विकासन्युज

अमेरिकी डलरले बनायो नयाँ रेकर्ड, यूरो र पाउण्डको मूल्यमा वृद्धि

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । बिहीबार अमेरिकी डलरको भाउ हालसम्म कै उच्च बिन्दुमा पुगेको डलरको भाउ शुक्रबार उक्त थप बलियो बनेको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.७० रुपैयाँ र बिक्रीदर १३५.३० रुपैयाँ तोकेको छ । जुन मूल्य हालसम्मकै उच्च हो । यसअघि हिजो अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.५४ रुपैयाँ र बिक्रीदर १३५.१६ रुपैयाँ तोकेको थियो । अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ । आज युरोपियन यूरोको एकको खरिदर १४४.९४ रुपैयाँ र बिक्रीदर १४५.५९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७३.८८ रुपैयाँ र बिक्रीदर १७४.६५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.६९ रुपैयाँ र बिक्रीदर १५४.३७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.३३ रुपैयाँ र बिक्रीदर ८९.७२ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.९७ रुपैयाँ र बिक्रीदर ९७.४० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.५० रुपैयाँ र बिक्रीदर १०१.९६ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७५ रुपैयाँ र बिक्रीदर ८.७९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.८० रुपैयाँ र बिक्रीदर १८.८९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.८६ रुपैयाँ र बिक्रीदर ३६.०२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९६ रुपैयाँ र बिक्रीदर ३७.१२रुपैयाँ, थाई भाट एकको खरिददर ३.९३ रुपैयाँ र बिक्रीदर ३.९५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६७ रुपैयाँ र बिक्रीदर ३६.८४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५९ रुपैयाँ र बिक्रीदर ३०.७३ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६६ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.४७ रुपैयाँ र बिक्रीदर १२.५३ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.४४ रुपैयाँ र बिक्रीदर १९.५२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३३ रुपैयाँ र बिक्रीदर १७.४१ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.९५ रुपैयाँ र बिक्रीदर ४४०.९० रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५७.३० रुपैयाँ र बिक्रीदर ३५८.८९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि ५ महिना दैनिक १० घण्टा बन्द हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब ५ महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड््डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न १५ अर्ब रुपैयाँ खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो । आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सीवे बनाउन लागिएको छ । उनले उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरिएको उल्लेख गरे । नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् । मुलुकको जेठो अन्तर्राष्ट्रिय विमानस्थल टीआइएको पटकपटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ । विसं २०७७ मा सो विमास्थलको धावनमार्ग विस्तार गरी ३ हजार ३ सय मिटर कायम गरिएको थियो । त्यतिबेला पनि बेलुका ६ देखि बिहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो । तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टु) विस्तार भएको थियो । विसं २०७५ मा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झण्डै चार महिना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्ण रूपमा मर्मत (कालोपत्र) गरिएको थियो । विमानस्थल मर्मतको अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएको थियो । विमानस्थल भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिकमा दुईतर्फी ३ सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ १ सय हाराहारी उडान हुने गरेका छन् ।

आज यी प्रदेशमा वर्षाको सम्भावना, सडक तथा हवाई यातायातमा असर पर्नसक्ने

काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । यसैगरी, आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक वा आंशिक असर पर्नसक्ने हुनाले सम्बन्धित सबैलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो । पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो । बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासनाको यो पर्वको प्रारम्भ गरेका थिए । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएका थिए । खर्नाका दिन बर्तीहरूले दिनभरि उपवास निराहार बसेर राति षष्ठीका देवीलाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन ९बिना नुन हालेको० खानेकुरा खाएका थिए । त्यस्तै षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाकीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलासय नजिक बनाएको छठघाटसम्म पुगेका थिए । षष्ठीका दिन बिहीबार साँझ बर्तीले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी अर्घ्य अर्पण गरेका थिए ।

यी हुन् विश्वका सबैभन्दा ठूला दाता, कसले कति गरे ?

