बोइङले गर्याे १० प्रतिशत कर्मचारी कटौती, जहाजको उत्पादन बन्द गर्ने
काठमाडौं । बोइङले आगामी केही महिनामा आफ्ना १० प्रतिशत कर्मचारीलाई हटाउने कम्पनीले शुक्रबार जनाएको छ । एक महिना लामो हडतालका कारण बोइङको उत्पादनमा कटौती हुने कम्पनीले जनाएको छ । बोइङका अनुसार रोजगारी कटौतीले कम्पनीका सबै तहका करिब १७ हजार कामदारलाई असर पार्नेछ। कम्पनीले २९ वटा जेटका लागि हालको माग पूरा गरेपछि सन् २०२७ मा ७६७ मोडेलको (वाइडबडी मालवाहक) जहाजको उत्पादन बन्द गर्नेछ । कम्पनीले आफ्नो नयाँ ७७७ एक्सको उत्पादनलाई बजारमा ल्याउने प्रक्रियालाई सन् २०२६ सम्म सार्ने बताएको छ । प्रमाणीकरणको वर्षौंको ढिलाइ र हालैको एक त्रुटिपूर्ण भागको खोजपछि बोइङको नयाँ ७७७ मोडेलले यस वर्षको सुरुमा परीक्षण उडानहरू रोकेको थियो। बोइङका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत केली ओर्टबर्गले कर्मचारीहरूलाई पठाएको पत्रमा कम्पनीले वित्तीय वास्तविकतासँग मेल खाने गरी आफ्नो कार्यबलको स्तर पुनः तय गर्नुपरेको’ बताएका छन् । उनले भने, ‘हामीले सामना गरिरहेको कामको बारेमा स्पष्ट र यथार्थवादी हुन आवश्यक छ । यसले पुनरुत्थानको मार्गमा महत्वपूर्ण सफलता मिल्नेछ । हाम्रा स्रोतहरू प्रदर्शन गर्न र नवप्रवर्तनमा ध्यान केन्द्रित गर्न आवश्यक छ ।’
कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’, भन्छन्- हामीलाई के दसैँ, के तिहार !
काठमाडौं । दसैँका घमाइला दिन, जताततै रमाइलो । दसैँ मनाउनकै लागि घर फर्किनेको उत्साहपूर्ण उपस्थिति । सोलुखुम्बु सोताङका नविन राईलाई भने यसको प्रवाह छैन । उनी फुलपातीकै दिन पर्यटकको भारी खोज्दै उच्च हिमाली भेग खुम्बु क्षेत्र हानिएका छन् । उमेरले २४ वर्ष मात्रै पुगेका राईलाई दसैँँले भन्दा बढी जिम्मेवारीले थिचेको छ । त्यसैले होला फुलपातीका दिन सबै जना घर फर्किदा उनी भने घर छोडेर भारीको खोजीमा उकालो चडेका छन् । ‘हामीलाई के दसैँ, के तिहार ! सधैँ यस्तै हो, हाल खुम्बुमा पर्यटकीय सिजन छ, साथीहरूले विदेशी लिएर आएका छन् रे, त्यसैले भारी बोक्न हिँडेको,’ लामो सुस्केरा हाल्दै राईले भने, ‘काम नगरी हुँदैन । घरमा आमा बुवा, भाइबहिनी पाल्नै पर्यो, यतिबेला दसैँ मनाउन भनेर बस्यो भने घर कसरी चल्छ ? अब खुम्बुमै भारी बोक्दै दसैँ मनाउने हो ।’ जिल्लाका तल्लो भेगका अधिकांश युवा यति बेला काम खोज्दै खुम्बु पुगेका छन् । अन्य समयमा अध्ययनमा व्यस्त हुने विद्यार्थीहरूसमेत दसैँ बिदाको मौकामा पर्यटकको भारी बोक्न लुक्ला पुग्ने गरेका छन् । उनीहरूले भारी बोकेर दैनिक रु दुई हजारसम्म कमाउने गरेको लुक्लाका पर्यटन व्यवसायी अमृत मगरले बताए । सल्लेरीमा बसेर क्याम्पस पढ्दै गरेका माप्यदुधकोशीका रमेश विक बिदाको समयमा अहिले नाम्चे पुगेका छन् । अन्य समयमा कलेज जानुपर्ने भएकाले दसैँ, तिहारको बिदामा पर्यटकको भरियाका लागि खुम्बु आएको विकले बताए । ‘पढाइ खर्च जोहो गर्ने सिजन नै यही हो, विदेशीको भारी बोक्दा भएको आम्दानीले पढाइ खर्च चलाउने गरेको छु,’ उनले भने । दसैँ मनाउन अन्य क्षेत्रमा घर फर्कनेको लर्को लागिरहँदा