भूमिहीन शिविरमा छैन तिहारको रौनक
कञ्चनपुर । तिहार आए पनि शुक्लाफाँटा नगरपालिका– ११ वनहराको भूमिहीन शिविरमा कुनै रौनक छैन । मजदुरी गरेर जीविका चलाउने शिविरका बासिन्दालाई साँझ बिहानको छाक टार्नै समस्या छ । ‘त्रिपालको झुपडीमा दुई दशकदेखि जसरी दिन बित्दै आएका छन्, त्यसरी नै तिहारमा पनि दुई छाक खानका लागि सङ्घर्ष गर्नुपरेको छ,’ शिविरका दलबहादुर बोहराले भने, ‘दसैँ तिहार जे आए पनि कष्ट उस्तै छ ।’ टीका लगाउन आएका दिदीबहिनीलाई मीठो मसिनो खानेकुरा दिने नभएकाले दक्षिणा दिन साहुसँग काम गरिदिने वाचा गरी पेश्की पैसा लिएको उनले बताए । ‘साहुले काम नगरी कसरी पैसा दिने भनेर नाइनास्ती गरेका थिए । अनुनय विनय गर्दा रु छ सय मागेर ल्याएँ,’ उनले भने । ७ वर्ष पहिले दातृ निकायले दिएका त्रिपाल ठाउँठाउँमा च्यातिँदा वर्षात्को पानी त चुहिन्छ नै । हिउँदमा शीतका थोपा झुपडी भित्रै खस्छ । ‘मजदुरी नगरे चुल्होमा आगो बल्दैन, मजदुरी पाउन कठिन छ, पाए पनि थोरै ज्यालामा काम गर्नुपर्छ, अरुसँग मागेर ल्याएका लुगाफाटो लगाएर चाडपर्व मनाउनु परेको छ,’ अमृता साउदले भनिन् । ६ महिनाअघि कमाउन भारततर्फ गएका शिविरका केशव ताम्राकार घर फर्किएका छन् । ‘चार महिना काम पाइयो, बाँकीका दुई महिना काम खोज्नमै बित्यो, चार महिना कमाएको पैसा जहानसँगै हुँदा खान र लुगाफाटोमै सिद्धियो । अहिले रित्तो फर्किएका छौँ,’ उनले भने । तिहारका बेला शिविर नजिकैका बस्तीहरु बत्तीले झकिझकाउ छन् । ‘दिउँसो त उज्यालो हुन्छ, रातमा उज्यालो बाल्ने नहुँदा अध्याँरोमै रात काटनुपर्छ,’ शिविरका दीपेन्द्र सोवले भने । शिविरका देवकी विष्टलाई छोराले भारतबाट ल्याईदिएको मोबाइल चार्ज गर्न समस्या छ । एकपटक चार्ज गरेबापत छिमेकी गाउँको पसलमा १० रुपैयाँ बुझाउनुपर्छ । सौर्य ऊर्जा खरिद गर्ने चाहना भए पनि आर्थिक अभावले सम्भव छैन । दाताले उपलब्ध गराइदिए सहज हुने आशामा उनीहरु छन् । शिविरमा दातृ निकायले गाडेका नल्का छन् । नल्काबाट आर्सेनिक र आइरन आउने भएकाले शिविरका धेरै जना पत्थरी र छालासम्बन्धी रोगबाट पीडित छन् । शुद्ध पिउने पानी व्यवस्था नहँदा उनीहरु समस्यामा छन् । सामुदायिक वन छेउकै शिविर भएकाले हात्तीले उत्तिकै दुःख दिने गरेको छ । झुपडीमा मजदुरी गरेर जोहो गरेको अन्न हात्तीले खाइदिने भएकाले कैयौँ दिन भोकै बस्नु परेको कलावती दमाईले सुनाइन् । शुक्लाफाँटा नगरपालिकाकै बासिन्दा भए पनि पीडा सुनिदिने जनप्रतिनिधि नपाएको उनी बताउँछिन् । ‘यसअघिका जनप्रतिनिधिले शिविरमै आएर हालखबर बुझ्थे, सहयोग गर्थे,’ प्रेमबहादुर साउदले भने, ‘अहिले कोही जनप्रतिनिधि शिविरमा आउनुभएको छैन, कुनै सहायता पाएका छैनौँ ।’ सुरक्षित स्थानमा शिविर सार्नुपर्ने उनीहरुको माग छ । ‘सुरक्षित आवाससँगै रोजगारीको माग उठाउँदै आएका हौँ,’ राधिका सोवले भनिन्, ‘सुकुम्बासीको फाराम पनि भरेका छौँ, हालसम्म पुनःस्थापनले गति नलिँदा कष्टकर जीवन बिताउन बाध्य छौँ ।’ सामुदायिक विद्यालयमा बालबालिका पढाउँदा शुःल्क तिर्नुपर्ने हुँदा कक्षा ६/७ सम्म पढाएर बीचमै विद्यालय छुटाइ मजदुरीमा लैजानुपर्ने बाध्यता शिविरका बासिन्दाको छ । पहिरोले घरखेत लगेपछि सुरक्षित बासस्थानको खोजीमा केही त्यस क्षेत्रमा पुगेका हुन् भने केही पुस्तौँदेखि अर्काको घरमा काम गर्नेहरुलाई विसं २०६२मा शिविरमा सारिएको हो । शिविरमा पहिले १२ परिवारको बसोबास रहेकामा हाल वृद्धि भई २८ परिवार पुगेका छन् ।
सुनसान छन् तिहारमा गाउँघर
सोलुखुम्बु । ‘पहिलेपहिले काग तिहारदेखि गाउँका ठिटाठिटी जम्मा हुन्थे । ५/६ दिनसम्म नाचगान र देउसी खेल्ने चलन हुन्थ्यो,’ सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका ९९ वर्षीय टकबहादुर नेपालीले पुराना दिन सम्झिए, ‘तिहार लागेपछि गाउँको रौनक अर्कै हुन्थ्यो । अहिले त गाउँघरमा बुढापाकाभन्दा कोही छैनन्, गाउँ नै शून्य छ देउसी र भैलो नै सुनिँदैन ।’ उनलाई यस वर्ष तिहार लागे जस्तै लागेन । अधिकांश युवा वैदेशिक रोजगारमा छन् । भएका युवा पनि कर्मथलोबाट गाउँ फर्किएनन् । जसले गर्दा तिहारमा गाउँघर सुनसान बनेको नेचासल्यानका राजीव शर्माले बताए । ‘गाउँघरमा पाका पुस्ताहरु मात्र बाँकी छन् युवा धेरै विदेशमा छन् । काठमाडौं गएकाहरु पनि फर्किएनन् । त्यसैले तिहारमा गाउँघर रमाइलो छैन्,’ उनले भने । युवा गाउँमा रित्तिएसँगै बुढापाका, बालबच्चा र असक्त मात्रै बाँकी रहेको स्थानीय बताउँछन् । सोताङका शिक्षक रामबहादुर बस्नेतका अनुसार गाउँघरदेखि जिल्लाका बजारमा देउसीभैलो खेल्ने खासै देखिएका छैनन् । केटाकेटीहरु छिटफुट देउसी खेल्न हिँडेको उनले बताए । विगतमा टोलैपिच्छे विभिन्न समुह तथा क्लबले दिउसी खेल्ने चलन भए पनि यस वर्ष देउसी खेल्ने मान्छे नभएपछि धेरै गाउँहरुमा सामूहिक देउसी खेल्नेक्रम बढेको छ । गाउँघरमा रमाइलो गर्ने मान्छे कम भएपछि गाउँका सबै एकै ठाउँमा जम्मा भएर ‘साउण्ड सिस्टम’बाट गीत बजाएर देउसी खेलेको मुक्लीका स्थानीय गणेश विकले बताए । यस वर्षको तिहारमा सदरमुकाम सल्लेरी बजारमा विगतमा झैँ चाडपर्वको रौनक देखिएन । सल्लेरी बजार सुनसान छ भने व्यवसायीमा व्यापार नभएको गुनासो छ । अघिल्लो वर्षसम्म तिहार आसपासमा दैनिक ९० हजार रुपैयाँसम्मको व्यापार हुने गरेकामा यस वर्ष मुस्किलले १० हजार रुपैउाँको व्यापार भएको सल्लेरीका व्यापारी निरकुमार नेपालीको भनाइ छ । ‘आर्थिक सङ्कटले मुलुक ग्रस्त बनिसकेछ, पहिला जस्तो किनमेल गर्ने मानिस नै छैनन् । सल्लेरीमा मैले पसल गरेको ५/६ वर्ष भयो । तर, यस वर्षको जस्तो तिहार कहिल्यै भएको थिएन, तिहारका लागि आवश्यक मसलादेखि फलफूलसमेत बिक्रीका लागि ल्याइयो तर