पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
काठमाडौं । आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि निरन्तर चलिरहन्छ । मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन् । आज एकादशीको व्रत गर्नाले सबै पाप हरण हुने विषय विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । ‘पापाङ्कुशेति विख्याता सर्वपापहरा परा’ यस एकादशीमा मानिसले ‘पद्मनाभ’ नाम गरेको लक्ष्मीनारायण भगवान्को पूजा गर्नुपर्ने ती ग्रन्थमा उल्लेख गरिएको छ । जबसम्म मनुष्यले पद्मनाभ अर्थात पापाङ्कुशा एकादशीको गर्दैनन्, तबसम्म उनीहरूको शरीरमा पापले निवास गर्दछ भनी ती ग्रन्थमा लेखिएको पण्डित बालमुकुन्द देवकोटाले जानकारी गराउनुभयो । यो एकादशीले स्वर्ग, मोक्ष, आरोग्यता, सुन्दर स्त्री तथा अन्न र धनलाई प्रदान गर्दछ । एकादशीको व्रतको समानता गङ्गा, गया, काशी, कुरुक्षेत्र र पुष्कर नामक तीर्थले पनि गर्न सक्दैनन् । हरिवासर अर्थात एकादशीको व्रत लिनाले र जागरण गर्नाले सहजै मनुष्यले विष्णु पद प्राप्त गर्दछ । यो व्रत नगर्दा पाप बाँकी रहन्छ र अन्त्यमा नरकमा जानुपर्दछ । कलिकालमा मनुष्यहरुले दुर्लभ यो चोलालाई सुलभ बनाउन यो व्रत बस्नु उचित मानिन्छ । यो एकादशीको विधिपूर्वक व्रत गर्नाले आमापक्षका दश पिँढी, बाबुपक्षका दश पिँढी अनि आफ्नी पत्नीका र पतिका पक्षका दश पिँढी त्यसपछि विगतका स्त्री र पुरुषलाई उद्धार गरिदिन्छ अर्थात् वैकुण्ठमा बास गराइदिने विशवास पनि गरिन्छ । बाल्यावस्था, युवावस्था र वृद्धावस्थामा यस व्रतलाई लिनाले पापी मनुष्य पनि दुर्गति प्राप्त नगरी सद्गति प्राप्त गर्दछ । आश्विन मासको शुक्लपक्षको यस पापांकुशा एकादशीको व्रत जुन मनुष्यले गर्दछ, त्यो अन्त्यमा हरिलोक पुग्दछ तथा समस्त पापबाट मुक्त हुन्छ । सुन, तिल, भूमि, गौ, अन्न, जल, छाता तथा जुत्ता दान गर्नाले मनुष्यले यमराज देख्नै पर्दैन भन्ने विश्वास पनि रही आएको छ ।
आज यी प्रदेशका पहाडी क्षेत्रमा वर्षा हुने, सोमबार कस्तो छ मौसम ?
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाले आज यी स्थानमा बदली र वर्षाको सम्भावना रहेकोे जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसमी बुलेटिनका अनुसार हाल कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा हल्कादेखि मध्यम बदली रहनेछ । आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । असोज २८ गते सोमबार पनि कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली साथै बाग्मती प्रदेशक र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।
नेपालबाट बाहिरियो पूर्णरूपमा मनसुन
काठमाडौं । यस वर्षको मनसुन आजदेखि पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन सुरु गरेको मनसुन आजदेखि पूर्णरूपमा बहिर्गमन भएको हो । आज अपराह्न एक सूचना जारी गर्दै विभागले बाँकी रहेका बागमती, मधेस प्रदेश र कोशी प्रदेशबाट पनि आज बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको हो । यसअघि असोज २० गते सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ गते कर्णली, लुम्बिनी, गण्डकी र काठमाडौँ उपत्यकाबाट पूर्ण रूपमा र बागमती र मधेस प्रदेशमा आंशिकरूपमा मनसुन बाहिरिएको थियो । आज भने मधेस र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो । यसपालि मनसुन ढिला गरी जेठ २८ मा भित्रिएको थियो भने चार दिन ढिला गरी बाहिरिन सुरु भएकामा छ दिनपछि पूर्णरूपमा बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
