विकासन्युज

स्वीस फ्रयाङ्कको मूल्य १५४.७४ रुपैयाँ, यस्तो अन्य देशको मुद्राको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२३ रुपैयाँ र बिक्रीदर १३४.८३ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४४.९३ रुपैयाँ र बिक्रीदर १४५.५८ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.२५ रुपैयाँ र बिक्रीदर १७५.०३ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५४.७४ रुपैयाँ र बिक्रीदर १५५.४३ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.१२ रुपैयाँ र बिक्रीदर ८८.५१ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.६६ रुपैयाँ र बिक्रीदर ९७.०९ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.३२ रुपैयाँ र बिक्रीदर १०१.७७ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७५ रुपैयाँ र बिक्रीदर ८.७९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.८१ रुपैयाँ र बिक्रीदर १८.८९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७४ रुपैयाँ र बिक्रीदर ३५.९० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.८२ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९८ रुपैयाँ र बिक्रीदर ३.९९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५५ रुपैयाँ र बिक्रीदर ३६.७१ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.७९ रुपैयाँ र बिक्रीदर ३०.८३ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६८ रुपैयाँ र बिक्रीदर ९.७२ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.५९ रुपैयाँ र बिक्रीदर १२.६४ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.४३ रुपैयाँ र बिक्रीदर १९.५२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२८ रुपैयाँ र बिक्रीदर १७.३५ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.६० रुपैयाँ र बिक्रीदर ४३९.५६ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५६.०० रुपैयाँ र बिक्रीदर ३५७.५९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

बञ्चरेडाँडामा बढ्यो फोहर, दैनिक १ हजार ६ सय मेट्रिक टन फोहर व्यवस्थापन

  फाइल फाेटाे काठमाडौं । नदीजन्य फोहर बढ्दा बञ्चरेडाँडामा व्यवस्थापन गरिने फोहरको मात्रा बढेको छ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा बाढीले ल्याएको फोहर पनि विसर्जन गर्नुपरेको हो । दैनिक लगिने फोहर निकै बढेको छ । यसअघि उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जनमा २ सय गाडी प्रयोग हुँदै आएकामा असोज १२ को वर्षापछि दैनिक ३ सय गाडी उपयोग हुँदै आएका छन् । हाल दैनिक रूपमा १ हजार ६ सय मेट्रिक टन फोहर व्यवस्थापन भइरहेको छ । साविकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहर उक्त स्थान भरिएपछि विगत दुई वर्षदेखि अन्तिम फोहर व्यवस्थापनस्थलका रुपमा बञ्चरेडाँडालाई गरिँदै आएको छ । यसरी उपत्यकामा उत्पादन भएको सबै फोहर व्यवस्थापन गर्दा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमा नै फोहर पुनःप्रयोग गर्न सकिने फोहर पनि बञ्चरेडाँडामै पुगेको छ । कुहिएर मल हुने कच्चा पदार्थ पनि त्यही लगिन्छ । उत्पादन भएकै ठाउँमा बेच्न मिल्ने सामान पनि फोहर बनाएर बञ्चरेडाँडामा नै लगिएको छ । यसलाई रोक्न सकेमात्र पनि बञ्चरेडाँडाको आयु बढाउन सकिने वातावरण प्रमुख सरिता राई बताउँछन् ।

तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु

काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन ६६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकालाई मुआब्जा दिनका लागि प्रक्रिया अघि बढाएको हो । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले ५ लाख रुपैयाँदेखि ३४ लाख रुपैयाँसम्म जग्गाको मूल्याङ्कन गरी वितरण सुरु गरिएको जानकारी दिए । तल्लो अरुण जलविद्युत् आयोजना बन्ने क्रममा ३३८ घरधुरी प्रत्यक्ष प्रभावित हुनेछन् । जसमा १६ घर पूर्णरुपमा विस्थापित हुनेछन् । आयोजना निर्माणका लागि करिब ६५.९६ हेक्टर निजी जमिन अधिग्रहण गरिनेछ । प्रभावित स्थानीयलाई करिब १ अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरण गर्ने सतलज कम्पनीले जनाएको छ । मकालु गाउँपालिकामा निर्माण भइरहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्को उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७.४ किलोमिटर सुरुङमार्गबाट पानी ल्याएर तल्लो अरुण निर्माण गर्न लागिएको एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीका उपमहाप्रबन्धक आरसी सुलेरियाले बताए । सतलजले अहिले ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । अरुण तेस्रोको निर्माण ढाँचा मै तल्लो अरुण निर्माण गर्न सतलज तयार भएको हो ।

उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली

काठमाडौं । नेपालको बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारत पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विगतका गल्ती नदोहो¥याइ फाइनल खेल जसरी भए आफ्नो पक्षमा पार्ने लक्ष्य रहेको बताए । उनले भने, ‘यसअघिका संस्करणमा पाँच पटकसम्म फाइनल खेलेर पनि हामी च्याम्पियन बन्न सकेका छैनौँ । तर यसपटक बङ्गलादेशलाई पराजित गर्दै उपाधि जित्ने गरी योजना बनाएका छौँ ।’ प्रशिक्षक तामाङले बङ्गलादेश बलियो टोली भएको टिप्पणी गर्दै आफ्नो टोलिमा घरेलु समर्थकको साथ भएकाले उपाधि जित्नेमा विश्वास व्यक्त गरे । यसअघिका छमध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चार पटक र बङ्गलादेशसँग एकपटक पराजित हुन पुग्यो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो । बङ्गलादेशमा भएको पहिलो संस्करणमा नेपाल उपविजेता बनेको थियो । तत्कालीन समयमा फाइनलमा नेपाल भारतसँग ०–१ गोलअन्तरले पराजित भएको थियो । सन् २०१२ मा श्रीलङ्कामा आयोजना भएको दोस्रो संस्करणमा पनि नेपाल फाइनलमा भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा रह्यो । सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो संस्करणमा पनि उपाधि चुम्ने नेपालको लक्ष्यमा भारत बाधक बनेको थियो । त्यतिबेला नेपाल भारतसँग ६–० गोलअन्तरले स्तब्ध भएको थियो । सोही संस्करणबाट सावित्री भण्डारी ९साम्बा० ले राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले नेपाली टोलीबाट उत्कृष्ट खेल पस्कदै नेपाली खेलप्रेमीको मन जित्न सफल भएकी छिन् । साम्बाले यसपटक साफ च्याम्पियनसिपको उपाधि जित्दै आम नेपालीलाई खुसी प्रदान गर्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइन् । बङ्गलादेश बलियो टोली भएको उल्लेख गर्दै उनले नेपालले उपाधि जित्नेमा विश्वास व्यक्त गरिन् । घरेलु दर्शकको भरपुर साथ र समर्थन हुने भएकाले पनि आफूहरुलाई फाइदा हुने उनको भनाइ थियो । उनले भनिन, ‘यसअघि पाँच पटक उपविजेतामा चित्त बुझाएका थियौँ, विगतका हारबाट धेरै कुरा सिकेका छौँ । विगतका गल्तीलाई नदोहो¥याइ उपाधि उचाल्ने सोचका साथ मैदानमा उत्रनेछौँ ।’ साम्बालाई फाइनलमा गोलको कीर्तिमान बनाउने अवसरसमेत छ । उनले सेमिफाइनलमा भारतविरुद्ध बराबरी गोल गर्दै साफ च्याम्पियनसिपमा नेपालबाट सर्वाधिक २१ गोल गर्ने नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाको कीर्तिमान बराबरी गरेकी थिइन् । युरोपका प्रतियोगितामा खेल्ने पहिलो नेपाली महिला खेलाडी समेत रहेकी साम्बा फ्रेन्च क्लब इए अभान्ट गुइग्याम्पमा खेलेर नेपाल आएकी हुन् । उनले यस संस्करणको साफ च्याम्पियनसिपमा समूह चरणको पहिलो खेल गुमाएकी थिइन् भने माल्दिभ्सविरुद्धको खेलमा बेञ्चमा बसेकी थिइन् । उनले समूह चरणको अन्तिम खेल श्रीलङ्काविरुद्ध भने खेलेकी थिएन । साम्बाले नेपालका लागि ४८ खेलमा सर्वाधिक ५५ गोल गरिसकेकी छन् । त्यसैगरी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अन्जिला तुम्बापो सुब्बाले नेपाली टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइन् । उनले भनिन्, ‘हामी गत संस्करणमा बङ्गलादेशसँग पराजित भएका थियौँ । तर यसपटक भने हामी उपाधि जित्ने गरी तयारी गरेका छौँ ।’ सन् २०२२ मा नेपालमा नै आयोजना भएको गत संस्करणको फाइनलमा नेपाल बङ्गलादेशसँग १–३ गोलअन्तरले पराजित भएको थियो । सोही संस्करणमा बङ्गलादेशले पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि उचालेको थियो । सन् २०१६ मा भारतमा भएको चौथो संस्ककरणमा नेपाल सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । त्यसैगरी सन् २०१९ मा नेपालमा नै आयोजना भएको पाँचौँ संस्करणको साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा रहेको थियो । जारी प्रतियोगितामा नेपालले भारत र बङ्गलादेशले भुटानलाई हराउँदै फाइनल यात्रा तय गरेका हुन् । साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार साँझ ६ः३० बजे दशरथ रङ्गशालामा हुनेछ । नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो । त्यसैगरी नेपालले श्रीलङ्कालाई ६–० ले पराजित गरेको गरेको थियो । बङ्गलादेशले समूहको पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ ले पराजित गरेको थियो ।