किन्ने मान्छे नै आएनन्,’ उनले भने । किराना होस वा अन्य पसलमा ग्राहकहरुको उपस्थिति थोरै छ । व्यवसायीमा निराशा छाएको देखिन्छ । ‘कोरोना कहरको समयमा योभन्दा राम्रो व्यापार भएको थियो, तर अहिले त्योभन्दा खस्कियो, खै किन हो सर्वसाधारणमा चाडवाडको उमङ्ग देखिँदैन,’ बासाका स्थानीय व्यापारी उजीर कार्कीले भने । विगतमा सुरक्षाका कारण राति ९ बजेपछि देउसीभैलो खेल्न प्रशासनले प्रतिबन्ध लगाउने गरेको थियो । तर पनि रातभर देउसीभैलो खेल्नेको कमी नहुने सल्लेरीका स्थानीय बाबुराम श्रेष्ठले स्मरण गरे । यस वर्ष २४सै घण्टा देउसीभैलो खेल्ने व्यवस्था प्रशासनले मिलाएको छ । तर देउसीभैलो खेल्नेहरु भेटिँदैनन् । रातभर गुञ्जिने देउसे गीत साँझ ७ नबज्दै बन्द हुने गरेको स्थानीयको भनाइ छ । पहिलेपहिले रोजगार, अध्ययन तथा काम विशेषले जिल्ला बाहिर जानेहरु तिहारअघि गाउँ फर्किन्थे । यस वर्ष चाडपर्वमा गाउँ फर्कनेको सङ्ख्या खासै नदेखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । चाडपर्वमा यात्रु नठगिउन् भनेर ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गरेर समन्वय गरेको छ । यद्यपि जिल्ला भित्रिनेको सङ्ख्या न्यून हुँदा कतिपय गाडीहरु खाली आउने गरेको दूधकुण्ड ज्वालामाइ यातयात समितिका सदस्य जीवन थापाले बताए । ‘अघिल्लो वर्ष काठमाडौँबाट सोलु आउने टिकट नपाएर हामीले रातारात राति नै गाडी काठमाडौँ फर्काउनु परेको थियो । यसपाली त्यस्तो छैन् । जिल्ला आउने यात्रु नहुँदा गाडी काठमाडौँ मै थन्किएर बसेका छन्,’ उनले भने । लोप हुँदै मौलिकता तिहार भन्नेबित्तिकै देउसीभैलोको याद आइहाल्छ । तर, पछिल्लो समय तिहारमा फाट्टफुट्ट खेलिने देउसीभैलोमा मौलिकता लोप हुँदै गएको छ । खोटाङको ऐंसेलुखर्क गाउँपालिका-६ ज्यामिरेकी मिना रसाइलीलाई आफू सानो छँदा खेलेको देउसीभैलोको याद खुब आउँछ । तर पछिल्ला वर्षहरुमा देउसीभैलो खेल्दा त्यो मौलिकता नभेटिएको उनले बताए । हरेक चाडपर्वको आफ्नै महत्व र विशेषता छ । तिहारको रमाइलो पक्ष झिलिमिली र देउसीभैलो हो । तर पछिल्लो समय देउसीभैलो खेल्ने शैली परिवर्तन भएको छ । आधुनिक प्रविधिले नेपाली मौलिक संस्कार ओझेलमा पारेको सिद्धिचरण नगरपालिका-७ ओखलढुङ्गाका राकेश श्रेष्ठ बताउँछन् । देउसीभैलो खेलिने प्रसङ्गमा बलिराजाको कथा जोडिएर आउँछ । ती कथनहरु तिहारको समयमा देउसीभैलोमा प्रकट गर्ने पुरानो संस्कार भएको बुढापाका बताउँछन् । तर आधुनिकताको प्रभाव बढ्दा देउसीभैलोको मौलिकता लोप हुन थालेको नेचासल्यानकी हरिमाया कटेलको बताउँछन् । ‘एक त गाउँघरमा युवा छैनन्, भएकाहरु पनि क्यासेट बजार नाच्छन् गाउँछन् मुखले भट्टाएर, मादल बजाएर देउसी खेल्ने चलन हरायो,’ कट्टेलले भने । मौलिक देउसीभैलोको सट्टा रेकर्ड गरिएका गीतमा नृत्य प्रस्तुत गर्दा देउसीभैलोको मौलिकता ओझेलमा परेको छ । हिन्दी, अङ्ग्रेजी तथा भड्किलो शैलीका गीतमा प्रस्तुत गरिने नृत्यलाई देउसीभैलो मान्ने जमात बढ्दो छ ।
