विकासन्युज

आइसीएफसी फाइनान्सद्वारा मानव कल्याण समाजलाई सरसफाइ सामग्री सहयोग

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित मानव कल्याण समाजलाई सरसफाइ सामग्री सहयोग गरेको छ । फाइनान्सले धुलिखेल नगरपालिका वडा नं. १० मा सञ्चालित समाजको सेवा घरमा आश्रित असहाय वृद्धवृद्धाहरूका लागि आवश्यक चप्पल, साबुन, स्याम्पु, फिनेल, कुचो तथा झाडु लगायत दैनिक प्रयोग हुने सरसफाइका सामग्रीहरू प्रदान गरेको हो । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक कुमार गौतमको प्रमुख आतिथ्यतामा सो सामग्री वितरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा फाइनान्सका तर्फबाट मार्केटिङ विभाग प्रमुख सन्जोक गुरुङ, बनेपा शाखा प्रबन्धक निर्मल त्रिपाठी, कर्मचारीहरू नफिसा ताम्राकार र निर्माता रायमाझी लगायतको उपस्थिति रहेको थियो । हाल मुलुकभर २१ वटा शाखाहरू मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको आइसीएफसी फाइनान्सले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक तथा मानवीय कार्यहरू गर्दै आएको छ । फाइनान्सको यस सहयोगले धुलिखेल सेवा घरमा आश्रित ५५ जना असहाय वृद्धवृद्धाहरूको स्वास्थ्य र  सरसफाइमा ठूलो सघाउ पुग्ने अपेक्षा गरिएको छ।    

अर्थमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले बीवाईडी प्रकरणबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद् र जनतासमक्ष स्पष्ट जवाफ दिनुपर्ने बताएकी छन् ।  मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।  ‘बीवाईडी गाडी आयात प्रकरणमा अर्थमन्त्रीले आफ्नो भूमिका र जिम्मेवारीबारे स्पष्ट जवाफ दिनुपर्छ । निष्पक्ष छानबिनका लागि उहाँ तत्काल जिम्मेवारीबाट अलग हुनुपर्छ,’ उनले भनिन् ।

कांग्रेसमा ४ लाख २३ हजारभन्दा बढीले गरे सदस्यता अद्यावधिक

काठमाडौं । नेपाली कांग्रेसले हालसम्म ४ लाख २३ हजार २३७ जना क्रियाशील सदस्यले सदस्यता अद्यावधिक गरिसकेको जनाएको छ । पार्टीका महामन्त्री प्रदीप पौडेलका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये उक्त संख्याका सदस्यले एनसीआईडी प्राप्त गरी सदस्यता अद्यावधिक प्रक्रिया पूरा गरेका छन् । उनले १ लाख १ हजार ३०९ जनाले अद्यावधिक फारम पेस गरेर प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिए । यद्यपि, अझै २ लाख ५७ हजार ६६३ सदस्यले आफ्नो विवरण अद्यावधिक गर्न बाँकी रहेको उनले बताए । महामन्त्री पौडेलले सदस्यता अद्यावधिकको समयसीमा सकिन अब दुई दिन मात्र बाँकी रहेको उल्लेख गर्दै प्राविधिक वा अन्य कुनै कारणले छुटेका सबै इच्छुक सदस्यलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा विवरण अद्यावधिक गर्न आग्रह गरेका छन् । उनले पार्टीका अग्रज नेता, विभिन्न तहका पदाधिकारी तथा अगुवा कार्यकर्तालाई आफूले सदस्यता अद्यावधिक गर्नुका साथै आफ्नो कार्यक्षेत्रभित्र रहेका अन्य क्रियाशील सदस्यलाई पनि यस प्रक्रियामा सहभागी गराउन सक्रिय भूमिका निर्वाह गर्न अपिल गरेका छन् । पौडेलले प्रविधिमा आधारित संगठन निर्माण र व्यवस्थित सूचना प्रणाली विकास गर्ने पार्टीको महाअभियानमा सबै नेता–कार्यकर्ता तथा सदस्यलाई साथ दिन आग्रह गरेका छन् । यसैबीच, पार्टीले सञ्चालन गरिरहेको सदस्यता अद्यावधिक अभियानप्रति पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला निकट समूहका केही नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन् । सोही कारण करिब दुई लाख सदस्यले अझै सदस्यता अद्यावधिक नगरेको बताइए पनि संस्थापन पक्षले भने शीर्ष नेताबाहेक इतर पक्षका अधिकांश नेताहरूले सदस्यता अद्यावधिक गरिसकेको दाबी गरेको छ ।    

