‘पोस्ट’ मनसुनले बढायो चिसो, ५ डिग्री तापक्रम घट्यो
काठमाडौं । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । सङ्घीय राजधानी काठमाडौं उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौंको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस हाराहारी रहेकामा त्यसको एकसातापछि अर्थात हिजो र आज न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कामय रहेको छ । ‘काठमाडौंमा चिसो निरन्तर रुपमा बढिरहेको छ,’ मौसमविद अधिकारीले भने, ‘पछिल्लो १५ दिनमा तापक्रम विस्तारै घट्दै गइरहेको छ ।’ महाशाखाको विवरणमा आइतबार काठमाडौंको न्यूनतम तापक्रम १४.७ डिग्रिसेल्सिय पुगेको थियो । सोमबार १६ डिग्रिसेल्सियस छ । काठमाडौंसहित देशका अधिकांश स्थानमा ह्वात्तै तापक्रम घटेको छ । मौसमविद् अधिकारीले दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको उनको भनाइ छ । पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
एभरेष्ट बैंकका कर्मचारीको तलब १३.१७ प्रतिशत बढ्यो
काठमाडौं । एभरेष्ट बैंकका कर्मचारीको तलब भत्ता १३.१७ प्रतिशत बढेको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा बैंकका कर्मचारीको तलबभत्ता १३.१७ प्रतिशत अर्थात् २८ करोड ५ लाख रुपैयाँ बढेर २ अर्ब ४१ करोड ५ लाख रुपैयाँ भुक्तानी गरेको हो । अघिल्लो वर्ष बैंकले २ अर्ब १२ करोड ९९ लाख रुपैयाँ कर्मचारीलाई तलब भत्ता भुक्तानी गरेको थियो । बैंकका अनुसार कर्मचारीलाई तलवबापत ७९ करोड २२ लाख रुपैयाँ, भत्ताबापत ५० करोड २१ लाख रुपैयाँ, उपदानबापत ९ करोड ४४ लाख रुपैयाँ, संचय कोषबापत ७ करोड २३ लाख रुपैयाँ, पोशाकबापत ९३ हजार रुपैयाँ भुक्तानी गरिएको हो । अघिल्लो वर्ष बैंकले तलवबापत ७४ करोड ४६ लाख रुपैयाँ, भत्ताबापत ४२ करोड १९ लाख रुपैयाँ, उपदानबापत ९ करोड ४९ लाख रुपैयाँ, संचय कोषबापत ६ करोड ८६ लाख रुपैयाँ, पोशाकबापत २४ लाख ४५ हजार रुपैयाँ भुक्तानी गरेको थियो । यस्तै तालिम तथा विकासमा ३ करोड ४३ लाख रुपैयाँ, संचित विदाबापत १२ करोड ६ लाख रुपैयाँ, औषधी उपचारबापत ७८ लाख ९५ हजार रुपैयाँ, बीमाबापत २ करोड १७ लाख रुपैयाँ खर्च गरेको बैंकले जनाएको छ । अघिल्लो वर्ष तालिम तथा विकासमा २ करोड ९ लाख रुपैयाँ, संचित विदाबापत ९ करोड २३ लाख रुपैयाँ, औषधी उपचारबापत ७६ लाख ७० हजार रुपैयाँ, बीमाबापत १ करोड ८५ लाख रुपैयाँ खर्च गरेको थियो । बैंकका अनुसार गत वर्ष एनएफआरएस अन्तर्गत वित्तीय खर्च ९ करोड ६४ लाख रुपैयाँ, कर्मचारी सम्बन्धी अन्य खर्च ३ करोड ९३ लाख रुपैयाँ र कर्मचारी बोनसबापत ६२ करोड ८७ लाख रुपैयाँ भुक्तानी गरिएको छ । साथै बैंकमा कर्मचारीको संख्या समेत बढेको छ । अघिल्लो वर्ष १ हजार ९७ जना कर्मचारी कार्यरत रहेकोमा गत वर्ष १ हजार १५६ जना पुगेका हुन् । कमिशन आम्दानी डेढ अर्ब रुपैयाँ बैंकले गत वर्ष डेढ अर्ब रुपैयाँ शुल्क तथा कमिशन आम्दानी गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को असारसम्म १ अर्ब ६३ करोड ८३ लाख रुपैयाँ शुल्क तथा कमिशन आम्दानी गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३४ करोड ७५ लाख रुपैयाँ शुल्क तथा कमिशन आम्दानी गरेको थियो । बैंकले अघिल्लो वर्षको तुलनामा गत वर्ष यस्तो आम्दानी २१.