अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२८ रुपैयाँ र बिक्रीदर १३४.८८ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४६.३९ रुपैयाँ र बिक्रीदर १४७.०४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.४२ रुपैयाँ र बिक्रीदर १७५.२० रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५५.८२ रुपैयाँ र बिक्रीदर १५६.५२ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.९६ रुपैयाँ र बिक्रीदर ८९.३६ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.७४ रुपैयाँ र बिक्रीदर ९६.१७ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.०१ रुपैयाँ र बिक्रीदर १०२.४६ रुपैयाँ, जापानी येन १० को खरिददर ८.८२ रुपैयाँ र बिक्रीदर ८.८६ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.९० रुपैयाँ र बिक्रीदर १९.९९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७५ रुपैयाँ र बिक्रीदर ३५.९१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.८४ रुपैयाँ र बिक्रीदर ३७.०१ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०० रुपैयाँ र बिक्रीदर ४.०२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५६ रुपैयाँ र बिक्रीदर ३६.७२ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.९० रुपैयाँ र बिक्रीदर ३०.०४ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.७३ रुपैयाँ र बिक्रीदर ९.७७ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.५६ रुपैयाँ र बिक्रीदर १२.६१ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.६३ रुपैयाँ र बिक्रीदर १९.७१ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२८ रुपैयाँ र बिक्रीदर १७.३६ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.३४ रुपैयाँ र बिक्रीदर ४४०.३० रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५६.१८ रुपैयाँ र बिक्रीदर ३५७.७७ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
यसरी गरिदैँछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)को क्षमता अभिवृद्धि गरिँदैछ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिनासम्म विमानस्थल विस्तार गर्न लागेको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न करिब १५ अर्ब रुपैयाँ खर्च हुने आयोजनाले जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सी वे बनाउन लागिएको छ । ‘विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता बढ्नेछ भने एयर ट्राफिक व्यवस्थापनमा थप सहज हुन्छ,’ महानिर्देशक अधिकारीले भने । स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गर्नुपर्ने बाध्यता रहेको प्राधिकरणले स्पष्ट पारेको छ । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको छ । आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरिएको उल्लेख गरे । नेपाल र सम्बन्धित मुलुकबीचका द्विपक्षीय तथा बहुपक्षीय हवाई सेवा सम्झौताको आधारभूत मान्यता बमोजिम विमानस्थलको क्षमताअनुसार निष्पक्ष र समन्यायिक उडान सङ्ख्या व्यवस्थापन गरिएको जनाउँदै प्राधिकरणले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्न स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीलाई विशेष अनुरोध गरेको छ । प्रचलित कानुनले तोकेको सीमाको परिपालना गरी हवाई भाडाको कार्यान्वयन गर्ने सिद्धान्तविपरीत उड्डयन क्रियाकलाप नगर्न÷नगराउन सम्बद्ध पक्षलाई प्राधिकरणले आग्रह पनि गरेको छ । नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् । टीआइए भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एकसय हाराहारी उडान हुने गरेका छन् । पटक–पटक विमानस्थल विस्तार र मर्मत देशकै जेठो अन्तर्राष्ट्रिय विमानस्थल