विकासन्युज

ग्लोबल आइएमई बैंक र भाटभटेनीबीच सहकार्य, शून्य प्रतिशत ब्याजमा ईएमआई सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकहरुलाई शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी (ईएमआई) सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्दै ग्राहकलाई आधुनिक वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यसहित दुई संस्थाबीच व्यावसायिक सहकार्य सुरु गरिएको बैंकले जनाएको छ । सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले भाटभटेनीका सम्पूर्ण स्टोरहरुबाट न्यूनतम १५ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिद गर्दा अन–द–फ्लाई ईएमआई सुविधा प्राप्त गर्नेछन् । यसका लागि कुनै अतिरिक्त कागजी प्रक्रिया आवश्यक नपर्ने बैंकले स्पष्ट पारेको छ । ग्राहकहरुले आफूलाई सहज हुने गरी ३, ६, ९, १२ वा १८ महिनासम्मको अवधिमा किस्ताबन्दीमार्फत रकम भुक्तानी गर्न सक्नेछन् । उक्त योजनामा कुनै पनि ब्याज वा प्रोसेसिङ शुल्क नलाग्ने व्यवस्था गरिएको छ । यस सुविधाबाट विशेषगरी इलेक्ट्रोनिक्स तथा महंगा सामग्री खरिद गर्ने ग्राहकहरुलाई तत्काल आर्थिक भार कम भई योजनाबद्ध रुपमा भुक्तानी गर्न सहज हुने अपेक्षा गरिएको छ । यसै सहकार्यअन्तर्गत भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकहरुलाई लक्षित गर्दै विशेष ‘ग्लोबल बीबीएसएम क्लब क्रेडिट कार्ड’ जारी गरिने भएको छ । ग्राहकको आर्थिक व्यवहार तथा पछिल्लो तीन महिनाको कारोबार इतिहासका आधारमा १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा निर्धारण गरिनेछ । सुरुवाती चरणमा उक्त कार्ड भाटभटेनी तथा यसको नेटवर्कमा मात्र प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको छ । कार्डमार्फत ग्राहकहरुले सहज भुक्तानी, विशेष अफर, छुट तथा विभिन्न ग्राहक लक्षित योजनाहरुको लाभ लिन सक्नेछन् । बैंकका अनुसार यस सहकार्यले डिजिटल भुक्तानीको विस्तार, आधुनिक बैंकिङ सेवाको प्रवद्र्धन तथा ग्राहकलाई थप लाभ प्रदान गर्ने लक्ष्य लिएको छ । आगामी दिनमा दुबै संस्थाले संयुक्त रुपमा क्यासब्याक, रिवार्ड तथा विभिन्न आकर्षक योजना सञ्चालन गर्ने तयारी समेत गरेका छन् । यस योजनामा आईएमएस सफ्टवेयरले प्राविधिक साझेदारको रुपमा सहकार्य गरेको जनाइएको छ ।  

