फुर्केखोला पुल बाढीले बगायो, धादिङबेँसी–राष्ट्रिय राजमार्ग सम्पर्क विच्छेद
काठमाडौं । तिब्बतबाट आएको बाढीले धादिङको फुर्केखोलामा रहेको पुल बगाएको छ । पुल बगेसँगै धादिङ सदरमुकाम धादिङबेँसीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडक सम्पर्क प्रभावित भएको छ। स्थानीय राजकुमार सेढाईका अनुसार बुधबार आएको बाढीले फुर्केखोलाको पुल पूर्णरूपमा बगाएको हो । पुलको छेउमै होटल व्यवसाय सञ्चालन गर्दै आएका सेढाईको घरसमेत बाढीले बगाएको उनले जानकारी दिए । अचानक आएको बाढीले पुलसहित आसपासका संरचनामा क्षति पुर्याएको हो पुल बगाएपछि धादिङबेँसीबाट राष्ट्रिय राजमार्गतर्फ हुने आवतजावतमा समस्या उत्पन्न भएको स्थानीयले बताएका छन् । बाढीका कारण फुर्केखोला आसपासको सडक तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको जनाइएको छ। घटनापछि स्थानीय प्रशासन तथा सुरक्षा निकायले क्षतिको विवरण संकलन र प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनको काम अघि बढाएका छन्। बाढीका कारण पुल बग्दा धादिङबेँसीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने महत्वपूर्ण सडकमा यातायात प्रभावित भएको छ। थप क्षतिको विवरण भने संकलन भइरहेको छ।
बाढीका कारण मनकामना केबलकार बन्द
काठमाडाै । आज बिहान एक्कासी आएको बाढीका कारणले मनकामना केबलकार बन्द गरिएको छ । सुवाबाट आएको बाढी भोटेकोशी हुँदै त्रिशुलीमा अघि बढेपछि केबलकार बन्द गरिएको हो । मनकामना केबर कारका डिजीएम उज्ज्वल शेरचनले बाढीका कारणले केबलकार बिहान ११ः३० बजेदेखि सञ्चालनमा रोक लगाइएको बताए ।
रसुवामा १२ वटा हेलिकोप्टर परिचालन, १२ जनाको उद्धार
काठमाडौं । रसुवामा नेपाली सेनाले १२ जनाको उद्धार गरेको छ । नेपाली सेनाले हेलिकप्टरमार्फत स्याप्रुबेसीबाट ६, मैलुङबाट २ र धुन्चेबाट ४ गरेर जम्मा १२ जना जनालाई उद्धार गरेको हो । नेपाली सेनाको ४ र निजी कम्पनीका ८ गरी जम्मा १२ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको मेडिकल टिमद्वारा त्रिशुलीस्थित नम्बर १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको सेनाले बताएको छ । बुधबार बिहान ९ बजे आएको बाढीले रसुवाका विभिन्न क्षेत्रमा असर गरिरहेको छ ।
रसुवा बाढी अपडेटः सयौं मानिस बेपत्ता, फोन सम्पर्क टुट्यो
काठमाडौं । रसुवामा आएको बाढीले सयौं मानिस बेपत्ता भएका छन् । रसुवा गाउँपालिका ६ का वडा सदस्य लाक्पा घलेले बिहान आएको बाढीले सयौं मानिस बेपत्ता भएको जानकारी दिए । ‘हाइड्रोपावरमा काम गर्ने र गाउँका धेरे मानिस सम्पर्कविहिन भएका छन्,’ उनले भने, ‘फोनको नेटवर्क नभएकाले कसैसँग सम्पर्क भएका छैनन् । हामीले सोचेभन्दा ठूलो क्षति भएको छ ।’ हाइड्रोपावरको मेसिनसमेत बगाएको उनले जानकारी दिए । बिस्तारै मौसम खुला हुँदै गएको उनले जानकारी दिए । बेपत्ता मानिसको खोजी कार्य जारी रहेको उनले बताए । ‘कति मानिस बेपत्ता त्यसको जानकारी आएको छैन,’ घलेले भने ।
बाढी प्रभावित क्षेत्रमा पदयात्री तथा पर्यटकलाई नजान गृह मन्त्रालयको आग्रह
काठमाडौं। गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा पदयात्रा तथा भ्रमण नगर्न स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न र उच्च सतर्कता अपनाउन अपिल गरेको हो । विशेष गरी त्रिशूली नदी करिडोर आसपासका रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका क्षेत्रमा भ्रमणमा रहेका वा बसोबास गरिरहेका पर्यटकहरूलाई विशेष सावधानी अपनाउन मन्त्रालयले ध्यानाकर्षण गराएको छ । नदी किनार, पुल तथा होँचा क्षेत्रहरूमा नजान, स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशिका पालना गर्न