टीआइएको पटक–पटक मर्मत र क्षमता अभिवृद्धि गरिदै आएको छ । विसं २०७७ मा सो विमास्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो । त्यतिबेला पनि बेलुका ६ बजेदेखि विहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो । तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टु) विस्तार भएको थियो । विसं २०७५ मा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झण्डै ४ महिना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत (कालोपत्रे) गरिएको थियो । विमानस्थल मर्मतको अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएको थियो ।
छठमा बाग्मती नदीमा धाप ड्यामको पानी छाडिने, पशुपति आइपुग्न १४ घण्टा लाग्ने
काठमाडौं । पछिल्ला केही वर्षयता काठमाडौंमा पनि छठ पर्वलाई धुमधामसँग मनाउन थालिएको छ । यसपटक पनि छठ सुरु भइसकेपछि काठमाडौं उपत्यकाका नदी, पोखरी तथा तलाउ छेउमा सजावट सुरु भइसकेको छ । उपत्यकामा पनि छठ पर्व मनाउने तयारी सुरु भइसकेपछि बाग्मती नदीमा पानीको सतह बढाउने पनि तयारी भइरहेको छ । एकीकृत बागमती सभ्यता विकास समितिअन्तर्गत बाग्मती सुधार आयोजनाले छठ पर्वमा तयारी गरिहेको जनाएको छ । वाग्मती नदीमा पानीको सतह बढाउन र व्रर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले ड्यामको पानी नदीमा छाड्ने तयारी गरेको हो । आयोजनाका उप-निर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले बुधबार साँझदेखि पानी नदीमा छाड्ने तयारी भइरहेको जानकारी दिए । ‘धाप ड्यामको पानी छाडेपछि पशुपति क्षेत्रसम्म आइपुग्नका लागि १४ घण्टा लाग्छ, तसर्थ छठको अघिल्लो दिनबाटै पानी छाड्ने तयारी गरेका हौँ, विषेश दिनमा हामीले ड्यामको पानी वागमतीमा छाड्दै आएका छौँ,’ उनले भने । प्रतिसेकेण्ड ४ सय लिटर समितिले छठ पर्वको दुई दिनसम्म वाग्मती नदीमा प्रतिसेकेण्ड ४ सय लिटर पानी छाड्ने तयारी गरिरहेको जनाएको छ । ‘ड्यामको पानी नदीमा छाड्दा व्रतालुको घुँडासम्म पानी आउने अनुमान गरेका छौँ, त्यसो हुँदा व्रतालुहरुलाई स्नान गर्न र पानी चढाउन सहज हुन्छ, मेलम्ची खानेपानी विकास समितिसँग पनि पानी छाड्नका लागि आग्रह गर्ने छौँ,’ नेपालले भने । मेलम्ची खानेपानी विकास समिति भन्छः १० करोड लिटरसम्म छाड्न सक्छौँ मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले आधिकारिक रुपमा पानी छाड्न आग्रह गरिएको खण्डमा दैनिक १० करोड लिटरसम्म मेलम्चीको पानी उपलब्ध गराउन सकिने जानकारी दिए । ‘मनसुनजन्य विपद्बाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउनका लागि केही महिना आयोजना नै बन्द गर्नुपरेको थियो, त्यसबेला धाप ड्यामकै पानी ल्याएर काठमाडौंका उपभोक्तालाई खानेपानीको आवश्यकता पूरा गरेका थियौ,’ उनले भने, ‘हामीले सापटीका रुपमा पानी ल्याएका थियौ, अहिले दैनिक पाँच करोड लिटरसम्म बढी भएको पानी वाग्मती नदीमै बगाएका छौँ, आवश्यक परेमा छठ पर्वको समयमा दैनिक १० करोड लिटरसम्म पानी वाग्मती नदीमा बगाउन सक्छौँ ।’ मेलम्ची खानेपानी आयोजनाबाट हाल दैनिक २५ करोड लिटर बराबरको खानेपानी उपत्यकामा दैनिक आउने गरेको उहाँको भनाइ छ । लामिछानेले उपभोक्तामा २५ करोड लिटर पानी नै खपत नभएपछि बाँकी रहेको पानी वाग्मती नदमा पानीको सतह बढाउन छाडिने गरेको बताए । धाम ड्याम एक महत्व अनेक काठमाडौं उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाम ड्याम धार्मिक, सांस्कृतिक एवं इतिहाससँग पनि गाँसिएको छ । योसँगै यस ड्यामले वाग्मती नदीमा पानीको सतह बढाएर नदीको सौन्दर्यता कायम गर्न समेत सहयोग पुगेको समितिको भनाइ छ । पर्यटकीय महत्व पनि उस्तै धाम ड्याम निर्माण सम्पन्न भइसकेपछि ड्याम अवलोकन गर्न जानेहरुको पनि चहलपहल बढेको छ । काठमाडौंको चाबहिलबाट करिब ३५ किलोमिटर