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको कुल सम्पत्ति २९० अर्ब डलर पुगेको छ । तर, दान गर्ने हिसाबले उनी विश्वको दशौं स्थानमा छन् । टाटा समूहका संस्थापक जमशेदजी टाटा यस सूचीमा पहिलो नम्बरमा छन् । अहिलेको महँगाईलाई एडजस्ट गरेर हेर्ने हो भने जमशेदजी टाटाले आफ्नो जीवनमा लगभग १०२.४ बिलियन डलर दान गरेका थिए । ३ मार्च १८३९ मा गुजरातको एक पारसी परिवारमा जन्मेका जमशेदजी टाटाले भारतलाई औद्योगिक राष्ट्र बनाउनमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले सन् १८६८ मा टाटा समूह स्थापना गरेका थिए, जुन आज भारतकाे सबैभन्दा ठूलो औद्योगिक घराना हो । टाटा समूहका ३० भन्दा बढी कम्पनीहरू छन् र यसको व्यवसाय विश्वभर फैलिएको छ । जमशेदजी टाटाले आफ्नो परिवारमा परोपकार र सामाजिक उत्तरदायित्वको संस्कृतिलाई बढावा दिए । उनका छोरा दोराबजी टाटा र रतनजी टाटाले यो विरासतलाई अगाडि बढाए । आज पनि टाटा परिवार धेरै प्रकारका परोपकारी कार्यहरूमा संलग्न छ । तीमध्ये शिक्षा र स्वास्थ्य प्रमुख हुन् । टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्सको ६६ प्रतिशत टाटा ट्रस्टको स्वामित्वमा छ । टाटाले बनाएका संस्थाहरूबाट आज लाखौं मानिस लाभान्वित भइरहेका छन् । भारतका अजिम प्रेमजी सबैभन्दा धेरै दान गर्ने व्यक्तिको सूचीमा पाँचौं स्थानमा छन् । विप्रोका संस्थापकले हालसम्म २१ अर्ब डलर दान गरिसकेका छन् । सबैभन्दा ठूला दाता धेरै दान दिनेकाे सूचीमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स दोस्रो स्थानमा छन् । उनले ७५.८ बिलियन डलर दान गरेका छन् । प्रसिद्ध अमेरिकी लगानीकर्ता वारेन बफेटले ३२.१ बिलियन डलर र जर्ज सोरोसले ३२ बिलियन डलर दान गरेका छन् । यसैगरी, अमेजनका संस्थापक जेफ बेजोसकी पूर्व पत्नी म्याकेन्जी स्कटले १४ अर्ब डलर दान गरेकी छन् । त्यस्तै, माइकल ब्लूमबर्गले १२.७ बिलियन डलर, ली का-शिंगले १०.७ बिलियन डलर, एन्ड्रयू कार्नेगीले ९.५ बिलियन र एलोन मस्कले ७.६ बिलियन डलर दान गरेका छन् । (एजेन्सीको सहयोगमा) Billionaires who donated their wealth to charity: 🇮🇳 Jamsetji Tata: $102.4 Billion donated 🇺🇲 Bill Gates: $75.8 Billion 🇺🇲 Warren Buffett: $32.1 Billion 🇺🇲 George Soros: $32 Billion 🇮🇳 Azim Premji: $21 Billion 🇺🇲 MacKenzie Scott: $14 Billion 🇺🇲 Michael Bloomberg: $12.7 Billion… — World of Statistics (@stats_feed) November 6, 2024

सञ्चालन भएको दुई वर्षमा दुइटा मात्रै अन्तर्राष्ट्रिय उडान, पोखरा विमानस्थललाई बिजनेस पाउन सकस

