विकासन्युज

तुईन र फड्केले जोडियो तातोपानी नाका

चौतारा । अविरल वर्षासँगैको बाढीले भोटेकोशीको लार्चास्थित ‘बेलिब्रिज’ बगाएपछि तातोपानी नाका सडक सम्पर्कबाट टुटेको छ । भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने कोदारी राजमार्गको लार्चामा बेलिब्रिज थियो । उक्त बेलिब्रिजले सीमा गाउँ लिपिङ जोडिएको थियो । त्यही बेलिब्रिज भोटेकोशीले बगाएपछि सीमाक्षेत्रलाई राजधानीसँग जोड्ने सडक सम्पर्क टुटेको हो । पुल बगेपछि ठप्प बनेको तातोपानी नाका जाने सडकको लार्चामा तुइन र फड्के राखिएको छ । भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठका अनुसार गाउँपालिकाको खर्चमा सडक डिभिजन र गाउँपालिकाको दुई एक्स्काभेटर र टिपर प्रयोग गरी ह्युम पाइप राखेर अस्थायी रुपमा खोला तार्ने संरचना निर्माण भइरहेको छ  । ‘तत्काललाई तुइनबाट आउजाउ भइरहेको छ, तुइन दीर्घकालीन नहुने र जोखिमपूर्ण भएकाले अस्थायी गाडी तार्ने फड्के हाल्ने काम अन्तिम चरणमा पुगेको छ’, वडाध्यक्ष श्रेष्ठले भने । भोटेकोशीको प्रवाह अझै नघटेकाले उक्त काम सम्पन्न गर्न अझै दुई दिन बढी लाग्ने उनको भनाइ छ । लिपिङ खोला उर्लिँदा लिपिङ र कोदारी जोड्ने पुलको भाग ध्वस्त पारेको छ । राजमार्गको क्षतिग्रस्त खण्डमा मर्मत थालिएको छ । यसअघि गाउँपालिकासँग भएका पुरानो तुइन अहिले प्रयोगमा ल्याइएको र बाँस, फलामे पोल राखेर फड्के बनाइएको हो । रासस

इजिप्टको कुल ग्रार्हस्थ उत्पादन वृद्धि दर २.४ प्रतिशतमा झर्यो

काठमाडौं । इजिप्टको कुल ग्राहस्थ उत्पादन वृद्धि दर जुनमा समाप्त भएको आर्थिक वर्ष २०२३/२४ मा २.४ प्रतिशतमा झरेको छ । जुन अघिल्लो आर्थिक वर्षको ३.८ प्रतिशतबाट घटेको देशको योजना तथा आर्थिक विकास मन्त्रालयले उल्लेख गरेको छ । भूराजनीतिक तनाव र सरकारले बृहत आर्थिक स्थिरता पुनःस्थापना गर्न सरकारले अपनाएको मितव्ययिता नीति विशेषगरी सार्वजनिक लगानीको कडा शासनमार्फत गिरावट भएको जनाइएकाे छ  । सुएज नहर राजश्व क्षेत्रीय भूराजनीतिक तनावबाट सबैभन्दा बढी प्रभावित भएको उल्लेख छ । गत आर्थिक वर्षको तुलनामा २०२३/२४ आर्थिक वर्षमा ३० प्रतिशतले गिरावट आएको छ । साथै नयाँ इनार अन्वेषणमा वैदेशिक लगानी कम भएकाले तेल र प्राकृतिक ग्यासको उत्पादन ४.७ प्रतिशतले घटेको छ ।

४१ करोडमा निर्माणाधीन चौतारा रंगशाला अलपत्र

चौतारा । जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको ‘मिनी’ रंगशाला अलपत्र परेको छ । निर्माण कम्पनीले ढिलासुस्तीले ४१ करोड ६२ लाख रुपैयाँको परियोजना अलपत्र परको हो । तीन वर्षमा काम सम्पन्न गर्नेगरी गिरी कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको थियो । विभिन्न बहानामा रंगशालाको काम रोकिएको छ । यसैबीच, उक्त कम्पनीले अर्को निर्माण कम्पनीसँगको साझेदारीमा रंगशालाको ७० प्रतिशत काम सम्पन्न गरेको दाबी गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दंगालले पनि कछुवा गतिमा काम भइरहेको बताए । जिल्ला फुटबल संघका अध्यक्ष अमृतमान श्रेष्ठले रंगशाला नहुँदा छ वर्षसम्म जिल्लामा खेलकुदका गतिविधि ठप्प भएका तथा मैदानमा निर्माण सामग्री थुपारिएको कारण त्यो उपयोगविहीन भएको दुखेसो गरे ।

