए । उनले ९० प्रतिशत बजार प्रभावित हुने अवस्था बाढी पहिरोका कारणले अनुमान गर्नसक्ने अवस्था आएको बताए । न्युरोडका कपडा व्यापारी गणेशप्रसाद दुवाडीले पनि दशैंको मुखमा आएर मुलुकमा बाढी-पहिरोको विपद् आएकाले थप बजारमा समस्या आएको बताए । उनले आर्थिक कारोबार पनि कम भइरहेकाले दशैं लागे पनि व्यापार व्यवसाय नाजुक अवस्थामा रहेको उल्लेख गरे । उनले कोभिडको समयलाई हेर्दा पनि त्यसको तुलनामा २० देखि २५ प्रतिशत पनि व्यापारमा कमी आएको जिकिर गरे । दशैंमा व्यापार होला भनेर ऋण गरेर सामान हाले पनि विगतको तुलनामा ८० प्रतिशत व्यापारमा कमी आएको व्यापारीहरूको गुनासो छ । बजारमा प्रशस्त सामान भएपनि पसलमा आउने ग्राहक नभएको उनीहरू बताउँछन् । व्यापार गरेर बैंकको ब्याज, राज्यलाई कर, काेठाभाडासमेत तिर्न नसकिको बताए ।
आकाश फुड्समा आपूर्ति विभागको छापा, दुई लाख जरिवाना
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आकाश फुड्समा छापा मारेको छ । छापाका क्रममा उपभोक्ता हित प्रतिकूल अवस्था देखिएपछि विभागले २ लाख रुपैयाँ जरिवाना तिराएको छ । छापाका क्रममा प्याकेजिङ खुइलिसकेकाे, एकपटक प्रयोग भइसकेको तेल पुन: प्रयोग गरी मिठाइँ उत्पादन भइरहेको भेटिएपछि जरिवाना तिराइएकाे हाे । आकाश फुड्स आँगन स्वीट्सका मिठाइ उत्पादन हुने कम्पनी हाे । साथै, विभागले जावलाखेलस्थित हानकुक साराङ रेष्टुरेन्टलाई पनि नगद जरिवाना तिराएको छ । विभागले उक्त रेष्टुरेन्टलाई ३ लाख रुपैयाँ जरिवाना तिराएकाे हाे ।
घर र गाडी कर्जाको ब्याज ७ प्रतिशतमा झर्यो, व्यवसाय कर्जा पनि ८ प्रतिशत
काठमाडौं । पछिल्लो समय कर्जातर्फको ब्याजदर निरन्तर ओरालो लागिरहेको बेला नेपाल बैंकले ७ प्रतिशत ब्याजदरमै कर्जा लगानी गर्ने भएको छ। बैंकले सार्वजनिक गरेको कर्जा योजनाहरूमा ब्याजदर ७.७० प्रतिशतमा झारेको हाे । बैंकले सर्वसुलभ आवास कर्जा योजनाको ब्याजदर ७.७० प्रतिशत तोकेको हो । ऋणीहरूले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जीर्णोद्वार र अपार्टमेन्ट खरिदका लागि कर्जा लिन सक्ने बैंकले जनाएको छ । ५ वर्षदेखि २५ वर्षसम्म भूक्तानी अवधि रहेको यस योजनामा सेवा शुल्क ३३.३३ प्रतिशतसम्म छुट प्रदिनेछ । ५ लाख रुपैयाँदेखि अधिकतम २ करोडसम्म कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । साथै बैंकले समृद्ध व्यवसाय कर्जा, अटो लोनलगायत विभिन्न कर्जाको ब्याजदरसमेत घटाएको छ । बैंकका अनुसार कर्जा सीमा १० करोड रुपैयाँसम्म रहेको समृद्ध व्यवसाय कर्जाको ब्याजदर ८.२८ प्रतिशत रहेको छ । व्यावसायिक ग्राहकहरूले चालुपुँजी तथा स्थिरपुँजी व्यवस्थापनको लागि यो कर्जा उपयुक्त हुन सक्ने बैंकको दाबी छ । यस्तै नयाँ गाडी खरिदको अटो कर्जाको ब्याजदर ७.७८ प्रतिशत तोकेको छ । अटो कर्जाको भुक्तानी अवधि ५ र ७ वर्ष रहेको बैंकले जनाएको छ ।
एक रुमको अपार्टमेन्टबाट देसाईले बनाए १० हजार ४६ करोडको सम्पत्ति