दूरीमा रहेको यो ड्यामको अवधारणा झण्डै एक दशक अगाडि सुरु भएको थियो । दुई वर्षअघि मात्रै यसको उद्घाटन भएको थियो । शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जका वार्डेन दिलबहादुर पुनले धाप ड्याम निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्न थालेको जानकारी दिए । वर्खामा पानी जम्मा गर्ने, हिउँदमा नदीमा छाड्ने धाम ड्याममा बर्खामा आकाशबाट परेको पानी जम्मा गर्ने र हिउँदको समयमा वाग्मती नदीमा छाड्ने लक्ष्यका साथ आयोजना निर्माण गरिएको थियो । वर्खामा यहाँ जम्मा गरिएको पानी हिउँदको समयमा प्रतिसेकेन्ड ४ सय प्रतिलिटरका दरले वाग्मतीमा छोडिने आयोजनाको लक्ष्य छ । एशियाली विकास बैंकको ८९ करोड रुपैयाँ सहयोगमा निर्माण भएको जलाशययुक्त धाप ड्यामबाट मुख्य पर्वमा वाग्मती नदीमा पानी छोड्ने गरिन्छ । ड्यामको लम्बाइ १७४.७ मिटर र चौडाइ ८ मिटर रहेको छ । बाँध निर्माणपछि बनेको जलाशयको क्षेत्रफल १५ हेक्टर रहेको छ । आयोजनाका अनुसार यो ड्याममा हाल साढे १३ लाख घनमिटर पानी जम्मा भएको छ । सम्भव भएन दैनिक पानी छाड्न धाम ड्याममा जम्मा भएको पानी हिउँदको सुक्खा अवधिभर दैनिक रुपमा वाग्मती नदीमा पानी छाड्ने सरकारको आयोजनाको लक्ष्य कार्यन्वयनमा भने चुनौती देखिएको छ । नदीमा पानीको सतह बढाउन आवश्यकता अनुसार ड्याममा पानी जम्मा हुन नसकेपछि दैनिक रुपमा पानी छाड्न नसकिएको उप निर्देशक नेपालको भनाइ छ । ‘हिउँदको सुक्खा समयमा वाग्मतीमा पानीको सतह बढाउनका लागि प्रतिसेकेण्ड ४० लिटर पानी बगाउने योजना बनाएका थियौ, तर त्यति परिणमले खासै उपलब्धि नहुने रहेछ, परिणाम देखिनका लागि प्रतिसेकेण्ड चार सय लिटर पानी आवश्यक पर्छ, त्यति पानी छाड्नका लागि ड्यामको क्षमता छैन,’ उनले भने । उनले हाल नागमती ड्याम निर्माणको तयारी भइरहेको र नागमती ड्याम निर्माण सम्पन्न भएपछि नदीमा पानी बढाउन सम्भव रहेको बताए । ‘अहिले शिवरात्रिमा तीन दिन, बालाचतुर्दशीमा दुई दिन, मातातिर्थ औसीमा एक दिन, छठ पर्वमा दुई दिन, मकर संक्रान्तीमा एक दिन पानी छाड्छौ । यसैगरी हरिबोधनी एकदशीमा एक दिन, माधव नारायण मेलाको पहिलो र अन्तिम दिन गरी दुई दिन, रामनवमीमा एक दिन, नयाँ वर्षमा एक दिन ड्यामको पानी वाग्मती नदीमा बगाइन्छ,’ उनले भने । मेलम्ची र वाग्मतीबीच पानी साटफेर गत जेठमा मेलम्ची खानेपानी विकास समिति र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) तथा वाग्मती सुधार आयोजनाबीच मेलम्ची खानेपानी आयोजना बन्द भएको समयमा धाप ड्यामबाटै खानेपानी ल्याएर उपोक्तालाई पानीको आपूर्ती सहज गर्ने सहमति भएको थियो । धाप ड्यामको पानी सुन्दरीजल पानी प्रशोधन शाखामार्फत केयुकेएललाई प्रवाह गर्ने सहमति भएको थियो । उक्त सहमतिमा सुक्खा यामको समयमा भने सुन्दरीजल पानी प्रशोधन शाखाको ३० नम्बर गेटबाट मेलम्चीको पानी शोधभर्नाको स्वरुप वाग्मती नदीमा प्रवाह गर्ने उल्लेख छ । वर्षा याममा मनसुनसुन्य विपद्बाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन मेलम्चीको ढोका बन्द गरिएको थियो । मेलम्ची बन्द भएपछि उपत्यकामा पानीको अभाव हुन नदिन धाप ड्यामको पानी केयूकेयललाई सापटी दिइएको हो । नागमती ड्याम पनि बन्दै वाग्मतीमै पानीमा सतह बढाउने लक्ष्यका साथ नागमती ड्याम पनि निर्माण हुने भएको छ । चालु आर्थिक वर्षभित्र निर्माण सुरु हुने तयारी भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार रु २५ अर्बको लागत लाग्ने अनुमान गरिएको यस परियोजनाको वातावरणीय प्रभाव मूल्याकङ्नका लागि वन तथा वातावरण मन्त्रालय पुगेको छ । उक्त ड्याम निर्माण पूरा भएमा सुक्खा यामको नौ महिनामै वाग्मती नदीमा वर्षा याममा जस्तै पानी बग्नेछ । के छ छठको महत्व ? छठ पूजा विशेष गरेर नेपालका तराई क्षेत्रका नेपालीहरूको