तस्बिरमा भीआईपीहरूको भाइटीका (फोटोफिचर)
काठमाडौं । तिहारको अन्तिम दिन आइतबार देशका भीआईपीहरूले पनि भाइटीका लगाएका छन्। दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै परम्पराअनुसार सप्तरंगी वा पञ्चरंगी टीका लगाएर भाइटीका मनाउने गरिन्छ। यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ । नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको थियो । यद्यपि समितिले दिनभर नै टीका लगाउन सकिने पनि जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेललाई उनीहरूले राष्ट्रपति भवनमा टीका लगाइदिएका हुन् । उनीहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर,बदामसहितका सौगात प्रदान गर्नुभयो भने राष्ट्रपतिले पनि बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा दिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् ।प्रधानमन्त्री ओलीले आज वालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ । यस्तै, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बहिनी सुशीला खड्काबाट भाइटीका लगाएका छन् । सभापति देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा टीका लगाएको उनको स्वकीय सचिवालयले जनाएको छ । यस्तै, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शुभ साइतमा बहिनीहरुबाट भाइटीका लगाएका छन् । झापा गौरदह–३ स्थित निज निवासमा बहिनी सुशीला कार्की र पार्वता थापाको हातबाट दाजु दिपक कार्कीसँगै उनले टीका लगाएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुँइटेलले जानकारी दिए । मुख्यमन्त्री कार्कीका पाँच जना दिदीबहिनी छिन् । टीका लगाउसँगै उनले नेपालीहरुको मौलिक पर्वले एक आपसमा भावनात्मक एकता बढाउने बताए । उनले नेपालीहरुको संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।
कांग्रेस सभापति देउवाद्वारा बहिनीबाट टीका ग्रहण
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बहिनी सुशीला खड्काबाट भाइटीका लगाएका छन् । सभापति देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा टीका लगाएको उनको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ ।
अमेरिका: ए देखि जेड सम्म, २०२४ को चुनाव अभियान अक्षरैपिच्छे