दिल्ली । गुजरात स्टेटकाे सूरतका सबैभन्दा धनी व्यक्ति अश्विन देसाईको कथा प्रेरणाले भरिपूर्ण छ । कुनै समय उनी एउटा रुम भएको अपार्टमेन्टमा बस्थे । आज उनको कुल सम्पत्ति १० हजार ४६ करोड भारु छ । देसाई इथर इन्डस्ट्रिजका संस्थापक हुन् । उनले सन् २०१३ मा यस कम्पनीको बीजाराेपण भएकाे थियाे । साेही कम्पनीले उनलाई अर्बपति बनाएको छ । आउनूहोस्, उनको सफलताको यात्राको बारेमा छाेटकरीमा चर्चा गरौं : २०१३ मा कम्पनीकाे सुरुवात देसाईले २०१३ मा इथर इन्डस्ट्रिजको स्थापना गरेका थिए । आज यो कम्पनी कृषि रसायन, औषधि, तेल र ग्यासजस्ता उद्योगहरूमा विशेष रसायन आपूर्ति गर्ने प्रमुख कम्पनी बनेको छ । इथरको गुजरातमा दुईवटा कारखाना छन् । उनका छोराहरू रोहन र अमनले व्यवसाय सञ्चालन र प्राविधिक पक्षहरू सम्हाल्छन् । यससँगै देसाईकी पत्नी पूर्णिमा बोर्डकी सदस्य हुन् । जुन २०२२ मा देसाईले आफ्नो कम्पनीलाई पब्लिक बनाएर १०.३ करोड डलर उठाए । कम्पनीको सेयर १० प्रतिशत प्रिमियममा शेयर बजारमा सूचीकृत भएको थियो । यसले देसाईलाई अर्बपति बनायाे । १९७६ बाटै यात्रा सुरु देसाईको उद्यमी यात्रा १९७६ मा सुरु भएको थियो । त्यसपछि उनले आफ्नाे ज्वाइँसँग विशेष रसायन व्यवसाय सुरु गरे । फोर्ब्सको रिपोर्टका अनुसार देसाई आफ्नी आमासँग सुरत गएका थिए, जहाँ उनका ज्वाइँ बस्थे। देसाईकाे मन आफ्नाे केही गर्ने दृढ संकल्प थियो । उनले सुरुदेखि नै आफ्नो व्यवसाय सुरु गरेका थिए । उनका ज्वाइँलाई पनि केमिकल उद्योगको बारे कुनै ज्ञान थिएन । एउटा रुमकाे अपार्टमेन्ट सुरतमा एक रुमको अपार्टमेन्टमा बस्दा देसाईले सहरको बाहिरी भागमा एउटा इनारसहितको सानो खेत भाडामा लिएका थिए । यहाँ उनले सल्फ्युरिल क्लोराइड उत्पादन सुरु गरे । यो एक धेरै खतरनाक अकार्बनिक कम्पाउन्ड हो । त्यो बेला याे भारतमा आयात भइरहेको थियो । याे केमिकलले डाई र औषधी उद्योगमा महत्त्वपूर्ण भूमिका खेल्छ । बिस्तार हुँदै काराेबार आफ्नो व्यावसायिक सफलता बाहेक देसाई पौडी र कवितामा निकै रुचि राख्छन् । इथर इन्डस्ट्रीज अझै विस्तार भइरहेको छ । कम्पनीले सुरतमा अर्को कारखानाको खाेल्नका लागि जग्गा हेरिसकेकाे छ । सूरतका दोस्रो धनी व्यक्ति फारुक जी पटेल हुन् । उनको कुल सम्पत्ति ९ हजार ७ सय करोड भारु छ । पटेल केपी ग्रुपका मालिक हुन् । यो समूह हरित ऊर्जा क्षेत्रमा काम गर्दछ । एनजे इन्डिया इन्भेष्टमेन्टका नीरज चोक्सी सूरतका अर्बपतिहरूमध्ये तेस्रो स्थानमा छन् । उनी ९ हजार ६ सय करोड रुपैयाँको सम्पत्तिका मालिक हुन् ।
आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण, मौद्रिक नीतिको तारिफ
काठमाडौं । चालु आर्थिक वर्ष (सन् २०२५)मा नेपालको आर्थिक वृद्धिदर गत आर्थिक वर्ष (सन् २०२४)को ३.९ प्रतिशतबाट बढेर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ, जसलाई उच्च पर्यटक आगमन, जलविद्युत र धान उत्पादनको वृद्धिले निर्देशित गरेको हुने विश्व बैंकको बुधबार सार्वजनिक नेपाल डेभलपमेन्ट अपडेट : अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव विषयक प्रतिवेदनमा उल्लेख छ । नेपालको अर्थतन्त्र आगामी आर्थिक वर्ष (सन् २०२६)मा भने ५.