लामिछाने पक्राउ विरुद्धको आन्दोलनले सेयर बजारमा गिरावट, ८ अर्ब बढीको कारोबार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि देशभर आन्दोलन चर्किँदा त्यसको प्रभाव पुँजी बजारमा परेको छ । दशैंपछि निरन्तर उकालो लागेको पुँजी बजार आज भने भारी अंकले गिरावट आएको लगानीकर्ताहरू बताउँछन् । लामिछाने पक्राउ पर्नु पुँजी बजारसँग सम्बन्धित विषय नभएपनि लगानीकर्तामा भने त्यसको नकारात्मक प्रभाव रहेको लगानीकर्ताहरूको भनाइ छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.७२ प्रतिशत अर्थात् ४७.४४ अंकले घटेर १ हजार ६९७.९१ अंकमा बन्द भएको छ । आइतबार अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि सेयर बजार राताम्य छाएको छ । आज दिनभरिमा ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार कित्ता सेयर ८८ हजार ७१४ पटक खरिदबिक्री हुँदा ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार २२६ कम्पनीको सेयर मूल्य घटेको छ । जसमध्ये इस्टर्न हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत अर्थात् ९७.३० अंक घटेर ८७५.७० रुपैयाँमा झरेको छ । यस्तै, गुडविल फाइनान्सको ८.४१ प्रतिशत अर्थात् १००.९० रुपैयाँ घटेर १ हजार ९९ रुपैयाँमा झरेको नेप्सेले जनाएको छ । तर, आज १८ कम्पनीको सेयर मूल्य भने बढेको देखिन्छ । भारी अंकले गिरावट आएको बजारमा कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् २०९.९० रुपैयाँ बढेर २ हजार ३०८.९० रुपैयाँ पुगेको छ । यस्तै, न्यादी ग्रुप पावर कम्पनीको ९.८९ प्रतिशत अर्थात् ४७ रुपैयाँ बढेर ५२२ रुपैयाँ पुगेको छ । आज गुडविल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ४५ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, कुमारी बैंकको ३७ करोड ८७ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेको तथ्याङ्क छ । आइतबार बैंकिङ समूह १.०२ प्रतिशत, विकास बैंक समूह २.३४ प्रतिशत, फाइनान्स समूह ४ प्रतिशत, होटल तथा पर्यटन समूह २.२३ प्रतिशत, जलविद्युत समूह २.१४ प्रतिशत, लगानी समूह १.८९ प्रतिशत, जीवन बीमा समूह २.४६ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह २.०५ प्रतिशत, लघुवित्त समूह १.५२ प्रतिशत, निर्जीवन बीमा समूह १.५२ प्रतिशत, अन्य समूह १.५० प्रतिशत र व्यापार समूह १.८६ प्रतिशत घटेको छ । म्युचुअल फण्ड समूह भने स्थिर रहेको छ ।
दिगाे आवास भवन निर्माणका लागि ग्लोबल आइएमई र युनिभर्सिटी अफ इन्ज्ब्रकबीच भयो सम्झाैता
काठमाडौं । ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच समझदारी भएकाे छ । स्वीच एसिया ग्रान्ट प्रोग्रामअन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा बिल्डिङ इनर्जी इफीसेन्सी इन नेपाल (बीईईएन) प्रोजेक्टअन्तर्गत दिगो आवास भवन निर्माणका लागि ऊर्जा कुशल प्रविधि तथा अभ्यासहरू प्रवर्धन गर्न समझदारी सम्पन्न भएको हाे । उक्त समझदारीमा बैंकका ग्रीन एण्ड सस्टेनेबल बैंकिङ प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफ इन्ज्ब्रक, अष्ट्रियाको प्रतिनिधि तथा प्रोजेक्ट प्रमुख डा. ड्यानियल नेयरले हस्ताक्षर गरे । ग्लोबल आइमई बैंकले दिगो आवास प्रवर्द्धन गर्न ‘ग्रीन होम लोन’ विशेष कर्जा योजना लागू गर्दै आएको छ । बैंकका अनुसार यस समझदारीले प्राविधिक क्षमताको अभिवृद्धि गर्न र दिगो तथा ऊर्जा कुशल भवनहरूको प्रवर्धन गर्न सहयोग पुर्याउनेछ । ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकसमेत हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्र रहेका छन ।
पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोड्न खोज्दा तनाव
गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गर्न थालेपछि पोखराको सहिदचोकमा तनावको अवस्था सिर्जना भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा आइतबार बिहानदेखि निषेधाज्ञा जारी गरेको थियो । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रास्वपाका सभापति लामिछानेलाई अदालत उपस्थित गराउने क्रममा कार्यकर्ताले निषेधित क्षेत्र तोडेर प्रर्दशन गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरेको छ । जिल्ला प्रशासन कार्यालयले सहिदचोकको पूर्वपट्टि वाईचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङचोक र ग्रैहापाटनको पालिखेचोकदेखि नविन माध्यमिक विद्यालयसम्मको सडक क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभा आदि विरोधका कार्यक्रम गर्न निषेध गरेको थियो । अर्को आदेश जारी नभएसम्म निषेधज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलद्वारा जारी आदेशमा उल्लेख छ । सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो । उनलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जिवी राई) सँग मिलेर सभापति लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको विषयमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
ओली प्रधानमन्त्री बन्नु देशका लागि दुर्भाग्य, धेरै भ्रष्टाचार गर्ने व्यक्ति पनि उनै : लामिछाने
काठमाडौं । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन् । आइतबार कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । आफूलाई जस्तै डेढ वर्ष लगाएर प्रधानमन्त्री ओलीमाथि छानविन गर्ने हो भने देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्त केपी ओली हुने उनको आरोप थियो । सभापति लामिछानेले ओली प्रधानमन्त्री बन्नु देशका लागि दुर्भाग्य भएको बताए । उनले सरकारबिरुद्ध देशभरबाट सबैजना आन्दोलनमा उत्रिन आह्वानसमेत गरे । उनले आफूलाई अदालतले न्याय दिनेमा ढुक्क रहेकाे दाबीसमेत गरे । उनले आफूलाई झुटो मुद्दामा फसाइएको भन्दै अदालतले न्याय दिने पनि बताए । सहकारीको रकम ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो । पोखरामा रास्वपाका नेता तथा कार्यकर्ताको संख्या बढेर आन्दोलनले उग्र रूप लिने संकेत पाएपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले निषेधाज्ञा जारी गरेको छ । रास्वपाले सीडीओ कार्यालयले तोकेको निषेधित क्षेत्रमा प्रदर्शन गरेको छ । कास्की जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।
वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान
काठमाडौं । वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान भइ सेवाप्रवाह सञ्चालन भएको छ । गत शुक्रबारदेखि सफ्टवेयरमा समस्या आएको र आइतबार समस्या समाधान भइ सेवा प्रवाह सुरु भएको बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए । सफ्टवेयरमा समस्या आएपछि वैदेशिक रोजगारीमा गएर मृत्यु भएका तथा अंगभंग भएका कामदार र उनीहरुका परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणलगायतको काम रोकिएको थियो । प्रवक्ता ढकालले भने, ‘वैदेशिक रोजगारीमा रहेका श्रमिकका सन्तानलाई प्रदान गर्ने सफ्टवेयरमा केही दिनदेखि समस्या आएको थियो । आज समस्या समाधानपछि सेवा सुरु भइसकेको छ ।’ सफ्टवेयरमा समस्या देखिएर सेवा प्रभावित भएपनि इमेल तथा भौतिक रुपमा उपस्थित भइ दिएको निवेदन भने संकलन निरन्तर रुपमा भइरहेको उनले बताए ।
म्याद थपका लागि अदालतमा उपस्थित भए सभापति लामिछाने