काठमाडौं । अमेरिकी राष्ट्रपतीय चुनाव बुझ्न गाह्रो भइरहेको छ ? यहाँ कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीचको लडाइँका बारेमा मार्गदर्शन गर्न एउटा ए-जेड शब्दकोश छ । ए-गर्भपतन (एबोर्सन): एक संवेदनशील मुद्दा जसलाई डेमोक्रेटहरूले राष्ट्रपतिका रूपमा ट्रम्पले सङ्घीय अधिकार समाप्त गरेका कारण उहाँको कमजोरीका रूपमा प्रयोग गर्ने आशा गरेका छन् । बी-सीमा (बोर्डर): राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति ह्यारिसको कार्यकालमा मेक्सिकोको सीमाबाट लाखौँ कागजात बिनाका आप्रवासीहरूले पार गरेको आरोप लागेसँगै बाइडेनसँगको सहयोगका कारण उपराष्ट्रपति ह्यारिसका लागि कमजोरी । सी- क्यालिफोर्नियाः ह्यारिसको उदारवादी गृह राज्य । यस परिस्थितिले उनलाई स्वतन्त्र र रिपब्लिकन मतदाताहरूलाई लोभ्याउन अझ बढी मध्यमार्गी देखिने प्रयास गर्न प्रेरित गरेको छ । डी-बहस (डिबेट): जुनमा बाइडेनको विनाशकारी प्रदर्शनले उहाँलाई चुनावी प्रतिस्पर्धा छाड्न बाध्य पार्यो । ट्रम्पलाई ह्यारिसले बहसमा पराजित गर्नुभयो र ट्रम्पले चुनाव दिनअघि पुनः बहस गर्न अस्वीकार गरे । ई-एलन मस्कको रूपमा: प्रविधि उद्योगपति मस्कले आफ्नो मुख, पैसा र मिडिया प्लेटफर्म ट्रम्पको सेवामा लगाएका छन् । एफ- कोष सङ्कलन (फन्डरेजिङ): बाइडेनको स्थान लिएपछि, ह्यारिसले अचानक खुसी समर्थकहरूबाट ठूलो मात्रामा चन्दा आकर्षित गरेर अमेरिकालाई चकित पारे । कुकुर र बिरालो खाने ? जी-जननेन्द्रिय (जेनिटेलिया) : दिवङ्गत गल्फ महान् अर्नोल्ड पामरको शारीरिक विशेषतालाई ट्रम्पले चुनावी र्यालीमा सम्बोधन गर्न उचित ठाने । एच-हैटियन: ओहायोमा बस्ने केही आप्रवासीको राष्ट्रियताका बारेमा ट्रम्प, उनका उपराष्ट्रपति उम्मेदवार जेडी भान्स र अन्य रिपब्लिकनहरूले गलत रूपमा मानिसहरूका कुकुर र बिरालो खाइरहेको आरोप लगाए । आई-जानकारी (इनफर्मेसन, गलत र भ्रामक) : पाल्तु जनावर खाने हैटियन र रिपब्लिकन विधायक मार्जोरी टेलर ग्रिनको रत्नजस्तो फर्जी दाबीको कुहिरोले बाइडेन प्रशासनको मौसमलाई नियन्त्रण गरिरहेको छ । जे-जनवरी ६: सन् २०२० को चुनावमा बाइडेनसँग हारेपछि ट्रम्पलाई सत्तामा राख्न चाहने हिंसक ट्रम्प समर्थकहरूद्वारा सन् २०२१ को क्यापिटल विद्रोहको मिति । ट्रम्पले हालै विद्रोहलाई ‘प्रेमको दिन’ भनेका छन् । के-कमला : नाममा के छ रु यदि निर्वाचित भएमा । उहाँ अमेरिकाको पहिलो महिला राष्ट्रपति र दक्षिण एसियाली वंशको पहिलो राष्ट्रपति हुनुहुनेछ । दुवै ऐतिहासिक उपलब्धिहरू उहाँको नाममा प्रतिबिम्बित छन् । एल-महिलाहरू (लेडिज) :बिरालो भएका तर बच्चा नभएका । भान्सले वर्षौंअघि परिभाषित गरेको जनसाङ्ख्यिकी समूह । यसले उनलाई उनलाई सताउन फर्केर आयो । एम-मिडिया स् ह्यारिसलाई एक-एक अन्तर्वार्ताहरू टार्ने आरोप लागेको थियो । यसले अमेरिकीहरूले उहाँका बारेमा धेरै नजानेको छाप बलियो बनायो । तथापि उनी हालै यस कार्यमा विकसित भएका छन् । फक्स न्युजसँगको शत्रुतापूर्ण अन्तर्वार्ता समेत सामना गरेका छन् । सबैभन्दा सुन्दर शब्द एन-राष्ट्रिय सुरक्षा (नेसनल सिक्योरिटी): ट्रम्पले यसलाई बलियो बनाउने बताएका छन् भने ह्यारिसले ट्रम्प यसका लागि खतरा भएको