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । केन्द्रीय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानहरूमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहनेछ । यद्यपि प्रतिवेदनले बहु जोखिमहरू पनि पहिचान गरेको छ, जसअन्तर्गत वित्तीय प्रणालीमा उच्च जोखिमसहितको निजी क्षेत्रको कर्जा वृद्धिलाई सीमित गर्ने निष्क्रिय कर्जा, लगानी नै प्रभावित हुन सक्नेगरी सम्भावित नीतिको अनिरन्तरता, पूर्वाधार विकासलाई असर गर्ने पुँजीगत खर्चको कार्यान्वयनमा हुन सक्ने ढिलाइ, क्षेत्रीय अस्थिरता र व्यापार अवरोध जसले पर्यटन र आन्तरिक मागलाई कम गर्न सक्ने जस्ता जोखिमहरू रहेका छन् । ‘नेपालको अर्थतन्त्र क्रमिक सुधारको मार्गमा छ,’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. शिवराज अधिकारीले भने, ‘बजेटरी प्रक्रियामा सुधार ल्याउँदै पूरा हुने चरणमा रहेका परियोजनाहरूलाई सम्पन्न गरेर पुँजीगत खर्च बढाउने हाम्रो प्राथमिकताले बृहत अर्थतन्त्रको स्थायित्व सुदृढ गर्नेछ, आन्तरिक उत्पादन बढाउनेछ र धेरै रोजगारी सिर्जना हुनेछन् ।’ आप्रवासी श्रमिक प्राप्त गर्ने गल्फ मुलुकहरू र मलेसियामा आएका झट्काहरूले पनि वृद्धिलाई धिमा गर्न सक्छ, खासगरी घरपरिवारको उपभोग, गरिबी निवारण र मानव पुँजी विकासमा भूमिका खेल्ने अन्तर्राष्ट्रिय विपे्रषणमा यसले असर पुर्याउनेछ । तथापि, नेपालको आप्रवासन अत्यन्त महँगो, असमान अवसरहरू र धेरैका लागि प्रक्रिया नै चुनौतीपूर्ण रहेको अवस्था कायम छ । प्रतिवेदनले नेपालको आप्रवासनको फाइदा र लागतका पछिल्ला तथ्यहरू प्रस्तुत गर्दै दिगोपन र प्रतिफल विस्तारको सुनिश्चितता गर्ने उद्देश्यले समावेशी आप्रवासन व्यवस्थापन प्रणाली निर्माणका लागि आवश्यक प्रमुख नीतिगत हस्तक्षेपहरूलाई प्राथमिकताका साथ उल्लेख गरेको छ । ‘वृद्धिको गतिलाई कायम राख्नु नेपालको विकासका लागि महत्त्वपूर्ण छ । यसका लागि प्रमुख क्षेत्रहरू जस्तै- पूर्वाधार, सुशासन, मानव पुँजी विकास र निजी क्षेत्रमा निरन्तर सुधारको आवश्यकता पर्दछ,’ विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले भने, ‘नेपालले विदेशी कामदारहरूबाट रेमिट्यान्सबाट धेरै फाइदा हासिल गरेको छ र यी प्रवाहहरूको व्यवस्थापनमा सुधार, विदेशमा काम खोज्ने नेपालीहरूलाई राम्रोसँग सहयोग गर्न र नेपालमा दक्ष नेपालीहरूलाई उत्पादनशील बनाउन वातावरण सिर्जना गर्ने जीवन्त घरेलु अर्थतन्त्रको निर्माण नेपालको भविष्यको लागि महत्त्वपूर्ण छ ।’ सुदृढ र थप समावेशी आप्रवासन व्यवस्थापन प्रणालीले पारदर्शी भर्ना प्रक्रिया स्थापित गर्नेछ, श्रमिकलाई विदेश जान राम्रो तयारी गराउनेछ, श्रम बजारमा आप्रवासीहरूको सुरक्षा र आवतजावतलाई सुनिश्चित गर्नेछ, दीर्घकालका सीप र गन्तव्य विविधिकरणका लागि योजना बनाउनेछ र फर्किएका श्रमिकहरूको पुँजी र सिपलाई प्रभावकारी उपयोग गर्नका लागि सहयोगी वातावरण निर्माण गर्ने विश्व बैंकको रिर्पोटमा उल्लेख गरिएको छ ।
पाठ्यपुस्तकमा चन्द्र र गगनहरू अटाउनुपर्छ, ‘अब्राहम लिंकनको चिठी’ भनेर भ्रम फैलाइँदैछ