खुम्बु क्षेत्रमा भने भरियाको चहलपहलले दसैँ नै बिर्साउने गरेको छ । पिठ्युँमा गह्रौ भारी बोकेर उकालो चढ्दै गरेका गोराखानीका प्रदिप मगरले भने, ‘हामीलाई दसैँको कुनै वास्ता छैन् । यही बेला काम नगरेर बाँकी समयको गर्जो टार्न सकिँदैन । हरेक वर्ष खुम्बुमा पर्यटकको आवागमन हुने भएकाले बर्सेनि यसैगरी यहाँ आउने गरेको छु । दसैँ नमनाएको पनि पाँच/वर्ष नै भयो । विदेशीहरू यही बेला आउँछन्, विदेशी डुलाउनु पर्छ । कसरी दसैँ मनाउनु त ।’ संसारकै प्रमुख पर्यटकीय गन्तव्य मानिने सोलुुखुम्बुको खुम्बुक्षेत्रमा ‘पर्यटकीय मौसम’ सुरु भएको छ । त्यसैले पर्यटन व्यवसायीहरू पनि दसैँतिहार जस्ता चाडपर्वलाई छोडर ट्रेकिङमा जाने गरेका छन् । खुम्बुमा हाल दैनिक तीन सय जनासम्म विदेशी पर्यटक भित्रिने गरेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको तथ्याङ्क छ । त्यसैले पर्यटन व्यवसायमा लागेका युवाहरूमा चाडपर्वको सट्टा पर्यटक आवगमनले थप उत्साह भर्ने गरेको लुक्लाका अमृत मगर बताउँछन् । ‘वर्षदिनमा मनाइने दसैँ जस्ता महत्वपूर्ण चाडपर्व सबैको लागि विशेष नै हुन्छन् तर चाडपर्वमा रमाउने कार्यले मात्रै घरपरिवार धान्न सकिँदैन । त्यसैले साथीसँगी मिलेर विदेशीलाई खुसी पार्न यहाँ आउँछौँ । उहाँहरूको खुसीमा आफ्नो खुसी बिर्साउनुपर्छ,’ उनले भने । पर्यटन व्यवसायमा आबद्ध अधिकांश युवाहरू यतिखेर खुम्बु पुगेका छन् । भदौँ अन्तिमबाट खुम्बुमा पर्यटन सिजन सुरु भएसँगै युवाहरू चाडपर्व नभनी व्यवसायमै व्यस्त छन् । खुम्बुमा वर्षको दुईपटक पर्यटकयाम हुन्छ । पहिलो फागुन, चैत, वैशाख र असोज, अर्को कार्तिक र मंसिर । त्यसैले यसपटक पनि खुम्बु क्षेत्र हाल स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ छ । सगरमाथासहितका हिमश्रृङ्खला अवलोकनका लागि आएका पर्यटकहरूले खुम्बु भरिएसँगै पर्यटकको भारी बोक्ने तथा पथप्रदर्शकका लागि युवाहरूसमेत यहाँ आउने गरेको सेर्कासिङका पर्यटन व्यवसायी डिकबहादुर दर्नालले बताए । ‘यहाँ वर्षको करिब छ महिना मात्रै पर्यटक सिजन चल्ने भएकाले दसैँको भन्दा व्यवसाय चलाउने चटारो हुन्छ, यही व्यवसायबाट घर खर्चदेखि सबै गुजरा चलाउनुपर्ने भएकाले मन हुँदाहुँदै पनि चाडपर्वमा घर बस्न पाउँदैनौँ,’ दर्नालले भने । करिब दुई दशकदेखि पर्यटक गाइडको रूपमा काम गर्दै आएका दर्नालले हरेक वर्ष यसरी नै बित्ने गरेको सुनाए । ट्रेकिङ कम्पनीहरूले अन्य समयमा घर पठाउने र यस सिजनमा बोलाउने भएकाले चाडपर्वलाई थाँती राखेर व्यवसायमा हिड्नुपरेको उनको भनाइ छ । हाल लुक्लामा दैनिक दुई सयभन्दा बढी हवाइ उडान हुने गरेको र दैनिक एक हजार बढी पर्यटकहरू हवाइमार्गबाट खुम्बु भित्रिरहेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीले बताए । पर्यटकको चाप बढेसँगै खुम्बुका होटल तथा लजहरू भरिभराउ भएका छन् । जसकारण व्यवसायीहरूमा पनि निकै व्यस्तता बढेको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले बताए । ‘अन्य समयमा खाली हुने होटलहरू यतिबेला खचाखट भरिएका छन् । बास पाउन मुस्किल छ,’ उनले भने । पर्यटकको आागमन बढ्दा यहाँका कर्मचारीलाई