राष्ट्रपति पौडेलले लगाइदिए प्रधानमन्त्री ओलीलाई टीका र जमरा
काठमाडौं । विजयादशमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा प्रदान गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो ३ बजेपछि अतिविशिष्ट व्यक्तित्वलाई राष्ट्रपति पौडेलले टीका तथा जमरा प्रदान गरेका हुन्। टीका तथा जमरा ग्रहण गर्न उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङ, सांसद सपना राजभण्डारीलगायत राष्ट्रपति कार्यालय शितलनिवास पुगेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतले पनि राष्ट्रपति पौडेलसँग टीका तथा जमरा ग्रहण गर्नुभएको थियो । राष्ट्रपति पौडेलले आज अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका र जमरा लगाइदिएपछि इच्छुक सर्वसाधारणलाई पनि टीका र जमरा लगादिने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
पर्यटक लोभ्याउने यी मोहिनी गाउँ
काठमाडौं । उसै त घमाइलो शरद याम । त्यसैमा चाडबाडको उत्सव । सम्मुखमा आइरहेका दसैँ, तिहार, छठ जस्ता ठूला पर्वले गाउँसहर उमङ्गमय बनेका छन् । पारिवारिक जमघटमा चाडपर्व मनाउनु त छँदैछ छ, यहीबेला लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना पनि बनाइरहेका हुन्छन् । पदयात्रामा जान असोजदेखि मङ्सिरसम्मको याम उत्तम मानिन्छ । पदयात्राका लागि प्रख्यात यहाँका अन्नपूर्ण, मनास्लुलगायत पर्यकीय गन्तव्यस्थलमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । नेपालीहरु विशेष गरी दसैँ मनाए लगत्तै पदयात्रामा निस्कने गर्छन् । कोही परिवारसित त कोही साथीसङ्गी मिलेर पदयात्रामा रमाउँछन् । कुनैताका विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ । सडक र हवाईमार्गबाट विभिन्न गन्तव्यस्थलको भ्रमणमा जाने पर्यटकको सङ्ख्या पनि यो याममा उल्लेख्य हुन्छ । प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न पर्यटहरु पदयात्रामा निस्कन्छन् । शारीरिक, मानसिक स्वास्थ्य र तन्दुरुस्तीका दृष्टिले पनि पदयात्रा गर्नु उपयुक्त मानिन्छ । पदयात्रा पर्यटनका लागि विश्वमै चर्चित बनेका गन्तव्यस्थल नेपालमा छन् । बर्सेनि लाखौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक ती गन्तव्यस्थलको भ्रमणमा निस्कन्छन् । तपाईंले पनि यसपालिको दसैँ बिदामा घुमघामको योजना बनाउनुभएको छ भने पर्यटकीय राजधानी पोखरा आसपासका यी पर्यटकीय गाउँ तपाईंको रोजाइमा पर्न सक्छन् । यहाँका आकर्षक गन्तव्यस्थ, रैथाने जनजीवन, खानपान, स्वच्छ हावापानी, आतिथ्य संस्कार, संस्कृति, रहनसहन आदिले पर्यटक लोभ्याउने गरेको छ । स्थानीय पर्यटन व्यवसायी, गाउँका अगुवा र पर्यटन प्रवद्र्धन गर्ने निकायका अधिकारीसँगको कुराकानीमा आधारित रहेर हामीले यो सामग्री प्रस्तुत गरेका छौँ । मोहिनी सिक्लेस