५८ प्रतिशत बढाएको हो । शुल्क र कमिशन आयमा व्यवस्थापन शुल्क, सेवा शुल्क, सिन्डिकेशन शुल्क, विदेशी मुद्रा लेनदेनबाट कमिशन लगायत आम्दानी समावेश गरिएको हुन्छ । बैंकका अनुसार गत असारसम्म कर्जा व्यवस्थापन तथा प्रशासनिक शुल्कबापत ८ करोड ८३ लाख रुपैयाँ, सेवा शुल्कबापत ३७ करोड ८७ लाख रुपैयाँ, प्रतिवद्धता शुल्कबापत ३६ लाख ७९ हजार रुपैयाँ, डिडि/टिटि/स्वीफ्ट शुल्कबापत ३ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष कर्जा व्यवस्थापन तथा प्रशासनिक शुल्कबापत ८ करोड ३४ लाख रुपैयाँ, सेवा शुल्कबापत २८ करोड ८४ लाख रुपैयाँ, प्रतिवद्धता शुल्कबापत २९ लाख ५५ हजार रुपैयाँ, डिडि/टिटि/स्वीफ्ट शुल्कबापत ३ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै क्रेडिट कार्ड/एटीएम जारी तथा नविकरण शुल्कबापत २१ करोड ५१ लाख रुपैयाँ, पूर्वभुक्तानी तथा स्वाप शुल्कबापत २ करोड ९० लाख रुपैयाँ, विप्रेषण शुल्कबापत ९ करोड ८३ लाख रुपैयाँ, प्रतितपत्रबाट कमिशनबापत १८ करोड २३ लाख रुपैयाँ, जमानतपत्र जारीबाट कमिशनबापत १५ करोड ६३ लाख रुपैयाँ, लकर भाँडाबापत २ करोड १४ लाख रुपैयाँ र अन्य शुल्क तथा कमिशन आम्दानीबापत ४२ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको बैंकले जनाएको छ । अघिल्लो वर्ष क्रेडिट कार्ड/एटीएम जारी तथा नविकरण शुल्कबापत २० करोड ३९ लाख रुपैयाँ, पूर्वभुक्तानी तथा स्वाप शुल्कबापत ९७ लाख ५३ हजार रुपैयाँ, विप्रेषण शुल्कबापत ९ करोड ४१ लाख रुपैयाँ, प्रतितपत्रबाट कमिशनबापत १४ करोड रुपैयाँ, जमानतपत्र जारीबाट कमिशनबापत १४ करोड २० लाख रुपैयाँ, लकर भाँडाबापत १ करोड ८८ लाख रुपैयाँ र अन्य शुल्क तथा कमिशन आम्दानीबापत ३३ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको थियो । साथै बैंकले गत वर्ष एटीएम व्यवस्थापन शुल्क, कार्ड सम्बन्धित शुल्क, रेमिटेन्स शुल्क र आयोग/टीटी/स्विफ्ट शुल्कबापत २९ करोड ५२ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष सोही सूचकमा बैंकले २७ करोड १९ लाख रुपैयाँ खर्च गरेको थियो । जसमध्ये एटीएम व्यवस्थापनमा ५ करोड ६२ लाख रुपैयाँ, भिसा/मास्टर कार्डमा ७ करोड १८ लाख रुपैयाँ, डिडि/टीटी/स्विफ्टमा १ करोड १४ लाख रुपैयाँ, विप्रेषणमा ४ करोड ९१ लाख रुपैयाँ र अन्यमा १० करोड ६४ लाख रुपैयाँ खर्च गरेको जनाएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गत वर्ष १ करोड ६,५ लाख १६ हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष बैंकले १ करोड ५८ लाख २५ हजार रुपैयाँ सो शिर्षकमा खर्च गरेको थियो । गत वर्ष सामाजिक उत्तरदायित्व कोषमा ३ करोड ७० लाख ३२ हजार रुपैयाँ जम्मा गरेको छ । अघिल्लो वर्ष बैंकले ३ करोड ३६ लाख २१ हजार रुपैयाँ कोषमा जम्मा गरेको थियो ।
