विकासन्युज

जुवाको खालबाट नगद ९ लाखसहित १५ जना पक्राउ

धरान । बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरमा जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले नौ लाख ६८ हजार रुपैयाँ नगदसहित १५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलयका प्रमुख सुमनकुमार तिमिल्सिनाका अनुसार जुवाको खालबाट १२ थान मोबाइल पनि बरामद गरिएको छ । अभियुक्तहरूलाई महेन्द्रनस्थित इलाका प्रहरी कार्यलयमा राखेर अनुसन्धान थालिएको छ । निजहरूबाट केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को वर्खिलाप कसूर भएकाले सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ ।

उपप्रधानमन्त्री सिंह इजिप्ट प्रस्थान, वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुने

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह आइतबार वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन इजिप्टको कायरो प्रस्थान गरेका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान ८ः०० बजे इजिप्टको कायरो प्रस्थान गरेका हुन् । उपप्रधानमन्त्री सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा बिदाइ गरेका थिए । विश्वका एक सय ५० भन्दा बढी देशको सहभागिता रहने कार्यक्रममा सहभागी हुने सिंह उच्च पदाधिकारी हुन् । अन्य देशबाट सहरी विकाससँग सम्बन्धित मन्त्रीहरू सहभागी हुनेछन् भने नेपालबाट उपप्रधानमन्त्रीसमेत रहेका सिंहको उपस्थिति रहने मन्त्रालयले जनाएको छ । सहरी विकासका बारे विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले तीनवटा सत्रलाई सम्बोधन गर्नेछन् । सो क्रममा उनले नेपालले बस्ती विकासका क्रममा भोगेका समस्या, जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या र बस्ती विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराउने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ । नेपालमा जलवायु परिवर्तनको असर धेरै देखिएकाले भविष्यमा जलवायु परिवर्तनले पनि असर नगर्नेगरी कसरी सहरीकरण र बस्ती विकास गर्न सकिन्छ भन्ने विषयलाई उपप्रधानमन्त्री सिंहले प्रमुख एजेन्डा बनाउनेछन् । त्यस्तै, सहरीकरणका लागि चुनौती बनिरहेको खानेपानी, सरसफाइ र सहरी पूर्वाधारको व्यवस्थापनको विषयलाई पनि नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । यही नोभेम्बर ४ देखि ८ तारिखसम्म कायरोमा वर्ल्ड अर्बान फोरमको कार्यक्रम हुँदैछ । वर्ल्ड अर्बान फोरम सहरी विकासको क्षेत्रमा महत्त्वपूर्ण मानिन्छ । उपप्रधानमन्त्री सिंहसँगै पत्नी सिर्जना सिंह, सहरी विकास मन्त्रालयका अधिकारीहरू पनि कायरो प्रस्थान गरेका छन् । उनी कार्यक्रममा सहभागी भएर शनिबार बिहान स्वदेश फर्किनेछन् ।

रिलायबल नेपाल लाइफको डीसीईओमा तिवारी चयन

काठमाडाैं । रिलायबल नेपाल लाइफको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपेशबाबु तिवारी चयन भएका छन् । कम्पनीको वरिष्ठ सहायक महाप्रबन्धक रहेका तिवारीलाई सञ्चालक समितिले डीसीईओमा चयन गरेको हो । कार्तिक एक गतेदेखि कम्पनी सचिवको जिम्मेवारीसमेत पाएका तिवारीसँग बैंकिङ र बीमा क्षेत्रको करिब दुई दशकको अनुभव रहेको छ । एमबीए र अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका तिवारी व्यवस्थापनमा अब्बल मानिन्छन् । उनले फाइनान्स कम्पनीबाट आफ्नो करिअर सुरुआवत गरेका थिए । पछि उनी बीमा क्षेत्रमा प्रवेश गरेका हुन् ।

थाई एसियाको भैरहवा–बैङ्कक उडान सुरु, कार्तिक २३ देखि सातामा दुईपटक नियमित उडान हुने

