विकासन्युज

राति १० बजे हुइँकिरहेको बसमा लाखौंको सुन भेटिएपछि…

काठमाडौं । सोमबार राति १० बजे । बुटबलस्थित पूर्व पश्चिम राजमार्गमा लु.२ ख.६५४२ नम्बरको बस आफ्नै रफ्तारमा हुइँकिदै थियो । प्रहरीले एक्कासी सो बसलाई रोक्यो । बसमा खानतलासी गर्दा साढे ४९ लाख मूल्य बराबरको २९ तोला सुन बसमा भेटियो । मूल्य आकाशिरहेको बेला सार्वजनिक बसमा २९ तोला सुन भेटिनुलाई प्रहरीले अस्वाभाविक ठान्यो र बसका कन्डक्टर र अन्य एक जनालाई नियन्त्रणमा लियो । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार राजस्व छली गरी अवैध रूपमा सुन ल्याएको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा सुन भेटिएको हो । पक्राउ पर्नेम बसका कण्डक्टर कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ बस्ने वर्ष ३३ को अकबर अलि मिया रहेको बुझिएको छ । मियाले दायाँ खुट्टाको जुत्ताभित्र खैरो रातो बुट्टे लेडिज ब्यागमा लुकाएको अवस्थामा बिस्कुट आकारको दुई थान सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले मियासहित अर्घाखाँची सुनचादी पसलका सञ्चालक सन्तोष सुनार समेतलाई पक्राउ गरी थप अनुसन्धानको लागी राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको बुझिएको छ । पछिल्लो समय सुनको मूल्य बढिरहेको बेला भारतबाट सुन तस्करी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति, विभागीय समन्वय बढाउने

काठमाडौं । राजस्व चुहावट नियन्त्रणका लागि राजस्व प्रशासनका तीन महत्वपूर्ण विभागहरूले संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने भएका छन्। भन्सार विभाग, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागका विभागीय प्रमुख सहित उच्च पदस्थ अधिकारीहरू  संलग्न बैठकले राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने निर्णय गरेको हो। बैठकले अन्तर विभागीय समन्वय बढाउने र आपसमा सूचना आदान प्रदान तथा सहकार्यलाई थप मजबुत बनाउने समेत निर्णय गरेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा १३‍.३ प्रतिशतले राजस्व वृद्धि भएको दाबी गरिएकाे छ ।

रिजालको नेतृत्वमा भूमि आयोग गठन, सुकुम्वासीलाई जग्गा वितरण गर्ने

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग गठन गरेको छ । हरिप्रसाद रिजालको अध्यक्षतामा आयोग गठन गरेको हो । सो आयोगले  भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने काम गर्नेछ । रिजालको अध्यक्षतामा गठन भएको आयोगमा सनतकुमार कार्की, गुञ्जकुमार खड्का, अनिलकृष्ण प्रसाइँ, जगतबहादुर बस्नेत, टेकबहादुर शाह, गोबद्र्धन कोली र आरती भण्डारी सदस्य छन् । यसअघि आयोग गठनका लागि गठन आदेश समेत मन्त्रिपरिषदबाट जारी भएको थियो । अब सोही आदेश अनुसार आयोगले काम गर्नेछ ।

ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी, युएईबाट नेपालमा पैसा पठाउन सजिलो

काठमाडौं । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बिच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स् सम्झौता भएको छ । यस सम्झौता अनुसार देश बाहिर रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रुपमा रेमिटेन्स पठाउन सक्नेछन । युनाइटेड फिनटेक सोलुसन्स एलएलसीको पूणर् स्वामित्वमा रहेको इन्स्टेन्ट क्यासले फिनटेकको माध्यमबाट संसारभर रेमिटेन्स सुविधा प्रदान गर्दै आईरहेको छ । यसरी युएई तथा विश्वको विभिन्न देशबाट ग्लोबल रेमिटमार्फत् पठाएको पैसा ग्लोबल आइएमई बैंकको सम्पूणर् शाखा कार्यालयहरु वा नेपालभरी रहेको आइएमई लिमिटेडको ५०,००० भन्दा बढी एजेन्टहरुबाट भुक्तानी लिन सकिनेछ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनकोे निरन्तरता