दसैं बजारमा तीन करोडको कारोबार
महेन्द्रनगर । दसैंका अवसरमा जनकपुरधामस्थित गोपाल धर्मशाला परिसरमा आयोजित सस्ता बजारमा यस वर्ष तीन करोड रुपैयाँको कारोबार भएको छ । गत वर्ष करिब सात/आठ करोडको कारोबार भएको बजारमा यसवर्ष व्यापार घटेको जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जितेन्द्र महासेठले बताए । संघका वरिष्ठ उपाध्यक्ष मनोज साहकाअनुसार यस वर्ष सस्ता बजारको व्यापारमा गिरावट आएको छ । करिब १० वर्षदेखि स्टल राख्दै आएका शुलभ किचेन सेन्टरका सञ्चालक गंगाराम साहले यो वर्ष ५० प्रतिशत पनि व्यापार नभएको र खर्चसमेत नउठेको गुनासो गरे । करिब २० वर्षदेखि स्टल राखेर व्यापार गर्दै आएका ६० वर्षीय बलराम साहले भने, ‘यसपालि स्टाफ खर्च पनि उठेन र योभन्दा राम्रो व्यापार हाम्रो काउन्टरमै थियो ।’ उनले बजारको व्यवस्थापनमा कमजोरी रहेको गुनासो गरे । दैनिक उपभोग्य वस्तु बिक्रीवितरण हुने सस्ता बजार जनकपुर–दसैँ मेलाको मुख्य आकर्षण हो । यो मेलामा मुख्यतया साबुन, सर्फ, अगरबत्ती, चियापत्ती, चाउचाउ, भुजिया, प्लास्टिकका भाँडावर्तन, जुत्ताचप्पल र लत्ताकपडा किन्ने ग्राहकको घुइँचो लाग्ने गर्छ । घटस्थापनादेखि दशमीसम्म बजार सञ्चालन गरिए पनि मुख्य आकर्षण पञ्चमीदेखि अष्टमीसम्म रहने गरेको सङ्घकी महिला उपाध्यक्ष रिङ्कु शाहले बताइन् । जनकपुर उद्योग वाणिज्य संघको पहलमा विगत ४८ वर्षदेखि जनकपुरमा दसैँ बजार लाग्दै आएको छ ।
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि दोहोरो परेका र छरिएका योजनाका लागि विनियोजित बजेट एकीकृत गरेर स्रोतको व्यवस्थापन गर्न सुझाव दिएका छन् । उनले भने, ‘अनावश्यक दोहोरो, तेहोरो परेका र कार्यान्वयनमा जान नसक्ने योजनाका लागि हालिएको सबै बजेट कटौती गर्नुपर्छ र एकै ठाउँमा केन्द्रीकृत गर्नुपर्छ’, उनले भने । विपद्को अवस्थामा नागरिकलाई म एक्लो छैन, साथमा सरकार छ भन्ने अनुभूति दिलाउन सक्नुपर्नेमा जोड दिँदै पूर्वमन्त्री बाँस्कोटाले भने, ‘नेपालमा घोषणा गरिएका काम हुन्छ है भन्ने सन्देश नागरिक र अन्तर्राष्ट्रिय समुदायलाई दिनुपर्छ । घोषणा गर्ने, काम नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ । बजेट थुप्रिने, केही नगर्ने र अलमलमा पर्ने कुरा हुनु भएन ।’ यस पटकको बाढीपहिरोबाट ठूलो जनधनको क्षति हुनुमा मानवीय क्रियाकलाप नै बढी जिम्मेवार रहेको औँल्याउँदै नेता बाँस्कोटाले जथाभावी अतिक्रमण गरेर खोलाकै छेउ र पानीको मुहानमै खानी चलाउने कुरा सम्पूर्ण हिसाबले रोकिनुपर्ने बताए । ‘यसमा कसैको दबाब र प्रभावमा पर्नु हुँदैन । नागरिकको रक्षा पहिलो सर्त हुनुपर्छ’, उनले भने । यही असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण सबैभन्दा बढी प्रभावित काभ्रेपलाञ्चोक जिल्लामा भएको क्षति, राहत उद्धार र पुनःनिर्माणसम्बन्धी विषयमा केन्द्रित रहेर पूर्वसञ्चारमन्त्री बाँस्कोटासँग गरेको कुराकानीको सम्पादित अंश : विपद्को अवस्थाभन्दा तीन महिनाअघि सरकारले