विकासन्युज

कछुवा तालमा ८ राष्ट्रिय गौरवका आयोजना, कार्यान्वयनका लागि ‘सनसेट ल’ लागू गर्ने तयारी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहत ८ वटा राष्ट्रिय गौरवका आयोजना रहे पनि अपेक्षित प्रगति हुन सकेको छैन । खर्बाैं लागत लागत लाग्ने यी आयोजनाको काम तीव्र रूपमा बढ्न सकेका छैनन् । मन्त्रालयअन्तर्गत राष्ट्रिय गौरवका आयोजनामा माथिल्लो तामाकोशी जलविद्युत, बुढीगण्डकी जलविद्युत, पश्चिम सेती जलविद्युत, सिक्टा सिँचाइ, बबई सिँचाइ, रानी जमरा कुलारिया सिँचाइ, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय र सुनकोशी मारिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति अपेक्षित सन्तोषजनक देखिएको छैन । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा आएको भएपनि गत असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी-पहिरोका कारण हाल आयोजना बन्द भएको छ । पुनःनिर्माणको काम भइरहेको सो आयोजनालाई शीघ्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । भौतिक प्रगतिको दृष्टिमा भने सो आयोजनाबाहेक अन्य आयोजनाको अवस्था भने अपेक्षित राम्रो छैन । सो मन्त्रालयमातहत रहेका सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण सम्पन्न भएपनि अन्य काममा उल्लेखनीय प्रगति हुन सकेको छैन । सो आयोजनाको भौतिक प्रगति ३४.९० प्रतिशत र वित्तीय प्रगति ३१.४९ प्रतिशत बराबर छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही दिन पहिले पेस गरिएको विवरणअनुसार सो आयोजनाको बाँधस्थल तथा विद्युत् गृहको ठेक्का व्यवस्थापनमा जटिलता देखिएको छ । बिपी राजमार्गबाट हेभी मालसामानको ढुवानी, बाँधस्थल तथा विद्युत गृह निर्माण व्यवसायीले स्रोतसाधन तथा जनशक्तिको न्यून परिचालन गरेका कारण प्रगति हुन नसकेको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । कूल १ लाख २२ हजार हेक्टरमा क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने र ३१.०७ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ । सो आयोजना आर्थिक वर्ष २०८५/८६ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आव २०६१/६२ देखि सुरु भएको सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१.७९ प्रतिशत मात्रै भएको छ । आयोजना सुरु भएको २० वर्ष पूरा भए पनि अदालतमा विचाराधीन विषयहरूको फैसला समयमा नहुँदा कार्यान्वयनमा दुविधा उत्पन्न भएको छ । जग्गा अधिग्रहणको प्रक्रिया झन्झटिलो र विवादित हुन पुगेको छ । जग्गा प्राप्तिमा नै लामो समय लाग्दा आयोजनाको कार्यान्वयनमा समस्या पैदा भएको छ । सिञ्चित क्षेत्रमा बस्ती विकास र कृषि भूमिको खण्डीकरण भएको छ । यस्तै, डुडुंवा नहरमा अतिक्रमण भएको छ । कूल ४२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरु भएको सो आयोजनाको कूल लागत ५२ अर्ब ८९ करोड रुपैयाँ छ । सो आयोजनालाई अगाडि बढाउने उपायका रूपमा मुद्दाको फैसला, सरलीकृत जग्गा प्राप्ति र कृषि भूमिको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको छ । नदी पथान्तरण आयोजनाको रूपमा रहेको भेरी बबई डाइभर्सन आयोजनामा पनि निर्माण व्यवसायीको व्यवस्थापन तथा स्रोतसाधनको कमी रहेको छ । यस्तै, जनशक्ति परिचालनमा रहेको कमजोरीले आयोजनाको काम प्रभावित भएको छ । कार्य अनुभवको कमीले डिजाइन समीक्षामा समस्या, हरेक वर्षको बाढीको गेग्रान सफा गरी काम गर्नुपर्ने, परामर्श सेवाको अवधि सकिने अवस्थामा रहेको छ । उच्च कार्य समूह बनाइ प्राविधिक काममा सहजीकरण गर्ने र ठेक्का व्यवस्थापनमा कडाइ गर्नुपर्ने अवस्था छ । आव २०७१/७२ मा सुरु भएको सो आयोजना आव २०८४/८५ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कूल लागत ३६ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको उक्त आयोजनाले ४६.