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसंगको सम्झौता अवधि पुनः १ वर्ष अवधि थप गरिएको बैंकले जनाएको छ । कात्तिक १२ गते काठमाडौंमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र डा. महाविर पुनका बीच उक्त ब्राण्ड एम्बास्डर नवीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । उक्त कार्यक्रममा एम्बास्डरमा नियुक्त डा. महावीर पुनले नेपाल बैंक जस्तो नेपालको बैकिंङ क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बास्डरको रुपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे । त्यसैगरी प्रमुख कार्यकारी अधिकृत श्री तिलक राज पाण्डेयले डा. महावीर पुन जस्तो विशिष्ट ब्यक्तित्व साथै आम नेपालीको प्रेरणाको श्रोतलाई नेपाल बैंकको ब्राण्ड एम्बासडरको रुपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए ।

तेस्रो विश्वयुद्ध सुरु भइसकेको डिमोनको दावी, रुस-चीन र इरान-उत्तर कोरियाको गठबन्धन डरलाग्दो

काठमाडौं । जेपी मोर्गन चेसका सीईओ जेमी डिमोनले विश्वले ठूलो खतराको सामना गर्ने चेतावनी दिएका छन् । युक्रेन र मध्यपूर्वमा जारी युद्ध, रुस–चीनको बढ्दो निकटता र इरान–उत्तर कोरियाको गठबन्धन विश्वका लागि ठूलो खतरा बन्न सक्ने उनको विश्वास छ । डिमोनले भने, ‘तेस्रो विश्वयुद्ध सुरु भइसकेको छ । यो विश्व अर्थतन्त्रका लागि ठूलो खतरा हो । यसलाई गम्भीरतापूर्वक लिइएन भने यसको परिणाम निकै नराम्रो हुनसक्छ ।’ वासिङ्टनमा इन्स्टिच्युट अफ इन्टरनेशनल फाइनान्सको वार्षिक बैठकमा डिमोनले उक्त कुरा बताएका हुन् । बिजनेस इनसाइडरको रिपोर्टका अनुसार उनले अमेरिकाका शत्रुहरू विश्व व्यवस्था परिवर्तन गर्न चाहने बताए । रुस–युक्रेन र इजरायल–हमास द्वन्द्व नयाँ विश्वयुद्धमा परिणत हुनसक्ने उनकाे भनाइ छ । सीईओ डिमोनले आफ्नाे बैंकको जोखिम व्यवस्थापन टोलीले गरेकाे कामले सबैलाई अचम्म पार्ने बताए । सुरु भइसक्यो तेस्रो विश्वयुद्ध डिमोनको अनुसार जोखिम धेरै उच्च छ । तेस्रो विश्वयुद्ध सुरु भइसकेकाे छ । धेरै देशकाे भूमिमा लडाईंहरू भइरहेकाे छ । चीन र रुसले दोस्रो विश्वयुद्धपछि पश्चिमा राष्ट्रले स्थापित गरेको व्यवस्थालाई भत्काउने कुरा गरिरहेका छन् । यो धम्कीलाई गम्भीरतापूर्वक नलिए नतिजा नराम्रो हुनसक्ने चेतावनी उनकाे छ । डिमोनले भने, ‘यो समस्या आफै समाधान हुन्छ भन्ने भ्रममा बस्नु हुँदैन ।’ उनले आगामी १०० वर्षसम्म लोकतान्त्रिक पश्चिमी संसारका लागि यसलाई उचित रूपमा समाधान गर्न कदम चाल्नुपर्नेमा जोड दिए । डिमोनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनविरुद्धको युद्धलाई गम्भीर खतरा भनेका छन् । ‘ पुटिनकाे युक्रेनविरुद्धकाे युद्ध खतरनाक छ । हामी स्पष्ट हुनुपर्दछ कि हामीले त्यहाँ नराम्रो नतिजा देख्न सक्दैनौं । हामीले कहिल्यै एक व्यक्तिले परमाणु ब्ल्याकमेलको धम्की दिने परिस्थिति देखेका छैनाैं । यदि यसले तपाईंलाई डर देखाउँदैन भने अब तपाईं डराउनु पर्छ,’ उनले भने । डिमोनले आणविक हतियारको प्रसारलाई मानवजातिको लागि सबैभन्दा ठूलो खतराको रूपमा वर्णन गरे । उनले भने, ‘यदि इरानले आणविक बम प्राप्त गर्‍यो भने अन्य धेरै देशहरूले पनि त्यस्तै गर्नेछन् । विश्वव्यापी आर्थिक स्थिरताको आवश्यकतामा जोड युक्रेनको युद्ध र हमास र हिजबुल्लाह विरुद्ध इजरायलको आक्रमणको सन्दर्भमा डिमोनले यसले छोटो अवधिमा आर्थिक नोक्सान निम्त्याउन सक्ने बताए । सबैभन्दा महत्त्वपूर्ण कुरा- यसको प्रभाव दीर्घकालीन रूपमा गम्भीर हुनेछ । डिमोनले मुद्रास्फीतिको दर सुस्त रहेको बताए । अमेरिकी अर्थतन्त्र मन्दीबाट जोगिएको छ । तर, धेरै महत्त्वपूर्ण मुद्दाहरू बाँकी छन् । यसमा ठूलो वित्तीय घाटा, पूर्वाधार आवश्यकता, व्यापार पुनर्संरचना र विश्वको पुनर्मिलन समावेश छ । उनले विश्वव्यापी आर्थिक स्थिरताको आवश्यकतालाई जोड दिए । डिमोनले जेपी मोर्गनले नियमित रूपमा विश्वव्यापी अस्थिरता परिदृश्यहरूको मूल्याङ्कन गरिरहने बताए । डिमाेनकाे चेतावनी रे डालियोसँग मिल्दाेजुल्दाे छ । जेपी मोर्गन चेस अमेरिकाको मल्टीनेसनल फाइनान्स कम्पनी हो, जसकाे हेडक्वार्टर न्यू याेर्कमा रहेकाे छ ।  जेमी डिमोन सन् २००५ देखि यस कम्पनीकाे सीईओकाे रूपमा कार्यरत छन् । (एजेन्सीहरूको सहयाेगमा )

