विकासन्युज

माग्दीको विकट पात्लेगाउँमा विद्युतसेवा विस्तार, स्थानीयबासी भए खुसी

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ को पात्ले गाउँमा विद्युतीकरण भएको छ । नेपाल विद्युत प्राधिकरणको म्याग्दी जिल्लालाई पूर्ण विद्युुतीकरण गर्ने कार्यक्रम मार्फत भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने पात्लेमा विद्युतीकरण भएको हो । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले पात्लेका एक सय २० घरमा केन्द्रिय प्रशारण लाइनको विजुली बलेको जानकारी दिए । दसैको समयमा गाउँमा बिजुली बलेपछि स्थानीयबासीमा खुसीयाली छाएको छ । पात्लेका बासिन्दाले उज्यालोका लागि यसअघि लघुजलविद्युत परियोजना, सौर्य उर्जा र टुकीमा निर्भर थिए । मालिका –३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले केन्द्रिय लाइनका बिद्युत बलेसँगै उज्यालोका साथै स्थानीयबासीको दैनिकी सहज भएको बताए । विद्युतीय चुल्होमा खाना पकाउन, इन्टरनेट चलाउन, टेलिभिजन हेर्न, फर्निचर, मिल सञ्चालन गर्न र उद्यम व्यवसायको अवसर सिर्जना भएको छ । यसअघि गत साउन महिनामा मालिका गाउँपालिकाको वडा नम्बर १, छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, मालिका –३ को लुप्सीपार, खतेन र मालिका– ४ को ओखरबोटका पाँच सय घरमा केन्द्रिय लाइनको बिद्युत सुविधा विस्तार भएको थियो । जिल्लाका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तारका लागि ४७।६ किलोमिटर मुख्य, १२६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न गत असोज तेस्रो हप्ता रविन्द्र/ढुंगाना जेभीसँग तीन करोड ५४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सोही ठेक्का मार्फत मुख्य, शाखा लाइन विस्तार गर्न पोल गाड्ने, तार तान्ने, ढुवानी गर्ने, ट्रान्सफर्मर ढुवानी र जडान गरिएको हो । मिटरबक्स जडान र वायरीङको काम उपभोक्ता आफैले गरेका हुन् । धवलागिरी गाउँपालिका–२ खोरीया, लमसुङ र लुलाङमा तिहार अघिनै विद्युतीकरणको तयारी गरेको रविन्द्र/ढुङगाना जेभीका प्रतिनिधी दिनेश ढुङ्गानाले बताए । आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ११ ठाउँमा एक हजार ४३८ उपभोक्ता थपिएका थिए । हालसम्म म्याग्दी बितरण केन्द्र अन्तरर्गत करिब २३ हजार विद्युतका ग्रहाक छन् । रासस

