विकासन्युज

क्यालिफोर्नियामा सञ्चालित कन्सुलर सेवाबाट एक हजार ५०० लाभान्वित

टेक्सास । नेपाली राजदूतावास वासिङटन डिसीद्वारा क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोमा आयोजना गरिएको राहदानी कन्सुलर सेवा शिविरबाट एक हजार पाँच सय १५ नेपाली प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । उक्त शिविरमा एक हजार ५०६ जनालाई राहदानी सेवा र नौ जनालाई अधिकृत वारेशनामा सेवा दिइएको दूतावासले जनाएको छ । सुरुमा जनवरी महिनाको २२ तारेखदेखि पाँच दिन शिविर सञ्चालन गर्ने भनिए पनि सेवाग्राहीको चाप बढेपछि तीन दिन थप गरेर सेवाग्राहीलाई सेवा दिइएको थियो । उक्त राहदानी कन्सुलर सेवा शिविरमा क्यालिफोर्निया राज्यका विभिन्न स्थानमा बसोबास गर्ने नेपाली समुदायमा अतिरिक्त आसपासका राज्यबाट पनि नेपाली सेवाका लागि क्यालिफोर्नियाको सान् फ्रान्सिस्को पुगेको गैरआवासीय नेपाली संघ क्यालिफोर्नियाका अध्यक्ष हरि ओझाले बताए । नेपालीहरूको बाक्लो बसोबास रहेको क्यालिफोर्नियामा कन्सुलर सेवा शिविर सञ्चालन गर्नका लागि नेपाली समुदायमा संस्थाहरूले विगत लामो समयदेखि पहल गर्दै आएका थिए । शिविरको गैरआवासीय नेपाली संघ अमेरिका क्यालिफोर्निया च्याप्टर र नेपाली एशोसिएशन अफ नर्दन क्यालिफोर्निया(नान्स) ले  शिविर व्यवस्थापनमा सहयोग गरेका थिए । शिविरको समापन गर्दै दूतावासका कार्यवाहक राजदूत एवं डिपुटी चिफ अफ मिसन शरदराज आरणले नेपालीलाई घरआँगनमै सेवा प्रदान गर्ने नेपाल सरकारको नीतिअनुसार दूतावासलेवर सञ्चालन गर्दै आएको बताए । भौगोलिक क्षेत्र ठूलो भएका कारण दूतावास कार्यालयबाट सरल र सहज रूपमा सेवा प्रदान गर्न कठिनाइ भएकाले नेपाल सरकारले क्यालिफोर्नियाको सान् फ्रान्सिस्को र टेक्सासको ड्यालसमा दूतावास सेवा कार्यालय स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेकोसमेत उनले बताए । शिविरको समापन कार्यक्रममा क्यालिफोर्नियाका अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल, गैरआवासीय नेपाली संघ अमेरिका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष ओझा, नेपाली एशोसियशन अफ नर्दन क्यालिफोर्निया (नान्स)का अध्यक्ष प्रितेश कार्की र गुरुङले आफ्नो धारणा राखेका थिए ।  रासस

पोखरा-मुग्लिन आयोजना : पोखरा–जामुने खण्डमा २८ किमि कालोपत्र

गण्डकी । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म २८.५२ किमी सडक कालोपत्र भएको छ । आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार उक्त खण्डमा अब १०.३६ किमी सडक कालोपत्र हुन बाँकी छ । ‘तनहुँमा साढे दुई किमी कालोपत्र हुन बाँकी छ, कास्की खण्डमा पनि अहिले धमाधम कालोपत्र भइरहेको छ’, उनले भन्ने, ‘आगामी वर्षभित्र काम सक्ने लक्ष्य लिइएको छ ।’ तनहुँमा २०.८ किमी र कास्कीमा १८.०८ किमी सडक कालोपत्र भइसकेको छ । चार लेन दुवैतर्फ  तनहुँमा १०.०८ र कास्कीमा ४.३९किमी  र तनहुँमा दुई लेन (एकतर्फी) ७.९८ किमी र कास्कीमा ६.०७किमी सडक कालोपत्र भएको इन्जिनियर नेपालले जानकारी दिनुभयो । तनहुँमा २.७४ किमी  र कास्कीमा ७.६२ किमी गरी कुल १०.३६ किमि सडक कालोपत्र हुन बाँकी रहेको उनले बताए । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले विसं २०७८ देखि उक्त खण्डको काम सुरु गरेको थियो । ‘आयोजनाको पछिल्लो भौतिक प्रगति ४२ प्रतिशत पुगेको छ, जनवरी महिनाको प्रगति भने थप हुन बाँकी छु, इन्जिनियर नेपालले भने, ‘पोखराको चाउथे, अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिँहचोक, बुढीबजारलगायत ठाउँमा कालोपत्रको काम भइरहेको छ, तालचोकदेखि गगनडौँडासम्मको खण्डमा पनि निर्माणले गति लिएको छ ।’ कास्की र तनहुँमा पर्ने पश्चिम खण्डको तीन वर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि  निर्माण कम्पनीले म्याद थपेर काम गरिरहेको हो । पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर नेपालले जानकारी दिए । वियजपुर खोला र सेती नदीमा पुल निर्माणको काम पनि सँगसँगै भइरहेको उनको भनाइ छ । ‘सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम दु्रत गत गतिमा भइरहेको छु’, इन्जिनियर नेपालले भने, ‘निर्माण कम्पनीले एक वर्षभित्रमा निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।’ कोभिड–१९ महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भएपनि पछिल्लो समय कामले गति लिएको उनको भनाइ छ । ३८.८८ किमी दुरीको पश्चिम खण्डमा पर्ने १२ वटामध्ये नौ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनलले सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । कुल ८१ किमि दुरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ । ४१.४५ किमी को पूर्वी खण्डमा पनि विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । पूर्वी खण्डमा पर्ने तनहुँको दमौली र डुम्रे बजारमा छ लेन र बाँकी खण्डमा चार लेनको सडक बन्ने आयोजना कार्यालयले जनाएको छ । निर्माण कम्पनीले रु. छ अर्ब २१ करोड ३१ लाखमा उक्त खण्डको ठेक्का लिएको थियो । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडकलाई चार लेनमा स्तरोन्नति गर्न लागिएकामा पूर्वी खण्ड (जामुने–मुग्लिन)मा भने कालोपत्रको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ । रासस

भरतपुर अस्पतालमा बिरामी आफैले रिपोर्ट लिनसक्ने, लामो लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य