के गर्यो भनी अहिले प्रश्न गर्नुपर्ने बेला छ । यसै साल पनि अरनिको राजमार्ग, बनेपाबाट पूर्व जाने बिपी राजमार्ग, पनौती–रोशी खण्डको माथिल्लो भागको खानी र पानीका विषय मैले बारम्बार सदनमा आवाज उठाएँ । संसद्मै निरन्तर आवाज उठाउने मध्ये म एक हुँ । तर सरकारले आगो लागेपछि कुवा खन्ने काम गर्यो । बाढीपहिरो आउँछ कि आउँदैन, सरकारलाई थाहा छ कि छैन ? छ । आको पनि छ, आउँछ भन्ने पनि थाहा छ । समाधान के हो भन्ने थाहा भए पनि पूर्वतयारी गरेन । सांसदहरुले सदनमा उठाइरहेको गम्भीर मुद्दामा कुनै पूर्व सतर्कता अपनाइएन । सांसदले सदनमा सार्वजनिक खपतका लागि बोल्छन्, तिनका कुरा सुन्नु पर्दैन भन्ने सरकारको दृष्टिकोण रह्यो । तथापि, घटनापछिको उद्धारमा सरकार र नागरिक राम्रोसँगै लागेको पाइयो । बिपी राजमार्गलगायत ५० भन्दा बढी प्रमुख राजमार्ग क्षतिग्रस्त भए । राज्यलाई यो थाहा छ कि नेपालमा हिउँदमा चिसो तथा कहिलेकाहीँ हिमपहिरोको सिकार पनि हुन्छ । फागुन–चैतमा आगलागीका घटना व्यापक बढ्छ, गत वर्ष जङ्गल पनि सिद्धियो । यति ठूलो डढेलो लाग्यो, यसमा सरकारले के गर्यो । एकातिर वातावरण संरक्षण गर्न आवाज उठाउने, तर काम चै केही नगर्ने कुरालाई सन्तोषजनक रुपमा लिन सकिन्न । बाढीपहिरो, आगलागी, आँधीहुरी तथा हिमपात र हिमपहिरोले ल्याउने जोखिम जुनसकुै शासन व्यवस्थामा पनि पटकपटक भोगेकै विषय हो । नागरिकप्रति जवाफदेही सरकार भएका बेलामा यस्तो हुनु हुँदैनथ्यो । अहिले यति बलियो गठबन्धनको सरकार बनेको छ । योभन्दा बलियो गठबन्धन सरकार सायदै बन्ला वा नबन्ला । तर केही यस्ता मुद्दा छन्, जसप्रति राजनीतिले असर गर्नु मिल्दैन । अब पहिलो प्राथमिकता भनेको क्षतिग्रस्त सडकहरु खुलाउने र ‘कनेक्टिभिटी’ जोड्ने, विद्युत् र सञ्चार सेवा पुनः सञ्चालन गर्ने, खानेपानी समस्या तत्काल समाधान गर्ने हुनुपर्छ । उद्धार र राहतको काम लगभग सकिएको छ । यसमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद भन्नुपर्छ । सबैभन्दा पहिलो समस्याका रुपमा बाटो रहेको छ । दोस्रो समस्या खानेपानी, विद्युत् र सञ्चार तत्काल सञ्चालन गर्नुपर्छ । मुख्यकुरा बस्ती हो । पहाडी भूभागमा भीर पहरामा पनि बसोबास छ । त्यहाँ हरहमेसा पहिरोको त्रास भइरहन्छ । जुन बस्ती असुरक्षित हुन् भनेर गोरखा भूकम्पका बेला पहिचान भएका थिए, ती बस्तीका निम्ति कार्यक्रम आए पनि कार्यान्वयन भएनन् । अब पुनः स्थापना कसरी हुन्छ ? भन्ने प्रमुख मुद्दा हो । काभ्रेकै पनि कुरा गर्ने हो भने यकिन तथ्याङ्क आउन बाँकी छ । त्यो तथ्याङ्क आइसकेपछि एक हजार पाँच सयदेखि दुई हजार परिवार सुरक्षित स्थान बस्तीमा सार्नुपर्छ । ‘जहाँको चपरी, त्यहाँको दुवाली’ हुनुपर्छ । मेरै नगरपालिका मण्डनदेउपुर, भुम्लु गाउँपालिका र पनौती नगरपालिकाका केही बस्ती सुरक्षित स्थानमा सार्नुपर्ने देखिन्छ । सार्वजनिक र पर्ती जग्गा, सरकारी वन वा सामुदायिक वन जहाँ बस्ती निर्माण सुरक्षित हुन्छ, त्यो ठाउँमा बस्ती बसाल्न तत्कालै कार्ययोजना बनाउनुपर्छ । सरकारले चाहेको अवस्थामा काम गर्न सक्छ । त्यसका लागि बजेट के गरी प्रबन्ध गर्ने त रु भन्दा दोहोरिएका बजेट कटौटी गर्नुपर्छ । सरकारले सक्छ भने अनावश्यक दोहोरो, तेहोरो परेका र कार्यान्वयनमा जान नसक्ने योजनाका लागि हालिएको सबै बजेट कटौती गर्नुपर्छ र एकै ठाउँमा केन्द्रीकृत गर्नुपर्छ । बस्ती पुनःस्थापना जति सम्भव छ, सरकारले जमिन दिनुपर्छ । बस्न नमिल्ने बस्ती सार्नुपर्यो । त्यो बस्तीमा सरलीकृत ढङ्गले एकीकृत बस्ती बनाउने योजना हुनुपर्यो । विपद्का बेला नागरिकलाई म एक्लो छैन, मेरो साथमा सरकार छ भन्ने अनुभूति दिलाउनु सक्नुपर्छ । नेपालमा घोषणा गरिएका काम हुन्छ है भन्ने सन्देश आम नागरिक र अन्तर्राष्ट्रिय समुदायलाई दिनुपर्छ । घोषणा गर्ने काम केही पनि नगर्ने कुराका कुनै अर्थ छैन । बजेट थुप्रिने, केही नगर्ने र अलमलमा पर्ने कुरा हुनुभएन । यसका लागि सरोकारवाला मन्त्रालयको एकीकृत योजना चाहिन्छ । हरेकका अलग–अलग होइनन्, एकीकृत योजना हुनुपर्छ ताकि खर्च पनि कटौती होस् । किनभने भूकम्पका बेलामा पुनःनिर्माण प्राधिकरण गठन भएको थियो । अहिले पनि स्थायी जस्तै निकाय चाहिने भयो । ‘डुप्लिकेसन’ नहुने गरी काम गर्नुपर्छ । जहाँ बस्ती ठूलै छ, त्यहाँ चलाउन पर्दैन । त्यो ठाउँमा रहेको तथ्याङ्क यकिन हुनुपर्यो । खानी र पानी एकै ठाउँमा चल्दैन । एकै ठाउँमा खानी र पानी चलाउने कुराले नै नदीको सतह माथि आउने, यसबाट दायाँबायाँको बस्ती र खेतीपाती सबै हान्दोरहेछ । अर्को कृषि क्षेत्रमा पनि ठूलो क्षति भएको छ । कृषि मन्त्रालय पनि उदासीन बस्न मिल्दैन । चौपायाहरु पनि मरेका छन्भने खेतीपानी पनि ध्वस्त भएका छन् । प्रभावित किसानलाई राहत दिन सरकारले युद्धस्तरमा काम गर्नुपर्छ । यो काम आउँदो वैशाखरजेठसम्म सक्नेगरी योजना र बजेट व्यवस्था गर्नुपर्छ । समस्याहरुको यकिन गर्ने, समस्या समाधान हुने नीति लिने, योजना बनाउने र कार्यान्वयन प्रक्रियामा एकीकृत ढंगले काम गर्नुपर्छ । सरकारको हिसाबले १६/१७ अर्ब रुपैयाँको क्षति भएको छ । गोरखा भूकम्पको तुलनामा यो केही पनि होइन, तर यसको तीन गुणा बढीसम्म क्षति भएको मेरो अनुमान छ । प्रभावित नागरिकले आफैँले संरचना निर्माण गर्छ भने त्यसमा सरकारले सहुलियत ऋण उपलब्ध गराउनुपर्छ । त्यसका लागि आवश्यक परे जमिनसमेत दिनुपर्छ । पहाडी भेकमा छरिएका बस्ती समस्या हुन् । यसलाई केन्द्रीकृत गर्नुपर्छ । कानुनमा संशोधन जरुरी छ । नजिकको समथर जग्गामा बस्ती र भिरालो जग्गामा खेती गर्ने व्यवस्था मिलाउनुपर्छ । विपद्बाट निरन्तर हुने क्षति न्यूनीकरणका लागि भविष्यसम्मको योजना चाहिन्छ । ‘हाइवे’हरुमा नजिकैबाट अर्को परिपथ सडकहरु बनाउनुपर्छ भन्दा पनि सरकारले आवश्यक ध्यान दिएन । यदि त्यो भएको भए मुख्य राजमार्गहरु रोकिँदैनथे । यसमा सरकारको आवश्यक ध्यान पुगेन । जथाभावी अतिक्रमण गरेर खोलाकै छेउ र पानीको मुहानमै खानी चलाउने कुरा सम्पूर्ण हिसाबले रोक्नुपर्छ । कसैको दबाब र प्रभावमा पर्नुहुँदैन । नागरिकको रक्षा पहिलो सर्त बन्नुपर्छ । रासस