भैरहवा (रुपन्देही) । थाई एसिया एयरलाइन्स बैङ्कक–भैरहवा–बैङ्कक उडान आइतबारदेखि सुरु गरेको छ । आज बिहान ६ः५५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । ‘सुरुमा परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई एसियाको एयरबस ए–३२० गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गरेको हो,’ विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले भने, ‘अब २३ कात्तिकदेखि सातामा दुईपटक नियमित उडानको तालिका रहेको छ ।’ थाई एसियाको विमान भैरहवामा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीले स्वागत गरेका थिए । थाई एयर एसियाको केही दिनअघि मात्र भैरहवा र पुनःउडान काठमाडाैंमा सुरु गर्न अनुमति पाएलगत्तै उडान सुरु भएकाले टिकट बिक्रीलगायत बजार प्रवर्द्धनको काम भएको थिएन। भैरहवाबाट बैङ्ककतर्फ एकतर्फी सुरुआती भाडादर रु १२ हजार रहेको जनाइएको छ । एयर एसियाको यो विमान बिहान ७ः४० बजे बैङ्कक प्रस्थान गरिसकेको छ ।

घरमै बनाउन सकिने स्वस्थकर मिठाई

काठमाडौं । तिहारलाई सेलरोटी र मिठाईको पर्व पनि भनिन्छ । यो बेला अघिपछिको भन्दा मिठाई बढी खाने गरिन्छ । सेलरोटी, फिनीलगायतका थरिथरिका खानेकुरा घरमै बनाइन्छ भने मिठाई भने अधिकांशले बजारमा किनेर खाने गर्छन् । दीपावलीको अवसरमा धेरै मिठाईहरू खाइन्छ र बाँडिन्छ, तर यो चाडमा खाइने मिठाईहरू धेरै अस्वस्थ हुन्छन् भन्ने कुरामा तपाईं सचेत हुनुपर्छ। र यसकारण पेट बिग्रने खतरा पनि धेरै बढ्छ । तर केही मिठाईहरू घरमै स्वस्थकर तरिकाले बनाउन सकिन्छ, घरमै बनाइएकाले स्वादिलो मात्र होइन, स्वस्थकर पनि हुन्छ । आउनूहोस् आज हामी तपाईलाई केही स्वस्थ मिठाईहरूको बारेमा बताउन जाँदैछौं, जुन तपाईंले घरमा बनाउन सक्नुहुन्छ र यी मिठाईहरूले तपाईंको स्वास्थ्यलाई हानी गर्दैनन् । नरिवलको लड्डु दीपावलीको अवसरमा बाहिरबाट आउने अस्वस्थ्यकर मिठाईको सट्टा घरमै बनाइएको स्वादिष्ट र स्वस्थकर मिठाईहरू खुवाउन चाहनुहुन्छ भने नरिवलको लड्डू तपाईंको लागि धेरै राम्रो विकल्प हुन सक्छ । पहिला नरिवललाई ग्राइन्डरको सहयोगले पिसेर धुलो बनाउनूहाेस् । त्यसपछि धुलाेमा दूध, घ्यू र चिनी हालेर प्यानमा राम्राेसँग पकाउनूहाेस्  र कडा भएपछि लड्डू बनाउन सकिन्छ । बेसन बर्फी यदि तपाईं मिठाईको स्वस्थ विकल्प खोज्दै हुनुहुन्छ भने चनाको बर्फी तपाईंको लागि धेरै राम्रो विकल्प हुन सक्छ । चनाको बर्फीलाई शुद्ध घ्यू र कम चिनीकाे मद्दतले बनाइन्छ भने यो धेरै स्वस्थ विकल्प हुन सक्छ । दीपावलीको अवसरमा बाहिरबाट महँगो मिठाई ल्याउनुको सट्टा घरमै यी स्वादिष्ट परिकार बनाउन सक्नुहुन्छ । सुजी बर्फी स्वस्थ र स्वादिष्ट मिठाई विकल्पमा सुजीकाे बर्फी पनि समावेश छ र तपाईं यसलाई उपभोग गर्न सक्नुहुन्छ । सूजी बर्फी बनाउन पनि एकदमै सजिलो छ । यदि यसलाई शुद्ध घ्यू र कम मिठाईले बनाउनुभयो भने यसको स्वाद झनै बढ्छ र यो स्वास्थ्यको लागि पनि राम्रो विकल्प बन्न सक्छ । लाैकाको बर्फी तपाईंलाई लौकाको तरकारी मन नपर्ला होला तर तपाईं लौकाबाट बनेको बर्फी एकदमै मन पराउनुहुनेछ । याे स्वास्थ्यको लागि पनि निकै फाइदाजनक हुनेछ ।  दूधको खुवा, उमालेको लौका, अलिकति शुद्ध घ्यू र कम चिनीले बनाइएको लौकीको बर्फी स्वस्थकर मात्र होइन, स्वादिलो पनि हुन्छ ।

