विकासन्युज

भुइँकटहर खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्दै विष्ट

धरान । बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए । तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उनी कृषि क्षेत्रमा सक्रिय भए । अहिले उनलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही भएको लागेको छ । तत्कालीन समयदेखि भुइँकटहर खेतीकोमा लागेका उनले यसैबाट मनग्गे आम्दानी गरिरहेका छन् । हाल उनले एक विघामा भुइँकटहर लगाएका छन् । यसबाट वार्षिक १५ लाख रुपैयाँ आम्दानी हुने गरेको उनले सुनाए । वार्षिक एक लाख रुपैयाँ खर्च खर्च कटाउँदा १४ लाख रुपैयाँसम्म सजिलै बचाउन सकिने उनको भनाइ छ । उनले भने, ‘भुइँकटहरको माग राम्रो छ बजारमा भनेको  मूल्य पनि पाइन्छ । गत वर्षभन्दा अझ केही विरुवा थप गरेको छु अर्को वर्ष आम्दानीमा अझै बढ्छ ।’ उनका अनुसार भुइँकटहरको खेतीमा वर्षपिच्छे ठूलो मेहनत पनि चाहिन्न । वर्षमा एक पटक गोडमेल गर्दा पनि राम्रो आम्दानी लिन सकिन्छ । उनले भुइँकटहर प्रतिगोटा एक सयदेखि एकसय ५० रुपैयाँसम्म बिक्री गर्दै आएका छन् । भुइँकटहर लिन कतिपय व्यापारीहरु फर्ममै आइपुग्ने उनको भनाइ छ । अहिले सुनसरीको बराहक्षेत्रमा भुइकटरको खेती गर्ने किसानको सङ्ख्या सीमित भएकाले बिक्रीका लागि  समस्या नभएको उनले सुनाए । उनका अनुसार विरुवा बिक्रीबाट मात्रै वार्षिक एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । उनले एउटा विरुवालाई १० देखि २० सम्म रुपैयाँमा बिक्री गर्दै आएका छन् । उनको व्यावसायिक भुइँकटहरका लागि नगरपालिकाले अनुदान स्वरुप ७७ हजार रुपैयाँ उपलब्ध गराइसकेको छ । रासस

छठका लागि भारतबाट ५० लाखका केरा आयात

जलेश्वर । जिल्ला सदरमुकाम जलेश्वरमा छठपर्वमा बिक्री गर्ने उद्देश्यले व्यवसायीले भारतबाट ५० लाख रुपैयाँ बराबरका केरा भित्र्याएका छन् । आज जलेश्वरमा लाग्ने अन्तिम हाटबजारमा ५० लाख रुपैयाँको केरा ल्याइएको व्यवसायी गणेश साहले बताए । पहिलेपहिले २०–२५ लाख रुपैयाँसम्मको केरा ल्याइने गरिएकामा यस वर्ष ५० लाख रुपैयाँको केरा ल्याइएको अर्का व्यवसायी उत्तिम साहले बताए । जलेश्वरमा केरा व्यवसाय गर्दै आएका पाँच–सात जना व्यापारीले सामूहिक रूपमै यसपालि २५ ट्रक केरा मगाएका छन् भने उनीहरूले सो ट्रकलाई आपसमा आफूले गरेको लगानीका आधारमा बाँडेर बेच्ने गरेका छन् । विगत वर्षहरूमा १५ देखि २० ट्रकमात्र केरा आउने गरेको जलेश्वरमा यस वर्ष ४० ट्रक केरा भित्रिएको छ । ग्रामीण क्षेत्रबाट बसाइँसराइ र आन्तरिक रूपमै पनि जलेश्वरमा दिनानुदिन बढ्दै गरेको जनसङ्ख्यालाई मध्यनजर गर्दै यसपालि स्थानीय केरा व्यापारीले ५० लाख रुपैयाँको केरा ल्याएको र सबै बिक्री हुने दाबी गरेका छन् । जलेश्वर बजारमा यसपालि केरा प्रतिघार छ–सात सयदेखि एक हजार, १५ सयसम्म बिक्री भइरहेको छ । बजारमा ल्याइएका गोपाल, मालभोग, वंशीभोग र मृचमान प्रजातिका केराहरु छन् । जलेश्वर नगरपालिकाको १२ वडालगायत वरपरका अन्य पालिकाका बर्तालु पनि जलेश्वर बजारमा केरा किन्न बिहानैदेखि बजार आएका छन् ।

पाँच केजी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौं आएका एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई मङ्गलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । अभियुक्तहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ ।

नेपाल पुनर्बीमा ११औँ वर्षमा प्रवेश, विश्वका ३ दर्जनदेशमा व्यवसायिक सम्बन्ध स्थापित