काठमाडौं । नेपालको शिक्षा प्रणाली र पद्धति परम्परागत ढाँचाबाट अगाडि बढिरहेको छ भन्ने विषय जगजाहेर छ । अध्ययन अनुसन्धानको कमी, विषय विज्ञहरूको न्यून भूमिका, सरकारको सुस्तता र शिक्षकहरूको पनि वेवास्ताले पनि नेपालको शिक्षा प्रणालीमा सुधार हुन नसकेको हाे । व्यवहारिक शिक्षाभन्दा पनि सैद्धान्तिक र घोकन्ते शिक्षा पद्धतिमा अगाडि बढिरहेको नेपाली पाठ्यक्रम र पाठ्यपुस्तकमाथि पनि धेरैले बेलाबखत प्रश्न उठाउँछन् । सरकारी तवरबाट हुनुपर्ने काम एउटा व्यक्तिबाट हुन्छ । विद्यार्थीले पढेको र सिकेको ज्ञानले कतिको सार्थकता पाइरहेको छ ? शिक्षालयबाट काम गर्ने कार्यालयसम्म पुग्दा विद्यार्थीहरू कत्तिको सिपयुक्त र दक्ष हुन्छन् । सिकेको विषयलाई व्यवहारमा उतार्न उनीहरू कत्तिको सक्षम छन् ? यो विषयमा सम्बन्धित शिक्षालय र सरकारले पनि मनन गरेको छ वा छैन ? तपाईं हामी सबैलाई जानकारी भएकै कुरा हो, यो विषयमा न सरकारको चासो छ, न अभिभावकले गम्भीर रूपमा लिएको छ नत विद्यार्थी नै यस विषयको महसुस गरेको छ । नेपाली शैक्षिक पद्धति ‘जसैजसै पण्डित बाजे, उसैउसै स्वाहा’ भइरहेको छ । यो आँट नीति विश्लेषक होमराज आचार्य नेतृत्वको समूहले गर्याे । ‘एजुकेशन इन एभ्री होम’ अन्तर्गत नीति विश्लेषक आचार्यको समूहले एक वर्ष ६ महिना समय लगाएर नेपालको पाठ्यपुस्तहरू अध्ययन गर्यो । जसमा अनगिन्ती त्रुटिहरू भेटिए । नेपाली पाठ्यपुस्तकरू विदेशी व्यवसायी, उद्यमी, विज्ञ र कलाकार लगायतको कथाले भरिएका देखिए । त्यहाँ नेपाली र नेपालीपन देखिएन । पाठ्यपुस्तकमा ‘अब्राहम लिंकन’को चिठी पढाइएको भेटियो । विश्वको हावापानी धरातलीय विविधतामा पनि गलत सूचना राखिएको देखियो । नेपालमा प्रत्येक १०/१० वर्षमा पाठ्यपुस्तक पुनरावलोकन गर्नुपर्छ भन्ने मान्यता छ । यही मान्यताअनुसार सरकारले २०७९/०८० मा पुनरावलोकन गरिएका पाठ्यपुस्तकहरूको अध्ययन गर्दा त्रुटि फेला पारेको हो । पाठ्यपुस्तकमा फेला पारेको त्रुटिबारे सम्बन्धित निकायलाई जानकारी गराउँदा समेत अहिलेसम्म कुनै निकायले यसमा ध्यान दिएको छैनन् । सरकार आफैले गर्नुपर्ने काम व्यक्तिले गर्दा पनि वेवास्ता गरेको शैक्षिक अभियन्ता एंव नीति विश्लेषक आचार्यको भनाइ छ । नेपालको इतिहासदेखि विश्वस्तरको कुरा समावेश पाठ्यपुस्तकमा नै त्रुटि फेला पर्दा नेपालको शैक्षिक प्रणालीमाथि नै प्रश्न उठ्न थालेको हो । के छन् त्रुटि ? नेपालको इतिहास, भूगोल, विज्ञान गणितलगायतका विषयमा व्यापक त्रुटि रहेको पाइएको छ । ‘हामीले कुनै व्याकरणका त्रुटि भनेका होइनौं, पाठ्यपुस्तकमा राखेका सूचना तथ्यका आधारमा गरिने कुराहरू नै गलत छन्,’ उनले भने, ‘महिलाहरूलाई कसरी प्रस्तुत गर्ने, जनजातिका संस्कृतिलाई कसरी प्रस्तुत गर्ने भन्नेमा पनि गल्ती छ । नेपालको सांस्कृतिक पुँजी भनेको यहाँका सबै समुदाय र नागरिक हुन्, उहाँहरूले निर्माण गरेका चाडपर्व, नृत्य जति छन् यो भनेको देशको ज्ञान हो, यसलाई बराबर रूपमा स्थान दिनुपर्छ ।’ होमराज नेतृत्वको टिमले गरेको अनुसन्धानमा कक्षा २, ७ र १० मा पढाइ हुने सामाजिक र नेपाली विषयलाई नमुनाका रूपमा लिएर अध्ययन गरिएको थियो । उनी भन्छन्, ‘पाठ्पुस्तकमा धेरै कुरा ‘मेन्सन’ गरियो, लिस्टिङ गर्ने काम गरियो, तर गहिरिएर त्यसको खोजी भने गरिएन । यस्तै, तथ्यपरक त्रुटि पनि पाठ्यपुस्तकमा उत्तिकै पाइएको छ । नेपाल बाघ संरक्षणमा संसारभर नेतृत्वकर्ताका रूपमा मानिन्छ । दक्षिण एसियामै बाघहरू पाइने उद्गम स्थल हो । तर किताबमा जर्मनी अनि ब्राजिलमा बाघ, हात्ती, गैंडाहरू छन् भन्ने कुरा भेटियो, जुन गलत हो । त्यस्तै, अर्को एउटा ‘कालीगण्डकीको तिरैतिर’ भन्ने एउटा निबन्धमा सही जानकारी समावेश नगरेको पाइएको छ । निबन्धमा काठमाडौंबाट एउटा समूह मुक्तिनाथसम्मको यात्रामा निस्केको छ, तर त्यहाँ बुद्धिष्ट संस्कृतिका कुनैपनि कुरा देखिँदैन । मन्दिर र शालिकग्राममात्र देख्छ । उनी किताब लेख्ने मान्छेमा जुन किसिमको दृष्टि हुनुपर्ने हो त्यो नभएको दाबी गर्छन् । होमराज भन्छन्, ‘आँखा हुनु र दृष्टि हुनुमा फरक छ, त्यस्तै हाम्रा पाठ्यपुस्तकमा आँखा छन्, दृष्टि छैनन् । ’ पाठ्यपुस्तकमा गुरुङ, मगर, थारु, मधेसी लगायतका समुदायका संस्कृतिलाई पनि मुख्य रूपमा नल्याएको उनको भनाइ छ । विदेशीलाई प्राथमिकता, नेपालीबारे बेखबर नेपाली पाठ्यपुस्तकले धेरैजसो शब्द नेपालीभन्दा विदेशीहरूको बारेमा खर्चेको छ । नेपाली महिलाभन्दा बढी विदेशी महिलाका कुरा लेखिएका छन् । पाठ्य पुस्तकले आफ्नै देशका मान्छेलाई भने अवमूल्यन गरेको छ । राजाहरूको इतिहास वर्षौं पुरानादेखि वीरेन्द्रसम्मको पढाउनुपर्ने पाठ्यक्रममा नागरिकका कथा लेखिएका छैनन् । नेपालमा अहिले पनि उद्यममा राम्रा काम गर्ने धेरै व्यक्ति छन् । तर, उनीहरूको कथा लेखिएको छैन । होमराज पाठ्यपुस्तकमा ठूला व्यक्तिको मात्र नभइ सर्वसाधारणका कथा पनि लेखिनुपर्ने बताउँछन् । एक जना महिला जसले राम्रो काम गरिरहेकी छन् भने त्यस्ता कथा पनि राखिनुपर्ने उनको धारणा छ । ‘नेपालमा विभिन्न किसिमका व्यवसाय गरेर बस्ने मान्छे छन्, अन्य स्टार्टअप कम्पनी छन्,’ होमराज भन्छन्, ‘गगन प्रधानको हिमालयन जाभा छ, उनले सानो व्यापार सुरु गरेर अहिले सिंगापुर, अस्टेलिया, अमेरिकालगायत विभिन्न देशमा यसका आउटलेट खुलिरहेका छन् । चन्द्र ढकाल पनि सानो व्यापारबाट देशभर फैलिएका छन्, नेपालबाट जन्मिएको सानो व्यापारले विश्व बजारमा नाम कमाएको कुरा हाम्रो पाठ्यपुस्तकमा विद्यार्थीले पढ्न पाउनुपर्यो । तर विडम्बना हामी त्यो पढ्न पाउँदैनौं ।’ कलेजस्तरमा पनि बिजनेश पढाइ हुँदा नेपाली बिजनेश आउटलेटको बारेमा पढ्न पाइँदैन । बाजेको सेकुवा, कृष्ण पाउरोटीलगायत नेपालका आफ्नै बिजनेशको बारेमा स्कुलमा मात्र होइन, विश्वविद्यालयमा पढाउनुपर्ने उनको भनाइ छ । उनी यो विषयमा कुनै विदेशी आएर नेपालमा पाठ्यपुस्तकको अडिट गरेको भए शिक्षा मन्त्रालयदेखि विभाग सबैले बोलाइबोलाइ कार्यक्रम गरिसक्थे तर उनी आफूले गरेको काममा कसैले सुनवाइ नगरेकोमा गुनासो पोख्छन् । नेपाली उद्यमीलाई शिक्षासँग गास्ने हो भने विद्यार्थीलाई धेरै सिकाइ हुने उनको अनुभव छ । भुइँमान्छेदेखि सर्वसाधारणका कुराहरू पनि स्कुलदेखि विश्वविद्यालयसम्म पढाइ हुनुपर्ने बताउँदै होमराज विदेशीहरूको बारेमा नेपाली किताबमा धेरै पढाइ हुने तर नेपालीलाई वेवास्ता गर्ने काम पनि हाम्रो पाठ्यपुस्तकमा देखिएको बताउँछन् । के छन् राम्रा विषय ? पाठ्यपुस्तकमा पर्याप्त विवरण र सूचना त्रुटिका बीच पनि केही राम्रा कुराहरूको सुरुवाती भएको पाइन्छ । पहिलेको तुलनामा केही कुरा राम्रा पनि छन् । मानव अधिकार, महिला अधिकार, समानता, संस्कृतिका कुराहरू पनि लेखिएका छन् । तर त्यतिले मात्र पुग्दैन । विद्यार्थीलाई महिलाको अधिकार हनन् भयो भने के-के गर्न सकिन्छ भन्ने रणनीतिसँगै डिजिटल साक्षरताका कुरा पनि समावेश गर्नुपर्ने होमराजको तर्क छ । बच्चाहरू फेसबुक चलाउन जान्दैमा, युट्युबमा भिडियो हेर्न जान्दैमा डिजिटल साक्षरता भएको भन्न सकिँदैन । अहिले सामाजिक सञ्जालमा ९० प्रतिशत बढी गलत सूचना आइरहेको हुन्छ । यस्ता विषय पनि पाठ्यपुस्तकमा समावेश हुनुपर्छ । ‘फेक र बनावटी विषय इन्टरनेटमा धेरै पाइन्छ,’ उनी भन्छन्, ‘ एआईको जमानामा त अझ के के हुन्छ, डिजिटल साक्षरतामा जाँदा धेरै कुरामा ध्यान दिनुपर्छ ।’ पाठ्पुस्तक अध्ययन गर्ने सोच आजभन्दा पाँच वर्षअघि होमराज जातीय विभेदविरुद्ध पदयात्रामा निस्क्किए । यात्रामा उनले जातीय विभेदका कुरामात्र सुनेनन्, स्थानीयका शिक्षा र स्वास्थ्यका कुरा पनि सुने । नागरिकहरूको शिक्षामा एउटै कुरा थियो, ‘हामीले पढ्ने किताबमा हामीले हामीलाई भेटाउँदैनौं, हाम्रो संस्कृति देखिँदैन ।’ तिनीहरूको कुराले उनलाई गम्भीर बनायो । विभिन्न जातजाति, भाषाभाषी रहेका देशमा स्थानीयले आफ्नो पाठ्यपुस्तकमा आफू र आफ्नो समाजलाई नपाउनु आवश्यकता जस्तो लाग्यो होमराजलाई । उनले ७७ वटै जिल्लामा यो विषयमा रुचि राख्दा एउटै जवाफ पाए । त्यसपछि उनलाई लाग्यो अब नेपालको पाठ्पुस्तक कस्तो छ ? यहाँभित्र के कस्ता कुराहरू छन् ? अध्ययन गरिनुपर्छ । ‘म नीति विश्लेषणको विद्यार्थी पनि, नीति विश्लेषण र डेभलपमेन्टको विद्यार्थी पनि भएकाले यस्ता कुराले मलाई क्याच गरिहाल्यो,’ होमराज भन्छन्, ‘अब यो विषयमा अध्ययन कसरी गर्ने भन्ने लाग्यो अनि मैले यो विषयमा खोजी सुरु गरें । अन्य देशमा के अभ्यास छ ? त्यहाँ के कस्तो काम भएको छन् ? भन्ने खोजी सुरु गरें ।’ सोही क्रममा उनले नेपालमा युनाइटेड नेसन्सका धेरै संस्था रहेका र त्यसमध्ये युनिसेफले यो विषयमा केही काम गरेको फेला पारे । संसारभरि पढाइ हुने पाठ्यपुस्तकका समीक्षा कसरी गर्ने ? कुन–कुन कुरा हुनुपर्छ ? भन्ने कुरा थाहा पाए । त्यसको आधारमा विभिन्न देशले गरेका राम्रा अभ्यासको पनि समावेश गरेर नेपालको सन्दर्भमा फिट हुने किसिमले इनोभेसन गरे । ‘गाउँगाउँमा पुगेर नागरिकका कुरा सुनेर सुरु गरेको यो अभियान यहाँसम्म पुग्यो,’ होमराजले भने, ‘ हामीले एउटा फ्रेमवर्कको विकास गरेका छौं । त्यसमा उहाँहरूलाई चित्त नबुझे आफैले अडिट पनि गर्न सक्नुहुन्छ अथवा हामीजस्ता मान्छेलाई बोलाउन सक्नुहुन्छ ।’ पहिलो पटक अडिट होमराज विद्यालय तहका पाठ्यपुस्तकलाई नेपालमै पहिलो पटक अडिट गरेर त्यसभित्र के कस्ता विषयवस्तुहरू छन् भन्ने विषयको सुरुवात गरेको बताउँछन् । नेपाली जनताका छोराछोरीले के पढिरहेका छन् ? गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवस्था पाठ्यपुस्तकमा देखिन्छ कि देखिँदैन भन्ने कुरा आफूहरूले अध्ययनको क्रममा हेरेको जानकारी दिए । उनी परीक्षा पास गर्दैमा गुणस्तरीय शिक्षा पाएको भन्न नमिल्ने बताउँदै शिक्षाको परिभाषालाई नै परिर्वतन गर्नुपर्छ भन्ने उद्देश्यले ‘घरघरमा शिक्षा’ भन्ने अभियान सुरु गरेको बताउँछन् । ‘विश्वविद्यालयको डिग्री हासिल गरेर मात्र हुँदैन, गाउँमा हलो जोत्ने, घाँस काट्ने, मजदुरी गर्ने मजदुरले पनि राम्रा कुरा निर्माण गर्न सक्नुहुन्छ,’ होमराज भन्छन्, ‘नीति निर्माताहरूले महसुस नगरेको यो विषयमा नागरिकलाई हुटहुटी भयो, हामीले यसलाई सिस्टममा ढाल्ने प्रयास गरेका हौं ।’ पाठ्यपुस्तक महत्त्वपूर्ण अहिले नेपालमा एउटा भाष्य निर्माण भएको छ, ‘पाठ्यपुस्तकभन्दा महत्वपूर्ण पाठ्यक्रम हो’ । नेपालको हकमा यो एकदम गलत हो । जुन देशमा पढ्ने संस्कृतिको विकास भएको छैन, जहाँ पाठ्यपुस्तक नै प्राइमरी बुक्स हुन् । सबैको लागि ज्ञान प्राप्त गर्ने, साहित्यको बारेमा जान्ने, जलवायु वातावरणको बारेमा जान्ने, समानताको बारेमा जान्ने कुरा पाठ्यक्रममा जान्नुपर्छ भनेर लेखेरमात्र हुँदैन । यसलाई पाठ्यपुस्कतमै ढाल्न सक्नुपर्छ । उनी नेपालका सबै शिक्षकहरू सिपयुक्त नहुन सक्ने अथवा जस्तो तालिम उनीहरूले पाएको हुन्छ त्यो कक्षामा आएर लागू गर्न नसक्ने भएकाले पनि पाठ्यपुस्तक महत्त्वपूर्ण हुने बताउँछन् । ‘हाइक्वालिटीको पाठ्यपुस्तक भयो भने विद्यार्थीले आफ्नै तरिकाले पढ्न पाउँछन्,’ होमराज थप्छन्, ‘हामीकहाँ पाठ्यपुस्तकभन्दा पाठ्यक्रम महत्त्वपूर्ण हुन्छ भन्ने गलत भाष्य कायम भयो, अन्य देशका शिक्षकहरूले ४ कक्षामा पढाउन १० घण्टा घरमा गएर प्लानिङ गर्छन्, यहाँ शिक्षकको मिहिनेत देखिँदैन ।’ कुपोषित शिक्षा होमराज नेपालको शिक्षा नै कुपोषित भएको बताउँछन् । अहिले पनि धेरै विद्यालयमा शिक्षकहरू हाजिर लगाउने, पाठ्यपुस्तकमा भएको पाठलाई पढेर सुनाउने अनि विद्यार्थीलाई आफै पढेर आउनूस् भन्दै हिँड्ने गरेको पाइन्छ । विद्यालयभन्दा कुन पार्टीको कहाँ बैठक छ, त्यहाँ जाने प्रवृति छ । शिक्षकलाई भोलि गएर कसरी नेता बन्ने भन्ने कुराको बढी पीर रहेको बताउँदै उनी शिक्षण पेसा जुन तरिकाले अघि बढ्नुपथ्र्यो त्योअनुसार हुन नसकेको गुनासो गर्छन् । उनी यसको मुख्य कारण पाठ्यपुस्तक नै रहेको बताउँछन् । ‘विद्यार्थीलाई पालिका, प्रदेश, संघ हुँदै अन्तर्राष्ट्रिय स्तरसम्मको ज्ञान दिनुपर्छ, तर नेपालमा यस्तो छैन,’ होमराज भन्छन्, ‘ हामीले बुद्धको बारेमा जानकारी गराउँदा पनि बुद्ध को हुन् ? भन्ने जानकारी गरायौं, त्योबेला अन्य देशमा कहाँ के के भइरहेको थियो, त्यो बेलाको सोचाइ कस्तो थियो, समय कस्तो थियो भन्ने तहसम्म विद्यार्थीलाई जानकारी गराउन सकेनौं । अहिलेको पाठ्यपुस्तकमा यस्तो जानकारी छैन । ’ उनी यस्ता कुरा पढाउन शिक्षक आफैले पनि खोजी गर्नुपर्ने बताउँछन् । होमराज गुणस्तरीय शिक्षाको कुरा गर्ने हो भने लोकल, नेसनल र ग्लोबलको लिंकेज भएको ज्ञान प्रत्येक विद्यार्थीलाई दिनुपर्ने धारणा राख्छन् । अहिले विद्यालय तहको अधिकार स्थानीय तहमा गएको छ । पाठ्यक्रम लेख्ने अधिकार पनि उसैलाई छ । यसमा पनि पालिकाले आफ्नो नगरभित्रको कुरासँगै देशभित्र र बाहिरका कुरा पनि राख्न आवश्यक छ । नेपालमा अझै प्रमाणपत्रमात्र दिने जुन शिक्षा छ, यसले धेरै कुरालाई बिगारेको होमराज बताउँछन् । ‘मसँग अमेरिकाका ६ वटा