नेपालद्वारा स्कटल्याण्ड पाँच विकेटले पराजित

काठमाडौं । नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत आज सम्पन्न एकदिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो । स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै करन केसी, सोमपाल कामी, गुल्सन झाले २र२ विकेट तथा आरिफ शेखले एक विकेट लिए । स्कटल्याण्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् । स्कटल्याण्डले प्रस्तुत गरेको उक्त लक्ष्य नेपालले २९.५ ओभरमा पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए । साथै कुशल भुर्तेल र गुल्शन झाले २५/२५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए । स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट लिए । साथै ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १/१ विकेट लिए । लिग-२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।

आज धन्वन्तरी जयन्ती मनाइँदै, आयुर्वेद चिकित्सकका लागि शुभकार्य प्रारम्भ गर्ने दिन

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो । बिहान त्रयोदशी तिथि परेका दिन धनवन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू धर्मशास्त्रका ग्रन्थमा गरिएको आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेलले दिए । आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रुपमा सञ्चालनमा थियो । विसं २०२९ देखि भने त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत आङ्गिक क्याम्पसका रुपमा सञ्चालनमा रहेको छ । आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ । धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवसका अवसरमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ । आयुर्वेद क्षेत्रका व्यक्तिहरुको पहलमा विसं २०५६ देखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्यता दिवसका रुपमा पनि मनाउन थालिएको हो । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । धन्वन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकु, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी मनाइँदै छ ।

कोशी, बागमती, गण्डकीमा वर्षा, अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज काग तिहार मनाइँदै, दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश पुर्याउने

काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो-मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो-मीठो खान दिई खुसी पार्ने चलन छ । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका-१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ । दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम पनि आज बुधबार साँझदेखि नै सुरु गरिँदैछ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता रहेको पनि उहाँले बताए । यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक मङ्गलबार बेलुकीदेखि नै सुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि मङ्गलबार नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ । यस दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी नामले पनि चिनिन्छ ।