विश्वभरको सेयर बजारमा ठूलो गिरावट, बेजोसलाई उछिन्दै विश्वको दोस्रो धनी बने जुकरबर्ग

काठमाडौं । इरान र इजरायलबीच बढ्दो तनावका कारण बिहीबार विश्वभरका सेयर बजारमा गिरावट आएकाे छ । जसका कारण धनीहरूको सूचीमा ठूलो फेरबदल भएको छ । शीर्ष २० मा केवल तीन धनी व्यक्तिको कुल सम्पत्ति बढेको छ। जसमा फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्ग, एनभीडीयाका सीईओ जेन्सेन हुआङ र डेल कर्पोरेशनका माइकल डेल सामेल छन् । यससँगै जुकरबर्ग विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा पुगेका छन् । एसियाका सबैभन्दा धनी मुकेश अम्बानी र गौतम अडानीलाई ठूलो नोक्सान भएको छ । बिहीबार जुकरबर्गको कुल सम्पत्ति ३ अर्ब ४३ करोड डलरले बढेको छ र उनी २०६ अर्ब डलरसहित विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा पुगेका छन् । यस वर्ष उनको कुल सम्पत्ति सबैभन्दा बढी ८९. १ बिलियनले बढ्यो । एलन मस्क २५६ अर्ब डलरको कुल सम्पत्तिका साथ पहिलो नम्बरमा छन् । जेफ बेजोस २०५ अर्ब डलरको सम्पत्तिसहित तेस्रो स्थानमा झरेका छन् भने फ्रान्सका व्यापारी बर्नार्ड अर्नाैल्ट १९३ अर्ब डलरसहित चौंथो स्थानमा छन् । अम्बानी-अडानीको अवस्था यसैबीच रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी १४ औं स्थानमा झरेका छन् । रिलायन्स इन्डस्ट्रिजको सेयरमा बिहीबार गिरावट आउँदा अम्बानीको कुल सम्पत्ति ४ अर्ब २९ करोड डलरले घटेको छ । अहिले उनको कुल सम्पत्ति १०७ अर्ब डलर छ । यो वर्ष उनको कुल सम्पत्ति १०.५ बिलियन डलरले घटेको छ । अदानी समूहका अध्यक्ष गौतम अडानीको कुल सम्पत्ति २.९३ अर्ब डलरले घटेर १०० अर्ब डलरसहित १७ औं स्थानमा झरेको छ । यो वर्ष उनको कुल सम्पत्ति १६. १ बिलियन डलरले बढेको छ। एजेन्सीकाे सहयाेगमा

आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा छुट

काठमाडौं । आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरबाट यात्रा गर्दा छुट पाइने भएको छ । आईसीएफसी फाइनान्स र बुद्ध एयरबीच भएको सम्झौतामा आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले आईसीएफसीको डेबिट कार्ड वा आईसीएफसीको मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । यो सम्झौताबाट आईसीएफसीका ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुन सक्ने छन् ।

फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया फेरी रोकिएको छ । बोर्ड अध्यक्ष छनोट तथा सिफारिस समितिका संयोजक प्रा.डा. शिवराज अधिकारी बिरामी परेपछि नियुक्ति प्रक्रिया रोकिएको हो । लामो समयदेखि रोकिएको अध्यक्ष नियुक्ति प्रक्रियालाई निरन्तरता दिँदै तीन जनालाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि शुक्रबार आज (असोज १८ गते) बोलाएको थियो । तर, सिफारिस समितिका संयोजक प्रा.डा. अधिकारी एक्कासि बिरामी परेपछि बोर्ड नियुक्ति प्रक्रिया फेरी अनिश्चित बनेको हो । विगतमा बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रियामा विवाद सिर्जना भएपछि रोकिएको थियो । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनालाई कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं अनुपस्थित भएका थिए । त्यसपछि लामो समयसम्म नियुक्ति प्रक्रिया अन्यौल बनेपछि अदालतसम्म यो मुद्दा पुगेको थियो । अदालतको निर्णयपछि सिफारिस समितिले अनुपस्थित भएका तीनै जनालाई अन्तर्वार्ताका लागि आज अर्थ मन्त्रालयमा ‍बाेलाएकाे थियाे ।  संयोजक अधिकारी डेङ्गु संक्रमित भई अस्पताल भर्ना भएपछि नियुक्ति प्रक्रिया रोकिन पुगेको हो । सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले भने यसअघि नै कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ता दिइसकेका छन् । बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नु पर्ने व्यवस्था छ । पुस २० गतेदेखि तत्कालीन अध्यक्ष रमेशकुमार हमाल कार्यकाल सकेर बाहिरिएपछि बोर्ड नेतृत्वविहीन छ । अध्यक्ष नियुक्तिका लागि माघको पहिलो साता सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा सिफारिस समिति गठन भएको थियो । तर, सरकार परिवर्तन भएपछि आयोगका उपाध्यक्षमा प्रा.डा अधिकारी नियुक्त भएका थिए । राजनीतिक दलका नेतृत्वबीच नै आफ्नो मान्छेलाई बोर्डको अध्यक्ष बनाउने संघर्ष चल्दा सेबोन विगत १० महिनादेखि नेतृत्वविहीन छ ।