पनि निकै चटारो छ । लुक्लास्थित गाउँपालिकाको जाँचकेन्द्र तथा जोरसल्लेस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको चेकपोइन्टका कर्मचारीहरूमा पनि व्यस्त छन् । निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोजकुमार मण्डलले पर्यटकको आगमन बढ्दा कर्मचारीले पनि दसैँ मनाउन पालो लगाएर जानुपरिरहेको बताए । ‘थोरै कर्मचारीले धेरै पर्यटकहरूको तथ्याङ्क सङ्कलन तथा अभिलेखिकरण गर्नुपर्ने भएकाले सबैले घर जान पाउँदैनौँ । के गर्नु काम गर्नैपर्छ । यसैमा रमाइरहेका छौँ,’ उनले सुनाए ।
प्रधानमन्त्री ओलीले लगाए बुबा मोहनप्रसादको हातबाट दशैँको टीका
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको टीका ग्रहण गरेका छन् । उनले आज बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका हुन् । साथै प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्य तथा अन्य परिवाजनलाई पनि टीका लगाइदिएको उनको सचिवाललये जनाएको छ । यसपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ । यसपटक बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्का कारण प्रधानमन्त्री ओलीले सर्वसाधणलाई टीका लगाइदिने कार्यक्रम भने नरहेको सचिवालयले जनाएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैँको टीकाको शुभ साइत आज बिहान ११ बजेर ३६ मिनेटमा आरम्भ भएको छ ।
राष्ट्रपति पौडेलले लगाए ९४ वर्षिय दाजुबाट दसैँको टीका
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षिय दाजु डुण्डीराज पौडेलबाट शुभ साइतमा यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आशिर्वाद ग्रहण गरेका छन् । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गरे । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैँको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गर्नुभएको हो । सोही अवसरमा उनले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यहरुलाई पनि शुभ साइतमा टीका र जमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । विजयादशमीका उपलक्ष्यमा आजै दिउँसो राष्ट्रपति पौडेलले ३ः०० बजे देखि ३ः३० बजेसम्म विशिष्ट व्यक्तित्वहरु तथा र ३ः३० बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका र जमरा लगाइदिनुहुने कार्यक्रम रहेको छ । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीका र जमरा लगाइदिने कार्यक्रम छ । साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि दसैँको टीका र जमरा लगाइदिनुहुने कार्यक्रम छ । यसैगरी दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई पनि राष्ट्रपति पौडेलले टीका र जमरा लगाइदिनुहुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । दसैँलाई असत्यमाथि सत्यको विजयको प्रतीक र देवी दुर्गाले महिषासुर दैत्यलाई पराजित गरेको कथासँग जोडिएको छ । टीका लगाउँदा देवीको आशीर्वाद स्वरूप विजयशक्ति प्राप्त हुन्छ भन्ने विश्वास छ । टीका लगाउनु धार्मिक रूपमा शुद्धता र पवित्रताको प्रतीक तथा यो परम्पराले नेपाली संस्कृति तथा परम्पराहरूलाई संरक्षण गर्दै अघि बढाउने र दसैँको टीकाले परिवारका सबै सदस्यहरूलाई एक ठाउँमा भेला गराउने भएकाले यसको महत्व छ । दसैँको टीकाले धार्मिक, सांस्कृतिक, र पारिवारिक रूपमा गहिरो महत्व राख्दछ, जसले नेपाली समाजमा एकता, प्रेम र शान्तिको भावना प्रवर्द्धन गर्ने समेत विश्वास लिइएको छ ।