गोली चलाउन आदेश दिए, आफै फँसे खान सर

काठमाडौं । भारतका चर्चित शिक्षक तथा युट्युबर फैजल खान (खान सर) को ‘खान ग्लोबल स्टडिज’ इन्स्टिच्युट यतिबेला दोहोरो कानुनी र नियामक झमेलामा फसेको छ । संस्था बाहिर भएको गोलीकाण्डमा खान सरमाथि ‘ज्यान मार्ने उद्योग’ को मुद्दा दर्ता भएको केही दिनमै बिहार अग्नि सेवाले गरेको जाँचका क्रममा उनको कोचिङ सेन्टरमा गम्भीर अग्नि सुरक्षा कमजोरीहरू फेला परेका छन् ।  अग्नि नियन्त्रण विभागले संस्थालाई एक हप्ताभित्र ती कमजोरीहरू सुधार्न अल्टिमेटम दिँदै सूचना जारी गरेको छ भने तोकिएको समयमा मापदण्ड पूरा नगरे संस्था सिल गर्ने चेतावनीसमेत दिएको छ । हालै दिल्लीको एक होटल र बिहारको मुजफ्फरपुरस्थित प्रसाद अस्पतालमा भएका विनाशकारी आगलागीका घटनापछि बिहार सरकारले राज्यभर सुरक्षा जाँचलाई तीव्र बनाएको छ । सोही अभियानअन्तर्गत आइतबार पटनास्थित खान सरको इन्स्टिच्युटमा निरीक्षण गरिएको थियो । सहायक जिल्ला अग्नि अधिकारी अजय कुमार शर्माका अनुसार खान ग्लोबल स्टडिजले नयाँ भवनको अग्नि सुरक्षा प्रमाणपत्रका लागि आवेदन दिएको थियो । सोही आवेदनका आधारमा गरिएको निरीक्षणमा विभिन्न कमजोरीहरू फेला परेका छन् । परिसरमा कुनै पनि प्रकारको फायर अलार्म प्रणाली जडान नगरिएको, आगलागी नियन्त्रणका लागि आवश्यक फायर पम्पको व्यवस्था नभएको, छतमा रहेको पानीको ट्याङ्कीको क्षमता अन्तर्राष्ट्रियरराष्ट्रिय मापदण्ड भन्दा अपर्याप्त रहेको, भवनको उपयोग व्यवस्थापनसँग सम्बन्धित समस्याहरू रहेको शर्माले जानकारी दिए । बिहार अग्नि सेवाका डीआईजी मनोज कुमार नुत्तले भने, ‘हाम्रो उद्देश्य कसैलाई दुःख दिनु होइन, धनजनको क्षति रोक्नु हो । तर यदि दिइएको एक हप्ताको समयभित्र मापदण्ड पालना गरिएन भने बिहार अग्नि सेवा ऐन र नियमावली, २०२१ बमोजिम कोचिङ इन्स्टिच्युट सिल गरिनेछ ।’ यो अग्नि सुरक्षाको झमेला जुन २ मा पटनाको कदमकुआन क्षेत्रमा रहेको खान सरकै संस्था बाहिर भएको हिंसात्मक घटनासँग पनि जोडिएको छ । जुन २ मा संस्था बाहिर एउटा समूहले तोडफोड र सुरक्षागार्डमाथि आक्रमण गरेपछि खान सरले प्रतिद्वन्द्वीहरूले ‘८ देखि १० राउन्ड’ गोली चलाएको दाबी गरेका थिए । प्रहरीले सुरुमा एक प्रतिद्वन्द्वी कोचिङ इन्स्टिच्युटसँग जोडिएका तीन जनालाई पक्राउ गर्यो । तर, भिडियो फुटेज र प्राविधिक प्रमाणहरूको विस्तृत अनुसन्धानपछि घटनाले अर्कै मोड लियो । प्रहरीले ‘खान ग्लोबल स्टडिज’ मै कार्यरत दुई जना सुरक्षागार्डलाई पक्राउ गर्यो । पक्राउ परेका गार्डहरूले खान सरकै निर्देशनमा आफूहरूले गोली चलाएको बयान दिएपछि प्रहरीले खान सरविरुद्ध ‘ज्यान मार्ने उद्योग’लगायतका गम्भीर आरोपमा मुद्दा दर्ता गरेको छ । यता खान सरका वकिल अरविन्द कुमार मौआरले