३ हजार १७५ गुम्बालाई मान्यता प्रदान

काठमाडौं । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले ३ हजार १७५ गुम्बालाई मान्यता दिएको छ । देशभर सार्वजनिक गुम्बा ३ हजार ७० र निजी १०५ गुम्बा दर्ता गरेको समितिले पुराना ऐतिहासिक, पुरातात्विक महत्वका आधारमा गुम्बालाई मान्यता दिएको हो । लामा धर्म गुरुको बौद्ध दर्शन सम्बन्धि अध्ययन तथा विकासका लागि कार्यक्रम सञ्चालन गर्दै आइरहेको कार्यकारी निर्देशक होमबहादुर दोङ्गले जानकारी दिए । उनका अनुसार बौद्ध गुम्बा तथा विहारहरुको संरक्षण, संवर्द्धन, तथा बौद्ध दर्शनको अध्ययन र विकास गर्न स्थापित समितिले पञ्च वर्षीय रणनीतिक योजना-२०७१ समेत तयार गरी त्यसका आधारमा भौतिक रुपले जीर्ण गुम्बाको जीर्णोद्धार गरी राष्ट्रको अमूल्य सम्पत्तिको संरक्षण गरिएको छ । समितिले बौद्ध दर्शनको संरक्षण, प्रवर्द्धन तथा नेपालमा रहेका गुम्बा, विहार, वहा, वहीलगायत बौद्ध सम्पदाको संरक्षण गर्दै तीनको व्यवस्थित सञ्चालनका लागि देशमा रहेका गुम्बा तथा बहाः बहीको दर्ता गर्दै आइरहेको छ । बौद्ध दर्शनको संरक्षण, विकास र बौद्ध धर्म संस्कृतिको संवर्द्धन गर्नका लागि स्थापना गरिएका गुम्बा तथा विहारको संरक्षण संवर्द्धन तथा बुद्धको शान्तिका सन्देशलाई मानवहितका लागि उपयोग गर्ने नीति समितिले लिएको छ । बौद्ध दर्शन, धर्म, संस्कृति, कला तथा भाषाको संंरक्षण र देशमा भएका गुम्बा, बिहार तथा लामा, भिक्षु, भिक्षुणीहरूलाई आत्म निर्भर बनाउनका लागि विभिन्न प्रकारका सीपमूलक तालिम पनि यस समितिले सञ्चालन गरेको जनाएको छ । समितिको तथ्याङ्कअनुसार भूकम्पबाट देशभरका १ हजार ३१८ गुम्बा क्षतिग्रस्त भएका छन् । जसमध्ये १ हजार १३१ गुम्बा अनुदानको व्यवस्था गरिएको थियो । भूकम्पबाट प्रभावित गुम्बा तथा बिहारको संरक्षण, जीर्णोद्वार तथा पुनः निर्माणसम्बन्धी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग समन्वयमा समितिले क्षतिग्रस्त करिब एक हजार एक सय गुम्बा तथा बिहार पुनःनिर्माण गरेको जनाएको छ । एक सय वर्ष पुगेका सम्पदा पुनःनिर्माणका लागि प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार पुरातत्व विभागले पुनःनिर्माण गर्ने प्रावधान छ । समितिको तथ्याङ््कअनुसार अनुदान पाउने गुम्बाको सूचीमा सबैभन्दा बढी सिन्धुपाल्चोकका १५४ वटा थिए । त्यस्तै, गोरखाका ७९, रामेछापका ६३, धादिङका ६८, काभ्रेपलाञ्चोकका ८१, रसुवाका ४५, मकवानपुरका ८०, नुवाकोटका ९५, दोलखाका ७५, ओखलढुङ्गाका १७, सिन्धुलीका ३९, चितवनका ३९, नवलपरासीका ९, कास्कीका ५, बाग्लुङको १, तनहुँका १४, खोटाङका १३, भोजपुरका १७, धनकुटाका ६, सोलुखुम्बुका ४९, लमजुङका १४, संखुवासभाका ११, काठमाडौंका १४, ललितपुरका ११ र भक्तपुरका २ गुम्बा÷बिहार अनुदानको सूचिमा राखिएको थियो ।