प्रमुख पर्व हो । यो पर्व सूर्य उपासनासँग सम्बन्धित छ । छठमा विशेषगरी महिलाहरूले सूर्यदेव र छठी माताको आराधना गर्दै आफ्नो परिवारको कल्याण र समृद्धिको कामना गर्छन् । छठ पर्व चार दिनसम्म मनाइन्छ । यस पर्वका निष्ठा, पवित्रता र अनुशासनको विशेष महत्त्व हुने गर्छ । छठ पूजा कार्तिक शुक्ल चतुर्थीदेखि सुरु हुन्छ र सप्तमीका दिन सम्पन्न हुन्छ । यसमा नुहाउने, खाने, खरना, संध्या अर्घ्य र बिहानको अर्घ्य दिने दिन जस्ता विभिन्न चरणहरू हुन्छन् । मानव र प्रकृतिलाई छाड्ने पर्वको रुपमा पनि छठ पर्वलाई लिने गरिन्छ ।
राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप-२९) मा भाग लिन यही कात्तिक २५ गते त्यसतर्फ जाने भएका छन् । अजरबैजानका राष्ट्रपति इल्हम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेका हुन् । राष्ट्रपति पौडेलले कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ । सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानी तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ । विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमध्ये पर्छ । बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौं उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउनेछ । नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ । नेपालका तर्फबाट सम्मेलन प्रस्तुत गर्ने ‘एजेण्डा’ बारे विभिन्न तहमा तयारी भइरहेको बताइएको छ । सम्मेलन यही कात्तिक २६ सुरु भइ मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भइ राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने कार्यतालिका छ ।
आज सेयरधनी बने सानिमा बैंक र आशा लघुवित्तको लाभांश पाइने
काठमाडौं । सानिमा बैंक र आशा लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज कात्तिक २१ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सानिमा र आशाले कात्तिक २५ गते बुकक्लोज गर्दैछन् । कात्तिक २२ गते बिहीबार छठको बिदा र शुक्रबार र शनिबार सेयर कारोबार बन्द रहने भएकाले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्नेछन् । सानिमा बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँको करसहित ५.२६३२ प्रतिशत नगत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले २०औँ वार्षिक साधारण सभा मंसिर ४ गते बोलाएको छ । बैंकको सभाले नेपाल राष्ट्र बैकको निर्देशनको अधिनमा रही तोकिएको अन्य व्यवस्था तथा शर्तहरू सहित १ सय रुपैयाँका दरले २ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, बैकको अधिकृत पुँजी १५ अर्ब रुपैयाँलाई वृद्धि गरी २० अर्ब रुपैयाँ पुर्याउने, अग्राधिकार सेयर जारीपश्चात् जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालक समितिको बैठक भत्ता लगायतका सुविधाहरू बढाउने प्रस्ताव गरेको छ । त्यस्तै, आशा लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले ९ करोड १४ लाख २० हजार रुपैयाँ बोनस सेयर र ०.२५ प्रतिशतका दरले ४८ लाख १२ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत अर्थात् ९ करोड ६२ लाख ४२ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले मंसिर ७ गते बनेपा काभ्रेमा आठौँ वार्षिक साधारण सभा दिउँसो ३ बजे डाकेको छ । यस्तै, लघुवित्तको सभाले अन्य लघुवित्त संस्थाहरू गाभ्ने गाभिने तथा खरिद सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
छठको दोस्रो दिन आज ‘खरना’