भने उनीमाथि लगाइएका सबै आरोपहरूको खण्डन गरेका छन् । वकिल मौआरले यो मुद्दा केवल विपक्षीको बयानका आधारमा मञ्चन गरिएको र प्रतिशोधपूर्ण मनसायले प्रेरित रहेको दाबी गर्दै अदालतमा अग्रिम जमानतको याचिका दायर गर्ने तयारी भइरहेको बताएका छन् । विवाद र कानुनी घेरामा परेका खान सरले अब एक साताभित्र आफ्नो इन्स्टिच्युटको भौतिक सुरक्षा (अग्नि मापदण्ड) सुधार्नुपर्नेछ भने अर्कोतर्फ फौजदारी मुद्दाको पनि सामना गर्नुपर्ने भएको छ । पटनाको कदमकुआन र नयाँ टोला क्षेत्र भारतमै निजामती सेवा र अन्य तयारीका लागि ‘कोचिङ हब’ मानिन्छन् । युट्युबबाट चर्चामा आएका खान सरले ‘खान ग्लोबल स्टडिज’ खोलेर निकै सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिन थालेपछि पटनाका अन्य पुराना र ठूला कोचिङ सेन्टरहरूको व्यापारमा ठूलो धक्का लागेको थियो । यही व्यावसायिक रिसिइबीका कारण खान सर र अन्य प्रतिस्पर्धी कोचिङ सञ्चालकहरूबीच लामो समयदेखि शीतयुद्ध चलिरहेको थियो । यसरी सुरु भयो विवाद जुन २ का दिन खान सरको इन्स्टिच्युट बाहिर अर्को एक प्रतिस्पर्धी कोचिङ सेन्टरका मानिसहरू (जसलाई स्थानीय भाषामा कोचिङ एजेन्ट वा बाउन्सर भनिन्छ) आएका थिए । उनीहरूले खान सरकोमा आउने विद्यार्थीहरूलाई भड्काउन र आफ्नोमा तान्न खोजेपछि दुवै पक्षका स्टाफ र सुरक्षागार्डबीच भनाभन सुरु भयो । भनाभन बढ्दै गएपछि प्रतिस्पर्धी गुटका मानिसहरूले खान सरको संस्थाको गेटमा ढुङ्गामुढा र तोडफोड गरे । उनीहरूले खान सरका सुरक्षागार्डहरूमाथि पनि लाठी र डन्डाले आक्रमण गरे । घटनालगत्तै खान सरले मिडिया र प्रहरीसामु आफ्ना प्रतिद्वन्द्वीहरूले संस्थालाई सिध्याउन र आफूलाई तर्साउन ८ देखि १० राउन्ड खुला गोली चलाएको दाबी गरे । सुरुमा सबैले खान सरमाथि नै आक्रमण भएको ठाने । प्रहरीले अनुसन्धान गर्दै जाँदा सुरुमा प्रतिस्पर्धी संस्थाका ३ जनालाई समात्यो । तर जब प्रहरीले घटनास्थल र वरपरका सीसीटीभी फुटेजहरू संकलन गरेर हेर्यो तब कथाले अर्कै मोड लियो । फुटेजमा बाहिरबाट आएका भीडलाई लखेट्न खान सरकै संस्थाका निजी सुरक्षागार्डहरूले बन्दुक निकालेर अन्धाधुन्ध गोली चलाएको देखियो । प्रहरीले ती दुई गार्डलाई पक्राउ गरेर केरकार गर्दा उनीहरूले बयान दिए— ‘बाहिर माहोल बिग्रिएपछि खान सरले नै भित्रबाट फोन गरेर ‘गोली चलाएर तिनीहरूलाई भगाऊ’ भनी आदेश दिएका थिए ।’  गार्डहरूको यही बयान र सीसीटीभी फुटेजको आधारमा पटना प्रहरीले खान सरलाई नै यो हिंसा र गोलीकाण्डको मुख्य योजनाकार ठहर गर्यो । भीडभाड भएको सार्वजनिक सडकमा गोली चलाउन आदेश दिएर मानिसहरूको ज्यान जोखिममा पारेको भन्दै प्रहरीले खान सरविरुद्ध भारतीय न्याय संहिताको ‘ज्यान मार्ने उद्योग’  सम्मको गम्भीर मुद्दा दर्ता गरेको हो ।