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी ११औँ वर्षमा प्रवेश गरेको छ । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी स्थापनाको १० वर्ष पुरा गरी कात्तिक २१ गतेदेखि ११औँ वर्षमा प्रवेश गरेको हो । आकस्मिक बीमा कोषको उत्तराधिकारी संस्थाको रूपमा वि.सं २०७१ कात्तिक २१ गते नेपाल पुनर्बीमा कम्पनी स्थापना भएको हो । विदेशी मुद्रा भित्राउन यस कम्पनीको स्थापना भएको थियो । विश्वका ३ दर्जन बढी देशमा व्यवसायिक सम्बन्ध स्थापित गरी कम्पनीले विभिन्न पोलिसी मार्फत करोडौं रुपैयाँ प्रिमियम नेपाल भित्राउन सफल भएको छ । प्रतिस्पर्धी बजारमा पुनर्बीमा कम्पनीलाई उत्कृष्ट प्रदर्शन गर्नुपर्ने चुनौति र अवसर रहेको छ । १० अर्ब चुक्ता पुँजीबाट सुरु भएको यस कम्पनीको हाल १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ पुँजी पुगेको छ । कम्पनीमा नेपाल सरकारको ४४.०३९ प्रतिशत, नेपाल सरकारबाहेकका संस्थागत लगानीकर्ताको ३९.९६१ प्रतिशत र सर्वसाधारण सेयरधनीको १६ प्रतिशत सेयर स्वामित्व छ । हाल कम्पनीमा स्थायी ४७ जना, करार ६ जना, व्यवस्थापन पर्शिक्षार्थी एक र सहायक प्रशिक्षार्थी २ जना कर्मचारी कार्यरत रहेको जनाएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापा छन् भने अध्यक्ष देव राज ढुंगाना रहेका छन् । कम्पनीले विभिन्न जोखिम समुहको बीमा, पुनर्बीमा तथा बीमा दाबी भुक्तानी व्यवस्था मिलाउन गठन हुने बीमा पुलको स्थापना तथा व्यवस्थापन गर्ने, पुनर्बीमा तथा बीमा व्यवसायबाट प्राप्त हुन आउने पुनर्बीमा तथा बीमा शुल्कबाट सिर्जित बीमा कोषमा जम्मा हुने रकमलाई विभिन्न क्षेत्रमा लगानी गर्ने, स्वदेशी तथा विदेशी बीमकहरुले गरेको बीमा तथा पुनर्बीमा व्यवसायको आफूले ग्रहण गरेको बीमा तथा पुनर्बीमामा आफूले धारण गर्ने भन्दा बढी जोखिम रकम पुनः पुनर्बीमा (रेट्रोसेसन) गराउने काम गर्छ । यस्तै, सम्बन्धित निकायको स्वीकृति लिई स्वदेशी तथा विदेशी पुनर्बीमा कम्पनीहरुसँग आवश्यकता अनुसार पुनर्बीमा ब्रोकरहरुको सेवा लिई वा सो संयुक्त रुपमा वा छुट्टाछुट्टै पुनर्बीमा गर्ने गराउने, आफूले ग्रहण गरेका पुनर्बीमा तथा बीमा व्यवसाय अन्तर्गत उत्पन्न भएका दाबी एवं व्यवस्थापन गरेका बीमा कोष अन्तर्गत उत्पन्न हुने दाबी भुक्तानी सम्बन्धी कार्य गर्ने, बीमकहरुले गरेको बीमा व्यवसाय अन्तर्गतको प्रत्यक्ष हिस्सा ग्रहण गर्ने कम्पनीको कर्तव्य हो । कम्पनीले पुनर्बीमा अन्डरराइटिस, पुनर्बीमा दाबी भुक्तानी, पूल म्यानेजमेन्ट, रेट्रोसेसन लगायतका पुनर्बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु कम्पनीले प्रदान गर्छ ।

तिहारमा ५० करोडको फूलमाला बिक्री, ४४ हजारभन्दा बढी किसानले लिए लाभ

काठमाडौं । यस वर्षको तिहारमा रु ५० करोड बराबरको फूलको कारोबार भएको छभने सबैभन्दा धेरै खपत काठमाडौं उपत्यकामा भएको छ । फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ । यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको १ सय रुपैयाँ तिर्नुपरेको थियो । काठमाडौं महानगरपालिका (कामपा)ले फूल बिक्रीस्थल तोकेका कारण यस वर्षसहज भएको उनले बताए । यस वर्ष कामपाले नेपाली फूल किसानलाई फूल बेच्न ४६ स्थान तोकेको थियो । बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ । विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र रातो गुलाफ भने भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष बादेले बताए । काठमाडौं उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् । व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएका उनले जानकारी दिए । पुष्पखेतीबाट ४४ हजारभन्दा बढी लाभान्वित भएका छन् भने २२१ हेक्टरमा १ हजार १८४ व्यवसायीले पुष्पखेती गरेका छन् ।

स्वावलम्बन लघुवित्तको साढे २ करोडको सेयर बिक्रीमा, मूल्य कति ?