कलाकार पौडेलले बनाए ‘आवरण यूनिकोड’
काठमाडौं । लामो समयदेखि आवरण कला र लिपि साधनामा लागेका रमेश पौडेलले आफ्नै हस्तलिपिलाई मौलिक फन्टका रूपमा विकास गरेका छन् । पौडेलले आफूले यसअघि प्रचलनमा ल्याएका फन्टलाई समेटेर नेपाली र नेपाली यूनिकोड रोमनाइज्डमा टाइप गर्न मिल्ने गरी फन्ट विकास गरेको जानकारी दिए । यसरी विकास गरेका फन्टलाई ‘आवरण यूनिकोड’ को नाम दिएको उनको भनाइ छ । ‘मैले डिजाइन गरेका फन्ट नेपाल प्रज्ञा–प्रतिष्ठान र रेडियो नेपालले प्रचलनमा ल्याइसकेका छन् । हालसम्म दर्जनौँ फन्ट बनाइसकेको छु । यिनै फन्टको प्रयोग गरेर सात सयभन्दा बढी साहित्यिक कृतिको आवरणसमेत डिजाइन गरिसकेँ,’ उनले भने, ‘लिपि पारखीहरूले मेरा फन्टलाई रुचाएर त्यही फन्टमा कृति प्रकाशन गर्ने माग बढ्दै गएकाले सिपलाई प्रविधिसँग जोड्ने सोचका साथ नेपाली यूनिकोड बनाएको हुँ ।’ पौडेलले यो कार्य निकै चुनौतीपूर्ण रहेको सुनाए । उनले अगाडि भने, ‘नेपाली फन्ट डेढ दुई सय क्यारेक्टर बनाउँदा हुन्थ्यो भने यूनिकोडहजारौँ क्यारेक्टरको हाराहारीमा । फन्ट बनाउनेहरू हत्तपत्त यूनिकोड बनाउने आँट गर्दैनन् तर मैले जोखिम मोलेरै आफ्नै हस्तलिपिको नेपाली र नेपाली यूनिकोड रोमनाइज्डमा टाइप गर्न मिल्ने आवरण यूनिकोडफन्ट बनाएको छु ।’ पौडेलले मौलिक हस्तलिपि फन्टलाई थप प्रविधिमैत्री बनाउँदै विश्वव्यापी बनाउने सोचमा रहेको बताए । यसका साथै नेपालका अन्य भाषाका लागि पनि खोज र डिजाइन कार्य भइरहेको उनले जानकारी दिए । ‘सानैदेखि किताबकाभन्दा राम्रा अक्षर लेख्न सकिन्छ भन्ने विश्वास बोकको थिए । प्रकाशनमा कतिपय क्यरेक्टर अभाव हुने भएकाले तिनलाई ध्यानमा राखेर आवरण फन्टको सिरिज नै बनाए । फलतः यो प्रयासलाई संस्थागत रूप दिएर ‘आवरण प्रकाशन’को स्थापना गरेको छु । प्रकाशनले मौलिक कपिराइट फन्टमा दर्जनौँ कृतिसमेत प्रकाशित गरिसकेको छ,’ उनले भने । करिव ४ दशकेखि सिर्जना साधनामा लागेका पौडेल, कलाकार, कवि, गीतकार र रेडियो प्रसारकसमेत हुन् । उनले केही वर्षअघि रेडियो नेपालबाट अवकाश लिएका थिए ।
काठमाडौं उपत्यकामा निःशुल्क बस सञ्चालन
काठमाडौं । नेपाल प्रहरीले विजयादशमीको अवसरमा आज काठमाडौं उपत्यकामा निःशुल्क रूपमा बस सेवा सञ्चालन गरिने जनाएको छ । सार्वजनिक यातायातका साधनहरू न्यून चल्ने हुँदा नागरिकलाई आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले आज दिनभरि रिङरोड भित्र र बाहिर गरी दुईवटा बस निःशुल्क रूपमा सञ्चालन गर्ने योजना बनेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । ‘आज टीकाको दिन सार्वजनिक यातायात निकै कम चल्छन्, जसले टीका थाप्न वा अन्य अत्यावश्यक कामका लागि आवतपावत गर्न समस्या हुन्छ । त्यसैले यो योजना अघि सारेका हौँ।’ उनले भने । एउटा बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्साल फिर्ता हुनेछ । यस्तै, अर्को बस नक्सालबाट छुटेर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल आइपुग्ने प्रवक्ता काकीले जानकारी दिए ।
