अमेरिकी राष्ट्रपति निर्वाचन : जित नजिक ट्रम्प
काठमाडौं । अमेरिकाको राष्ट्रपतिय निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प जित नजिक पुगेका छन् । ट्रम्प जितभन्दा केवल ३४ सिट टाढा छन् । उनले ५ सय ३८ मध्ये २ सय ४६ सिटमा जित हासिल गरेका छन् । ४१ राज्यको नतिजा हेर्दा २६ राज्यमा ट्रम्प र उनका प्रतिस्पर्धी कमला ह्यारिसले १५ राज्यमा अग्रता बनाएका छन् । यता ह्यारिसले २ सय १० सिटमा अग्रता बनाएकी छन् । दुई उम्मदवारबीच केवल ३६ सिटको फरक छ । ह्यारिस डेमोक्र्याटिक पार्टीकाे उम्मेदवार हुन् भने ट्रम्प रिपब्लिकन पार्टीका उम्मेदवार हुन् ।
ग्रामीण भेगमा ट्याक्टरको प्रयोग बढ्न थाल्यो, काम गर्न सहज र समयको बचत
दार्चुला । प्रविधिको विकाससँगै दार्चुलाका पहाडी ग्रामीण क्षेत्रमा अहिले परम्परागत रुपमा गोरूको प्रयोग गरी खेत जोत्ने चलन विस्तारै हराउन थालेको छ । तराईमा मात्र प्रयोग हुँदै आएको ट्याक्टर पछिल्ला केहीवर्षयता पहाडी ग्रामीण बस्तीमा पनि पुग्न थालेसँगै यसको प्रयोग बढ्न थालेको हो । दुई वर्ष अघिसम्म अपिहिमाल गाउँपालिका–४ का प्रकाश कार्कीले गोरूको सहायताले महिनौँ लगाएर खेतबारी जोत्थे । यहाँका अधिकांशको घरमा कम्तिमा एक हलगोरू, हलो र जुवा हुन्थ्यो । अहिले प्रकाशको घरमा गोरू, हलो र जुवा केही छैनन् । खेतबारी खन्न ट्याक्टरको प्रयोग बढेसँगै प्रकाशलाई खेतीकिसानी गर्न सजिलो भएको छ । महिनौँ लगाएर खन्नुपर्ने खेतबारी ट्याक्टरले दुई दिनमा खन्न थालेपछि काममा सहज हुनुका साथै समयको बचत भएको कार्कीले बताउँछन् । गाउँमा अहिले गहुँ छर्ने बेला भएको भन्दै आफ्नो खेतको काम सकेर अरुकोमा पनि काम भ्याइने उनले उल्लेख गरे । ट्याक्टरको प्रयोग बढेसँगै खेतीबाली लगाउन, माटो धुल्याउन निकै सजिलो भएको अपिहिमाल–४ का किसान बताउँछन् । यसअघि भनेको समयमा गोरू नपाउने, कामदारको अभावलगायत समस्या भोगिरहेका यहाँका किसानलाई ट्याक्टरको प्रयोग बढ्न थालेपछि काममा सहज भएको छ । ट्याक्टरको प्रयोग गरी काम गर्दा समयको बचत हुनुका साथै जमिन बाँझो राख्नुपर्ने बाध्यता अन्त्य भएको विनोद अट्यालले बताए । खेत जोत्न ट्याक्टरको प्रयोग गर्न थालेपछि गोरू र खेताला खोज्नुपर्ने झन्झट हटेको उनको भनाइ छ । कम जनशक्ति र समयमा पनि धेरै काम गर्न सकिने भएकाले ट्याक्टरको प्रयोग उपलब्धिमूलक बनेको उनले बताए । काममा सजिलो हुने भएपछि अहिले गाउँमा सामूहिक रुपमा ट्याक्टर खरिद गरेर भित्र्याउने चलन बढेको छ । सडक नपुगेको अपिहिमालका अधिकांश बस्तीसम्म अहिले ट्याक्टरको पहुँच पुगेको अपिहिमाल–४ का कल्यानसिंह बोहराले जानकारी दिए । उनका अनुसार गाउँमा डिजेल दुई सय ३० रुपैयाँ प्रतिलिटरमा पुगेको भन्दै महँगो भए पनि किसानले ट्याक्टरको प्रयोग गरेर खेतीपाती गर्न थालेका छन् । ‘पाखा र भिरालो बारीमा मकै, गहुँ, जौ, धानलगायत अन्न छर्न अहिले खेत जोत्ने काम गोरूले नगरी मिनिटिलर (हाते ट्याक्टर) बाट हुन थालेको छ । गाउँमा अधिकांशले गोरू पाल्न छोडिसकेका छन्’, बोहराले भने, ‘अहिले खेती गर्न प्रविधिको प्रयोग बढ्दै गएकाले हामीले पनि हाते ट्याक्टरको प्रयोग गर्न थालेका हौँ ।’ अपिहिमाल–२ का डब्बलसिंह कार्कीले गाउँमा थोरै परिवारले मात्रै अहिले गोरू पाल्ने गरेका सुनाए । ‘पाँच–छ वर्ष अघिसम्म गाउँका हरेक घरमा एक हलगोरू हुन्थ्यो । अहिले गाउँमा एकाधबाहेक गोरू नै छैनन्’, उनले भने, ‘दुई–तीन परिवारको खेतमा एउटै व्यक्तिको गोरू प्रयोग हुने गरेको छ । अधिकांशले हाते ट्याक्टर प्रयोग गर्छन् ।’ किसान वसन्तसिंह लोथ्यालले शिक्षा तथा रोजगारीको खोजीमा युवाले गाउँ छोड्दै जाँदा गाउँमा गोरूको विकल्पमा ट्याक्टरको प्रयोग बढ्न थालेको बताए । ‘काम गर्ने युवा गाउँमा नभएपछि गोरू पाल्ने चलन पनि हराउँदै गएको छ । गोरू चराउने, घाँसपानी गर्ने कोही नभएपछि विस्तारै गाउँलेले गोरू पाल्न छोडेका हुन्’, उनले भने । रासस
अध्ययन भन्छ- सन् २०५० सम्म विश्वमा क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या दोब्बर, कमजोर राष्ट्रमा तीन गुणा बढी
काठमाडौं । अस्ट्रेलियाको एक अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्युको सङ्ख्या झण्डै दोब्बर हुने प्रक्षेपण गरेको छ । अध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने अनुमान गरेको छ, जुन सन् २०२२ को ९७ लाखको तुलनामा ८९.७ प्रतिशतले बढी हो । युनिभर्सिटी अफ क्विन्सल्याण्डका हब्तामु बिजुआयेहुको नेतृत्वमा अनुसन्धानकर्ताहरूले १८५ देशका ३६ प्रकारका क्यान्सरका बिरामी र मृत्युदरको विश्लेषण गरी सन् २०५० को संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या पूर्वानुमानमा यो दर लागू गरेर भविष्यका क्यान्सरका बिरामी र मृत्युको प्रक्षेपण गरेका थिए । सन् २०२२ मा दुई करोड क्यान्सर भएकामा सन् २०५० मा तीन करोड ५३ लाख पुग्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानव विकास सूचकाङ्क (एचडीआई) मा कम वरीयता भएका देशहरूमा सन् २०५० सम्ममा क्यान्सरका बिरामी र मृत्युदर तीन गुणाले बढ्ने अनुमान गरिएको छ । सन् २०५० मा फोक्सोको क्यान्सर यस रोगका कारण हुने मृत्युको प्रमुख कारण रहने अनुमान गरिएको छ, जुन सन् २०२२ मा १८.७ प्रतिशत रहेको थियो । सन् २०२२ देखि २०५० को बीचमा महिलाको तुलनामा पुरुषमा क्यान्सरका बिरामी र मृत्यु हुनेको सङ्ख्या केही बढी हुने अध्ययनले देखाएको छ ।
ट्रम्पलाई २४३ इलेक्टोरल मत प्राप्त हुँदा ह्यारिसलाई १९४ : अमेरिकी सञ्चारमाध्यम
काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि मंगलबार भएको निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेद्वार रहेका उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन उम्मेद्वार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार अहिलेसम्म उपराष्ट्रपति ह्यारिसले क्यालिफोर्निया, न्यूयोर्कलगायत १४ वटा राज्यमा बहुमत ल्याउने सुनिश्चित भएको छ भने नेता ट्रम्पले टेक्सास, ओहायो, नर्थ क्यारोलाइना र अन्य भरपर्दो रिपब्लिकन झुकाव भएका राज्यसहित २३ राज्यमा जित हासिल गर्ने देखिएको छ । अहिलेसम्म ट्रम्पले २४३ र ह्यारिसले १९४ इलेक्टोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति पदमा जीतको लागि जादुई इलेक्टोरल सङ्ख्या २७० रहेको छ। पर्यवेक्षकहरूले ह्वाइट हाउसका लागि भएको निर्वाचनमा यस पहिले नै