‘५ वर्षको आर्थिक रोडम्यापलाई आधार बनाएर बजेट ल्याएका हौं’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटलाई आगामी चारदेखि पाँच वर्षसम्मको आर्थिक रोडम्यापका रूपमा तयार गरिएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले वर्तमान बजेटले आगामी बजेट निर्माणको आधारसमेत तय गर्ने बताएका हुन् ।  अर्थमन्त्री वाग्लेले सरकार परिवर्तन भए पनि मुलुकले वार्षिक रूपमा ठूलो परिमाणको अनिवार्य खर्च व्यहोर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै आर्थिक अनुशासन र दीर्घकालीन योजना आवश्यक रहेको बताए । उनका अनुसार राज्यले हरेक वर्ष ठूलो रकम स्रोत व्यवस्थापन गर्नुपर्ने भएकाले बजेटलाई दीर्घकालीन दृष्टिकोणसहित तयार गरिएको हो । उनले यसपटकको बजेटमा विगतका केही परम्परागत अभ्यास परिवर्तन गर्दै करका दर घटाइएको बताए । सरकारको प्रतिबद्धताअनुसार समग्र करको भार कम गर्ने प्रयास बजेटमार्फत गरिएको उनको भनाइ छ ।  अर्थमन्त्री वाग्लेले हाल बजारमा देखिएको मागमा कमीको प्रमुख कारण उपभोग गर्ने जनशक्ति विदेशिनु रहेको विश्लेषण गरे । उनले डिजिटल प्रणालीको विस्तारमार्फत अनौपचारिक अर्थतन्त्रलाई औपचारिक दायरामा ल्याउने सरकारको योजना रहेको जानकारी दिए । यही रणनीतिअनुसार आयकरका दरमा पनि केही सहुलियत प्रदान गरिएको उनले बताए । स्रोत व्यवस्थापनबारे बोल्दै उनले बजेटमा लचकता अपनाइएको उल्लेख गरे । यस वर्ष आन्तरिक स्रोत परिचालनसँगै करिब सात खर्ब रुपैयाँ ऋण उठाउने योजना रहेको र त्यसको केही हिस्सा पुरानो ऋणको भुक्तानीमा प्रयोग हुने उनले स्पष्ट पारे ।  वाग्लेले चालु बजेटलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को अनुपातमा तुलनात्मक रूपमा सानो आकारको बजेटका रूपमा व्याख्या गरे । सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकता दिँदै खर्चको आकार नियन्त्रण गरिएको उनको भनाइ छ ।  भन्सार तथा कर सुधारका विषयमा उनले विगतमा ठूलो संख्यामा वस्तुमा लाग्दै आएको भन्सार र अन्तःशुल्क पुनरावलोकन गरिएको बताए । राजस्वको आवश्यकता र निजी क्षेत्रको सहजतालाई सन्तुलनमा राख्दै सयौं वस्तुमा अन्तःशुल्क खारेज गरिएको उनले जानकारी दिए । अर्थमन्त्रीले बजेटले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने वातावरण निर्माणमा जोड दिएको पनि बताए । निजी क्षेत्रको सहभागिता र लगानी विस्तारमार्फत आर्थिक गतिविधि बढाउने लक्ष्य बजेटमा समेटिएको उनको भनाइ छ ।  पुराना कर विवाद समाधानका लागि पनि सरकारले विशेष व्यवस्था गरेको उनले बताए । बाँकी कर दायित्वलाई व्यवस्थापन गर्न निश्चित प्रशासनिक शुल्क तिरेर कर चुक्ता गर्न सकिने प्रावधान बजेटमा राखिएको उनको भनाइ छ ।  पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले आगामी तीन वर्षभित्र तीन हजार पुल निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ बजेट विनियोजन गरिएको जानकारी दिए । उनले बजेटलाई उत्पादन, लगानी, रोजगारी र पूर्वाधार विस्तारमा केन्द्रित गरिएको बताए ।  