जुम्लामा १६ करोड बढीको भेडा र खसीको कारोबार
जुम्ला । यस वर्षको दसैँमा यहाँ १६ करोड रुपैयाँ मूल्य बढीको भेडा र खसीको कारोबार भएको छ । सदरमुकाम खलंगा बजारमा मात्रै १६ करोड ३२ लाख ३१ हजार रुपैयाँ मूल्य बराबरको भेडा र खसी किनबेच भएको चन्दननाथ नगरपालिका पशुपक्षी शाखा प्रमुख बीरबहादुर रावलले जानकारी दिए । यहाँका भेडापालक किसान र अन्य जिल्लाबाट ल्याइएका गरी सात हजार नौ सय २८ भेडा र खसी किनबेच भएका हुन् । चन्दननाथ नगरपालिका पशुपक्षी शाखा प्रमुख रावलले भने , ‘१५ करोड २३ लाख २३ हजार रुपैयाँका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजार रुपैयाँका राँगा भैसी खरिद बिक्री भएका छन् ।’ स्थानीय भेडाको अधिकतम मूल्य २८ हजार रुपैयाँ, न्युनतम १० हजार रुपैयाँ भएकामा औसत मूल्य १९ हजार तोकिएको थियो । जुम्ली खसीको अधितम मूल्य २४ हजार रुपैयाँ र न्यूनतम मूल्य आठ हजार रुपैयाँ भएकामा औसत मूल्य १६ हजार रुपैयाँ निर्धारण गरिएको थियो । अधिकतम् मुल्य ५० हजार रुपैयाँ र न्युनतम मुल्य २६ हजार रुपैयाँमा किनबेच भइरहेका राँगाभैँसीको औसत मुल्य ३८ हजार रुपैयाँ निर्धारण गरी कारोबार मूल्यांकन गरिएको चन्दननाथ नगरपालिका पशुपंक्षी शाखा प्रमुख रावलको भनाइ छ । विसं २०६८ देखि तिब्बतबाट भेडा च्याङ्ग्रा ल्याउन छाडेपछि जुम्ली भेडा र खसी मात्रै बिक्रीवितरण हुने गरेको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन् । स्थानीय तहको केन्द्रहरुमा पनि भेडा र खसीको कारोबार हुने गरेको छ । कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड र बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघु लगायतका बजारमा समेत भेडा र खसीको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।
काठमाडौं उपत्यकामा चहलपहल बढ्दै
काठमाडौं । काठमाडौं उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न थालेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज पनि टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको छ । दशैंमा सुनसान देखिएका संघीय राजधानी काठमाडौंका सडकहरूमा अहिले सवारी साधनको सङ्ख्या विस्तारै बाक्लिन थालेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार सोमबार उपत्यकाका सडकमा निजी सवारी साधन बढी देखिएका छन् । दशैं अवधिमा काठमाडौं उपत्यकामा छिटपुट बाहेकका ठूला सवारी दुर्घटना नभएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताए । उनले भने, ‘अन्य वर्षको तुलनामा यो वर्ष काठमाडौं उपत्यकामा ठूला सवारी दुर्घटना भएनन् । हाम्रा लागि यही राम्रो कुरो हो । दसैँ सबैले राम्रोसँग मनाउन पाए, हामी खुसी छौँ ।’ अहिले यहाँका सडकमा सवारी साधन बढ्नुका साथै मानिसको आवतजावत क्रमिक रुपमा बढ्न थालेको छ । दशैंका लागि उपत्यका बाहिर गएकाहरु पनि काठमाडौं फर्किने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।
के बृहस्पतिको चन्द्रमामा जीवन सम्भव छ ?