ठाने । ओ-पुरानो (ओल्ड): ८१ वर्षीय बाइडेन अर्को कार्यकालका लागि धेरै थकित भएको छाप परेकोले पछि हटे । ७८ वर्षीय ट्रम्प अहिलेसम्मकै सबैभन्दा पाको अमेरिकी उम्मेदवार हुन् । तुलनात्मक रूपमा ६० वर्षीय ह्यारिस जवान देखिन्छिन् । पी-प्रोजेक्ट २०२५ : ट्रम्पअन्तर्गत अति-दक्षिणपन्थी शासनका लागि एक प्रमुख थिङ्क ट्याङ्कको खाका । क्यू-राजीनामा (क्विट): बाइडेन दौडबाट बाहिरिनु । यस जुलाईमा पदस्थ राष्ट्रपतिले किनारा लागेर ह्यारिसलाई स्थान दिएको राजनीतिक भूकम्पले अर्को ट्रम्प कार्यकालका लागि बढ्दो रूपमा आत्मसमर्पण गरेका डेमोक्रेटहरूलाई पुनर्जीवित गर्यो । आर-अस्वीकार (रिफ्युजल) : अर्को जनवरी ६ जस्तो विद्रोहको छायाँ उठाउँदै ट्रम्पले नोभेम्बरमा हार स्वीकार गर्ने वाचा गर्न अस्वीकार गरेका छन् । एस-स्विङ राज्यहरू स् सात राज्य जुन जुनसुकै तर्फ जान सक्छन् र चुनाव निर्धारण गर्ने मानिन्छन् । टी-भन्सार शुल्क (ट्यारिफ): ट्रम्पले अमेरिकामा हुने सबै आयातमा लगाउने भनिएकाे कर । ‘यो शब्दकोषको सबैभन्दा सुन्दर शब्द हो’ उनले भनेका छन् । यू-‘अयोग्य’ र ‘अस्थिर’ (अनफिट र अनस्टेबल): ह्यारिसले ट्रम्पलाई वर्णन गर्ने तरिका । भी-अस्पष्ट (भेग): ह्यारिसले सम्भावित मतदाताहरूलाई अलग नपार्न जानाजान आफ्नो नीतिगत स्थितिहरू अस्पष्ट छोडेको आरोप सामना गरेकी छिन् । ट्रम्पले पनि तिनीहरूलाई कसरी सत्य बनाउने भन्ने विवरण नदिई ठूला वाचाहरू गरेका छन् । डब्ल्यू-विचित्र (वेर्ड): ह्यारिसकी उपराष्ट्रपति उम्मेदवार टिम वाल्जले ट्रम्प, भान्स र उनीहरूको परिधिमा रहेका अन्यहरूलाई वर्णन गर्न यो शब्द गरेका छन् । यसले डेमोक्रेटहरूलाई धेरै खुसी तुल्यायो । एक्स-थकित (एक्जस्टेड):ट्रम्पका एक सहयोगीले कठिन अन्तिम चरणमा रिपब्लिकनलाई वर्णन गर्न प्रयोग गरेको भनिएको शब्द । वाई-यस म्यान स् ट्रम्पले दोस्रो कार्यकालमा आफूलाई घेर्ने मानिसहरू । यसको अर्थ हठी वा खतरनाक व्यवहारको विरुद्ध कुनै सुरक्षा बार नहुने डर । जेड-जेलेन्स्की, भोलोदिमिर: निश्चय नै २०२२ को आक्रमणको आदेश दिने पुटिनप्रति ट्रम्पको झुकावका बारेमा चिन्तित युक्रेनी राष्ट्रपति ।
प्रारम्भ भएका परियोजना क्रमागत रूपमा सम्पन्न गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणका परियोजनालाई क्रमागत रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट थाइ एयर एसियाले आजदेखि ब्याङ्कक–भैरहवा उडान प्रारम्भ गरेको सन्दर्भमा प्रधानमन्त्रीले उक्त आशयको अभिव्यक्ति सामाजिक सञ्जालमा व्यक्त गरे । सामाजिक सञ्जाल फेसबुकमा एयर एसियाको विमानलाई पानीको फोहराले स्वागत गरिएको ३७ सेकेण्डको भिडियो साझा गर्दै उनले भने, “भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सुरु भएको छ । थालेका कामहरूलाई क्रमैसँग सम्पन्न गर्नेतर्फ हामीले ध्यान दिइरहेका छौँ ।” नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी शनिबारदेखि उक्त वायुसेवाले हरेक साता सोमबार र बिहीबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्नेछ । रासस