पोखरादेखि ४१ किमि दुरीमा सिक्लेस गाउँ अवस्थित छ । कास्कीको मादी गाउँपालिका–१ मा पर्ने यो गाउँ घुमफिरका लागि चल्तीको गन्तव्य हो । हिउँचुलीको काखमा झुरुप्प परेको बस्ती, वरिपरि हरिया वनपाखा र खर्क, हिमालको सिरसिरे हावा, तलपट्टि सुसाइरहेको मादी खोला आदिले सिक्लेसलाई चित्रमय बनाएका छन् । हरेक ऋतुकालमा भिन्न विशेषतामा खुल्ने यो गुरुङ बाहुल्य गाउँ प्रकृति र संस्कृतिका सङ्गम हो । ग्रामिण पर्यटनको अनुपम धरोहर हो । अन्नपूर्ण हिमालको फेदबाट बहने मादी खोलाछेउमा सिक्लेस गाउँ सजिएर बसेको छ । मनोरम प्रकृतिसँगै गाउँले परिवेश, रहनसहन, रैथाने खाना र न्यानो आतिथ्य संस्कारले त्यहाँ पुग्ने पर्यटकलाई सजिलै लोभ्याउने गर्छ । एकै बान्कीका घर, ढुङ्गा र जस्ताका छाना । ढुङ्गाकै आँगन र बाटो । पुरानो वास्तु झल्काउने झ्यालढोका । स-साना गल्ली, गल्छेँडा र तगारा सिक्लेसका सौन्दर्य हुन् । व्यस्त दैनिकी छलेर त्यहाँ पुग्ने जो कोहीले तनाव भुल्छन् । प्रकृति र संस्कृतिमा नजर अडाउँछन् अनि मन शान्त पार्छन् । default बिहान र दिउँसोमा चिटिक्क देखिने यो गाउँलाई रातमा भने बिजुलीले झलमल पारेको हुन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्ने सिक्लेस पदयात्राका लागि बढी लोकप्रिय छन् । सिक्लेस-कपुचे-कोरी पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको आउजाउ सिक्लेसमा पर्यटकको आउजाउ बढेको हो । पदयात्री सिक्लेसबाट अन्नपूर्ण हिमालको काखमा रहेको कपुचे हिमताल हुँदै ३८ सय मिटरको कोरी लेक पुग्छन् । सिक्लेसबाट तस हुँदै कोरी र कपुचे हिमताल हुँदै कोरी जाने दुईवटा पदमार्ग छन् । तीन दिनमा कोरी ट्रेक घुम्न सकिन्छ । पर्यटकीय गतिविधि बढेपछि कोरीमा होटल खुलेका छन् । पर्यटकीय क्षेत्रको प्रबर्द्धन गर्ने सञ्चार सामग्री, युट्युब माध्यमलगायतले त्यस क्षेत्रलाई थप उजागर गरिदिएका छन् । दुई दशकअघि सिक्लेसमा पर्यटन व्यवसायको जग बसेको हो । सुरुमा सामुदायिक घरबासबाट सुरु भएको सिक्लेसको पर्यटन व्यवसायले अहिले फड्को मारेको छ । दर्जनौँ घरबास र होटल सञ्चालनमा छन् । होटल व्यवसायमा लगानी थपिने क्रम बढ्दो छ । सिक्लेसलाई नेपालको शान्ति प्रक्रियाको प्रस्थानबिन्दुका रुपमासमेत लिने गरिएको छ । विसं २०६३ असार २ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूमिगत राजनीतिपछि पहिलोपटक सिक्लेसमा सार्वजनिक भएका थिए । त्यसको केही महिनापछि विस्तृत शान्ति सम्झौता भएको थियो । जनयुद्धको बैठानसँगै शान्ति प्रकृयाको प्रस्थानबिन्दुका रुपमा लिइने सिक्लेसमा शान्ति स्मारक पनि बनेको छ । सिक्लेस पुग्ने पर्यटक गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, हिमालको दृश्यावलोकन, गुरुङ जातिको मन्दिर, मौलिक संस्कृति, वेषभूषा, झाँकी, नाचगीत आदिमा रमाउँछन् । पदयात्रा रुचाउने पर्यटकले छोटो र लामो दुरीको पदयात्रा तय गर्छन् । पोखरादेखि दुई/अढाई घण्टाको मोटरयात्रामा सिक्लेस पुगिन्छ । पदयात्रा गर्दा एक दिन लाग्छ । पोखरा–सिक्लेस सडक स्तरोन्नति भइरहकाले यातायात सेवा पनि सहज बनेको छ । सिक्लेस समुद्री सतहदेखि दुई हजार मिटर उचाईमा पर्छ । यहाँ एउटै बनोट र बान्कीका