काठमाडौं । के हाम्रो सौयमण्डलमा जीवनलाई समर्थन गर्न सक्ने अन्य कुनै ठाउँ छ ? यो पत्ता लगाउन पहिलो विस्तृत कदम चाल्न एउटा भव्य नासा यान सोमबार साढे पाँच वर्षको यात्रामा बृहस्पतिका धेरै चन्द्रमामध्ये एक युरोपा जान तयार छ । युरोपा क्लिपर मिसनले अमेरिकी अन्तरिक्ष एजेन्सीलाई चन्द्रमाको बारेमा नयाँ विवरण पत्ता लगाउन अनुमति दिनेछ । यसमा वैज्ञानिकहरूले यसको बर्फिलो सतहमुनि तरल पानीको महासागर हुनसक्ने विश्वास गरेका छन् । फ्लोरिडाको केप क्यानाभरलबाट शक्तिशाली स्पेसएक्स फाल्कन हेभी रकेटमा ‘सोमबार, अक्टोबर १४ भन्दा अघि नहुने’ गरी प्रक्षेपण तालिका बनाइएको नासाले विज्ञप्तिमा बताएको छ । ‘युरोपा पृथ्वी बाहिर जीवन खोजी गर्ने सबैभन्दा आशाजनक स्थानमध्ये एक हो’, नासाकी अधिकारी जिना डिब्रासियोले गत महिना पत्रकार सम्मेलनमा भने । मिसनले सीधै जीवनको संकेतहरू खोज्ने छैन बरु ‘के युरोपामा जीवन उपस्थित हुन दिने तत्वहरू छन् ?’ भन्ने प्रश्नको जवाफ खोज्नेछ । यदि छ भने अर्को मिसनले त्यसपछि यसको पत्ता लगाउने प्रयास गर्न यात्रा गर्नुपर्नेछ । ‘यो हाम्रा लागि मङ्गल ग्रहजस्तै अर्बौं वर्षअघि बसोबासयोग्य हुनेसक्ने संसारको अन्वषेण गर्ने अवसर होइन’, युरोपा क्लिपर कार्यक्रमका वैज्ञानिक कट निबुरले गत महिना पत्रकारहरूसँग भने, ‘तर एउटा संसार जो अहिले नै बसोबासयोग्य हुनसक्छ ।’ यान अन्तरग्रहीय अन्वेषणका लागि नासाले अहिलेसम्म डिजाइन गरेको सबैभन्दा ठूलो हो । बृहस्पतिसमम पुग्ने कमजोर प्रकाश समात्न डिजाइन गरिएको ३० मिटर चौडा यसका विशाल सौर्य प्यानलहरू पूर्ण रूपमा विस्तारित हुन्छन् । आदिम जीवन युरोपाको अस्तित्व सन् १६१० देखि थाहा भए पनि पहिलो नजिकका तस्बिरहरू सन् १९७९ मा भोयेजर यानहरूले लिएका थिए । यसले सतहमा रहस्यमय रातो रेखाहरू क्रस गरेको देखाएको थियो । बृहस्पतिको बर्फिलो चन्द्रमामा पुग्ने अर्को यान सन् १९९० को दशकमा नासाको ग्यालिलियो यान थियो । उक्त यानले चन्द्रमामा एउटा महासागर हुने सम्भावना अधिक रहेको पत्ता लगाएको थियो । यसपटक युरोपा क्लिपर यानले क्यामेराहरू, एउटा स्पेक्ट्रोग्राफ, राडार र चुम्बकीय शक्तिहरू मापन गर्न एउटा म्याग्नेटोमिटरसहित परिष्कृत उपकरणहरू बोक्नेछ । मिसनले युरोपाको बर्फिलो सतहको संरचना, यसको गहिराइ र यसको महासागरको लवणतासमेत निर्धारण गर्न प्रयास