विकासन्युज

धितोपत्र बोर्डको अध्यक्षका लागि कार्की, चापागाईं र अधिकारीको अन्तर्वार्ता आज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि तीन जनाको अन्तर्वार्ता आज हुँदैछ । बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनासँग व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ता लिने भएको हो । सिफारिस समितिका अनुसार कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारीलाई आज बिहान ८ बजे अर्थ मन्त्रालयमा बोलाइएको छ । बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रियामा विवाद सिर्जना भएपछि रोकिएको थियो । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनालाई कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कार्की र बीमा समितिका पूर्वअध्यक्ष चापागाईं अनुपस्थित भएका थिए । यसअघि सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि उपस्थित भएका थिए । बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नु पर्ने व्यवस्था छ । पाँचमध्ये बहुसंख्यक उम्मेदवार (तीन जना) अन्तर्वार्तामा अनुपस्थित भएपछि अध्यक्षको नियुक्ति प्रक्रिया रोकिएको थियो । पुस २० गतेदेखि तत्कालीन अध्यक्ष रमेशकुमार हमाल कार्यकाल सकेर बाहिरिएपछि बोर्ड नेतृत्वविहीन छ । अध्यक्ष नियुक्तिका लागि माघको पहिलो साता सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा सिफारिस समिति गठन भएको थियो ।

नवरात्रको दोस्रो दिन : आज ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । ब्रह्मचारिणी देवीको स्वरुप संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । नवरात्रका अवसरमा शक्तिपीठ गई देवीको पूजाआराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने, शक्ति प्राप्त हुने, सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

कोशी प्रदेशमा भारी वर्षा हुने, यस्तो छ देशभरिको मौसम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा देशका पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बङ्लादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली भएको छभने कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसैगरी, आज दिउँसो कोशी, मधेस ,बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुने तथा कोशी, बागमती, र गण्डकी तथा बाँकी प्रदेशका एक/दुई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराईका केही स्थानहरुमा हुरीबतास चल्ने सम्भावना रहेको छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकीका साथै अन्य प्रदेशका केहीस्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सम्भावित क्षतिबाट जोगिन उक्त प्रदेशका सर्वसाधारणमा अनुरोध गरेको छ ।

सिमेन्ट उद्योगको प्रतिफलमा उच्च गिरावट, मारुतीले ४ प्रतिशत मात्र लाभांश दिने

काठमाडौं । मारूती सिमेन्ट्सले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको करसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले ३०औँ वार्षिक साधारण सभा कात्तिक ११ गते बिहान साढे ११ बजे बिराटनगरमा बोलाएको हो । सभाले आर्थिक वर्ष २०८०/८१ कम्पनीको संचालक समितिले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरेको १ लाख रुपैयाँ भन्दा माथिका रकमहरू अनुमोदन गर्नेछ । यस्तै कम्पनीको संचालक समितिको निर्णयबाट विभिन्न बैंकहरूबाट लिएको ऋण र आर्थिक वर्ष २०८०/८१ म गरेका निर्णयहरू अनुमोदन गर्नेछ । यस्तै संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

कामना सेवा विकास बैंकको सेयर १ सय रुपैयाँ किन्ने मौका

काठमाडौं । कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार संस्थापक समूहको ३५ हजार ५३४ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको सेयरमा सर्वसाधारण समेतले आवेदन दिन सक्नेछन् । बैंकको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज असोज १८ गतेदेखि असोज २१ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको सेयरमा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । त्यसैले आवेदन दिँदा सो वा सोभन्दा बढी मूल्य कबोल गरी आवेदन दिनुपर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

अरूण भ्याली हाईड्रोको लाभांश घोषणा, सेयरधनीको भेला कात्तिक १४ गते डाक्यो

काठमाडौं । अरूण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले ३.१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१५७ प्रतिशत नगद गरी कुल ३.१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लाभांश पारित गर्न २७औँ वार्षिक साधारण सभा कात्तिक १४ गते बिहान ११ बजे काठमाडौंमा बोलाएको छ । कम्पनीको सभाले बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी तथा जारी पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने, नियमनकारी निकायबाट सुझाव वा निर्देशन दिएमा सो अनुसार आवश्यक फेरवदल गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्नेछ । साथै सभाले लिखु खोला जलविद्युत आयोजनाको निर्माणका लागि बैंक तथा वित्तीय संस्थासँग गरिएको ऋण सम्झौतामा कर्पाेरेट ग्यारेन्टी दिने प्रस्ताव पारित गर्नेछ । संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक ४ गतेसम्म नेपाल स्टक एक्चेञ्ज (नेप्से) कारोबार भई कायम सेयरधनीले मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

हकप्रद सेयर संशोधन पारित गर्न एनएलजीले डाक्यो विशेष सभा

काठमाडौं । हकप्रद सेयर संशोधन गर्न एनएलजी इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक ७ गते आम्रपाली ब्याङ्क्वेट काठमाडौंमा बिहान साढे १९ बजे सभा बोलाएको हो । कम्पनीको सभाले हकप्रद सेयर संशोधन प्रस्ताव पारित गर्नेछ । यसअघि कम्पनीले चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँको १० सेयर बराबर ६.६ सेयर (६६ प्रतिशत) ले हुन आउने ९६ करोड ३१ लाख २२ हजार रुपैयाँका प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९६ लाख ३१ हजार २२० कित्ता सेयर जारी गर्न प्रस्ताव गरेको थियो । तर, यस अवधिमा कम्पनीले ५.५० प्रतिशत बोनस सेयर जारी गरेपछि चुक्ता पुँजी १ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ पुगेको थियो । बोनसवापतको सेयर घटाउँदै अब कम्पनीले ६२.५६ प्रतिशत अर्थात् ९६ करोड ३१ लाख २२ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँका दरले ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर जारी गर्नेछ । साथै नेपाल बीमा प्राधिकरणबाट हकप्रद सेयर घटाउने प्रस्तावलाई अनुमति दिइसकेको र साधारण सभाबाट पारित गर्ने गरी विशेष सभा बोलाएको हो ।

कुवेत र बहराइन दिनारको मूल्य बढ्यो, अधिकांश मुद्राको भाउ घट्यो

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.०४ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४८.०२ रुपैयाँ र बिक्रीदर १४८.६८ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५.६६ रुपैयाँ र बिक्रीदर १७६.४४ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५७.७७ रुपैयाँ र बिक्रीदर १५८.४८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९१.७४ रुपैयाँ र बिक्रीदर ९२.१५ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९९.०२ रुपैयाँ र बिक्रीदर ९९.४६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.३६ रुपैयाँ र बिक्रीदर १०३.८२ रुपैयाँ, जापानी येन १० को खरिददर ९.१३ रुपैयाँ र बिक्रीदर ९.१७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.१० रुपैयाँ र बिक्रीदर १९.१७ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७२ रुपैयाँ र बिक्रीदर ३५.८८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०५ रुपैयाँ र बिक्रीदर ४.०६ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.७६ रुपैयाँ र बिक्रीदर ३१.९० रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद १०.०४ रुपैयाँ र बिक्रीदर १०.०९ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.०२ रुपैयाँ र बिक्रीदर १३.०८ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.८४ रुपैयाँ र बिक्रीदर १९.९३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२६ रुपैयाँ र बिक्रीदर १७.३४ पैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.२० रुपैयाँ र बिक्रीदर ४४०.१७ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.५७ रुपैयाँ र बिक्रीदर ३५७.१६ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।