धमाधम बचत फिर्ता हुँदै, ६ हजार १५५ बचतकर्ताले पाए शतप्रतिशत रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले हालसम्म ६ हजार १५५ बचतकर्ताको शतप्रतिशत बचत फिर्ता गरिएको जनाएको छ । कात्तिक १२ गते सोमबारसम्म ४३८ मागदावी कर्ताको आंशिक भुक्तानी भएको छ । शतप्रतिशत भुक्तानी भएका र आंशिक गरी हालसम्म १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रुपैयाँ समस्याग्रस्त घोषणा भएका २२ वटा सहकारीका ऋणीबाट उठाएर भुक्तानी गरिएको आज आयोजित कार्यक्रममा जानकारी गराइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीबाट समस्यामा परेकाको समस्या समाधानका लागि कानुन संशोधनको तयारी गरिएको जानकारी दिए। ऋण नतिर्ने र एकाघरका परिवारका सदस्यको सम्पत्ति र राहदानी रोक्का गर्ने तयारी गरिएको पनि उनले बताए । मन्त्रालयले अन्य केही सहकारीलाई पनि समस्याग्रस्त घोषणा गर्ने तयारी गरेको जानकारी पनि मन्त्री अधिकारीले कार्यक्रममा गराएका थिए । अहिलेसम्म तीनवटा सहकारीका माग दावीकर्ताको रकम फिर्ता गरी राफसाफ गरिएको बताउँदै उनले चालु आर्थिक वर्षको अन्त्यसम्म अन्य ९ वटा सहकारीका मागदावीकर्ताको पनि बचत रकम राफसाफ गर्ने तयारी भएको मन्त्री अधिकारीले बताए । मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले बचत फिर्ता गर्ने र समस्या नआउने गरी कानुन संशोधनको तयारी भइरहेको बताए । समस्याग्रस्त सहकारीका समस्या समाधानका लागि समितिको कार्यालयलाई जनशक्ति र साधनस्रोतको पनि व्यवस्था गर्न लागिएको पनि उनले सुनाए । बचत पीडितसँग गरिएको समझदारी कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुहुँदै सचिव पोखरेलले अब कुनै पनि आन्दोलन जरुरी नभएको बताए । समितिका अध्यक्ष श्रीमणकुमार गौतमले समस्याग्रस्त तीन वटा सहकारीका पीडितको बचत फिर्ता गरी हिसाब राफसाफ गरेपछि बाँकी १९ वटा समस्याग्रस्त सहकारीको समस्या समाधानका लागि काम भइरहेको बताए । बाँकी १९ वटा सहकारीका ऋणीलाई यही कात्तिक १५ गतेसम्म लिएको ऋण चुक्ता गर्न सार्वजनिक सूचना प्रकाशन गरिएको उल्लेख गर्दै उनले चुक्ता नगर्ने ती सहकारीका ऋणीको एकाघरका सदस्यको सम्पत्ति, राहदानी रोक्का गर्ने तयारी भएको पनि उनले जानकारी दिए। ऋण नतिर्ने ऋणीका परिवारका सदस्यको सम्पत्ति र राहदानी तिहारपछि देखि नै रोक्का गरिने छ ।