प्रक्षेपण गरिए अनुसार दुबै उम्मेदवारको झण्डै बराबर मत रहेको अनुमान गरिएका केही राज्य निर्णायक हुनेछन् । एपी, सीएनएन, फक्स न्यूज, एमएसएनबीसी÷एनबीसी न्यूज, एबीसी र सीबीएसलगायत अमेरिकी मिडियाको अनुमानको आधारमा प्रत्येक उम्मेदवारले जितेका राज्यहरूको सूची र इलेक्टोरल मतहरूको सम्बन्धित सङ्ख्या निम्नानुसार छ। डेमोक्र्याटिक नेता ह्यारिस पाएका कूल १९४ इलेक्टोरल मतमध्ये क्यालिफोर्नियामा ५४, कोलोराडोमा १०, कनेक्टिकटमा सात, डेलावेयरमा तीन, कोलम्बियामा तीन, हवाईमा चार, इलिनोइसमा, १९, मेरिल्याण्डमा १०, म्यासाचुसेट्समा ११ र न्यू मेक्सिकोमा पाँच, न्यूयोर्कमा २८, ओरेगनमा आठ, रोएड आइल्याण्डमा चार, भर्मोन्टमा तीन, भर्जिनियामा १३, वासिङ्टनमा १२ रहेका छन् । त्यसैगरी, ट्रम्पले पाएका कूल २४३ इलेक्टोरल मतमध्ये अलबामामा नौ, अर्कान्ससमा छ, फ्लोरिडामा ३०, आइडाहामो चार, इन्डियानामा ११, आयोवामा छ, कन्सासमा छ, केन्टकीमा आठ, लुसियानामा छ, मिसिसिपीमा छ, मिसौरीमा १०, मोन्टानामा चार, नर्थ क्यारोलिनामा १६, नर्थ डकोटामा तीन, ओहायोमा १७, ओक्लाहोमा सात, साउथ क्यारोलिनामा नौ, साउथ डकोटामा तीन, टेनिसीमा ११ टेक्सासमा ४०, यूटामा छ, वेस्ट भर्जीनियामा चार, वायोमिङमा तीन रहेका छन् ।
९ वर्ष विदेशमा काम गरेका चन्द्रबहादुर भन्छन् : गाउँमै साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी भयो
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरेले तरकारी खेतीबाट गाउँमै स्वरोजगार र आत्मनिर्भर बनेका छन् । गाउँकै माटोमा तरकारी खेतीमार्फत खुसी र समृद्धि आर्जन गरेका घिमिरे रोजगारीको खोजीमा विदेश भौतारिने युवाहरुका लागि प्रेरणाको स्रोत बनेका हुन् । आफ्नो देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले नौ वर्ष साउदी अरबको बसाइलाई बिट मारेर स्वदेश फर्केका रोहोटेका ५० वर्षीय घिमिरेले साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल भएका छन् । ‘जहाँ भएपनि काम नगरी सुःख पाइदैन,’ उनले भने ‘बिचौलियालाई लाखौ पैसा दिएर आफैलाई बेचेर विदेशमा पुगेर अर्काको नोकर बन्नुभन्दा आफ्नै खेतबारीमा नङग्रा खियाउँदा सन्तुष्टी मिल्दो रहेछ् ।’ पाँच हाइटेक प्रविधिको टनेलमा तरकारी खेती गर्नुभएका घिमिरेको बारीमा अहिले मौसमी र बेमौसमी तरकारीहरु लटरम्मै झुलिरहेका छन् । काउली, बन्दा, मटरकोसा, गोलभेँडा, मूला, साग, धनियाँदेखि लिएर काँक्रा र तीतेकरेलाजस्ता बेमौसमी तरकारी फलाएर घिमिरेले एक याममा चार लाख रुपैयाँभन्दा बढी कमाई हुने बताए । अमृता कृषि फार्म सञ्चालन गरेका घिमिरेले आफ्नै ठाउँमा गरे के हुँदो रहेनछ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । उनले गोलभेडा, काउली, बन्दा, आलु, साग, मौसमी तरकारी र बेमौसमी तरकारीको उत्पादन गरेर बेनी बजारमा बिक्री गर्दै र्आएका छन् । घिमिरेको कृषि फार्ममा श्रीमती र छोराले पनि साथ दिएका छन् । छोरालाई उच्च शिक्षा पढाउन र घरब्यवहार चलाउन तरकारी खेतिले सहज भएको घिमिरेले बताए । कृषि ज्ञान केन्द्रले हाइटेक प्रबिधिको टनेल स्थापना गर्न सहयोग गरेको छ । केन्द्रका प्रमुख सञ्जिब बास्तोला चन्द्रबहादुर मेहनती, परिश्रमी, संघर्षशिल र सफल अगुवा कृषकको पहिचान बनाउन सफल भएका बताउँछन् । बेनी नजिकै रहेको र सडक यातायातको सुविधाका कारण बजारको समस्या नभएपछि छिमेकीको जग्गाका हुर्कदै गरेका रुखको ओसेप घिमिरेको ब्यवसायिक तरकारी खेतीका लागि चुनौति बनेको छ । रासस