गर्नेछ । जीवनका लागि आवश्यक पानी, ऊर्जा र केही रासायनिक यौगिकहरू जस्ता तीन तत्व उपस्थित छन् कि छैनन् भनेर बुझ्नु पनि यस मिसनको उद्देश्य हो । यदि यी अवस्थाहरू युरोपामा अवस्थित छन् भने जीवन आदिम ब्याक्टेरियाका रूपमा महासागरमा पाइन सक्ने मिसनकी उपपरियोजना वैज्ञानिक बोनी बुरट्टीले बताए । ‘यदि युरोपा बसोबासयोग्य छैन भने रु भन्ने प्रश्नले हामीले किन यस्तो सोच्यौँ र यो किन त्यहाँ छैन ? भन्नेबारे प्रश्नहरूको समृद्धि खोल्नेछ”, नासाकी सहयोगी प्रशासक निक्की फक्सले भने । ४९ फ्लाइबा यानले बृहस्पतिसम्मको यात्रामा दुई अर्ब ९० करोड किलोमिटर यात्रा गर्नेछ र सन् २०३० अप्रिलमा आइपुग्ने अपेक्षा गरिएको छ । मुख्य मिसन अर्को चार वर्षसम्म चल्नेछ । यानले युरोपामाथि ४९ वटा नजिकका फ्लाइबाहरू बनाउनेछ र सतहबाट २५ किलोमिटर माथिसम्म आइपुग्नेछ । यसले प्रत्येक पासमा करोडौँ छातीको एक्स–रे बराबर तीव्र विकिरणको सामना गर्नेछ । करिब एक दशकदेखि पाँच अर्ब २० करोड डलरको मिसनमा करिब चार हजारले काम गरिरहेका छन् । नासाले सङ्कलन गरिने डाटाको महत्त्वले यो लगानीलाई न्याय दिने बताएको छ । ‘यदि हाम्रो सौयमण्डलमा दुई बसोबासयोग्य संसार (युरोपा र पृथ्वी) को घर हुन पुग्यो भने यस नतिजालाई यस आकाशगङ्गाका अर्बौं अन्य सौयमण्डलमा विस्तार गर्दा त्यसको अर्थ के हुन्छ भनेर सोच्नुहोस्’, युरोपा क्लिपर कार्यक्रमका वैज्ञानिक निबुरले भने, ‘युरोपामा ‘के जीवन छ ?’ भन्ने प्रश्नलाई एकातिर राख्दा, बसोबासयोग्यताको प्रश्नले आफैँमा आकाशगंगामा जीवनको खोजीका लागि एउटा विशाल प्यारा–डाइम खोल्छ ।’ युरोपा क्लिपरले युरोपियन स्पेस एजेन्सी (इएसए) को ज्युस यानसँगै काम गर्नेछ । उक्त यानले बृहस्पतिका अन्य दुई चन्द्रमा गानिमेड र क्यालिस्टोको अध्ययन गर्नेछ । रासस
मनकामना केबलकार असोज २९, ३० र कात्तिक १ गते बन्द हुने
मुग्लिन । मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक १ गते बन्द गरिने भएको हो । मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ । यसअघि विजया दशमीको दिन असोज २६ गते र एकादशीको दिन २७ गते दुई दिन पनि केबलकार बन्द थियो । आज एक दिन भने केबलकार सञ्चालन गरिएको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको प्रवेशद्वार ‘बटम स्टेशन’ भने चितवनको इच्छकामना गाउँपालिका ४ चेरेसमा छ ।