काठमाडौं । विमानस्थल सञ्चालनमा आएको करिब दुई वर्षको अवधिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुइटामात्रै अन्तर्राष्ट्रिय उडान भएको छ । बिहीबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दोस्रो पटक अन्तर्राष्ट्रिय उडान भएको हो । चीनको सिचुवान एयरलाइन्सले गत वर्षको असारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । त्यसको करिब दुई वर्ष अर्थात् १७ महिनापछि बिहीबार सिचुवानले नै पोखरामा दोस्रो अन्तर्राष्ट्रिय उडान गरेको हो । आज चीनको कुनमिङ विमानस्थलबाट १२० यात्रु लिएर आएको सिचुवान एयरलाइन्सको एयर बस ३१९ चार्टर्ड विमान पोखरामा दिउँसो २ः४० मा अवतरण भएको थियो । तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिताका लागि चिनियाँ खेलाडी, दर्शक र अन्य प्रतिनिधिहरू नेपाल आएका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ बाट सञ्चालनमा आएको थियो । त्यसयता आन्तरिक उडान निरन्तर भइरहेपनि अन्तर्राष्ट्रिय उडान भने यो बल्ल दोस्रो पटक मात्रै हो । यसबीचमा अन्य कुनै पनि एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरेका छैनन् । सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनलाई सहजीकरण गर्न अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई आग्रह गरिरहेको छ । सरकारले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई हवाई इन्धनको मूल्यमा छुट दिने निर्णय पनि गरिसकेको छ । सरकारले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट, ग्राउन्ड ह्यान्डलिङ, पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त अवधिभर छुट दिने निर्णय गरिसकेको छ । झन्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको यो विमानस्थल सञ्चालन भएको दुई वर्षमा पनि अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलले लगानी उठाउन पनि सकस भएको छ भने ऋणको साँवा ब्याज भुक्तानीमा पनि समस्या हुने देखिन्छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सन् २०२२ जनवरी १ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए । पोखराबाट भारतका विभिन्न सहरमा उडान गर्न भारतबाट अझै अनुमति नपाइएकाे अधिकारीहरू बताउँछन् । नेपालले हालसम्म ४१ वटा देशसँग हवाई सम्झौता गरेको छ ।

हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने, मूल्य कति ?

  काठमाडौं । नेपाली बजारमा हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ अब १०० किलोवाट मोटरमा उपलब्ध हुने भएकाे छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले उपलब्ध गराउने भएको हो । १०० किलोवाट क्षमताको आयोनिक ५ ईभीको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ हुने लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएकाे छ । सन् २०२२ फेब्रुअरीमा आयोनिक ५ नेपाल भित्रिएकाे थियाे । आयोनिक ५ मा ५८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको र यसले ३७५ किलोमिटर सम्मको रेन्ज दिने दाबी छ । आयोनिक ५ ले २०२२ को विश्व कार अफ दि इयर, विश्व इलेक्ट्रिक कार अफ दि इयर, र विश्व कार डिजाइन अफ दि इयरजस्ता पुरस्कारहरू प्राप्त गरेकाे थियाे । अन्तर्राष्ट्रिय रूपमा समेत हुन्डाई आयोनिक ५ ले चर्चा पाएकाे थियाे । यो निकै नै स्टाइलिस र फ्युचरिस्टिक मोडलमा उपलब्ध छ । आयोनिक ५ ईभीको मोटर पावर फरक भए पनि सो ईभीले दिने रेन्ज र अन्य स्पेक भने १२५ किलोवाटको जस्तै हुनेछ । करिब एक महिनाभित्रै सो नयाँ गाडी नेपाली बजारमा उपलब्ध हुने आयोनिक ५ खरिद गर्न चाहने ग्राहकले आजबाटै शोरुममा बुक गर्न सकिने लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएकाे छ । प्रिमियम फिचर, भविष्य उन्मुख डिजाइन र उत्कृष्ट रेन्ज आयोनिक-५ लक्जरी क्रसओभर सेग्मेन्टमा बिक्री हुँदै आएको विद्युतीय कार हो । हुन्डाईले यसलाई ८०० भोल्ट इलेक्ट्रीकल आर्किटेक्चरमा तयार गरेको हो । आयोनिक ५ नेपालमा उपलब्ध अहिलेसम्मकै छिटो चार्ज हुन सक्ने ईभी हो । यसले ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सर्पोट गर्छ । उक्त चार्जरले यसलाई १८ मिनेटमा नै १० देखि ८० प्रतिशत चार्ज गर्न सक्नेछ ।