र स्थिति सामान्य नभएसम्म सुरक्षित स्थानमा रहन गृह मन्त्रालयले अनुरोध गरेको छ। गृहमन्त्री सुदन गुरुङले सर्वसाधारण तथा यात्रीहरूलाई प्रभावित राजमार्ग र नदी करिडोरहरूमा अनावश्यक आवतजावत नगर्न अनुरोध गरेका छन् । उनले भोटेकोशी र त्रिशूली नदी आसपास तथा मुग्लिनसम्मका तटीय क्षेत्रमा बस्ने बासिन्दा र पर्यटकहरूलाई अर्को सूचना नआएसम्म उच्च सतर्कता अपनाउन अपिल गरेका छन् । आइतबार बिहान करिब ८ः३० बजे तिब्बत क्षेत्रबाट रसुवास्थित भोटेकोशी नदीमा अचानक भीषण बाढी आउँदा ठूलो क्षति पुगेको छ । बाढीका कारण टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्तीहरूमा क्षति पुगेको छ भने भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रहरूमा उच्च जोखिम बढाएको छ । बाढी नुवाकोट र धादिङ हुँदै तल्लो तटीय क्षेत्र मुग्लिनतर्फ अघि बढिरहेको अनुमान गरिएको छ । उक्त क्षेत्रमा अहिले क्षतिको विवरण संकलन गर्नुका साथै आपत्कालीन उद्धार तथा राहत कार्यको समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।
भोटेकोशी बाढी : प्रधानमन्त्री बालेनले बोलाए आपत्कालीन बैठक
काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन् । बाढी प्रभावितको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरूसहित उच्चस्तरीय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शाहले उद्धार कार्यलाई तत्काल तीव्र बनाउन र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकेका छन् । सचिवालयका अनुसार विशेषगरी भोटेकोशीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ । सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र जोखिम व्यवस्थापनका सबै संयन्त्र परिचालन गरेको जनाएको छ ।
बाढीका कारण ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरियो
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर गएको छ । ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार बाढीका कारण ११ वटा जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४०५ मेगावाट र २५ मेगावाट सौर्य विद्युत् गरी कुल ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको हो , बाढीका कारण रसुवागढी, चिलिमे, त्रिशूली-३ ‘ए’, त्रिशूली-३ ‘बी’ हब २२० केभी सबस्टेसन, त्रिशूली तथा देविघाट जलविद्युत् केन्द्रलगायत संरचनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। विभिन्न वितरण संरचनामा समेत क्षति पुगेपछि विद्युत् आपूर्ति प्रभावित भएको हो । बाढीका कारण जनधनको ठूलो क्षति हुनुका साथै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ । विद्युत् प्रणालीमा परेको क्षति तथा प्रभावित आयोजनाबारे विस्तृत विवरण आउन अझै बाँकी रहेको छ ।
रसुवामा बाढीको बहाब घट्यो
काठमाडौं । रसुवामा आएको बाढीको बहाब घटेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले रसुवामा आएको बाढीको बहाब नुवाकोटतर्फ घट्दै गएको जानकारी दिए । नेपाली सेनाको बाढीले क्षति पुर्याएको क्षेत्रमा उद्धार गर्न तीन वटा हेलिकोप्टर परिचालित गरेको छ । सेनाका अनुसार एमआइ १७ सहित तीनवटा हेलिकोप्टर परिचालित छन् । स्याफ्रुबेँसी, टिमुरे र मैलुङ क्षेत्रमा सेनाको हेलिकोप्टर परिचालित छन् । केही ठाउँमा सेनाको हेलिकोप्टर ल्याण्ड हुन नसकेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । बुधबार बिहान ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्याएको छ । प्रहरीका तीन वटा युनिट बगाएको छ । केही प्रहरी सम्पर्कविहिनसमेत भएका छन् । स्याफ्रुबेसी, मैलुङ र टिमुरेमा रहेका प्रहरीका युनिट बगाएको प्रहरीले जनाएको छ ।