८ मेगावाट बिजुली र ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बबई सिँचाइ आयोजनामा पनि खरिद गुरुयोजनाअनुसार बजेट व्यवस्थापन हुन सकेको छैन । आव २०४५/४६ देखि सुरु भएको सो आयोजना आव २०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि विद्यमान समस्याका कारण पूरा हुनेमा आशंका रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बुझाइ छ । कूल ३६ हजार हेक्टर कृषियोग्य भूमिामा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढाइएको आयोजनाको संशोधन लागत १८ अर्ब ९६ करोड रुपैयाँ छ । आव २०६७/६८ मा सुरु भएको रानी जमरा कुलरिया सिँचाइ आयोजना आव २०८०/८१ मै सम्पन्न हुनुपर्ने कार्यतालिका थियो । पहिलो चरणमा १४ हजार ३ सय कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्‍याउने र दोस्रो चरणमा थप २४ हजार हेक्टर कृषियोग्य भूमिलाई सिञ्चित गर्ने लक्ष्य राखिएको सो आयोजनाको भौतिक प्रगति ७४.३६ प्रतिशत र वित्तीय प्रगति ७२.३९ प्रतिशत पुगेको छ । सिञ्चित क्षेत्रको बचावट तथा कर्णाली नदी नियन्त्रणअन्तर्गत निर्माण भएका संरचना भत्काएर कर्णाली नदीले बगाएका कारण तत्काल पुनःनिर्माण गर्नुपर्ने अवस्था छ । आव २०६३/६४ मा सुरु भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति २३.५० प्रतिशत र वित्तीय प्रगति २३.४९ प्रतिशत छ । कूल ३३ हजार ५२० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेर सुरु भएको आयोजनाको कूल लागत ३५ अर्ब २ करोड रुपैयाँ बराबर छ । मुआब्जा वितरणमा ढिलाइ भएको, स्वचालित ढङ्गले महाकाली सन्धिअनुसार पानी प्राप्त हुन नसकेको, दोधारा चाँदनी क्षेत्रमा प्राप्त गर्ने १० क्यूमेक्स पानी प्राप्त हुन भारतीय भूमिमा संरचना निर्माण हालसम्म सुरु नभएका विषयलाई आयोजनाले समस्याका रुपमा चित्रण गरेको छ । मुआब्जा वितरणमा मात्रै ४२ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको बुढीगण्डकी आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनको यकिन हुन सकेको छैन । कूल १ हजार २ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनाको भौतिक प्रगति १० प्रतिशतमात्रै छ । सरकारले राष्ट्रिय गौरवका आयोजनाको अपेक्षित प्रगति नभएपछि केही समाधानका उपायसमेत अगाडि सारेको छ । त्यसमा राष्ट्रिय गौरवका आयोजना छनौटको निश्चित मापदण्ड लागू गर्ने, आयोजना कार्यान्वयनका लागि ‘सनसेट ल’ लागू गर्ने तयारी गरेको छ । आयोजना तयारी चरणको सबै कार्य सम्पन्न गरेर मात्रै कार्यान्वयनमा जाने, जिम्मेवार पदाधिकारीलाई आयोजनाको प्रगतिप्रति उत्तरदायी र जवाफदेही बनाउन गृहकार्य भइरहेको छ । सङ्घीय तथा प्रादेशिक निकाय र स्थानीय तहसँग नतिजामूलक समन्वय गर्ने दरबन्दी बमोजिम कर्मचारी व्यवस्थापन र कुशल विनियोजन आयोजनाको समग्र तथा आयोजना अन्तर्गतका ठेक्काहरूको चुस्तदुरुस्त व्यवस्थापन गर्नुपर्ने सरकारको बुझाइ छ ।