छठका लागि महँगो मूल्यमा केरा किन्न बाध्य जनकपुरवासी, भन्सारमा रोक लगाएपछि केराको अभाव
काठमाडौं । मिथिलाञ्चलमा भव्यतापूर्वक मनाइने छठ पर्वको तयारीमा श्रद्धालुहरू लागेका छन् । व्रतालुहरू मंगलबार नहाए खाए विधिसँगै छठ व्रतको शुभारम्भ गरेका छन् भने श्रद्धालुहरू छठ पर्वमा प्रयोग हुने पूजाका सामग्री जुटाउने तयारीमा लागेका छन् । छठ पर्वमा अनिवार्य रुपमा प्रयोग हुने पूजा सामग्रीमा केरा तथा नरिवललगायतका फल पर्छ । अहिले फलफूल मण्डीमा केरा किन्न आउनेहरुको भीड बढेको छ । छठ पर्वको प्रमुख प्रसादको रुपमा प्रयोग हुने केरा किन्नेहरूको जनकपुरधामका प्रमुख बजारमा केही दिन यता भीड लागेको छ । प्रत्येक वर्ष जस्तै यसवर्ष पनि केराको विक्री छठ पर्वको पूर्वसन्ध्यामा व्यापक वृद्धि भएको छ । यद्यपि अन्य वर्षभन्दा महँगो मूल्यमा श्रद्धालुहरू केरा किन्न बाध्य भइरहेका छन् । यस वर्ष पछिल्लो वर्षको तुलनामा दोब्बर मूल्य तिरेर केरा किन्न परिरहेको गुनासो उपभोक्ताहरूको छ । यस वर्ष भारतबाट खरिद गरेर नेपाल भित्र्याउन रोक लगाएकाले केराको अभाव भएको जनकपुरधामस्थित फलफूल व्यवसायी संघका महासचिव भूवनेश्वर पूर्वेले बताए । उनका अनुसार जनकपुरधाम बजारमा पछिल्लो वर्ष ८० ट्रक केराको आयात गरिएको थियो भने यो वर्ष भन्सारमा रोक लगाइएकाले ६० ट्रक केरा आयात गरिएको छ । जनकपुरधाम बजारमा भारतको हाजीपुर, आसाम, समस्तीपुर, सीतामढी लगायतका क्षेत्रबाट आयात गरिँदै आएको थियो । जबकि यस वर्ष नवलपरासीको त्रिवेणीबाट मात्रै केरा बढी मात्रामा आयात गरिएको छ । भारतको केरा सस्तो भएपनि नेपाल भित्र्याउन समस्या भएपछि त्यसको मार उपभोक्तामा पर्ने निश्चित रहेको फलफूल व्यवसायी दीलिप साले बताए । छठका लागि केरा किन्न पुगेका उपभोक्ता पहिलेको तुलनामा छठ पर्व धेरै महँगिएको बताउँछन् । पहिला पहिला ३ सयदेखि ५ सय रुपैयाँमा केरा किन्न पुग्थ्यो । तर यस वर्ष कम्तीमा ८ सयदेखि १ हजार रुपैयाँसम्म मात्रै केरा खरिद गर्नुमा खर्चिनु परिरहेको छ ।
एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने, कात्तिक २७ गते बुकक्लोज
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँको ६.२५६ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ६.२५६ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक २७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरमा लगानीकर्ताहरूले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले एनएलजी इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रिय कार्यालय, लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।
विश्वका ‘टप टेन’ औषधी उद्योग, यस्तो छ वार्षिक आम्दानी