विश्वविद्यालयको अनुभव छ । तर, राम्रो र गुणस्तरको काम गर्नलाई डिग्रीको सर्टिफिकेट र विश्वविद्यालयको अनुभव हुनुपर्छ भन्ने छैन,’ आचार्य भन्छन्, ‘मान्छेभित्र सिक्ने, सिकाउने मनोवृत्ति हुनुपर्छ । त्यसो हुन सकेन भने उसको शिक्षा काम लाग्दैन । सामूहिक अध्ययन होमराजसहितको टोलीले १६ महिना लगाएर अध्ययन गरेको पाठ्यपुस्तकलाई अहिले पनि सरकारले कहाँनेर के गल्ती कसरी सुधार गर्ने भन्ने बारेमा चासो दिएको छैन । सरकार आफैंले गर्नुपर्ने कामलाई गैरसरकारी तहबाट गरेर त्रुटि देखाइदिँदा पनि सरकारले सुधारको लागि ध्यान नदिएको गुनसो उनको छ । सरकारले चाँसो नदिँदा अब आफै प्रस्ताव गर्ने विचारमा होमराज र उनको टोली छ । ‘उहाँहरू व्यस्त भएर हामीलाई प्रस्ताव नगरेको पनि हुनसक्छ, अब हामी नै गर्छौं,’ उनी भन्छन्, ‘नेपालमा स्थायित्व नै हुँदैन । हामीले यो काम गर्दा अहिलेसम्म तीन जना शिक्षामन्त्री भए, पहिलो मन्त्री हुँदा हामी अध्ययनमै थियौं, दोस्रो मन्त्री सुमनालाई भेटेर जानकारी गरायौं अहिलेका मन्त्रीलाई भेट्नै सकेका छैनौं, अब भेटेर कुरा राख्छौं ।’
पारिलो घाम लागेसँगै सडक धुलाम्मे, यात्रुलाई असहज
ललितपुर । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण शनिबार वाग्मती नदीमा आएको बाढीका कारण वाग्मती करिडोर अहिले पनि हिलाम्मे छ । शनिबार बिहानसम्म बाढी वाग्मती करिडोर छिचोलेर बस्तीमा पसेपछि ठूलो क्षति भएको छ । ललितपुको धोबीघाट, बल्खुपुल, सानेपाको कालोपुल, युएन पार्कलगायत स्थानमा अहिलेसम्म हिलो छ । सवारीसाधन सञ्चालनमा आए पनि हिलो र धुलोका कारण वाग्मती करिडोरमा यात्रा असहज भएको यात्रीहरू बताउँछन् । वाग्मती करिडोरमा हिलो भएकाले सवारीसाधनको चाप कम त भएको छ तर, यसको असर मुख्य सडकमा परेको छ । जसले गर्दा पहिलेभन्दा अहिले सवारी जाममा पर्ने गरेका छन् । वैकल्पिक यात्रा गर्ने वाग्मती करिडोर हिलाम्मे अवस्थामा भएका कारण यात्रामा असहज भएको मोटरसाइकलयात्री पवन बोहोराले बताए । उनले भने, ‘जताततै हिलो छ, पुलमुनिको खाल्डोमा लेदोसहितको पानी भरिएकाले सवारी जाम हुने गरेको छ ।’ अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले वाग्मती करिडोरको व्यवस्थापन गर्नुपर्ने ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकार बताउँछन् । उनी भन्छन्, ‘वाग्मती करिडोर बाढीले डुबानमा परेको छ । मन्दिर, पाटी, आर्यघाटमा बाढीले ठूलो क्षति भएको छ । यसको व्यवस्थापनमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सक्रिय हुनुपर्छ ।’ त्यसैगरी अर्का मोटरसाइकलयात्री विनोद थापाले पनि हिलो र धुलोको कारण वाग्मती करिडोरको यात्रा असहज हुने गरेको बताए । उनले भने, ‘जिम्मेवार निकायले व्यवस्थापनमा छिटो पहल गरे ठूलो कुरो होइन, व्यवस्थापनमा नजुटेका कारण हालसम्म करिडोरमा हिलो छ ।’ अहिले वाग्मती करिडोर छेउछाउका बासिन्दा, बाढीले क्षति गरेको सामान व्यवस्थापनमा जुटेका छन् । बाढीका कारण घरभित्र छिरेको लेदो पन्छाउन, भिजेको कपडा सुकाउन स्थानीय लागेका छन् । सरकारको जिम्मेवार निकायसँग लेदो सफा गर्न पानी व्यवस्था गरिदिन स्थानीयको माग छ । रासस