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्त संस्थाको संस्थापक समूहको ४४ हजार १४३ कित्ता सेयर बिक्रीमा राखिएको हो । लघुवित्तले उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता ५६७ रुपैयाँ तोकेको छ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सो मूल्य वा सोभन्दा बढी मूल्य तोकि आवेदन दिनुपर्ने हुन्छ । सो मूल्यका आधारमा लघुवित्तले २ करोड ५० लाख २९ हजार रुपैयाँ बढीको सेयर बिक्रीमा राखेको हो । लघुवित्तको उक्त सेयरमा सर्वसाधारण जोकोही लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने हुन्छ ।

४४ रिक्त पदका उपनिर्वाचन हुँदै, कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

काठमाडौं । आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ । निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङ¬को ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काइ नगरपालिका वडा नं ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपलिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहटको ईशनाथ नगरपालिका वडा नं ७, राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ को वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ । काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ र ४, काठमाडौँ महानगरपालिका वडा नं १६, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४, रुकुम (पूर्वी) पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ र कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष पदमा निर्वाचन हुने आयोगका सूचना अधिकृत सुमन घिमिरेले जानकारी दिए । दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, रुकुम (पश्चिम)सानीभेरी गाउँपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ । मङ्सिर २ गते उम्मेदवारी दर्ता उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ । मङ्सिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने छभने सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । आयोगका अनुसार २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिइएको छ । मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छभने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? निर्वाचन आयोगले उम्मेदवारको मनोयनपत्र दर्ता भएको मितिदेखि निर्वाचन परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवारले गर्न पाउने खर्चको हद तोकेको छ । नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ४ लाख ५० हजार रुपैयाँ, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँ, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्नेछ । महानगरपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले ३ लाख रुपैयाँ, नगरपालिका वडाध्यक्ष पदका उम्मेदवारले २ लाख रुपैयाँ र गाउँपालिकाका वडाध्यक्षले १ लाख ५० हजार रुपैयाँ खर्च गर्न सक्नेछ । आयोगले यही कात्तिक १ गते आसन्न स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय तोकेको छ । उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ । वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगले जनाएको छ । उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता उपनिर्वाचनका लागि आयोगमा २५ राजनीतिक दल दर्ता भएका छन् । आयोगमा दर्ता भएका २६ राजनीतिक दलमध्ये रीत पूरा भएका २५ दल दर्ता गरिएका आयोगले जनाएको छ । उपनिर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टी र नेपाल मजदुर किसान पार्टीले सहभागिता जनाउने छन् । यसैगरी मङ्गोल नेशनल अर्गनाइजेसन, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन एकता पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, हाम्रो नेपाली पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाली कांग्रेस (बिपी), राष्ट्रिय मातृभूमि पार्टी, जनमत पार्टी र नेपाली जनता दल दर्ता भएका छन् ।

अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२८ रुपैयाँ र बिक्रीदर १३४.८८ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४६.३९ रुपैयाँ र बिक्रीदर १४७.०४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.४२ रुपैयाँ र बिक्रीदर १७५.२० रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५५.८२ रुपैयाँ र बिक्रीदर १५६.५२ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.९६ रुपैयाँ र बिक्रीदर ८९.३६ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.७४ रुपैयाँ र बिक्रीदर ९६.१७ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.०१ रुपैयाँ र बिक्रीदर १०२.४६ रुपैयाँ, जापानी येन १० को खरिददर ८.८२ रुपैयाँ र बिक्रीदर ८.८६ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.९० रुपैयाँ र बिक्रीदर १९.९९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७५ रुपैयाँ र बिक्रीदर ३५.९१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.८४ रुपैयाँ र बिक्रीदर ३७.०१ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०० रुपैयाँ र बिक्रीदर ४.०२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५६ रुपैयाँ र बिक्रीदर ३६.७२ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.९० रुपैयाँ र बिक्रीदर ३०.०४ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.७३ रुपैयाँ र बिक्रीदर ९.७७ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.५६ रुपैयाँ र बिक्रीदर १२.६१ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.६३ रुपैयाँ र बिक्रीदर १९.७१ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२८ रुपैयाँ र बिक्रीदर १७.३६ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.३४ रुपैयाँ र बिक्रीदर ४४०.३० रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५६.१८ रुपैयाँ र बिक्रीदर ३५७.७७ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।