६२० वटा शाखारहित बैंकिङ सेवा बन्द

काठमाडौं । गत असोज २३ गतेदेखि कामना सेवा विकास बैंकले ६ वटा शाखारहित बैंकिङ (बीएलबी) सेवा बन्द गर्याे । रुपन्देहीको देवदह नगरपालिका ८ स्थित देवदह मोबाइल एण्ड कम्प्युटर पसल, लमजुङको मध्यनेपाल नगरपालिका ७ रामबजार स्थित ईशानेश्वर इलोक्ट्रोनिक्स, नवलपरासीको कावासोती नगरपालिका १० मगरकोट स्थित विपिन अर्यालसँगको शाखारहित बैंकिङ सेवा बन्द गरिएको बैंकले जनाएको छ । यस्तै चितवनको राप्ती नगरपालिका ८ स्थित सुप्रिया थोक तथा खुदा किराना पसल, इलामको रोङ गाउँपालिका ६ सलकपुरस्थित अधिकारी एग्रो बनानाज फुड जोन र मोरङ्गको मिक्लाजुङ गाउँपालिका ३ धोबेनी बजार स्थित सिमन इन्टरप्राइजेजसँगको शाखारहित बैंकिङ सेवा बन्द गरिएको बैंकको भनाइ छ । यस्तै गत साउन १७ गते ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा सञ्चालन भइरहेका २२ वटा शाखारहित बैंकिङ सेवा बन्द गर्याे । बैंक सञ्चालक समितिको निर्णय अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई सेवा बन्द गरेको जनाएको छ । उक्त स्थानका ग्राहकहरूलाई नजिकैका शाखा कार्यालयबाट बैंकिङ सेवा लिन बैंकले आग्रह गरेको छ । शाखारहित बैंकिङ सेवा सञ्चालनको लागि सम्झौता भई शाखारहित बैंकिङ प्रतिनिधि (बीएलबी एजेन्ट) को रुपमा काम गर्दै आएकोमा सम्झौता रद्द गरी व्यावसायिक प्रतिनिधि खारेज गरिएको र उक्त प्रतिनिधि (बिएलबि एजेन्ट)हरू मार्फत कुनै पनि बैंकिङ कारोबार नगर्न बैंकले अनुरोध गरेका छन् । माथिका केही उदाहरण मात्रै हुन् । पछिल्लो समय बैंकहरूले धमाधम शाखारहित बैंकिङ सेवा बन्द गरिरहेका छन् । विगतको तथ्याङ्क अध्ययन गर्दा ४ वर्षको अवधिमा ६२० वटा शाखारहित बैंकिङ सेवा बन्द भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार १ हजार १०७ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् । जसमध्ये वाणिज्य बैंकका १ हजार ९० वटा र विकास बैंकका १७ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् । ४ वर्षअघि अर्थात् वि.सं २०७८ साउनमा १ हजार ७२७ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ । उक्त संख्या क्रमशः घट्दै वि.सं २०७९ साउनमा १ हजार ५४८, वि.सं २०८० साउनमा १ हजार ३०६ र वि.सं २०८१ साउनमा १ हजार १०७ वटामा झरका छन् । तर, शाखारहित बैंकिङ सेवाको संख्या घटेको भएपनि कारोबार रकम भने बढेको नै देखिन्छ । वि.सं २०७८ को साउनमा १ अर्ब ४९ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यस्तै वि.सं २०७९ को साउनमा १ अर्ब ६५ करोड १० लाख रुपैयाँ, वि.सं २०८० को साउनमा १ अर्ब ७७ करोड ३० लाख रुपैयाँ र वि.सं २०८१ को साउनमा १ अर्ब ८८ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । बैंकको शाखा नभएका स्थानमा सरल तथा सहज रूपमा वित्तीय पहुँच पुर्याउन शाखारहित बैंकिङ सेवाको विस्तार गरिएको हुन्छ । महानगरपालिका तथा उपमहानगरपालिका बाहेक बैंकको उपस्थिति नभएका स्थानमा आधिकारिक प्रतिनिधि नियुक्त गरी बैंकिङ सेवा दिने व्यवस्था नै शाखारहित बैंकिङ सेवा हो । बैंकको पहुँच बढाउन तथा ग्राहकलाई सहज रूपमा बैंकिङ सेवा दिन यस्तो अवधारणा अघि सारिएको हो । शाखारहित बैंकिङमार्फत खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने, रेमिट्यान्स भुक्तानी र स-सानो ऋण लगानीलगायत सेवा दिइन्छ । यस्तो बैंकिङ सेवा सुगमभन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालन गर्नु पर्ने राष्ट्र बैंकको व्यवस्था छ । शाखा नपुगेका ग्रामीण भेगमा वित्तीय सेवा पर्याउने उद्देश्यले खोलिएका शाखारहित बैंकिङ सेवालाई बैंकहरूले पछिल्लो समय विस्तारै घटाउँदै लगेको तथ्याङ्कले देखाउँछ । साथै शाखारहित बैंकिङमार्फत रकम हिनामिना भएको, सेवा व्यवस्थापन प्रभावकारी हुन नसकेको, नीति निर्देशन विपरित सेवा सञ्चालन भइरहेकाले उक्त सेवा विस्तारै घटाउँदै लगिएको बैंकरहरू बताउँछन् । पछिल्लो समय वित्तीय पहुँचको माध्यम पनि बदलिएको र डिजिटल माध्यमको तिव्र विकास भइरहकोले पनि शाखारहित बैंकिङ सेवालाई निरूत्साहित गरिरहेको बैंकरहरूको भनाइ छ । विगतमा शाखारहित बैंकिङको राम्रो प्रभाव रहेपनि पछिल्लो समय घट्दै गएकाले बैंकहरूले प्राथमिकतामा राख्न छाडेको हुन् ।

हुलाकी राजमार्गअन्तर्गत कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा समस्या