आज सेयरधनी बने सोल्टी होटलको ३६.८४ प्रतिशत लाभांश पाइने

काठमाडौं । सोल्टी होटलको ३६.८४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज मसिर १२ गते अन्तिम दिन रहेको छ । लाभांश तथा साधारणसभा प्रयोजनार्थ होटलले मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंसिर १२ गतेसम्म कारोबार भई कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.८४ प्रतिशत नगद गरी कुल ३६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले ५०औँ वार्षिक साधारण सभा पुस ४ गते बिहान साढे ११ बजे नेपाल प्रज्ञा भवन कमलादी काठमाडौंमा डाकेको छ ।

कुवेती दिनारको मूल्य ४३९.५३ रुपैयाँ, कोरियन वन एक सयको ९.६७ रुपैयाँ, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.६३ रुपैयाँ र बिक्रीदर १३५.२३ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४१.४८ रुपैयाँ र बिक्रीदर १४२.११ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९.३० रुपैयाँ र बिक्रीदर १७०.०६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.९३ रुपैयाँ र बिक्रीदर १५२.६० रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.३० रुपैयाँ र बिक्रीदर ८७.६९ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.५० रुपैयाँ र बिक्रीदर ९५.९२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर ९९.९५ रुपैयाँ र बिक्रीदर १००.३९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७५ रुपैयाँ र बिक्रीदर ८.७९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.५७ रुपैयाँ र बिक्रीदर १८.६५ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.८४ रुपैयाँ र बिक्रीदर ३६.०० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९३ रुपैयाँ र बिक्रीदर ३७.०९ रुपैयाँ, थाई भाट एकको खरिददर ३.८८ रुपैयाँ र बिक्रीदर ३.९० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६५ रुपैयाँ र बिक्रीदर ३६.८२ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.२० रुपैयाँ र बिक्रीदर ३०.३४ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६३ रुपैयाँ र बिक्रीदर ९.६७ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.२७ रुपैयाँ र बिक्रीदर १२.३३ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.९५ रुपैयाँ र बिक्रीदर १९.०५ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३० रुपैयाँ र बिक्रीदर १७.३८ रुपैयाँ तोकेको छ यस्तै, कुवेती दिनार एकको खरिददर ४३७.५८ रुपैयाँ र बिक्रीदर ४३९.५३ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५७.११ रुपैयाँ र बिक्रीदर ३५८.७० रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३४९.७० रुपैयाँ र बिक्रीदर ३५१.२६ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका

काठमाडौं । सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनी रोसु श्रेष्ठको नाममा रहेको ४९ हजार ९२८ कित्ता (१८औँ वार्षिक साधारण सभाबाट पारित बोनस सेयर) सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयरको मूल्य प्रतिकित्ता १०२ रुपैयाँ तोकिएको छ । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन भएको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १२ गते एक दिनका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बैंकको ६.५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । मंगलबार बैंकको सेयर प्रतिकित्ता ७६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । समायोजनपश्चात् बैंकको सेयर मूल्य ७१३.६२ रुपैयाँ कायम भएको छ । बुधबार सोही मूल्यमा बैंकको सेयर कारोबार खुल्नेछ । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १९ प्रतिशत नगद गरी कुल २५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले मंसिर २५ गते आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान साढे ९ बजे ३८औँ वार्षिक साधारण सभा बोलाएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबि) बाट एकैपटक ११ जना संस्थापक बाहिरिने भएका छन् । एकैपटक ११ जना संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंकबाट बाहिरिन लागेका हुन् । बैंकका अनुसार ११ जना संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ३ लाख ३ हजार ९७८ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले सेयर खरिद नगरेमा उक्त सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । त्यसैले सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

लाभांश पारित गर्न फर्स्ट माइक्रोफाइनान्सले डाक्यो १५औँ सभा, मर्जरमा पनि जाने

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण बोलाएको छ । लघुवित्त सञ्चालक समितिको मंसिर ११ गते बसेको बैठकले पुस ११ गते आम्रपाली ब्याङ्क्वेट भाटभटेनी, काठमाडौंमा १५औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँको ९ प्रतिशतका दरले ११ करोड १० लाख ४४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशतका दरले ५८ लाख ४४ हजार रुपैयाँ नगद गरी कुल ९.४७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन र मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । लघुवित्तको सभाबाट सर्वसाधारण सेयरधनीहरूको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर २३ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २२ गतेसम्म कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले आज मंसिर १२ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ ०.८८ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ९ गते बुकक्लोज गरेको थियो । त्यसैले कात्तिक ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै एलआईसी नेपालका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।