एमाले पुनर्गठन कार्यदलको पहिलो बैठकमा ओली स्वयं सहभागी

काठमाडौं । नेकपा एमालेले गठन गरेको पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठकमा अध्यक्ष केपी शर्मा ओली स्वयं सहभागी भएका छन् । पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणबारे बहस चलिरहेका बेला ओलीको कार्यदल बैठकमा उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा मंगलबार सुरु भएको बैठकमा कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा सहित उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा तथा महासचिव शंकर पोखरेललगायत शीर्ष नेताहरू सहभागी छन् । एमाले कार्यालय सचिव डा. भीष्मराज अधिकारीका अनुसार कार्यदलले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा थप एकताबद्ध, सुदृढ र प्रभावकारी बनाउने उद्देश्यका साथ पुनर्गठनसम्बन्धी कार्ययोजना तयार गर्नेछ । उनका अनुसार कार्यदलले संगठन सुदृढीकरण, रूपान्तरण तथा पार्टी संरचनालाई समयानुकूल बनाउने विषयमा अध्ययन गरी आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको छ । एमालेले पछिल्लो समय देखिएका राजनीतिक तथा संगठनात्मक चुनौतीहरूको समीक्षा गर्दै पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्ने लक्ष्यसहित उक्त कार्यदल गठन गरेको हो । पहिलो बैठकले कार्यदलको कार्यविधि, प्राथमिकता र आगामी कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ ।

महावीर पुनलाई विज्ञान प्रविधि मन्त्री बनाउने तयारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारमा स्वतन्त्र सांसद महावीर पुनलाई महत्त्वपूर्ण जिम्मेवारी दिने तयारी गरिएको छ । बालुवाटार उच्च स्रोतका अनुसार सांसद पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बनाउने गृहकार्य अन्तिम चरणमा पुगेको हो । वैज्ञानिक तथा अनुसन्धानकर्ताको पहिचान बनाएका पुनलाई उनकै विज्ञता सुहाउँदो मन्त्रालयको जिम्मेवारी सुम्पिने तयारी प्रधानमन्त्री शाहले गरेका हुन् ।  यद्यपि उनको नियुक्ति र शपथ ग्रहणको मितिबारे सरकारले औपचारिक घोषणा गर्न भने बाँकी नै रहेको स्रोतले जनाएको छ । वर्तमान प्रतिनिधि सभामा स्वतन्त्र सांसदको भूमिकामा रहेका पुन यसअघि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्री बनिसकेका अनुभवी व्यक्तित्व हुन् । यता सुदन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन् । उनलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गुरुङको शपथग्रहण आजै हुने तय भएको छ । यसका लागि दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा शपथ समारोहको तयारी गरिएको छ । यसअघि सम्पत्ति विवरणलगायत विभिन्न विवादमा मुछिएपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि सरकारले उनीमाथि लागेका आरोपबारे छानबिन गर्न समिति गठन गरेको थियो ।

निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्वाचित

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघको नवाैं र दशौं संयुक्त वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष राजेन्द्र मल्लको सभापतित्वमा सम्पन्न सभाले विभिन्न प्रस्तावहरू पारित गरेको छ । सभाले प्रगति विवरण, आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को आयव्यय विवरण पारित गर्नुका साथै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव स्वीकृत गरेको छ । कार्यक्रममा बीमा क्षेत्रका विद्यमान समस्या, हालैको बजेटमा समेटिएका बीमासम्बन्धी व्यवस्थाहरू तथा आगामी कार्यदिशाबारे सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए । साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसअनुसार अध्यक्षमा मनोहर दास मुल (सगरमाथा लुम्बिनी इन्स्योरेन्स), उपाध्यक्षमा आजाद श्रेष्ठ (युनाइटेड अजोड इन्स्योरेन्स), महासचिवमा महेन्द्र कृष्ण श्रेष्ठ (हिमालयन एभरेष्ट इन्स्योरेन्स) र कोषाध्यक्षमा रमेश कुमार निरौला (नेको इन्स्योरेन्स) चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा कुनाल कयाल (सानिमा जिआईसी इन्स्योरेन्स) र पवन अग्रवाल (सिद्धार्थ प्रिमियर इन्स्योरेन्स) रहेका छन् । निवर्तमान अध्यक्ष राजेन्द्र मल्लको योगदानको कदर गर्दै उनलाई कार्यसमितिमा आमन्त्रित गर्ने निर्णय पनि गरिएको छ । सभामा राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष निर्मल ढकाल, एनएलजी इन्स्योरेन्सका अध्यक्ष विमल प्रसाद वाग्ले, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालक कृष्ण प्रसाद शर्मा तथा हिमालयन एभरेष्ट इन्स्योरेन्सका सञ्चालक अजय स्थापितलगायतको उपस्थिति रहेको थियो । 

सुदन गुरुङ पुनः गृहमन्त्री बन्ने, आजै शपथ

काठमाडौं । सुदन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा उनलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गुरुङको शपथग्रहण आजै हुने तय भएको छ । यसका लागि दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा शपथ समारोहको तयारी गरिएको छ । यसअघि सम्पत्ति विवरणलगायत विभिन्न विवादमा मुछिएपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि सरकारले उनीमाथि लागेका आरोपबारे छानबिन गर्न समिति गठन गरेको थियो । छानबिन समितिले गुरुङलाई आरोपबाट मुक्त गर्दै प्रतिवेदन बुझाएपछि उनलाई पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्काउने निर्णय गरिएको स्रोतले जनाएको छ ।

यी हुन् मन्त्रिपरिषद बैठकका ४ निर्णय

काठमाडौं । मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । मंगलबार (आज) बसेको बैठकले विभिन्न ४ निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । सरकारले तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, हुन्सार खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।  त्यसैगरी, निजामती सेवा १६ औं संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।  त्यस्तै, सरकारले विशालकुमार भण्डारी, दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिए । त्यस्तै, सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुदन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।