राजविराज । हुलाकी राजमार्गअन्तर्गत राजविराज–कञ्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलामा निर्माणाधीन पुल अलपत्र अवस्थामा छ । जसले गर्दा आवतजावतमा निकै समस्या भइरहेको छ । लामा बागमती निर्माण सेवाले विसं २०७१ मा निर्माण सुरु गरे पनि काम सुस्त हुँदा स्थानीयलाई समस्या भएको छ । पुल नबन्दा खोला तरेर दैनिक सयौँ सवारीसाधन र स्थानीयले आवातजावत गर्नुपर्ने बाध्यता रहेको स्थानीय पिन्टु यादवले गुनासो गरे । जिल्लाको सदरमुकाम राजविराजसमेत जोडने पुल भएकाले हजारौँ मानिसले जोखिमपूर्ण यात्रा गर्नु परिरहेको उनले सुनाए । तिरहुत गाउँपालिका–३ का बुधिलाल अरगारिया यादवले समयमा पुल निर्माण नहुँदा वर्षाको समयमा खोलामा अत्यधिक बाढी आउने र आवतजावतमा अवरोध सिर्जना हुने गरेको बताए । ‘सामान्य वर्षा भए पनि खोलाबाट चारपाङ्ग्रे र दुईपाङ्ग्रे गाडी आउनेजानेक्रम पूर्ण रुपमा बन्द हुने गरेको छ । राजविराजबाट जिल्लाको पूर्वमा महेन्द्र राजमार्ग जोड्ने तिरहुत गाउँपालिका, कञ्चरुप नगरपालिका, सप्तकोसी नगरपालिका र उदयपुर जिल्लासम्मका लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा अवरोध हुन्छ’, उनले भने । यस्तै, यस आसपास जोडिएको करिब दुई किलोमिटर सडकसमेत कालोपत्रे हुनसकेको छैन । बज्रगुरु निर्माण सेवा जेभीको ठेक्कामा रहेको यो सडक कालोपत्र नहुँदा थप समस्या भइरहेको सोही ठाउँका देवनारायण यादवले गुनासो गरे । यस्तै तिरहुत गाउँपालिका–५ बुधेवामा पुल निर्माण भए पनि त्यससँग जोडिएको एक किलोमिटर सडक कालोपत्र गर्न  ढिलाइ भएको छ ।

बागलुङका ग्रामीण सडक सञ्चालन नहुँदा सास्ती

ढोरपाटन । बागलुङका ग्रामीण सडक सञ्चालनमा नआउँदा स्थानीयलाई सास्ती भएको छ । वर्षाका कारण गत असारदेखि अवरुद्ध भएका सडक दसैँमा पनि सञ्चालन नहुँदा सामान ढुवानी तथा यात्रा गर्न समस्या भएको हो । जिल्लाको तमानखोला, निसीखोला, काठेखोला, बडिगाड गाउँपालिकासहित १० वटै पालिकाका ग्रामीण सडक पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन् । दसैँअगावै सबै सडक सञ्चालन गर्ने भनिए पनि अविरल वर्षाका कारण खुलाउन नसकिएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए । यहाँका मुख्यमुख्य सडक सञ्चालन भए पनि केही सडक चाँडै खुलाउने तयारी भइरहेको उनले जानकारी दिए । अध्यक्ष घर्ती भन्छन्, ‘गाउँपालिकाभित्रका सबै सडक दसैँमा सञ्चालन गर्ने योजना थियो तर अविरल वर्षाका कारण केही सडक खुलाउन सकिएन । अब केही दिनमा सञ्चालन हुने गरी काम गर्छौं ।’ बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले दसैँअघिको वर्षाले बडिगाडमा ठूलो क्षति पुर्‍याएको हुँदा वडा ९ र १० का विभिन्न स्थानका सडक सञ्चालन गर्न नसकिएको बताइन् । पालिकाले वर्षात्का कारण अवरुद्ध सडक खुलाउनका लागि ६० लाख रुपैयाँ विनियोजन गरे पनि त्यसले केही ठाउँका सडक मात्र सञ्चालनमा गर्न सकिएको उनले बताए । गाउँपालिकाभित्र रहेका दर्लिङ, नयाँगाउँ, मालारानी, आरुपाटा, निगलपानी पुग्ने सडक पूर्ण रुपमा ठप्प भएको अध्यक्ष अधिकारीको भनाइ छ । दसैँमा गाउँमा मोटरबाटो सञ्चालन नहुँदा बोकेरै सामान ढुवानी गर्नुपरेको स्थानीय चन्द्रकान्त बुढामगरले गुनासो गरे । साउन महिनामा पहिरोले सडकको ट्र्याक नै बगाएपछि यातायातका साधान चल्न छोडेको भन्दै दसैँमा टाढाटाढाबाट आउने आफन्तहरुले सास्ती खेप्नुपरेको उनको भनाइ छ । ‘साउनदेखि नै समस्या थियो तर दसैँमा त समस्या समाधान होला सोचेका थियौँ, यहीबेला वर्षाले धेरै ठाउँमा पहिरो गएर थप समस्या भयो । सडक नखुल्दा दसैँसमेत खल्लो हुनुपुग्यो’, बुढामगरले भने । रासस

नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउनेक्रम आज पनि निरन्तर चलिरहन्छ । मान्यजनबाट टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्दछन् । आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । निधारमा रातो टीका र जमरा लगाएका मानिस मान्यजनकहाँ टीका लगाउन गइरहेका देखिन्छन् । बडादसैँको सार्वजनिक बिदा आजसम्म भएकाले पनि टीका र आशीर्वाद थाप्न मानिसहरु हतारहतार हिँडिरहेका छन् । मङ्गलबारदेखि सरकारी कार्यालय खुल्ने भए पनि नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम भने बुधबार अखिल बलिपूर्ति नभएसम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमा भने कात्तिक १ गते बिहीबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

दसैँको दक्षिणा ‘शिक्षामा लगानी’

काठमाडौं । दसैँको समयमा अधिकांश बालबालिकाको हातमा पैसा हुन्छ । दक्षिणामा पाएको यस्तो रकम कतिपय बालबालिकाले अनावश्यक खर्च गर्छन् भने केहीले मात्रै उपयोगी काममा खर्च गर्छन् । कैलालीको टीकापुर–१ की समृद्धि पोखरेल यस वर्षको दसैँको दक्षिणा चित्रकलाका सामान खरिदमा खर्च गर्ने योजनामा छिन् । कक्षा ६ मा अध्ययनरत समृद्धि दसैँ बिदा भएलगत्तैदेखि चित्रकला सिकिरहेकी छिन् । ‘मलाई चित्र बनाउन रुचि छ, त्यसैले दसैँको बिदा सदुपयोग गरिरहेकी छु, सपटकको दक्षिणा चित्रकलाका लागि आवश्यक पेन्टिङका सामान किन्ने योजनामा छु,’ उनले भनिन् । कक्षा ७ मा अध्ययनरत कैलालीको लम्की चुहाकी सोनी उपाध्याय पनि यसपटकको दक्षिणाले अध्ययनका लागि आवश्यक ‘नोट कापी’ किन्ने तयारीमा छिन् । ‘मैले गत वर्षको दक्षिणाबाट राम्रो लुगा किनेकी थिए, यस वर्ष भने आफूलाई वर्षभरि पुग्ने कापी किन्ने हो । दसैँको रकम अनावश्यक खर्च नगर्ने सोँचेकी छु,’ उनले भनिन् । कक्षा १० मा अध्ययनरत बन्दना रेग्मी पनि दसैँ खर्च जोगाउने तयारीमै छिन् । गत वर्ष साथीहरूसँग टीकापुर पार्कमा पिकनिक गएकी बन्दना यस वर्ष अध्ययनका लागि आवश्यक सामग्री किन्ने योजना रहेको बताउँछिन् । ‘के किन्ने भनेर योजना बनाउँदैछु । स्कूल झोला अध्ययनका लागि उपयोगी सामग्री किन्ने कि भन्ने सोचमा छु,’ उनले भनिन् । हरेक वर्ष बडादसैँलगायत चाडपर्वमा प्रायः सबैजसो विद्यालयमा करिब एक महिना लामो बिदा हुने गरेको छ । कतिपयले घरायसी काम, घुमफिर र रमाइलो काममै बिदा गुजार्ने गर्छन् । शिक्षकहरू भने चाडपर्वको समय अनावश्यक काममा खेर फाल्नुभन्दा सिर्जनात्मक काममा प्रयोग गरेर बिताउँदा राम्रो हुने बताउँछन् । यसका लागि अभिभावकले नै वातावरण बनाइदिनुपर्ने शिक्षक कृष्ण जैसीको सुझाव छ । ‘एक महिना बिदा हुन्छ । यो समय सिर्जनात्मक र नयाँ सिकाइका लागि प्रयोग गर्नु उपयुक्त हुन्छ । विद्यालयमा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने समय पनि हो यो । त्यसैले अभिभावकले नै आफ्ना बालबालिकालाई चाडपर्वमा पाएको दक्षिणा राम्रो काममा खर्च, बचत गर्ने बानीको विकास, पैसाको महत्व बुझाउने र सदुपयोग गर्न सिकाउनुपर्छ,’ उनले भने, ‘यो समयमा नयाँ पुस्तक पढ्ने, नयाँ पुस्तक किन्ने जस्ता कार्यमा खर्च गर्न सकिन्छ । यसका लागि अभिभावकले नै उत्प्रेरित गर्न आवश्यक छ ।’ टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी पनि लामो बिदालाई त्यत्तिकै खेर नफाली अभिभावक र बालबालिकाले रमाइलो वातावरणमा व्यावहारिक सीप सिकाउन प्रयोग गर्नुपर्ने सुझाव दिन्छन् । ‘मानिसको जीवनमा सधैँ काम र पढाइको व्यस्तता हुनसक्छ । सबैलाई रमाइलो वातावरण र मनोरञ्जन चाहिन्छ । यसर्थ अभिभावकले बालबालिकालाई समय र पैसा अनावश्यक खर्च गर्नु हुँदैन भनी सिकाउनुपर्छ । रमाइलो वातावरणमा घरको काम सिकाउने, सिर्जनशील काममा लगाउनसके राम्रो हुन्छ,’ उनले भने ।