हिमालयन एभरेस्ट इन्स्योरेन्सको नवनियुक्त सीईओ श्रेष्ठले गरिन् पदबहाली

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जु श्रेष्ठले पदबहाली गरेकी छन् । निर्जीवन बीमा कम्पनीमाहरूमा दोस्रो महिला सीईओ बनेकी उनले बिहीबार पदबहाली गरेकी हुन् । नव नियुक्त सीईओ श्रेष्ठसँग बीमा क्षेत्रको २९ वर्षको अनुभव रहेको छ । वि.सं २०५२ फागुन १६ गते सहायक अधिकृतको रूपमा बीमा क्षेत्रमा प्रवेश गरेकी उनी विभिन्न पदमा काम गर्दै सीईओ बनेकी हुन् । सीईओ बनेपछि नयाँ योजनाको साथ उनले हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व सम्हालेकि हुन् । नयाँ प्रविधि तथा दिगो वृद्धिलाई प्रोत्साहन गर्दै ग्राहक केन्द्रीत सेवा प्रदान गर्ने र समस्या समाधानमा जोड दिने उनको भनाइ छ । ‘मेरो लक्ष्य भनेको कम्पनीका सबै सदस्यमा जिम्मेवारी बोधको भावना सिर्जना गर्ने तथा कम्पनीको समग्र वृद्धिको वातावरण बनाउने हो,’ उनले भनिन् । कम्पनीका अध्यक्ष महेन्द्र के. श्रेष्ठ नवनियुक्त सीईओ श्रेष्ठले बीमा क्षेत्रको अवसरहरू र चुनौतीहरू राम्रोसँग बुझेको र इन्स्योरेन्स कम्पनीलाई अझ उचाइमा लैजान सहयोग पुग्ने बताए ।

सरकारको एआईसम्बन्धी अवधारणा पत्रमा महत्त्वपूर्ण विषय समावेश नभएको विज्ञहरूको गुनासो

काठमाडौं । सरकाले सार्वजनिक गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अवधारणा पत्र’का विभिन्न पक्षहरूमा सरोकारवाला निकायका प्रतिनिधिहरू र विज्ञहरूबीचको अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएकाे छ । कम्प्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) ले बिहीबार आयोजना गरेको उक्त कार्यक्रममा वक्ताहरूले अवधारणा-पत्रको स्वागत गरे पनि यसमा कतिपय महत्त्वपूर्ण विषय समावेश नभएको औंल्याएका थिए । कार्यक्रममा एआईको प्रयोग, नियमन र व्यवस्थापनबारे जानकारी र रुची राख्ने अध्यापक, सूचना प्रविधि विज्ञ, अधिवक्ता, सेवा प्रदायक कम्पनी, डिजिटल अधिकारको पक्षमा काम गर्ने अभियन्ता लगायतका व्यक्तिहरू उपस्थित थिए । छलफलमा उठेका विषय र सुझावहरूको प्रतिवेदन बनाएर सरकारलाई बुझाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हाे । ‍एआईको नियमन आवश्यक भए पनि यसलाई नियन्त्रण गर्न नहुनेमा वक्ताहरूले साझा मत जाहेर गरेका थिए । नेपाल खुला विश्वविद्यालयको स्कुल अफ टेक्नोलोजीका प्रमुख भोजराज घिमिरेले अवधारणा पत्र आफैमा स्वागतयोग्य भए पनि यसमा खुद्राखुद्री र सैद्धान्तिक कुराहरू धेरै भएको टिप्पणी गरे । एआई डेटामा आधारित हुने भए पनि अवधारणा-पत्रमा डेटा स्ट्यान्डर्डाइजेसन, डेटा सेयरिङ, डेटा क्लिन्जिङ, डेटा प्राइभेसी र सेक्युरिटीजस्ता महत्त्वपूर्ण विषय गौंड रहेको उनले बताए । डिजिटल राइट्स नेपालकी सन्जिना क्षेत्रीले पनि डेटा संरक्षणको विषयबारे अवधारणा  पत्रमा कुनै चित्रण नभएको उल्लेख गरिन् । यसका साथै, देश संघीय संरचनामा प्रवेश गरिसकेको अहिलेको परिप्रेक्षमा अवधारणा-पत्रले तीन तहका सरकारको भूमिका स्पष्ट नपारेको उनले धारणा राखिन् । ‘नागरिक समाज र प्रविधि क्षेत्रका प्रतिनिधि मात्रै नभएर यो अवधारणा पत्रमा सरकारी तहमै पनि प्रदेश र स्थानीय तहको भूमिका र जिम्मेवारीबारे खासै उल्लेख छैन,’ उनी भन्छिन्, ‘एआईको प्रयोग हरेक तहमा भइरहेकाले प्रदेश र स्थानीय तहको जिम्मेवारी र भूमिका यसमा स्पष्ट रूपमा उल्लेख हुनुपर्ने हो ।’ सूचना प्रविधि विज्ञ तथा नेपाल प्रहरीका पूर्वडीआईजी राजीव सुब्बाले आजभन्दा १८ वर्षअघि ई-कमर्स क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विद्युतीय कारोबार ऐन ल्याइएकोमा पछि सो कानुन साइबर अपधराध नियन्त्रणको लागि प्रयोग गरिएको स्मरण गरे । ‘त्यो कानुन पनि पहिले ई-कमर्स क्षेत्रको विकासका लागि भनेर परिभाषित गरिएको थियो, पछि गएर त्यसलाई साइबर अपराधको व्यवस्थापनमा पो लगाइयो,’ उनले भने, ‘एआई सम्बन्धी अहिलेको बहशलाई पनि सही दिशा दिन सकिएन भने त्यसैगरी दिग्भ्रमित हुने खतरा रहन्छ ।’ डिजिटल मिडिया फाउन्डेसनका संस्थापक प्रवेश सुवेदीले पनि एआईका लागि छुट्टै निकाय आवश्यक भए पनि यसलाई सञ्चार मन्त्रालय मातहत राख्न नहुने प्रशंग उजागर गरे । अवधारणा-पत्रमा एआईसम्बन्धी गतिविधि समन्वय गर्नुका साथै साक्षरता फैलाउने र अनुसन्धानका लागि नोडल एजेन्सी स्थापना गर्न प्रस्ताव गरिएको छ । ‘यो अवधारणा-पत्रले सुझाएका मार्गनिर्देशन अनुरूप नीति वा कानुन निर्माण गर्दा सञ्चार मन्त्रालयले अन्य मन्त्रालय र निकायका क्षेत्राधिकारसमेत मिच्ने समस्या आउन सक्छ,’ उनले भने, ‘यसले हाम्रो संघीयता, सांस्कृतिक र भाषिक विविधतालाई पनि चिन्दैन । यो जेनेरिक छ, हाम्रो पृथकतालाई यसले प्रतिनिधित्व गर्दैन ।’ कार्यक्रममा ग्लोबल कलेज इन्टरनेसनलका एसोसिएट प्रोफेर समिर खरेल, क्यान महासंघका उपाध्यक्ष उमेश रघुबंशी, एभरेस्ट इन्जिनियरिङ कलेजका निश्चल रेग्मी, एआई इन्स्ट्रटर उदिप कुमार महतो, हुवावे नेपालका गौरव थापा, पत्रकार सुदीप रायमाझी, फेसेट टेक्नोलोजका प्रमुख सुरेश पोखरेल, सोध तथा तथ्यांक विश्लेषक खेमराज पोखरेल, ट्रिलिफ टेक्नोलोजीका असोक कुमार पन्त, अध्यापक उत्तम कार्की, सूचना प्रविधि व्यवस्थापक अनुकुल रेग्मी लगायतले धारणा राखेका थिए। कार्यक्रममा उठान गरिएका विषयहरू टिपोट गरी प्रतिवेदन बनाउन क्यानले काठमाडौं विश्वविद्यालयअन्तर्गत कम्प्युटर साइन्स विभागका प्राडा सुदन झा, क्यान महासंघकी वुमन ईन आईटी कमिटीकी कोर्डिनेटर गंगा भण्डारी र वर्ल्ड एसोसिएसन अफ गर्ल गाइड एन्ड गर्ल स्काउट्सको इन्टरनेट सेफ्टी प्रोग्राममा आवद्ध दिक्षा राउतलाई जिम्मेवारी दिएको छ । उक्त प्रतिवेदन मन्त्रालयलाई बुझाउने क्यान महासचिव तथा एआई कन्सेप्ट पेपरका संयोजक चिरञ्जीवी अधिकारीले जानकारी दिए । ‘यो अवाधारणा पत्रका विषयहरूमा विमर्श गरी आज उठेका विषयहरूको प्रतिवेदन तयार गर्न समिति बनेको छ,’ उनले भने, ‘त्यो प्रतिवेदन हामी मन्त्रालयमा बुझाउनेछौं ।’