महोत्तरी । लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय-खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ । श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्नेछन् । पर्वको तेस्रो दिन भोलि अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख बर्तालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई पहिलो अर्घय दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ । त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदा सूर्यलाई दोश्रो अर्घय दिएर पर्व समापन गर्ने मैथिल चलन छ । उदाउँदो सूर्यलाई दिइने अर्घयलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । अर्घय दिँदा पहिले जटासहितको नरिवल र त्यसपछि क्रमशः पर्वका लागि पकाइएका मिष्टान्न परिकार र केरासहितका फलफूल सूर्यदेवलाई देखाउने चलन छ । छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्तकहाँ पुर्याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अर्घय दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी-जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अर्घय दिने पवित्र जलाशय किनारमा घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ । केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूले मात्र मनाउदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू पनि बाक्लै मनाउन थालेका छन् । मिथिलामा इस्लाम धर्मावलम्बीले समेत बर्तालुलाई अर्घयका बेला आफ्नो भाकल सूर्यदेवलाई देखाइदिन दिने गरेका छन् । यसले छठ पर्वलाई साझा बनाएको छ । यस पर्वमा सबै धर्म, संस्कृति र वर्गतप्का सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य तेजबहादुर खड्का बताउँछन् ।
कोशी र गण्डकीमा सतर्कता अपनाउनुपर्ने, यस्तो छ देशभरको मौसम
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध छ ।
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित भएका छन् । नेपाल र गणतन्त्र इन्डोनेसियाबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गरेको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारले उनलाई विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’ बाट सम्मानित गरेको हो । इन्डोनेसियाको परराष्ट मन्त्रालयद्वारा प्रदान गरिएको सो अवार्ड इन्डोनेसियासँगको सम्बन्धमा उल्लेख्य भूमिका निर्वाह गर्ने विदेशी विशिष्ट व्यक्तित्वलाई प्रदान गर्ने गरिएको मन्त्रालयले जनाएको छ । इन्डोनेसियाली परराष्ट्रमन्त्रीका तर्फबाट नेपालका लागि इन्डोनेसियाली राजदूत हेरु एच सुवोलोले ढकाललाई काठमाडौंमा मङ्गलबार आयोजित एक कार्यक्रममा उक्त सम्मान हस्तान्तरण गरेका हुन् । यो सम्मानले नेपाल र इन्डोनेसियाबिच पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान र दुई देशबीचको आर्थिक सम्बन्ध प्रवर्द्धन गर्न ढकालले गरेका प्रयासलाई उजागर गरेको छ । सो समारोहमा राजदूत सुवोलोले ढकालको प्रयासले दुई देशबिचको सम्बन्ध सुदृढ हुनुका साथै दुबै देशलाई आर्थिक, सांस्कृतिक र कूटनीतिक सहकार्य विस्तारमा फाइदा पुगेको बताए । ढकालले सम्मानका लागि इन्डोनेसियाली सरकारलाई आभार व्यक्त गर्दै यस पुरस्कारले आफूलाई नेपाल र इन्डोनेसियाबिच आपसी सहकार्य, विकास र समृद्धिको लागि काम गर्न थप प्रेरणा मिलेको बताए । नेपाल र इन्डोनेसियाबिच हालै द्विपक्षीय परामर्श संयन्त्र तथा दुई देशका सरकारी अधिकारीहरूलाई ‘भिषा फ्रि’ सम्झौता भएकोमा दुवै देशका सरकारलाई धन्यवाद दिदैँ ढकालले ती सम्झौताले दुई राष्ट्रबीचको कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने, दुई देशबीच हुने सरकारी भ्रमणलाई सहज बनाउनुका साथै आर्थिक तथा क्षेत्रीय सहयोगलाई आधार तयार गर्ने विश्वास व्यक्त गरे । यस अघि पनि सन् २०१५ को भूकम्पको समयमा उद्दार तथा राहत प्रयासमा गरेको योगदानको कदरस्वरुप इन्डोनेसिया सरकारले ढकाललाई सम्मान गरेको थियो । ढकाल सन् २०१० देखि नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत हुन् ।