भरतपुर । चितवनको सङ्घीय भरतपुर अस्पतालले प्रयोगशाला लगायतका परीक्षणको रिपोर्ट स्वचालित प्रविधिमा बिरामी आफैले लिनसक्ने व्यवस्था गरेको छ । अस्पतालले एक मेसिन खरिद गरी बिरामीको परीक्षण रिपोर्ट आफै लिन मिल्ने व्यवस्था गरेको हो। अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले परीक्षण रिपोर्ट लिन लामो लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य गर्न मेसिन जडान गरिएको बताए । । उनका अनुसार करिब ७ लाख रुपैयाँमा मेसिन खरिद गरी जडान गरेर सञ्चालनमा ल्याइएको छ । अस्पतालका इञ्जिनीयर चन्द्रमणि बस्यालले आफ्नो रिपोर्ट आफैँ प्रिन्ट गरेर लिन सक्ने व्यवस्था गरिएको बताए । उनले भने, ‘नमूना परीक्षण गर्न दिएका बिरामीले बिलमा भएको क्युआर कोड स्क्यान गरी रिपोर्ट हेर्न र प्रिन्ट गर्न सकिन्छ ।’ क्युआर कोड स्क्यान गरी रिपोर्ट प्रिन्ट गर्न मिल्ने मेसिनको परीक्षण सफल भएसँगै बिरामीको सेवा सुरु गरिएको उनले बताए । मेसिनबाट एक मिनेटमा तीन वटासम्म रिपोर्ट निकाल्न सकिने बस्यालले जानकारी दिए । उनका अनुसार थप एउटा मेसिन पनि थप खरिद गर्ने अस्पतालको योजना रहेको छ । रिपोर्ट प्रिन्ट गर्ने मेसिन प्रयोगमा आएसँगै प्रयोगशाला रिपोर्ट लिने ठाउँमा बिरामीको चाप घट्ने उनले बताए । अस्पतालले प्रयोगशालामा नमूना सङ्कलन गर्दा बिलसँगै क्युआर कोड दिने गरेको छ । सोही क्युआर कोड मेसिनमा देखाएपछि मेसिनले रिपोर्ट दिने गर्दछ । रिपोर्ट तयार हुन लाग्ने समयपछि मेसिनमा गएर क्युआर कोड स्क्यान गरेपछि रिपोर्ट हेर्न र प्रिन्ट गरेर लैजानसमेत सकिने व्यवस्था गरिएको छ । मोबाइल प्रयोगकर्ताले क्युआर कोड मोबाइलमै स्क्यान गरेर पनि रिपोर्ट हेर्न सकिने बस्यालले बताए । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बिरामीको चाप अधिक भएपछि स्वचालित मेसिन ल्याइएको बताए । उनले भने, ‘हामीले बिरामीलाई थप सहज रुपमा सेवा दिन यो मेसिन प्रभावकारी हुने विश्वास लिएका छौं ।’ पछिल्लो समय भरतपुर अस्पतालले आफ्नो सेवामा धेरै सुधार गर्दै आएको छ । अस्पतालमा दैनिक दुई हजारभन्दा बढी बिरामीले बहिरंग सेवा लिने गरेका छन् । अस्पतालको थप सेवाका लागि चार वटा भवन निर्माण हुँदै गरेको उनले बताए । अस्पतालमा ट्रमा सेन्टर, सरुवा रोग नियन्त्रण भवन, क्याथ ल्याब र नर्सिङ कलेज निर्माणको क्रममा रहेका छन् । यी भवन निर्माणको काम सम्पन्न भएसँगै बिरामीलाई थप सहज हुने प्राडा पौडेलको भनाइ छ ।

रसुवामा अत्यधिक चिसो बढेसँगै पर्यटन व्यवसाय ठप्प

रसुवा । पछिल्ला दिनमा मौसममा देखिएको गडबडीका कारण हिमाली जिल्ला रसुवामा अत्यधिक चिसो बढेसँगै पर्यटक आवागमनमा उल्लेख्य कमी आएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार जिल्लाको उच्च भागमा हिउँ परेको तथा प्राकृतिक रूपमा रहेका गहिरा खोंच, ताल, कुवासहित ओसिलो पदमार्गमा पानी जमी अस्वाभाविक रूपमा चिसो बढेपछि पर्यटक आउनेक्रम कमी भएको हो । सामान्यतया हरेक वर्षको जाडो मौसममा पर्यटकको आवागमन कमी हुने तथा फागुन १५ गतेपछि क्रमिक रूपमा यो वृद्धि हुँदै जाने भएपनि यसवर्ष माघको पहिलो हप्तादेखि मौसम गडबडी भएसँगै जिल्लाको जनजीवन कष्टकर बनेको होटल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष निसान गजुरेलले जानकारी दिए । जिल्लामा अत्यधिक चिसो बढेपछि त्यसको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा परेको बताउँदै अध्यक्ष गजुरेलले तामाङ सम्पदा पदमार्गअन्तर्गत गतलाङ पार्वतीकुण्ड र थुमनको नाकथली क्षेत्रसहित गोसाइँकुण्ड, लाङ्टाङ क्षेत्रमा भ्रमण गर्न चाहने प्रकृतिप्रेमी पदयात्री तथा तीर्थयात्रीको अभावमा पर्यटन व्यवसाय करिब बन्द अवस्थामा पुगेको स्पष्ट गरे । जिल्लाको उकाली-ओराली, भञ्ज्याङ-चौतारी, ताल-तलैया, दुर्लभ वन्यजन्तु, स्थानीय संस्कृतिसहित रहनसहन, नाँचगान, पानी-झर्ना, निकुञ्जभित्रका संरक्षित बन तथा वनस्पतिलगायत सम्पदाले आकर्षित गरी पर्यटक आउने गरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत साहले जानकारी दिए । यसैगरी, पवित्र तीर्थस्थल गोसाइँकुण्डको स्नान गर्नाले मनोकांक्ष पूरा हुने धार्मिक विश्वासहित तीर्थयात्री तथा विशेषगरी उत्तरगयाको डाँडाँगाउँस्थित लामो तथा ठाडो भाँगेझर्ना हेर्न आउने पर्यटक पनि बढ्दै गएको उत्तरगया गापा वडा नं २ का वडाध्यक्ष टुकुप्रसाद सुवेदीले बताए ।