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी

रामपुर । रामपुर नगरपालिका–६ स्थित प्याक्लुककी गङ्गा बस्यालले विसं २०७२ देखि व्यावसायिक तारकारी खेती गर्दै आएका छन्। करिब १२ रोपनी क्षेत्रफलमा गरेको तरकारी खेतीबाट उनले वार्षिक सात लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । आजभन्दा एक दशकअघि तरकारी खेतीबाट जीविकोपार्जन होला भन्नेमा बस्याल विश्वस्त हुन सकेका थिएनन् । सदरमुकाम तानसेनबाट टाढा रहेको रामपुर बजार ग्रामीण सहरका रुपमा मानिन्छ । तरकारीले बजार नपाए नोक्सानी हुने चिन्ताका बीच उनले व्यवसाय विस्तार गर्दै जाने योजनासहित तरकारीखेतीमा लागे । अहिले तरकारीखेतीले बजार पाएपछि यसबाटै जीविकोपार्जन भइरहेको बस्यालले बताए । वार्षिक रुपमा सबै खर्च कटाएर तरकारी बिक्रीबाट सात लाख रुपैयाँ आम्दानी हुने गरेको उनले जानकारी दिए । उनी स्थानीय बजारको अवस्था र ग्राहकको माग अनुसार तरकारी लगाउने गर्छन् । यहाँ आलु, काउली, बन्दा, गोलभेँडालगायत जातका तरकारीले राम्रो बजार पाउने भएपछि सो जातका तरकारी उत्पादनमा जोड दिने गरेका छन् । बस्यालले हाल १२ रोपनी क्षेत्रफलमा तरकारीखेती गर्दै आएका छन् । दश रोपनी जग्गा १० वर्षका लागि वार्षिक ५० हजार रुपैयाँ बुझाउने गरी भाँडामा लिएको बताउँदै स्थानीय बजारमा तरकारीको खपत हुन थालेपछि व्यवसाय विस्तार गरी १२ रोपनी पुर्याएको उनले जानकारी दिए । तरकारी खेतीबाट परिवारको सबै खर्च र छोराछोरीको पढाइ खर्चसमेत व्यवस्थापन हुँदै आएको बस्यालले बताए । ठूला सहर तथा बजार पुग्ने सडक जोडिए पनि पक्की र व्यवस्थित सडक नहुँदा, रामपुर गाउँ भएकाले बजार सानो हुनसलगायत कारणले केही समस्या भने हुने उनको भनाइ  छ । ‘भविष्यमा यो व्यवसायले आयआर्जनको बलियो माध्यम बनाउन सकिन्छ भन्ने सोचका साथ तरकारीखेती सुरु गरेँ, तरकारीबाट सोचेजस्तै आम्दानी भइरहेको छ’, बस्यालले भने, ‘हाम्रो परिवारको जीविका राम्रैसँग चलेको छ, यस व्यवसायबाट हामी सन्तुष्ट छौँ ।’ पहिले स्याङ्जाको वालिङ, गल्याङलगायत विभिन्न बजारमा लगेर तरकारी बिक्री गरेको स्मरण गर्दै उनले अहिले भने उत्पादित तरकारीले रामपुरमा नै खपत भइरहेको जानकारी दिए । उनको व्यवसायमा श्रीमती राधिका बस्यालले सघाएकी छन् । श्रीमान् श्रीमती दुवैजना तरकारी खेतीमा आबद्ध छन् । उनीहरुको यो व्यवसाय देखेर अहिले गाउँघरमा छिमेकीले पनि तरकारी लगाउन थालेका छन् । बारी हरिया तरकारीले ढाकिएका छन् । उनको बारीमा अहिले काउली, बन्दा, आलु, सागमुला, धनियालगायत सागसब्जी तयार हुँदैछन् । गत भदौमा मात्रै एक रोपनी जग्गामा लगाएको काँक्राबाट एक लाख रुपैयाँ आम्दानी भएपछि व्यवसायमा हौसला थपिएको राधिकाले बताइन् । ‘तरकारीखेती थालेपछि वरिपरि हरियाली भएको छ । गाउँमा विस्तारै पहिचान पनि बन्दै गएको छ । अहिले बजारको समस्या छैन, व्यापारीले घरमा आएर खरिद गरेर तरकारी लैजानुहुन्छ’, उनले भनिन् । बर्सेनि तरकारीका साथै बिरुवासमेत उत्पादन गर्न थालेको राधिकाको भनाइ छ । उनका अनुसार करिब एक रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारीका बिरुवा उत्पादन भइरहेका छन् । पछिल्लो समय यहाँको बजार बढ्दै गएपछि निर्वाहमुखी खेती गर्ने किसानले पनि व्यावसायिक तरिकाबाट खेती गर्न थालेका रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताए । व्यावसायिक खेतीमा जोड दिने किसानलाई नगरपालिकाले खेती गर्ने प्रविधिसम्बन्धी तालिम, गोष्ठी, बिउबिजन, उपकरण तथा प्राविधिक सेवा दिँदै आएको उनले जानकारी दिए । रासस