बहिनी शारदा र चन्दाले लगाइन् राष्ट्रपति पौडेललाई टीका
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेललाई उनीहरूले राष्ट्रपति भवनमा टीका लगाइदिएका हुन् । उनीहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर,बदामसहितका सौगात प्रदान गर्नुभयो भने राष्ट्रपतिले पनि बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा दिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको थियो । यद्यपि समितिले दिनभर नै टीका लगाउन सकिने पनि जनाएको छ । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ ।
चाडवाडका बेला दर्शकका रोजाइमा नेपाली चलचित्र, करोडौं कमाइ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकले साथ दिएका छन् । विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दसैँ र तिहारमा उच्च रहेको चलचित्र वितरक करण श्रेष्ठले बताए । “फिल्म हलमा नेपाली चलचित्र हेर्ने दर्शकको सङ्ख्या बढेको छ । गत दसैँ हलहरुमा नेपाली चलचित्रमय बन्यो, तिहारमा पनि उस्तै देखिएको छ”, उनले भने । दसैँ लक्षित प्रदर्शन गरिएका ‘छक्का पञ्जा-५’ र ‘१२ गाउँ’ ले बक्सअफिसमा राम्रो व्यापार ग(यो । चलचित्र ‘ज्वाइँ साब’ ले पनि दर्शकको साथ पायो । तिहार लक्षित प्रदर्शन गरिएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले पनि राम्रो व्यापार गरिरहेको छ । यस चलचित्रमा पहिलोपटक शीर्ष भूमिकामा देखिएका अभिनेता विजय बराल दर्शकबाट प्राप्त मायाले दङ्ग छन् । “दर्शकहरुले माया गर्नुभएको छ । यो मेरा लागि नौलो अनुभव हो । मलाई विश्वास गर्ने निर्माण समूह र साथ दिनुहुने दर्शक प्रति कृतज्ञ छु”, अभिनेता बरालले भने । चलचित्र भवनसँगै ओटीटीमा समेत नयाँ चलचित्र प्रदर्शन गरियो । हलबाट उतारेर निर्देशक निश्चल बस्नेतले चलचित्र ‘मेघौली फ्रम बेहुली’ लाई ओटीटीमा ल्याए । यसले नेपाली निर्मातालाई आम्दानीको नयाँ स्रोत थपेको चलचित्रकर्मीको भनाइ छ । चलचित्र ‘महापुरूष’ तिहार लक्षित गरी युट्युबमा सार्वजनिक गरिएको छ । यसअघि ओटीटीमा सार्वजनिक भएको यस चलचित्रलाई दर्शककै अनुरोधमा युट्युबमा ल्याइएको निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले जानकारी दिए । उनले भने, “चलचित्र भवन र ओटीटीपछि हामीले युट्युबमा सार्वजनिक गरेका हौँ ।” दसैँ तिहारमा चलचित्र भवनमा अन्य समयको तुलनामा राम्रो व्यापार हुनुका साथै घरमै चलचित्र हेर्ने दर्शकको सङख्या वृद्धि भएको छ । त्यसैले यो समयमा चलचित्रलाई दर्शकसम्म पु¥याउन निर्माता उत्साहित देखिने गरेका छन् । रासस