काठमाडौं । विश्वमा औषधी उद्योगले आफ्नो उत्पादन बढाउँदै मनग्य आम्दानी गरिरहेका छन् । विभिन्न क्षेत्रमा औषधी, खोप उत्पादन गर्दै आएका विश्वका १० वटा कम्पनीले क्यान्सर, इम्युनोलजी, र खोपहरूमा नवीनतम् उपचारहरू गरिरहेका छन् । लगानी र उच्च माग भएको क्षेत्रमा ध्यान केन्द्रित गरेर विश्व बजारमा अग्रणी रहेका १० वटा औषधी उद्योगकाे विषयमा यहाँ चर्चा गरिएकाे छ । १. फाइजर फाइजर विश्वका सबैभन्दा ठूलो फार्मास्युटिकल कम्पनीहरूमध्ये एक हो । यसले विभिन्न औषधी र खोपहरूको विकास र उत्पादन गरिरहेको छ । अमेरिकाको न्यूयोर्क सहरमा मुख्यालय रहेको यो कम्पनीले अनकोलोजी, इम्यूनोलोजी, कार्डियोलोजी, एन्डोक्रोनोलोजी र खोपहरू जस्ता विभिन्न अवस्थाहरूको लागि उपचारहरू प्रदान गर्ने मजबुत पोर्टफोलियो बनाएको छ । सन् २०२३ मा फाइजरले निकै महत्त्वपूर्ण आम्दानी गरेको छ । जसको प्रमुख कारण काभिड-१९ को खोप कमिर्नाटी र एण्टीभाइरल उपचार प्याक्सलोभिड हो । यी उत्पादनहरूले महामारीको समयमा कम्पनीको वित्तीय सफलतामा महत्त्वपूर्ण योगदान गरेका थिए । फाइजरले जीन थेरापी र अनकोलोजी जस्ता क्षेत्रमा नवप्रवर्तनमा ध्यान केन्द्रित गर्दै आफ्नो पाइपलाइनलाई विस्तार गर्ने प्रयास गरिरहेको छ । यसले सन् २०२३ मा लगभग ५८.५ अर्ब अमेरिकन डलरको आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशत कम भए पनि अन्यकाे तुलनामा बढी हाे । यो गिरावट मुख्यतया कोभिड १९ खोप एण्टीभाइरल औषधी प्याक्सलोभिड बिक्रीमा कमीका कारण हो, जसको माग महामारीको चरम समयमा स्थिर भएको छ । आम्दानीमा गिरावटका बावजुद फाइजरले अनुसन्धान र विकासमा लगानी जारी राखेको छ । फाइजरले भविष्यको वृद्धिका लागि नयाँ मार्ग खोल्न काम गरिरहेको छ । सन् २०२४ र त्यसपछि लागि मजबुत आधार तयार गर्दैछ । सन् २०२३ मा फुड एन्ड ड्रग्स एड्मिनिस्ट्रेसन (एफडीए)ले नयाँ आणविक इकाईहरूको स्वीकृति दिएको छ । जसले आगामी वर्षहरूमा फाइजरको पोर्टफोलियोमा महत्त्वपूर्ण वृद्धि गर्ने अपेक्षा छ। २. जोन्सन एण्ड जोन्सन जोन्सन एण्ड जोन्सन वैश्विक सबैभन्दा दोस्रो ठूलो स्वास्थ्य सेवा कम्पनी हो । यसलाई सामान्यतया जे एण्ड जे पनि भनिन्छ । यो कम्पनी अहिले एब्भी कम्पनीलाई उछिनेर दोस्रो स्थानमा पुगेको छ । न्यू जर्सीमा मुख्यालय रहेको यो कम्पनीले फार्मास्युटिकल, चिकित्सा उपकरण र उपभोक्ता स्वास्थ्य उत्पादनहरूको विकास र उत्पादन गरिरहेको छ । यो कम्पनी स्वास्थ्य सेवामा नवप्रवर्तन र गुणस्तरमा प्रतिबद्धताका लागि परिचित छ । जसले विश्वभरका विभिन्न स्वास्थ्य आवश्यकताहरू पूरा गर्ने उत्पादनहरू प्रदान गर्दछ । कम्पनीको विविध पोर्टफोलियोमा प्रख्यात औषधीहरू, शल्यक्रियाका उपकरणहरू र अनिवार्य उपभोक्ता स्वास्थ्य उत्पादनहरू समावेश छन् । जसले विभिन्न उत्पादनहरू जस्तै फार्मास्युटिकल, उपभोक्ता स्वास्थ्य उत्पाद, र चिकित्सा उपकरणहरूको विकास र वितरणमा संलग्न छ । यो कम्पनीको स्थापना १८८६ मा भएको हो र यसले विश्वभर स्वास्थ्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ । सन् २०२३ मा यस कम्पनीले ५४.