सेयर बजारमा ४ अर्बको कारोबार

काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.२७ अंकले घटेर २७३५.१४ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ४३ कम्पनीको सेयर मूल्य बढ्दा २२१ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  सोमबार ३५६ कम्पनीको ९२ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सेन्ट्रल फाइनान्सको भएको छ । सेन्ट्रल फाइनान्सको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै ८.५ प्रतिशत लक्ष्मी बैंक डिभेन्चरको १७ करोड, आँखु खोला जलविद्युतको १३ करोड, सिटी होटलको ११ करोड र रिलाइन्स स्पिीनिङ मिल्सको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कालिन्चोक हाइड्रोको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।    

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुखमा एसएसपी सुरेश काफ्ले, अधिकारीको साइबर ब्यूरोमा सरुवा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुख फेरिएका छन् । सरकारले नयाँ कार्यालय प्रमुखको रूपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेलाई जिम्मेवारी दिएको छ । नवनियुक्त एसएसपी काफ्लेले सोमबारदेखि नै कार्यालयमा हाजिर भई आफ्नो कार्यभार सम्हालिसकेका छन् ।  यसअघिका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीको केन्द्रीय साइबर ब्यूरोमा सरुवा भएपछि काफ्लेले यो जिम्मेवारी पाएका हुन् । साइबर ब्यूरोमा सरुवा भएका एसएसपी अधिकारीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखका रूपमा करिब १ वर्ष सेवा गरेका थिए । जिम्मेवारी हेरफेर भएसँगै सोमबार एक कार्यक्रमका बीच ट्राफिक प्रहरी कार्यालयमा एसएसपी अधिकारीलाई बिदाइ गरिएको छ भने नयाँ प्रमुख काफ्लेलाई स्वागत गरिएको छ । प्रमुख काफ्लेले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (मंगलबार) मध्यान्ह १ बजेसम्मका लागि स्थगित गरिएको छ । सोमबार (आज) दिउँसो १ः१५ बजे १५ मिनेटका लागि स्थगित गरिएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसकेपछि सभामुखले अर्को बैठक भोलिका लागि तोकेका हुन् । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुखले मंगलबार दिउँसो १ बजे बैठक बस्ने गरी निर्धारण गरेको जनाएको छ। सचिवालयद्वारा जारी सूचनामा विशेष कारणले बैठक बस्न नसकेको उल्लेख छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले केही दिनयता संघीय संसद्का दुवै सदनमा विरोध जनाउँदै आएका छन् । यही विषयलाई लिएर सत्ता पक्ष र विपक्षी दलबीच सहमति जुटाउने प्रयास जारी रहे पनि हालसम्म निष्कर्ष निस्कन सकेको छैन । विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिबारे प्रतिपक्षी दलहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने र आवश्यक स्पष्टीकरणसहित माफी माग्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीबाट त्यसो नभएसम्म सदनको अवरोध हट्ने अवस्था नरहेको उनीहरूको भनाइ थियो ।

कृषि विकास बैंकको अध्यक्षमा टंकप्रसाद पाण्डेय नियुक्त, राष्ट्र बैंकमा सपथ ग्रहण

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा टंकप्रसाद पाण्डेय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको निर्णयअनुसार पाण्डेयलाई अध्यक्ष पदमा चयन गरिएको हो । नवनियुक्त अध्यक्ष पाण्डेयले निजामती सेवामा करिब २५ वर्ष कार्य गर्दै महत्वपूर्ण अनुभव हासिल गरेका छन् । आर्थिक क्षेत्रलगायत विभिन्न निकायमा काम गरेको अनुभवसमेत उनीसँग रहेको बताइएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार नवनियुक्त अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनरसमक्ष सपथ ग्रहण गराउने व्यवस्था बमोजिम पाण्डेयले पद तथा गोपनीयताको सपथ लिएका हुन् । राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित कार्यक्रममा गर्भनर विश्वनाथ पौडेलले उनलाई सपथ ग्रहण गराएका थिए । सपथ कार्यक्रममा राष्ट्र बैंकका डिपुटी गर्भनर किरण पण्डीत, कार्यकारी निर्देशकहरू रामु पौडेल, गुरुप्रसाद पौडेल, दिर्घबहादुर रावल, मुक्तिनाथ सापकोटा, निर्देशक मिरा ताल्चाभडेल, बोर्ड सचिव शरणकुमार अधिकारीलगायतको उपस्थिति रहेको थियो । त्यसैगरी, कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेललगायतको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।  