३३ औं औद्योगिक व्यापार मेला पोखरामा जारी

पोखरा । गण्डकी प्रदेशको राजधानी अर्थात् ‘नेपाली पर्यटनको राजधानी’ पोखरामा ३३ औं औद्योगिक व्यापार मेला जारी छ । ‘घुमौं मधेश, बुझौं मधेश’ को स्टलले मधेश चिनाउने काम गरिरहेको ‘घुमौं मधेश, बुझौं मधेश’ का कार्यक्रम संयोजक विकास ठाकुरले जानकारी दिए । ‘घुमौं मधेश, बुझौं मधेश’ को स्टल नम्बर १ मा ब्यानर, फ्लेक्स र अङ्ग्रेजी नेपाली दुवै भाषामा प्रकाशित बुकलेटका माध्यमबाट मधेशमा रहेका धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रबाट जानकारी दिइएको छ । ‘यो महोत्सवमा स्टल राखेपछि पोखरावासीहरूले मधेश घुम्ने इच्छा व्यक्त गर्नुभएको छ,’ उनले भने, ‘मधेशका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका बारेमा बुझाउने काम भइरहेको छ, धेरैजना उत्साहित हुनुभएको छ ।’ मधेश प्रदेश सरकार, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको कार्यक्रम ‘घुमौं मधेश बुझौं मधेश’ को स्टलमा हालसम्म हजारौं मानिसले अवलोकन गरेका छन् भने आगुन्तकहरूलाई नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशित बुकलेट पनि वितरण गरिएको छ । माघ १० गतेको उद्घाटन सत्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मधेश प्रदेशले प्रस्तुत गरेका दुई स्वागत नृत्य (मिथिलाको झिँझिया र थारू नृत्य) र वितरण गरेको मधेश चिनाउने ४० गन्तव्य भएको बुकलेट सबै उपस्थित अतिथि र दर्शकदीर्घाको हात–हातमा देखेपछि आयोजक संस्थालाई ‘मधेशसँग सिक्नुस्- मेलामा केके राख्नुपर्छ र कसरी आयोजना गर्नुपर्छ’ भनेर मधेश प्रदेश सरकारको स्टल र ‘घुमौं मधेश, बुझौं मधेश’ को सिर्जनात्मक क्षमताको खुलेर प्रशंसा गरेका थिए । आयोजक मधेश प्रदेश सरकारका तर्फबाट पोखरामा आयोजित महोत्सवमा मधेश प्रदेशका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा खानपिन संस्कृतिको व्यापक प्रचार गरिएको हो । उद्घाटन सत्रमा नाट्टा मधेश प्रदेशका अध्यक्ष तथा पर्यटन तथा हवाई यातायात समिति मधेश प्रदेशका संयोजक मोहन शर्माले हिमाल, पहाड र मधेश जोड्नका लागि यस्ता कार्यक्रमको विशेष भूमिका रहने बताएका थिए । दर्शकको चाप बढेपछि माघ १७ गतेसम्मका लागि भनिएको महोत्सव अब माघ १९ सम्म जारी रहने छ ।