८ अर्ब अमेरिकी डलर आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले बढी हो । कम्पनीले औषधी, चिकित्सा उपकरण र उपभोक्ता स्वास्थ्य क्षेत्रहरूमा वृद्धि जारी राख्नको लागि अनुसन्धान र विकासमा लगानी गर्न सक्रिय रूपमा काम गरिरहेको छ। ३. एब्भी (एबीबीभीआई) यो एक बायोफार्मास्युटिकल कम्पनी हो । जसको मुख्यालय नर्थ शिकागो, इलिनोइसमा छ । यो सन् २०१३ मा एबोट लेबोरेटेरीजबाट स्पिनअफको रूपमा स्थापित भएको हो । यसले मुख्य रूपमा इम्यूनोलोजी, अनकोलोजी, न्यूरोसाइन्स, र भाइरोलोजीमा ध्यान केन्द्रित गर्दछ । यसले विशेष रूपमा ब्लोकबस्टर औषधि हुमिरा (अडालिमुमाब) का लागि परिचित छ । जुन कम्पनीको लागि महत्त्वपूर्ण आम्दानीको स्रोत बनिसकेको छ । यद्यपि यसले यसको प्याटेन्ट समाप्त भएको पछि केही बजारमा बायोसिमिलर प्रतिस्पर्धाको सामना गर्नुपरेको छ । सन् २०२३ मा यसले लगभग ५५.५ अर्ब डलरको आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ७ प्रतिशत कम हो । यद्यपि, कम्पनीले नयाँ उत्पादनहरूको विकासमा सक्रिय रूपमा काम गरिरहेको छ, जसमा रुमेटोइड आर्थराइटिस र अनकोलोजीका उपचारहरू समावेश छन्। यस कम्पनीको ध्यान नवीनता र अनुसन्धानमा केन्द्रित छ, यसले धेरै आशाजनक थेरापीहरूको विकासमा मद्दत गरेको छ, जसले विशेष रक्त क्यान्सरको उपचारमा योगदान पुर्याउँछ । ४. मर्क एण्ड कम्पनी यो एक प्रमुख स्वास्थ्य कम्पनी हो । १ सय ३० वर्षको इतिहास बोकेको मर्क कम्पनी औषधी र खोपमा आफ्ना योगदानका लागि परिचित छ । विशेषगरी अनकोलोजी, हृदयरोग, इम्यूनोलोजी, र संक्रमणका रोगहरूमा यसले औषधी उत्पादन गर्दै आएको छ । सन् २०२३ मा यसले लगभग ६०.१ अर्ब डलर आम्दानी गरेको छ । विशेष रूपमा क्यान्सरको इम्यूनोथेरापी कीट्रुडाले बजारमा प्रभाव पारिरहेको छ । कम्पनीले विभिन्न प्रकारका क्यान्सरको उपचारका लागि महत्त्वपूर्ण प्रगति गरेको छ । यसले एचपीभी र कोभिड १९ को लागि उत्पादनहरू समावेश गर्ने खोपको पोर्टफोलियो विस्तार गर्दैछ । यसले अनुसन्धान र विकासमा पनि ठूलाे लगानी गरिरहेकाे छ । यसमा नयाँ थेरापीहरूको एक मजबुत पाइपलाइन समावेश छ जसमा अल्जाइमर रोग र मधुमेहका लागि उपचार समावेश छन् । कम्पनीले नवीनतम् औषधीहरूलाई अगाडि बढाउँदै र औषधी उद्योगमा आफ्नो नेतृत्वको स्थिति कायम राख्दै वृद्धिको क्रममा रहनको लागि प्रयास गरिरहेको छ । कम्पनीको अनुसन्धान र विकासमा प्रतिबद्धता बलियो छ र यसले अनकोलोजी, मधुमेह, र संक्रमणका रोगहरूमा विभिन्न उपचारहरूको नवीनतम् विकासमा लगानी गरिरहेको छ। ५. रोश यो एक स्विस बहुराष्ट्रिय स्वास्थ्य कम्पनी हो । जसको मुख्यालय बासेल, स्विट्जरल्याण्डमा छ । औषधी र डायग्नोस्टिक्समा ध्यान केन्द्रित गर्दै यो जैव-प्राविधिक क्षेत्रको एक प्रमुख कम्पनीको रूपमा परिचित छ । रोशले दुई मुख्य विभागहरू सञ्चालन गर्दै आएको छ । औषधी क्षेत्रमा यसले अनकोलोजी, इम्यूनोलोजी, संक्रमणका रोगहरू र न्यूरोसाइन्समा महत्त्वपूर्ण प्रगति गरेको छ । यसको केही चर्चित उत्पादनहरूमा क्यान्सर औषधीहरू हेरसेप्टिन र अवास्टिन, साथै एन्टिभाइरल औषधी छन् । कम्पनी नवप्रवर्तनात्मक थेरापी र व्यक्तिगत चिकित्सा विकासमा भारी लगानी गर्ने प्रतिबद्धताका लागि परिचित छ । सन् २०२३ मा यो ले लगभग ६७ अर्ब डलरको आम्दानी गरेको छ । कम्पनीसँग अनकोलोजी र इम्यूनोलोजीका क्षेत्रमा विकासमा रहेका नयाँ उपचारहरूको एक मजबूत पाइपलाइन