धेरैलाई स्टार बनाएको टिकटकका मालिक बने चीनको सबैभन्दा धनी व्यक्ति

काठमाडौं । चीनको सोशल मिडिया प्लेटफर्म टिकटकका मालिक चीनको सबैभन्दा धनी व्यक्ति बनेका छन् । विश्वभर धेरै मानिसलाई स्टार बनाएकाे टिकटकलाई कुनै समय नेपालमा बन्देज लगाइएकाे थियाे, यद्यपि अहिले उक्त बन्देज खुला गरिएकाे छ । टिकटक र यसको मूल कम्पनी बाइटडान्स भने भारतमा प्रतिबन्ध छ । हुरुन चाइना रिच लिस्टअनुसार बाइटडान्सका संस्थापक झाङ यिमिङ चीनको सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनको सम्पत्ति एक वर्षमा ४३ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै उनको कुल सम्पत्ति ४९.३ अर्ब डलर पुगेको छ । झाङले सन् २०२१ मा बाइटडान्सको प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएका थिए। गत वर्ष कमायो ११० बिलियन डलर बाइटडान्सको गत वर्ष रेभिन्यू ११० बिलियन डलर थियो, जुन एक रेकर्ड हो । यद्यपि यस अवधिमा कम्पनीले धेरै पटक अमेरिकी कानुनी चुनौतीहरूको सामना गर्नुपरेको थियो । बाइटडान्सले हुरुनको सूचीमा चीनको सबैभन्दा मूल्यवान ५०० कम्पनीहरूको शीर्ष ५ मा स्थान बनाएको छ । हुरुन ग्लोबल युनिकर्न इन्डेक्स २०२४ मा यो संसारको सबैभन्दा मूल्यवान युनिकर्न थियो । शानशान र ज्याक माको सम्पत्ति घट्यो यिमिङले झोङ शानशानलाई पछि पार्दै हुरुनको सूचीमा पहिलो स्थान हासिल गरेका हुन् । शानशानको सम्पत्ति २४ प्रतिशतले घटेर ४७.९ बिलियन डलर पुगेको छ । एक समय चीनका सबैभन्दा धनी व्यक्ति ६० वर्षीय ज्याक मा युनको सम्पत्ति गत वर्षको तुलनामा ३ प्रतिशतले घटेको छ । यो गिरावटसँगै ज्याक मा चीनको १० औं धनी व्यक्ति बनेका छन् । टिकटकको क्रेज टिकटक नेपाल र भारतमा मात्र नभइ विश्वरभर चर्चित छ । तर, सन् २०२० मा भारत–चीन सीमामा भएको झडपपछि भारतीय सरकारले टिकटकलगायत ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । भारतमा यसलाई प्रतिबन्ध लगाउँदा विश्वभर डेढ अर्बभन्दा बढी पटक डाउनलोड भइसकेको थियो । यी डाउनलोडहरूमध्ये एक तिहाइ भारतीयहरूले नै गरेका थिए । अहिले विश्वका धेरै देशले यसलाई प्रतिबन्ध लगाएका छन् । यद्यपि यो एप अझै पनि धेरै देशहरूमा प्रयोग गरिन्छ । एजेन्सीहरूकाे सहयाेगमा

तिहारको बिदामा पनि रोकिएन आयोजनाको निर्माण

काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारका समयमा पनि तनहुँ जलविद्युत् आयोजनाले निर्माणलाई निरन्तरता दिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाले निर्माणलाई तिहारमा पनि निरन्तरता दिएको हो । आयोजना निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले आज पनि कामलाई निरन्तरता दिइएको आयोजना कार्यालयले जनाएको छ । दिउँसो र राति गरी दुई ‘सिफ्ट’मा निर्माण भइरहेको छ । चरण-१ मा बाँध निर्माणका लागि जग हाल्ने कार्य धमाधम भइरहेको छ भने चरण-२ मा मुख्य सुरुङको ‘क्रङ्क्रिट लाइनिङ’ र विद्युत गृहको काम भइरहेको आयोजनाका सञ्चारविज्ञ सचिन गौतमले जानकारी दिए । उनका अनुसार दुई चरणमा २ सय जना जनशक्ति परिचालन गरी काम भइरहेको छ । यसअघि दसैँमा आयोजनाको काम निरन्तर गरिएको थियो । सिफ्टमा आलोपालो मिलाएर तिहारलगत्तै काममा फर्किने गरी केही नेपाली कामदारलाई तिहार मनाउन बिदा दिइएको बताउँदै अधिकांश कामदारले भने काम गरिरहेका आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । ‘आयोजनाको तीन चरणमध्ये अहिले दुईवटा चरणमा निरन्तर काम सञ्चालन भइरहेको छ, निर्धारित समयमा निर्माण सम्पन्न गर्न चाडपर्वमा पनि काम रोकेका छैनौँ,’ उनले भने । चरण-१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम-कालिका कन्सट्रक्सन प्रालिले गरिरहेको छ । चरण–२ अन्तर्गत पावरहाउसतर्फको काम तीव्र रूपमा भइरहेको प्रमुख भण्डारीले बताए । उनका अनुसार सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत काम भइरहेका छन् । चरण-२ को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ । भूमिगत विद्युत गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ स्वीजयार्ड निर्माण, पेनस्टक तथा विद्युत गृहमा रहने उपकरण जडानलगायत कार्य भइरहेका छन् । आयोजनाको समग्र मूल्याङ्कन गर्दा हालसम्म ६२ प्रतिशत काम पूरा भएको भण्डारीले जानकारी दिए । पुँजी संरचना तथा वित्तीय व्यवस्थापनका लागि प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत गरी ५० करोड ५० लाख अमेरिकी डलर रहेको आयोजना कार्यालयले जनाएको छ । एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख रुपैयाँ र नेपाल सरकार-नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोेर्नेगरी वित्तीय व्यवस्थापन गरिएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।

बाढी पहिरो गएको एक महिनापछि पीडितको तथ्याङ्क सङ्कलन गर्दै स्थानीय तह

काभ्रेपलाञ्चोक । बाढीपहिराले जनधनको ठूलो क्षति पुर्‍याएपछि स्थानीय तहलाई खोज, उद्धार तथा राहत व्यवस्थापन गर्न एक महिना लागेको छ । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकको विभिन्न स्थानीय तहमा जनधनमा क्षति पुर्‍याउँदा कतिपय घरबारविहीन बनेका छन् । बाढीपहिरोबाट जिल्लामा ७९ जनाको मृत्यु भएको थियो । बढी क्षति पुगेका जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित पनौती नगरपालिका तथा बेथानचोक र रोशी गाउँपालिकामा खोज, उद्धार तथा राहत व्यवस्थापनपछि पुनर्बास एवं आवास निर्माणका लागि एकीन तथ्याङ्क सङ्कलन कार्यमा स्थानीय तह लागेका छन् । यी स्थानीय तह जिल्लाका १३ स्थानीय तहमध्ये अतिप्रभावित क्षेत्रमा पर्दछन् । कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत्का क्षेत्रमा क्षति पुर्‍याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य छन् । घटनाको एक महिना बितिसक्दा पनि जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध क्षतिबारे पूर्ण विवरण सङ्कलन हुनसकेको थिएन । स्थानीय तहले पनि यस समयमा आफ्नो क्षेत्रमा भएका क्षतिको पूर्ण विवरण सार्वजनिक गर्न सकिरहेका छैनन् । बाढीपहिरोबाट प्रभावित भएका जिल्लाका स्थानीय तहहरू प्रभावित परिवारलाई राहत, घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि सरकारले उपलब्ध गराउने राहत रकम वितरण तथा प्रभावित परिवारहरूको तथ्याङ्क सङ्कलनमा लागेका हुन् । जिल्लाको बनेपा र धुलिखेल नगरबाहेक ११ स्थानीय तहलाई सङ्घीय सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले खोज, उद्धारको काम सकिएसँगै प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा वितरण तथा बाढीपहिरोबाट पूर्ण रूपमा घर क्षति भई समस्यामा परेका ११० परिवारमध्ये पाँच जनासम्मको परिवारका लागि १५ हजार रुपैयाँ र ५ भन्दा बढी सदस्य भएका परिवारलाई २० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराइएको जानकारी दिए । उनका अनुसार बाढीपहिरोमा परी मृत्यु भएका १२ जनाको परिवारलाई सरकारले उपलब्ध गराएको २ लाख रुपैयाँ तथा गाउँपालिकाले किरिया खर्चबापत ५० हजार रुपैयाँ थप गरी नगद राहत हस्तान्तरण गर्ने कामसमेत हालै सम्पन्न गरिएको छ । बाढीपहिरोबाट घरपूर्ण क्षति भएका परिवालाई सरकारबाट दिने राहत रकम वितरणका लागि तथ्याङ्क सङ्कलन कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष लामाले बताए । उनका अनुसार प्रारम्भिक तथ्याङ्कअनुसार बाढीपहिरोबाट गाउँपालिकाभित्र रहेका करिब ३५० घर पूर्ण रूपमा क्षति भएको पाइएको छ । बाढीपहिरोबाट अतिप्रभावित पनौती नगरमा खोज, उद्धारसँगै सबै वडा जोड्ने सडकको ट्रयाक खोलिएको छभने क्षतिग्रस्त खानेपानी आयोजनाको दीर्घकालीन समाधानका लागि योजनाको लागत अनुमान गर्नेकार्य अघि बढाइएको छ । पनौतीका नगरप्रमुख रामशरण भण्डारीले तिहारपछि क्षतिग्रस्त विद्यालयमा कक्षा सञ्चालन गर्न अस्थायी सिकाइ केन्द्र (टिएलसी) निर्माण, सिँचाइका योजनाको मर्मत, क्षति भएका स्वास्थ्य संस्थालाई नियमित सञ्चालनका लागि काम सुरु गरिने जानकारी दिए । उनका अनुसार पूर्णक्षति भएका पाँच सय परिवारलाई तीन चरणमा राहत वितरण गरिएको छ । बाढीपहिरोपछि आफन्तको घरमा बसेर पछि सम्पर्कमा आएका २५० परिवारलाई पहिलो चरणको राहतसमेत वितरण सकिएको उनले बताए । पनौतीमा १८ जनाको बाढीपहिरोबाट मृत्यु भएको नगरप्रमुख भण्डारीले जानकारी दिए । बाढीपहिरोबाट घर पूर्णक्षति भएका करिब एक सय परिवारलाई नबिल बैंकले अस्थायी घर बनाइदिने विषयमा छलफल भइएको उनले बताए । ‘जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने विषयमा भौगोलिक अध्ययन गरिने योजना बनाएका छौँ । बस्ती नै स्थानान्तरण गर्नुपरेको खण्डमा उपयुक्त स्थानमा व्यवस्थापन गर्न सरकारका सम्बन्धित निकायसँग समन्वय गर्नेछौँ,’ नगरप्रमुख भण्डारीले भने । उनले बाढीपहिरोबाट पूर्णक्षति भएका घरको विवरण सङ्कलन गर्ने काम भइरहेको भन्दै करिब सात घर पूर्ण रूपमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । बाढिपहिरोमा परी १२ जनाको मृत्यु भएको बेथानचोक गाउँपालिकामा हाल पीडितपरिवारलाई राहतसँगै अवरुद्ध सडक खोलिएको छभने बिजुली, इन्टरनेट सेवा, टेलिफोन सेवा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए । बाढीपहिरोबाट घरजमिनसमेत बगेका परिवारको तथ्याङ्क सङ्कलन कार्य भइरहेको उनले जानकारी दिए । अध्यक्ष अधिकारीले भने, ‘पीडितको पुनर्बासका लागि सरकारलाई सिफारिस गर्न यकिन तथ्याङ्क सङ्कलन गरिरहेका छौँ । उनले बेथानचोकमा पनि आवास निर्माणका लागि विभिन्न सङ्घसंस्थासँग छलफल अघि बढाइएको बताए । उनका अनुसार घर पूर्ण रूपमा क्षति भएका परिवारलाई तत्कालका लागि सरकारबाट प्रदान गरिने राहत रकम व्यक्तिको खातामा उपलब्ध गराउने काम अघि बढाइएको छ । बेथानचोकमा चार हजार चार सय प्रभावित परिवारमध्ये ५५० घर पूर्णक्षति भएको प्रारम्भिक तथ्याङ्कबाट पाइएको उनले उल्लेख गरे । यस्तै नमोबुद्धका नगरप्रमुख कुन्साङ लामाले पनि बाढीपहिरोबाट प्रभावित तथा पूर्ण क्षति भएका परिवारको तथ्याङ्क सङ्कलन तथा अद्यावधिक गर्ने काम भइरहेको बताए । यकिन तथ्याङ्क सार्वजनिक गरी सरकारको राहत रकम प्रदान गरिने उनले उल्लेख गरे । काभ्रेपलाञ्चोकमा बाढीपहिरोबाट ७८ जनाको निधन भएको थियो भने ६ जना अझै बेपत्ता छन् । उक्त बाढीपहिरोबाट ७९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । जिल्लामा हालसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार निजी आवासतर्फ करिब ४ हजार पूर्ण क्षति भएका छन् भने ७ हजार आंशिक क्षति पुगेको अनुमान गरिएको छ । तीन दर्जन सरकारी भवन तथा सोही सङ्ख्यामा सार्वजनिक भवन पूर्ण रूपमा क्षति भएका छन् ।