…जब टीकाको अघिल्लो दिन छोराको शव आयो
काठमाडौं । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुगेका थिए । एक वर्षअघि त्यहाँ पुगेका पन्थले १० महिने कोर्ष पूरा गरिसकेका थिए । ८ महिनापछि उनी पाइलट बन्दै थिए । छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दसैँ पनि विगतकोभन्दा थप उल्लासमय हुने अपेक्षामा थियो पन्थ परिवार तर त्यो सपनामै सीमित हुन पुगेको छ । विराट विजयादशमीको पहिलो दिन अर्थात् घटनास्थापनमा भएको दुर्घटनामा परी सधैँका लागि अस्ताए । नेपालमा रहेको पन्थ परिवार दसैँका लागि जमराको चाँजोपाँजो गर्दै थिए । त्यहीबेला खबर आयो, छोरा विराट असोज १७ गते घटनास्थापनाका दिन आफैँले चलाएको कार दुर्घटनामा परी सधैँका लागि अस्ताए । साथीको जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परी उनको मृत्यु भएको जनाइएको छ । कानुनी प्रक्रिया पूरागरी पन्थको शव बडादसैँको नवौँ दिन शुक्रबार राति दमौली ल्याइएको छ । राति नै दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरिएको छ । दसैँका बेला खुसीयाली हुनुपर्ने परिवार यतिबेला शोकमा छ । बुबा अधिवक्ता गोविन्द पन्थ र आमा टीकादेवी पन्थलगायत परिवार शोकको पीडा व्यक्त गर्ने अवस्थामा पनि छैनन् । आफन्त ईश्वरराज पन्थले भने, ‘ठूलो सपना बोकेर घर छोडेको छोराको शव आँगनमा आउँदा कस्तो भयो होला १ अकल्पनीय घटनाले सबैलाई विक्षिप्त बनाएको छ ।’ छिमेकी नन्दन श्रेष्ठले विराटको अकल्पनीय अवसानले आफूहरू स्तब्ध भएको बताए । ‘आशाका मुनामा तुषारापात भएको छ । परिवारको सपना सपनामै रहेको छ । आत्मा अमर छ, शरीरमा आत्माको यात्रा अनन्त छ । बाबु विराटको आत्माले शान्ति पाओस्,’ उनले भने ।
सन नेपालको दशैँ फोटो प्रतियोगिताः टिकाको फोटो पोष्ट गरी १० हजार रुपैयाँ जित्ने मौका
काठमाडौं । नेपालीहरूको महान चाड विजयादशमीको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ’हाम्रो परिवार हाम्रो दशैँको टीका’ नामक फोटो प्रतियोगिता गर्ने भएको छ । नेपाली दाजु भाई तथा दिदी बहिनी माझ अझ धेरै सद्भाव बढाउने उद्देश्यका साथ कम्पनीले यस्तो प्रतियोगिता आयोजना गर्न लागेको हो । यस प्रतियोगितामा भाग लिनको लागि सन नेपाल लाइफको आधिकारिक फेसबुक र इन्स्टाग्राम अकाउन्टलाई लाइक र फलो गरि आफ्नो परिवारसँग खिचिएको विजयादशमीको टिकाको फोटो आफ्नो फेसबुक र इन्स्टा अकाउन्टमा पोस्ट गरि क्याप्सनमा दशैँको मिठो सन्देश लेखी सन नेपालको आधिकारिक पेजलाई मेन्सन गर्नु पर्नेछ । फोटो पोष्ट गर्दा ह्याश ट्याग हाम्रो दशैँको टीका भनेर अनिवार्य रुपमा उल्लेख गर्नु पर्नेछ । यसरी फोटो प्रस्तुत गर्नेहरू मध्ये एक भावशाली विजेताले १० हजार जित्न सक्ने कम्पनीले जनाएको छ । दशैँको टिकाको रमाइलो पललाई सबैले मनमा सजाउनुका साथै सामाजिक सञ्जालमा प्रस्तुत गर्दा सन नेपाल लाइफलाई पनि मेन्सन गर्न कम्पनीले आह्वान गरेको छ ।