छ, जुन भविष्यको वृद्धिलाई चलाउने अपेक्षा गरिएको छ । यसले डायग्नोस्टिक समाधानहरूमा पनि अग्रणी भूमिका निभाएको छ, जसले रोग पहिचान र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने परीक्षणहरू प्रदान गर्दछ। ६. सनोफी यो विश्वको आठौं ठूलो स्वास्थ्य कम्पनी हो । जसको मुख्यालय पेरिस, फ्रान्समा स्थित छ । यो कम्पनी औषधी उत्पादन, अनुसन्धान र विकासमा केन्द्रित छ । यसले विभिन्न थेरापी क्षेत्रहरूमा मजबूत उपस्थिति बनाएको छ, जसमध्ये खोप, दुर्लभ रोगहरू, इम्यूनोलोजी, अनकोलोजी, र हृदय स्वास्थ्य समावेश छन् । अहिले आफ्नो उत्पादन पोर्टफोलियोलाई विस्तार गर्न महत्त्वपूर्ण कदमहरू उठाएको छ । सन् २०२३ मा यो कम्पनीले ४६.२ अर्ब अमेरिकी डलरको आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले बढी हो । यो वृद्धि खोप र विशेष उपचारका औषधिहरूको बलियो बिक्रीबाट समर्थित भएको छ । यो निरन्तर नवप्रवर्तनका लागि अनुसन्धान र विकासमा भारी लगानी गरिरहेको छ र साथसाथै नयाँ थेरापीहरू बजारमा ल्याउन र चिकित्सा आवश्यकता पूरा गर्न प्रयासरत छ । ग्लाक्सोमिथक्लाइन-जीएसके) सँग समान रणनीतिक कदममा, सनोफीले २०२३ को अन्त्यमा आफ्नो ओटीसी व्यवसायलाई विभाजन गर्ने योजना घोषणा गरेको थियो । ७. एस्ट्राजेनिका यो एक विश्वव्यापी बायोफार्मास्युटिकल कम्पनी हो । जसले क्यान्सर, हृदयरोग, सङ्क्रमण, न्यूरोसाइन्स, श्वासप्रश्वासका रोगहरू र सूजन जस्ता प्रमुख रोग क्षेत्रहरूको लागि समाधान विकासमा ध्यान केन्द्रित गर्दछ । जसको मुख्यालय क्याम्ब्रिज, यूकेमा छ । यो एस्ट्रा एबी, जेनिका ग्रुप पीएलसीस एकीकरण भएर सन १९९९ मा स्थापना भएको कम्पनी हो । यसले २०२१ मा दुर्लभ रोगका उपचारको क्षेत्रमा आफ्नो उपस्थितिलाई बलियो बनाउन अमेरिकाको फार्मा कम्पनी एलेक्सियनको अधिग्रहण गरेको थियो । यस रणनीतिक अधिग्रहणले एस्ट्रोजेनिकाकाे विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ । सन् २०२३ को पूर्ण वर्षमा स्ट्रोजेनिकाले ३ प्रतिशत वृद्धिदर देखाएको छ, जसको मुख्य कारण सबै प्रमुख औषधी र भौगोलिक क्षेत्रहरूको राम्रो प्रदर्शन हो । सन् २०२३ मा यो कम्पनीले ४५.८ अर्ब अमेरिकी डलरको आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३ प्रतिशतले वृद्धि हो । यो वृद्धि कम्पनीका प्रमुख थेरापी क्षेत्रहरू जस्तै अनकोलोजी, श्वासप्रश्वास, र हृदयविकारका उत्पादनहरूको बलियो बिक्रीको कारण हो । ८.नोभार्टिस यो एक स्विस बहुराष्ट्रिय औषधी कम्पनी हो । जसले नव उपचारात्मक औषधीहरूको अनुसन्धान, विकास र उत्पादनमा विशेषज्ञता हासिल गरेको छ । यसको मुख्यालय स्विट्जरल्याण्डको बासेलमा रहेको छ र यो विभिन्न चिकित्सकीय क्षेत्रहरूमा ध्यान केन्द्रित गर्दछ, जसमा क्यान्सर, इम्युनोलोजी, हृदयरोग र न्यूरोसाइन्स समावेश छन् । सन २०२३ मा यो कम्पनीले ४५.४ अर्ब अमेरिकी डलरको आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले बढी हो । यो वृद्धि नव उपचारात्मक औषधी पोर्टफोलियो र सफल नयाँ उत्पादन लञ्चहरूको बलियो बिक्रीमा आधारित रहेको कम्पनीले जनाएको छ । यसले विशेष गरी क्यान्सर उपचार क्षेत्रमा औषधीहरू उत्पादन गरिरहेको छ । यो कम्पनीले आफ्नो पाइपलाइनलाई विस्तार गर्नका लागि जीन थेरापी र उन्नत थेराप्युटिक्समा लगानी गरिरहेको छ । ९ .