चार सयभन्दा बढी घर छन् । जसमध्ये ९५ प्रतिशत गुरुङको बसोबास छ । हिउँदमा दन्तेलहर झैँ देखिने हिमशृङ्लखा र वर्षातमा झरी र बादलको लुकामारीले सिक्लेसको सौन्दर्य उसैगरी खुल्छ । अन्नपूर्ण दोस्रो र लमजुङ हिमालले यो गाउँको शोभा बढाएका छन् । लेक र खर्कतिर रहेका स-साना तलाउ, कुण्ड र झरानाले पनि पर्यटकलाई तान्ने गरेका छन् । निगालोबाट बन्ने डोको, सेखु, मान्द्रा, चित्रा जस्ता घरेलु उत्पादनका सामग्री यहाँ बन्छन् । महिलाहरुले पिँढीमा तान लगाएर अल्लो र ढाकाका कपडा बुनेको दृश्य लोभलाग्दो देखिन्छ । यहाँका घरबासमा आन्तरिक पर्यटकका लागि १२ सय रपैयाँको दैनिक प्याकेज छ । जसमा एक छाक खानामासु, एक छाक सादा खाना, बिहानरबेलुकाको खाजा र एक रात सुत्न पाइन्छ । पोखरादेखि पैदल घण्टा र मोटरमा घण्टामा सिक्लेस पुग्न सकिन्छ । खानामा घरगाउँको आटोढिँडो, गुन्द्रुक, मकै, भट्ट, आलु, लोकल कुखुराको मासु पाइन्छ । पेय पदार्थमा पनि घरेलु उत्पादनलाई नै पाहुनाले बढी रुचाउने गरेका छन् । पर्यटकको मनोरञ्जनका लागि मौलिक नाच र गीतसङ्गीत प्रस्तुत गर्ने गरिन्छ । अहो ! ल्वाङ कास्कीको पोखरा महानगरपालिकासँग जोडिएको माछापूछ्रे गाउँपालिका-८ स्थित ल्वाङ गाउँ सहरछेउको लोकप्रिय गन्तव्य हो । गुजुमुज्ज गुरुङ बस्ती यहाँको मुख्य आकर्षण हो । सेतो र गेरु रङ पोतिएका एकनासे घर । ढुङ्गाकै छाना, आँगन र बाटो । वास्तुकला झल्काउने झ्यालढोका । स-साना गल्ली, गल्छेँडा र तगारा । ल्वाङ गाउँका आकर्षण हुन् यी । प्रकृति र संस्कृतिले सजिएको ल्वाङ गाउँमा सहरको कोलाहलबाट उम्केर छिनभरमै पुग्न सकिन्छ । ग्रामीण पर्यटनको केन्द्र ल्वाङ गाउँ आफैमा चित्ताकर्षक छ । ग्रामीण जनजीवन, रहनसहन, रैथाने खाना र आतिथ्य संस्कारले पनि ल्वाङ गाउँ पुग्ने पर्यटकलाई लोभ्याउँछ । वि.सं २०६७ मा घरबास सञ्चालनमा आएपछि यो गाउँले पर्यटनमा फड्को मारेको हो । सुरुमा गाउँका अगुवा महिला मिलेर सात घरबाट सुरु गरेको घरबास अहिले २६ घरमा विस्तारित छ । एकै रातमा चार सयसम्म पाहुना राख्ने क्षमता घरबासमा छ । प्रकृतिमा रमाउन र घरबासको आनन्द लिन पर्यटकले ल्वाङ गाउँलाई रोज्ने गरेका छन् । मुख्य गरी आन्तरिकको पर्यटक ल्वाङ गाउँ पुग्छन् । पोखरादेखि दुई घण्टाको मोटरयात्रा पुग्ने सकिने यो गाउँको आउजाउ सहज छ । घमफिरका लागि जुनसुकै मौसममा ल्वाङ गाउँ उपयुक्त मानिन्छ । समुन्द्री सतहदेखि १४ सय मिटरको उचाइमा अवस्थित यो गाउँबाट माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाली चुचुरोमा देखिने सूर्योदयको दृश्य लोभलाग्दो हुन्छ । गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धानका लागि देशीविदेशी अध्यताहरुसमेत ल्वाङ गाउँ पुग्ने गरेका छन् । स्थानीयवासीले पाहुनालाई गुरुङ संस्कृति र संस्कार गरेका छन् । रैथाने खाना चखाउने, करेसाबारीमा लगेर खेती गर्ने तरिका सिकाउने, भान्छाको परिकार बनाउने विधि पनि सिकाउने गरिन्छ । निगालोबाट बन्ने डोको, सेखु जस्ता घरेलु उत्पादनका सामग्री पनि पर्यटकलाई चिनाउने गरिएको छ । घरबासको भान्छामा गाउँमै उत्पादन हुने अन्न र तरकारीबालीको प्रयोग गर्ने गरिएको छ । ल्वाङ गाउँमा पर्यटकले एकदेखि दुई रातसम्म बिताउने गरेका छन् । अन्नपूर्ण आधार शिविर र मर्दी ट्रेकमा जानेहरु पनि ल्वाङ गाउँमा विश्राम गरेर बाटो लाग्छन् । चलचित्रको छायाँकनका लागि पनि ल्वाङ गाउँ रोजाइमा पर्ने गरेको छ । ‘प्रसाद-२’, ‘दुई नम्बरी’ लगायतका चलचित्रको छायाँकन यही गाउँमा भएको थियो । गाउँको सिरानमा रहेको चियाबारी त्यहाँको अर्को पर्यटकीय आकर्षण हो । एक हजार दुई सय रोपनीमा फैलिएको चियाबारीले इलामको झल्को दिन्छ । चियाबारीको अवलोकनका लागि पनि पर्यटक त्यहाँ पुग्छन् । ल्वाङ गाउँको चिया युरोपसम्म निर्यात हुँदै आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्ने ल्वाङ गाउँमा पहिलोपल्ट वि.सं २०५३/५४ तिर चिया रोपिएको थियो । ल्वाङ गाउँमा ‘एक्याप’को कार्यालय बसेपछि पर्यटकीय गतिविधि सुरु भएको थियो । ल्वाङ गाउँमा घराबसमा पनि पर्यटकलाई बेलुकाको खाना र बिहानको खाजा, खानासहित एकरात बिताउँदा प्रतिव्यक्ति जम्मा १२ सय रुपैयाँ तोकिएको छ । खानाबाहेकका अन्य परिकार र पेय पदार्थमा भने छुट्टै मूल्य तिर्नुपर्छ । उक्त ‘प्याकेज’मा एकछाक सादा खाना र एकछाक खानामासु हुन्छ । ग्रामीण सौन्दर्य, संस्कृति र रहनसहन नै ल्वाङ गाउँका मुख्य आकर्षण हुन् । ल्वाङ गाउँ गएका बेला नजिकका पर्यटकीयस्थल ‘पोखरा क्यानोनिङ’, घलेल गाउँलगायत पुग्न सकिन्छ । पर्यटकीय सहर पोखरादेखि २० किमि मोटरयात्रामा ल्वाङ गाउँ पुग्न सकिन्छ । पदयात्रा गरे झण्डै चार घण्टा लाग्छ । मर्दी खोलाको किनारैकिनार भीर र वनपाखा चहार्दै पदयात्रा गर्न सकिन्छ । पोखरा महानगरपापलिका-२५ हेम्जादेखि खानेपानी, भेँडाबारी, खोलामुख हुँदै ल्वाङ गाउँ पुगिन्छ । हिमाल हेर्न घान्द्रुक वि.सं २०२६/२७ तिर फाट्टफुट्ट पर्यटक आउन सुरु भएको घान्द्रुक अहिले नेपालकै चर्चित पर्यटकीय गन्तव्यका रुपमा स्थापित छ । सुरुमा एक/दुईवटा होटलले पर्यटकलाई सेवा दिँदै आएकामा वि.सं २०४०/४२ देखि घान्द्रुकमा होटल थपिँदै जान थाले । पर्यटकको आउजाउ पनि बाक्लिन थाल्यो । कास्कीको अन्नपूर्ण गाउँपालिका-१० र ११ स्थित घान्द्रुक गाउँ चल्तीको गन्तव्यका रुपमा देशी विदेशीमाझ परिचित छ । बर्सेनि हजारौँ पर्यटकले त्यहाँ पाइला टेक्छन् । प्रकृति र संस्कृतिमा रमाउँछन् । हिमालको काखमा पहाडे शैलीका लहरै घर । ग्रामिण परिवेश र हावापानी । गुरुङ समुदायको कला, संस्कृति र रहनसहन । पाहुनाको सत्कारका लागि खुलेका घरबास । गाउँकै उब्जनीबाट बनेका परिकार । घान्द्रकुमा पर्यटक लोभ्याउने चीज यिनै हुन् । घान्द्रुकबाट नजिकै देखिने अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको दृश्यले जोकोहीलाई लोभ्याउँछ । डाँडागाउँका केही घरलाई भने अझै पनि जोगाएर राखिएको छ । केही व्यवसायीले पुरानै घरलाई सिँगारेर होटलका रुपमा चलाएका छन् । कङ्क्रिटका भवनमा होटल खुल्ने क्रम बढ्दो छ । आधुनिकताका नाममा घान्द्रुकको पुरानो चिनारी नासिने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ । घान्द्रुकमा रिसोर्टसहित ५४ वटा होटल छन् भने १८ वटा घरबास छन् । पर्यटक स्तरीयदेखि सामान्यसम्म गरी होटलमा आठ सय कोठा छन् । पर्यटकीय याममा एकैदिनमा दुई/तीन हजारसम्म पर्यटक त्यहाँ पुग्छन् । स्वदेशीपछि सबैभन्दा बढी चिनियाँ पर्यटकले घान्द्रुककलाई गन्तव्य बनाउँछन् । भारतीयदेखि युरोप, अमेरिकासम्मका पर्यटक त्यहाँ पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्रको अन्नपूर्ण आधार शिविर, म्याग्दीको पुनहिल-घोरेपानीलगायत जोड्ने पदमार्गमा पर्ने घान्द्रुक पर्यटकको विश्रामस्थलका रुपमासमेत लिइन्छ । पोखरा-बागलुङ राजमार्गको नयाँ पुलदेखि बिरेठाँटी, स्याउलीबजार, किञ्चे हुँदै पाँच/छ घण्टाको पदयात्रामा घान्द्रुक पुग्न सकिन्छ । मोटरमा जाँदा एक/डेढ घण्टामै पुग्न सकिन्छ ।
४ लाख दर्शनार्थीले गरे कालिका मन्दिरको दर्शन
काठमाडौं । बागलुङ कालिका मन्दिरमा बडादसैँको अवधिमा ४ लाख दर्शनार्थीले दर्शन गरेका छन् । घटस्थापनादेखि नवरात्रसम्म चार लाख दर्शनार्थीले दर्शन तथा पूजाअर्चना गरेको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । पछिल्लो समय कालिका मन्दिरको प्रचारसँगै दसैँमा घुम्न निस्कने धार्मिक पर्यटकहरुले कालिका मन्दिरको दर्शन गरेका हुन् । गत चैते दसैँदेखि यस मन्दिरमा आउने दर्शनार्थीको सङ्ख्या अभिलेख गर्न थालिएको छ । कालिका मन्दिरमा दसैँ र चैते दसैँमा बढी दर्शनार्थीहरु आउने गरेका छन् । बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार मुस्ताङ भ्रमणका लागि हिँडेका स्वदेशी तथा विदेशी पर्यटकसमेत कालिका मन्दिरमा आउन थालेपछि दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएको हो । मन्दिरमा बलि दिने परम्परा बिस्तारै घटे पनि नरिवल चढाउने र दान गर्ने परम्परा बढेको छ । तीन सय वर्ष पुरानो कालिका मन्दिर स्थापना भएपछि नियमित पूजा भए पनि पछिल्लो समय थपिएका पूर्वाधार, प्रचारप्रसार र चुस्त व्यवस्थापनका कारण दर्शनार्थीको सङ्ख्या बढेको हो ।
टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
काठमाडौं । चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका बाह्य पर्यटकहरुले दसैँ मनाएका छन् । नेपालीहरुको महान चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै बाह्य पर्यटकहरुले सौराहाका विभिन्न होटलमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन् । सौराहास्थित सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरीले बाह्य पर्यटकहरुलाई टीका र जमरा लगाइदिए । साथै उनले पर्यटकको सेवाका लागि दसैँका दिन पनि होटल खुला राखेको बताए । पालैपालो टीका र जमरा लगाउँदा बाह्य पर्यटकहरु दङ्ग भएका छन् । फ्रान्स, जर्मन र नेदरल्याण्डका गरी २६ जनाले यहाँ दसैँको टीका र जमरा लगाए । मोटरसाइकलमा नेपालका विभिन्न ठाँउमा घुम्दै बाह्य पर्यटक दुई दिन अघि मात्र यहाँ आएका थिए । ‘नेपाली नागरिक आत्मीय, मित्रवत छन्, नेपाल सुन्दर छ, फ्रान्सेली नागरिक ह्यारी टोमाले भनिन्, ‘नेपालीहरुका साथमा दसैँ मनाउन पाउँँदा खुसी छु ।’ नेदरल्याण्डस्देखि सौराहा घुम्न आएकी ३६ वर्षीय पर्यटक जोनी राइट यस पटक टीका र जमरासँगै नेपालीहरुको पर्व दसैँ मनाउन पाउँदा औधी खुशी देखिन्थे । ‘मैले अरु साथी नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दसैँ मनाउन पाएँ,’ उनले भनिन् । अर्की बाह्य पर्यटक २४ वर्षीया एरिका पनि निकै हर्षित देखिईन् । ‘विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछुु,’ उनले भनिन् । चितवनको सौराहामा यतिबेला पर्यटकीय याम सुरू भइसकेको छ । यहाँ आउने बाह्य पर्यटकलाई हरेक होटलले दसैँ मनाउने परम्परा बनाएका छन् । ‘हामीले विगतमा पनि यसरी पर्यटकहरुलाई दसैँमासगैँ राखेर मनाएका थियौँ,’ होटल सञ्चालक गिरीले भने । पछिल्लो दुई दिनयता यहाँ तेस्रो मुलुकका झण्डै ३५ प्रतिशत पर्यटक सौराहा घुम्न आएका क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले भने । पर्यटकलाई यहाँका वन्यजन्तुले मात्र तान्दैन, दसैँ, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेको छ ।
आज पोखरामा निःशुल्क बस सञ्चालन
काठमाडौं । विजयादशमीका दिन आज पोखराका विभिन्न सातवटा रुटमा निःशुल्क बस सञ्चालन भएका छन् । विगत वर्षहरुमा जस्तै टीकाको दिनमा यातायातको साधन अभाव भएर नागरिकले सास्ती पाउने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालय र पोखरा महानगरपालिकाले यातायात समितिसँगको सहकार्यमा निःशुल्क बस सञ्चालन गरेका हुन् । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पोखराका सातवटा रुटमा चारवटा कम्पनीका १८ बसले निःशुल्क सेवा दिने जानकारी दिए। ती बसहरु आज अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछन् । पोखराका कोत्रे–पृथ्वीचोक–चिप्लेढुङ्गा हुँदै बागलुङ बसपार्कसम्म, फेदी–हेमजा–हरिचोकहुँदै पृथ्वीचोकसम्म, लामाचौर–बगर–महेन्द्रपुल–चिप्लेढुङ्गा–सृजनाचोक–विरौटाहुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर–महेन्द्रपुल–चिप्लेढुङ्गा–सृजनाचोक–विरौटाहुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर महेन्द्रपुल–पृथ्वीचोक–विरौटा–सहिदचोकहुँदै लेकसाइडसम्म बस सञ्चालन हुनेछन् । यसैगरी लेखनाथ जनताको चौतारा–रुपाताल–सातमुहाने–खुदी–तालचोक–पृथ्वीचोकहुँदै बागलुङ बसपार्कसम्म, काहुँखोला–महेन्द्रपुल–पृथ्वीचोक–जिरो किमी हुँदै लेकसाइडको हल्लनचोकसम्म र बेगनासताल–तालचोक–पृथ्वीचोक–चिप्लेढुङ्गाहुँदै बागलुङ बसपार्कसम्म निःशुल्क बस सेवा सञ्चालन हुने छन् । निःशुल्क सेवा सञ्चालन गरिएका बसका चालक र सहचालकलाई पोखरा महानगरपालिकाले अतिरिक्त सुविधा उपलब्ध गराउने महानगर प्रमुख धनराज आचार्यले बताए । उनले भने, ‘दसैँको टिका तथा आशीर्वाद थाप्न मान्यजनकहाँ जाने चलन छ । तसर्थ दसैँको दिन सार्वजनिक यातायात सहजरूपमा उपलब्ध नहुन सक्ने अवस्थालाई मध्यनजर गरी महानगर क्षेत्रमा यातायात सेवा दिइरहेका विभिन्न यातायात व्यवसायीसँगको सहकार्यमा स्थानीय प्रशासन र पोखरा महानगरपालिकाले संयुक्त रूपमा निःशुल्क बस सेवाको व्यवस्था मिलाएको हो ।’ दसैँका बेला कुनै प्रकारको समस्या परे महानगरपालिकाको टोल फ्री नं ११८१ )हटलाइन) सेवामा सम्पर्क गर्न प्रमुख आचार्यले आग्रह गरे । यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले यात्रुको सहजतालाई ध्यान दिएर निःशुल्क बस सेवा सञ्चालन गर्न सहकार्य गरेको बताए । ‘जनताको सेवा र राज्यलाई आवश्यक परेको बेला सहयोग गर्न हामी तयार छौँ । त्यसैको कडीको रुपमा निःशुल्क बस सञ्चालन गरेका हौँ,’ उनले भने ।