जुम्लामा दसैँमा मात्रै साढे १६ करोडका भेडा र खसी बोकाको कारोबार

काठमाडौं । जुम्लामा यस वर्षको दसैँको समयमा मात्रै साढे १६ करोड रुपैयाँभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ । चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै १६ करोड ३२ लाख ३१ हजार रुपैयाँको भेडा, खसी, बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको जानकारी दिए । शाखा प्रमुख रावलका अनुसार जिल्लाकै भेडापालक किसान र बाहिरबाट ल्याइएका समेत गरेर ७ हजार ९२८ भेडा तथा खसी बिक्री भएका छन् । यस्तै १५ करोड २३ लाख २३ हजार रुपैयाँका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजार रुपैयाँका राँगा तथा भैसीहरू खरिद बिक्री भएका छन् । जसमा ४८७ खसी, ३ वटा राँगा र ८२ वटा भैँसी रहेका छन् । स्थानीय भेडाको अधिकतम मूल्य २८ हजार रुपैयाँ, न्यूनतम १० हजार रुपैयाँ रहेकामा औसत मूल्य १९ हजार रुपैयाँ तोकिएको थियो । जुम्ली खसीको अधिकतम मूल्य २४ हजार रुपैयाँ र न्यूनतम ८ हजार रुपैयाँ रहेकामा औसत १६ हजार रुपैयाँमा बिक्री भएको जनाइएको छ । अधिकतम मूल्य ५० हजार रुपैयाँ र न्यूनतम २६ हजार रुपैयाँमा किनबेच भइरहेका राँगाभँैसी औसत ३८ हजार रुपैयाँमा बिक्री भएका थिए । वि.सं २०६८ देखि तिब्बती भेडाच्याङ्ग्रा ल्याउन छाडेपछि जुम्ली भेडा, खसीबोका मात्रै बिक्रीवितरण हुने गरेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन् । पछिल्लो समय कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड, बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघुलगायत साना बजारमा समेत भेडा, खसीलगायतको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेन शुक्रबारदेखि जर्मन भ्रमणमा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को हप्ता देखि जर्मन भ्रमण गर्ने अपेक्षा गर्ने भएका छन् । जर्मन सञ्चारमाध्यमका अनुसार बाइडेनले जर्मन चान्सलर ओलाफ स्कोल्ज र राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरसँग भेट गर्नेछन् । बाइडेनको जर्मनको मूल भ्रमण अक्टोबर १० देखि १२ को बीचमा हुने थियो । तर, मेरिकाको फ्लोरिडामा आएको आँधी मिल्टनको निरीक्षण गर्न उहाँले उक्त भ्रमण रद्द गरेका थिए । अमेरिकामा आँधीले गर्दा करिब ५० अर्ब अमेरिकी डलरको क्षति भएको र कम्तिमा १६ जनाको ज्यान गएको अनुमान गरिएको छ ।