ब्रिस्टल-मायर्स स्क्विब ब्रिस्टल–मायर्स स्क्विब एक फर्मास्युटिकल कम्पनी हो । जसको मुख्यालय अमेरिकाको न्यू जर्सीमा छ । जसले क्यान्सर हृदयरोग इक्युनोलोजी र भाइरस रोगहरू निको पार्ने औषधी उत्पादन गर्छ । यो कम्पनीको स्थापना सन १८८७ मा भएको पाइन्छ । यसले अनकोलोजी, हेमटोलोजी, इम्यूनोलोजी र हृदय रोगमा महत्त्वपूर्ण प्रगति हासिल गरेको छ । यसले चिकित्सा क्षेत्रमा ठूलो योगदान पुर्याएकाे छ । यसले विशेष गरी मल्टिपल माइलोमा र अन्य ब्लड क्यान्सरको उपचारमा प्रयोग हुने एक शक्तिशाली औषधी (एलिकिस), रक्त जम्ने समस्याहरूको रोकथाम र उपचारमा प्रयोग हुने (रिभलिमिड), विभिन्न प्रकारका क्यान्सरहरूको उपचारमा प्रयोग हुने इम्यूनोथेरापी औषधि (ओपिडिभो) , मेलानोमा र अन्य क्यान्सरहरूको उपचारमा सहायक हुने अर्को इम्यूनोथेरापी (येर्भोय) औषधीको उत्पादन गर्छ । यसले अनुसन्धान र विकासमा पनि ठूलो लगानी गर्दै आएको छ । यसले विभिन्न प्रकारका रोगहरूको उपचारमा अन्वेषण जारी राख्दै बायोलोजिक्स र जैविक औषधिहरूमा नवप्रवर्तनमा ध्यान केन्द्रित गरिरहेको छ । यो कम्पनीले सन् २०२३ मा करिब ४६ अर्ब अमेरिकी डलरको आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३ प्रतिशतले कमी हो । यस गिरावटको मुख्य कारण मल्टिपल माइलोमा उपचारमा प्रयोग हुने रिभलिमिडको विशेषता समाप्त हुनु हो । केही चुनौतीहरूको सामना गर्दा पनि यस कम्पनीले नयाँ उपचारहरूको पाइपलाइन विस्तारमा ध्यान केन्द्रित गर्न जारी राखेको छ । १०. जीएसके ग्ल्याक्सोस्मिथक्लाइन (जीएसके) यो कम्पनी एक प्रमुख बहुराष्ट्रिय औषधी कम्पनी हो । यसले औषधी, खोप र जैविक औषधी उत्पादन गर्छ । यसको स्थापना सन २ हजारमा ग्लैक्सो वेलकम र स्मिथक्लाइन बीचमा पीएलसीको मर्जरबाट भएको थियो । यो कम्पनीले प्रतिरक्षा, श्वासप्रस्वास एचआइभी एड्स र अन्य संक्रामक रोगहरूका औषधीमा विशेषज्ञता राख्छ । विशेषगरी यसले शिंग्रिक्स (दादको लागि खोप), नुकाला (दम उपचार), एचआइभी को उपचारमा संलग्न औषधीहरू उत्पादन गर्छ । यो कम्पनीले यसका अतिरिक्त बायोटेक क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्न नयाँ साझेदारी र प्राविधिक नवप्रवर्तनमा जोड दिइरहेको छ । जीएसकेले खोप उत्पादनमा पनि ठूला परियोजनाहरूमा संलग्नता जनाइरहेको छ । यसले कोभिड १९ खोप विकासमा साझेदारी गरेको छ । यसको अनुसन्धान र विकास क्षेत्रमा ठूलो लगानी रहेको छ । जुलाई २०२२ मा यसले आफ्नो कन्ज्युमर हेल्थकेयर व्यवसायलाई हेलियन समूह बनाउनका लागि छुट्याएकाे थियाे र २०२४ को सुरुवातमा ३८५ मिलियन साधारण सेयर बेचेर पूर्ण रूपमा अलग भयो । यस कदमले जीकेएसलाई आफ्ना बायोफार्मास्युटिकल व्यवसायमा मात्र ध्यान केन्द्रित गर्न अनुमति दियो, जसमा विशेषगरी नयाँ खोप र औषधि विकासमा लगानी गर्न प्राथमिकता दिइरहेको छ । यसले २०२३ मा ३८.४ अर्ब अमेरिकन डलरको आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले बढी हो । यो वृद्धि औषधी र भ्याक्सिन बिक्रीको कारणले भएको हो ।