काठमाडौं । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लाई जिल्ला अदालत, कास्कीमा उपस्थित गराएकाे छ । जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका उनीविरुद्ध अनुसन्धान गर्न म्यादको अनुमतिका लागि अदालतमा उपस्थिति गराइएको हो । सभापति लामिछानेलाई अदालत लैजाने क्रममा रास्वपाका सासंद, नेता तथा कार्यकर्ताले विरोध गरेका थिए । अदालत जानुपूर्व सभापति लामिछानेले कानुनी प्रक्रियालाई सहयोग गरिदिन अनुराेध गरेका थिए । अदालत बाहिर रास्वपाका नेता तथा कार्यकर्ता भेला भएका छन् । लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा शुक्रबार पार्टी मुख्यालयबाट पक्राउ परेका हुन् । शुक्रबार नै उनलाई पाेखरा लगिएकाे थियाे । पोखरामा रास्वपाका नेता तथा कार्यकर्ताको संख्या बढेर आन्दोलनले उग्र रूप लिने संकेत पाएपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले निषेधाज्ञा जारी गरेको छ । रास्वपाले सीडीओ कार्यालयले तोकेको निषेधित क्षेत्रमा प्रदर्शन गरेको छ । कास्की जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।
प्रधानमन्त्री ओलीको दावी- राहत र पुनःस्थापनाका लागि सरकारले प्रभावकारी काम गरिरहेको छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी-पहिरो र डुबानपछिको अवस्थामा राहत र पुनःस्थापनाका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने स्पष्ट गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सिन्धुली जिल्ला कमिटीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिका सम्बन्धमा आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले पछिल्ला मन्त्रिपरिषद्का बैठक र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का बैठकबाट समय तालिका तोकेर राहत र पुनःस्थापनाका काम प्रभावकारी रुपमा अघि बढाउन निर्णय गरिएको जानकारी गराए । उनले सरकार सबै सम्बन्धित अङ्गले पीडितका पक्षमा सक्दो काम गरिरहेकाले अराजकता र अस्थिरता मच्चाउन चाहनेहरुले फैलाएका अनावश्यक भ्रम चिरेर ढुक्कसाथ आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे । एमालेको जिल्ला कमिटीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले जिल्लाका चार पालिकालाई सङ्कटग्रस्त घोषणा गरेकामा सरकारलाई धन्यवाद दिँदै किसानका पाकेका धानबाली र सयौं सङ्ख्यामा पशु चौपायामा समेत क्षति भएकाले पुनःनिर्माण र पुनःस्थापनाका कामलाई अगाडि बढाउँदै किसानलाई विशेष राहतको प्याकेज व्यवस्था गरेका थिए । सो अवसरमा एमालेका अनुशासन आयोगका अध्यक्ष केशव बडाल, एमालेका बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई, पूर्वसांसद गणेश पहाडीलगायत सहभागी थिए ।
१० रोपनी १४ आना जग्गा दान कि घुस ? (फोटोफिचर)
काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्वीयू क्रान्तिकारीले एमाले पार्टी कार्यालयका लागि सहयाेग संकलन सुरु गरेकाे छ । विद्यार्थी संगठनले कर छलेकाे पैसाले नभई जनताको पैसाले पार्टी कार्यालय बनाऊ भन्दै रु १ सहयाेग संकलन गरेकाे हाे । अनेरास्वीयू क्रान्तिकारीले प्रदर्शनीमार्गमा आइतबार प्रदर्शन गर्दै सहयाेग संकलन सुरु गरेकाे हाे । प्रदर्शनकाे क्रममा विद्यार्थीहरूले ‘तपाईं जनताकाे प्रधानमन्त्री कि भ्रष्टाचारीकाे ?’, ‘एक अर्बकाे भवन, मदन भवन कि मीन भवन?’, ‘भ्रष्ट एमालेलाई सकाउनुपर्छ’ जस्ता नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए । भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले एमालेकाे केन्द्रीय कार्यालय बनाउन जग्गा उपलब्ध गराएका थिए । साेही विषयलाई लिएर एमालेकाे चाैतर्फी आलाेचना भइरहेकाे छ । व्यवसायी गुरुङले केन्द्रीय कार्यालयका लागि कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराएका छन् । पार्टी कार्यालय निर्माणका नाममा जग्गा दानमा लिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । एमालेले भने व्यवसायी गुरुङ आफ्नाे कार्यकर्ता रहेको भन्दै उक्त विषयलाई लिएर अतिशयोक्तिपूर्ण टीकाटिप्पणी नगर्न आग्रह गरेको छ ।