‘सञ्चालकको बन्दीमा सेबोन, नेतृत्वविहीन हुनु दुर्भाग्यपूर्ण’

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) कर्मचारी युनियनले बोर्डको वर्तमान व्यवस्थापन अनिर्णयको बन्दी बनेको आरोप लगाउँदै संस्थालाई नेतृत्वविहीन अवस्थामा राखिनु दुर्भाग्यपूर्ण भएको जनाएको छ । सेबोनको ३३औं वार्षिकोत्सव तथा ३४औं वर्ष प्रवेशको अवसरमा जारी विज्ञप्तिमा युनियनले बोर्डको इतिहासमै पहिलो पटक वार्षिकोत्सव कार्यक्रम स्थगित हुनु व्यवस्थापनको उदासीनता, अनुत्तरदायित्व र अपरिपक्व निर्णयको परिणाम भएको टिप्पणी गरेको छ । युनियनका अनुसार स्थापनाकालदेखि नै विभिन्न चुनौती र प्रतिकूल परिस्थितिका बीच पनि बोर्डले आफ्नो वार्षिकोत्सव निरन्तर रूपमा मनाउँदै आएको थियो । तर, यस वर्ष कर्मचारी तथा सरोकारवालासँग कुनै परामर्श नगरी कार्यक्रम नगर्ने निर्णय गरिएको भन्दै युनियनले त्यसको भत्र्सना गरेको छ ।  विज्ञप्तिमा वर्तमान उच्च व्यवस्थापन तथा सञ्चालक समितिलाई अनिर्णयको बन्दी बनेको आरोप लगाइएको छ । युनियनले यही प्रवृत्तिका कारण बोर्ड प्रशासनिक र व्यावसायिक दुवै दृष्टिले कमजोर बन्दै गएको दाबी गरेको छ । युनियनले वार्षिकोत्सवलाई केवल औपचारिक कार्यक्रम नभई नियामक निकाय, सूचीकृत कम्पनी, बजार मध्यस्थकर्ता तथा लगानीकर्ताबीच समीक्षा, छलफल र भावी रणनीति तय गर्ने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गरेको छ । यस्तो अवसरलाई रोक्नुले संस्थाभित्रको कर्पोरेट संस्कृति र सुशासनको अवस्थामाथि नै प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ । युनियनले व्यवस्थापनलाई आफ्नो पदीय जिम्मेवारी र जवाफदेहिता पूरा गर्न आग्रह गर्दै रोकिएका नीतिगत तथा प्रक्रियागत निर्णयहरू तत्काल सार्वजनिक गरी कार्यान्वयनमा लैजान माग गरेको छ । संस्थाको साख जोगाउन र समग्र पुँजी बजारको हितका लागि प्रभावकारी नेतृत्व आवश्यक रहेको युनियनको भनाइ छ । विज्ञप्तिमा बोर्डको अध्यक्ष पद करिब दुई महिनादेखि रिक्त रहेको अवस्थाप्रति पनि चिन्ता व्यक्त गरिएको छ । अध्यक्ष नियुक्ति प्रक्रिया लामो समयसम्म टुंगोमा नपुग्दा पुँजी बजारको नियामकीय गतिविधि प्रभावित भएको उल्लेख गर्दै युनियनले नेपाल सरकारसँग नियुक्ति प्रक्रिया शीघ्र सम्पन्न गरी बजारलाई आवश्यक नेतृत्व प्रदान गर्न माग गरेको छ । युनियनले सेबोनको संस्थागत सुदृढीकरण, सुशासन प्रवद्र्धन तथा पुँजी बजारको दिगो विकासका लागि तत्काल प्रभावकारी नेतृत्व र निर्णय क्षमतायुक्त व्यवस्थापन आवश्यक रहेको समेत जनाएको छ ।