अमेरिकन एयरलाइन्स दुर्घटना : १८ जनाको शव फेला, खोजी कार्य जारी

काठमाडौं । अमेरिकाको वाशिङ्गटन डीसी नजिकै अमेरिकन एयरलाइन्सको एक विमान आकाशमै अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएको छ । उक्त विमानमा ६४ जना सवार थिए, जसमा ६० यात्रु र ४ जना चालक दलका सदस्यहरू थिए । प्रहरी अधिकारीहरूले अहिलेसम्म १८ जनाको शव फेला परेको जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विमान बम्बार्डियर कम्पनीको सीआरजे ७०० मोडलको थियो र वाशिंगटनबाट कान्सास गइरहेको थियो । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार टक्करपछि विमान दुई टुक्रा भएर पोटोम्याक नदीमा खसेको थियो । बचाव तथा खोजी कार्य अहिले पनि जारी छ । स्थानीय समयअनुसार राति ९ बजे रीगन वाशिङ्गटन नेशनल एयरपोर्टको नजिक यो दुर्घटना भएको हो । उक्त विमानले रीगन नेशनल एयरपोर्टबाट उडान भरेको थियो । दुर्घटनापछि ठूलो संख्यामा उद्धार टोली, १० भन्दा बढी एम्बुलेन्स र ट्रक घटनास्थलमा पुगेका छन्। रीगन एयरपोर्टले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूरानो ट्वीटर) मा घोषणा गर्दै सबै उडानहरू हालका लागि स्थगित गरिएको जानकारी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सन् २०२४ मा टोयोटाको १ करोड ८ लाख गाडी बिक्री

काठमाडौं । टोयोटा मोटरले सन् २०२४ मा १ करोड ८ लाख गाडी बिक्री गरेको छ । कम्पनीले बिहीबार घोषणा गर्दै लगातार पाँचौं वर्ष विश्वकै सबैभन्दा धेरै बिक्री हुने अटोमोबाइल निर्माता बनेको जानकारी गराएको छ । जापानी अटोमोबाइल कम्पनी टोयोटाको विश्वव्यापी बिक्रीमा ३.७ प्रतिशत गिरावट आएको छ । यसमा साना गाडी निर्माता डाइहात्सु र ट्रक निर्माता हिनो मोटर्सको बिक्री पनि समावेश छ । टोयोटाको बिक्री घट्नुको मुख्य कारण जापानमा भएको ठूलो गिरावट हो ।डाइहात्सुमा प्रमाणीकरण परीक्षण प्रक्रियासम्बन्धी विवादका कारण कम्पनीलाई ठूलो असर परेको थियो । जापानमा दोहोरो अंकको गिरावटका कारण विश्वव्यापी बिक्रीमा असर परेको छ। जापानबाहेक अन्य अन्तर्राष्ट्रिय बजारमा टोयोटाको बिक्री राम्रो देखिएको छ । फक्सवागन दोस्रो स्थानमा जर्मन अटोमोबाइल कम्पनी फक्सवागन समूहले यस वर्ष दोस्रो स्थान हासिल गर्‍यो । २०२४ मा यसको बिक्री २.३ प्रतिशतले घटेर ९० लाख गाडीमा सीमित भयो । कम्पनीले चीनमा बढ्दो प्रतिस्पर्धा र लागत कटौतीको चुनौती सामना गरिरहेको छ । हाइब्रिड गाडीको माग बढ्यो, इलेक्ट्रिक गाडीको बिक्री कम टोयोटाको हाइब्रिड गाडीहरू कुल बिक्रीको ४०.८ प्रतिशतले बिक्री भएको छ, जुन हालसम्मकै उच्च हो । ब्याट्री–इलेक्ट्रिक गाडीको बिक्री भने जम्मा १.४ प्रतिशतमात्र रह्यो । चीनमा भने मूल्य प्रतिस्पर्धाका कारण टोयोटाको बिक्री ६.९ प्रतिशतले घटेको छ । टोयोटाले हाइब्रिड गाडीहरूमा राम्रो सफलता हात पार्दा पनि जापान र चीनमा मूल्य प्रतिस्पर्धाका कारण केही कठिनाइहरू सामना गर्नु परेको छ । तर, करोड ८ लाख गाडी बिक्री गर्दै टोयोटाले फेरि पनि विश्वको नम्बर १ अटोमोबाइल निर्माता बन्ने स्थान सुरक्षित गरेको छ । सान्दर्भिक सामग्री :  २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने चीनमा हरेक वर्ष १ करोड २८ लाख ईभी बिक्री निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने